विकासन्युज

हिमालयन बैंकद्धारा चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको हात्तीगौंडास्थित “न्यु चिल्ड्रेन्स होम”का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । यस अन्तर्गत बैंकले उक्त चिल्ड्रेन्स होममा रहेका बाल बालिकाहरुलाई भाँडाकुँडा (ग्याँस सिलिन्डर, ग्याँस चुलो, कराई, प्रेसर कुकर, डेक्ची, चम्चा आदि)  तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चिनी, पीठो, विस्कुट आदि)  सहयोग गरेको छ । देशका विभिन्न स्थानका तीस जना गरीब तथा असहाय वालवालिकाहरुलाई उक्त चिल्ड्रेन्स होमले आश्रय दिईरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

सिपी मैनालीको गुनासोः बिष्णु पौडेलले तीन करोड रुपैंयाँ पनि पत्याएनन

काठमाडौं । नेकपा(माले)का महासचिव सीपी मैनालीले आफुलाई तीन करोड रुपैंयाँ नदिएर बिष्णु पौडेलले अपमानित गरेको आरोप लगाएका छन् । बिहिबारको अर्थ समिति बैठकमा पुराना कुरा याद गर्दै उनले भने–‘मैले डेढ डेढ करोडका दुई वटा आयोजनाका लागि तीन करोड रुपैंयाँ बजेट मागेको थिएँ तर बिष्णु पौडेलले पत्याएनन् ।’ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा सीपी मैनाली उप प्रधान एंव महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए भने बिष्णु पौडेल अर्थ मन्त्री थिए । बजेट विनियोजनको बिकृति तर्फ संकेत गर्दै उनले अघि थपे,‘म उप प्रधान मन्त्री थिएँ, मेरै कुरा सुनिएन, मैले तीन करोड बजेट पनि पाइँन, उप प्रधानमन्त्रीले त बजेट पाउँदैन भने दुर दराजका जनताले कसरी पाउन ।’ मैनालीले वर्तमान सरकारले जथभावी गरेको रकमान्तरबारे छलफल गर्न आयोजना गरेको बैठकमा बजेट विनियोजनमा हुने शक्तिको खेलबारे कटाक्ष गरेका हुन् । ठुला दलका नेताहरुले साना दलहरुलाई बजेट विनियोजनमा विभेद गर्दै आईरहेको गुनासो पनि गरे ।‘हामी साना दललाई ठुला दलहरुले एक लाल गेडी पनि बजेट पनि पत्याउँदैनन, हामी त हेपिएका छौं भने जनताले समानुपातिक ढंगले कसरी बजेट पाउँछन’, मैनालीले भने । बैठकमा अर्थ मन्त्री कृष्ण बहादुर महराले चालु आर्थिक बर्षको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए ।‘अहिलेको बजेट विभेदकारी छ, कर्णाली र सुदुरपश्चिमलाई थोरै बजेट दिईएको छ, मध्यमाञ्चल र पुर्वाञ्चलमा धेरै रकम विनियोजन गरिएको छ’, मन्त्री महराले भने ।

कन्चनपुर घटनाबारे परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्रीबीच फोनवार्ता

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भएको विषयलाई लिएर परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आज बिहान फोनवार्ता गरेका छन् । मन्त्री डा महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उनको ध्यानाकर्षण गराएका थिए । नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबीन गरी यसमा संलग्न दोषीमाथि कारबाहीका साथै आइन्दा यस्ता घटना हुन नदिन भारतीय पक्षबाट लिनुपर्ने सावधानीका लागि पनि विदेशमन्त्री स्वराजसँग मन्त्री डा महतले आग्रह गरेका थिए। वार्ताका क्रममा भारतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले पनि गम्भीर रुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ बुझ्ने काम भइरहेको जानकारी दिए मन्त्री डा महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । यसैबीच नेपालस्थित भारतीय कार्यबाहक राजदूत विनयकुमारलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर उक्त घटनाका सम्बन्धमा नेपाल सरकारका तर्फबाट भारतलाई कुटनीतिक नोट हस्तान्तरण गरिएको छ । परराष्ट्र सचिव शङ्करदाश वैरागीले हस्तान्तरण गरेका सो नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । साथै सो नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ । रासस

जिल्ला विकास समिति काठमाडौंका सुब्बा ४० लाख घुससहित पक्राउ

काठमाडौं । जिल्ला विकास समिति काठमाडौंका नायव सुब्बा गोवर्धन खड्का घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले खड्कालाई ४० लाख घुससहित रंगेहात पक्राउ गरेको हो । खड्काले अध्याय ट्रेड एण्ड सप्लायर्स जोरपाटीका कर्मचारीसँग बालुवा गिटीको कर उठाउने क्रममा प्रयोग गरिने विलको प्याड नमिलेको र सो मिलाउन स्थानिय विकास अधिकारी र योजना अधिकृतलाई मासिक १० लाख बुझाउनु पर्ने भन्दै घुस मागेका थिए । सोही सूचनाका आधारमा खटिएको आयोग टोलीले उनलाई आफ्नै कायकक्षबाट ४० लाख रकम सहित पक्राउ गरेको हो । खड्कालाई आयोगले आफ्नै हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाएको छ ।

अब युरोप–अमेरिकासम्म नेपाली जहाज उड्ने

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले नेपाल वायुसेवा निगमलाई युरोप र अमेरिकासम्म पुर्याउने बताएका छन् । राजधानीमा शुक्रबार आयोजीत एक कार्यक्रममा मन्त्री गिरिले भने,‘हिजो आर।एले युरोपसम्मको उडान भर्दथ्यो, तर हामी आज हेरौं हाम्रो अवस्था, त्यसैले मेरो प्रतिबद्धता छ, म मेरै कार्यकालमा युरोप र अमेरिकासम्म आर.एको सेवा सुचारु गर्छु, यसमा मलाई सबैको साथ र सहयोग चाहिन्छ, सपना नदेखी केही पनि गर्न सकिँदैन् ।’ उनले पर्यटन मन्त्रालयमा धेरै चूनौतिहरु रहेको स्विकार गर्दै आगामी दिनमा सबै खाले चूनौतिहरुलाई सामाना गर्दै आफू अघि बढ्न सक्षम रहेको जिकिर गरे ।त्यस्तै उनले आफ्नो कार्यकालमा कसरी पर्यटकको संख्या बढाउन सकिन्छ भनेर आफूहरुले विशेष रुपमा काम गर्ने समेत प्रतिबद्धता जनाए। उनले भने,‘अहिले नै यति संख्या वा उति लाख भनेर भन्नु भन्दापनि मेरो पूर्ण प्रतिबबद्धता कसरी पर्यटकहरु बढाउन सकिन्छ भन्ने नै हो ।’ उनले नेपालको कला, संस्कृति, सभ्यता, पर्यटनलाई कसरी संरक्षण एवम् प्रर्वद्धन गर्न सकिन्छ भनेर आफू गम्भिर रहेको बताउँदै सोही अनुसार काम गर्ने समेत विश्वास दिलाए ।

होली पर्वका अवसरमा टेलिकमले ल्यायो विशेष तीन अफर, के के छन् त अफरहरु ?

काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुमाझ विशेष तीन अफर ल्याएको छ । कम्पनीको उक्त तीन अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । कम्पनीको चाडपर्व अफर अन्तर्गत जिएसएमर सिडीएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ । कम्पनीका अनुसार रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २०० रुपैयाँको रिचार्ज कार्डमा २०० एमबी डेटा, ५०० रुपैयाँको रिचार्ज कार्डमा ५०० एमबी डेटा र १००० रुपैयाँको रिचार्ज कार्डमा १००० एमबी डेटा रहेको छ । जसमा दुई दिनसम्म बोनस अवधि रहने र राती १०ः०० बजे देखी बिहान ६ः०० बजेसम्म उपभोक्ताहरुले उपभोग गर्न पाउँने छन् । यो अफरको अवधि फागुन २९ गतेदेखि चैत ०३ गतेसम्म जिएसएमर सिडीएमएका प्रिपेडका ग्राहकलाई उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, यो अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरे पश्चात् स्वतः प्राप्त हुनेछ । त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म  उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन जिएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५मा एसएमएस गर्नुपर्ने कम्पनीले बताएको छ । त्यस्तै, एसएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि चैत ०१ गतेसम्म जिएसएमर सिडीएमएका ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि SMS100 टाइप गरी १४१५मा एसएमएस  गर्नुपर्ने कम्पनीले जनाएको छ ।

आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने ज्ञानबहादुर क्षेत्रीलाई सम्मान

काठमाडौं । कतारस्थित रिया मनीट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँने ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । क्षेत्रीले पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गरेका छन् । उनले गत महिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तानी भएको थियो । आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा प्रवन्धक रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरेका हुन् । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेटेको छ । हाल कम्पनीले ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम उनीहरुका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

अनलाईनबाटै सेयर खरिद बिक्री आदेश दिने व्यवस्था मिलाउन बार्डले दियो निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब अनलाईनबाटै सेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था मिलाउन धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्र कारोबार प्रकृयालाई थप सहज, पारदर्शी, सरल, छिटो छरितो र लगानीकर्तामैत्री बनाउन दलाललाई निर्देशन दिएको हो । बोर्डले लगानीकर्तालाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई प्रयोगकर्ता संकेत र पासवर्ड दिई इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने ब्यवस्था मिलाउन निर्देशन दिएको हो । सो व्यवस्था अनुसार लगानीकर्ताहरुले धितोपत्र कारोबार सम्वन्धी विवरण सूचना समेत इन्टरनेट मार्फत पाउन सक्ने छन् । बोर्डद्धारा जारी विज्ञप्तिअनुसार लगानीकर्ताहरुलेबाट इन्टरनेट मार्फत प्राप्त खरिद विक्री आदेशलाई समय प्राथमिकताको आधारमा खरिद बित्री प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देश गरेको छ । उक्त व्यवस्था अनुसार सेयर खरिद बिक्रीको अभिलेख ब्यवस्थित भई लगानीकर्ताले थप सुबिधा पाउने र सेयर कारोबारमा ब्यापकता आई नयाँ अध्याय थपिने बोर्डले जनाएको छ । साथै, यसबाट धितोपत्र सेयर कारोबार प्रकृयालाई थप सहज, सरल र छिटो छरितो हुने अपेक्षा गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताएका छन् ।