विकासन्युज

नेपाल टेलिकमद्धारा फेसबुक र युट्युबमा प्रतिबन्ध

काठमाडौं । कर्मचारीले काम गर्न छाडेपछि नेपाल टेलिकमले कार्यालयमा फेसबुक र युट्युबमा प्रतिबन्ध लगाएको छ । कर्मचारीले कार्यालयको काम गर्नै छाडेर फेसबुक र युट्युबमा भुल्न थालेपछि टेलिकमले बैशाख १ गतेदेखि आंशिक रुपमा फेसबुक र युट्युबमा प्रतिबन्ध लगाउँदै आएको थियो । यी दुबै सञ्जालमाथी प्रतिबन्ध लगाएपछि कर्मचारीको कार्य क्षमतामा १० प्रतिशत वृद्धि भएपछि पुर्णरुपमा प्रतिबन्ध लगाउन सुरु गरिएको टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले बताईन् ।‘बैशाख १ गतेदेखि आंशिक रुपमा प्रतिबन्ध लगाएका थियौं, त्यसले कर्मचारीको कार्य क्षमतामा १० प्रतिशतले वृद्धि भएपछि ११ गतेबाट पुर्णरुपमा प्रतिबन्ध लगाएका छौं’, महाप्रबन्धक राजभण्डारीले भनिन् । उनका अनुसार फेसबुक र युट्युबमा प्रतिबन्ध लगाएपछि ठुलो मात्रामा ब्याण्डविथको समेत बचत भएको छ ।‘कर्मचारीले कार्यालय समयमा ठुलो ब्याण्डविथ प्रयोग गरिरहेका रहेछन्, फेसबुक र युट्युबमा प्रतिबन्ध लगाएपछि त्यसको बचत भएको छ’, राजभण्डारीले भनिन् । कस्टुमर सर्भिस र अपरेशनमा कार्यरत कर्मचारीलाई भने फेसबुक चलाउने सुबिधा दिइएको छ । उनीहरुले पनि युट्युब भने चलाउन पाउँदैनन् । टेलिकमले देशैभरका कार्यालयहरुमा यस्तो प्रतिबन्ध लगाएको हो । टेलिकममा ४ हजार १ सय २७ जना स्थायी कर्मचारी रहेका छन् । सरकारले पनि सिंहदरबा भित्र फेसबुक र ट्वीटर प्रयोगमा रोक लगाउँदै आएको छ ।

पृथ्वी राजमार्गलाई चार लेनको बनाउने प्रस्ताव, त्रिशुलीपारी नयाँ राजमार्ग बनाउने दोस्रो विकल्प

काठमाडौं । सरकारले पृथ्वी राजमार्ग र पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउने योजना अघि सारेको छ । उक्त राजमार्गलाई चार लेनको बनाउन प्रस्ताव अघि सारिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सह प्रवक्ता विष्णुप्रसाद शर्माले बताए । उक्त दुबै सडकमा बजेट विनियोजन गर्न मन्त्रालयले अर्थ मन्त्रालयसँग लबिङ गरिरहेको छ । हाल उक्त प्रस्ताव सडक विभाग, राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसम्म पुगेको छ । पृथ्वी राजमार्गलाई चार लनेको बनाउने प्रस्ताव आगामी आर्थिक वर्ष २०७४÷७५ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन हुने मन्त्रालयले बताएको छ । राजमार्गमा गाडीको चाप बढ्दै गएको र बाटो स्तरोन्नति गर्दा समेत बाटो अवरोध हुन पुगेर आम सर्वसाधारणले सास्ती खेप्नु परेको छ,’ शर्माले भने ‘चार लेनको सडक बनेमा सहज रुपले गाडी गुड्न पाउने छ ।’ मन्त्रालयका अनुसार पृथ्वी राजमार्गको विद्यमान सडकलाई दुई लेनमा नै कायम गरि त्रिशूली पारी थप दुई लेन सडक खन्ने विकल्पबारे पनि छलफल भईरहेको छ । त्रिशुली पारी नयाँ सडक बनाउँदा पुरानो राजमार्गमा अवरोध हुने छैन । राजधानीको बालाजु, नुवाकोटको कोल्फुकिनार हुँदै गल्छीबाट त्रिशुली पारीको किनाराबाट दाधिङ, गोर्खा, तनहुँहुँदै चितवनसम्म नयाँ राजमार्ग खोल्दा पृथ्वी राजमार्ग विस्तार गर्नु नपर्ने विकल्प पनि अगाडि सारिएको छ । सरकारले पूर्वपश्चिम राजमार्गलाई पनि चार लेनको बनाउने कार्य थालेको भने थालि सकेको छ । एशियाली विकास बैंकको सहयोगमा उक्त राजमागलाई चार लनेको बनाउन लागेको हो । २० अर्बको लागतमा उक्त राजमार्ग निर्माण गर्ने सरकारको अनुमान छ । मन्त्रालयले पहिलो चरणमा नारायणघाट–बुटवल खण्ड बनाउन ग्लोबल टेण्डर पनि गरिसकेको छ । सडक विस्तारका लागि एक दर्जनभन्दा बढी निर्माण कम्पनीहरुले बोलपत्र बुझाएका छन् । मन्त्रालयका अनुसार सडक निर्माण कार्य चालू आवको अन्त्यसम्ममा शुरू हुनेछ । दोस्रो चरणमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको काँकडभित्तादेखि नारायणघाटसम्मको सडकलाई चार लेनको बनाउने सरकारी योजना छ । यसका साथै सरकारले पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग,  मध्यपहाडी राजमार्ग, महेन्द्र राजमार्ग, भित्री मधेश राजमार्ग, र उच्च पहाडी राजमार्ग गरी पाँच वटा राजमार्ग निर्माण गर्ने योजना बनाएको छ । उक्त राजमार्गमध्ये उच्च पहाडी राजमार्ग बाहेक अरू सबै राजमार्गको निर्माण  कार्य भइरहेको छ । ताप्लेजुङदेखि दार्चुला जोड्ने उच्च पहाडी राजमार्ग आगामी बजेटमार्फत घोषणा गर्ने तयारी मन्त्रालयको छ ।

हाकिम फेरिएसँगै अड्कियो काठमाडौं-बिरगञ्ज विद्युतिय रेलमार्गको फाइल

काठमाडौं । केपी ओली नेतृत्वको अघिल्लो सरकारले बजेटमै काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखेको थियो । त्यसका लागि करिब ७ करोड बजेट विनियोजन भएको थियो । बजेट वक्तव्य अनुसार नै रेल विभागले मंसिर १९ गते सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गर्यो । जनवरी २ तारिखसम्म ग्लोबल टेण्डरको मिति तोकिएको थियो तर एक हप्ता म्याद थपियो । टेण्डर अवधीमा ६ देशका १५ कम्पनीले सम्भाव्यता अध्ययनका लागि आवेदन दिएका थिए । ती कम्पनीहरुको आवेदन फाइलमाथी विभागका महानिर्देशक अनन्त आचार्यकै नेतृत्वमा अध्ययन भैरहेको थियो । तर अकस्मात, आचार्यको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भयो । आचार्यको ठाउँमा विभागको नेतृत्व गर्ने जिम्मा पाए बिष्णु ओम वादे श्रेष्ठले । श्रेष्ठले मार्च १ तारिख देखि नै विभागको नेतृत्व लिएका थिए । उनले विभाग सम्हालेको २ महिना पुग्नै लागेको छ तर पनि काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको सर्ट लिस्ट छानिएको छैन् । सम्भाव्यता अध्ययन गर्र्ने कम्पनीको सर्ट लिस्ट निकाल्ने प्रक्रिया कहाँ पुग्यो भन्ने विकासन्युजको प्रश्नमा श्रेष्ठले भने–‘हामी १५ वटै कम्पनीको फाइल अध्ययन गरिरहेका छौं, केहि समयपछि सर्ट लिस्ट सार्वजनिक गर्छाै ।’ टेण्डर निकालेको ६ महिना पुग्नै लाग्दा समेत सर्ट लिस्ट निस्कन किन ढिला भएको हो ? भन्ने प्रश्नको जवाफमा उनले भने–प्राबिधिक काम हो, भने जति सजिलो हुन्न, हामी काम गरिरहेका छौं, केहि समय कुर्नुस् ।’ १५ कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिने विभागको योजना थियो ।

नेपाल बङ्गलादेश बैंकको तातोपानी शाखा बाह्रबिसेमा स्थानान्तरण

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले तातोपानी लिपिङ्गमा संचालित शाखा बाह्रविसे बजारमा स्थानान्तरण गरेका छ । २०७२ वैशाख १२ गते गएको भूकम्प बैँकको तत्कालीन तातोपानी शाखा साविकको स्थानबाट संचालन गर्न कठिनाई भईरहेकाले स्थानान्तरण गरिएको बैंकले जनाएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ तथा बैंकका संचालकहरु अरुण श्रेष्ठ तथा दिपक कार्कीद्धारा संयुक्त उद्घाटन गरिएको छ । उक्त उद्घाटन समारोहमा बैंकका विभिन्न सेवाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा शाखा प्रमुख प्रकाश घिमिरेले बैंकका बारेमा विविध विषयमा जानकारी दिए । यस शाखासहित बैंकले ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४१ वटा एटीएमबाट बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ ।

नर्भिकमा भारतीय फोर्टिस् ग्रपकाे सहयोगमा सबै प्रकारका उपचार सेवा, २०० शैय्या थप्दै हस्पिटल

काठमाडौं । नर्भिक हस्पिटलका अध्यक्ष बसन्त कुमार चौधरीले हस्पिटलले आगामी ५ वर्षका लागि तय गरका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरे । हस्पिटलको २४ औ वार्षिककोत्सलाई सम्बोधन गर्दै उनले दुई भागमा विभाजित रहेको भिजन २०२२ नामक उक्त योजना अन्तर्गत हालको हस्पिटलको शय्या २०० पुर्याउने लक्ष्य रहेको बताए । उक्त २०० शय्या मध्ये अति सघन उपचार शैय्या ५०, प्राइभेट शय्या ६०, जनरल शैय्या ९०, आकस्मिक उपचार शैय्या २० पुर्याउने, हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ्ग सुइट्समा अरु ५ अति विशिष्ट मोडुलर अपरेटिङ्ग सुइट्स थप्दै मोडुलर अपरेटिङ्ग सुइट्सको संख्या ८ पुर्याउने योजना रहेको पनि चौधरीको भनाइ छ । नर्भिक इन्टरनेशनल हस्पिटलले साेमबार आफ्नो २४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन पनि गरेकाे छ । सन् १९९३ मा एक नर्सिङ होमका रुपमा स्थापित यो अस्पतालले छोटो सयमा नै उल्लेख्य सेवाका कारण अग्रणी स्थानमा आउन सफल भएको हो । नर्भिकको वार्षिकोत्सव हरेक वर्ष बैशाख १ गतेका दिन पर्ने ये वर्ष भने एक सता भन्दा ढिलोगरेर वार्षिकोत्सव कार्यक्रम भएको हो । समारोहमा भारतका अति सुविधासम्पन्न करर्पोरेट हस्पिटलहरूमध्येको एक फोर्टिस् ग्रुप अफ हस्पिटसँगका सहकार्यमा नर्भिकको सेवा दिएको फोर्टिस्का वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले प्रकाश पारे । यो ग्रुपसँग ४५ वटा हस्पिटल रहेका छ भने यसमा १० हजार शैय्या रहेका छन् । नेपाली बिरामीहरू भारत गई उपचार गराइहनु परेको अवस्थामा अब भने कुनै पनि जटिल प्रकृतिका रोगको ९९ प्रतिशतसम्म उपचार फोर्टिस्को अनलाइन प्राविधिक सल्लाहमा नर्भिकमै हुने पनि उल्लेख छ । कार्यक्रमका राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशीले सरकारको स्वास्थ्य क्षेत्रको मिलेनियम टार्गेट पूरा गर्न नर्भिक लगायतका निजी क्षेत्रका हस्पिटलहरूले गरेको योगदानबारे खुलेर बताइन् ।

देवः विकास बैंकको ६ लाख कित्ता र कैलाश विकास बैंकको ७३ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । देवः विकास बैंक लिमिटेडको ६ लाख १७ हजार ६१५ कित्ता सेयर लिलामी बढाबढमा विक्री गरिने भएको छ । यो बैकले ३ लाख ८३ हजार २९७ कित्ता संस्थापक र २ लाख ३४ हजार ३१८ कित्ता सर्वसाधारण तर्फको हकप्रद सेयरको विक्री नभएपनि लिलाम बढाबढमा विक्री गर्न लागेको हो । यो बैंकले गत माघ ९ गतेदेखि फागु २७ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको सेयरको विक्री न्युनतम एक सय रुपैयाँ कबोल गरेर आदन माग गरेको छ । यो बैंकले आगामी जेठ ४ गते भित्रै बोलपत्रको लागि आवेदन दिइसक्नुपर्ने बताएको छ । कैलाश विकास बैंकको पनि ७३ हजार कित्ता सेयर लिलामीमा कैलाश विकास बैंक लिमिटेको पनि सस्थापक तर्फको १० हजार ९ सय ८१ कित्ता र सर्वसाधारण तर्फको ६२ हजार ५७३ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले पनि न्युनतम एक सय कित्ता आवदेन एक सय रुपैयाँ भन्दा बढी कबोल गरेर आवेदन दिन भनेको छ । यसले पनि गत फागुन ६ देखि चैत्र १० गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा विक्री नभएको सेयरको लागि बोलपत्र आव्हान गरेको हो । यसको सेयर आवेदन यही बैशाख २८ गतेभित्र ग्लोबल आइएएमी क्यापिटल लिमिटेडमार्फत दिन सकिने पनि उल्लखे छ ।

लक्ष्मी म्युचुअल फण्डको साढे आठ लाख इकाइको विक्री खुला, एउटैले १ करोड इकाइसम्म आवेदन दिन सक्ने

काठमाडौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको विक्री खुला भएको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाइको विक्री खुला भएको छ । यो विक्री खुला भएको इकाइमध्ये डेढ करोड इकाइ अर्थात १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित गरेर बाँकी साढे आठ करोड इकाइको भने सार्वजनिक विक्री खुला भएको छ । यसको दरखास्तको लागि प्रति इकाई १० रुपैयाँका दरले एक सय इकाइदेखि अधिकतम १ करोड इकाइसम्म एउटै व्यक्तिले आवदेन दिन सक्ने छ । यसको निष्कासन खुला यही बैशाख २२ देखि छिटोमा २६ गते र ढिलोमा जेठ ५ गतेसम्म रहेन छ । यसको धितोपत्र निस्कासन तथा विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।

सिद्धार्थ बैंकको नाफा ९५ करोड, नौ महिनामा बैंकले १७ करोड नाफा बढायो

काठमाडौं । सिद्धार्थ बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८० प्रतिशतले बढी हो । बैकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष १७ करोड १३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । गत वर्षको प्रथम ९ महिनामा बैंकको नाफा ७८ करोड ५७ लाख रुपैयाँ मात्रै थियो । बैंकले गत चैत मसान्तसम्ममा ७४ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले यो अवधिसम्ममा ६६ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैकले गरेको लगानी ८ अर्ब ५९ करोड रुपैयाँ छ । यो बैंकको चुक्ता पुँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७५ दशमलव ०९ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा १दशमलव ७१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ ३० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ । सोमबार यो बैंकको प्रतिसेयर ७ सय ४० रुपैयाँमा कारोबार भएको छ ।