राबा बैंकमा सिइओ खाली भएको तीन महिना पुग्न लाग्यो, तत्काल नियुक्ति गर्न कर्मचारी संघको माग
काठमाडौं, ११ चैत । राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुको संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) तत्काल नियुक्त गर्न माग गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो बैंकमा करिब ३ महिनादेखि सिइओ रिक्त हुदा बैंक अस्तब्यस्त भएको भन्दै संघले यस्तो माग गरेको हो । बैंकको सिइओवाट कृष्णप्रसाद शर्माले गत २० पुसमा अवकास पाएपछि सो बैंक सिइओ विहिन छ । तत्कालको लागि नायब प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीलाई कामु सिइओको जिम्मेवारी दिइएको थियो । तर पन्थीले पनि अनिवार्य अवकास पाएपछि बैंकका नायब महाप्रवन्धक द्धय बिष्णुप्रसाद बैद्य र भूपेन्द्र पाण्डेलाई सिइओले प्रयोग गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । ‘उहाँहरु दुबै जनालाई अधिकार मात्रै प्रत्यायोजन गरिएको हो, उहाँहरु निमित्त सिइओ, कामु सिइओ वा सिइओ होइन, यसरी लामो समयसम्म नेतृत्व विहिन अवस्थामा राख्दा बैंकको वित्तीय अवस्था पुन धराशायी हुन सक्ने देखिएकोले तत्काल नियुक्तिको लागि दबाब दिइएको हो,’ संघका अध्यक्ष जितेन्द्रसिंह थापाले भने । संघले तत्काल सिइओ नियुक्ति गर्न बैंक संचालक समितिसँग माग गरेको छ । यसअघिका सिइओ शर्मा खुल्ला प्रतिस्पर्धावाट बैंकको सिइओ नियुक्त भएका थिए । बैंक संचालक समितिले नयाँ सिइओ खोजी गर्नको लागि अर्थमन्त्रालयका सहसचिव कृष्णप्रसाद देबकोटाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सो उपसमितिले गत २५ पुसमा विज्ञापन गरेर खुल्ला प्रतिस्पर्धावाट सिइओ नियुक्ति गर्ने प्रक्रिया सुरु गरेको थियो । यसमा १६ जनाले आवेदन दिएका थिए । उसमितिले २८ माघमा अन्तिम चरणका उम्मेदवारहरुको प्रस्तुतीकरण एबम अन्तरवार्ता सकेर सिइओको लागि नाम सिफारिस पनि गरिसकेको थियो । सो उपसमितिले नेपाल बैंकका पूर्व महाप्रबन्धक किरण श्रेष्ठ, कर्मचारी संचयकोषका प्रशासक कृष्णप्रसाद आचार्य र कृषि विकास बैंककका महाप्रबन्धक अनिल उपाध्यायलाई सिफारिस गरेको थियो । ‘सिफारिस गरिएको यति लामो समयसम्म सिइओ नियुक्ति किन हुन सकेन, बैंक जस्तो संबेदनशील संस्थामा संक्रमणकालको अवस्था किन लम्ब्याउन खोजिदैछ ?, संघले यस्ता प्रश्न सहित बैंक संचालक समितिको ध्यानाकर्षण गराएको छ । सो बैंकसँग सरकारी स्वामित्वका बैंकहरुको वित्तीय अवस्था नराम्रो भएपछि सरकारले विश्व बैंकसँग ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गरेको थियो । सोही कार्यक्रमको कारण राष्ट्रिय बाणिज्य बैंकको वित्तीय अवस्था पनि सुधार भएको थियो । अहिले सो बैंकको वित्तीय अवस्था राम्रो भएपनि पुन राजनीतिक चलखेलको कारण समयमै सिइओ नियुक्ति हुन सकेको छैन ।
दुई बर्षपछि सात लाख नेपालीलाई रोजगारी, सुकुम्बासी, हलिया र कमैयालाई प्राथमिकता
काठमाडौं, १० चैत । सरकारले आगामी दुई बर्षपछि सात लाख नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सक्ने गरि सात हजार बिगाह क्षेत्रफलमा फैलिएका सात वटा औद्योगीक क्षेत्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेड मार्फत उद्योग मन्त्रालयले त्यसको ५० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।गरिब, सुकुम्बासी, कमैया र हलियाहरुलाई रोजगारीमा बिशेष प्राथमिकता निर्धारण गरिनेछ र त्यसलाई डिपिआरमै उल्लेख गरिने छ । अप्रत्यक्ष रोजगारी भने ३५ लाख भन्दा बढिले पाउनेछन् । औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सात वटै प्रदेशमा न्युनतम एक हजार बिगाह क्षेत्रफलमा फैलिएका एक/एक वटा औद्योगीक क्षेत्र निर्माणको काम ५० प्रतिशत सम्पन्न भैसकेको बताए । लिमिटेडले ऐलानी जमिनमा औद्योगीक क्षेत्र निर्माण गर्न लागेको हो । त्यसका लागि लिमिटेडले सबै प्रदेशमा रहेका पायक पर्ने ऐलानी जमिनको खोजी कार्य जारी राखेको छ । कुन प्रदेशमा कति भयो काम ? कहाँ बन्दैछन् औद्यौगीक क्षेत्र ? प्रदेश नम्बर १ लिमिटेडले प्रदेश नम्बर १ को झापास्थित दमकमा ५०० बिगाह जमिन फेला पारेको छ । ऐलानी सो जमिनलाई औद्योगीक बोर्डका नाममा नामसारी गर्ने प्रक्रिया अघि बढिसकेको बस्नेतले जानकारी दिए । प्रदेश नम्बर २ दुई नम्बर प्रदेशका लागि लिमिटेडले सर्लाही, धनुषाको जनकपुर, बारा वा पर्साका बिभिन्न स्थानमा जमिन खोज्ने काम अघि बढाएको छ । मधेश आन्दोलन प्रभावी सो प्रदेशमा पुर्व पश्चिम राजमार्ग आसपासको क्षेत्रमा जमिन खोज्न उद्योगी व्यवसायीले आग्रह गरेको लिमिटेड अध्यक्ष बस्नेतले बताए । प्रदेश नम्बर ३ तीन नम्बर प्रदेशका लागि हेटौडाँमा ३०० बिगाह जमिन खोजिसकिएको छ । थप पाँच सय बिगाह चीतवनमा र अन्य जमिन पायक पार्ने अर्काेस्थानमा खोजि कार्य जारी छ । प्रदेश नम्बर ४ प्रदेश नम्बर ४ का लागि तनहुँदेखि पोखरासम्म राजमार्ग आसपासमा जमिनको खोजी कार्य जारी छ । प्रदेश नम्बर ५ बुटवलस्थित मोतिपुरमा ८१३ बिगाह जमिन खोजी भैसकेको छ । तिनाउ नदिको वारीपारि रहेको सो ऐलानी जमिन छिट्टै अधिग्रहण हुनेछ । थप ५०० बिगाह जमिन भने बाँके जिल्लामा खोजी भैरहेको छ । प्रदेश नम्बर ६ छ नम्बर प्रदेशका लागि जुम्ला वा सुर्खेतमा जमिन खोज्ने काम जारी छ । प्रदेश नम्बर ७ सात नम्बर प्रदेशका लागि भने कञ्चनपुरको दैजीमा ९०० बिगाह जमिन खोजीसकिएको छ । थप ५०० बिगाह भने कैलालीको लम्कीमा फेला परेको छ । प्रत्येक औद्योगीक क्षेत्रमा एउटा टेक्निकल इन्स्टिच्युट औद्योगीक क्षेत्रको डिपिआरमै प्रत्येक क्षेत्रमा एउटा टेक्निकल इन्स्टिच्युट स्थापना गर्नु पर्ने उल्लेख गरिनेछ । सो इन्स्टिच्युटले औद्योगीक क्षेत्रका लागि आवश्यक पर्ने दक्ष तथा अर्धदक्ष जनशक्तिको उत्पादन गर्नेछ । उद्योगीलाई सहुलियतै सहुलियत ती औद्योगीक क्षेत्रमा उद्योग स्थापना गर्ने उद्योगहरुले प्रशस्त्रै सहुलियत प्राप्त गर्नेछन् । बाटो, बिजुली र पानीका साथमा केहि बर्षका लागि कर छुटको सुबिधा समेत उपलब्ध गराईने लिमिटेडका अध्यक्ष बस्नेतले बताए ।
हकप्रदको लागि रेटिङ गर्नुपर्ने ब्यवस्था हटाउनुपर्ने बैंकर्सको मागमा राष्ट्र बैंक सकारात्मक, अहिलेदेखि नै सुरु गरे भ्याइने इक्रा नेपालको भनाइ
काठमाडौं, १० चैत । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थाहरुले चुक्ता पूजी बृद्धि गर्ने प्रयोजनको लागि क्रेडिट रेटिङ अनिवार्य गर्नुपर्ने ब्यवस्था छुट दिन माग गरेका छन् । ‘फास्ट ट्रयाक’ वाट पूजी बृद्धि गर्नुपर्ने भएकोले सो प्रयोजनको लागि रेटिङ नगर्दा पनि हुने ब्यवस्था गर्न उनीहरुले माग गरेका हुन् । अहिले ३ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर (आइपिओ) वा हकप्रद सेयर जारी गर्नुपर्ने अवस्थामा अनिवार्य रुपमा रेटिङ गराउनु पर्ने ब्यवस्था छ । बाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनीहरुको संस्था वित्त कम्पनी संघले संयुक्त रुपमा यस्तो छुट दिन माग गर्दै नेपाल राष्ट्र बैंकमा लिखित अनुरोध गरेका हुन् । पूजी बृद्धिको योजनामा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर जारी गर्ने योजना सार्वजनिक गरिसकेका छन् । तिनओटै संघको लिखित अनुरोध आएपछि नेपाल राष्ट्र बैंकले उपयुक्त ब्यवस्था गर्न धितोपत्र वोर्डलाई पत्राचार गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार गत ३ चैतमा बोर्डलाई पत्राचार गर्दै पूजी बृद्धि योजनालाई सहयोग पुग्नेगरी उपयुक्त निकास दिन भनिएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंक हो । पूजी बजारको नियामक निकाय धितोपत्र वोर्ड हो । आइपिओ जारी गर्दा वा हकप्रद सेयर निस्कासन गर्दा अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्ने ब्यवस्था धितोपत्र वोर्डले गरेको हो । यसैकारण राष्ट्र बैंकले उपयुक्त निकास दिन धितोपत्र वोर्डलाई पत्राचार गरेको हो । द्रुतमार्गवाट पूजी बृद्धि गर्नुपर्ने र पूजी बृद्धिको लागि हकप्रद निस्कासन गर्नुपर्ने भएकोले यस्तो अनुरोध गरिएको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले बताए । ‘नेपालमा क्रेडिट रेटिङ गराउने कम्पनी एउटा मात्रै छ, हामीले छोटो समयमा नै पूजी बृद्धि गर्नुपर्ने छ, यसो हुदा क्रेडिट रेटिङको कारण तोकिएको सयमभित्रमा हकप्रद जारी गरेर क्रेडिट रेटिङ गराउन भ्याइदैन कि भनेर यस्तो अनुरोध गरेका हौं,’ लामिछानेले भने । सेयरधनीलाई विक्री गर्ने गरी हकप्रद सेयर निस्कासन गर्ने भएकोले क्रेडिट रेटिङलाई सहज बनाउन सकिने धारणा राष्ट्र बैंकको छ । राष्ट्र बैंकले आगामी २०७४ असार मसान्तसम्ममा सबै बैंक वित्तीय संस्थाहरुको चुक्ता पूजी कम्तिमा पनि चार गुणाले बृद्धि गर्ने योजना ल्याएको छ । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि रेटिङ गर्न छुट दिनुपर्ने माग गरिएको स्वीकार गरे । कम्पनीहरुको रेटिङ गर्ने कम्पनी नेपालमा इक्रा नेपाल मात्रै हो । सो कम्पनीलाई एउटा कम्पनीको क्रेडिट रेटिङ गर्न ४ देखि ५ हप्ता लाग्ने इक्रा नेपालका डाइरेक्टर दीपकराज काफ्लेले जानकारी दिए । अहिलेदेखि नै कम्पनीहरुको सुचना आउने र क्रेडिट रेटिङ सुरु गर्ने हो भने २०७४ असार मसान्तसम्ममा सवै बैंक वित्तीय संस्थाको क्रेडिट रेटिङ गर्ने काम सम्पन्न हुने काफ्लेको भनाइ छ । अहिले करिब १९० बैंक वित्तीय संस्था छन् । यसमध्ये पनि ३ करोड भन्दा कमको हकप्रद सेयर जारी गर्ने कम्पनीले रेटिङ गराउनु पर्दैन ।
निक्षेपको व्याजदर बढदै, कर्जाको व्याज पनि बढ्न सक्ने
काठमाडौं, १० चैत । सर्वसाधारणले बैंकमा जम्मा गरेको बचतको व्याज बढ्ने भएको छ । सरकारले उच्च व्याजदरमा ऋणपत्र जारी गरेपछि र बैंकमा कर्जाको माग बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर बढाउन दवाव परेको छ । राष्ट्र बैंकले ३ अर्ब रुपैयाँको नागरिक वचतपत्र २०७७ ‘क’ जारी गरेको छ । पाँच वर्षे वचत पत्रको व्याज ८ प्रतिशत तोकिएको छ । ६÷६ महिनामा व्याज भुक्तानी हुनेछ । नागरिक बचत पत्र खरिद गर्न चैत २३ गतेसम्म आवेदन गर्न सकिने छ । बचतपत्र किन्न सर्वसाधारणले बैंकमा रहेको बचत खाताको पैसा निकाल्न थालेको बैंकर्सहरुले बताएका छन् । त्यस्तै राष्ट्र बैंकले बैदेशिक रोजगारीमा जानेको लागि २५ करोड रुपैयाँको बचतपत्र जारी गरेको छ । बैदेशिक रोजगार बचतपत्र २०७७ को व्याजदर ९ प्रतिशत छ । यसले पनि व्याजदर बढाउन दवाव परेको छ । राष्ट्र बैंकले जारी गरेको बचत पत्रमा ८ देखि ९ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको कारण सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाको निक्षेप फिर्ता लिन थालेको नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् । राष्ट्र बैंकले व्याज बढाबढमा जारी गरेको विकास ऋणपत्रको व्याजदर पनि बढेको छ । राष्ट्र बैंकले फागुनमा १२ अर्बको विकास ऋणपत्रमा जारी गरेको थियो । त्यसमा बैंकहरुले औषतमा ३ दशमलव ९७ प्रतिशत व्याज तिरेका छन् । यो दर चालु आर्थिक वर्षमा जारी भएको अन्य ऋणपत्रको तुलनामा महँगो हो । यसअघि चालु आर्थिक वर्षमा राष्ट्र बैंकले दुई पटक ऋणपत्र जारी गरेको थियो । त्यतिबेला बैंकहरुले २ दशमलब ६५ देखि २ दशमलब ९९ प्रतिशत मात्र व्याज तिरेका थिए । अन्तरबैंक व्याजदर चैत २ गते २ दशमलक ०७ प्रतिशत रहेको छ । यसअघि शुन्य दशमलव ५ प्रतिशतसम्म झरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओमा संकलन भएको ४७ अर्ब रुपैयाँ केही बैंकमा जम्मा भएकोले अन्तरबैंक कर्जाको व्याजदर बढेको विकास बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछाने बताउँछन् । रिभर्स रिपो रेट पनि बढेको छ । चैत ३ गतेको रिभर्स रिपो रेट २ दशमलब ८४ प्रतिशत छ । ९१ दिनको ट्रेजरी विलको रेट १ दशमलब ०७६ प्रतिशत छ । ३४३ दिने ट्रेजरी विलको रेट १ दशमलब ३१२ प्रतिशत छ । चालु आर्थिक वर्षमा ट्रेजरी विल रेट शुन्य दशमलब ००४ प्रतिशतसम्म झरेको थियो । राष्ट्र बैंकमा अनुसार लगानी योग्य पुँजी (तरलत) घट्दै गएको छ । चैत १० गतेको तरलता करिव १८ अर्ब रुपैयाँ छ । गत भदौमा यस्तो रकम करिव ९० अर्ब रुपैयाँ थियो । छोटो अवधिका पुँजीको व्याजदर बढ्न थालेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । बचत खाताको निक्षेपको व्याजदर १ प्रतिशतले बढ्न सक्ने नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् । व्यापार, पर्यटन, कृषि क्षेत्रबाट कर्जाको माग बढ्ने संकेतहरु आएको उनले बताए । तर तत्काल व्याजदर बढ्ने सम्भावना कम रहेको लामिछानेको विश्लेषण छ । ‘व्याजदर बढ्ने आधार त देखिसकेको छैन । तर व्याजदर अहिलेको यो भन्दा तल जाने ठाउँ नभएकोले विस्तारै बढ्न सक्छ,’ लामिछाने भन्छन् । औद्योगिक कर्जाको माग बढ्ने आधारहरु नदेखिए पनि व्यापारिक तथा आवास कर्जाको माग बढ्ने सम्भावना रहेकोले त्यसको असर व्याजदरमा थोरै पर्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल बताउँछन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण(फोटो फिचरसहित)
काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका दौरान दुई देशबिच १० वटा महत्वपुर्ण सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र उनका चीनियाँ समकक्षीको उपस्थितीमा भएका ती सम्झौताहरुले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुका साथै नेपालको विकास र स्थायीत्वमा समेत ठुलो योगदान पुग्ने देखिन्छ । दुई देशबिच स्वतन्त्र पारवाहन, रेलवे सेवा विकास तथा विस्तारको सम्भावना खोज्ने, इन्धन खानीहरुको उत्खनन गर्ने, पोखरा विमानस्थलको निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउने तथा नेपालमा चीनियाँ बैंक खोल्ने लगायतका सम्झौतामा हस्ताक्षर भए । यस्तो छ ओलीको चीन भ्रमणको फोटो फिचर । प्रधानमन्त्री केपी ओली र चिनियाँ प्रधानमन्त्री लि केक्विाङ एकापसमा भलाकुसारी गर्दै । नेपालमा चिनियाँ बैंक खोल्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र चिनियाँ समकक्षी । साथमा नेपाल र चीनका प्रधानमन्त्री । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको सलामी समारोहमा ओली र चिनियाँ समकक्षी । प्रधानमन्त्री केपी ओलीलाई सलामी अर्पण गर्दै चिनियाँ जनमुक्ति सेनाको एक टुकडी । द ग्रेट हल अफ दि पिपुलमा आयोजीत भेटघाट समारोहमा प्रधानमन्त्री केपी ओली र परराष्ट्र मन्त्री कमल थापा ।( तस्विरहरुः रोयटर्स )
चीनले भन्यो–निकट भविष्यमै दुई मुलुकलाई रेलवे सेवाले जोड्ने छ
काठमाडौं, ८ चैत । सोमबार चीनले नेपालमा रेलवे निर्माण र स्वतन्त्र व्यापारको सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेको छ । नेपाल दक्षिण ठुलो छिमेकी भारतबाट व्यापारमा स्वतन्त्र हुन प्रयास गरिरहेको थियो । हिमालयन मुलुक नेपाल, जो चीन र भारतकोबीचमा अवस्थीत छ, उसले गत सेप्टेम्बरमा मात्रै राजतन्त्रको अन्त्यसँगै नयाँ संबिधान प्राप्त गरेको थियो र त्यसले लामो समयपछि शान्ति र स्थायीत्व प्राप्त गर्ने अपेक्षा पनि गरेको थियो । तर तराईका आन्दोलनकारीले भारतबाट मालवाहक ट्रक नेपाल आउन दिएनन् । जसले इन्धन र औषधीको अभाव सृजना गर्यो । नेपालले सिमा नाकाको सो अवरोधमा संलग्न रहेको आरोप लगायो तर भारतले त्यसलाई अस्विकार गर्यो । पछिल्लो महिना सिमा नाकाको अवरोध हटेको भएपनि इन्धन र खाना पकाउने ग्यासको आयात भने अझै सामान्य भएको छैन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा नेपाली प्रधानमन्त्री केपी ओलीले चिनियाँ समकक्षी लि केक्विाङलाई भनेका छन– ‘बिशेष मिसन बोकेर चिन आएको छु’ जब द्धिपक्षिय सम्बन्धमा प्रगाढपन आयो । उनले सञ्चार माध्यमका अगाडी भने केहि बोलेका छैनन् । चिनियाँ विदेश मन्त्रालयका एशिया विभागका डेपुटी प्रमुख हु याङकीका अनुसार नेपाली प्रधानमन्त्री ओलीले नेपालका प्रमुख दुई शहरमा रेलवे सेवा विकासको सम्भावना, नेपाल र चीन जोड्ने दुई रेलवे तथा नेपालका दुइै प्रमुख शहर जोड्ने रेल वे विकासका लागि आग्रह गरेका छन् । हु भन्छन चिनियाँ सरकारले चिनियाँ कम्पनीलाई नेपालको आन्तरिक शहरमा रेलवे सेवा विस्तारका अध्ययनका लागि प्रोत्साहित गर्नेछ । र नेपालको सिमासम्म रेलवे विस्तारका लागि भने चिनियाँ सरकारले पहिले देखि नै सोच बनाउँदै आएको हो । चिनले तिब्बतको सिगाात्सेदेखि नेपालको सिमा नाका गिरोङ(केरुङ)सम्म । ‘पक्कै पनि केरुङसम्म रेलवे विस्तार गर्ने हाम्रो योजना दिर्घकालिन हो, त्यहाँ भौगोलिक र प्राबिधिक तथा आर्थिक क्षमताका कारणहरु छन् । हामी विश्वास गर्छाै निकट भविष्यमै दुई मुलुक रेलवे सेवाद्धारा जोडिनेछन् । दुई मुलुकका बिचमा १० वटा महत्वपुर्ण सम्झौता भएका छन् । त्यसमा स्वतन्त्र व्यापार, पोखरा विमानस्थल निर्माणका लागि सहुलियत दरको ऋण र पेट्रोल तथा ग्यासका खानीहरुको अध्ययन समावेश छन् । (रोयटर्सबाट)
पूँजी वृद्धि अवधि बढाउन दवाव दिदै ठूला लगानीकर्ता, लिखित प्रस्ताव गर्न डेपुटी गभर्नरको सुझाव
काठमाडौं, ८ चैत । दुई बाणिज्य बैंकका प्रमुख लगानीकर्ताले बैंकको पुँजी वृद्धि कार्यक्रमको अवधि बढाउन दवाव सिर्जना गर्न थालेका छन् । एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ र हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठले राष्ट्र बैंकमा डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग पुँजी वृद्धि कार्यक्रमको अवधि बढाउन आग्रह गरेका छन् । उनीहरुले पुँजी वृद्धि अवधि बढाउन दवाव सिर्जना राजनीतिक शक्तिको प्रयोग गरेका छन् । उनीहरुले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई साथमा राखेर डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग पुँजी वृद्धिको अवधि बढाउने आग्रह गरेका हुन् । विके श्रेष्ठ गत सोमबार एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले सोल्टी होटलमा डिनरको लागि भनेर गभर्नर डा चिरञ्जीवि नेपाल, डेपुटी गभर्नर शिबराज श्रेष्ठलाई बोलाए । उक्त उक्त डिनरमा हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठ र हिमालय शमशेर जवरा, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायतको सानो समूह सहभागि हुने तय भएको थियो । स्रोतका अनुसार अन्तिम समयमा नेता सिंहले सबैलाई आफ्नै घरमा बोलाए । सोल्टीको डिनर नेता सिंहको ठमेलको घरमा सरेपछि गभर्नर नेपाल सहभागी नहुने निष्कर्षमा पुगे । उनले आफूलाई सञ्चो नभएकोले सहभागि हुन नसकेको जानकारी विके श्रेष्ठलाई गराए । मनोजबहादुर श्रेष्ठ सिंहको घरमा नबनियुक्त डेपुटी गभर्नर श्रेष्ठ, दुई बैंकमा अध्यक्ष, हिमालय शमशेर जवरा गएका थिए । उक्त भेटमा इन्भेष्टर एसोसिएशनका अध्यक्ष समेत रहेका हिमालयन बैंकमा अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले वाणिज्य बैंकका सिईओहरुको मात्र भनाई सुन्ने गरेको र लगानीकर्ताको मर्काका बारेमा चासो नदिएको गुनासो गर्दै पुँजी वृद्धिको लागि तोकिएको अवधि बढाउन माग गरेका थिए । पूर्व गभर्नर समेत रहेका राणाले बजार विस्तारसँगै पुँजी वृद्धि आवश्यक भएको, पुँजी वृद्धि गर्न सबै तयार भएको तर समय कम भएको बताएका थिए । समय थप्दा कसैलाई पनि नराम्रो नहुने उनको धारण छ । सो अवसरमा एभरेष्ट बैंकमा अध्यक्ष विके श्रेष्ठले एक व्यक्ति वा कम्पनीले बढीमा १५ प्रतिशत मात्र सेयर लगानी गर्न पाउने सीमालाई बढाएर २० प्रतिशत पारिनुपर्ने माग गरेका थिए । उनले हकप्रद सेयर जारी गर्दा कुनै प्रवद्र्धकले नकिनेको अवस्थामा सोही संस्थाका अर्को प्रवद्र्धकले किन्न पाउने अग्राधिकार हुनुपर्ने समेत माग गरेका छन् । १५ प्रतिशत सीमाका कारण एभरेष्ट बैंकमा उनी र उनी सम्वद्ध लगानीकर्ताको लाभांश रोकिने अवस्था रहेका स्रोतले बतायो । भेटका अवसरमा नेता सिंहले राष्ट्र बैंकको पुँजी वृद्धि सम्बन्धि नीति ठिक भएपनि यस नीतिले नेपालमा लगानी गरेको विदेशी बैंकलाई अप्ठ्यारो परेको विषय आफूसँग धेरैले उठाएको चर्चा गर्दै पुँजी वृद्धिको समय थप्न राष्ट्र बैंक लचिलो हुनुपर्ने बताएका थिए । हिमालयन बैंक र एभरेष्ट दुबै बैंकमा विदेशी लगानी रहेको छ । एभरेष्ट बैंकमा भारतको पन्जाब नेसनल बैंकको र हिमालयन बैंकमा पाकिस्तानको हविब बैंकको सेयर लगानी रहेको छ । डेपुटी गभर्नर श्रेष्ठले यो विषयमा गभर्नर कुरा गर्ने बताएका थिए । साथै उनले यो विषयलाई औपचारिक प्रक्रियाबाट राष्ट्र बैंकमा ल्याउन आग्रह गर्दै लिखित रुपमा आएका मागका बारेमा मात्र छलफल गर्न सकिने बताएका थिए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि चार गुणाले बृद्धि गर्ने योजना ल्याएको छ । सो योजना अनुसार आगामी २०७४ सालको असार मसान्तसम्ममा बाणिज्य बैंकको चुक्ता पूजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनै पर्ने हुन्छ । गभर्नर डा. नेपालले पूजी बृद्धि गर्ने समय थप नगर्ने कुरा पटक पटक दोहोर्याएपछि राजनीतिक पहुचको आधारमा समय थप गर्ने योजनामा संयुक्त लगानीका बैंकका संचालक लागेका हुन् । यी दुबै बैंकले आफैले पैसा थपेर तथा बोनस सेयर प्रदान गरेर चुक्ता पूजी बृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् । हिमालयन बैंकको अहिले ४ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूजी छ । यस्तै चालु आर्थिक बर्ष र आगामी आर्थिक बर्षमा गरी १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गर्ने र आगामी आर्थिक बर्षमा ६४ करोड २७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर प्रदान गर्ने योजना सो बैंकको छ । यस्तो भएमा २०७४ को असार मसान्तमा बैंकको चुक्ता पूजी ८ अर्ब रुपैयाँ पुग्नेछ । एभरेष्ट बैंकको चुक्ता पूजी भने २ अर्ब १ करोड रुपैयाँ छ । उसले २ अर्ब रुपैयाँ नै पूजी भएको अर्काे बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्ने, अग्राधिकार सेयरलाई इक्वीटि सेयरमा परिणत गर्ने, फ्रि रिजर्भमा रहेको रकमलाई पूजीमा परिणत गर्ने, नाफावाट बोनस सेयर प्रदान गर्ने र एफपिओ जारी गर्ने जस्ता विकल्प सार्वजनिक गरेको छ । तर राष्ट्र बैंकले अग्राधिकार सेयरलाई इक्विटीमा परिणत गर्न र रिजर्भमा रहेको रकमलाई पनि सेयरमा परिणत गर्न नपाइने निर्देशन जारी गरिसकेको छ ।
बीमा कम्पनीको पूँजी वृद्धि वाध्यता होइन, आवश्यकता हो-पि. आर. मिश्र
पि. आर. मिश्र, सञ्चालक तथा कार्यकारी निर्देशक, लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेड सेयर बजारमा एलआईसी(नेपाल)को मूल्य निरन्तर बढिरहेको छ, किन ? सेयरको बजार मूल्यसँग कम्पनीको कुनै नियन्त्रण हुँदैन । भारतमा एलआइसी इण्डिया पूर्णतः सरकारी स्वामित्वको कम्पनी हो । त्यहाँ कुनै पब्लिकको सेयर छैन । शत प्रतिशत सरकारी स्वामित्व छ । नेपाली सेयर बजारमा कम्पनीको मूल्य बढ्नु भनेको कम्पनीप्रति लगानी कर्ताको विश्वास बढ्नु हो । कम्पनीको भविष्यको योजना, पारदर्शिता र व्यवस्थापन प्रति लगानी कर्ताको विश्वास छ भन्ने देखिन्छ । यो स्थायीत्व प्राप्त कम्पनी हो भन्ने लगानीकर्तालाई लागेकाले पनि सेयर बजारमा मूल्य बढेको हो । सेयर बजारमा मूल्य बढ्नुको मुख्य कारण त कम्पनीको वित्तीय अवस्था नै हुन्छ । अहिले कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कम्पनीको प्रगति कस्तो छ ? कम्पनीले पुस मसान्तसम्मको दोश्रो त्रैमिसक रिपोर्ट प्रकाशित भएको छ । हामी राम्रो व्यवस्थापन भएको कम्पनी हौं । बिमा समितिका सबै नियम पालना गरेका छौं । मार्केट सेयरमा हामी दुई नम्बर छौं । म आउँदा चार नम्बरमा थियौं । एक नम्बर हुने योजना हो । म पछिल्लो पाँच वर्षदेखि यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत छु । पाँच बर्षको कम्पनीको परफरमेन्स हेर्ने हो भने ठूलो वृद्धि भएको छ । ५० करोडको फस्ट प्रिमियम थियो, अहिले २५० करोड रुपैयाँ पुगेको छ । १८७ कुल आम्दानी थियो । पछिल्लो वर्ष ५४१ करोड कुल प्रिमियम संकलन भएको छ । अघिल्लो वर्ष लाईफ फण्ड अर्थात कुल डिपोजिट ६६५ करोड थियो अहिले २००० करोड रुपैयाँभन्दा बढी छ । पब्लिकले देखिरहेका छन कि यो कम्पनी कति राम्रो व्यवस्थापन र पारदर्शी कम्पनी छ । अर्काे मुख्य कुरा भनेको पछिल्लो पाँच बर्षमा कम्पनीले राम्रो बोनस सेयर दिईरहेको छ । ६२, ३०, ३० प्रतिशत बोनस सेयर हुँदै यस वर्ष २५ प्रतिशत बोनस सेयर दिएका छौं । यो कम्पनीको पछाडि एलआइसी इण्डिया छ । यो ब्राण्डको नाम हो । नम्बर अफ पोलिसीका आधारमा यो विश्वकै ठूलो कम्पनी हो । हामी कुनै खराब काम गर्दैनौं जसले एलआईसी इण्डियाको बदनामी होस् । म भारत सरकारको कर्मचारी हुँ । त्यसकारण हामी धेरै सोचेर मात्रै काम र निर्णय लिन्छौं । यसमा जागिर मात्रै होइन, मेरो जीवनको पेन्सनको सवाल पनि जोडिएको छ । कम्पनीले निरन्तर बोनस सेयर मात्रै दिएको देखिन्छ । यसको मुख्य लगानी कर्ता खुसी छ ? प्रवद्र्धकहरुले नगद लाभांश चाहेका छैनन् ? कम्पनीले नगद लाभांश दियो भने जम्मा पाँच हजार दिन्छ । यदि बोनस सेयर दिने हो भने त्यहि पाँच हजारको ५० कित्ता हुन्छ । ५० सेयरको बजार मुल्य एक लाख हुन्छ । खाली नगद लाभांश दिने ठूलो कुरा होइन । मुख्य कुरा भनेको कम्पनीको वृत्ति विकासमा लगानीकर्तालाई थप जिम्मेवार बनाउनु हो । कम्पनीमा उनीहरुको अधिकार बढाउनु पनि हो । एलआइसी इण्डिया नेपालमा नाफा कमाउन आएको होइन । भारतमा हाम्रो साढे चार हजार ब्राञ्चहरु छन् । ती ब्राञ्चमध्ये नेपालको कम्पनी भनेको एउटा ब्राञ्च जस्तो मात्रै हो । एलआइसी इण्डियाको रक्सौल ब्राञ्चकै आकारमा छ एलआईसी नेपाल । नेपालमा कुल पोलिसी एक लाख छ, इण्डियामा एउटा ब्राञ्चले एक लाख पोलिसी बिक्री गरेको हुन्छ । एक सय करोडको प्रिमियम हुन्छ । भारतमा एक सय भन्दा बढी ब्राञ्चले यहाँको भन्दा ठूलो व्यापार गर्छन् । तपाईले नै भन्नु भयो कि कम्पनीले पछिल्लो चार वर्षमा ६२ प्रतिशत, ३० प्रतिशत, ३० प्रतिशत बोनस सेयर हुँदै यस वर्ष २५ कम्पनीको बोनस सेयर दिदैछ । सेयर पुँजीको रिर्टन रेसियो किन घटिरहेको छ ? यसलाई घटेको भन्न मिल्दैन । यो बढिरहेको छ । मानौं, मेरो सेयर पुँजी एक सय थियो भने ३० प्रतिशत बोनस सेयर दिईयो । त्यसपछि सेयर १३० रुपैंयाँ भयो । फेरी त्यसको २५ प्रतिशत बोनस सेयर दिईयो १३० को २५ प्रतिशत भनेको ३२ दशलब ५ प्रतिशत हुन्छ । ३२ दशमलब पाँच प्रतिशत बोनस सेयर बढी होकी ३० प्रतिशत बोनस सेयर बढी हो ? आफैं बुझ्न सकिन्छ । हामीले निरन्तर रुपमा एउटै मात्रामा बोनस सेयर दिईरहनु पर्छ भन्ने मान्यता राखेका हौं । घट्न दिँदैनौं । अर्काे महत्वपूर्ण कुरा भनेको म यो कम्पनीमा आएदेखि नै हामीले नगद लाभांश वितरण गरेका छैनौं । बोनस सेयर नै दिँदै आएका छौं । यसले कम्पनीको स्थायीत्व र जोखिम बहन गर्ने क्षमता बढाईरहेको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई पूँजी वृद्धिमा जान दवाव दिदै आएको छ । यतिबेला बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्नु वाध्यता हो कि आवश्कता हो ? मेरो विचारमा पूँजी वृद्धि आवश्यकता हो । एउटा कम्पनीका लागि पूँजी भनेको रुखको जरा जस्तै हो । रुखको जरा जति परसम्म फैलन्छ त्यति नै त्यो रुख बलियो हुन्छ । नरिवलको रुखको जरा एक किलोमिटर परसम्म फैलिएको हुन्छ त्यसैले ठुलो हावामा पनि ढल्दैन । जुन कम्पनीको धेरै पूँजी हुन्छ त्यो कम्पनीको जोखिम बहन क्षमता त्यति नै बढी हुन्छ । प्रोमोटरको लगानी बढाईयो भने जिम्मेवारी पनि बढ्छ र पब्लिकमा विश्वास पनि बढ्छ । त्यसकारण बीमा कम्पनीहरुको पू्ँजी बढाईनु आवश्यक छ । बीमा कम्पनीहरुको पूँजी कति बढाउनु पर्ला वा उचित होला ? कति बढाउने भन्ने कुरा बीमा समितिको क्षेत्राधिकार भित्र पर्छ । अहिलेका लागि दुई सय देखि तीन सय करोड पूँजी पुर्याउनु उत्तम हुनेछ । अहिले ५० करोड पूँजी भएका कम्पनीले एकै पटक पाँच सय करोड पुर्याउन निकै कठिन हुन्छ । त्यसैले अहिले २ सय करोड पूँजी वृद्धिको योजना ल्याउनु उत्तम हुनेछ । एकै पटक १० फिट उफ्रन्छु भनियो भने दुर्घटना हुन्छ । १० फिट उफ्रनका लागि पहिले दुई, तीन, चार फिट हुँदै अघि बढ्नु पर्छ । भर्खर ७ प्रतिशतको बजार हिस्सा ओगट्न सकिएको छ । दुई वर्षपछि हाम्रो लाइफ फण्ड चार हजार करोडको हुन्छ । त्यसको १० प्रतिशत पूँजी कायम गराउने हो भने साढे तीन देखि चार सय करोडको पुँजी पुर्याउनु पर्छ । त्यसको केहि समय पछिको कुरा गर्ने हो भने अझै बढाउनु पर्ने हुन सक्छ । तर आजका लागि भने दुई सय करोड पुँजी पुर्याउनु ठिक हुन्छ । भारतको बीमा बजारको बारेमा पनि तपाईलाई राम्रो ज्ञान छ । अन्तराष्ट्रिय बजारका बारेमा पनि अध्ययन गरिरहनु भएको छ । तपाईले नेपालको बीमा बजारलाई विश्व बजारसँग कसरी तुलना गर्नुभएको छ ? नेपालको बीमा क्षेत्र भनेको उच्च सम्भावनायुक्त बजार हो । कुल बजारको जम्मा ७ देखि ८ प्रतिशत बजार मात्रै ओगट्न सकिएको छ । आगामी पाँच देखि १० वर्षभित्र नेपालको बिमा बजार(लाइफ इन्स्यारेन्स) ५० देखि ६० प्रतिशतसम्म बजार विस्तार हुन सक्छ । नेपालमा आज जस्तो अवस्था छ, २० वर्ष पहिले भारतमा पनि त्यस्तै थियो । हामीले अब के हुन्छ होला भनेका थियौं तर बजार निरन्तर बढ्यो र आज राम्रो अवस्थामा आईपुगेको छ । नेपालले पनि ठूलो फड्को मार्छ । म आउँदा १४ वटा ब्राञ्च थिए एलआईसी नेपालको । अहिले ३४ वटा ब्राञ्च विस्तार गरिसकिएको छ । म आउँदा ५० करोड फस्ट प्रिमियम थियो । अहिले २५० करोड पुगिसकेको छ । यो पाँच बर्षको प्रगति हो यसलाई हेर्ने हो भने सम्भावना राम्रो छ । विश्व बीमा बजारको तुलनामा नेपालको बीमा बजार धेरै पछाडि छ । पूँजी, प्रबिधि, जनशक्ति, चेतना सबै हिसाबले नेपाल बीमा बजार धेरै पछाडि छ । भारतले समेत अन्तराष्ट्रिय बजारको विकासलाई पछ्याउन सकिरहेको छैन । नेपालले आफुलाई भारतको अवस्थामा पुर्याउन अझै १० वर्ष लाग्छ । अन्तराष्ट्रियस्तरकै बजारका रुपमा विकास गर्न त अझै धेरै समय लाग्छ । अझै जबरजस्ती बीमा गराउनु पर्ने अवस्था छ । जनतामा बीमाका बारेमा चेतना बढाउन धेरै काम गर्नु पर्नेछ । अहिले त हामीले इन्स्योरेन्स गर्नुस भनेर विज्ञापन गरिरहेका छौं । जनताले हाम्रो स्वार्थ जोडिएको छ भनिरहेका छन् । नेतादेखि कलाकार, समाजिक अभियन्ता सबैले बिमा गर्नुस भनेर जनतालाई भन्नु पर्छ । भूकम्पमा ९ हजार नेपालीले ज्यान गुमाए तर पाँच सयभन्दा कमले मात्रै बीमा गरेका रहेछन् । नेपालको बीमामा प्रडक्टको विविधता नभएको आरोप लागिरहेको छ, प्रडक्टमा विविधिकरण कसरी ल्याउन सकिन्छ ? कम्पनीको योजना के छ ? नेपाल सानो मुलुक हो, बजार पनि सानै छ, भारतमा मेरो राज्य उडिसाको जनसंख्या ६ करोड छ । नेपालको जनसंख्या पौने तीन करोड मात्रै छ । अहिले हामीले १५ वटा प्रडक्ट बेचिरहेका छौं । पहिले ४५ प्रडक्ट थिए । त्यो घटाउँदै ल्याएका हौं । प्रडक्ट बिक्री भएन भने अघि बढ्न सकिन्न । माग बढ्यो भने प्रडक्ट नयाँ ल्याउने हो । पुरानै प्रडक्ट बिक्री भैरहेको छैन भने नयाँ प्रडक्ट कसरी ल्याउने ? बजार वृद्धि नभएकाले प्रडक्टहरुमा विविधिकरण नभएको हो । बजार ठूलो छ तर चेतनाको अभावमा त्यसको फाईदा लिन सकिरहिएको छैन । यद्यमी हामीले नयाँ प्रडक्ट ल्याईरहेका छौं । हामीले केहि दिन पहिले मात्रै जीवन विद्यालय प्रडक्ट ल्याएका थियौं । अब जीवन श्री नामको नयाँ प्रडक्ट ल्याउँदैछौं । त्यो बिमा समितिमा पुगिसकेको छ । बीमा समितिले प्रस्ताव गरेको ऐनको मस्यौदामा जीवन बीमा कम्पनीको लागि ५०० करोड चुक्ता पुँजी हुनुपर्ने भन्ने उल्लेख छ । सोही अनुसार ऐनमा पुँजीवृद्धि तोकिएर आयो भने कसरी पूँजी वृद्धि गर्नुहुन्छ ? बीमा समितिले कति पुँजी बढाउदै छ हामीलाई स्पष्ट छैन । कस्तो बाघसँग भिड्नु पर्ने हो त्यसका आधारमा रणनीति बनाउने हो । कति पुँजी बढाउनु पर्ने योजना आउँछ त्यसरी नै हामी अघि बढ्छौं । बोर्डले पाँच सय करोड पुँजी पुर्याउने योजना ल्याउँदैन भन्ने लाग्छ । साना कम्पनीहरु पनि छन् । उनीहरुको अवस्थालाई पनि हेरेर बोर्डले निर्णय गर्छ भन्ने लाग्छ । यदि २०० करोड चुक्ता पुँजी तोकिएको अवस्थामा हामीलाई गाह्रो छैन । अहिले हाम्रो पुँजी १०६ करोड छ । बाँकी ९४ करोड आवश्यकता पर्छ । त्यसका लागि राईट र एफपिओ जारी गरेर पुँजी पुर्याउन सक्छौं । नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ, जुन जनतासम्म पुगेको देखिन्छ । भारतीय लगानीमा सञ्चालित एलआइसी(नेपाल)लाई बजारीकरणमा केहि समस्या आएको छ ? यो भारतको लगानी भएको नेपाली कम्पनी हो । नेपालका सबै कानुनहरुको अधिनमा रहेर स्थापित र सञ्चालित कम्पनी छ । मैले पाँच वर्षमा पहाडका ४० जिल्लाको भ्रमण गरिसकेको छु । कहीँ पनि त्यस्तो महशुस गरिन् । हाम्रा केहि प्रतिष्पर्धी कम्पनीले भने हामीलाई भारतीय कम्पनी भनेर गाली गरेको सुनेको छु । तर पब्लिकको स्तरमा कुनै समस्या छैन ।