विकासन्युज

आफ्नै भूउपग्रहको तयारीमा नेपाल, सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा विस्तारमा सहज

काठमाडौं १७, पुस । नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टि)लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ। भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा विस्तारमा सहजता हुनेछ। यस अभियानलाई थप टेवा पुग्ने गरी बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा’ भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। “नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा भन्ने अभियानका साथ अब नेपालको आफ्नै भूउपग्रह राख्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय भएको छ। यस विषयमा सरकार गम्भीर रूपमा लाग्छ”, सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले भने। विदेशी भूउपग्रह प्रयोग गरेबापत बर्षेनि करोडौँ डलर बाहिर गइरहेको उल्लेख गर्दै उनले भने, “नेपालको आफ्नै भूउपग्रह भएपछि दूरसञ्चार सेवा, पर्यावरण, जलवायु तथा मौसमको अध्ययन र प्राकृतिक विपद्का समयमा समेत विश्वको सञ्चार सेवासँग हामी निरन्तर जोडिन्छौँ। ” सञ्चारमन्त्री कार्कीले सन् १९८४ मा आईटीयुले नेपालका लागि अन्तरिक्षमा अर्बिटल स्लट छुट्याएको स्मरण गदैँ दूरसञ्चार प्राधिकरणले यस सम्बन्धमा तीव्र गतिमा काम अगाडि बढाएको बताए। सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई असारदेखि भूउपग्रह राख्ने प्रक्रिया जिम्मा दिएपछि यो प्रक्रिया अगाडि बढेको हो। अन्तरिक्षमा भूउपग्रह राख्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले आह्वान गरेको आशयपत्रमा २० वटा अन्तर्राष्ट्रिय कम्पनीले आशयपत्र बुझाएका छन्। “विश्वका राम्रा कम्पनीले आशयपत्र दिएका छन्। कम्तीमा अबको एक महिनाभित्र प्रस्तावको अध्ययनपछि यी कम्पनीमध्येबाट केही कम्पनीलाई चयन गर्छौँ, त्यसमा पर्ने कम्पनीसँग थप व्यावसायिक र वित्तीय प्रस्ताव माग्छौँ’ दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भने। उनले अन्तिम चरणको व्यावसायिक र वित्तीय प्रस्ताव माग गरेपछि मात्र कुन मोडेलमा जाने भन्ने निक्र्योल हुने जानकारी गराउँदै विदेशी कम्पनीको प्राविधिक सहयोगमा हामीले आफै पूर्ण रूपमा सञ्चालन गर्ने वा कम्पनीलाई सञ्चालन गर्न दिने वा दुवै पक्षको साझेदारीमा सञ्चालन हुने भन्ने विषय अन्तिम चरणको प्रस्ताव आएपछि मात्र भन्न सकिने बताए। प्राधिकरणका निर्देशक पुरुषोतम खनालले नेपाललाई उपयुक्त हुने मोडेलमा भूउपग्रह सञ्चालन गरिने बताए। “हामीले अहिले प्रथम चरणको आशयपत्र लिएका छौँ। धनी राष्ट्रले कुन मोडेलमा भूउपग्रह सञ्चालन गर्ने भन्ने विषय गोप्य राख्ने गरेका छन्। हामीजस्ता अल्पविकसित र गरिब मुलुकले अन्तर्राष्ट्रिय बैङ्कसँग ऋण लिएर सञ्चालन गर्ने गरेका छन्’, उनले भने। नेपालले थाइकम स्याट, चाइना स्याट, चाइना स्टार, एपस्टार, एसिया स्याट, सिङ्गापुर एयरटेल, भारतीय एयरटेल लगायतका चीन, सिङ्गापुर, थाइल्यान्ड, भारत लगायत विभिन्न मुलुकका भूउपग्रह प्रयोग गर्ने गरेको छ। दूर सञ्चार सेवामा भ्वाइस अपरेटरको नियमक निकाय नेपाल दूर सञ्चार प्राधिकरण हो भने अन्य अन्तर्राष्ट्रिय सङ्घ संस्था र केही नेपाली कम्पनी स्वयम्ले विदशी कम्पनीसँग सोझै सम्झौता गरेर सेवा लिने गरेका छन्। मुलुकको सार्वभौमिकता, अखण्डता र सुरक्षाका हिसाबले विश्वमा भूउपग्रहलाई अति संवेदनशील विषयका रूपमा हेर्ने गरिन्छ। अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन ९आईटीयु०ले सबै देशलाई प्राकृतिक स्रोतका रूपमा अन्तरिक्षमा यस्तो भूउपग्रह स्लट छुट्टयाउने गरेको छ। नेपाल २०१४ साल मङ्सिर १९ गते आईटीयुको सदस्य राष्ट्र बनेको हो। सन् १९८४ मा ५० डिग्री पूर्व र १२३।३ डिग्री पूर्व अर्बिटल स्लट आईटीयुले नेपालका लागि अन्तरिक्षमा छुट्याएको थियो। नेपाल अब आफैले भूउपग्रह राख्ने हो भने पहिलो चरणमा ३० अर्ब रुपियाँ खर्च हुनेछ। त्यस्तै भूउपग्रह प्रयोगमा आएको १५ वर्षभित्र पुनः ३० अर्ब रुपियाँ खर्च हुने बताइएको छ। अहिले विदेशबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ र स्याटेलाइट प्रयोग गरेबापत नेपालले वार्षिक करिब ४ अर्ब रुपियाँ बाहिरिने गरेको छ। विगतमा बजेटकै समस्याले भूउपग्रहसम्बन्धी काम प्रभावकारी हुन सकेको थिएन। दूर सञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै काम अगाडि बढिसकेकाले अब भने भूउपग्रह राख्ने प्रक्रियाले छिट्टै मूर्तता पाउने आशा गर्न सकिन्छ। सन् १९५७ मा रसियाले विश्वमा पहिलो स्पनिक वान नामको भूउपग्रह प्रक्षेपण ९लन्च० गरेको थियो। हालसम्म एक हजार एक सयभन्दा बढी सञ्चार भूउपग्रह अन्तरिक्षमा सञ्चालनमा सक्रिय छन्। गोरखापत्र दैनिकबाट ।

राजधानीमा ‘लोडसेडिङ नहुने भयो, ४० मेगावाट बिजुली आयो भारतबाट

काठमाडौं १७, पुस । विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ । सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित ९रन अफ रिभर० प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हुँदै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मर्स्याङ्दी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ । अधिकारीले अंग्रेजी नयाँ वर्षसँगै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए । प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो । अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो । तर, ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण गर्न बाँकी एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो । उक्त टावर निर्माण भएपछि भारतबाट आयात हुने बिजुली खिम्ती–ढल्केबर प्रसारण लाइन हुँदै राजधानी ल्याइनेछ । प्राधिकरणले आगामी फेब्रुअरी १ देखि थप ४० मेगावाट बिजुली भारतबाट आयात गर्न थाल्नेछ । मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट प्राधिकरणले ८० मेगावाट आयात गरिरहेको थियो । शनिबार रातिदेखि उक्त प्रसारण लाइनबाट प्राधिकरणले १२० मेगावाट आयात गर्न थालेको छ । फेब्रुअरी १ देखि भने त्यहाँबाट प्राधिकरणले १६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ । अधिकारीका अनुसार फेब्रुअरी १ देखि ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली राजधानी ल्याइनेछ । नदीमा पानीको प्रवाह घटेर सबभन्दा कम विद्युत उत्पादन हुने समयमा भारतबाट आयातीत बिजुलीमध्ये ९० मेगावाट राजधानी ल्याएपछि माघको तेस्रो सातादेखि फागुन, चैत, बैसाख र जेठमा समेत काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लोडसेडिङमुक्त राख्न सकिने प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन् । कान्तिपुर दैनिकबाट ।

भारु सटहीको समय सकियो, नेपालीको साटिएन, अझै आश मरेको छैनः राष्ट्र बैंक

काठमाडौं १७, पुस । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने सम्भावना लगभग टुंगिएको छ । जवाफ नै नआएकाले छिमेकी मुलुकमा भएको आफ्नो मुद्रा संकलित गर्न भारत तयार छैन भन्ने सन्देश प्रवाह भएको राष्ट्र बैंकका एक अधिकारीले बताए । नेपालस्थित भारतीय दूतावासले एक महिनाअघि नोट सटही सुविधाबारे मोडालिटी माग गरेको थियो । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा समूह नै बनाएर सटहीबारे मोडालिटी तयार गरेको थियो । उक्त मोडालिटी भारतीय दूतावासलाई बुझाएको एक महिना बित्दा पनि कुनै जवाफ प्राप्त नभएको सिवाकोटीले बताए । ‘अहिलेसम्म हामीलाई कुनै जवाफ पनि दिएका छैनन्,’ उनले भने, ‘मिडियामा भारतीय टोली नेपाल आउन लागेको भन्ने खबर आएका छन् । तर, त्यसबारे हामीसँग कुनै संकेतसम्म नगरिएकाले विश्वास गर्ने ठाउँ छैन ।’ राष्ट्र बैंकका अधिकारी र व्यवसायीले पनि भारतले नेपालीसँग भएको भारु सटही सुविधा दिनेमा अझै आशावादी रहेको बताएका छन् । ‘वाणिज्य बैंकमार्फत हुने सटहीको समयसीमा सकिएको हो,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘अब उसले नेपाल र भुटानमा भएको भारु व्यवस्थापनबारे थप कदम चाल्छ भन्ने लागेको छ ।’ भारतमा नोट प्रतिबन्धले निम्त्याएको समस्या सुल्झिनसके पनि केही हदसम्म व्यवस्थापन भएको छ । यसपछि मुलुकबाहिरको मुद्राबारे विचार गर्न सक्ने भन्दै सरोकारवालाले आशा जीवित राखेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पनि आशा मार्नुपर्ने अवस्था बनिनसकेको बताए । ‘अझै तीन महिना भारतीय केन्द्रीय बैंकका निश्चित शाखाले नोट सटही सुविधा दिने भएकाले समय सकियो भन्ने वेला भएको छैन,’ उनले भने, ‘यो वेला सरकारले भारतसामु दबाब बढाउनुपर्छ ।’ भारु सटही सुविधा नपाउँदा नेपालले कुन आकारमा वित्तीय घाटा सहनुपर्छ भन्ने स्पष्ट अनुमान कसैले पनि गर्न सकेको छैन । कतिपय व्यवसायी, सुरक्षाकर्मी र राष्ट्र बैंकका अधिकारी पनि धेरै नेपालीले आफूसँग भएको भारतीय रुपैयाँ सटही गरिसकेको दाबी गर्छन् । नेपालीलाई २५ हजार रुपैयाँसम्म मात्रै पाँच सय र हजार दरका भारु ल्याउन पाउने कानुनी व्यवस्था छ । तर, व्यवसायीले आठदेखि १० अर्ब भारु नेपालीसँग रहेको अनुमान गरेका थिए । त्यसमध्ये अधिकांश पैसा साटिएर भारतीय बैंकमा जम्मा भइसकेको स्रोतको भनाइ छ । यद्यपि, यसको विनिमय घाटा भने नेपालीले बेहोरेका छन् । भारु सयबराबर एक सय ६० रुपैयाँको स्थिर विनिमय दर भए पनि धेरैले समान दर (सय भारुबराबर सय नेरु)को दरमा सटही गरेको सम्बद्ध स्रोतको भनाइ छ । त्यसो गर्दा नेपालीले ३७ दशमलव पाँच प्रतिशत विनिमय घाटा बेहोर्छन् । अर्थात्, नेपालीको सम्पत्ति झन्डै ३८ प्रतिशत घट्छ । अनुमान गरिएजस्तो आठ अर्ब भारुमा ३७ दशमलव पाँच प्रतिशत विनिमय घाटा भयो भने तीन अर्ब रुपैयाँ नाश भएको देखिन्छ । तथापि, यो तथ्यांकमा विश्वस्त हुने आधार नदेखिने विश्लेषक बताउँछन् । नयाँ पत्रिका दैनिकबाट ।

पाल्पामा बर्सेनि होटल थपिदै, एक करोडको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा

पाल्पा, १६ पुस । पर्यटकीय नगरी तानसेनमा बर्सेनि होटल थपिदैं गएको छ । झन्डै करोड भन्दा माथिको लगानीका होटल थपिदै गएपछि सुविधा सम्पन्न होटलको समस्या यहाँ टरेको छ । पछिल्लो तीन वर्षको अवधिमा एक करोड भन्दा बढी रुपैयाँको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा आएका छन् । सुविधा सम्पन्न होटल निर्माण भएपछि यहाँ पर्यटकको बसाईमा पनि बृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन् । पछिल्लो समयमा निर्माण हुने होटलमा पार्किङ, सभाहल, टिभी, फ्रिज वाइफाइ, चिसो तातो पानीलगायतका प्रशस्त सेवा सुविधा रहेको होटल व्यवसायी जीवलाल सुवेदी बताउँछन् । सुविधा सम्पन्न होटलमा खुलेपछि साना ठूला गोष्ठी तथा सेमिनार गर्नसमेत सजिलो भएको छ । चैत, वैशाखमा यहाँ अत्यधिक गर्मी नहुने भएपछि नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका स्थानबाट गोष्ठी तथा सेमिनार सञ्चालनका लागि आउने गरेको व्यवसायीहरु बताउँछन् । तानसेनमा होटल ‘द’ ह्वाइटलेक, होेटल श्रीनगर, रोज रिसोर्ट, होटल इन्दे्रणी एन्ड रेष्टुरेन्ट, पाल्पाली छे, मोनिका होटल, होटल अमृत, रक रिजेन्सि गेष्ट हाउस, शुभरात्री गेष्ट हाउस लगायतका दर्जनौं होटल सञ्चालनमा छन् । होटलमा पाल्पाली स्वादमा खाना नास्ताको सुविधाले पर्यटकको मन जित्न सफल भएका हुन । पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने भएकाले होटल व्यवसाय फस्टाएको बताउँदै पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले होटल व्यवसायमा हालसम्म तानसेनमा एक अर्ब भन्दा बढी रुपैयाँ लगानीको भएको बताएका छन् । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र रुपन्देही जिल्लाको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकाले अगामी वर्षहरुमा यहाँ विदेशी पर्यटक आउने सम्भावना बढी रहेको हुँदा यहाँ होटल व्यवसाय फस्टाउन लागेका छन् । रासस

एनआरएनएद्वारा नमुना बस्तीको काम शुरु, आगामी एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने

गोरखा, १६ पुस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् । लाप्राक पुनःनिर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत पुस ११ गतेदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए । पुनःनिर्माणका लागि आवश्यक स्वयम्सेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्व तयारी गर्न भन्दै घले गुप्सीमा बसेका थिए । एनआरएनएले पनि आउँदो एक वर्षभित्रमा निजी घर, विद्यालयलगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रुपमा अघि बढाएको हो । गुप्सीपाखामै इँट्टा बनाउने मेसिन पुर्याएर निजी आवास निर्माणलाई तीव्र रुपमा अघि बढाउने एनआरएनएको तयारी छ । लाप्राकको सिङ्गो बस्ती एनआरएनएले पुनःनिर्माण गर्ने जिम्मा लिएपछि लाप्राकीले सरकारले दिने भनेको अनुदान रकम लिन पाएनन् । रासस

इन्डोनेसियाका एक विमान चालक निष्कासित, नशामा उडान गरेको आरोप

इन्डोनेसिया, १५ पुस । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ । विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत उडान गर्न उनले अनुरोध गरेका थिए । विमान चालकले विमान उडाउने तयारी गरिरहेको बेला उनको बोली प्रष्ट नभएपछि यात्रुले चालकमाथि शङ्का व्यक्त गरेका हुन् । यसैबीच सीटी लिङ्क कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । रासस/एपी

उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर व्यवस्थापन, शङ्खमूल- गुह्येश्वरी खण्डमा स्नानयोग्य बनाउने तयारी

काठमाडौं, १६ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतः स्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाइ र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर/घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिएका छन् । तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको सदस्य श्रेष्ठले बताए । आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापा, एलपी भानु शर्मा, डा राजु अधिकारी लगायतको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विज्ञापन सङ्घ, जीवन विज्ञान नेपाल, लायन्स क्लब, न्यानो स्पर्श, एस ट्राभल्स, तिलगङ्गा महिला समूह लगायतको सफाइमा संस्थागत सहभागिता थियो । आजदेखि बागमती सफाइ महाअभियान शङ्खमूल- गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ । रुद्रमती सफाइको १४९ औँ हप्तामा आज रातोपुल– सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिएका छन् । सो स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको सो अवसरमा संयोजक रमेश महर्जनले जानकारी दिनुभयो । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जनाएको छ । विष्णुमती सफाइको १२३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाईसँगै यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम पनि गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिएका छन्। सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, आमा समूह, तारकेश्वर नगरपालिका एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा आज सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । यस क्षेत्रको आजको सफाइमा चाल्र्स डाटर्बिन स्कुलका विद्यार्थीले घर घरमा गएर नदीमा फोहर नफाल्न अनुरोध गरे । आजदेखि प्रत्येक हप्ता विद्यार्थीलाई परिचालन गरेर जनचेतना फैल्याइने भएको छ । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, र माकालबारी टोलसुधार समिति लगायतको सक्रियता थियोे । नख्खुखोला सफाइको ६८ औँ हप्तामा आज सफाइ सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रासस

हुन्डीको कारोबार गर्ने एक चिनियाँ पक्राउ

काठमाडौं, १६ पुस । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट ८४ लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको हो । उनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम ११ लाख ७६ हजार रुपैयाँको चेकसमेत प्रहरीले बरामद भएको छ । गौतमसमेत पक्राउ परेका छन् । ठमेल इलाकामा रहेका होटलमा अवैध मुद्राको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर, काठमाडौंका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन् । सो रकम हुन्डी कारोबारका लागि प्रयोग भएको आशङ्कामा प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ । रासस