यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज बुधबार राति दुबई प्रस्थान गर्दै
काठमाडौं । नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मंगलबार एक उडान सूचना प्रकाशन गर्दै बुधबार राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौं आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो । दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौं) वाइडबडी बिहीबार बिहान ४ः१० बजे काठमाडौं फर्किने तालिकामा उल्लेख गरिएको छ । अमेरिका–इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताए । उनका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्तयाका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उनले आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिए । खासगरी दुबईमा उद्धारको पर्खाइमा बसेका यात्रुलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गरे । उनका अनुसार आरए २२९ (काठमाडौं–दुबई) बुधबार राति ११ः१५ बजे र आरए २३० (दुबई–काठमाडौं) बिहीबार बिहान ४ः१० बजे स्वदेशका लागि उडान भर्ने तालिका छ । गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् । निगमबाट टिकट पुनः प्रमाणित गराई यात्रा गर्न सूचनामार्फत निगमले सबैमा अनुरोध गरेको छ ।
नागरिकताकै भरमा स्कुटर किन्न सकिने, लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा
काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै भरमा फाइनान्स सुविधा पाइने भएको छ । लुयान नेपालले ग्राहकलाई सहज बनाउन यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो । विशेषगरी राजधानी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाअनुसार अब ग्राहकले आफ्नो र एकजना ग्यारेन्टरको नागरिकताको आधारमा सहज रूपमा फाइनान्स सुविधा लिन सक्नेछन् । सामान्यतया फाइनान्स प्रक्रियामा प्रशस्त आम्दानी खुल्ने कागजात, राजधानीकै स्थानीय ग्यारेन्टर, बिजुली वा खानेपानीको बिल, सरकारी जागिर वा ठूलो कम्पनीमा काम गरेको प्रमाण जस्ता झन्झटिला कागजात आवश्यक पर्ने गरिन्छ । तर लुयान नेपालको यो नयाँ व्यवस्थामा त्यस्ता जटिल प्रक्रियाबाट ग्राहकलाई धेरै हदसम्म सहज बनाइएको छ । नेपालको जुनसुकै जिल्लाको स्थायी बासिन्दा भए पनि हाल राजधानीमा बसेर औपचारिक वा अनौपचारिक पेशा–व्यवसाय गरिरहेका व्यक्ति, साना व्यवसायी तथा राइड सेयरिङ्गमा संलग्न युवाहरूले पनि यो सुविधाबाट लाभ लिन सक्नेछन् । यस योजनाअनुसार स्कुटरको कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध हुनेछ भने बाँकी रकम १८ महिनासम्मको सरल किस्तामा तिर्न मिल्ने व्यवस्था गरिएको कम्पनीका सेल्स हेड शंकर शर्माले जानकारी दिए । यो सुविधाले विशेषगरी राजधानीमा बसेर राइड सेयरिङ्ग व्यवसायमा सक्रिय युवाहरूलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । हाल यो सेवा काठमाडौंमा उपलब्ध भए पनि निकट भविष्यमा पोखरा र इटहरीमा समेत विस्तार गर्ने कम्पनीको योजना रहेको छ । लुयान नेपालले विगत सात वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यो फाइनान्स सुविधा लुयान, सारथी, इकुटर, जिडाओ तथा काइसाई ब्राण्डका स्कुटरमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले हाल करिब १ लाख ४० हजारदेखि साढे २ लाख रुपैयाँसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध गराउँदै आएको छ । साथै, कम्पनीले करिब १ लाख १० हजार रुपैयाँमै लाइसेन्स आवश्यक नपर्ने इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्दै आएको छ ।
सेयर बजारमा १३ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ अंकले घटेर २७९७ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बुधबार ३२९ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड, नेसनल हाइड्रो पावर कम्पनीको ४९ करोड, अपि पावर कम्पनीको ४४ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंकको १० प्रतिशत र नेसनल हाइड्रो पावर कम्पनीको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
जेसीबी थीडीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक
काठमाडौं । निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी थीडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ । ग्राहकको विश्वास थप सुदृढ बनाउने तथा उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत नयाँ जेसीबी थीडीएक्स सुपर खरिद गर्ने ग्राहकहरूले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको चार वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार तोकिएका सञ्चालन तथा नियमित मर्मतसम्भारका शर्त पूरा भएमा प्रयोगपछि पनि मेसिनको मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ उपलब्ध हुनेछ । यसले ग्राहकलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै भविष्यको पुनःबिक्री मूल्यबारे स्पष्टता दिने अपेक्षा गरिएको छ । कम्पनीले यो पहल जेसीबी थीडीएक्स सुपरको टिकाउपन, विश्वसनीयता तथा बजारमा रहेको निरन्तर मागप्रतिको विश्वासको प्रतीक भएको जनाएको छ । नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा बढी प्रयोग हुने भरपर्दा ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ । एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिका अनुसार निर्माण क्षेत्रमा गरिने लगानीबाट ग्राहकले भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गर्ने भएकाले ‘बाइ ब्याक ग्यारेन्टी’ योजनाले खरिद निर्णयलाई अझ विश्वस्त बनाउनेछ । उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका कारण परिचित जेसीबी थीडीएक्स सुपर नेपालभर सडक निर्माण, जलविद्युत् आयोजना, सहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न परियोजनामा व्यापक रूपमा प्रयोग हुँदै आएको छ ।
रास्वपालाई दुई तिहाई पुग्न २ सिट कम, ६ दल बने राष्ट्रिय पार्टी
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना लगभग सम्पन्न भएको छ । निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको सबै मतगणना सकिएको हो । अब दलहरूले प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँटको प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ । सहप्रवक्ता जिसीका अनुसार गोरखा र इलामका दुई निर्वाचन क्षेत्रको मतगणना सकिए पनि केन्द्रीय प्रणालीमा प्रविष्ट भएको छैन । हालसम्म प्राप्त विवरणअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि उल्लेख्य मत पाएको छ । रास्वपाले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ, जसका आधारमा उसले समानुपातिकबाट करिब ५७ सिट पाउने निश्चित देखिएको छ । रास्वपालाई दुई तिहाई पुग्न २ सिट कम हुने देखिएको छ । त्यसैगरी, प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ । यस मतका आधारमा कांग्रेसले समानुपातिकबाट करिब २० सिट थप्ने अनुमान गरिएको छ । प्रत्यक्षतर्फ ९ सिट जितेर तेस्रो भएको नेकपा एमालेले समानुपातिकमा १४ लाख ५१ हजार ७५९ मत पाएर समग्रमा पनि तेस्रो शक्ति बन्न सफल भएको छ । प्राप्त मतका आधारमा एमालेले समानुपातिकबाट थप १६ सिट पाउने निश्चितजस्तै देखिएको छ । त्यस्तै, प्रत्यक्षतर्फ ७ सिट जितेको नेपार्ली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकमा ८ लाख ९ हजार ७१ मत प्राप्त गरेको छ । यस आधारमा उक्त पार्टीले समानुपातिकबाट करिब ९ सिट पाउने सम्भावना रहेको छ । चार महिनाअघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले पनि उल्लेख्य मत ल्याएको छ । प्रत्यक्षतर्फ ३ सिट जितेको यस दलले समानुपातिकमा ३ लाख ५ हजार ६२ मत प्राप्त गरेको छ । जसका आधारमा उसले थप ४ सिट पाउने देखिएको छ । यस्तै, प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत पाएको छ । यस मतका आधारमा राप्रपाले पनि करिब ४ सिट समानुपातिकबाट प्राप्त गर्ने सम्भावना छ । सहप्रवक्ता जिसीका अनुसार प्रत्यक्षतर्फ १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो । समानुपातिकतर्फ भने १ करोड १० लाख मत खसेको अनुमान गरिए पनि सबै मतगणना केन्द्रीय प्रणालीमा प्रविष्ट भएको छैन । अहिलेसम्म १ करोड ७ लाख ८१ हजार ७१४ मत प्रणालीमा प्रविष्ट भएको छ ।
दिगो बैंकिङ प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंकको फेवाताल किनारमा पदयात्रा
काठमाडौं । महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ प्रवर्द्धन तथा वातावरण संरक्षणप्रति प्रतिबद्धता जनाउँदै पोखराको फेवाताल किनारमा दुईदिने कार्यशाला तथा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो । बैंकले वार्षिक कार्यक्रमअन्तर्गत फागुन २४ र २५ गते आयोजना गरेको उक्त कार्यक्रममा वातावरण, संस्कृति तथा सम्पदा संरक्षणसँगै दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो । दुईदिने कार्यशालामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको बैंकको समग्र वित्तीय अवस्था समीक्षा गर्नुका साथै हालै सम्पन्न निर्वाचनपछिको सकारात्मक आर्थिक वातावरण र अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सम्भावित आर्थिक चुनौतीबारे समेत विश्लेषण गरिएको बैंकले जनाएको छ । दिगो वित्तीय अभ्यासको सन्देश आम नागरिकसम्म पुर्याउने उद्देश्यले ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण फेवाताल क्षेत्र वरिपरि सामूहिक पदयात्रा आयोजना गरिएको थियो । कार्यक्रममा हरित बैंकिङ तथा दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो । 'सबल बैंक, सफल सहकार्य' भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन् । अमेरिका-इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै हवाई उडान बन्द गरिएको थियो । सोही कारण नेपालबाट जाने केही अन्तरराष्ट्रिय उडान रद्द हुँदै आएका छन् । युद्धको प्रभावले गर्दा वायु सेवा प्रदायक कम्पनीहरू युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गर्ने निर्णय गरेका थिए । प्रवक्ता बस्नेतले पश्चिम एसियाको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएका जानकारी दिए । 'उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ, त्यसका आधारमा केही उडान आंशिक रूपमा सुचारु भएका छन्', उनले भने, 'आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन् ।' त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईमा चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ । एयरलाइन्सले जनाएअनुसार दैनिक १०० जनाको हाराहारीमा यात्रुको उपस्थिति हुने गरेको छ ।
निजामती कर्मचारीलाई दाङमै स्वास्थ्य सेवा उपलब्ध हुने
देउखुरी । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ । बुधबार निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै पक्षले गरेको सम्झौता अनुसार अब निजामती कर्मचारीले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा र सुविधाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त गर्ने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा रमेश कँडेलले जानकारी दिए । उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ । बहालवाला अधिकृतस्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेवा निवृत्त कर्मचारीले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ । सेवा प्राप्त गर्न कर्मचारीले विशेष सफ्टवेयर प्रणालीमा आवद्ध हुनुपर्ने निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले बताए । 'कर्मचारीले आफ्नो र परिवारका सदस्यको नामसहितको फारम भर्नुपर्ने हुन्छ । उक्त विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत ‘निजामती किताबखाना’को डाटाबेससँग जोड्नेछ । अस्पतालमा उपचारका लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट भएपछि किताबखानाले रुजु गरेपछि कर्मचारी सरहको सुविधा प्राप्त हुनेछ', उनले भने । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालका अनुसार देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीको सेवाका लागि यस्तो पहल गर्ने दाङ पहिलो भएको छ । निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले राज्यको दायित्व पूरा गर्न सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुरूप राप्तीसँग सम्झौता गरिएको बताए । विगत दुई वर्षदेखि एमबिबिएस र एमडीरएमएसजस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यो सम्झौताले विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । रासस