विकासन्युज

नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ६२ करोडको सेयर कारोबार

काठमाडौं, ३ पुस । लगातार घटिरहेको सेयर बजारमा केही सुधार आएको छ । आइतबार नेप्से परिसूचक १ दशमलब २९ अंकले बढेर १५३१ दशमलब ३५ अंकमा पुगेको छ । बजारमा परिसूचक साथै कारोबार रकममा पनि केही सधार भएको छ । सो दिन १३३ कम्पनीको ७५ लाख २४ हजार कित्ता सेयर ६२ करोड २० लाख २२ हजार रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । १५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको बैंकको सेयरको मूल्य प्रतिकित्ता ३ हजार २९९ रुपैयाँ रहेको छ । आइतबार बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ७२, ९ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १३ दशमलब ३५ अंकले घटेका छन् । अल्पाइन डेभलपमेन्ट बैंक र एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् ।

पाँच महिनामा साढे ८६ अर्ब लगानी प्रतिवद्धता

काठमाडौं, ३ पुस । राजनीतिक स्थिरतासँगै देशमा लगानी पनि विस्तार हुन थालेको छ । चालू आर्थिक २०७३/७४ को ५ महिनामा ८६ अर्ब ५७ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ । सो अवधिमा भएको लगानी अघिल्लो आव २०७२/७३ को समीक्षा तुलनामा १४ अर्ब ५२ करोड रुपैयाँले बढी हो । अघिल्लो आवको सो अवधिमा ७२ अर्ब ५ करोड रुपैयाँ लगानी भएको थियो । देशमा राजनीतिक स्थिरतासँगै लगानीका विभिन्न क्षेत्र पूर्वाधार निर्माण, उत्पादन र उत्पादकत्व बढाउन तथा लगानी भित्र्याउने लक्ष्य राज्यले लिएकोे र लगानीकताहरुलाई प्रोत्साहन गर्न विभिन्न स्कीमहरु ल्याएकोले लगानी बढेको उद्योग मन्त्रालयले बताएको छ । उद्योग दर्तादेखि खारेजी प्रक्रियामा समेत सहज बनाउँदै लगेका कारण लगानीमा वृद्धि हुँदै गएको उद्योग मन्त्रालयकी प्रवक्ता यमकुमारी खतिवडाले बताइन् । ‘अब औद्योगिक ऐन पनि संशोधन भएको छ भने सेज कानुन पनि आएको छ,’ उनले भनिन् ‘यसले उद्योगीहरुमा अझ उत्साह थपेकोले आउँदा दिनमा अझै लगानी बढ्नेछ ।’ अघिल्लो आवमा भूकम्प र नाकाबन्दी तथा औद्योगिक ऐन पनि परिमार्जनको अवस्थामा भएकोले पर्ख र हेरको अवस्थामा उद्योगीहरु त्यतिकै लगानी गर्न चाम्रिएका थिए । चालू आवमा उद्योगमैत्री वातावरण सिर्जना हुँदै गएको, उद्योगबाट प्रशस्तै फाइदा दिन सकिने सम्भावना देखिएपछि लगानी बढेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘अझ सरकारले उद्योग स्थापनाको लागि पूर्वाधारको तयारी र लगानीको सुरक्षा प्रत्याभुत गरिदिएमा लगानी अझै बढ्छ,’ उनले भने । उद्योग विभागको तथ्याङ्क हेर्दा लगानीकर्ताहरुले लगानीको ट्रेनलाई परिवर्तन गरेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्ष उत्पादनमूलक उद्योगमा लगानी बढी भएपनि चालू आवमा ऊर्जामूलक उद्योगमा बढी लगानी भएको देखिएको छ । ५ महिनाको सो अवधिमा ५२ अर्ब २० करोड रुपैयाँ ऊर्जामूलक उद्योगमा लगानी भएको छ । लगानीकर्ताहरुले दोस्रो लगानीको क्षेत्र उत्पादनमूलक उद्योगलाई लिएका छन् । साउनदेखि मंसिरसम्मको सो अवधिमा उत्पादनमूलकमा सेवा उद्योगमा १४ अर्ब ९९ लाख रुपैयाँ लगानी भएको छ भने सेवा उद्योगमा १० अर्ब रुपैयाँ लगानी भएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालू आवको ५ महिनामा २ सय ३८ वटा उद्योगहरु उद्योग विभागमा दर्ता भएका छन् । समीक्षा अवधिमा ५ अर्ब ४३ करोड पर्यटनमूलक उद्योगमा लगानी प्रतिवद्धता भएको छ भने कृषि तथा वनजन्य उद्योगमा २ अर्ब २६ करोड निर्माण उद्योगमा १ अर्ब र खनिज उद्योगमा ७ करोड १७ लाख लगानी प्रतिवद्धता भएको छ । चालू आवका लगानी प्रतिवद्धता भएका उद्योगहरु सञ्चालनमा आए ७ हजार जनशक्तिलाई रोजगारी सिर्जना हुने देखिएको छ । अघिल्लो वर्ष सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा कुल लगानीको आधाभन्दा बढी लगानी भएको छ । समीक्षा अवधिमा उत्पादनमूलक उद्योगमा मात्रै ४३ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको छ । लगानी प्रतिवद्धताको दोस्रो स्थान ऊर्जामूलक उद्योगले लिएको छ । देशमा नयाँ नयाँ जल विद्युत आयोजना विस्तार हुँदै जाँदा ऊर्जा क्षेत्रमा लगानी बढेको हो । पर्यटन र सेवामूलक उद्योगमा पनि करिब साढे ५ अर्ब लागनी भएको छ भने अन्य उद्योगको तुलनामा कृषि तथा वनजन्य उद्योग र निर्माण उद्योगमा भएको लगानी नगन्ने छ । अघिल्लो आवमा भएको उद्योगहरुमा ८ हजार ३ सय ४३ जनाले रोजगारी पाउने भएका छन् ।

हुन्डाईद्धारा ट्राफिक प्रहरीलाई २५ थान भिडियो क्यामेरा सहयोग

काठमाडौं, ३ पुस । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले कर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ । हुन्डाई मोटर्सले ल्याएको अभियान अन्तर्गत ६ वटा विषय ड्रिम मुभ, नेक्स्ट मुभ, इजि मुभ, ग्रीन मुभ, सेभ मुभ र ह्यापी मुभमा गर्दै आएको छ । यी हरेक कदमले समाजमा गर्दै आएको योगदानमा कम्पनीको दृष्टिकोण झल्किएरहेको छ । ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उत्तरदायित्वको मुख्य आधार रहि आएको छ । सेफ मुभ अन्तर्गत हुन्डाई २५ थान ड्यास कम ट्राफिकलाई हस्तान्तरण गरेको छ । सो ड्यासबोर्डको क्यामेराले गाडीको वाइन्ड स्क्रिनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्ने छ । सो क्यामेरा वाइन्ड स्क्रिनको भित्री भाग वा ड्यासबोर्डको माथिल्लो भागमा जडान गर्न सकिने छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगीहरु पनि नियन्त्रण गर्न सहयोय पुर्याउने छ । यसले ट्राफिक व्यवस्थापनको पनि अध्ययन गर्न सघाउने छ । उक्त क्यामेराले २४ एफपिएस भिडियो १२८० * ७२० पिक्सेलमा रेकडिङ् गर्दछ । साउन्ड रेकडिङ् र ६४ जिबीको मेमोरी कार्ड सपोर्ट गनुको सार्थ यसले २४ घण्टा निरन्तर भिडियो रेकर्ड गर्दछ । साथै यसमा रहेको जिपिएसले गाडीको गति देखाउँदछ । यसमा वाइड एन्जल लेन्स छ भने यसले १३२ डिग्रीको दृश्य वाइड स्क्रीनबाट देखाउँदछ ।

गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृत लिन नपर्ने

काठमाडौं, ३ पुस । सरकारले गोरखा इको प्यालन प्रयोग गर्न स्वीकृत लिन नपर्ने व्यवस्था मिलाएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भबन निर्माण विभागले कुनै पनि स्टक्चरल संरचना (भौतिक संरचना) निर्माण गर्दा पार्टेशन वालको रुपमा गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृति लिन नपर्ने निर्णय गरेको हो । सहरी विकास तथा भबन निर्माण विभाग, आवास महाशाखामा हालै सम्पन्न वैठकले यो निर्णय गरेको हो । गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले आफनो उत्पादन प्रयोगमा अन्यौल वढेपछि विभागलाई पत्राचार गरेको थियो । नक्सा पास गर्ने स्थानीय निकाय र इन्जिनियरहरुबीच अन्यौल वढेपछि विभागलाई पत्राचार गरेको थियो । गोरखा इको प्यानलको पत्राचारपछि विभागले यो निर्णय गरेको हो । यसअघि नक्सा तयार गर्ने इन्जिनियर र नक्सा स्वीकृति दिने स्थानीय निकायलाई गोरखा इको प्यानलको प्रयोगमा अन्यौलता थियो । गोरखा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालले अबका दिनमा कुनै पनि स्टक्चरल डिजाइन गरेको स्थायी संरचनामा इको प्यानल पार्टेशन वालको रुपमा प्रयोग गर्न कानुनी व्यावधान नभएको बताएका छन् । पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग गर्दा नक्सा पास नहुने हो कि भन्ने अन्यौल समाप्त भएको उनले बताए । अवका दिनमा इन्जिनियरहरुले निर्धक्कका साथ गोरखा इको प्यानलको प्रयोग कुनै पनि स्थायी संरचनाको पार्टेशन वालमा प्रयोग गर्न सकिने उनले बताए । गोरखा इको प्यानल अस्थायी संरचना निर्माण गर्दा वाहिरी वालको रुपमा पनि प्रयोग हुँंदै आएका छन् । राष्टपति कार्यालयलगायत देशैभरिका एकतल्ले सरकारी तथा निजी विद्यालय, कलेज, हस्पिटल, हेल्थ पोष्ट, आर्मी व्यारेकलगायतका संरचनाहरुमा गोरखा इको प्यानल वाहिरी वाल र भित्री पार्टेशन वालको रुपमा प्रयोग हुँदै आएका छन् ।

लोडसेडिङ अन्त्य चमत्कार होइन, सहि व्यवस्थापन गरिएको हो- कुलमान घिसिङ

कुलमान घिसिङ–प्रबन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण आज आम नेपालीको माझ हिरो बन्नुभएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ । गत वर्ष ठिक यहि समयमा दैनिक कम्तिमा १२ घण्टा लोडसेडिङ हुन्थ्यो । अहिले २४ सै घण्टा झिलिमिलि छ । कुलमान घिसिङले प्राधिकरणका कार्यकारी प्रमुखको जिम्मेवारी समाल्नुपूर्व सोही संस्थाका कार्यकारी प्रमुखले यो वर्ष पनि हिउँदमा दैनिक ११ घण्टा लोडसेडिङ हुने बताउँथे । तर यतिबेला घिसिङ ट्रान्स्फरमर पड्किए पनि तत्काल बनाएर विद्युत आपूर्ति नियमत गर्न सक्रिय देखिनुभएको छ । देशमा अध्यारो हटाउने, चिसोलाई तातो बनाउने, उद्योगहरु नियमित चलाउने र संकटपूर्ण दैनिक जीवनलाई सहज बनाउने कुलमान घिसिङको व्यवस्थापकीय कौशलतामा केन्द्रीत भएर उहाँसँग गरिएको विकास वहस प्रस्तुत गरेका छौ यस पटक । एकाएक लोडसेडिङ न्युनिकरण भएको छ, यो सब कसरी सम्भव भयो ? मैले सुरुदेखि नै भन्दै आएको छु । लोडसेडिङ न्युनिकरण गर्ने कुरा कुनै मिराकल (चमत्कार) होइन । भएकै श्रोत साधनको अधिकतम व्यवस्थापन गरिएको हो । म आएपछि थपिएको भनेको अपर मस्र्याङदीको विद्युत मात्रै हो । विद्युत आयातमा पनि खासै वृद्धि गरिएको छैन । हामीले भएको विद्युतको अधिकतम व्यवस्थापन मात्रै गरेका हौं । एकिकृत व्यवस्थापन प्रणाली मार्फत जथाभावी भैरहेको विद्युत वितरण रोकेका हौं । माग र आपूर्तिलाई एकिकृत ढंगले मिलाउने प्रयास गरेका छौं । समान वितरण प्रणाली लागू गरेका छौं । उत्पादन र वितरणका दुबै प्लान्ट राम्रोसँग सञ्चालन गरेका छौं । माग, आपूर्ति र पूर्वाधारको व्यवस्थापनमा हामी समान ढंगले काम गरिरहेका छौं । अहिले ५ सय मेघावाट विद्युत आपूर्ति छ भने करिव १४ सय मेघावाट माग छ । पिक आवरमा के गर्ने र नर्मल आवरमा के गर्ने भन्ने योजना बनाएका छौं । मागको क्षेत्रमा हामीले चेतना मूलक कार्यक्रम सञ्चालन गरेर विद्युत खपत घटाउने प्रयास गरेका छौं । एकै पटक लोडसेडिङ घटेपछि एक सय मेगावाटको इन्भर्टर लोड कम भएको छ । लस्ट रिडक्सन क्याम्पियन पनि सञ्चालन गरिरहेका छौं । असमान वितरण प्रणाली सुधारिएको छ । अहिले कसैले २० घण्टा विजुली पाउने कसैले १२ घण्टा पाउने अनि कसैले २४ सै घण्टा विद्युत पाउने अवस्थाको अन्त्य भएको छ । अहिले सबैलाई बराबर समय विद्युत दिएका छौं । सबै उद्योगीलाई २० घण्टा विजुली दिएका छौं । पहिलो हामीलाई भेट्ने सबैले डेडिकेटिड लाइनको व्यवस्था गरिदिन आग्रह गर्थे । अहिले त्यस्तो छैन । अहिले काठमाडौं पूरै डेडिकेटिड लाइनमय भएको छ । विद्युतको वितरण प्रणाली पनि सुधारिएको छ । इमानदारीताका साथ व्यवस्थापन गरिरहेका छौं ।   कुलमानले कुलेखानी रित्याएर काठमाडौं झिलिमिली पार्यो भन्ने आरोप छ नि ? म आउँदा कुलेखनीको लेबल १५२२ मिटर थियो । अहिले १५२३.५७ मिटर पुगेको छ । अर्थात म आएपछि कुलेखानीको लेबल डेढ मिटर बढेको छ ।  तपाईलाई अर्काे कुरा पनि भनौं । कुलखानीको लेभल गत बैशाखमा १५१२ मिटर थियो । त्यो साउन भदौंमा आउँदा १५०३ मिटरमा झरेको थियो । बर्खाभरी कुलेखानी उनीहरु चलाउने अनि मैले कुलेखानी चलाएको भनेर आरोप लगाउने ? बर्खामा कुलेखानी किन चलाएको ? ९ मिटर पानी किन घटाएको ? अरु २ महिना थप समय कुलेखानी चलाएको भए कुलेखानी रित्तिने थियो । त्यस्तो अवस्था थियो उतिबेला । उज्यालोलाई निरन्तरता कसरी दिने योजना छ ? यो निरन्तर हुन्छ । मानिसहरु लोडसेडिङ कहिले हुन्छ भनेर सोधिरहेका छन् । हामी अब लोड सेडिङ हुँदैन भनेर भनिरहेका छौं । हामी लोड सेडिङ हुँदैन भनेर ग्यारेण्टी गरिरहेका छैनौं तर इमानदारीताका साथ लोडसेडिङ नगराउन प्रयास गरिरहेका छौं । २ महिना भयो उपत्यकामा लोडसेडिङ छैन । कसै कसैले माघदेखि बैशाखमा लोडसेडिङ भएन भने म सार्वजनिक पद धारण नै गर्दिन भनेर घोषणा गरेको पनि सुनियो । हिजो उहाँहरुको बानी नै त्यहि थियो । हिजो असारमै फागुन चैतमा कति लोडसेडिङ हुन्छ भनेर घोषणा गरिन्थ्यो । किन असारमै फागुनको लोडसेडिङको तालिका घोषणा गरेको ? त्यसमा केहि गोप्य फाइदाका योजना थिए होला । इन्भर्टर र सोलारको योजना र फाइदा थियो होला । अहिले पनि उहाँ लोडसेडिङ हुन्छ भनेर घोषणा गर्दै हिड्नु भएको छ । भन्नुको मतलब कहिँ न कहिँबाट केहि होला त्यहाँ । उहाँले त्यसो भनेपछि केहि फाइदा पनि होला । त्यसैले यस्तो कुरा गरिरहनुभएको छ । उपत्यका बाहिरका जनताले उपत्यकाका जनताको जस्तै राहत कहिले पाउने ? अहिले काठमाडौंमा मात्रै होइन उपत्यका बाहिरका जनताले पनि लोड सेडिङबाट राहत पाइरहेका छन् । बिराटनगर, धनगढी लगायतका क्षेत्रमा हामी गयौं । उद्योगी व्यवसायी, सर्वसाधारण सबै खुसी छन् । हामीलाई सम्मान नै गर्नुभयो । हिजो १०/१२ घण्टा विजुली जान्थ्यो । अहिले एक घण्टा पनि बत्ति जाँदैन । उद्योगलाई हामीले ४ घण्टा विजुली काटिदिएका छौं । दुई सिफ्टमा चल्ने उद्योगका लागि १८/१९ घण्टा विजुली दिने कुरा पर्याप्त नै हो । ५ सय मेगावाटको आपूर्ति र १४ सयको मागलाई व्यवस्थापन गर्ने कुरा त मुस्किल जस्तै देखिन्छ नि ? व्यवस्थापन गर्ने भनेकै यस्तै अवस्थामा हो । एकिकृत स्रोत व्यवस्थान भनेको पनि यस्तै बेलामा गर्ने हो । १४ सय मेगावाटको माग भनेको चारदेखि ६ घण्टाको अवधिमा मात्रै हुने हो । उद्योगसहित ४ घण्टाको अवधिमा १४ सय मेगावाट विद्युत माग हुने हो । त्यसका लागि उद्योगलाई ४ घण्टा बिजुली काटेका छौं । २० घण्टा व्यवस्थापन गर्ने हो भने ४ घण्टा आफैं व्यवस्थापन हुन्छ । हामीले पिकिङ चलाईरहेका छौं । साँझका बेला ८ सय मेगावाट जति उत्पादन गरिरहेका छौं । पिकिङ प्लान्टमा रातमा पानी जम्मा गरेर बिहान चलाउँछौ । दिउसाँे पानी जम्मा गरेर साँझ चलाउँछौं । आयातको कुरा गर्नुहुन्छ भने दिउसोँ १५० र साँझ २५० मेगावाट आयात गरेका छौं । यो भनेको ठूलो आयात पनि होइन । साँझ वा बिहान एउटा उद्योग सञ्चालन गर्ने हो भने आधा उपत्यकामा लोडसेडिङ हुन्छ । उपत्यका बाहिर पनि एउटा उद्योग पिक आवरमा सञ्चालन गर्ने हो भने एउटा जिल्ला नै अध्यारोमा पुग्छ । यस्ता बिषयलाई व्यवस्थापन गर्ने हामीले । उद्योगीलाई २४ सै घण्टा विजुली दिन्छौं भनेर प्रतिवद्धता गरेपछि अन्त लोड सेडिङ भैहाल्छ नि । अहिले कुनै पनि उद्योगले २४ सै घण्टा विद्युत पाएका छैनन् ? अहिले कुनै पनि उद्योगले २४ घण्टा विजुली पाएका छैनन् । सबैले २० घण्टा पाएका छन् र २० घण्टा नपाउने पनि कोहि छैनन् । बिराटनगरका उद्योगीले नै असमान वितरण थियो बिजुलीको भनेर स्वीकार गर्नुभएको छ । मैले भनेकै छैन स्वयं उद्योगीले नै स्वीकार गरेका छन् । असमान वितरण प्रणाली थियो तपाईले अन्त्य गर्नुभयो भने उद्योगीले मसँग भनिरहेका छन् । यसमा हाम्रो टिमले काम गरेको छ । यो मेरो मात्रै योगदानमा सम्भव भएको होइन । उत्पादन, वितरण, मर्मत सबै क्षेत्रका कर्मचारीले फूल इफोर्टमा काम गरेका छन् । २४ घण्टा म अलर्ट छु । कहिँको ट्रान्सफरर्मर पड्कियो भने पनि लोडसेडिङ हुन्छ भन्ने छ । अहिले त्यस्तो कुनै घट्ना आयो भने तुरुन्तै बनाउने व्यवस्था मिलाएको छ । हामीले अहिलेसम्म उपत्यका भित्र लोडसेडिङ हुँदैन भनेका छौं, र यो निरन्तर हुन्छ । सरकारको चेक एण्ड पेको व्यवस्थाका कारण निजी उर्जा उत्पादक निरुत्साहित भएका छन्, अब के गर्ने हो ? नेपाल विद्युतमा आफ्नै उत्पादनले आत्मनिर्भर बन्नका लागि निजी क्षेत्रलाई अघि लगाउनै पर्छ । अहिले त हामी जम्मा संकट समाधानको प्रयास मात्रै गरिरहेका छौं । हामीले रन अफ द रिफर, पिकिङ प्रोजेक्ट, जेनेरेशन मिक्स, रिजर्भायर प्रोजेक्ट बनाउनुपर्छ । हामीले लोड अनुसारको उत्पादन गर्ने हो । बिहान र बेलुकाको माग धान्ने गरि योजना बनाइरहेका छौं । पम्प स्टोरेजले त्यसका लागि काम गर्छ । माग यति धेरै छ कि हामीले बिजुली दिन्छौं भन्ने वित्तीकै उद्योग खोल्नेहरुको लाइन लागेर बसेका छन् । माग यति धेरै भएको अवस्थामा हामी विजुली किन्दैनौं भनेर भन्न मिल्छ ? मन्त्रीज्युले टेक आर पे गर्छाै भनिसक्नु भएको छ । त्यसमा केहि भने उर्जा उत्पादकले पनि सहयोग गर्नुपर्छ । १० प्रतिशत रिजर्भ मार्जिन राख्ने कि अथवा डिस्प्याचेबल गर्ने कि भन्नेबारे पनि सोचिरहेका छौं । डिस्प्याचेबल भनेको हामीले चाहेको बेलामा किन्ने र नचाहेको बेलामा रिजर्भमा रहने व्यवस्था हो । यद्यपीको अहिलेको अवस्थामा हामीले शतप्रतिशत टेक और पे गरेको अवस्था हो । प्रसारण लाइनको समस्या समाधानका लागि के के भैरहेका छन् ? क्रिटिकल प्रसारण लाइनहरु अन्तिम चरणमा पुगिसकेका छन् । एक महिनाभित्र लोडसेडिङ घटाउन तत्काल प्रयोगमा आउने प्रसारण लाइन सम्पन्न हुँदैछन् । दीर्घकालका लागि अब १३२ केभी होइन ४ सय देखि ७६५ केभीसम्मका प्रसारण लाइन बनाउनेबारे सोचिरहेका छौं । नदी करिडोरका प्रसारण लाइन पनि अघि बढ्छ । अहिले त हामी संकटकालिन अवस्थाको समाधान गर्ने प्रयासमा मात्रै छौं । हाम्रो योजना भनेको नेपाललाई उर्जामा आत्मनिर्भर हुने भन्ने नै हो । ढल्केबर मजफरपुर प्रसारण लाइनले दुई महिनामा धेरै काम गरेको छ । एक डेढ महिनामा काम सम्पन्न हुन्छ । अहिले वैकल्पिक व्यवस्थापनद्धारा ७५ मेगावाट ल्याउन सक्छौं । भारतले भर्खरै जारी गरेको विद्युत खरिद निर्देशिकाले नेपालमा तेश्रो मुलुकका लगानी कर्ता निरुत्साहित हुने देखिन्छ, कसरी समाधान हुन्छ ? विद्युत खरिद निर्देशिका भारतले जारी गरेको हो । हाम्रो विद्युत खरिद देश–देशबीच भएको उर्जा खरिद सम्झौताले निर्धारण गर्छ । नेपाल र भारतबीच उर्जा खरिद सम्झौता सम्पन्न भएको छ । अब नेपाल सरकारले भारत सरकारसँग कुरा गर्छ । अन्तरदेशिय प्रसारण लाइनको निर्माण के भईरहेका छन् ? हामीले बुटवल गोरखपुर, लम्किबरेली बनाउँदैछौं । त्यस बाहेक काठमाडौं–केरुङको प्रसारण लाइन पनि बनाउने अभियान सुरु गरेका छौं । विद्युत प्राधिकरणले निर्माण गर्न लागेका विद्युत आयोजना कति छन् ? हामीले करिब २४ सय मेगावाट क्षमताका आयोजना तयार भएका छन् । अपर अरुण, तमोर, उत्तरगंगा, दुधकोशी बनाउन तयार भएका छन् । निर्माण भैरहेका आयोजनाबाट तीन बर्षभित्र ८ सय मेगावाट थपिन्छ । ५ सय मेगावाट २ बर्षमा थपिन्छ भने तीन बर्षमा ८ सय मेगावाट थपिन्छ । अपर तामाकोशीको ४५६ मेगावाट आउँछ डेढ बर्षमा । तीन बर्षभित्र आफ्नै उत्पादनले सेल्फ सस्टेन्ड हुन सक्छौं ।

लुम्बिनी फाइनान्स एण्ड लिजिङको ३६ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति

काठमाडौं, ३ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयरधनीलाई ३६ दशमलब ७९ प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले ३५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ७९ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो । नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत उक्त प्रस्तावलाई अब कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश पारित, निर्देशकमा चार जना नियुक्त

काठमाडौं, ३ पुस । वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश पारित भएको छ । वोमीको सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र एक दशमलब ११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)लाई मंसिर ३० गते बसेको बैंकको वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको निर्देशकमा बिन्दिया प्रदान, विमला उपाध्याय घिमिरे र किशोरी थापालाई नियुक्त गरेकोे छ । ३ करोड ६० लाख चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा एक करोड ७७ लाख नाफा कमाएको थियो ।

बिजीमलको उपहार विजेतालाई टिभिएस अपाचे मोटरसाइकल तथा जुपिटर स्कुटर

काठमाडौं, ३ पुस । गोंगबुमा रहेको बिजीमलले दशैं तथातिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहारहरु वितरण गरेको छ । उपहार कार्यक्रममा सहभागि तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा चार रात पाँच दिनको थाइल्याण्ड भ्रमणको प्योकज वितरण गरेको हो । मलले यसै अवसरमा जाडो यामलाई लक्षितगर्दै विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात सुरुवात समेत गरेको छ । मलले उपहार योजना अन्तरगत एक हजार रुपैयाँभन्दा बढीको सामानखरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका झण्डै २५ हजार कुपनहरु मध्ये बाट कुपन नम्बर ५८३३ का विजेता मंगलता माङलाई टिभिएसको १८० सिसिको अपाचीआरटिआर मोटरसाइकल प्रदान गरिएको छ । त्यसै गरी स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हात पारेका छन् भने सविता सुवेदीले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । त्यसै गरी कार्यक्रममा उपहार योजनाका साप्ताहिक उपहार विजेताहरुलाई सिजि ब्राण्डका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतका उपहार पनि हस्तान्तरण गरिएको छ । गत असोज पाँचदेखि कात्तिक २८ गतेसम्म सञ्चालन भएको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्र्तगत ४० जनाले स्मार्ट फोन, ४० जनाले लञ्च कुपन तथा ६० जनाले शपिंग भौचर पाएका थिए । जाडो मौसममा ग्राहकलाई सुपथ मूल्यमा विभिन्न किसिमका सामान उपलब्ध गराउने लक्ष्यका साथ मलले विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात समेत गरेको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै मलले यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको सुरुवातमललमा सविन राईको संगितिककार्यक्रमगर्दै सुरु भएको छ । यसै गरि सेलिब्रेसनमा फेसन शो, बालबालिकालाई फ्रि फेस पेन्टिङ, फोटो सेसन लगायतका मनोरञ्जनात्मक क्रियाकलाप समेटिने छन् । सेलिब्रेसन जनवरी दुई तारिखसम्म चल्ने कम्पनीले जनाएको छ ।