माथिल्लो तामाकोशीको लागत १० अर्ब रुपैयाँ बढ्ने, ऋण र सेयर निश्काशन गरी थप पुँजी जुटाउने योजना
काठमाडौं, १७ मंसिर । माथिल्लो तामाकोशीको जलविद्युत आयोजना निर्माण लागत करिव १० अर्बले वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताएका छन् । भूकम्पले परियोजनामा पुर्याएको क्षति, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि र निर्वाण अवधि २ वर्ष लम्बिदा कम्पनीको लागत करिव २८ प्रतिशतले वृद्धि हुन लागेको उनले बताएका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण थाल्दा यस आयोजनाको लागत ३५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । आयोजना निर्माण सम्पन्न २०७३ असार मसान्तसम्म गर्ने लक्ष्य थियो । तर अहिले यसको लागत अनुमान ४५ अर्ब गरिएको र निर्माण सम्पन्न गर्न २०७५ असासम्म लाग्ने श्रेष्ठले बताएका छन् । प्रति मेगावाट विजुली उत्पादन लागतको आधारमा सबैभन्दा सस्तो परियोजना भनिएको माथिल्लो तामाकोशीको प्रतिमेगावाट लागत ७ करोड ६७ लाख रुपैयाँ अनुमान गरिएको थियो । अहिले बढेर यस्तो लागत प्रतिमेगावाट ९ करोड ८६ लाख पुग्ने अनुमान गरिएको छ । यो आयोजनाको अधिकतम क्षमता ४५६ मेगावाट हुने बताईएको छ । ‘२०७२ बैशाखमा गएको भूकम्पले आयोजना प्रभावित हुँदा निर्माण सम्पन्न गर्न दुई वर्ष ढिला हुने भयो । २०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं’ श्रेष्ठले भन्छन्–‘भूकम्पको कारण करिव ६ अर्ब लागत बढेर ४१ अर्ब पुग्ने अनुमान गरिएका थियौ, डलरको भाउँ बढ्नाले यसको लागत ४५ अर्ब रुपैयाँ पुग्ने भयो ।’ अहिलेसम्म काम गरेको आधारमा ऋण लगानीकर्तासँग थप ऋण लिने र अपुग रकम सेयर निश्काशन गरेर जुटाउको कम्पनीको तयारी रहेको कारोबार दैनिकमा छापिएको श्रेष्ठसँगको अन्तरवार्तामा उल्लेख छ ।
नमस्ते वित्तीय संस्थाको ३ लाख ७५ हजार कित्ता हकप्रद खुला, पुस ८ गतेबाट आवेदन दिन पाइने
काठमाडौं १७, मंसिर । नमस्ते वित्तीय संस्था लिमिटेडले ३ लाख ७५ हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । यो संस्थाले एक सय रुपैयाँ अंकित यो सेयर आगामी पुस ८ गतेबाट माग १३ गतेसम्म आवेदन दिन पाइने गरी हकप्रद सेयर निष्कासन गरेको हो । यो वित्तीय संस्थाले शत प्रतिशत अर्थात एक सेयर बराबर एक नै (१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गरेको हो । यो संस्थाले मंसिर २३ गतेसम्म सेयर खरिद गरेका र २४ गतेबाट सेयरधनी दर्ता किताव बन्द गरिएको दिनसम्मको लागि हकप्रदको निम्ति आवदेन दिन पाउने उल्लेख गरेको छ । दाङको घोराइमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्था बैंक नेपाल राष्ट्र बैंककाट ग वर्गको इजाजतप्राप्त संस्था हो । यसको सेयर आवेदन दिन एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराइबाट हकप्रद सेयरको आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटले लिमिटेड हो ।
लोडसेडिङमुक्त अभियानमा प्राधिकरण सञ्चालककै अवरोध, कुलमानलाई असहयोग नीति अबलम्बन
काठमाडौं १७, मंसिर । नेपाल विद्युत् प्राधिकरणका केही सञ्चालकहरू र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ । काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरूले संगठित रूपमै अभियान चलाएका छन् । सञ्चालकहरू भने घिसिङले आफूखुशी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका छन् । घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने हुन् । गत तिहारदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर पनि लोडसेडिङ घटाएर चर्चा कमाएका घिसिङ यसलाई निरन्तरता दिने अभियानमा जुटिरहेका छन् । उनले विद्युत् माग र आपूर्तिबीचको सन्तुलित व्यवस्थापन गरेर उपत्यकालाई लोडसेडिङमुक्त बनाएका हुन् । तर लोड व्यवस्थापन गर्न सफल उनलाई व्यक्तिगत निर्णय गरेको भन्दै सञ्चालकले प्रश्न चिह्न उठाएपछि अभियानमै अवरोध उत्पन्न भएको छ । “म देशलाई कसरी लोडसेडिङमुक्त बनाउने भनेर दिनरात लागिरहेको छु तर सञ्चालकहरूबाटै यस अभियानमा अवरोध आउने अवस्था सिर्जना भएको छ,” घिसिङ भन्छन्, “सबैको सहयोग र साथ पाए पो यसमा सफल भइन्छ ।” दुई दिनअघि तीन सञ्चालकले पत्र पठाई सञ्चालक समितिको अधिकार नाघेर गरिएको काम कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आपूmहरूको स्वीकृतिबिना कार्यकारी निर्देशक घिसिङले अपारदर्शी र स्वेच्छाचारी ढंगले सहायक कम्पनीहरूमा कर्मचारीहरू तथा सञ्चालकहरू तोक्ने, सरुवा गर्ने, निजी प्रवद्र्धकहरूसँग विद्युत् खरिद सम्झौता गर्ने, विदेशी कम्पनीहरूसँग विद्युत् खरिदका लागि सम्झौता गर्नेजस्ता प्रचलित नियमको विपरीत कार्य गरेको उनीहरूको आरोप छ । विशेष प्रस्तावसम्बन्धी निर्णय प्राधिकरण ऐन २०४१ बमोजिम समितिको बैठकमा उपस्थित बहुमत सदस्यको रायअनुसार गरिएको भन्दै तीन जना सदस्यको मात्र हस्ताक्षर गरेर कार्यान्वयनका लागि पत्र पठाइएको छ । प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा ऊर्जासचिव अनुपकुमार उपाध्याय, सदस्य–सचिव कार्यकारी निर्देशक घिसिङ हुने भए पनि अध्यक्षको भने हस्ताक्षर छैन । कारोबार दैनिकबाट ।
साइबर अपराध रोक्न प्रहरीले बनायो साइबर व्यूरो, सामाजिनक संजालमार्फत हुने अपराध धेरै
काठमाडौं १७, मंसिर । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ । साइबर अपराधका घटना वृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो । bikashnews.com अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आआफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् । डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ । पछिल्लो समय सामाजिक संजालको प्रयोग गरेर अपराधा गर्ने क्रम बढको छ भने गुनासो पनि यही माध्यमबाट धेरै आउने गरेको पनि प्रहरीले जानकारी दिएको छ । कान्तिपुर दैनिकबाट।
ऋण माग्दा रित्तो हात, तरलता अभावले १ करोडभन्दा माथि ऋण छैन
काठमाडौं १७, मंसिर । बैंकहरुले एक करोड रुपैयाँभन्दा बढी ऋण लिन आउनेलाई रकम नभएको भन्दै रित्तो हात फर्काउने गरेका छन् । लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकले ठूलो ऋण दिन छाडेका हुन् । ऋणको माग बढेको र निक्षेप संकलन सोही अनुपातमा हुन नसकेपछि बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन्। ठूलो ऋण माग्न आउनेलाई दिन सकिदैँन भन्ने स्थिति आएको छ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने। सरकारसँग रहेकको २ खर्ब रुपैयाँ खर्च नगरेका कारण यस्तो अवस्था आएको हो । चालू आवको विनियोजित विकास बजेट बुधबारसम्ममा जम्मा ६ प्रतिशत अर्थात १८ अर्ब ५५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । नागरिक दैनिकबाट
सुन प्रतितोल ५४ हजार, गत चैतयता ८ महिनाकै सस्तो
काठमाडौं १७, मंसिर । पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायताकै सस्तो भएको छ। विहीबारका लागि तोकिएको छापनवाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ। यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ५४ हजार रुपैयाँ मूल्य ८ देखि ९ महिनायताकै सबभन्दा कम हो, शाक्यले भने । गत चैतमा मात्रै सनुको मूल्य कम अंकमा झरेको थियो । नागरिक दैनिकबाट ।
फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी, एकै व्यक्तिले ३० जनालाई ठगे
काठमाडौं १७, मंसिर । फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो समय ३० जनाभन्दा धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ ।ठगिनेमध्ये धेरै उनका गर्लफ्रेन्डनिकट व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसरी नै उनले एक दशकदेखि ठग्दै आएका थिए । भारतको लखनउमा बस्ने पोखरेलले गर्लफ्रेन्ड र आफ्ना विश्वासपात्र व्यक्तिमार्फत पैसा उठाउने गरेका थिए । गर्लफ्रेन्ड र आफन्तलाई समेत झुक्याएर उनले विदेश जान खोज्ने तथा सरकारी जागिर खाने व्यक्तिलाई खोज्न लगाउने गरेको प्रहरीले जनाएको छ । पोखरेलले कतिपय अवस्थामा उनीहरुमार्फत नै पैसा लिने र कतिपय अवस्थामा आफ्नो बैंक खातामा पैसा हाल्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एटिएममार्फत भारतमै बसेर उनले पैसा निकाल्ने गरेका थिए । परिचय लुकाउन हिमालयन बैंकमा नक्कली नागरिकताका आधारमा मनोज रिजालको नाममा पोखरेलले खाता खोलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । नयाँ पत्रिका दैनिकबाट ।
बूढीगण्डकी आयोजना कार्यालयमा झडप, स्थानीयवासी घाइते
गोरखा : गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि विहिवार झडप भएको छ। बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो। प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो। कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन्। सो झडपमा केही स्थानीयवासी सामान्य घाइते भएको बताइएको छ। सिउरेनीटार क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। घ्याल्चोक, दर्बुङ, फुजेललगायत विभिन्न १५ गाविसका प्रभावित जनता मुआब्जा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु कार्यालयमा ताला लगाउन सिउरेनीटार पुगेको स्थानीय हरि सिम्खडाले बताए।