किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन गर्दै, आयोजना असार १६ र १७ गते काठमाडौंमा हुने
काठमाडौं, ७ जेठ । किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलन असार १६ र १७ गते हायात रेजेन्सी काठमाडौंमा हुने कलेजले बताएको छ । कलेजले सामाजिक उद्यम मार्फत नेपालमा पुननिर्माण भन्ने विषयमा केन्द्रित गरेर उक्त सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा गत साल वैशाख १२ गते गएको भूकम्पपछिको पुनस् निर्माणमा सामाजिक उद्यमशीलताको भूमिकाबारे छलफल हुने कलेजले बताएको छ । कलेजका अनुसार कार्यक्रममा ३० वटा भन्दा बढी सामाजिक उद्यमीहरुको कथा प्रस्तुत हुनेछ । कार्यक्रममा विश्वभरीका सात विख्यात वक्ताहरुले प्रस्तुती गर्ने आयोजकले जानकारी दिएका छन् । किङ्गस् कलेजका प्रिन्सिपल नरोत्तम अर्यालका अनुसार नेपालमा र दक्षिण एसियामा सामाजिक उद्यमशीलता विकासमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई एकै छानामा ल्याउनु कार्यक्रमको मुख्य उद्येश्य रहेको हो । नेपालको परिपेक्षमा सामाजिक उद्यमशीलता नौलो विषय भएकाले सम्मेलनले यसलाई परिभाषित गर्नमा सहयोग र्पुयाउने एप्पल इन्कका सिद्धार्थ राझन्सले विश्वास व्यक्त गरेका छन् । साथै यसले सामाजिक उद्यमशीलताको सफलता र असफलता दुवै पक्षबाट मुल्याकंन गर्नमा मद्दत र्पुयाउने राझन्सले बताए । सम्मलेनमा तीन सय भन्दा बढी मानिसहरुको सहभागीता रहने आयोजकले अपेक्षा गरेका छन् ।
नेपाल–चीनबीचको परामर्श बैठक बुधबार राजधानीमा बस्दै
काठमाडौं, ७ असार । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ । बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कोङ सनयु छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न यहाँ आइपुग्ने कार्यक्रम छ । परामर्श बैठकमा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल हुनाका साथै विगतमा दुई मुलुकबीच भएका सम्झौताको कार्यान्वयनबारे पनि विचारविमर्श हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका बेला भएका सन्धिसम्झौताको कार्यान्वयनलाई अघि बढाउने सम्बन्धमा पनि छलफल हुन सक्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए । यहाँ रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसँग पनि बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको ती अधिकारीले बताए । यसअघि उक्त बैठक बेइजिङमा भएको थियो । हरेक वर्ष आयोजना हुने उक्त बैठक गत वर्षको भुइँचालो र अन्य कारणले हुन सकेको थिएन । बैठकमा नेपाल सरकारका तर्फबाट गृह, कानुन, न्याय तथा संसदीय मामिला, वाणिज्य, आपूर्ति, रक्षा, उद्योग, कृषि विकास, शिक्षा, वन तथा भूसंरक्षण, सङ्घीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार, ऊर्जा मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । रासस
बजारमा ललिपप आतंक, हानिकारक शिशा भेटिएपछि उत्पादन र बिक्रिमा प्रतिबन्ध
काठमाडौं, ७ असार । महंगी र कालोबजारीले उपभोक्ता हैरान भैरहेका बेला बजारमा ललिपपको नयाँ आतंक देखिएको छ । हेर्दा राम्रो देखिने र खाँदा गुलियो स्वाद भएका ललिपपहरुमा हानिकारक शिशा फेला परेपछि यस्तो आतंकको पर्दाफास भएका हो । एसियन बिस्कुट एण्ड कन्फेक्सनरी दुहबीद्धारा उत्पादित ललिपपका नलिहरुमा चम्किने अज्ञात रसायन फेला परेको छ । ती रसायनहरु मर्करी भएको र त्यसले मानव स्वास्थ्यमा गम्भिर हानी पुर्याउने भन्दै उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले विकासन्युजलाई जानकारी दिए । एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गर्दै आएको ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट लगायतका चम्किने ललिपपहरुमा हानिकारक रसायन फेला परेको हो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलालल महर्जनले बर्दियामा ललिपप खाएर चार जना बालक बिरामी भएपछि गुणस्तर परिक्षणका लागि विभागमा उजुरी दिएको बताए । ‘ललिपप खाएर बालबालिका बिरामी भएको खबर आएपछि हामीले उजुरी हालेका थियौ, ललिपपको नलिभित्र रहेको चम्किने पदार्थ मर्करी हो र त्यसले स्वास्थ्यलाई गम्भिर असर गर्ने देखियो’, मञ्चका अध्यक्ष महर्जनले भने । ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट ललिपप उत्पादन गर्दै आएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी उद्योगमा विभागले ताला लगाएको छ । बजारमा पुगेका यस्ता ललिपप समेत फिर्ता गर्न उद्योगलाई निर्देशन दिएको छ । ‘उत्पादन बन्द गराएका छौं भने बजारमा पठाइसकिएका समान फिर्ता गर्न निर्देशन दिएका छौं, अब आयातित ललिपपको समेत बजार अनुगमन गर्छाै’, विभागका प्रवक्ता वस्तीले भने ।
क्यास्ट्रोल एक्टिभो अब नेपाली बजारमा
काठमाडौं, ७ असार । क्यास्ट्रोल लुब्रिकेन्ट्सको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालिले क्यास्ट्रोल एक्टिभोलाई भित्र्याएको हो । एक्टिभो फोर स्ट्रोक इन्जिन आयल हो । एक्टिभोको प्रवेशसँगै अब नेपाली बजारमा पहिले देखि प्रचलित क्यास्ट्रोलको एक्टिभ ४टी लुब्रिकेन्ट्सको स्थानमा एक्टिभो स्थापित हुने भएको छ । एक्टिभो पहिलेको एक्टिभ भन्दा विशेष रुपमा परिस्कृत गरेर बजारमा ल्याइएको छ । यसमा अत्याधुनिक एक्टिभ बोन्ड मोलिक्युल्स रहेको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित बताउँछन् । रञ्जितका अनुसार उक्त मोलिक्युल्सको सहयोगले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इन्जिनलाई सुरक्षित राख्छ र यसमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउदैन । इन्जिनका भागहरुमा उक्त मोलिक्युल्स टाँसिएर बसेको हुन्छ जसले स्टार्ट बन्द गरेको र फेरि स्टार्ट गरेको अवस्थामा पनि इन्जिनलाई पूर्ण सुरक्षित राख्ने कम्पनीले बताएको छ । एसिया र मध्यपूर्वी देशमा एक्टिभ र युरोप तथा अमेरिकी बजारमा एक्टिभो प्रचलित थियो । क्यास्ट्रोलको एक्टिभ पहिलेदेखि नै नेपाली उपभोक्ताहरुका बीचमा लोकप्रिय भएकाले दक्षिण एसियामै पहिलो पटक एक्टिभोलाई नेपाली बजारमा पठाइएको कम्पनीको भनाइ छ । पहिलेको एक्टिभ सरहकै मूल्य कायम भएकाले पनि यसले नेपाली बजारमा लोकप्रियता हासिल गर्ने कम्पनीको दावी छ ।
सिद्धार्थ र युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु
काठमाडौं, ७ असार । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात् मंगलबार एक औपचारिक समारोहका बीच सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको बैंकले जनाएको छ । बैंकको एकीकृत कारोबारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् । बैंकले आगामी दिनहरुमा एक सबल र सुदृढ बैंकको रुपमा आफ्ना ग्राहकहरुका विविध बैंकिङ्ग आवश्यकताहरुलाई अझ प्रभावकारी रुपमा पुरा गर्ने लक्ष्य लिएको छ । मर्जर पश्चात् सिद्धार्थ बैंकको कुल पुँजी ३ अर्ब २ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । साथै, बैंकले १ अर्ब ९० करोड रुपैयाँ मुनाफा र १ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको विज्ञप्तिले जनाएको छ । हालसम्ममा ६२ अर्ब १० करोड रुपैयाँ कुल निक्षेप संकलन गर्न र ५३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको बैंकले जानकारी गराएको छ । मर्जर पश्चात् बैंकले नेपालभर ६९ शाखा, ८१ ए.टि.एम र ६५ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बैंकले बताएको छ ।
द व्रिटिश कलेज र सिस्कोबीच सहकार्य
काठमाडौं, ७ असार । द ब्रिटिस कलेजले सिस्कोसँग मिलेर नेटवर्क स्कील ट्रेनिङ एकेडेमी सञ्चालन गर्ने भएको छ । विश्वभर नेटवर्किङको नेतृत्व लिइरहेको सिस्कोले मानिसहरुलाई सञ्चार मार्फत जोडिरहेको छ । सिस्कोसँगको सहकार्यले द व्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीको सूचना प्रविधि क्षेत्रका करिअर बनाउन सहयोग गर्ने कलेजले बताएको छ । ‘यो एउटा विश्वव्यापी शैक्षिक कार्यक्रम हो । जसमा नेटवर्क सेक्युरिटी तथा प्रशासन, प्राविधि सहयोग, हेल्थकेयर आइटीः प्रोफेशनल सर्टिफिकेट, इन्जिनियरिङमा उच्च शिक्षा, कम्प्युटर साइन्स तथा अन्य क्षेत्रगत विषयहरु रहेका छन्’, कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कलेजले लगातारको अध्ययन र केही अग्रेजहरुसँगको छलफल पछि सूचना प्रविधि क्षेत्रमा नयाँ कार्यक्रम सुरु गरेको बताएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा हुने गरेको प्राविधिक जनशक्तिलाई ध्यान दिएर पनि यस्तो शैक्षिक कार्यक्रम सुरु गरिएको कलेजले बताएको छ । उक्त एकेडमीले द व्रिटिश कलेजमा ‘सिसिएनए राउटिङ’ र ‘स्वीचिङ’ जस्ता कोर्सहरु अफर गरेको छ । यी कोर्सहरु सिस्को नेट स्पेस, नेटवर्किङ एकेडमीको मातहतमा रहेर प्रदान गरिनेछ । सिस्को तथा ग्लोबल एजुकेटर टिमले अनलाइन कोर्सहरु पनि विकास गरिसकेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न ल्याब, नेटवर्क सिमुलेसन अभ्यास, एसिसमेन्ट जस्ता विशेषताहरु अफर गरिएका छन् । सर्टिफाइड इन्सट्रकटरहरुले विभिन्न तहमा रहेर विद्यार्थीहरुको प्रगति हेर्ने तथा सेवा प्रदान गर्ने काम गर्नेछन् । सिस्को नेटवर्किङ एकेडमीले विश्वभरका १६५ राष्ट्रहरुमा ४० लाख विद्यार्थीहरुलाई सूचना प्रविधि र नेटवर्किङ विषयमा जानकारी प्रदान गरिरहेको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनलाई टोकियोको सहयोग, करिब ११ लाखभन्दा बढी नगद
टोकियो, ७ असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक शिव तण्डुकारका अनुसार गत वर्षको भूकम्पबाट अतिप्रभावितमध्येको सिन्धुपाल्चोकको गिरान्चौर नमुना बस्ती निर्माणकर्ता फाउन्डेसनको सहयोगार्थ त्रिपुरेश्वरको कृषि विकास बैंकमा रहेको फाउन्डेसनको खातामा पठाइएको संयोजक तण्डुकारले जानकारी गराए । रासस