सर्वोच्च अदालतमा महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा फैसला मङ्गलबार
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ सोमबार सकिए पनि फैसला भने मङ्गलबार हुने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय मङ्गलबार सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । उक्त विषयमा सरकारका तर्फबाट उपन्यायाधिवक्ता रेवती त्रिपाठी र सहन्यायाधिवक्ता टीकेन्द्र दाहालले बहस गरेका थिए । उनीहरुले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने कार्यकारी अधिकार मन्त्रिपरिषद्लाई भएको हुँदा कानुनसम्मत सरकारले नियुक्त गरेको तर्क राखेका थिए । रिट निवेदनका तर्फबाट जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ता तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराई र डा भीमार्जुन आचार्यले कानुनी आधारबिना प्रहरी नायब निरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको तर्क राखेका थिए । चन्दका पक्षबाट भने कुनै पनि अधिवक्ताले बहस गरेनन् । आइतबार नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, भट्ट र शम्भु थापा तथा अधिवक्ता डा भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादव लगायतले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले प्रहरी ऐनअनुसार वरियताका क्रममा सिलवाल १ नम्बरमा रहेको हुनाले उनलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क राखेका थिए । नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरियताको १ नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिएका थिए । त्यसमा पनि अदालतले अल्पकालीन आदेश दिएको थियो । यसैबीच नेपाल प्रहरीका नायब महानिरीक्षक प्रकाशकुमार अर्यालले पनि आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका छन् । मन्त्रिपरिषद्ले संविधानविपरीत चन्दलाई महानिरीक्षकमा बढुवा गरेको जनाउँदै प्रहरी नियमावलीअनुसार आफू कार्यसम्पादनमा अब्बल भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न निवेदनमा माग गरिएको छ । वरियता क्रमले अर्याल २ नम्बरमा हुनुहुन्छ । रासस
टेलिकम सेवामा ३२ प्रतिशत कर, करकाे भारले सूचना नै महँगाे
काठमाडौं । नेपालको टेलिकम सेवाबाट सरकारले ३२ प्रतिशत कर उठाउने गरेको छ । सरकारले दुर सञ्चार सेवा प्रदायक कम्पनीबाट विभिन्न शिर्षकमा ३२ प्रतिशतसम्म कर उठाएको हो । सरकारले दुर सञ्चार सेवा शुल्क ११ प्रतिशत, स्वामित्व कर २ प्रतिशत, भ्याट १३ प्रतिशत, रोयल्टी ४ प्रतिशत र ग्रामिण दुर सञ्चार विकास कोषमा २ प्रतिशत गरि ३२ प्रतिशत कर असुल्दै आएको छ । दुर सञ्चार सेवा प्रदायक कम्पनीले दुर सञ्चार कम्पनीले उपभोक्तालाई एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा दुर सञ्चार सेवा शुल्क वापत ८ रुपैंयाँ ६० पैसा, स्वामित्व करका लागि एक रुपैंयाँ ७३ पैसा, भ्याट वापत ११ रुपैंयाँ ५१ पैसा तिर्नुपर्छ । त्यसपछि बचेको रकमबाट पनि ४ प्रतिशत रोयल्टी शुल्क र २ प्रतिशत ग्रामिण दुर सञ्चार विकास कोषमा बुझाउनु पर्छ । नेपाल टेलिकमका चिफ फाइनान्सियल अफिसर सुर्यभक्त पोखरलले कम्पनीले सरकारको राजश्वमा ठुलो योगदान गरेको बताए ।‘हामीले एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा ३२ रुपैंयाँ त सरकारलाई कर नै तिरिरहेका छौं’, पोखरेलले भने । टेलिकमले उपभोक्तालाई सेवा बिक्रि गरेवापत २६ प्रतिशत कर बुझाउँछ भने बाँकी ६ प्रतिशत कर आफ्नो नाफाबाट तिर्ने गरेको छ । नेपाल टेलिकमले आर्थिक बर्ष २०७२/७३ मा कुल २३ अर्ब ११ करोड कर तिरेको थियो । कुल राजश्वमा टेलिकमले मात्रै ५ दशमलब शुन्य २ प्रतिशत योगदान गरेको छ । चाँडो नाफा कमाउन सकिने व्यवसायका रुपमा स्थापित टेलिकम बिजनेशबाट मुलुककै राजश्व प्रणालीमा पनि ठुलै योगदान प्राप्त भैरहेको छ । नेपाल टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा गरेको थियो ।
यूनिभर्सल इलेक्ट्रोकमद्धारा हिट्याची ब्राण्डको शुरुवात, घरायसी उपकरणमा ख्याति प्राप्त
काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकम लक्की ग्रुप अन्तर्गत हिट्याची ब्राण्डको शुभारम्भ भएको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमद्धारा उक्त ब्राण्डको शुभारम्भ भएको हो । हिट्याची जापानको एक नं. घरायसी उपकरणमा ख्यातिप्राप्त बिभिन्न व्यक्तित्व सेलिब्रेटी तथा सरकारी कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । हिट्याची जापानका प्रतिनिधिले यूनिभर्सल इलेक्ट्रोकोमसँग व्यापारीक साझेदारी रहेको खुलासा गर्नुका साथै आगन्तुकलाई प्रडक्टको बारेमा समेत जानकारी दिईएको थियो । हिट्याची प्राविधिक गुणले उच्च रहेकोले यो विभिन्न रुपले विश्व प्रख्यात हुनुका साथै टि.भि., एयर कन्डिस्नर, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्हो नेपाली बजारमा भित्र्याएको छ । यूनिभर्सल इलेक्ट्रोकोमका सिइओ ललित मिश्रका अनुसार नेपाली बजारमा हिट्याचीको प्रोडक्टले ठूलो व्यापारीक हिस्सा ओगट्ने छ र नेपाली उपभोक्ताको मन जित्नेछ । साथै, यसको ऐतिहासिक विश्वव्यापी सफलताले गर्दा नेपालमा पनि धेरै सम्भावना रहेको उनले बताए ।
हुन्डाईको खुला गल्फ टुर्नामेन्टको विजेता घोषित, शाहले जिते नगद पुरस्कारका साथै स्मार्टफोन
काठमाडौं । गोकर्ण फोरेस्ट रेसोर्टमा सम्पन्न सातौँ हुन्डाई खुला गल्फ टुर्नामेन्टको विजेता घोषित भएको छ । उक्त प्रतियोगितामा कर्णेल विकास शाहले ३९ अंकका साथ आङ्ग नोर्बु शेर्पालाई १ अंकले जित्दै प्रथम स्थान हासिल गरेका छन् । शाहले पुरस्कार स्वरुप १ लाख रुपैयाँ बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । त्यस्तै, ३८ अंकका साथ आङ्ग नोर्बु शेर्पाले दोश्रो स्थान हासिल गरेका छन् । उनले ४ बर्डिजका साथ सर्वाधिक बर्डिज र १० हजार बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । मेजर निश्चल जङ्ग रायमाझीले तेश्रो स्थान हासिल गरेका छन् । साथै निर्मल दाहाल र ध्रुव थापालाई टाईमा जितेर उनले ३६ अंकका साथ सो स्थान जितेका हुन् । दाहालले दोश्रो हाफमा १६ अंक, थापाले १५ अनि रायमाझीले १७ अंक हात पारेका छन् । वाङ्गचेन ढोन्डुपले ३३ अंक जितेर ग्रस ट्रोफीका साथै ५० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । हुन्डाई वनरतर्फ जाम्लिङ घले पहिलो भएका छन् भने उनले ३४ अंक हात पारेकी थिइन् । साथै, उनले २० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेकी छन् । लंगेस्ट ड्राइभको पुरस्कार संयोग शाही, क्लोजेस्ट टु दि पिनको पुरस्कार आङछिरिङ शेर्पाले जितेका छन् । प्रतियोगितामा एक सय १५ एमेच्योर गल्फरले भाग लिएका थिए । नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ जिन, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुधिर घिमिरे र क्याप्टेन जोशेफ न्याथनले उक्त प्रतियोगितको विजेताहरुलाई पुरस्कार प्रदान गरेका छन् ।
नेप्सेले पार गर्यो १४०० विन्दु, एक अर्ब २६ करोडको सेयर कारोबार, बीमा ५६६ अंक माथी
काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचकले १४०० विन्दु पार गरेको छ । सो दिन परिसूचक ४२ दशमलब १९ अंकले उकालो लागेर १४२४ दशमलब ३८ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा ४२ अंकले बढेको छ । आइतबार नेप्से २४ अंकले बढेर १३८२ अंकमा रहेको अडेको थियो । बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । सो दिन मात्र एक अर्ब २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा ५८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबारको बजारमा १४० कम्पनीको २५ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार उत्पादन मूलक समूह बाहेक कारोबार भएका अन्य समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५६६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो, विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ७६, ४४, ३९, २९ र १८ अंकले बढेका छन् । उत्पादन मूलक समूहको परिसूचक भने ५ दशमलब १२ अंकले घटेको छ ।
स्वदेशी लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डले दियो स्वीकृति
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय अंकित दरका ३ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साधारण शेयर जारी पश्चात कम्पनीको पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।
नेको इन्स्योरेन्सको विशेष साधारणसभा चैत २७ गते, बुक क्लोज कहिले?
काठमाडौं । नेको इन्स्योरेन्सले आगामी चैत २७ गते विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १३ गते कम्पनीको बुक क्लोज रहने छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ८४४ रुपैयाँमा कारोबार भइरहेको छ ।
सौरभ ज्योतिकाे उम्मेदवारी स्वतन्त्र कि रणनीतिक ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाले नेतृत्व गरेको समूह र किशोर प्रधानले नेतृत्व गरेको समूहबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको तीन वर्षपछि स्वात अध्यक्ष बन्ने व्यवस्था भएपछि पहिलो पटक वरिष्ठ उपाध्यक्ष पदका लागि गोल्छा प्रधानबीच प्रतिस्प्रर्धा हुँदैछ । गोल्छाको समूहले आइतबार भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने बस्तुगततर्फ शंकर पाण्डे उपाध्यक्षको उम्मेदवार बनेका छन् । प्रधान समूहले अहिलेसम्म एशोसिएट तर्फको उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार घोषणा गर्न सकेको छैन । एशोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योतिलाई उम्मेदवार बनाउने भनिए पनि यो अझै टुङ्गो लागेको छैन । ज्योतिले आफू एशोसिएटतर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । उनले आफू कुनै प्यानलमा आवद्ध नभएको र स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै आएका छन् । प्यानल–प्यानलबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारलाई चुनाव जित्न सजिलो छैन । तर प्रधानको प्यानलमा ज्योति जोडिएनन भने प्रधान समूहले एशोसिएटतर्फको उपाध्यक्ष पदको लागि उम्मेदवार पाउनै नसक्ने अवस्था छ । गोल्छा प्यानलबाट एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । महासंघमा करिव ९०० एशोसिएट कम्पनीहरु छन् । एक कम्पनीले एक भोट हाल्न पाउँछ । एउटै व्यक्ति वा समूहको दर्जनौ कम्पनी महासंघमा एशोसिएट सदस्य छन् र प्रोक्सी (प्रतिनिधि) मार्फत भोटिङ हुने अभ्यास छ । करिव ९०० एशोसिएट कम्पनीहरु मध्ये करिव ६०० कम्पनीको प्रोक्सी चन्द्रप्रसाद ढकाल अर्थात गोल्छा प्यानलले संकलन गरिसकेको बताईएको छ । प्रचार गरिएजस्तै गोल्छा समूहले ६०० प्रोक्सी संकलन गरिसकेको हो भने ढकालसँग प्रतिस्पर्धामा आउने जो कोहीको हार सुनिश्चित छ । यहि कारण अहिलेसम्म किशोर प्रधान समूहले उम्मेदवार तय गर्न नसकेको बताइएको छ । एशोसिएट उपाध्यक्षबारे गृहकार्य भईरहेको प्रधानले बताए । ‘हाम्रो टिममा एशोसिएट तर्फ उपाध्यक्षको उम्मेदवार देखिने गरि पनि हुन सक्छ, नदेखिने गरि रणनीतिक उम्मेदवार पनि हुन सक्छ’ प्रधानले भने । ज्योतिको उम्मेदवारी स्वतन्त्र हुनेछ वा रणनीति हुनेछ वा उनी अर्को निर्वाचनको लागि सिट सुरक्षित गर्न चाहान्छन् ? महासंघको निर्वाचनमा चासो राख्ने धेरैको मनमा खुल्दुली चलेको छ ।