दशैं तिहारमा गोदरेजको क्यास ब्याक अफर
काठमाडौं, ३० भदौ । गोदरेजले दशैं तिहारको उपलक्ष्यमा इन्ष्ट्यान्ट क्यास ब्याक अफर लिएर आएको छ । उक्त अफर हरेक गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीहरु, रेफ्रिजेरेटर, वासिङ् मेसिन र माइक्रोवेभेनको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना भदौ २९ गतेदेखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । गोदरेज विश्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात छ । गोदरेजले लामो समय देखि नेपाली ग्राहकहरुको आवश्यकता अनुसारको उत्पादन गरिरहेको छ र विश्वसनियता प्राप्त गरिरहेको छ । त्यसैले गोदरेजका रेफ्रिजेरेटर ग्राहकको पहिलो रोजाईमा पर्दछन् र अहिले आएर गोदरेजको रेफ्रिजेरेटर, वासिङ् मेसिन र माइक्रोवेभेन र अन्य घरायसी सामाग्रीहरुको उत्पादनमा पनि प्रख्यात भएको छ । इन्ष्ट्यान्ट क्यास ब्याक अफरको बारेमा बोल्दै गोदरेजका सेल्स म्यानेजर शैलेन्द्र झाले भने, “हामी सधै असल र सकरात्मका तरिकाले उपभोक्ताहरु सँग सम्बन्ध बढाउने सोचले अगाडी बढीरहेका छौँ । ग्राहकको खुशी र सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो त्यसैले हामी सधै झै महान् चाड दशैं तिहारको अवसरमा उपभोक्ताहरुकोे उत्साह र उमंग बढाउन यो सरल इन्ष्ट्यान्ट क्यास ब्याक अफर ल्याएका छौं” ।
जहाज किन्न निगमलाई सञ्चय कोषले २५ अर्ब दिने
काठमाडौं, ३० भदौ । नेपाल वायुसेवा निगमलाई वाइड बडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषले २५ अर्ब ऋण दिने भएको छ । नेपाल सरकारको जमानीमा कोषले निगमलाई वाइड बडी जहाज खरिदका लागि २५ अर्ब ऋण दिन तयार भएको हो । यसअघि पनि कोषले निगमलाई १२ अर्ब ऋण दिईसकेको छ । सरकारी जमानीमा प्राप्त सोही ऋणबाट निगमले चिनियाँ जहाज खरिद गरेको हो । कति प्रतिशत ब्याजदरमा ऋण दिने भन्नेबारे कुनै सहमति नभएपनि निगम र कोषबिच ऋणबारे भने मौखिम सहमति भैसकेको छ । चिनियाँ जहाज खरिदका लागि लिएका ऋणको ब्याज महंगो भएपछि निगम व्यवस्थापनको आलोचना भएको थियो । निगमले चिनियाँ जहाज खरिदका लागि कोषसँग १२ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो । पछि त्यसलाई घटाएर १० प्रतिशतमा झारिएको छ । हाल निगमले कोषलाई १० प्रतिशतका दरले ब्याज तिरिरहेको छ ।
लक्ष्मी बैंकको दुई नयाँ शाखा बागलुङ्ग र स्याङ्गजामा
काठमाडौं, ३० भदौ । बिहीबारदेखि लक्ष्मी बैंकले दुई नयाँ शाखा बुर्तीबाङ्ग (बागलुङ्ग) र गल्याङ्ग (स्याङ्गजा)मा शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने उद्देश्यले बैंकले पश्चिमाञ्चलका यी दुई स्थानमा नयाँ शाखा खोलेको हो । नयाँ शाखाको विस्तारसँगै बैंकले बैकिङ्ग क्षेत्रमा पहुँच नभएका बजारहरुमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ । साथै बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने विश्वास लिएको छ । आर्थिक वर्ष २०७२/७३मा ४८ अर्ब १५ करोड रुपैयाँ अर्ब निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि वर्षमा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको शाखा सञ्जाल अर्ब ५४, २ विस्तार काउन्टर अनि ७३ एटिएम पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।
यसरी बाँढिन्छ उपचार खर्च भन्दै राज्यकोषको रकम
काठमाडौं, ३० भदौ । २०७२ असोज १ गते बसेको मन्त्रिपरिषद बैठकले भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीसकेका पुर्व गृहमन्त्री खुम बहादुर खड्कालाई १५ लाख आर्थिक सहयोग दिने निर्णय गर्यो । मन्त्रिपरिषदको निर्णय अनुसार अर्थमन्त्रालयले खड्कालाई असोज २७ गते १५ लाख रुपैंयाँ भुक्तानी दियो । मन्त्रिपरिषदले खड्कालाई नागरिक राहत, क्षतिपुर्ति तथा सहायता सम्बन्धी कार्यबिधी(प्रथम संसोधन) २०७१ अनुसार आर्थिक सहयोग दिएको उल्लेख गरेको छ । तर त्यसमा उल्लेख गरिएका व्यवस्थाहरुले पुर्व गृहमन्त्री खड्का १५ लाख आर्थिक सहयोग पाउने पुर्व बिशिष्टमा पर्दैनन् । के छ कार्यबिधीमा ? सो कार्यबिधीको १२.१(क)मा पुर्व राष्ट्रपति, पुर्व उपराष्ट्रपति, पुर्व प्रधानमन्त्रीलाई बढिमा १५ लाखसम्म सहयोग दिन सकिने व्यवस्था गरेको छ । त्यस्तै पुर्व प्रधान न्यायधिस, पुर्व सभामुखका लागि बढिमा १० लाख दिन सकिने व्यवस्था गरेको छ । त्यस बाहेक साहित्य, संगीत, कला, राजनीती, सार्वजनिक प्रशासन लगायतका राष्ट्रिय जीवनका अन्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका महत्वपुर्ण व्यक्तिलाई रोगको प्रकृति हेरी बढिमा ५ लाख रुपैंयाँसम्म औषधी उपचारका लागि सहयोग गर्न सकिने व्यवस्था छ । यी व्यवस्थाहरुका आधारमा खड्काले अधिकतम ५ लाख मात्रै आर्थिक सहयोग पाउनुपर्ने देखिन्छ । यस्तो छ राज्यकोष दोहन गर्ने छिद्र तर सोही कार्यबिधीका १२.१० मा माथीका प्रकरणहरुमा जुनसुकै कुरा लेखिएको भएता पनि बिशेष कारण जनाई मन्त्रिपरिषदले उचित ठानेको उपचार खर्च रकम उपलब्ध गराउन सक्नेछ भन्ने लेखिएको छ । कार्यबिधीको यहि बुँदामा टेकेर सरकारले अधिकांश व्यक्तिलाई औषधी उपचार खर्चका नाममा आर्थिक सहयोग गर्दै आएको छ । खड्काले पाएको १५ लाख सहयोग पनि सोही व्यवस्थाका आधारमा हो । पुर्व प्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व राष्ट्रपति डा. रामवरण यादव लगायतलाई दिइएको उपचार खर्च पनि यहि छिद्रको प्रयोगद्धारा हो । कार्यबिधीले स्वदेशमा उपचार गराएको भए अस्पतालको बिल भरपाई अनुसार भुक्तानी दिन सकिने र विदेशमा भए राजदुतावास मार्फत सिधै अस्पताललाई भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको छ । तर आर्थिक सहयोग उपभोग गर्ने कुनै पनि व्यक्तिले सो नियम पालना नगरेको राजश्व सचिव राजन खनालले बताए । सांसदहरुले पनि उपचारका नाममा राज्यकोषबाट आर्थिक सहयोग लिएकाहरुले सो रकम स्वास्थ्य उपचारमा खर्च गरेको वा नगरेको भनेर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
निगमको जहाज आकस्मिक अवतरणबारे छानबिन गर्न समिति
काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगमको जहाज आपतकालिन अवतरण गरेकोबारे छानबिन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरिय निर्णयबाट छानबिन समिति गठन भएको हो । मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरि ६ सदस्यिय समिति गठन गरेको हो । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पुर्व उप महानिर्देशक बिनोद कुमार गौतम, क्याप्टेन दिपक लामा, क्याप्टेन विश्वमान अमात्य तथा हिमालय एयरलाइसन्का इञ्जिनियर समिर बस्नेत सदस्य रहेका छन् । समितिको सदस्य सचिवको जिम्मेवारी इञ्जिनियर रितेश पन्तलाई दिइएको छ । भदौ २६ गते नयाँ दिल्लीबाट उडेको निगमको ९एन एकेडब्ल्यु ए३२० जहाज फ्याप्समा समस्या आएपछि दिल्लीमै आपतकालिन अवतरण गरिएको थियो । भदौ २८ गते दिल्लीबाटै काठमडौं उडान भरेको निगमकै ९एन एकेएक्स ए३२० त्रिभुवन विमानस्थलमा टायर पड्किएर आपतकालिन अवतरण गरिएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने मन्त्रालयले तयारी गरेको छ ।
दाहाललाई विदेशमन्त्रीको स्वागत
नयाँ दिल्ली, ३० भदौ । चार दिने भारत भ्रमणमा दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहालाई ईन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजबीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले दाहालको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेमा विश्वस्त रहेको बताइन् । स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजनकीय सम्मान दिने समेत बताईन् । यता प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने दाबी गरे । भारतीय नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत हुने स्पष्ट पारेका छन् ।
इन्टेक्स मोबाइलको अक्वा रिङ बजारमा, मुल्य ९१९९ मात्रै
काठमाडौं, ३० भदौ । इन्टेक्स मोबाइलको अक्वा रिङ स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । अक्वा रिङमा १ जीबीको र्याम, ८ जीबीको रोम, ५ इञ्चको स्क्रिन, १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर लगायतको सुबिधा रहेको छ । नयाँ मोबाइलले नेपाली उपभोक्ताहरुका लागि उपयुक्त हुने इन्टेक्स टेक्नोलोजीका डेपुटी जनरल मेनेजर विश्वास अग्रवालले बताए । चौधरी ग्रुपका सिनियर जेनेजर मेनेजर रमेश श्रेष्ठले पनि दशैं तिहार लगायतका चाडबाडमा अक्वा अक्वा रिङले स्मार्ट फोनका पारखी नेपालीहरुको मन जित्ने दावी गरे । इन्टेक्स मोबाइलमा २१ वटा क्षेत्रिय भाषाको प्रयोग गरिएको छ । यसमा ओपेरा मिनी, क्लिन मास्टर, न्युजहन्ट, फ्रि चार्ज, आई स्टोर लगायतका एप्सहरुको उपलब्धता रहेको छ । अक्वा रिङको मूल्य ९ हजार एक सय ९९ रुपैंयाँ तोकिएको छ ।
भूकम्पपछिको पुननिर्माणमा फेरि अर्काे चुनौति, २६ सय इन्जिनियरले दिए काम नगर्ने चेतावनी
काठमाडौँ, ३० भदौ । सरकारी बेवास्ता र गाविस सचिवको असहयोगको कारण पुननिर्माणमा सहयोग प्राप्त गर्न नसकिरहेको भूकम्प पीडितको लागि फेरि अर्काे नराम्रो खबर आएको छ । पुननिर्माणको लागि सहरी विकास मन्त्रालयले भूकम्प अतिप्रभावित १४ जिल्लाको लागि खटाएको इन्जिनियरहरुले तत्काल तलब, भत्ता, यातायात, संचार जस्ता खर्च बृद्धि नगर्ने हो भने आफूहरुले कार्यक्षेत्रमा खटेर काम गर्न नसक्ने चेतावनी दिएका छन् । यस्तै उनीहरुले तत्काल प्राविधिक कार्यालय स्थापना माग गरेका छन् । भूकम्पपपछि सहरी विकास मन्त्रालयबाट नियुक्ति लिएका इन्जिनियरले उचित सेवा सुविधा दिनुपर्ने माग पनि गरेका छन् । चौध जिल्लामा खटिएका करिब दुई हजार ६ सय प्राविधिक (इन्जिनियर आर्किटेक्ट, सबइन्जिनियर, असिस्टेन्ट सब–इन्जिनियर) ले कार्यक्षेत्रमा रही काम गर्नका लागि आवश्यक पूर्वाधार र न्यूनतम सेवा सुविधाको ग्यारेन्टी गर्न माग गर्दै शहरी विकास तथा भबन निर्माण विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ज्ञापनपत्र पनि बुझाएका छन् । प्राविधिकहरुको प्रतिनिधिमण्डलले बुधबार सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक पदम मैनाली र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव कालीप्रसाद पराजुलीलाई ज्ञापनपत्र बुझाएका छन् । इन्जिनियर सन्तोष क्षेत्री, रामकृष्ण आचार्य, विनोद पाल, रमेश सुवेदीलगायतको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै कार्यक्षेत्रमा काम गर्दा विभिन्न जोखिम (भौगोलिक र मानवीय) भोग्नु परिरहेकोले उचित बीमा र सुरक्षाको व्यवस्थासमेत गर्न माग गरेको छ । यसअघि भूकम्प अति प्रभावित गाविसका गाविस सचिवहरुले तलब भत्ता बृद्धिको माग राख्दै काम ठप्प पारेका थिए । गाविस सचिवको आन्दोलनकै कारण पीडितलाई राहत वितरणमा समेत कठिनाइ उत्पन्न भएको थियो ।