सीजी फिन्को र नेपाल एसबिआई बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फिन्को प्रालि र नेपाल एसबिआई बैंक लिमिटेडबीच रेमिट्यान्स कारोबार गर्नका लागि द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापछि वेस्टर्न यूनियन मनी ट्रान्सफर मार्फत विदेशबाट पठाइएको नगद सीजी फिन्कोका तर्फबाट एसबिआई बैंकका सम्पूर्ण शाखाबाट ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ । बुधबार आयोजित एक कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा सीजी फिन्कोका अध्यक्ष निर्वाण कुमार चौधरी तथा एसबिआई बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले यो सम्झौता सीजी फिन्कोको सेवा विस्तार गर्नका लागि कोसेढुङ्गा सावित हुने बताएका छन् । एसबिआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नागरले नेपालको बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन बैंकका तर्फबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वेस्टर्न यूनियन मनी ट्रान्सफरका नेपाल प्रमुख कबिन्द्र श्रेष्ठले चौधरी ग्रुप र नेपाल एसबिआई बैंकसँगको साझेदारीले वेस्टर्न युनियनलाई अझ दरिलो बनाउने धारणा व्यक्त गर्दै छिटोछरितो र बिना झन्झट सेवा पुर्याएर सेवाग्राहीको मन जित्न आग्रह गरेका छन् ।
सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्दै, फागुन २६ गते बुक क्लोज
काठमाडौं । सिटिजन्स बैंकल इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत(१० बराबर २.५ अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन २६ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।
स्ट्याण्डर्ड चार्टड बैंकको एफपीओ चैत १ गतेदेखि खुला, प्रतिकित्ता मूल्य १२९० रुपैयाँ
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर(एफपीओ) चैत १ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ अर्ब ३० करोड ६ सय रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । प्रिमियम सहित कम्पनीको एफपीओको मूल्य प्रतिकित्ता १२९० रुपैयाँ तोकिएको छ । उक्त सेयरका लागि सर्वसाधारणले चैत ४ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको बैंकले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंको नयाँ सडकमा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको नयाँ सडकमा स्थापना गरेको छ । कम्पनीले बुधबार उक्त शाखाको उद्घाटन गरि बीमा सम्वन्धी सम्पूर्ण कारोवार सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले गरेका छन् । उद्घाटनको अवसरमा अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुलाई आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिएका छन् । साथै उनले हालसम्म ९२/९५ प्रतिशत जनताहरु बीमासेवा लिन बाट बन्चित रहेको जनाएका छन् । त्यसैले अध्यक्ष चापागाँईले दुर्गम क्षेत्र लगायतमा सेवा बिस्तार गरि बीमासेवा प्राप्त गर्न बाँकी जनताहरुमा सेवा बिस्तार गर्न आग्रह गरेका छन् । सोही कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले चुक्ता पूँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद शेयर निश्काशनको प्रकृया अन्तिम चरणमा रहेको बताएका छन् । आगामी आ.व.को अन्त्य सम्ममा कम्पनीको चुक्ता पूँजी १०० करोड पुर्याउने मल्लले जनाएका छन् ।
प्रतिमेगावाट ५० लाख अनु्दान दिन मन्त्रालय सहमत, दुई सय मेगावाटले तत्काल अनुदान पाउने
काठमाडौं । जलविद्युत् आयोजनालाई मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता दिने सहमति भएको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालय सहमत भएको हो । अर्थ मन्त्रालयले जलविद्युत् आयोजनालाई मात्र अनुदान दिने व्यवस्था गर्ने सहमति केही दिन अघि गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । ‘अब अर्थ मन्त्रालयको सहमती आएपछि हामी उक्त अनुदान प्रस्तावलाई मन्त्री परिषद्मा लैजान्छौ,’ उनले भने ‘ उताबाट स्वीकृत भएर आएपछि अनुदान वितरण कार्य शुरु हुन्छ ।’ सरकारले दिएको समय सीमाभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने जुनसुकै आयोजनाले पनि प्रतिमेगावाट ५० लाख रपैयाँ अनुदान पाउँछन् । असारसम्ममा करिब दुई सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने अनुमान ऊर्जा मन्त्रालयले गरेको छ । यसका लागि १० अर्ब खर्च हुने देखिएको छ । आर्थिक २०७१/७२ को बजेटमार्फत आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एक मुष्ठ अनुदान दिने व्यवस्था सरकारले गरेको थियो । सरकारले तत्कालको विद्युत् संकट निवारण गर्न सहयोग पुर्याउने अर्थात आव २०७४/७५ भित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उत्पादकलाई अनुदानमा १० प्रतिशत थप गरिने समेत व्यवस्था छ । बजेटमै घोषणा गरिएको कार्यक्रम अर्थ मन्त्रालयले कार्यान्वयन नगर्दा निर्माण सम्पन्न भएका आयोजनाले समेत अनुदान पाएका छैनन् । राष्ट्रिय ऊर्जा संकट निवारण कार्ययोजनामा भएको व्यवस्था अनुसार आव २०८२/८३ सम्ममा निर्माण हुने आयोजनालाई अनुदान प्रस्ताव गरिएको थियो । तर, यसका लागि भने अर्थ मन्त्रालयले स्वीकृत दिएको छैन । तत्काल सुविधा पाउने आयोजनाहरूमा जिरी खोला साना आयोजनाले एक करोड २१ लाख अनुदान पाउने भएको छ । उक्त आयोजनाले २.२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । माईखोाल २२ मेगावाट उत्पादन गरेर ११ करोड, बेल्खु ५१८ किलोवाटले २८ लाख ४९ हजार, माथिल्लो पुवा एक ३ मेगावाट, माथिल्लो खुम्दी ५ मेगावाट, नौगाढ खोलाको ८.५ छ्याङ्दी २ मेगावाट, सुम्पाबुखारी ९९८ किलोवाट विद्युत् गर्ने हुने बताइएको छ । माई क्यास्केट ७ मेगावाट, माथिल्लो माई खोला ९.९८ मेगावाट , दरम खोला ए २.५ , झ्याक्दी खोला २ मेगावाट, टुंगुन ठोस्ने ४.३६ मेगावाट, माथिल्लो मस्र्याङ्दी ए ६ मेगावाट, खानी खोला २ मेगावाट, मिया खोला ९९६ किलोवाट, माथिल्लो मादी २५ मेगावाट आयोजनाले अनुदान पाउने गरी विद्युत् उत्पादन गर्ने भएका छन् ।
लक्ष्मी बैंकले शुरु गर्यो नयाँ ‘अनफिक्स्ड’ मुद्दती खाता
काठमाडौं । लक्ष्मी बैंकले ‘अनफिक्स्ड’ खाता नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरु माझ ल्याइएको बैंकले जनाएको छ । ‘अनफिक्स्ड डिपोजिट’ खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फर मार्फत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनीहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ । साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि-म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ । जसले गर्दा ग्राहकको ‘अनफिक्स्ड’ मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ । यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १० प्रतिशतमा उपलब्ध छ ।
एलआइसी नेपालले २५ प्रतिशत लाभांश दिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २४ दशमलब ८० प्रतिशत बोनस सेयर र एक दशमलब ३०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । बीमा समितिको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि एलआइसी नेपालका लगानी कर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
महासंघमा दुई खेमाबीच धुर्विकरण तिब्र, गोल्छाको प्यानल तयार, प्रधानले शनिबार घोषणा गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति घोषणा भएपछि भावी नेतृत्वको लागि धुर्विकरण तिब्र भएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र शेखर गोल्छाबीच प्रतिस्पर्धा निश्चित भएको छ । गोल्छाले नेतृत्व गर्ने चुनावी प्यानल लगभग तयार भएको छ भने प्रधानले नेतृत्व गर्ने चुनावी प्यानल शनिबार घोषणा हुने भएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको चुनावी प्यानलमा जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उम्मेदवार रहने निश्चित भएको छ । एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल वा ज्ञानेन्द्रलाल प्रधान कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सो समूहमा विवाद छ । यो चुनाबी प्यानल निर्माणमा सक्रिय पूर्व अध्यक्ष चण्डिराज ढकालले एशोसिएट उपाध्यक्षको उम्मेदवार चन्द्रप्रसाद ढकाललाई बनाउन चाहेका छन् भने वर्तमान अध्यक्ष पशुपति मुरारका ज्ञानेन्द्रलाल प्रधानको पक्षमा देखिएका छन् । प्रधानलाई कोषाध्यक्ष मनाउन सो टिमले प्रयास गरिरहेको छ तर प्रधानले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका छन् । किशोर प्रधानको टिममा भने अहिलेसम्म पदाधिकारीहरुको उम्मेदवारीको टुङ्गो लागेको छैन । जिल्ला उपाध्यक्षमा ८ जना आकांशी भएकोले कसलाई बनाउने भन्ने निश्चित छैन । एशोसिएट उम्मेदवार को बन्दै छ भन्ने पनि स्पष्ट आएको छैन । एशोसिएट उपाध्यक्षको उम्मेदवार सौरभ ज्योतिको नाम चर्चामा छ । बस्तुगत उपाध्यक्षको उम्मेदवारमा अन्जन श्रेष्ठ, अनुप मल्ल र शंकर पाण्डे मध्ये एक जना हुने भएका छन् । प्रधानको चुनावी प्यानल शनिवार घोषणा गर्ने तयारी रहेको बताइएको छ ।