आर्थिक समृद्धि र विकास अबको आवश्यकता – मन्त्री जोशी
पोखरा, २४ मंसिर । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले राष्ट्रका लागि आर्थिक समृद्धि र विकास आवश्यक भएको बताएका छन् । कास्कीको भरतपोखरी बरभोटेनीस्थित चण्डी माध्यामिक विद्यालयलाई बालमैत्रीपूर्ण विद्यालय बनाउने शुभारम्भ कार्यक्रमको आज उद्घाटन गर्दै उनले राजनीतिक रुपमा विभाजित बने पनि दलहरू विकास निर्माण, सामाजिक तथा आर्थिक समुन्नतिका लागि एकाकार बन्नुपर्ने बताए । देश राजनीतिक गतिरोधमा अल्झिरहेको बताउँदै उनले गतिरोधबाट देशलाई मुक्त गर्दै निकास दिनुपर्ने वास्तविकतालाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताए । राष्ट्रिय समृद्धिबाट मात्रै आजका बालबालिकाको भविष्य भोलि उज्यालो बन्ने बताउँदै मन्त्री जोशीले भोलिका लागि वातावरणीय संरक्षणलगायतका कुरालाई पनि सोच्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०का सचिवसमेत रहेका मन्त्री जोशीले कास्की जिल्लामा विकास निर्माणका लागि सहयोग गर्न पार्टीका तर्फबाट संसद् विकास कोषबाट रकम छुट्याएको बताए । सो पार्टीका पोलिटब्युरो सदस्य श्रीलाल महासेठले बालमैत्रीपूर्ण विद्यालय बनाउने कार्यक्रमले बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने धारणा राखेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले बालमैत्री पूर्ण विद्यालय बनाउने कार्यक्रम सफल पार्ने बताउँदै विद्यालयको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक हुने बताए। समाजसेवी केशवराज लम्सालले शिक्षा, स्वास्थ्यलगायतका दृष्टिबाट पिछडिएको कास्की दक्षिणभेगस्थित भरतपोखरी क्षेत्रको विकासका लागि राज्यस्तरबाटै सहयोग अपरिहार्य भएको बताए । वन विज्ञान अध्ययन संस्थानका उपप्रध्यापक डा जीतनारायण शाहले पछिल्लो समयमा बढिरहेको वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न वन जङ्गलको संरक्षणका साथै स्थानीय सचेतता आवश्यक भएको बताए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमबहादुर महत, रामचन्द्र पौडेल, वासुदेव पौडेल, सन्तोष लामिछानेलगायतले विद्यालय आउन नसकेका बालबालिकालाई आकर्षित गर्न बालमैत्रीपूर्ण विद्यालय बनाउने कार्यक्रम उपयोगी बन्ने विश्वास व्यक्त गरे । रासस
सानिमा बैंकको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं, २४ मंसिर । सानिमा बैंकको १२औं वार्षिकोत्सवको सम्पन्न भएको छ । उक्त अवसरमा लायन्स् क्लब अफ काठमाडौं समृद्धि र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नारायण चौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दी केश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय बासी, प्रहरी, लायन्स् क्लब अफ काठमाडौं समृद्धिका सदस्यतथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तर दायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सानिमा बैंकको मेचीदेखि महाकालीसम्म ४१ वटाशाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन ।
भवन भट्टद्धारा पूर्वाधार विकास कम्पनीबाट राजीनामा, लालकृष्ण केसीको हातमा सुरङमार्ग
काठमाडौं, २४ मंसिर । काठमाडौं —हेटौंडा सुरुङमार्गको निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट भवन भट्टले राजीनामा दिएका छन् । विहीबार बसेको सञ्चालक समितिको बैठकले भट्टको राजीनामा स्वीकृत गरेको सञ्चालक सुवासचन्द्र ठकुरीले जानकारी दिए । भट्टले १० महिनादेखि पूर्वाधार विकास कम्पनीको अध्यक्ष सम्हाल्दै आएका थिए । ठकुरीका अनुसार भट्टको राजीनामा स्वीकृतपछि बोर्डले अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ । भट्टले एनआरएनमा सक्रिय रहनुपर्ने र विदेशमा रहेको व्यवसायमा व्यस्त रहनुपर्ने बाध्यता देखाएर राजीनामा दिएको ठकुरीले जानकारी दिए । उनका अनुसार भट्ट कम्पनीको सञ्चालक भने बस्नेछन् र उनले विदेशी लगानी ल्याउन सघाउने छन् । यसअघि माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । तर विभिन्न विवादहरु आएपछि उनलाई सहअध्यक्षबाट हटाइएको थियो । तर, तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।
प्रभु बैंकको गोठाटार शाखा सञ्चालनमा, मर्जरको क्रममा एकै स्थानमा दोहोरिका बैंकका स्थान्तरणा कार्य जारी
काठमाडौं, २४ मंसिर । बैंकले काठमाडौको गोठाटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित
काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तूत भएको आ.ब. २०७२/७३ को प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण, सो संग सम्बन्धित अनूसुचीहरु समेत पारित गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीती अनुसार २०७४ साल आषाढ मसान्तसम्म विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउँदै लैजाने क्रममा मर्जरलाई प्राथमिकता दिदैं सो मात्रामा हकप्रद शेयर जारी गर्नेे प्रस्ताव पारित गरेको छ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडमा, एकता विकास बैंक लिमिटेड बुटवल, नेपाल सरकारको स्वामित्व समेत रहेको नेपाल आवास फाइनान्स लिमिटेड काठमाण्डौं एक आपसमा गाभिई सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट २०७३ साल जेष्ठ २८ गतेबाट एकिकृत कारोबार गरेको थियो । यस साधारण सभा मर्जर पश्चातको पहिलो साधारण सभा हो । सभाले समितिमा संस्थापक शेयरधनीको तर्फबाट राम बहादुर भण्डारी, डा. ध्रुव प्रसाद ढकाल, रतनलाल अग्रवाल र डि.बि इन्भेष्टमेण्ट प्रा. लि. गरी ४ जना निर्विरोध चयन गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट बद्री खनाल, मिलन कुमार कार्की र एन.पि.सि.एम इन्भेष्टमेण्ट गरी ३ जना संचालकको निर्विरोध चयन गरेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
एक महिना भित्रै यसरी सुरु हुँदैछ बाहिरी चक्रपथको निर्माण(फोटो फिचरसहित)
काठमाडौं, २४ मंसिर । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम आगामी एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागेको हो । ‘एक महिना भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुन्छ, त्यसका लागि सो खण्डको डिपिआर स्विकृत गराउन मन्त्रालयमा पठाईसकेका छौं, १५ दिनभित्रै स्विकृत हुने जवाफ आएको छ’, नव नियुक्त बाहिरी चक्रपथ आयोजनाका प्रमुख दिपक श्रेष्ठले विकासन्युजसँग भने । श्रेष्ठले मंसिर १० गते आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने १२ गते जग्गा अधिकग्रहण गर्ने निर्णय गराएका थिए । उनले दुई बर्ष भित्रै सो खण्डको काम सक्ने र अन्य क्षेत्रका लागि खण्ड खण्डमा बिभाजन गरेर एकै पटक थाल्ने जानकारी दिए । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ । आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । ‘एक करोड बजेट बिनियोजन भएको छ, त्यसले काम सुरु गछौं, अर्थमन्त्रालयले २५ करोडसम्म दिन सक्छौं भनेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने । उता, सडक विभागले पनि सोही आयोजनाका लागि ४ करोड बजेट पाएको छ । विभागका उप महानिर्देशक दयाकान्त झाले जग्गा अधिग्रहणको काम सुरु हुने वित्तिकै आफुहरुले सडक निर्माण थाल्ने बताए । बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भुभागका रुपमा यो क्षेत्रबाट काम थाल्न लागिएको हो’, आयोजनाका शाखा अधिकृत ध्रुव प्रसाद सापकोटाले विकासन्युजसँग भने । बाहिरी चक्रपथ आयोजनाको निर्माण आरम्भ भएको १० बर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि एक लाख रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् । ‘एक परिवारले ७ दशमलब ८ प्रतिशत जमिन सडकका लागि योगदान गर्नुपर्छ, बाँकी जमिन जग्गा एकिकरणको रोडम्याप अनुसार फिर्ता हुन्छ, कुनै पनि नागरिकको उठिबास लाग्दैन’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । चार लेनको सडकमा फुटपाथ, साइकल लेन र ठुला सवारीका लागि छुट्टै लेनको समेत व्यवस्था गरिएको हुनेछ । यसरी निर्माण हुने बाहिरी चक्रपथ आयोजनाले उपत्यकाको कुल जमिनको १० प्रतिशतलाई व्यवस्थित शहरीकरणमा रुपान्तरण गर्ने आयोजनाका शाखा अधिकृत सापकोटाले जानकारी दिए । यो सडकमा चार वटा फ्लाईओभर समेत निर्माण गरिनेछ । जसमा अरनिको राजमार्ग, त्रिभुवन राजपथ, फास्ट ट्रयाक, पासाङल्यामु सडकमा फ्लाईओभर निर्माण हुनेछ ।
एभरेष्ट बैंकको ईन्डो- नेपाल रेमिटेन्स सेवा मार्फत मोबाइलबाटै रकम पठाउन सकिने
काठमाडौं, २४ मंसिर । एभरेष्ट बैंकले नेपालमा प्रथम पटक भारतको पंजाब नेशनल बैंकको कुनै पनि शाखाहरुबाट सजिलै “अनलाईन” माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवा शूरुवात गरेको थियो । बैंकले भारतको पंजाब नेशनल बैंकको सहायतामा भारतमा काम गर्ने कामदारले आफ्नो मोबाईलबाटै (पंजाब नेशनल बैंकको शाखामा नगैकन) एभरेष्ट बैंक, नेपालको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा अवस्थित ५०० भन्दा बढी व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सक्ने व्यवस्था मिलाएको छ । रेमिटेन्सको यस्तो सेवा बैंकले केहि महिना अगाडी देखि नै संचालनमा ल्याएको हो एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
असर्फी बनाएर बेचिन्छ प्रहरीले बरामद गरेको अबैध सुन, सर्बसाधारणाकाे विश्वास यसैमा
काठमाडौं, २४ मंसिर । समय समयमा नेपाल प्रहरीले सुन बरामद गर्यो भनेर समाचारहरु आउने गरेका छन् तर ती बरामद भएका सुन कहाँ राखिन्छ र त्यो सुनको उपयोग कसरी गरिन्छ भन्ने विषय धेरैलाई जानकारी नहोला । राजस्व अनुसन्धान विभाग मार्फत नेपाल प्रहरीले समय समयमा बरामद गरेको सुन नेपाल राष्ट्र बैंकको मुद्रण विभाग अन्तर्गतको टक्सार महाशाखामा जम्मा हुने गरेको छ । सो सुन राष्ट्र बैंकले असर्फी बनाएर बेच्ने गरेको छ । हाल राष्ट्र बैंकसँग प्रहरीले बरामद गरेको सुन ६ क्वीन्टल (६ सय किलो) रहेको छ । शुक्रबारको मुल्यमा गणना गर्ने हो भने सो सुन २ अर्व ७२ करोड ६३ लाख रुपैयाँ बराबरको हुन आउछ । शुक्रबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको छ । पछिल्लो तीन वर्षमा प्रहरीले २८३ किलो अर्थात् एक अर्व २० करोड मुल्य बराबरको सुन बरामद गरेको छ । ती सबै सुन टक्सार महाशाखामा राखिएको छ । बरामद सुन महाशाखाले ६०० डिग्री तापक्रममा उमालेर पगाल्छ र इट्टा आकारको बनाएर राख्ने गरेको छ । जसबाट बर्षेनी सुनका असर्फीहरु बनाएर टक्सार महाशाखाबाट सर्वसाधरणलाई बिक्री गरिन्छ । चालु आर्थिक वर्षमा मात्र महाशाखाले ७ हजार सुनका असर्फी छापेको छ । सो असर्फी दश ग्रामका ३ हजार र ५ ग्रामका चार हजार वटा छापेको छ । ती असर्फी सर्वसाधरणले बढीमा चारवटा सम्म किन्न पाउनेछन् । दश ग्रामको मुल्यमा ५०० रुपैयाँ जोडेर प्रति असर्फीको मुल्य तोकिएको हुन्छ । जुन अन्तराष्ट्रिय स्तरको सुनको भाउमा नै किनबेच हुने गरेको छ । यहाँबाट बिक्री भएका सुनका असर्फी असली सुन (२४ क्यारेट) नै हुने भएकोले सर्वसाधरण असर्फी किन्नको लागि टक्सारमा आउने गरेका् राष्ट्र बैंक अन्तरगतकाे टंक्सर कार्यालयले जनाएकाे छ । चालु आर्थिक वर्षदेखि भने असर्फी छपाइ बढाउने विषयमा राष्टबैंकले छलफल गरिरहेको छ।