विकासन्युज

इन्डोनेसियन पुँजीबजारको अध्ययन भ्रमणपछि धितोपत्र बोर्डकाे निष्कर्ष, बचत संस्कृतिलाई लगानी संस्कृतिमा बदल्नु पर्ने

काठमाडौं, २ कात्तिक । बचतको संस्कृतिलाई लगानीको संस्कृतिमा परिवर्तन गर्न लगानीकर्ता प्रशिक्षण कार्य विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकका नेपाल धितोपत्र बोर्डले औल्याएको छ । साथै बजार सहभागीहरु सरोकार व्यक्ति तथा संस्थालाई समेत नियममार्फत जिम्मेवार बनाउनु पर्ने आवश्यकता बोर्डले औल्याएको छ । विश्वको विकसित तथा उदीयमान धितोपत्र बजारको अध्ययन भ्रमण गर्ने गराउने क्रममा इन्डोनेसियाको पुँजीबजार, बैकिङ्ग, बीमा र पेन्सन योजनाको एकीकृत नियमन निकाय इन्डोनेसिया फाइनान्सियल सर्भिस अथोरिटी (ओजेक) तथा इन्डोनेसियन पुँजीबजारको अध्ययन भ्रमणको लागि धितोपत्र बोर्डको समन्वयमा एक हप्ते अध्ययन भ्रमण सम्पन्नपछि धितोपत्र बोर्डले उक्त निष्कर्ष निकालेको हो । बोर्डको सञ्चालक समिति सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा गरिएको उक्त अध्ययन भ्रमणमा बोर्डका विज्ञ सदस्य नीलबहादुर सारु मगर, बोर्डका निर्देशक डा. नवराज अधिकारी, नागरिक लगानी कोषका अध्यक्ष तथा पूर्व शिक्षा सचिव महाश्रम शर्मासहितका बोर्ड सदस्यहरु र मुख्य व्यवस्थापकको सहभागिता रहेको थियो । त्यस्तै, धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको पूर्ण सदस्यता प्राप्तिको तयारी कार्यलाई प्रभावकारी बनाउनको लागि तत्सम्बन्धी कार्यको जिम्मेवारी एक ‘प्रतिवद्ध टिम’लाई दिनुपर्ने र बोर्डको पुँजीबजार सम्बन्धी नियमन स्वायत्ततामा वृद्धि गर्नु पर्ने जनाएको छ । इन्डोनेसियाको विकसित धितोपत्र बजार एव्ां वित्तीय क्षेत्रको स्वायत्त एकीकृत नियमन निकायबाट पुँजीबजार एवं नियमन सम्बन्धी विभिन्न पक्षहरुको अध्ययन गर्ने क्रममा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको एशोसियट सदस्य नेपालले साधारण सदस्यता प्राप्त गर्न गर्नुपर्ने तयारी, धितोपत्र व्यापारी, बजार निर्माता सम्बन्धी व्यवसाय संचालन पूर्वाधार तथा व्यवस्था, लगानीकर्ता शिक्षा, धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षणका विविध पक्षहरु र पुँजीबजार तथा पेन्सनकोष सञ्चालन गर्ने महत्वपूर्ण संस्थाहरु सम्बन्धी जानकारी प्राप्त बोर्डले जनाएको छ । अध्ययन भ्रमणको क्रममा लगानी कम्पनीको रुपमा रहेको सूचिकृत कम्पनी नागरिक लगानी कोषले प्रदान गर्ने विभिन्न सेवाहरु र योजनाको सहभागीहरुको सुरक्षाको लागि कोषको गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण हुनुपर्ने तथा धितोपत्र व्यापारीको कार्य गर्न नागरिक लगानी कोषमा उच्च दक्ष व्यवसायिक जनशक्तिको व्यवस्था एवं आन्तरिक सुशासनमा सुधार हुनुपर्ने ज्ञानबोध भएको बोर्डले जनाएको छ ।

बोनस सेयर सूचिकरणमा गडबढी भेट्टिएपछि लुम्बिनी फाइनान्सको सेयर कारोबार बन्द

काठमाडौं, २ कात्तिक । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयर कारोबार बन्द गराएको छ । सिडिएसले मंगलबार नेप्सेलाई पत्र लेख्दै उक्त फाइनान्सको कारोबार बन्द गराएको हो । स्रोतका अनुसार उक्त फाइनान्स कम्पनीको बोनस सेयर सूचिकरणको क्रममा गल्ती भेटिएपछि कारोबारमा रोक लगाएको हो । उक्त गल्ती कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलबाट भएको हो । बोनस सेयर सूचिकरणको क्रममा केही सेयरधनीको बोनस सेयर हुनु पर्नेभन्दा कम विवरण बुझाएको स्रोतले बतायो । सामान्य प्राविधिक कारणले सेयर कारोबार रोकिन गएकोले त्यसलाई सच्याएर तत्काल सेयर कारोबार खुलाउन पहल भएको लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बताए । एक दुई दिनमा नै सेयर कारोबार खुला हुने उनले बताए ।

कतार एयरवेजको अल सफ्वा फष्ट लाउन्ज ‘सेभेन स्टार लग्जर हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड’द्वारा सम्मानित

कतार, २ कात्तिक । कतार एयरवेजको हमाद अन्तरराष्ट्रिय विमान स्थल स्थित विशेष अल सफ्वा फस्र्ट लाउन्जलाई बहुप्रशिक्षित सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डबाट सम्मानित गरिएको छ । सेभेन स्टार लग्जरी हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड्सले मारबेला स्पेनमा १५ अक्टोबरमा आयोजित अवार्ड कार्यक्रम मार्फत कतार एयरवेजलाई सो अवार्डबाट सम्मानित गरेको हो । ‘अस्कर्स अफ लग्जरी’का रुपमा सम्मान प्राप्त उक्त अवार्ड वितरणका लागि संस्थाले उत्कृष्ट हस्पिटालिटी र लाइफस्टाइल ब्राण्ड्स मध्यबाट सर्वोत्कृष्टको छनोट गरी ‘सिल अफ एक्सिलेनसी’ सम्मान प्रदान गरिन्छ । कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्ज‘सिल अफ एक्सिलेनसी’ अवार्ड प्राप्त गरी सिल अफ एक्सिलेन्सी प्राप्त संस्थापनाहरुको एलिट क्लासमा समाहित हुने अवसर प्राप्त गर्ने विश्वकै पहिलो लाउन्ज हुन सफल भएको छ । ‘अल सफ्वा फस्र्ट लाउन्जलाई प्रतिस्थित सेभेन स्टार अवार्डद्वार सम्मानित गरिएकोमा हामीलाई निकै गर्वको महशुस भएको छ ’कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने ‘ हामी आकासका साथै जमिनमा समेत आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न सँधै प्रयासरत छौँ । आफ्ना प्रयासका लागि सम्मानित हुन पाउँदा भविष्यमा आफ्ना सोव तथा सुविधा थप सुदृढ गर्दै लैजान हामीलाई थप प्रेरणा मिलेको अनुभव गरेका छौँ ।’ दोहाको म्यूजियम अफ ईस्लामिक आर्टद्वारा अभिप्रेरित कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्जमा ईस्लामिक लोक कला स्थापना गरिनुका साथै विभिन्न कलाकृतिहरु दोहाको राष्ट्रिय सङ्ग्रहालय मार्फत ल्याएर निरन्तर सहकार्यको अङ्गका रुपमा प्रदर्शनीमा राखिएका छन् । यात्रुहरुले आ ला कार्टे डायनिङ, फूल विजनेश सेन्टर, लग्जरी स्पा, सिनेम्याटिक मिडिया तथा गेम्स रुम तथा पारिवारिक क्षेत्रको मज्जा समेत लिन सक्छन् । यहाँ स्थित प्राइभेट रुमहरुमा बेड, टीभी, डेस्क तथा शावर सहितको नीजि बाथरुम समेत उपलब्ध गरिएका छन् । साथै, उपभोक्ताले कतारको अरेबियन हस्पिटालिटीका साथै उपलबध गरिएका लग्जरियस स्पेसको मज्जा समेत लिन सकिने कम्पनीले जानकारी दिएको छ । सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्ड र सिल अफ एक्सिलेनसी पाउनु निकै सम्मानको कुरा रहेको बताउँदै कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष –कस्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले उपभोक्तालाई यात्राको समयमा सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको अथक तथा निरन्तर प्रयासको पहिचान गरेको अनुभव भएको बताए । सञ्चालनको पहिलाृ बर्षमै रहेको अल सफ्वा फस्र्ट लाउन्जले उपभोक्तालाई लग्जरीको अनुपम अनुभुति प्रदान गरिरहेको र भविष्यमा थप अझ बढी यात्रीलाई अझ गुणस्तरिय अनुभव प्रदान गर्न कम्पनीलाई अभिप्रेरित गरेको उनले बताए । कतार एयरवेजको ए३८० विमानको प्रिमियम फ्लिटको फस्र्ट क्लास मार्फत लण्डन, पेरिस, बैंकक्, चीनको ग्वाङचाउ र भरखरै सिड्नीमा यात्रा गर्ने यात्रुका लागि अल सफ्वा लाउन्ज उपलब्ध रहेको छ । सिड्नीमा सेप्टेम्बर १५देखि ए३८० सेवा सुचारु गरिएको हो । सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डका साथै कतार एयरवेजले यसै बर्ष वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास एयरलाइन लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस ईन मिडल ईष्ट अवार्डपनि प्राप्त गरिसकेको छ ।

अशोक लेलैण्डद्वारा भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको अनावरण

काठमाडौं, २ कात्तिक । हिन्दुजा ग्रुप अन्तर्गतको फ्ल्याग्शिप ब्राण्ड, अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय रोड तथा लोडको अनुसार जिरो एमिशन भेहिकलको रुपमा अनावरण गरिएको हो । भारतको तामिल नाडुका चिफ सेक्रेटरी अम्बुज शर्मा आइ.ए.एसका अनुसार – “भारतको पहिलो तथा भारतमै निर्मित पूर्णरुपमा विद्युतीय बसलाई सर्वसाधारणको यातायातका लागि प्रयोगमा ल्याउन पाएको एउटा निकै ठूलो उपलब्धी हो र अशोक लेलैण्डले यो कामयाबी हासिल गरेकोमा हामी एकदमै खुशी छौं । यस गाडीले सरकारको ८ लाख करोडको फ्यूल आयात घटाउने लक्ष्यलाई सहायता गर्ने र स्वच्छ भविष्यको लक्ष्य प्राप्तिमा सहयोग गर्नेछ ।” उक्त बसलाई सन् २०२० सम्म इलेक्ट्रिक/हाइब्रिड भेहिकलको संख्या २०५ ले बढाउने लक्ष्य लिएको नेशनल इलेक्ट्रिक मोबिलिटी प्लान अनुरुप बजारमा ल्याइएको हो । जिरो टेलपाइप एमिशन तथा न्यून ध्वनि प्रदुषण बाहेक उक्त बसले संचालन खर्च पनि न्यून बनाउने छ । अशोक लेलैण्डका म्यानेजिङ्ग डाइरेक्टर विनोद दशारीका अनुसार – “यस बसले ग्राहकहरुलाई करीब ४–५ वर्ष भित्रमा पे—ब्याक प्रदान गर्नेछ । यो सर्किट बसको सिरिजको अनावरणले अशोक लेलैण्डको भारतको टेक्नोलोजिकल इन्नोभेसन प्रयोग गरी सान्दर्भिक तथा वर्गमै उत्कृष्ट समाधानहरु भारत लगायत विश्वलाई नै पस्कने प्रतिबद्धता अझै प्रमाणित गरेको छ ।” अशोक लेलैण्डले हाल १२ टन बसको वर्गमा ६०५ बजार ओगट्न सफल छ ।

राष्ट्रिय वाणिज्य बैंकको बोर्ड छ तर सुविधा छैन

म्याग्दी, २ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा सञ्चालित शाखारहित बैंकिङ सेवा प्रभावकारी बन्न सकेको छैन । उक्त ठाउँमा बैंकको बोर्ड राखिएको छ, तर सुविधा भने शून्य छ । द्वन्द्वकालमा विस्थापित बनेको दरवाङ शाखा पुनःस्थापना गर्नुअघि वाणिज्य बैंकले शाखारहित बैकिङ् सुविधा उपलब्ध गराउन स्थानीय ओम पुनलाई आधिकारिक जिम्मेवारी दिएको थियो । तर, पुनले शाखाको ‘उद्घाटन’ नभएको भन्दै काम नगरेपछि सो क्षेत्रका सेवाग्राही मारमा परेका छन् । उद्योग वाणिज्य सङ्घ दरवाङ इकाइका अध्यक्ष मोतीराज उपाध्याय गौतमले शाखारहित बैकिङ सुविधामा धेरै सेवा पाइने भए पनि दरवाङबाट त्यो पाउन नसकेको बताए । उक्त शाखा पुनःस्थापना गर्न दरवाङ क्षेत्रका उद्योगी व्यवसायीले जिल्लास्थित सरोकारवाला निकायलाई निरन्तर माग गर्दै आएका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको दरवाङका व्यवसायीले शाखा पुनःस्थापनाका लागि वार्षिक आठ करोडदेखि १० करोड रुपैयाँसम्म निक्षेप सङ्कलन गर्ने प्रतिबद्धता जनाएका थिए । वाणिज्य बैंक म्याग्दी शाखाका प्रबन्धक धुव्रराज पनेरुले आफू आउनु पूर्व नै दरवाङमा पुनलाई जिम्मेवारी दिइएको बताए। रासस

पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एस एस ट्याङ्क

काठमाडौं, २ कात्तिक । पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । कम्पनीका अनुसार ३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको छ, जसले पानी छिटो तात्न पाउदैन । लक गर्न मिल्ने बिर्को भएकोले कुनै किसिमको कीरा, फोहर आदि पस्न सक्दैन । साथै स्ट्याण्ड सहित हुनाले ट्याङ्क रहेको स्थान समेत सरसफाई गर्न सजिलो हुन्छ र राख्ने स्थान समेत कम भए पुग्छ । ३१६ ग्रेडका ट्याङ्कहरु फार्माच्यूटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेज जस्ता उद्योग तथा घरायसी प्रयोजनकालागी अति उपयोगी हुने देखिन्छ । हाल यी ट्याङ्कीहरु १०००, १५००, २०००, ३०००, ४००० र ५००० लिटर क्षमतामा उपलब्ध छन् । साथै पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्कहरु होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको छ । यी दुवै ट्याङ्कमा राम्रो रिसेल भ्यालु र कुनै म्यानुफ्याक्चरिङ्ग डिफेक्ट भएमा तुरुन्त साट्न सकिने कम्पनीले जनाएको छ ।

अख्तियारद्धारा एक महिनामा १० मुद्दा, एक करोड बिगो दावी

काठमाडौं, २ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा ११ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले असोज महिनाभित्र १० वटा घट्नामा ११ जनालाई प्रतिवादी बनाई बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । सो वापत एक करोड ४ लाख रुपैंयाँ बिगो दावी गरिएको छ । आयोगले सो अवधीमा २ जनालाई घुससहित रंगे हात पक्राउ गरेको थियो भने ५ जनालाई नक्कली शैक्षिक प्रमाण पत्र तथा २ जनालाई पदको दुरुपयोग गरि सम्पति कमाएको आरोपमा मुद्धा हालेको हो । शिक्षा, स्वास्थ्य, उपभोक्ता समिति, विश्व विद्यालय र नगरपालिका तथा गाबिसका कर्मचारी विरुद्ध मुद्धा हालिएको हो ।

आयोगका एक सदस्यबाट इलाकालाई मापदण्ड बनाउने निर्णय अस्वीकार

काठमाडौं, २ कात्तिक । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका सदस्य सुनिलरञ्जन सिंहले इलाकालाई समेत प्रमुख आधार बनाउन सरकारले दिएको मापदण्ड अस्वीकार गरेका छन् । आयोगद्वारा पूर्व प्रस्तावित ५६५ स्थानीय तहको सङ्ख्या तोकिएकामा त्यसमा तराई– मधेस र थरुहट पक्षको असन्तुष्टिलाई समर्थन गर्दै अधिवक्ता समेत रहेका सिंहले मन्त्रिपरिषद्कोे निर्णयबमोजिम इलाका समेतलाई प्रमुख आधार मानी संशोधित मापदण्ड बनाइनु उचित नभएको उल्लेख गरेका छन् । उनले मंगलबार आयोगका अध्यक्षलाई बुझाएको असहमतिपत्रमा भनिएको छ, “इलाकालाई आधार मानी गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमानाको निर्धारण गर्ने कार्य गरिएमा त्यसमा मेरो कुनै पनि साथ, सहकार्य र सहमति नरहने व्यहोरा लिखित रुपमै दर्ता गराउँदछु ।” निकट भविष्यमा हुन लागेको स्थानीय तहको चुनावलाई ध्यान दिई पहिलो चरणमा गाउँपालिका, नगरपालिकाको सङ्ख्या तथा सिमाना निर्धारण गरी दोस्रो चरणमा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण गरिनुपर्ने उनको माग छ । आयोगको अवधि २०७३ फागुन मसान्तसम्म छ । रासस