संसारभरी इन्टरनेट दिने लक्षका साथ स्पेशमा पठाउन लागेको फेसबुकको रकेट विष्फोट, २२ अर्व रुपैयाँको क्षती
काठमाडौं, २५ भदौ । आउँदो साता लन्च गर्ने तयारी भइरहेको फेसबुकको स्याटेलाइट विस्फोट भएको छ। ‘स्पेस एक्स एस फाल्कन ९’ नाम रहेको उक्त रकेट फ्लोरिडास्थित केपकानाभरल लन्च प्याडमा विस्फोट भएको हो। रकेट इन्जिनको स्टेटिक फायर टेस्ट गर्ने क्रममा सो स्याटेलाइट विस्फोट हुन पुगेको थियो। स्पेस एक्सका अनुसार यो दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन। स्पेस एक्सले सुरुमा लन्च प्याडको अनिमितताका कारण दुर्घटना भएको बताएको थियो। तर पछि भने फाल्कन ९ को माथिल्लो भागमा रहेको अक्सिजन ट्याङकमा समस्या आएपछि विस्फोट भएको बताएको छ। विस्फोटपछि फेसबुकका प्रतिनिधिले उक्त घटनाबाट आफूहरु एकदमै निराश भएको बताएका छन्। फेसबुकले सब-सहारान अफ्रिकामा इन्टरनेट पुर्याउनका लगि ‘अमोस ६’ नामक स्याटेलाइट प्रयोग गर्न लागेको थियो। फेसबुकको इन्टरनेट डट ओआरजी अभियानमार्फत २०१५ अक्टोबर ५ मा इन्टरनेट ओआरजीको सुरुवात गरिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका थिए। स्याटेलाइटको डिजाइन, उत्पादन लगायतबारे भने २०१२ नोभेम्बर १२ मा सम्झौता गरिएको थियो। जसको अनुमानित लागत १९५ मिलियन डलर रहेको थियो। आफ्नो पहिलो स्याटेलाइटको क्षतिले आफू एकदमै निराश भएको जुकरबर्गले बताएका बताएका छन्। ‘म यहाँ अफ्रिकामा छु। स्पेस लन्चको असफल परीक्षणले स्याटेलाइट विस्फोटको घटनाप्रति म एकदमै निराश छु,’ उनले फेसबुक पेजमा लेखेका छन्।
एप्पलले सार्वजनिक गर्यो नयाँ आइफोन ७, सेप्टेम्बर १६ देखि विश्वबजारमा
काठमाडौं, २५ भदौ । एप्पलले बुधबार अमेरिकाको क्यालिफोर्नियामा एक भव्य समारोहमा बहुप्रतिक्षित आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक गर्यो। यी नयाँ आइफोनको प्रि अर्डर सेप्टेम्बर ९ देखि लिन थालिनेछ भने वितरण सेप्टेम्बर १६ तारिखदेखि हुनेछ। ३२ जिबीको आइफोन सेभेनको मूल्य ६४९ अमेरिकी डलर राखिएको छ भने उत्तिकै जिबीको आइफोन सेभेन प्लसलाई ७६९ डलर मूल्य राखिएको छ। के छ त नयाँ आइफोनको विशेषता? १) डिजाइन एप्पलले यस पटक विशेष डिजाइन तयार पारेको छ। फिनिसिङको लागि यसले नयाँ ब्ल्याक र जेट ब्ल्याक उपयोगमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ डिजाइन पहिलो पटक धुलो र पानीले असर नपार्ने खालको छ। त्यसैगरी नयाँ आइफोनमा नयाँ किसिमको होम बटन राखिएको छ। कालो बाहेक यो सिल्भर, गोल्ड र रोज गोल्डमा पनि उपलब्ध हुनेछ। आइफोन सेभेन ४.७ इञ्चको हुनेछ भने सेभेन प्लस ५.५ इञ्चको। २) क्यामेरा यस पटक एप्पलले आइफोनमा क्यामेरामा पनि नयाँ प्रयोग गरेको छ। सेभेन प्लसमा पछाडि दुई वटा क्यामेरा राखिएको छ। अप्टिकल इमेज स्ट्याबलाइजेसनका साथ लो लाइटमा पनि राम्रो फोटो खिच्ने दावी कम्पनीको छ। १२ एमपीको क्यामेराले भिडियो फोर के क्वालिटीको खिच्न सकिनेछ। त्यसैगरी १०८० र ७२० पिक्सेलको एचडीमा स्लो मोसन भिडियो खिच्न सकिनेछ। सेल्फीका लागि यसमा ७ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा राखिएको छ। सेभेन प्लसका दुई क्यामेराले वाइड एङ्गल र टेलिफोटो क्यामेराको कामका साथै अप्टिकल जुम २ एक्स र डिजिटल जुम १० एक्ससम्म गर्न सकिनेछ। ३) डिस्प्ले नयाँ आइफोनको रेटिना एचडी डिस्प्लेले उज्यालो र बढी कलरफूल दृश्य देखिनेछ। डिजिटल सिनेमा इन्डस्ट्रीकै सरह कलर स्पेस आइफोन सेभेनले प्रयोग गर्ने कम्पनीको दावी छ। त्यसैगरी यसमा थ्री डी टचको पनि उपयोग गरिएको छ। अर्थात् टचको फिल पनि यसमा हुनेछ। ४) चिप यसमा स्मार्टफोनकै सबैभन्दा शक्तिशाली चिप राखिएको दावी कम्पनीको छ। आइफोन ६ भन्दा यो दुई गुणा फास्ट हुन्छ भने अहिलेसम्मको आइफोन मध्ये सबैभन्दा बढी ब्याट्री यसैमा टिकाउ हुनेछ। ५) अडियो आइफोनमा यस पटक अडियोमा पनि निकै परिवर्तन गरिएको छ। यसअघिका आइफोनहरुमा एउटा मात्र स्पिकर राखिएको भए पनि अहिले भने माथि र तल गरी दुई वटा स्पिकर राखिएका छन्। अर्थात् स्टिरियो स्पिकर सिस्टम यसमा छ। आइफोन सिक्स एसभन्दा यो दुई गुणा ठूलो आवाज आउने बनेको छ। त्यसैगरी इयर पडको लागि ज्याक पहिलेको भन्दा फरक बनाइएको छ। अब लाइटनिङ कनेक्टरमार्फत् इयरपड जोड्नुपर्नेछ। त्यस्तै वायरलेस अडियोका लागि एयरपड ल्याइएको छ। एयरपडले तार एप्पल प्रडक्टमा नजोडिकन काम गर्नेछ। एयर पड अक्टोबरमा बल्ल बजारमा आउनेछ। ६) वाइफाइ र सेलुलर आइफोन ६ भन्दा यसको एलटिइ तीन गुणा छिटो हुने कम्पनीले जनाएको छ।
हुलाकी राजमार्ग प्रथमिकतामाः मन्त्री लेखक
राजविराज, २५ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य सरकारको प्राथमिकतामा रहेको बताए । नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अवरुद्ध हुलाकी सडकको निर्माण कार्यलाई दु्रतगतिमा अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरे । मन्त्री लेखकले सरकार हुलाकी सडक निर्माण कार्यमा देखिएका चुनौतीलाई समाधान र व्यवस्थापन गर्न प्रतिबद्ध रहेकाले यसको सफलताप्रति विश्वास गर्न आग्रहगर्दै गुणस्तरीय सडक निर्माणका लागि विभिन्न संयन्त्र परिचालन गरिएको जानकारी दिए । लामो समयदेखि अवरुद्ध सप्तरीको रुपनी–गाईघाट तथा छिन्नमस्तादेखि भारतीय सिमाना सम्म जोडिने सडकलाई समेत निर्माण गरिने पनि उनले बताए । रासस
चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ढिलाइप्रति मन्त्रालयको चासो
काठमाडौँ, २५ भदौ । लामो समयदेखि अवरुद्ध हुँदै आएको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा भइरहेको ढिलाइका बारेमा ऊर्जा मन्त्रालयले चासो राखेको छ । चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तीन महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिइरहेका बेला प्रसारण लाइन निर्माण प्रक्रिया नै सुरु नभएपछि चिन्ता थपिँदै आएको थियो । सन् २०१८ को डिसेम्बरसम्म रसुवागढी १११ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न हुने छ भने साञ्जेन र तल्लो साञ्जेन जलविद्युत् आयोजना पनि सो समय अगावै सम्पन्न हुने चरणमा रहेको छ । तर प्रसारण लाइन निर्माणको विषयमा स्थानीयवासीसँग कुनै सहमति हुन नसकेपछि हालसम्म यसमा कुनै प्रगति हुन सकेको छैन । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्ने तर्फ नेपाल विद्युत् प्राधिकरणले कुनै पहल नगरेको तथा मुआब्जा वितरणको विषयमा कुनै निक्र्यौल ननिस्केपछि मन्त्रालयले चासो लिएको हो । मन्त्रालयले सो आयोजनाको विषयमा देखिएको विवाद तत्काल हल गर्ने र प्रसारण लाइनको् काम सुरु गर्न प्राधिकरणलाई निर्देशन दिएअनुसार नै हरेक दिनजसो प्रतिवेदन मन्त्रालयलाई उपलब्ध गराउने गरिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिएको र आगामी असारसम्म परियोजना सम्पन्न हुने अवस्था आएपनि प्रसारण लाइन निर्माणले गति लिन नसक्दा विद्युत् खेर जाने अवस्था सिर्जना भएको छ । सो आयोजनाको क्षमता १४ दशमलव ८ मेगावाट रहेको छ भने तल्लो साञ्जेन जलविद्युत् आयोजनाको क्षमता ४२ दशमलव ५ रहेको छ । प्राधिकरणका प्रसारण निर्देशनालयले शुक्रबार परामर्शदाता पावर ग्रिड इन्डियासँग छलफल गरेको थियो । प्राधिकरणका उपकार्यकारी निर्देशक कन्हैया मानन्धरले आवश्यक प्रक्रिया मिलाएर प्रसारण लाइनको काम सुरु हुने बताउछन । यस्तै प्राधिकरणले प्राविधिकलाई प्रसारण लाइनमा पर्ने मार्गको स्थलगत अवलोकन गर्न पठाउने भएको छ । आयोजनाको जग्गाका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई यही भदौ २७ गतेका लागि तोकिएको छ । चिलिमे कम्पनीको २७ रोपनी जग्गा, साञ्जेन कम्पनीको केही जग्गा र स्थानीय जग्गाधनीको करिब ५० रोपनी जग्गा प्राप्त गरी रसुवाको गोल्जुगाविस– २ थम्बुचेतमा २२०१३२ केभी सव स्टेसन निर्माण कार्यअघि बढेकोमा स्थानीय जग्गाधनीले मुआब्जा लिन अस्वीकार गर्दै आएका कारण समस्या पैदा भएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाले जग्गा अधिग्रहण कार्यका लागि मुआब्जा निर्धारण भइसकेको र त्यसका लागि तीन करोड बजेट छुट्ट्याइएको भए पनि हालसम्म स्थानीयवासी मुआब्जा लिन नआएको तथा उचित मुआब्जा नपाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । स्थानीयवासीमध्ये नोर्बु वाङ्दी तामाङको सबैभन्दा बढी जग्गा रहेको छ भने अर्का जग्गाधनी उर्गेन लामाको जग्गा उक्त प्रसारण लाइनको मुख्य हवमापर्ने छ । प्राधिकरणले प्रसारण लाइन निर्माणमा चासो नदेखाएका कारण चिलिमे जलविद्युत् कम्पनी मातहतका आयोजनाले निर्माण गरिरहेको विद्युत् खेर जाने अवस्था आएको भन्दै ऊर्जा मन्त्री जनार्दन शर्माले चासो लिएका हुन । मन्त्री शर्माले भने ‘‘मुलुक अन्धकारमा पर्ने तर आयोजनाबाट उत्पादन भएको विद्युत् खेर जाने भन्ने हुनसक्दैन, चिलिमे हव निर्माणमा किन ढिलाइ भइरहेको छ, ढिलाइ कुनै हालतमा हुनुहुन्न, तत्काल काम सुरु हुनुपर्छ ।’’ साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइका कारण आफूहरुलाई समस्यामा पारेको बताए । उनले भने‘‘हामीले तल्लो साञ्जेन सम्पन्न गर्दा प्रसारण लाइन नबन्ने भएकाले समस्यामा परेका छौं, हामीसँग कुनै उपाय नै छैन’’ आयोजना प्रमुख अधिकारीले भने‘‘ठेकेदारलाई पूर्णरुपमा परिचालन गर्नसक्ने अवस्था पनि प्रसारण लाइनकै कारण देखिएको छ ।’’ चिलिमे हव परियोजनाका प्रमुख केदार सिलवाल आयोजनाको सम्बन्धमा देखिएका विवाद समाधान गर्न आफूहरु प्रयासरत रहेको बताए । आयोजनाका सम्बन्धमा परेको मुद्दाको किनारा लगाउन र आवश्यक सहजीकरणका लागि आयोजनाले संवद्ध सरोकार भएका पक्षसँग आग्रह गरेको छ । रासस
बैंकिङ कसूरका दोषीलाई १२ वर्षसम्म जेल
२५ भदौ, काठमाडौं । अबदेखि बैंकिङ कसूरका दोषीलाई विगोको दोब्बर जरीवाना र १२ वर्षसम्म जेल सजाय हुने भएको छ । व्यवस्थापिका सांसदले बैंकिङ कसूर तथा सजायसम्बन्धी ऐन २०६४ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेसँगै बैंकिङ कसूरका दोषीलाई कडाभन्दा कडा कारवाही हुने भएको हो । संसदले पारित गरेको ऐनमा १ अर्ब रुपैयाँभन्दा बढी कसूर गर्नेलाई बिगोको दोब्बर जरिवाना र १० देखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । त्यसैगरी ५० करोडदेखि १ अर्ब रुपैया“सम्म कसुर गर्नेलाई ८ देखि १० वर्ष, १० करोडदेखि ५० करोड रुपैयाँ कसुर गर्नेलाई ६ देखि ८ वर्ष, १ करोडदेखि १० करोड रुपैया“सम्म कसुर गर्नेलाई ४ देखि ६ वर्ष जेल सजाय हुने भएको छ । त्यस्तै ५० लाख देखि १ करोड रुपैया“सम्म कसूर गर्नेलाई ३ देखि ४ वर्ष, १० लाखदेखि ५० लाखसम्म कसुर गर्नेलाई २ देखि ३ वर्ष र १० लाख रुपैया“सम्म कसुर गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ । ढुकुटी र सहकारी पनि बैंकिङ कसूर नया“ ऐन पारित भएसँगै पहिलोपटक ढुकुटी र सरहकारीको कारोबार पनि बैंकिङ कसूरको दायरामा आएको छ । कानूनको अभावमा सहकारी र ढुकुटीको कारोबारमा व्यापक ठगी हु“दै आएको थियो । त्यस्तो ठगीलाई नियन्त्रण गर्न बैंकिङ कसूर ऐन लाग्ने व्यवस्था गरिएको हो । त्यसैगरी, सहकारी संघ वा संस्थाको परिभाषा थप गरी राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भन्ने ब्यहोरा थपिएको छ । त्यसैगरी, कालो सूचीमा परेका ऋणीहरुको बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गर्न नपाउने व्यवस्थालाई संसोधन गरी त्यस्ता ऋणीले अन्य बैंक तथा वित्तीय संस्थामा ऋण भुक्तानी गर्न तथा दैनिक जीवन गुजाराका लागि आधारभूत खर्च गर्न तोकिएबमोजिमको रकमको हदसम्म खाता सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । नयाँ ऐनमा बैंकका अवकासप्राप्त कर्मचारीलाई पनि कारवाही चलाउन सकिने उल्लेख छ। कुनै बैंक वा वित्तीय संस्थाको सम्पत्ति हिनामिना वा हानी नोक्सानी गरी बैंकिङ कसूर गरेको सम्बन्धमा त्यस्तो कर्मचारी वा पदाधिकारीउपर जहिलेसुकै पनि मुद्दा चलाउन सकिनेछ र यस्तो कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट अवकाश प्राप्त गरिसकेपछि पनि मुद्दा चलाउन बाधा पर्ने छैनु ऐनमा छ । त्यसैगरी, लेखा परीक्षकलाई समेत वित्तीय कानुनको दायरामा ल्याइएको छ, उनीहरुको गरेको वित्तीय विवरण फरक परेमा दण्डको व्यवस्था गरिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गर्दा धितोको मूल्यांकन गर्ने मूल्यांकनकर्तालाई पनि बैंकिङ कसुर अन्तरगत कारवाही हुने गरी सिफारिस गरिएको छ । गत माघ ११ गते अर्थ समितिले सांसद शेरबहादुर तामाङको संयोजकत्वमा बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक–२०७१ माथि छलफल गर्न उपसमिति गठन गरेको थियो । उपसमितिको जेठ ८ गते बसेको बैठकले बैंकिङ कसुर विधेयकमाथि छलफल गरी प्रतिवेदन समितिलाई प्रतिवेदन बुझाएको थियो । उपसमितिले बुझाएको प्रतिवेदन अर्थ समितिले संसदको पूर्णसदनमा पठाएको थियो । बैंकिङ कसूर ऐनमाथि सांसदहरुले ३३ वटा संसोधन प्रस्ताव दर्ता गराएका थिए ।
६ वर्षभित्रै निजगढ अन्तराष्ट्रिय बिमानस्थल बन्ने, लगानी १२१ अर्ब मात्रै
काठमाडौं, २५ भदौ । नेपाल नागरिक उड्डयन प्राधिरणले एक खर्ब २१ अर्ब रुपैंयाँ खर्चेर निजगढ अन्तराष्ट्रिय बिमानस्थलको पहिलो चरणको निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा बस्ने प्राधिकरण सञ्चालक समितिको बैठकले ६ बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि पहिलो चरणको योजना पास गरेको हो । निजगढ विमानस्लको स्केच सो योजना कार्यान्वयनका लागि आवश्यक बजेटको जोहो गरिदिन प्राधिकरणले सरकारसँ आग्रहसमेत गरिसकेको पर्यटन सचिव प्रेमकुमार राईले बताए । प्राधिकरणले तयार पारेको योजना अनुसार ६ बर्षभित्रै सिंगल रनवे र सोही अनुसारको टर्मिनल सहितको पुर्वाधार निर्माण गरिनेछ । यसलाई निजगढ अन्तराष्ट्रिय बिमानस्थलको पहिलो चरणको योजनाका रुपमा हेरिनेछ । यसरी निर्माण गरिएको बिमानस्थलले बर्षेनी एक करोड ५० लाख यात्रुलाई सेवा दिन सक्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए । कहाँ पुग्यो जग्गा अधिग्रहणको काम ? पर्यटन सचिव राईका अनुसार बिमानस्थलका लागि ११ हजार विगाह जमिन अघिग्रहण गर्नु पर्नेछ । सोमध्ये ११० बिगाह जमिनमा लालपुर्जाधारी स्थानियको बसोबास रहेको छ । सो जमिनमा बसोबास गरिरहेका लालपुर्जाधारी १२० परिवारमध्ये ८० परिवारलाई तुरुन्तै मुआब्जा वितरणको काम थाल्ने महानिर्देशक गौतमले जानकारी दिए । बाँकी रहेका ४० परिवारले भने आफुहरुलाई जमिन सट्टा भर्ना मागेका छन् । करिब ६ सय बिगाह ऐलानी जमिनमा १४२१ परिवार बसेका छन् । उनीहरुलाई मुआब्जा वितरणका लागि कानुनी व्यवस्था नरहेको सचिव राईले बताए । यद्यपी उनीहरुलाई अर्काे ठाउँमा जमिन सट्टा भर्ना दिनेबारे योजना बनिरहेको पनि उनले बताए । बाँकी क्षेत्रफलमा जंगल रहेको छ । सो जंगल कटानका लागि भने वन मन्त्रालयबाट अनुमति पाइसकिएको उनले बताए । कोरियन कम्पनीले बनाएको डिपिआर के गर्ने ? निजगढ बिमानस्थलकोविस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन कोरियाली कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्लू)ले बनाएको हो तर सरकारले अझै त्यो डिपिआर ग्रहण गरिसकेको छैन् । सोही डिपिआर अनुसार सरकारले बिमानस्थल बनाउने हो भने कोरियन कम्पनी डिपिआर निर्माण गर्दा लागेको खर्च सरकारले दिनुपर्छ । तर, प्राधिकरणका महानिर्देशक गौतमले एक वर्षभित्र इआईए, डिपिआर र सेटलमेन्ट प्लान बनाउने योजनासहित काम भैरहेको बताए । उनको भनाई अनुसार कोरियन कम्पनीले तयार पारेको डिपिआर अनुसार नभएर प्राधिकरणले नयाँ डिपिआर बनाउने तयारी गरिरहेको देखिन्छ ।
पूरक बजेट ल्याउनेबारे सरकार अन्योलमा, सत्तापक्ष नै पूरक बजेटको पक्ष र विपक्षमा
काठमाडौं, २५ भदौ । पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै पूरक बजेट ल्याउनेबारेमा सरकारी अधिकारीहरु बीच नै फरक विचार आउन थालेका छन् । सरकारको नेतृत्व गरेको नेकमा एमाओवादी केन्द्रका नेताहरु पुरक बजेट ल्याउन सरकारलाई दवाव दिदै आएका छन् । पार्टीका शीर्ष नेताहरु सरकारले पूरक बजेट ल्याउँछ भन्नेमा उनीहरु विश्वस्त छन् र सरकारलाई एक प्रकारले दवाव पनि दिइरहेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएकै दिन डा. मिनवहादुर श्रेष्ठले पनि सरकारले पूरक बजेट ल्याउन सक्ने बताए । एमाओवादी नेता चक्रपाणि खनालले सरकारले पू्रक बजेट ल्याउने र उच्चस्तरमा यसको तयारी भरिरहेको बताएका छन् । ‘सरकारले सन्तुलन मिलाएर पू्रक बजेट ल्याउनु पर्छ र ल्याउँछ,’ पनि उनले भने । त्यति उतिको बजेट भन्दा पनि काम गर्न सजिलो र सहज पार्न तथा आयोजनालाई प्राथमिकता गर्न पनि पूरक बजेट ल्याउनु आवश्यक भएको उनले बताउँदै आएका छन् । यसै साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ण्ड‘ले भने पनि एक सार्वजनिक कार्यक्रममा सरकारले पुरक बजेट ल्याउने संकेत दिएका थिए । उनले संसदमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रमको झल्को दिने गरि ४८ बुँदे सुधारका कार्यक्रम घोषणा गरेपछि सरकार पुरक बजेटको तयारीमा लागेको झल्को दिएको छ । तर, अर्थमन्त्री कृष्णवहादुर महराले बजेट ल्याउने विषयमा अर्थ मन्त्रालयमा कुनै छलफल नभएको बताउँदै आएका छन् । अर्थ सचिव शान्तराज सुवेदीले पनि माथिल्लो राजनीतिकस्तरमा यस सम्बन्धमा कुरा भएपनि अर्थ मन्त्रालयलाई पूरक बजेट ल्याउने सम्बन्धमा कुनै तयारी नभएको बताए । ‘अर्थ मन्त्रालय बजेट कार्यान्वयनमा जुटेको छ,’ उनले भने ‘बजेट कार्यान्वयनका लागि कुनै पनि साधन र स्रोतको अभाव हुन नदिन अर्थ मन्त्रालय प्रतिवद्ध छ । यसलाई हेर्दा सरकार बजेट ल्याउने नल्याउने सम्बन्धमा अझै कुनै निक्यौलमा पुग्न सकेको छैन, ऊ आफनै अन्योलमा रुमल्लिरहेको छ । पहिला सरकार बजेट ल्याउने सम्बन्धमा स्पष्ट हुनु पर्छ । बजे खर्च जुटाउन भन्दा पूँजीगत खर्च बढाउन अर्थमन्त्रालय लागि परेको सुवेदीले बताए । ‘विगत १० वर्षलाई हेर्ने हो भने ९० प्रतिशतभन्दा माथि पूँजीगत खर्च हुन नसकेको र गत आर्थिक वर्षमा पनि ५६ प्रतिशतमात्र पूँजीगत खर्च भएकोले यो खर्च गराउन मन्त्रालयलाई चुनौती थपिएको छ,’ उनले भने । बजेटमा आयोजना राखेपछि आयोजनाको कार्यान्वयनमा जानुको सट्टा खाका तयार पार्दैमा समय वित्छ, यस्ता कारणले पूँजीगत खर्च हुन नसकेको उनले बताए । मन्त्रालयले काममा ढिला सुस्ती नहोस भन्नका लागि साउन १ मै खर्चको अख्तियारी पठाउने गरेको छ । तर, पनि आयोजना समयमा सम्पन्न हुन सकिरहेका छैेनन् । खर्च जुटाउन भन्दा गराउन गाह्रो भएको उनले बताए । विकासे मन्त्रालयले राम्रोसँग काम गरिदिएमा यो समस्याबाट वाहिर निष्कन सकिने उनको भनाइ छ । बजेट कार्यान्वयन मन्त्रालयको पहिलो शर्त भएको भन्दै उनले भने ‘सरकारबाट पू्रक बजेटका बारेमा कुनै कुरा नआउको बताउँदै उच्च सरकारी संयन्त्रबाट यो विषयको उठान भएर नआएको बताएका छन् । हुनुत नयाँ सरकार गठन भएपछि आफ्ना सत्तारुढ दलको इच्छा अनुसारका कार्यक्रम राख्न तथा आफ्नो राजनीतिक एजेण्डा तथा सिद्धानलाई सहयोग गर्ने खालका कार्यक्रम समावेश गर्न पनि पुूरक बजेट ल्याउने परिपाटी छ । तर, अहिलेको अवस्था फरक छ । आम भूकम्प पीडितको अहिलेसम्म बासको जोह गर्न सकेको छैनन् । सरकारले घोषणा गरेको भूकम्प पीडितका लागि बनेका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैनन् । सरकारको अहिलेको प्राथमिकता भनेको भूकम्प पीडितलाई राहत दिनका लागि उचित बासस्थानको व्यवस्था र देशलाई समृद्ध बनाउन विकासे आयोजनालाई समयमै सम्पन्न गरी देशलाई समृद्धतर्फ लैजानु हो । अन्य सानातिना झिना मसिना काममा अल्झिनुभन्दा देशलाई आर्थिक समृद्धि तिर अग्रसर गराउने जनतासँग प्रत्यक्ष सरोकार राख्ने योजनामा कटिवद्ध हुनु जरुरी छ । सत्तारुढ दल नेपाली काँग्रेस पनि पुरक बजेटको विपक्षमा देखिएको छ । पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेस नेता डा रामशरण महतले पुरक बजेट ल्याउन नहुने विचार व्यक्त गर्दै आएका छन् । प्रमुख विपक्षी दल नेकमा एमाले पुरक बजेट विपक्षमा उभिएको छ भने अर्थविद्हरुले पनि पुरक बजेट आवश्यक नभएको बताउँदै आएका छन् ।
ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा, सरकाले ल्यायो नियन्त्रण कानुन
काठमाडौं २५, भदौ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ। व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको शनिबारको राजधानी दैनिकमा समाचार छापिएको छ। संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस् भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए। लामो समयदेखि चल्दै आएको ढुकुटीको कारोबार सरकारले नियन्त्रणमा लिइसकेको छ । सरकारले यस अघि कुनै नियम तथा कानुनकै अभावमा ढुकुटी र सहकारीको कारोबारमा नियन्त्रण गर्न नसक्दा समाजमा विकृति फैलिएको थियो । सरकारी नियन्त्रण नीतिकै अभावमा ढुकुटी र सहकारीबाट करोडौ डुबाउने पनि छन् ।