विकासन्युज

मापदण्ड मिचेर पाँच तारे होटल डबल ट्री हिल्टन, शंकर ग्रुपको सेवा उद्योग पहिलो गाँसमा ढुंगा

काठमाडौ । शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआई)( र माटो परीक्षणका कानुनी प्रावधान उल्लंघन गर्दै होटेल निर्माण सुरु गरिएको हो । होटेल निर्माणक्रममा भगवतीबहाल(पुलिस हेडक्वार्टर खण्डको सडक पुस २४ गते भासिएको थियो । जमिन भासिँदा वरपरका घरमा पनि क्षति पुगेको छ । भवन आचारसंहिताको दफा १४।७ मा १७ मिटर वा पाँच तलाभन्दा अग्लो भवन निर्माणमा माटो परीक्षण अनिवार्य हुन्छ । यसका लागि खानी तथा भूगर्भ विभागले माटो परीक्षण गरी निर्माणयोग्य भनेपछि मात्र अनुमति दिन सकिने प्रावधान छ । पाँच रोपनी क्षेत्रमा दुई तला बेसमेन्टसहित करिब १५ तलाको भवन निर्माण गर्न लाग्दा मापदण्डअनुरूप माटो परीक्षणको प्रक्रिया पूरा गरिएको थिएन । ‘माटो परीक्षण आधारभूत मापदण्ड हो’, सहरी विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद सिंहले भने, ‘यसका लागि मन्त्रालयले मापदण्ड बनाएर लागू गर्ने अधिकार महानगरपालिकालाई दिएको छ ।’ काठमाडौं महानगरपालिका स्रोतका अनुसार माटो परीक्षण गर्दा त्यस स्थानमा त्यति ठूलो भवन निर्माण गर्न नमिल्ने प्रतिवेदन आएको थियो । ‘तैपनि निर्माण अनुमति दिइयो’, स्रोतले भन्यो । अहिले माटो परीक्षणको प्रतिवेदनसहित फाइल अख्तियारले लगेको छ । यस विषयमा बुझ्न पटकपटक सम्पर्क गरे पनि महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङ सम्पर्कमा आउन चाहेनन् । व्यवस्थापिका संसद्को सुशासन अनुगमन समितिमा यसबारे माघ २८ मा छलफल भएको थियो । छलफलमा तामाङले भवन निर्माणका लागि प्रारम्भिक स्वीकृति मात्र दिएको, पूरा नक्सा पास नभएको जनाएका थिए । छलफलमा सांसदहरूले होटेल निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन नआउँदै निर्माणको अनुमति दिएको भन्दै तामाङमाथि प्रश्न गरेका थिए । जबाफमा तामाङले भवन निर्माणका लागि प्रारम्भिक अनुमति मात्र दिएको जिकिर गरेका थिए । उनले यसको जबाफदेही उपत्यका विकास प्राधिकरणतिर पन्छाएका थिए । उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले भने भवनको निर्माण योजना स्वीकृत गर्ने तथा मापदण्ड पालना गराउने मात्र दायित्व भएको जबाफ दिएका थिए । भवन निर्माणका लागि जग्गा छ कि छैन, सडकबाट हुनुपर्ने दूरी छ कि छैन, भवन संहिताअनुसार डिजाइन छ कि छैन, त्यो हेरेर आफूले स्वीकृति दिने तिवारीले बताए । उक्त होटेल निर्माणको ईआईए प्रतिवेदन नआएको वातावरण मन्त्रालयको भनाइ छ । योजनाअनुसारको निर्माणका लागि ईआईए अनिवार्य हुन्छ । ईआईए प्रतिवेदन पास हुन सार्वजनिक सूचना प्रकाशन गरी स्थानीयको सुझावसमेत लिनुपर्ने हुन्छ । स्थानीयले विरोध गरे निर्माण नहुन पनि सक्छ । वातावरण संरक्षण ऐनमा ईआईए स्वीकृत नभई भवन निर्माण भएको अवस्थामा एक लाख रुपैयाँसम्म जरिबाना गराउनसक्ने व्यवस्था छ । समितिको छलफलमा ईआईएबिना निर्माण अनुमति दिइएको, गलत डिजाइनलाई पनि स्वीकृत गरिएको भन्दै सदस्यहरूले जिम्मेवार निकायले चरम लापरबाही गरेको आरोप लगाएका थिए । होटेलको अन्तर्राष्ट्रिय चेन हिल्टनको व्यवस्थापनमा सञ्चालन गर्ने गरी समूहले एक सय २८ कोठाको होटेल निर्माण गरिरहेको छ । एक सय २० वटा गाडी र दुई सयवटा मोटरसाइकल पार्किङ गर्न सकिने दुईतले बेसमेन्टसहितको होटेल निर्माणमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भनिएको छ । हिल्टनले विश्वभर चार हजार दुई सय होटेल सञ्चालन गरिरहेको छ । यी होटेलमा ६ लाख ९० हजार कोठा छन् । अन्नपूर्ण पोस्टबाट ।

दक्षिण कोरियाले कामदारको कोटा बढायो, आगामी वर्ष १० हजार नेपाली लैजाने

काठमाडौं । इपीएस अन्तर्गत तीन महिनापछि हुने भाषा परिक्षाबाट १० हजार नेपालीलाई रोजगारीका लागि छनोट गर्ने भएको छ । आगामी जेठमा सञ्चालन गरिने आठौं भाषा परीक्षामार्फत उत्कृष्ट भएका १० हजार युवायुवतीलाई कोरियाले रोजगारीका लागि छनोट गर्ने भएको हो । भाषा परिक्षा पास गर्ने कामदारको माग सन् २०१७ को अन्त्यबाट सुरु हुने जनाइएको छ । यो संख्या गत बर्षको तुलनामा तेब्बर हो । गत बर्षको भाषा परिक्षामा सामेल भएका ६० हजारमध्ये ३ हजार ५ लाई मात्र रोजगारीका लागि छनोट गरेकोमा यो पटक भाषा परिक्षामा सो संख्या भन्दा तीन गुणा बढी कामदार लैजाने कोरियाको योजना छ । कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिनेछ। भाषा परीक्षामा पास हुने सन् २०१८ मा कोरिया जाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ। परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने छन्। फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने खतिवडाले बताए। अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ। परीक्षा भने जेठको अन्तिम सातामा हुने ईपीएस शाखाले जनाएको छ। फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए। मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० अनिवार्य चाहिने शाखाले जनाएको छ। फेरी दोस्रो पल्ट धेरै संख्यामा कामदार लाने तयारी भएको हो। यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए। शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको हो। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए। कारोबार दैनिकबाट ।

मदिरा र सुर्तिजन्य पदार्थलाई व्यवस्थित गर्न थप ऐन ल्याउने तयारि, व्यवसायिद्वारा असन्तुष्टी व्यक्त

काठमाडौं। सरकारले मदिरा तथा सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट तथा पार्सलमा चेतनामूलक सन्देश तथा चित्र राख्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन उद्योगी व्यवसायीले अटेर गरेपछि स्वास्थ्य मन्त्रालयले यससम्बन्धी ऐन नै ल्याउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले सार्वजनिक स्थलमा धुम्रपान नियन्त्रण तथा नियमावलीको प्रावधानलाई कार्यान्वयन गर्न अनुगमनलाई पनि प्रभावकारी बनाइने बताए। उनका अनुसार व्यवासायीले अटेर गरे त्यसको मुल्य उनीहरुले नै चुकाउनुपर्ने बताए। स्वास्थ्य मन्त्रालयले हालै जारी गरेको मदिरा नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन मदिरा ऐन ल्याउन लागिएको उनले जानकारी दिए। उनले नयाँ नीतिले दिर्घकालिन रुपमा सकारात्मक असर र राम्रो काम हुने भन्दै कुनैपनि हालतमा ऐन ल्याएर कार्यान्वयन गर्ने बताए। स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७२ जेठ १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो। निर्देशिकामा सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र राख्नुपर्ने तथा सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने प्रावधान छ । निर्देशिका लागु आएपछि सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्ने अहिले पाँच वटामा झरेको अध्ययनमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। व्यवसायीहरुको असन्तुष्टी राज्यको राजस्वमा महत्वपूर्ण योगदान रहेको मदिराजन्य क्षेत्रलाई नियमन गर्ने नाममा हचुवाको भरमा नीति ल्याइएको भन्दै मदिरा उत्पादक तथा व्यवसायिले यसअघि नै विरोध गर्न थालिसकेका छन्। मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले सरकारले आफूहरुसँग छलफल नै नगरी नीति ल्याएको  भन्दै मदिराको वर्तमान अवस्था र भविष्य नहेरी हचुवाको भरमा नीति आएकाले व्यवसायीहरुको भविष्य अन्धकारमा परेको बताए। उनले सरकारले जिम्मेवारीपूर्वक तरिकाले व्यवसायीसँग प्रस्तुत हुन र सरकार र व्यवसायी मिलेर समस्याको समाधान गर्न सकिने बताए। उनले नीतिले नियमन भन्दा मदिरा व्यवसायलाई पूर्ण रुपमा नियन्त्रण गर्ने खालको भन्दै सरकारले व्यवसायीको उठीबास लगाउने गरी नीति ल्याएको बताएका छन्।

आइएमसीद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई थप ५ एम्बुलेन्स सहयोग

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । तालिमको दोस्रो सत्रमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल  अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहका प्रमुख अतिथि स्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका हुन् । सोहि कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरु आईएमसीले स्वास्थ्य मन्त्री थापाद्धारा एम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरेको छ । एनएएसले यस अघी देखि नै काठमाडौं उपत्यका र चितवनमा  दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स संचालन गर्दै आएको छ । अब संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । सोहि अवसरमा मन्त्रि थापाले भने “ नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससंग हाते मालो गरेर यस्तै स्तरिय सेवा सम्पूर्ण राज्य भरि संचालन गर्न अघि सर्ने छ । यो पब्लिक प्राइभेट पार्टनरशीपको उत्कृस्ट नमुना बन्ने छ भन्ने कुरामा मा विश्वस्त छु । ” कार्यक्रममा नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले भने, ‘हामीलाई गर्व लाग्छ अहिले सम्म २००७७ बिरामीहरुलाई सेवा प्रदान गर्न सफल भएको छौँ । जस मध्ये ३६ वटा शिशुको जन्म एम्बुलेन्स भित्रै भएको थियो । साथै महा विनासकारी भूकम्पको बेलामा नेपाली सेना र नेपाल प्रहरी सँगको संयोजकत्वमा हामीले ७०० भन्दा बढि घाईतेहरुलाई उद्धार गर्न सफल भएका थियौं ।’ इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी)का देशिय निर्देशक जोलेने माएमुलिन्सले भने , “ नेपाल एम्बुलेन्स सर्भिस सँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ” । साथै, उनले अन्य  विकसित मुलुक जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गरि रहेकोमा एनएएसलाई बधाई दिएका छन् । सोहि कार्यक्रममा बोल्दै तालिमका संयोजक डा. कुलेश थापाले भने, ‘स्ट्याण्डफोर्डको सहयोगमा स्वास्थ्य सम्बन्धि आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई यस्तो प्राविधिक तालिम कार्यक्रम नेपालमै पहिलो थियो र यो दोस्रो पटक थप इएमटीहरुलाई तालिम दिन पाहुदा हामी खुसी छौँ । हामीले अहिले सम्म १०० जनालाई इएमटीतालिम दिँदै आएका छौं जसले गर्दा नेपाल एम्बुलेन्स सेवालाई आफ्नो बिस्तार गर्न थप सहयोग  पुर्याउने ’ उनले बताए ।

गोल्डस्टार जुत्ता अब भाटभटेनीमा

काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरन सुज म्यानुफ्याक्चरले सोरुम इन्साइड सोरुममार्फत भाटभटेनीको शाखाहरुमा गोल्डस्टार जुत्ता उपलब्ध गराउने भएको छ । पहिलो चरणअन्तर्गत, गोल्डस्टार जुत्ताहरु महाराजगंज र नकसाल अवस्थित भाटभटेनीको शाखाहरुमा उपलब्ध गराइएकोे कम्पनीले जनाएको छ । कन्पनीको योजनाअनुरुप, गोल्डस्टार जुत्ताआफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै, चाडैँ नै हरेक भाटभटेनी शाखाहरुमा उपलब्ध गराइने छ । गोल्डस्टार जुत्ताहरु, वृद्धवर्ग तथा ग्रामीण क्षेत्रमा लोकप्रिय र अत्याधिक विक्रि हुने जुत्ताहरुमा परिचित भएता पनि, नयाँ डिजाइन र उच्च गुणस्तरीय सामाग्रीको प्रयोगले युवावर्ग तथा शहरी क्षेत्रमा पनि यस जुत्ताको प्रयोग र लोकप्रियता बढ्दो क्रममा रहि आएको पाइन्छ । नेपालमै बनाइएको, उच्च गुणस्तरीय, सुलभ मुल्य र गोल्डस्टार जुत्ताको इतिहासले यस गोल्डस्टार जुत्ता आफ्ना प्रतिस्पर्धीहरु सामु एक सर्वोत्तम उत्पादन रहि आएको कम्पनीले जनाएको छ । साथै, भारत र नेपालमा अवस्थित आफ्ना ग्राहक तथा वितरकहरु सँगको बलियो र प्रगाढ सम्बन्धले गर्दा, यस गोल्डस्टार जुत्ताले, राष्ट्रिय पहिचान पुरस्कारअन्तर्गत अत्यन्तै व्यवस्थित व्यवसाय श्रेणीमा,“उत्कृष्ट निर्यात कर्ता पुरस्कार” हात पार्न सफल भएको छ । नयाँ उत्पादनको खोज तथा विकास, प्रविधि र ग्राहकवर्गको सेवालाई अधिकतम ध्यानमा राख्दै यस गोल्डस्टार जुत्ता आप्mना ग्राहकहरुको सुरक्षा, आरामदायी र हितमा सदैव प्रगतिशील रहि रहने कम्पनीले जनाएको छ ।

जेट एयरवेजको ‘बिलियन माइल्स फेस्टिबल’ योजना सार्वजनिक, उडान गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं । भारतको प्रमुख अन्तराष्ट्रिय एयरलाइन्स जेट एयरवेजले भारतकै पहिलो तथा सर्वाधिक ठूलो‘बिलियनमाइल्स फेस्टिबल’ आयोजना गरी धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कृत गर्ने योजना सार्वजनिक गरेको छ । योजना अवधि भित्र जेट एयरवेजको टिकट बुक गर्ने तथा यात्रा गर्ने जुनसुकै देशका यात्रुले एक करोड भन्दा बढी जेपी माइल बराबरको बोनस प्राप्त गर्न सक्ने छन् । आगामी गर्मी मौसममा बिदा मनाउने यात्रुहरुलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत जेट एयरवेजका यात्रुले बोनस जेपीमाइल प्राप्त गरी लाभान्वित हुन सक्ने छन् । हवाई यात्राको चाहना गर्नेहरुको सपना साकार पार्न ‘बिलियन माइल्स फेस्टिबल’ सहायक सिद्ध हुने विश्वास एयरवेज सूत्रले व्यक्त गरेको छ । यो योजना जेट प्रिभिलेजका सवै सदस्य तथा लोयाल्टी रिवार्ड कार्यक्रमका विजेताहरुका लागि समेत खुल्ला रहने छ । सदस्यता लिइ नसकेकाहरुले एयरवेजको वेबसाइटमार्फत आफूलाई सूचिकृत गरी बोनस जेपी माइल योजनाको फाइदा उठाउन सक्ने छन् । ग्राहकले यही फरवरी २१ देखिमार्च ३१ सम्ममा जेटएयरवेज डटकम वा मोबाइल एपमा बुक गरेको प्रत्येक टिकटमा बोनस जेपी माइल प्राप्त गर्न सक्ने छन् । उक्त योजना अवधिभर प्रत्येक दिन एक जना भाग्यशाली विजेता घोषित गरिने छ । यसरी घोषित गरिएका भाग्यशाली विजेताहरुले एक लाख जेपी माइल प्राप्त गर्ने छन् । साथै एक जना ज्याकपट विजेताले दस लाख जेपी माइल प्राप्त गर्ने छन् । विजेताहरुले आफूले प्राप्त गरेको जेपी माइल आगामी जेट एयरवेज वा साझेदार एयरलाइन्सको अवार्ड टिकट खरीद गर्दा प्रयोग गर्न सकिने जानकारी गराइएको छ ।

अमेरिकामा उत्पादित न्युट्रिसन बिक्रेता बडी विल्डिङ स्टोरको चौथो शोरुम लाजिम्पाटमा

काठमाडौं । बडी विल्डििङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिसनको बिक्री बितरणमा नेपालमा अग्रणी स्थानमा रहेको स्टोरको नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । शारिरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो । सामान्य व्यक्तिका लागि पनि आकर्षक शरिर बनाउन स्टोरले सोही अनुसारको न्युटिर्सन बिक्री बितरण गर्नेछ । मस्कल टेक र डाइमाटाइज न्यट्रिसन फर नेपाल गरी दुई वटा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको बडी विल्डिङ स्टोरले तीन वर्षे व्यवशायिक यात्रामा राजधानीको लाजिम्पाटमा चौथो शोरुम सञ्चालनमा ल्याएको हो । नेपालमा शारिरिक सुगठनमा ध्यान दिनेहरुले न्यु्िरसनको अधिक माग गर्दै आएकाले स्थापनाको तीन वर्षमा नै स्टोरले चौथो शाखा बिस्तार गरेको हो । यस अघि सुनधारास्थित सिभिल मल, कमलपोखरी र कौशलटारमा शोरुमका शाखा सञ्चालनमा आईसकेका छन् । स्टोरका सञ्चालक राजकुमार ढकालले तीन वटै स्टोरमा अधिक मात्रामा भएको न्युट्रिसनको मागलाई ध्यानमा राखेर लाजिम्पाटमा शाखा खोलिएको बताए । उनले स्टोरले आगामी दिनमा अन्य स्थानमा पनि शाखा बिस्तार गर्दै आफ्ना ब्राण्डको बिक्री बितरणलाई तिब्र बनाउने बताए । शारिरिक सुगठनका लागि खाद्यान्न सन्तुलनका सम्बन्धमा परामर्श समेत दिंदै आएको स्टोरले नेपाल भरी सक्कली न्युटिर्सनका उत्पादन उपलब्ध गराउन पुलको भुमिका खेल्ने लक्ष्य लिएको छ । अन्य स्थानमा सिमित प्रकारका न्युट्रिसनजन्य खाद्यान्न पाइने अवस्थामा यो स्टोरमा छानेर आफुलाई आवश्यक किसिमको वस्तु मात्र खरिद गर्न सकिन्छ । नियमित रुपमा प्रयोग हुने खाद्यान्नको विकल्पका रुपमा शारिरिक सौन्दर्यताका लागि स्टोरले बिक्री बितरण गर्ने उत्पादनका लागि नेपाल भरीबाट अर्डर गर्न सकिन्छ । न्युट्रिसनजन्य उत्पादनको मूल्य अलि महंगो हुने भएकाले नेपाली बजारमा नक्कली उत्पादन सस्तोमा बिक्री बितरण भैरहेको भन्दै स्टोरले आफुले किन्ने उत्पादनमा होलोग्राम जाँचेर सक्कली उत्पादनको प्रयोग गर्न आग्रह समेत गरेको छ । स्टोरले विज्ञप्ती मार्फत भनेको छ ‘हाम्रो स्टोरमा राखिएका उत्पादनमा टेम्पर प्रुफ होलोग्राम राखिएका छन्, जसले तपाईको स्वास्थ्यमा कुनै खेलवाड गर्नै सक्दैन, अब सक्कली उत्पादन कि नक्कली उत्पादन चलाउने बिचार पुर्याउनहोस् ।’

महावौद्धका व्यापारी र बैंक उस्तै भए, राष्ट्र बैंक के हेर्दैछ ?

डा. चन्द्रमणि अधिकारी लगानी गर्ने बेलामा दीर्घकालीन सोच नराखी महावौद्धका खुद्रा व्यापरीले जस्तो रातारात कमाउने गरी लगानी गर्ने अनि अहिले रुवाबासी गरेर सरकार गुहार्ने ? लिने ब्याज चैं हरेक दिन बढाउँदै जाने, दिने ब्याजमा कोर्टेलिङ गर्ने ? बचत खातामा ब्याज रत्तिभर नबढाउने । यो धृष्टता किन ? राष्ट्र बैंक के हेर्दैछ ? खास गरी क वर्गका वाणिज्य बैंकहरुको नियतमा प्रश्न उब्जेको छ । दीर्घकालिन तथा दीगो व्यवसायमुखी र आर्थिक समृद्धिका योजनामा लगानी गर्नुपर्नेमा अल्पकालिन सट्टेबाजी लगानी भैरहेको छ । बैंकहरुले साहुकार प्रवृत्तिमा रमाएर लगानी गर्दैछन । बैंकहरुले त्यसरी लगानी गर्न मिल्दैन् । बिग्रीएको जति विषयमा अन्य वित्तिय संस्था तथा सहकारीलाई दोष थोपर्ने तर लगानी, निक्षेप रं पूँजि परिचालनबीच सन्तुलन नराख्ने वाणिज्य बैंकहरुको प्रवृत्तिमा सुधार हुनुपर्छ । बैंकहरुले नाफा कमाउनु पर्छ भन्ने कुरामा कसैको दुई मत छैन तर नाफा मात्रै खोज्ने कुरा चाँही स्विकार गर्न सकिन्न । नाफाले नै वित्तिय संस्थाहरुलाई उत्प्रेरणा र अग्रताको बाटोमा लैजान्छ । तर त्यस्तो मुनाफा उचित हुनु पर्छ । न्यायसंगत हुनुपर्छ । व्यवसायिक योजना तथा दीर्घकालिन र दीगो व्यवसायिक सोच सहित लगानी गरेर नाफा कमाउनु बैंकहरुको कर्तव्य हो । बैंक र अन्य व्यवसायमा धेरै अन्तर छ । रेष्टुरेन्ट चलाउनु वा खुद्रा व्यपार गर्नु र बैँक चलाउनु फरक विषय हो । तर बैंकरहरुले यस्तै कुरा बुझेनन् र राष्ट्र बैंकले उचित नियमन गर्न नसक्दा लगानी योग्य पूँजीको चराम अभावको अवस्थामा मुलुक पुगेको हो । बैंकिङ व्यवसायसका छुट्टै आधार हुन्छन् । यो खुद्रा व्यापार वा स्टक मार्केट जस्तो होइन् । बैंकिङ क्षेत्र र उत्पादनशिल क्षेत्र एक अर्काका परिपूरक हुन् । बैंकिङ क्षेत्रको विस्तारले उत्पादन मुलक क्षेत्रको विकास हुनु पर्ने हो । तर हामी कहाँ बैंकहरुले एकै बर्षमा धेरै नाफा दिने गरि अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । साना बचत कर्तालाई ब्याज दिन नमान्ने ठुलालाई मात्रै धेरै ब्याज दिने कुरा पनि गलत भयो । यस्तो प्रवृत्तिबाट बैंकहरु सुध्रिनु पर्छ । अब बैंकहरुले लगानीसँगै निक्षेप संकलन, पूँजी वृद्धि र रिजर्भ फण्डको उपयोगको योजना पनि सँगै बनाउनु पर्छ । भारतमा बढिमा २ प्रतिशतको स्प्रेड दर छ । हामी कहाँ ५ प्रतिशत दिइएको छ तर बैंकहरुले छिद्रहरुको प्रयोगद्धारा त्यो सिमा पनि नाघेका छन् । बैंकिङ क्षेत्र ठिक ढंगले नचलेको अवस्थामा नियामक सक्रिय हुनुपर्ने हो । लगानी कर्ता र बचत कर्ता दुबै माथी न्याय हुनुपर्छ । हिजो ६/७ प्रतिशतमा फकाई फकाई लगानी गर्ने अनि अहिले १२/१३ प्रतिशत ब्याज लिने कुरा ठिक भएन । केन्द्रिय बैंकले सहि ढंगले कदम चाल्नु पर्छ । अर्थमन्त्रालय पनि सक्रिय हुनुपर्छ ।(डा. अधिकारीसँग गरिएको कुराकानीमा आधारित)