विकासन्युज

डा. खतिवडाले नै किन पाए फेरि आयोगमा मौका ?

काठमाडौं, १९ कात्तिक । गत बुधवारको मन्त्रिपरिषद बैठकले एमाले निकट अर्थशास्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त ग¥यो । उनी यसअघि एमाले नेता माधव नेपालको कार्यकालमा पनि आयोगको उपाध्यक्ष बनेका थिए । तर पछि उनी आयोग छोडेर सोभन्दा तल्लो मर्यादाको नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए । आयोगको उपाध्यक्ष पद छोडेर राष्ट्र बैंक जाने डा. खतिवडाको कदमलाई कतिपयले त्यतिवेलै विभिन्न टिप्पणी गरेका थिए । उनलाई पदीय मर्यादा जोगाउन नसक्ने ब्यक्ति भन्ने प्रकारको टिप्पणी पनि गरियो । केहि ब्यक्तिहरुको प्रतिक्रिया उनले राष्ट्र बैंकमा गएर गर्न सक्ने योगदान आयोगमा बसेर भन्दा बढी भएकोले उनले सही गरे भन्ने प्रकारको पनि थियो । केहि टिप्पणी उनी एमालेको सच्चा कार्यकर्ता भएकोले पार्टीले जहाँ पठायो त्यहि गए भन्ने पनि थियो । उनी त्यो बेला आयोग छोडेर राष्ट्र बैंक किन गए वा किन पठाइए भन्ने बहस अहिले असान्दर्भिक भैसकेको छ । एमाले नेतृत्वको सरकारले उनलाई फेरि आयोगमा नियुक्त गरेपछि भने फेरि डा. खतिवडा नै किन रोज्यो एमालेले भन्ने प्रश्न भने अहम बनेको छ । एमालेको लागि अर्थशास्त्रीको खाचो परेको भने होइन । आयोगको उपाध्यक्ष बन्न सक्ने हैसियत र ल्याकत राख्ने अर्थशास्त्री र योजनाविदहरु एमालेमा धेरै जना छन् । फेरि डा. खतिवडाको विशिष्ठिकृत शैक्षिक योग्यता योजना तर्जुमामा होइन । उनले मौद्रिक अर्थशास्त्रमा विद्याबारिधि गरेका हुन् । पदीय मर्यादामा तल भएपनि आयोगको उपाध्यक्षभन्दा राष्ट्र बैंकको गभर्नर पद आकर्षक मानिन्छ । आकर्षक निकायमा अवसर पाउने वित्तीकै आयोगमा दिइएको जिम्मेवारी छोडेर हिड्ने ब्यक्ति आयोगको लागि पुन कसरी योग्य बने ? एमाले निकटका केहि अर्थशास्त्री र योजनाविदहरु प्रश्न गर्न थालेका छन् । डा. खतिवडाको जन्मथलो झापा हो । अहिलेका प्रधानमन्त्री केपी ओली पनि झापाली नै हुन् । आयोगको अध्यक्ष प्रधानमन्त्री हुने प्रचलन छ । अध्यक्षले आफ्नै जिल्लाबासीलाई रुचाएर उपाध्यक्ष बनाएको हुन सक्ने अनुमान गर्नेहरु पनि छन् । डा. खतिवडाको सम्बन्ध एमाले बरिष्ठ नेता माधब नेपाल र पार्टी महासचिव इश्वर पोखरेलसँग निकै राम्रो छ । प्रधानमन्त्रीको जिल्लावासी एमाले तथा बरिष्ठ नेता नेपाल र महासचिव पोखरेलसँग सम्बन्ध राम्रो भएपछि उनले अवसर पाउनु कुनै अनौठो विषय नहुन सक्छ । डा. खतिवडाले आयोगमा पुन मौका पाउनुको अर्काे कारण अर्थशास्त्री केशव आचार्य बुढा हुनु र अर्का अर्थशास्त्री डा. गोविन्दबहादुर थापाले पार्टीलाई लेबी नबुझाउनुले पनि हो भन्ने चर्चा पनि चलेको छ । एमालेले आचार्यलाई राम्रै विश्वास गरेर विभिन्न जिम्मेवारी दिने गरेको थियो । तर पछिल्लो समयमा स्वास्थ्यले पनि साथ नदिएको र निकै बृद्ध भएको भन्दै आचार्यको विकल्पको रुपमा डा. खतिवडालाई अघि सारिएको केहि एमाले नेताहरुको मत छ । यस्तै एमाले सरकारकै पालामा अर्थशास्त्री डा. गोविन्दबहादुर थापालाई एशियाली विकास बैंकमा नियुक्त गरेर पठाइएको थियो । तर उनले पार्टीलाई बुझाउनु पर्ने लेबी नबुझाएको कारण उनलाई राजनीतिक नियुक्ति नदिएको चर्चा पनि चल्ने गरेको छ । गत बैशाखको विनासकारी भूकम्प पछिको राहत र उद्धारको लागि एमालेले पार्टी संयन्त्र परिचालन गरेको थियो । त्यसको लागि पैसाको आवश्यकता थियो । त्यस्तो अवस्थामा पैसाको बन्दोवस्त गर्न डा. खतिवडाले निकै ठूलो भूमिका खेलेको एमाले नेताहरुको भनाइ छ । पार्टीलाई अप्ठेरो परेको समयमा पैसाको बन्दोवस्त गरेर गुन लगाएको कारण उनलाई अहिले पुरस्कृत गरिएको हो भन्ने पनि चर्चा चलेको छ । जेजस्तो कारणले उनले आयोगमा फेरि मौका पाएका भएपनि त्यागेर हिडेको पद उनलाई फेरि कोच्याइयो भन्दै एमाले निकट केहि अर्थशास्त्रीहरुले भने असन्तुष्टि जनाउन थालेका छन् ।

२४ ट्यांकर चिनियाँ पेट्रोल राजधानीमा, ४१ वटा आज आईपुग्ने

काठमाडौं, १९ कात्तिक । चीन सरकारले अनुदानमा दिएको १० लाख लिटर पेट्रोलमध्ये हालसम्म २ लाख १६ हजार लिटर पेट्रोल राजधानी भित्रिसकेको छ । कठिन सडकका कारण १२ हजार लिटर क्षमताका ट्यांकर भएपनि प्रति ट्यांकर ९ हजार पेट्रोल मात्रै ढुवानी गरिएको छ । हालसम्म जम्मा २४ ट्यांकर पेट्रोल थानकोट डिपोमा भित्रिसकेको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । थप चार वटा ट्यांकर काठमाडौंका लागि रसुवाबाट हिडेका छन् भने  ३७ ट्यांकर पेट्रोल रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् । १० लाख लिटर पेट्रोल ल्याउन कुल १११ ट्यांकरले ढुवानी गर्नु पर्छ । निगमका प्रवक्ता बरालले एक सातादेखि १० दिन भित्र चीनले अनुदानमा दिएको पेट्रोल नेपाल ल्याई सक्ने बताए ।

पेट्रोलको लाईनमा बस्दै हुनुहुन्छ ! यी हुन आज पेट्रोल बाँढ्ने ६० पम्पहरु !

काठमाडौंं, १९ कात्तिक । नेपाल आयल निगमले आजबाट तीन दिनसम्म निजी सवारी साधनलाई पेट्रोल वितरण गर्दै छ । निगमले तीन दिनमा नौ लाख लिटर पेट्रोल निजी सवारी साधनलाई वितरण गर्ने तयारी सहित तालिका समेत सार्वजनिक गरिसकेको छ । त्यसको सुरुवात आजबाटै हुँदैछ । निगमले मोटरसाईकललाई पाँच र कारलाई १० लिटर पेट्रोल उपलब्ध गराउने बताएको छ । निगमले तयार पारेको तालिका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका ६० वटा पम्पहरुबाट निजी सवारी साधनलाई पेट्रोल वितरण गरिनेछ । लाईनमा रहेका सवारी साधनलाई पम्प व्यवस्थापनले कुपन उपलब्ध गराउने छ । कुपन पाउने सवारीले पेट्रोल पाउनेछन भने अन्यले पाउने छैनन् । आफुले पाएको पेट्रोलको मात्राका आधारमा पम्पहरुले कुपनल वितरण गर्नेछन । आज एकदेखि ३० लटसम्मका मोटरसाईककल तथा एकदेखि ५ लटसम्मका निजी कारलाई पेट्रोल वितरण गरिनेछ ।

साबुन, स्याम्पु र टुथपेष्टदेखि कस्मेटिकका सामान पनि अभाव

काठमाडौं, १८ कात्तिक । ‘स्वस्थ शरिर, स्वस्थ मष्तिष्क’ भन्ने मान्यता नै छ संसारमा । । रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नै नदिनु उपयुक्त हुन्छ । तर भारतीय नाका बन्दीले नेपालीलाई स्वस्थ बनाउने सामग्रीकै अभाव सुरु भएको छ । मधेशमा जारी आन्दोलनका नाममा भारतले सुरु गरेको सिमाको अवरोधले नेपालीलाई स्वस्थ बनाउन प्रयोग हुने सामान तथा कस्मेटिक उपजहरुको चरम अभाव सुरु भैसकेको छ । बज्राचार्य दम्पति आफ्नो कस्मेटिक्स पसलमा समान खोज्दै बजारमा साबुन, स्याम्पु, टुथपेष्टको अभाव सुरु भएको बिक्रेताहरुले बताउन थालेका छन् । बालाजुका किराना व्यवसाय मनोज महजर्नले साबुन, स्याम्पु, टुथपेष्ट तथा बिस्कुट र चाउचाउहरुको समेत अभाव सुरु भएको बताए । भोटाहिटीस्थित पल्पसा कस्मेटिक्सका प्रोप्राईटर रुपकमान बज्राचार्यले थोक बिक्रेताले ५ प्रतिशत मुल्य वृद्धि गरिसकेको बताए । उनको पसलमा पोण्ड्स क्रिम, स्याम्पु लगायतका कस्मेटिक आईटमको अभाव सुरु भैसकेको बताए । भारत बाहेक तेश्रो मुलुकका समान समेत भारतीय नाका हुँदै नेपाल आउने भएकाले ती समानको पनि अभाव रहेको उनले बताए । उनको कस्मेटिक पसलमा ५० प्रतिशत भारतीय उत्पादनका समानहरु रहेका छन् । अहिले ती सबैको अभाव सुरु भैसकेको छ । महावौद्धस्थित स्याममानेश्वर कस्मेटिक्सका सञ्चालक स्यामान मानन्धरका अनुसार अधिकांश भारतीय कस्मेटिक आईटमहरुको अभाव रहेको छ । उनले औषतमा ४० प्रतिशत भारतीय समान बेच्दै आएका छन् । तेश्रो मुलुकका उत्पादन समेत भारतीय नाकाबाटै आउने भएकाले अभाव सुरु भएको उनको भनाई छ । बजारमा महिलाहरुले लगाउने टिका(बिन्दिया)को पनि अभाव सुरु भैसकेको छ । नेपाली महिलाहरुले लगाउने ९० प्रतिशत भन्दा बढि टिका अर्थात बिन्दिया भारतबाटै आउने गरेको छ । कस्तो छ आयातको अवस्था ? गत आर्थिक बर्ष २०७१/७२ मा कुल ६ अर्ब ३६ करोड ३० लाख ८२ हजार बराबरको कस्मेटिक समान, स्याम्पु, टुथपेष्ट लगायतका समान आयात भएका थिए । पछिल्लो दुई महिना भन्दा लामो समयदेखि नयाँ समान आयात नभएकाले अभाव सुरु भएको हो । यी सबै समान भारतकै बाटो हुँदै नेपाल भित्रिने गरेका थिए ।

नेपाल–चीन भन्सार अधिकारीबीच २० बुदे सहमति

काठमाडौं, १८ कात्तिक । नेपाल र चीनका भन्सार अधिकारीविच भन्सार अबरोध र सीमा ब्यापार सहज बनाउनको लागि २० बुदे सहमति हुने भएको छ । मंगलवारदेखि काठमाडौंमा जारी दुई देशविचका अधिकारीले सहमतिको मस्यौदा तयार गरिसकेकोले त्यस्तो मस्यौदालाई अन्तिम रुप दिएर विहिवार बेलुकी हस्ताक्षर हुन लागेको हो । नेपाल र चीनका अधिकारीको २७ औं बैठकले भन्सार अवरोध कम गर्ने र सीमा ब्यापारमा हुने अबरोध कम गर्ने सहमति गरिसकेको भन्सार विभागले जानकारी दिएको छ । सहमतिका बुदामा नेपाली ट्रक तथा कन्टेनरका चालक तथा सहचालकलाई सहज रुपमा नेपाल र चीन प्रवेशको बातावारण मिलाउने विषय उल्लेख गरिएको छ । यसको लागि आ–आफ्नो देशको तर्फवाट वाताबरण मिलाउन दुबै पक्ष सहमत भएका छन् । यसअघि नेपाली ट्रक तथा कन्टेनरका चालकहरुले पनि दुबै देश प्रबेश गर्दा अनिवार्य रुपमा भिषा लगाउनु पर्ने ब्यवस्था थियो । यस्तै नेपालमा आउने चिनिया उत्पादनको लेबलमा नेपाल वा अंग्रेजी भाषामा अनिवार्य रुपमा विवरण उल्लेख गर्न चिनिया पक्ष सहमत भएको छ । चिनिया उत्पादनको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण लेख्न सकिने भन्सार जाचपासमा सहजता हुने माग नेपाली पक्षले राखेको थियो । ‘नेपालमा आउने बस्तुको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण खुलाउने हाम्रो मागमा चिनिया पक्षले सहमति जनाएको छ, यसले भन्सार जाचपास छिटो र प्रभावकारी हुने अपेक्षा गरेका छौं,’ भन्सार विभागका एक उच्च अधिकारीले भने । त्यस्तो लेबलमा उत्पादन मिति, परिमाण, म्याद समाप्त हुने मिति, मूल्य तथा सो बस्तुको बनावट जस्ता विवरण समावेश गरिने छ ।

योजना आयोगमा डा. युवराज खतिवडा

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्री परिषद बैठक ले खतिवडालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर समेत रहेका खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा पनि आयोगका उपाध्यक्ष नै थिए । नेपालले नै खतिवडालनई योजना आयोगबाट केन्द्रिय बैंकको गभर्नर बनाएको थियो । झापा स्थायी घर भएका खतिवडा केपी ओलीका विश्वास पात्र हुन् । खतिवडाले मौद्रिक नीतिमा विद्यावारिधी गरेका छन् । मधेश आन्दोलनका मृतकलाई १० लाख बैठकले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई १० लाख दिने निर्णय समेत गरेको छ ।

भारतको नाकाबन्दी पछि चीनसँग थप ७ नाका सक्रिय बनाइदै

काठमाडौँ, १८ कात्तिक । भारतले अघोषित नाकाबन्दी गरेर अत्यावश्यकसहितका दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा कठाइ गरेपछि नेपालले चीनसँग थप ७ नाका सक्रिय बनाउन पहल थालेको छ । मंगलवारदेखि काठमाडौंमा जारी नेपाल र चीनका भन्सार अधिकारीहरुको बैठकमा नेपाली पक्षले यस्तो प्रश्ताव गरेको हो । बैठकमा ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाका किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । थप नाकालाई सक्रिय बनाउने विषयमा छलफल चले पनि निष्कर्षमा भने नपुगिएको भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली पक्षको नेतृत्व गरिरेका दामोदर रेग्मीले जानकारी दिए । नेपालले बैठकमा भएका छलफलबाट निष्कर्षमा पुगेका विषयमा सहमति गर्ने तयारी गरिएको छ । नेपालका तर्फबाट बैठकको नेतृत्व विभागका उपमहानिर्देशक रेग्मी गरेका छन् भने चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वइले गरेका छन् । यस्तै नेपालले भूकम्पबाट प्रभावित भएका नेपाल–चीनबीच रहेका भन्सार नाका चाँडो सञ्चालनमा ल्याउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । मंगलवारदेखि सुरु भएको २८औँ उच्चस्तरीय वार्षिक बैठकमा भूकम्पपछि रसुवागढीलगायतका नाका अझै सञ्चालनमा नआएको भन्दै चाँडो सञ्चालनमा ल्याउन आग्रह गरिएको होे । केरुङ तथा तातोपानी नाका सञ्चालनमा आए पनि अन्य नाका सञ्चालनमा कठिनाइ भएको छ । बैठकमा भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएको वस्तुलाई सहजरुपमा जाँचपास गराउने सम्बन्धमा छलफल सुरु भएको उपमहानिर्देशक निर्देशक रेग्मीले जानकारी दिए । बैठमा नेपाल र चीनको कार्यालय समय दुई घन्टाको फरक परेकाले त्यसलाई समायोजन गर्न पनि पहल गर्ने निष्कर्षमा पुगिएको रेग्मीको भनाइ छ । चीनले आठ हजार वस्तुले भन्सार सुविधा दिएको भए पनि सो कार्यान्वयन नभएकाले कार्यान्वयन गर्न समिति बनाउने र भन्सार कार्यालयबीच स्थानीयस्तरमा छलफल चलाउने विषयमा दुई पक्ष सहमत भएको नेपाली अधिकारीको भनाइ छ ।

जलविद्यु्त् कम्पनीको सेयरमा पौने ११ अर्बको आवेदन, अझै दुई दिन बाँकी

काठमाडौँ, १७ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा उत्साहपूर्ण सहभागिता रहेको छ । कम्पनीले कुल दुई अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको छ । मंगलबारसम्म रु १० अर्ब ७५ करोड बढीको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अन्तिम दिनसम्ममा २० अर्ब रुपैयाँ बराबरको सेयर माग आवेदन हुन सक्ने विष्लेषण गरिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । यही कात्तिक १२ गतेदेखि खुल्ला गरिएको साधारण सेयर १९ गतेसम्म आवेदन गर्न सकिन्छ । आवेदकको उत्साह र विश्वासले आफूलाई अत्यन्तै उत्साहित बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए ।