३ वर्षभित्रै राजधानीका सबै कारखाना र इँटाभट्टा विस्थापित हुने
काठमाडौं । नेकपा(एमाले)ले काठमाडौं उपत्यकका तीन जिल्लालाई संसारकै रमणीय सांस्कृतिक तथा व्यवस्थित शहरका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेको छ । एमालेले आफ्नो सरकार बनेको दोश्रो वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघा नगर घोषणा गर्ने बताएको छ । काठमाडौँ उपत्यका लगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, मेलम्ची समेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गर्ने पनि एमाले प्रतिवद्धता छ । एक बर्षमै अधिकार सम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना गरि गुरुयोजना बनाउने, दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण शुरु.गर्ने भनिएको छ । त्यसरी विकसित गरिएको राजधानीमा एउटा मेघा शहर सहित १० वटा अत्याधुनिक स्याटलाइट शहर निर्माण गर्ने एमाले भननई छ । एमालेले ३ वर्षभित्र गाडी पार्किङका लागि उपत्यकाका विभिन्न स्थानमा बहुतले भवनहरू निर्माण गर्ने, सबै सडकहरूमा पाँच मिनेटको फरकमा छुट्ने गरी महानगरपालिकाद्वारा सञ्चालित सुविधा सम्पन्न सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्नेछ । ३ वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कशपहरूलाई उपत्यका बाहिर स्थानान्तरण गर्नेछ । राजधानीमा भित्री, बाहिरी र बृहत्् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिने छ । सबै चक्रपथ र अन्य सडकहरूको समानान्तर मेट्रो रेल सञ्चालन गर्ने बताएको छ । एमालेले प्राकृतिक ताल तथा निर्माण हुनेसमेत गरी राजधानी उपत्यकाभित्र कम्तीमा २० वटा तालको विकास गर्नेछ । ती तालहरूको पानी तथा उपत्यका बाहिरका नदीहरूबाट लिफ्ट प्रणालीबाट पानी प्रवाहित गरी वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गर्नेछ । चोभारमा सोही प्रणालीबाट पानी प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गर्नेछ । वाग्मती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गर्ने, नदीका दुवै किनारामा ५०÷५० मिटर ग्रिनवेल्ट निर्माण गरी कम्तीमा २५ स्थानमा पार्क निर्माण गर्ने, वाग्मती नदीमा ठाउँ– ठाउँमा बाँध हालेर ताल विकास गरिने छ । वाग्मती नदी र यसका शाखाहरूको स्वच्छता, पवित्रता र नदी प्रवाहक्षेत्रलाई कानूनद्वारा संरक्षण गरी उल्लंघन गर्नेलाई दण्ड जरिवाना लाग्ने व्यवस्था लागु गर्ने एमाले प्रतिद्धता छ । फुल्चोकी, मृगस्थली, गोकर्ण र शिवपुरीका जङ्गगलहरूलाई जोड्ने गरी एकीकृत विकास गरिने छ । यो क्षेत्रलाई खुल्ला चिडियाखाना र पर्यटन केन्द्रका रूपमा विकास गरिने उल्लेख ।
प्रदेश नं ३,४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु
काठमाडौँ, १९ वैशाख । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ । रासस
माछापुच्छ्रे बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, नौ महिनाको कमाई १ अर्ब रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा १ अर्ब रुपैयाँ नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड रुपैयाँ छ भने जगेडा तथा संचित कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ । एक वर्षमा बैंकले निक्षेप करिव ११ अर्ब वृद्धि गरी ५८ अर्ब रुपैयाँ पुर्याएको छ । कर्जा सापटी १३ अर्बले वृद्धि गरी ५३ अर्ब रुपैयाँ पुर्याएको छ । लगानी करिब ५ अर्ब रुपैयाँ छ । सेयर पुँजीको आधारमा बैंकको बिजनेश भोलुम केही सानो भएको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात १६ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ७१ प्रतिशतमा झरेको छ । खराव कर्जा शुन्य दशमलव ३६ प्रतिशतमा झरेको छ । यसले बैंकको पोजिशन राम्रो देखाउँछ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ छ । हाल यस बैंकको सेयर प्रतिकित्ता ४२० रुपैयाँमा कारोबार भईरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ७२ प्रतिशतले वृद्धि, ९ महिनामा ७ अर्ब ९४ करोड बीमा शुल्क आर्जन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ७२ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा ४० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफामा बीमाङ्किय मूल्याङकलपछि प्राप्त हुन नाफा जोडिएको छैन । गत वर्ष सोही अवधिमा कम्पनीले २३ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले नौ महिनामा ७ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब ९ करोड रुपैयाँ छ । जगेडा तथा कोषमा ४ अर्ब ७३ करोड रुपैयाँ छ । जीवन बीमा कोष ३७ अर्ब रुपैयाँ भने महाविपत्ती कोषमा २२ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा छ । प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ छ । पीई अनुमान १४१.१५ छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता २२५० रुपैयाँमा कारोबार भईरहेको छ ।
एमाले घोषणा पत्रमा पानी जहाजदेखि रेलसम्मः उपत्यकामा मेगा सिटी, वृद्ध भत्ता पाँच हजार
काठमाडौं । नेकपा(एमाले)ले आसन्न स्थानिय तह निर्वाचनका लागि महत्वकांक्षी घोषणा पत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनदेखि प्रसान्त महासागर र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् । एमालेले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न गर्ने, पुर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, वृद्धभत्ता पाँच हजार पुर्याउने, सरकारी अस्पतालमा पुग्ने सत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने, ३ बर्षभित्रै एक घर एक रोजगारी सृजना गर्ने, पाँच बर्षभित्र सबै नेपालीलाई साक्षर बनाउने लगायतका महत्वकांक्षी योजना समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । १) सडक पुर्वाधारः फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडी पाँच बर्षभित्रै एमाले घोषणा पत्रमा आगामी पाँच बर्षभित्रै फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडीको निर्माण सम्पन्न गर्ने उल्लेख छ । मध्यपहाडी लोकमार्गलाई चार लेन बनाउने पनि एमालेले बताएको छ । त्यस्तै, पुर्व पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्ने, उत्तर दक्षिण सडकहरुलाई चार लेनको बनाउने, हिमाली जिल्लाहरुबाट चीनसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने, इलामदेखि डडेलधुरासम्म भित्रि तराई हुँदै औद्योगीक करिडोर राजमार्ग बनाउने एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ । २) हवाई र जलमार्गः समुन्द्रमा ध्वजा बाहक पानी जहाज एमालेले प्रसान्त र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्ने बताएको छ । त्यसका लागि आवश्यक कानुनी तथा पुर्वाधार तयार गरेर भारत, चीन, र बंगलादेशसँग वार्ता गर्ने एमाले घोषणा पत्रमा उल्लेख छ । १० बर्षभित्रै निजगढ विमानस्थल निर्माण गरेर सञ्चालन गरिसक्ने एमाले दावी छ । ३) उपत्यकालाई मेगा सिटी एमालेले काठमाडौं, भक्तपुर र ललितपुरलाई समेटेर मेगा सिटी निर्माण गर्ने बताएको छ । उसले न्युयोर्क, पेरिस वा लण्डन जस्तै विकासित मेगा सिटीका रुपमा उपत्यकालाई विकास गर्ने जनाएको हो । उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनसहितको नमुना शहर बनाउने एमाले घोषणा छ । त्यस बाहेक बनेपा, पनौती, धुलिखेल, कुलेखानी, दामन, बैरेनी, विदुर, बेत्रावति, रसुवा, मेलम्ची, इन्द्रावति, दोलालघाट, भकुण्डेबेसी लगायतका क्षेत्र समेटेर बृहत्तर राजधानी निर्माणको काम अघि बढाउने पनि एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले तीन बर्षभित्रै उपत्यकाभित्रका सबै कलकारखान र इँटाभट्टाहरुलाई विस्थापित गर्ने, प्राकृतिक तालहरुको संरक्षण गरि २० वटा तालको निर्माण गर्ने, भित्रि, बाहिरी र बृहत गरि तीनवटा चक्रपथ निर्माण गर्ने पनि एमालेले बताएको छ । ४) वृद्ध भत्ता पाँच हजार एमालेले वृद्ध भत्ता बढाएर पाँच हजार पुर्याउने बताएको छ । त्यस्तै, सरकारी अस्पतालमा सुत्केरी हुने शिशु र र आमाको पोषण र स्वास्थ्यका लागि पाँच हजार प्रोत्साहन भत्ता दिने एमालेले उल्लेख गरेको छ । ५) तीन बर्षमा एक घर एक रोजगार, १० बर्षमा बेरोजगारी उन्मुलन एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको तीन बर्षभित्रै एक घर एक रोजगारी दिने र आगामी १० बर्षभित्रै बेरोजगारी उन्मुलन गर्ने घोषणा पत्रमा लेखेको छ ।
स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध कार्की महाअभियोग: नेपाली काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताएका छन् । काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार भेटघाटमा नेताहरुले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतका निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए । कार्यक्रममा काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सदैव स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको पक्षमा रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको धारणा व्यक्त गरे । काँग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि को गृहमन्त्री हुन्छ भन्ने जिज्ञासामा महामन्त्री कोइरालाले त्यसबारेमा शीर्ष नेता बसी टुङ्गो लगाउने जानकारी गराए । काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनअघि संशोधन प्रस्ताव पारित नभए पनि त्यसले निर्वाचनमा कुनै प्रभाव नपर्ने बताए । संशोधन प्रस्ताव पारित गर्ने प्रयास निरन्तर जारी रहने बताउँदै नेता सिटौलाले निर्वाचनका लागि पार्टीको तयारी अन्तिम चरणमा रहेको जानकारी गराए । कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र, निष्पक्ष र सबल न्यायापालिकाको पक्षमा उभिँदै आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाइराख्न प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको अवगत गराए । सरकारले कानुन बमोजिम प्रहरी प्रमुखको नियुक्तिमा सर्वाेच्च अदालतबाट हस्तक्षेप भएको र न्यायको सिद्धान्त विपरीत प्रधान न्यायाधीशले न्यायाधीशहरुको इजलास तोक्ने गरेको आरोप लगाउँदै मन्त्री लेखकले अदालतप्रति जनताको विश्वास जोगाइराख्न पनि महाअभियोगको प्रस्ताव आएको जिकिर गरे । काँग्रेस र नेकपा (माओवादी केन्द्र) का २४९ जना सांसदहरुले हस्ताक्षर गरी आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता गराएका थिए । सोही विषयप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार नै पदबाट राजीनामा दिए । काँग्रेस उम्मेदवारको टुङ्गो आजै काँग्रेसले पहिलो चरणको स्थानीय तहका लागि पार्टीका आधिकारिक उम्मेदवार आजै चयन गरिसक्ने जनाएको छ । पहिलो चरणको निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का सबै तहमा आज पार्टीका अधिकारीका उम्मेदवारको टुङ्गो लगाउन पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बसिरहेको छ । निर्वाचन आयोगले भोलि वैशाख १९ गते उम्मेदवार मनोनयनको तालिका सार्वजनिक गरेको छ । त्यसका लागि आज रातिसम्म भए पनि सबै तहमा उम्मेदवारको टुङ्गो लागिसक्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । काँग्रेसले महानगरपालिका र उपमहानगरपालिका केन्द्रले र बाँकी सबै तहमा उम्मेदवार चयन गर्न जिल्लास्थित पार्टीको संयन्त्रलाई जिम्मेवारी दिएको थियो । तर प्रदेश नं ६ बाहेकका केही तहमा उम्मेदवार चयन गर्न विवाद देखिएपछि त्यसको पनि केन्द्रले नै टुङ्गो लगाउँदैछ । पार्टीले निर्वाचनको तयारीका लागि सबै तहमा निर्वाचन परिचालन समिति र प्रचारप्रसार समिति गठन गरी घोषणापत्रसमेत पठाइसकेको जनाएको छ । सरकारले प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय निर्वाचन वैशाख ३१ मा तथा प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते गर्ने निर्णय गरेको छ । रासस
यसपालीको दशैंमा मेलम्चीको पानी नआउने, लक्ष्यअनुसार दैनिक सुरूङ निर्माण हुन सकेन
काठमाडौं । आगामी दशैंमा मेलम्चीको पानी राजधानी बासीका धारामा ल्याउने तयारी भैरहेको छ । मेलम्ची खानेपानी आयोजनाका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार हालसम्म २३ दशमलब ९२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । अब जम्मा ३ दशमलब ६६ किलोमिटर सुरुङ मात्रै खन्न बाँकी छ । अप्रिल महिनामा जम्मा ४५७ मिटर सुरुङ खनिएको छ । कुल सुरुङको लम्बाई भने २७ दशमलब ५८४ किलोमिटर थियो । पछिल्लो चार दिनमा कति खनियो सुरुङ ? १७ गते आइतबार १७ दशमलब २ मिटर १६ गते शनिबार १७ दशमलब १० मिटर १५ गते शुक्रबार १८ दशमलब २० मिटर १४ गते बिहिबार १९ दशमलब १ मिटर यति गतिले आउला दशैंमा मेलम्चीको पानी ? दशैं आउन जम्मा १५१ दिन मात्रै बाँकी छ । सो अवधिमा ३ दशमलब ६६ किलोमिटर सुरुङ खनिसक्नुपर्नेछ । १५१ दिनमा बाँकी सुरुङ खनिसक्न दैनिक २४ दशमलब २३ किलोमिटर खन्नु पर्छ । तर हाल दैनिक औषतमा १८ दशमलब १ मिटर सुरुङ मात्रै खन्ने काम भैरहेको छ । उपकार्यकारी निर्देशक दुवाडी भन्छन–‘असोजमा पानी ल्याउने हाम्रो टार्गेट हो । तर कामको गति बढाउन सकिएन भने असोजमा पानी ल्याउन मुस्किल छ । दैनिक २२ मिटर काम गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको छ ।’ हाल मेलम्चीको मुहान नजिकै अम्बाथान, सिन्धु र ग्याल्थुमको तल तथा माथी गरि चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ । दैनिक २ सिफट्मा काम हुन्छ । सिफ्टमा ८ देखि १० घण्टा काम भैरहेको दुवाडीले जानकारी दिए । मेसिन छैन ठेकेदारसँग निर्माण कर्ता कम्पनीसँग हाल ४ वटा ड्रिल मेसिन छन् । ती मेसिनले चार ठाउँबाट काम गरिरहेको छ । ती मेसिनमा थोरै गडबढी आएमा कामै रोक्नु पर्ने अवस्था छ । ‘ठेकेदार कम्पनीसँग अतिरिक्त ड्रिल मेसिन छैन, जगेडा पार्टपुर्जा राखेर काम गरिरहेका छौं ।’, दुवाडीले दुखेसो पोखे । पहाड पनि उस्तै सिन्धु र ग्याल्थुम खण्डमा नराम्रा चट्टान आईरहेका छन् । त्यस्ता चट्टानलाई अड्याउनै मुस्किल परिरहेको छ । अम्बाथानमा दैनिक सात आठ मिटर काम भैरहेको छ तर सिन्धुसाइटमा साढे चार मिटर भन्दा बढि काम गर्न गर्न सकिएको छैन् । दाता र ठेकेदारसँग नियमित छलफल मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले एसियाली विकास बैंक र ठेकेदार कम्पनीसँग नियमित छलफल गरे दशैंमा मेलम्चीको पानी ल्याउने गरि अघि बढेको बताए ।‘हामीले दाता र निर्माण कर्तासँग नियमित छलफल गरिरहेका छौं, कामको गति बढाउन भनिरहेका छौं’, देवकोटाले भने ।
एमालेको घोषणापत्रमा ५ वर्षे, १० वर्षे र २५ वर्षे योजना, वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा सार्वजनिक घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले सङ्घीयता, समृद्धि र समाजवादको आधारशीला निर्माणमा योगदान गर्ने उल्लेख छ । जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घरआँगनमा पुग्न सकेमात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर एमालेले सधैँ अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिदै आएको र समावेशी प्रतिनिधित्व र विकास–निर्माण एवम् साधन–स्रोतमा जनताको स्वामित्वले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्ने विश्वासका साथ विगतमा ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रम अगाडि सारिएको र त्यस्ता कार्यक्रमलाई थप विस्तारको योजना प्रस्तुत गरिएको छ । एमालेले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिस्ट आन्दोलनको मूलधार आफू भएको जनाउँदै सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको नेपालको परिकल्पना गरेको छ । ‘नेपाली जनताको सच्चा प्रतिनिधि’ एमाले रहेको भन्दै तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले अगाडि सारेका ‘आफ्नो गाउँ आफै बनाऔँ’, नौ ‘स’ र सामाजिक सुरक्षा भत्तालगायतका कार्यक्रमले जनतामा नयाँ उत्साह र आशाको सञ्चार गरेका सो पत्रमा उल्लेख छ । यस्तै माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा बनेका सरकारहरूबाट प्रस्तुत जनपक्षीय कामहरूले समाजलाई सकारात्मक प्रभाव पारेको र पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारले विदेशी हस्तक्षेप र नाकाबन्दीका विरुद्ध प्रदर्शन गरेको दृढ अडानले नेपालको स्वतन्त्रता र स्वाभिमानलाई गरिमामय स्थानमा पुर्याएको जनाइएको छ । ‘नेपाली जनताको सपना :समृद्धि र समाजवादको स्थापना’ को लक्ष्य लिइएको घोषणापत्रमा आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पङ्क्तिमा पुर्याइने, १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलरभन्दा बढी पुर्याएर मध्यम आय भएका मुलुकहरूको तहमा स्तरोन्नत गरिने जनाइएको छ । आगामी २५ वर्षभित्र नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउँदै समाजवाद निर्माणको आधारलाई सुदृढ गरिने उल्लेख छ । आगामी १० वर्षमा आर्थिक रुपान्तरण हुने, आगामी १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने छ । कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाइने भनिएको छ । र सम्पूर्ण नेपाली जनताको ऊर्जा आर्थिक विकासमा केन्द्रित गर्ने गरी देशको सम्पूर्ण क्षमता परिचालन गरिने र पटक–पटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गरिने एमालेको सङ्कल्प छ । नेपाललाई २५ वर्षभित्र समृद्ध राष्ट्रको हाराहारीमा पुर्याउने, १० वर्षभित्र मध्यम आय भएको मुलुकको स्तरमा उठाउने र आगामी पाँच वर्षभित्र अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि उठाउने पूर्व घोषित सङ्कल्पलाई पूरा गर्न सही राजनीतिक विचार र सही नेतृत्व आवश्यक हुने एमालेको ठहर छ । ‘निर्वाचनको यस महत्वपूर्ण घडीमा मतदाताले राष्ट्रको भविष्यलाई उज्ज्वल बनाउन सक्ने सही नीति र नेतृत्वसहितको राजनीतिक दललाई छनोट गर्न सक्नुपर्छ’ – एमालेले आह्वान गरेको छ । ‘विगतमा चीनसँग गरिएका पारवहन र यातायात सम्झौता तथा रेलवे, सडक यातायात, पेट्रोलियम, ऊर्जा तथा सञ्चारसम्बन्धी समझदारीहरूको कार्यान्वयन गरिनेछ । भारत र चीन दुवैसँग आर्थिक सम्बन्धलाई नयाँ उचाइमा विकसित गरिनेछ ।’ घोषणापत्रमा भनिएको छ–‘दक्षिण एसियाली राष्ट्रहरूसँगसमेत नयाँ साझेदारी विकास गर्दै परनिर्भरताको अन्त्य र अन्तरनिर्भरताको वृद्धि गरिनेछ ।’ आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार र बजार प्रवद्र्धनको कामलाई अगाडि बढाइने र आगामी १० वर्षभित्र नेपालको सम्पूर्ण उत्पादन गतिविधिलाई औद्योगीकरणमा समाहित गरिने उल्लेख छ । पूर्ववर्ती सरकारले गठन गरेको प्रबुद्ध व्यक्ति समूहको काम प्रभावकारी बनाउन आवश्यक सहयोग गरिने र सीमासम्बन्धी समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल र द्विपक्षीय वार्ता प्रक्रिया अगाडि बढाइने भनिएको छ । तराईमा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान चलाइने र तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष कार्यक्रम लागू गरिने एमालेले घोषणा गरेको छ । तराईका दलित तथा पिछडिएका वर्गको आयआर्जनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने र सरकार बनेको पहिलो महिनादेखि नै तराईवासी महिलाको उत्थानका लागि एक घर एक महिला रोजगारको कार्यक्रम लागू गरिने एमालेको सङ्कल्प छ । संविधानले तोकेबमोजित माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहहरूलाई सक्षम तुल्याइने र निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न केन्द्र, प्रादेशिक तथा स्थानीय सरकारहरूले आफ्नो कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षामा लगानीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । ‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र’ मान्यतालाई सङ्घीय संरचनाका तीनैवटा तहमा लागू गर्ने, सबै स्थानीय तहका केन्द्र र तराई–मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्याइने र अप्टिकल फाइवर नपुगेका स्थानीय तहमा माइक्रोवेभ फ्रिक्वेन्सीको माध्यमबाट इन्टरनेट सुविधा उपलब्ध गराइने एमालेको योजना छ । रासस