पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको घोषणा, नयाँ एटीआर साताभित्रै ल्याउँदै
काठमाडौं १८, माघ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरमा भएको लिट्रेचर फेस्टिवलमार्फत आफ्नो महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् । उनले पोखराबाट भारत, युएई, ग्वान्जाओ उडान गर्न अध्ययन गरिरहेको बताएका छन् । उनका अनुसार पर्यटक आउने बढ्ने क्रम रहेको र पोखरा विमानस्थबाट उडान गर्न सकिने विषयमा अध्ययन गरिरहेको उल्लेख छ । बुद्धले हाल ४ हजार यात्रुलाई दैनिक सेवा दिइरहेकोले पनि आगामी चार वर्षमा नै दुईवटा बोइङ वा सो सरहको क्षतमतको जहाज संचालन गर्ने गरी अध्ययन गरिरहेको बताए । उनका अनुसार बुद्धले दुईवटा जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा आवश्यक तयारी गरिरहेको पनि उल्लेख छ । बुद्धले अन्तर्राष्ट्रिय उडानको संम्भाव्यता अध्ययन गर्ने र उडान सुरु गर्ने विषयमा पनि आन्तरिक कार्ययोजना बनाइरहेको उल्लेख छ । ‘पोखरामा दैनिक एक हजार पर्यटक भित्र्याउनु ठूलो योजना होइन’, उनल भने ‘हामीले एक कन्सल्यान्ट मार्फत अन्तर्राष्ट्रिय उडानको लागि अध्ययन पनि गरिरहेका छौ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय उडान संचालन गर्न उचित व्यवस्थापन गर्न नसके अर्बपतिबाट एकैपटक करोडपति हुनु पर्ने अवस्था आउँछ । दैनिक एक हजार पर्यटक नियमित पोखरा आउँछन भने अन्तर्राष्ट्रिय उडान संचालन गर्नु कुनै ठूलो कुरा पनि नभएको बस्नेतको भनाइ छ । यस अघि पनि बुद्धले चार वर्ष अगाडि पोखराबाट भारतको दिल्ली र लखनउसम्म सीधा उडान तयारी थालेको थियो । पोखराबाट दिल्ली जान एक घन्टा ४५ मिनेट लाग्ने भए पनि फर्कंदा भैरहवाबाट सीधै प्रवेश गर्न नपाउँदा ३३ मिनेट समय बढी लाग्ने हुँदा लागत बढेको कारण बुद्धले उडान रोकेको थियो । समस्या हवाई रुटमा हवाई रुटको टुंगो नलाग्दा बुद्ध एयरलाई नेपाल प्रवेश भैरहवाको रुट नपाउनु र सिमरा हुँदै आउनुपर्ने हुन्छ । उसले भैरहवाबाट सीधै आउने अनुमति मागेको भएपनि यो रुट खुला नै भएको छैन । यो रुटबाट अझै पनि भारतले अनुमति निदएको र पर्यटन मन्त्रालयले भने पहल जारी गरिरहेको छ । उडान दूरी र खर्च दुवैले समस्या भएका कारण बुद्धले आफ्नो तय भैसकेको उडान पनि रद्ध गरेको थियो । पोखरा आउन भारतको अप्पी हुँदै भैरहवा आउने हवाई रुट नपाएपछि खर्च धान्न नसक्ने निष्कर्ष निकाल्दै बुद्धले पोखराबाट भारतको दिल्ली उडानको तालिका नै तय गरेर पनि उडान कार्यक्रम रद्द गरेको थियो । भारत र अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा पोखरा जानआउन अहिले पनि सिमराबाट काठमाडौं हुँदै पोखराको हवाई रुट प्रयोग गर्नुपर्ने वाध्यता छ । अहिलेसम्म पनि पोखरा र भैरहवा विमानस्थलका लागि अत्यावश्यक हवाई रुटको कुनै टुंगो लागेको छैन । यी दुवै विमानस्थलको रूट तय नै नभइ निर्माण भने भइरहेको छ । यसले गर्दा विमानस्थल निर्माणपछि सञ्चालन गर्न समस्या हुनसक्ने पनि उल्लेख छ । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने हवाई रुट खुला गर्ने र यही फेब्रुअरीमा हुने बैठकबाट हवाई रुट खुला हुनेमा विश्वस्त छौं । मन्त्रालयका सहसचिव सुरेश आचार्यले भारत हवाई रुट दिन सकारात्मक रहेको बताएका पनि छन् । ‘भैरहवाबाट प्रवेश बिन्दु माग्दा गौतमबुद्ध विमानस्थल नजिक सीमापारी गोरखपुर आर्मी ब्यारेक र नेपालगन्ज नजिक बरौनी आर्मी क्याम्प रहेको भन्दै भारतले नेपालका हवाई रुटको अनुमति नदिएको उल्लेख छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय सेनाको क्याम्प भएको र भातरतले आफैले पनि ५/७ नटिकल माइल टाढाबाट उडान गर्ने गरेका कारण नेपालाई रुट दिन समस्या भएको उल्लेख छ । जबसम्म भैरहवा र नेपालगन्ज प्रवेश गर्ने हवाई रुट पाइँदैन तबसम्म भैरहवा, पोखरा र निजगढ विमानस्थल सञ्चालन हुनै नसक्ने तर्क पनि सम्वन्धित वायुसेवा कम्पनीकै भनाइ छ । । नयाँ एटीआर एकसाताभित्रै बुद्ध एयरले नयाँ ७२ सिट क्षमताको एटीआर जहाज एक साताभित्रै ल्याउने भएको छ । बुद्धले पर्यटन मन्त्रालयबाट अनुमति पाइसकेको र नागरिक उड्डयन प्राधिकरयाले पनि यसका जहाज थप गर्न अनुमति दिएका कारण बुद्ध एयरका अपरेशन निर्देशक सुवर्ण खरेल जहाज लिन गैसकेका छन् । आन्तरिक वायुसेवा कम्पनी बुद्ध र यति एयर आक्रामक बजार बिस्तारमा रहेको र दुईवटा जहाज थप गर्ने रणनीतिसमेत स्वीकृत गरिसकेको छ । यो वायुसेवाले ७२ सिट क्षमताको एटीचार ७२—५०० नामक जहाज ल्याउन लागेको हो । यो वायुसेवाले आगामी एक साता भित्रमा नै एउटा एटीआर जहाज ल्याउने भएको छ । यो वायुसेवाले जहाज ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको र जहाज लिन अपरेशन विभागका निर्देशक गैसकेको पनि बुद्धले जानकारी दिएको छ । बुद्धले थप गर्न लागेको दुईवटा एटीआर मध्ये एउटा एक साताभित्रमा र त्यसपछिको ६ महिनामा अर्को जहाज ल्याउने भएको छ । हाल बुद्ध एयरसँग ४७ सिट क्षमताको तीन र ७२ सिट क्षमतको २ वटा एटिआर जहाज रहेको छ । नयाँ दुई वटा थप भएपनि ७२ सिट क्षमतकै ५ वटा हुने छ ।
आफन्त र पहुचवालामै छात्रवृत्ति बाँडफाँड, कर्मचारीका सन्ततिको छात्रवृत्तिमा ५१ करोड
काठमाडौं १८, माघ । सरकारले निजामती कर्मचारीका सन्ततिलाई बिभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्तिस्वरुप ५० करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ । छात्रवृत्ति कार्यक्रमका सुरुवातदेखि हालसम्म सात वर्षको अवधिमा कर्मचारीका दुई हजार चार सय २१ जना सन्ततिका लागि ५० करोड ७७ लाख २९ हजार रुपैयाँ वितरण गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहनस्वरुप तिनका छोराछोरीका लागि आर्थिक वर्ष ०६६र६७ देखि बिभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म सबैभन्दा धेरै छात्रवृत्ति इन्जिनियरिङ पढ्ने एक हजार ३७ विद्यार्थीहरुले पाएका छन् । मन्त्रालयले आर्थिक वर्ष ०६६र६७ मा कर्मचारीका मेधावी सन्ततिका लागि एमबीबीएस, बीडीएस र इन्जिनियरिङ विषयमा छात्रवृत्ति प्रदान गरेको थियो । तर, अहिले कृषि विज्ञान, पशुविज्ञान, आयुर्वेद, वनविज्ञान, व्यवस्थापन, नर्सिङ र विज्ञान विषय गरी १० विषयमा छात्रवृत्ति दिन थालिएको छ ।नयाँ पत्रिका दैनिकबाट ।
नब्बे रुपियाँको औषधि एघार रुपियाँमै, प्रसुति गृहमा बाहिरको भन्दा २० प्रतिशत सस्तो
काठमाडौं १८, माघ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालनमा ल्याएको छ । गतवर्ष सर्वोच्च अदालतले सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्नुपर्ने आदेश जारी गरेपछि सरकारी अस्पतालले फार्मेसी राख्न सुरु गरेका हुन् । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठले सोमबारबाट विधिवत् रूपमा अस्पतालको छुट्टै फार्मेसी सञ्चालन गरेको जानकारी दिए। उनले सरकारले उपलब्ध गराएको बीउ पुँजीबाट फार्मेसी सञ्चालन गरिएको जानकारी दिँदै बाहिर निजी फार्मेसीले बेच्ने मूल्यभन्दा पाँच गुणासम्म कममा औषधि बिक्री गर्न सकिने बताए। अन्य औषधिमा पनि बाहिरभन्दा २० प्रतिशतसम्म छुटमा औषधि बिक्री गर्न सकिने भन्दै डा. श्रेष्ठले सार्वजनिक खरिद ऐन अन्तर्गत टेन्डरमार्फत औषधि लिएको बताए। टेन्डरमार्फत औषधि लिँदा धेरै कम मूल्यमा औषधि बेच्न सकिन्छ, निर्देशक डा. श्रेष्ठले अस्पतालको फार्मेसीमा नेपाल सरकारले सूचिकृत गरेका सम्पूर्ण औषधि पाइने बताए। आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क गर्नुपर्ने सम्पूर्ण औषधि फार्मेसी अन्तर्गतको छुट्टै शाखाबाट वितरण गरिने जानकारी दिँदै हाललाई छ जना जनशक्तिको व्यवस्था गरेर फार्मेसी सञ्चालनमा ल्याइएको बताए। अहिले निजी औषधि पसलमा ९० रुपियाँ पर्ने आईभी क्यानोलालाई टेन्डरमार्फत् लिँदा अस्पतालले ११ रुपियाँमा बिक्री गर्दा पनि फाइदा हुने उदाहरण दिँदै उनले अन्य सर्जिकलका सामान र औषधि पनि कम मूल्यमा बिक्री गरिने बताए। गोरखापत्र दैनिकबाट ।
सुन आयातको कोटा बढ्यो, १५ किलोको सीमा दैनिक २० किलोसम्म पुग्यो
Gold bars काठमाडौं १८, माघ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । सुनको माग अत्याधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो। वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो । माग अनुसार कोटा अझै २५ किजी आवश्यक छ । यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरुले पालैपालो दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । कान्तिपुर दैनिकबाट ।
३१ वटा दरबार भत्काउने कि नभत्काउनेमा अन्योल, ५ घण्टामै भत्काउन सकिन्छ तर बनाउने समय ५० वर्षपनि लाग्नसक्छ
काठमाडौं १८, माघ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । पुरातत्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए तापनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै आएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले केहि दरबार पुरानै अवस्थामा पुननिर्माण गर्ने र केहिलाइ भत्काएर स्वरुपमा परिवर्तन नहुने गरी तयार गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भूकम्पको अति जोखिम रहेको उपत्यकाका सबै राणाकालीन दरबार सबै पुरानै सवरुपमा बनाउन सक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । तर पुरातत्वविद्हरुले नेपालको सम्पदाका रुपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताएका छन् । ”अहिले मैले सुनेको छ । केशर महल, सिंहमहल, ललिता भवन, बहादुर भवन, हरिहर भवन, श्री महललगायत दर्जानौं राणाकालिन दरबार भत्काएर आधुनिक बनाउने रे रु” संस्कृति एवं पुरातत्वविद् मुकुन्दराज अर्यालले भन्नुभयो ”सरकारको कस्तो तरिका नेपालको इतिहास मेटाएर बवन बनाउने रु” राणाकालीन दरबार ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिदैन । यस्तो गलत काम सरकारले कहिल्यै गर्नुहुदैन । इतिहासलाई अनन्तकालसम्म जोगाएर राख्नुपर्छ । अर्यालले बताउनुभयो । नेपालसमाचापत्र दैनिकबाट ।
जगदम्बा हस्पिटालिटीले नक्सालमा बनाउँदै गरेको पाँच तारे होटल मापदण्ड विपरित, वरिपरिको सडक र घर भासिएपछि संसदीय समितिले छानबिन थाल्यो
काठमाण्डौ । काठमाडौंको नक्सालमा बन्न लागेको डबल ट्री हिल्टन होटलको निर्माण सरकारले तोकेका मापदण्ड पूरा नगरी भईरहेको खुलेको छ । काठमाडौं महानगरपालीसँग अनुमति लिएको तर वातावरणीय मुल्याङ्कन प्रतिवेदन नबुझाई पूर्वाधारको निर्माण गरेको भन्दै संसदीय समितिले सोमवार निरीक्षण गरेको छ। जगदम्बा हस्पिटालिटीले करिब ६ महिना आगाडिबाट निर्माण सुरु गरेको होटलले सडक र पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरेको पाइएको हो । होटल निर्माण र सो क्रममा पहुँच र पैसाको भरमा प्रलोभनमा परी वरिपरिका स्थानीयको घर जोखिममा पारेको भन्दै संसदको शुसासन समितिका सांसदहरुले आक्रोस पोखेका छन् । सोमवार स्थलगत भ्रमणमा गएका सांसदहरुले मापदण्ड नपुगेको भन्दै सबै प्रक्रिया पूरा गरेरमात्र काम अगाडि बढाउन निर्देशन दिएका छन् । सांसदहरुले इआइए नगरी पूर्वाधार निर्माण गरेको भन्दै नक्सा पास गर्ने काठमाडौं महानगरपालिकाका इन्जिनियर र सम्वन्धित अधिकारीलाई कानुनी कारवाहिको दायरामा ल्याउनु पर्ने औल्याएका छन् । होटेल निर्माणका क्रममा केहि दिन अगाडि सडक भासिएपछि सोमवार व्यवस्थापिका संसदको शुसासन समितिले स्थलगत निरीक्षण गरेको हो । समितिका सभापति मोहनसिंह राठौरले काठमाडौं महानगरपालिकाका इन्जिनियरसँगको मिलेमतोमा इआइए रिपोर्टविना भवन निर्माण हुन लागेको भन्दै बदमासी गर्नै सबै निकायलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने बताए। सांसदहरुले पाँचतारे होटेल निर्माणका लागि पर्याप्त जग्गा नभएको भन्दै होटेल निर्माण स्थगित गर्न पर्ने बताएका छन् । सांसद मिलन राजवंशीले सुरक्षाको प्रश्न उठाउँदै नेपाल प्रहरीको हेडक्वाटर रहेको स्थानमा सेक्युरिटीका हिसावले पनि ठूलो संरचनाको होटेल बनाउनु सुरक्षा खतरा निम्त्याउनु रहेको बताइन् । सांसद ध्यानगोविन्द रञ्जितले ऐन सानाले मात्र पालना गर्नुपर्ने र ठूलाले नक्सा पास र वातावरणीय मुल्याङ्कन विना नै काम अगाडि बढाउन पाउने यो कस्तो देश हो भनी प्रश्न गरेका थिए । उनले तत्काल महानगरपालिकाका सम्बन्धित अधिकारीलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने र निर्माण कार्य बन्द गर्नुपर्ने बताए । मुख्य सडकबाट ६ मिटर टाढा संरचना बनाउनु पर्ने नियम भए पनि होटलले सडकको किनारा नै छोएको छ । यही कारण विगत १५ दिनभन्दा बढी समयदेखि सार्वजनिक सडक नै अबरुद्ध छ । स्थानीयले पैसा र पावरको भरमा आफूहरुको थातथलो जोखिममा पार्नेहरुलाई सरकारले कारबाही नगरेकोमा आश्चर्य व्यक्त गरेका छन् । स्थानीय रमन घिमिरेले वडा कार्यालयदेखि महानगरपालिकाका अधिकारी समेत पैसामा बिकेका आरोप लगाए। स्थानीयहरुले होटल निर्माणको नाममा ९० फिट भन्दा गहिरो खाल्डो खनिएको दाबी गर्दै भवितव्य यस्तो भएको भन्दै होटलका लगानीकर्ता पन्छिएकामा जीवनभरी नै क्षतिपुर्ति पाउनुपर्ने उनीहरुको माग रहेको छ ।
नेपाल बङ्गलादेश बैंकले ६ महिनामा ५४ करोड नाफा गर्यो, नयाँ शाखा पर्वतको कुश्मा बजारमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा पर्वत जिल्लाको कुश्मा बजारमा आफ्नो ४२ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा कार्यक्रमका अध्यक्ष पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिओम शर्मा लामिछानेको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रााष्ट्र बैँकका डेप्ुाटि गर्भनर शिवराज श्रेष्ठले माघ १७ गते गरिएको थियो । सोहि अवसरका बैंकको एटीएमको उद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी गरेका छन् । पुस मसान्तसम्ममा बैंकले कुल निक्षेप ४१.०३ अर्ब, कुल कर्जा ३६.२० अर्ब रहेको छ । साथै सोहि अवधिमा बैंकको खुद नाफा ५४.०६ करोड भएको बैंकले जनाएको छ ।
ललितपुर मोबाइल एक्स्पो ’फोरजी’ मय बन्दै, नयाँ प्रविधि र नयाँ मोडलमा ग्राहकको रुची
ललितपुर । ललितपुरमा जारी मोबाइल एक्स्पो सोमबारदेखि फोरजी मय भएको छ । नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको बढी रुची देखिएकाले सोमबारदेखि फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गर्ने योजना अघि सारेको आयोजकले बताएका छन् । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले आजदेखि फोरजीका स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गरेको छ । उक्त एक्स्पोमा फोरजी प्रविधिका विभिन्न फोनहरु राखिएको छ । माघ १४ गतेदेखि शुरु भएको मोबाइल एक्स्पो माघ २२ गतेसम्म चल्ने आयोजकले जनाएका छन् । सो एक्स्पोलाई सोमबार फोरजीमय एक्स्पोको घोषणा गरिएको छ । पछिल्लो प्रविधि फोरजी नेपालमा भित्रिएको हुँदा ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्ने गरि सो घोषण गरिएको हो । साथै, आयोजकका अनुसार एक्पोमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गरिने छन् । ललितपूर कम्प्लेक्समा जारी एक्स्पोमा विभिन्न मोबाइलहरु जस्तै, एक ह्वावेको जीआर५, सामसुङको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ ।साथै, एक्स्पोमा एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोन पनि राखिएका छन् । कम्पनीका अनुसार एक्स्पोमा राखिएका सबै सेटहरुमा फोरजी सेवा प्रयोग गर्न सकिनेछ । कम्पनीले मोबाइल मेलाको अवधिभर फोरजी सहितका स्मार्टफोनको खरिदमा छुटका साथै विभिन्न उपहारहरु पनि दिने जनाएका छन् । एक्स्पोको बारेमा बोल्दै कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए –‘अहिले चीनियाँ ब्राण्डका फोनहरु किन्न आउने ग्राहकहरुको संख्या बढेको छ । चाइनिज फोनहरु पनि अन्तराष्ट्रिय गुणस्तरका हुँदा ग्राहकहरु चाइनिज फोनमा आकर्षित भएका हुन् ।’