विकासन्युज

जानकी मेडिकल कलेजमा कर्मचारी र चिकित्सकको कर्मचारी र चिकित्सकको आन्दोलनले कलेजकाे भविश्यमाथि प्रश्न

जनकपुरधाम । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ । विगत १७ महिनाको तलब नपाएको भन्दै तीन महिनादेखि कलेज बन्द गरी आन्दोलनमा रहेका कर्मचारीले रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको गुनासो गरेका छन् । रिपोट्र्स क्लब जनकपुरधाम शाखाले यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले रकम अभावको समस्याले जीवनयापन कठिन बनेको बताए । कलेजका सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कारण कलेजको सञ्चालनको सम्भावना झिनो हुँदै गएको आरोप कर्मचारीहरुले लगाए । कर्मचारी र चिकित्सकले पाउनुपर्ने तलव, सुविधा र सञ्चयकोषको रकम एक अर्ब भन्दा अधिक भइसक्दा पनि सञ्चालकले यसलाई व्यक्तिगत व्यवसायको स्रोत बनाएको आरोप सङ्घर्ष समितिका अध्यक्ष सुरेन्द्र पाठकले लगाए । कलेजको आम्दानीबाट करिब रु १६ करोड सञ्चालक समूहले कलेजमा लगानी नगरी विमान सञ्चालनमा लगानी गरेकाले सञ्चालकको मनसाय गलत देखिएको समितिका उपाध्यक्ष सञ्जय चौधरीले बताए । सञ्चालकले बक्यौता तलबमध्ये दुई महिनाको तलब तत्काल उपलब्ध गराइ बाँकीलाई प्रत्येक महिनाको किस्तामा पारेर क्रमशः भुक्तानी गरी कलेज सञ्चालन गर्न प्रहरीको सक्रियता बढाएकोप्रति कर्मचारीले विरोध जनाउँदै सञ्चालकसँग एकमुष्ठ तलब भुक्तानीको माग सहित बन्द कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । यसैबीच सञ्चालक समूहका लामाले कलेज र अस्पतालमा कार्यरत चिकित्सक एवम् कर्मचारीलाई अस्पताल भवनमा गैरकानुनी ढङ्गले गरेको तालाबन्दी र बन्द कार्यक्रमलाई रोकी कामकाजमा फर्कन आह्वान गरेपनि सङ्र्घ समितिले कलेज अन्यलाई बिक्री गर्ने षड्यन्त्र भएको भन्दै यसप्रति सबैलाई सजग हुनआग्रह गरेका छन् । सो कलेजमा जेठ ४ गतेदेखि र अस्पतालमा फागुन २ गतेदेखि सम्पूर्ण कामकाज ठप्प भएको छ । रासस

इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना

काठमाडौँ । इँट्टा उद्योगको रुपान्तरणका लागि ऊर्जा दक्षता, वातावरणमैत्री र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । औद्योगिक क्षेत्रका लागि सरकारले भूमिको उचित प्रबन्ध गर्न लागिरहेको बेला इँट्टा उद्योगको व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न गठित अध्ययन टोलीले तयार गरेको नेपालमा इँट्टा उद्योगसम्बन्धी राष्ट्रिय रणनीतिक नीतिको मस्यौदा माथिको छलफलमा सरोकारवालाले सो धारणा व्यक्त गरेका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड०को सहयोगमा पूर्वसचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा गठित अध्ययन टोलीले तयार गरेको मस्यौदामा इँट्टा उद्योगमा प्रयोग हुने कोइलाको विकल्पमा विभिन्न वैकल्पिक ऊर्जा प्रविधिको प्रयोगमा जोड दिइएको छ । यसैगरी इँट्टाका गुणस्तर निर्धारण तथा विविधीकरण, बालश्रम, व्यावसायिक सुरक्षा, ज्यालाजस्ता सामाजिक सुरक्षाको महत्व तथा अनुगमन मूल्याङ्कनको भरपर्दो संयन्त्र निर्माणलाई पनि प्राथमिकता दिइएको छ । नेपालमा हाल करिब एक हजारवटा इँटाभट्टा सञ्चालनमा रहे पनि अधिकांश परम्परागत ढङ्गबाट सञ्चालन रहेका र ती भट्टामा वातावरण प्रदूषण, उत्पादन क्षमता न्यून र व्यावसायिक सुरक्षाको स्थिति कमजोर रहेको छ । मस्यौदामाथि छलफल गर्न आज यहाँ आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघन पुडासैनी, इसिमोडका महानिर्देशक डेभिड मोल्डेन, इँट्टा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारलगायतले इँट्टा उद्योगमा ल्याउनुपर्ने प्रविधि तथा नीतिगत सुधारका बारेमा प्रकाश पारेका थिए। रासस

अल्पाइन डेभलपमेन्ट बैंकले ६९.३३ प्रतिशत हकप्रद निष्काशन गर्ने, जेठ २१ गते बुक क्लोज

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ६९.३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।

सिद्धार्थ बैंकको नयाँ शाखा कावासोतीमा

काठमाडौं । सिद्धार्थ बैंकले नवलपरासीको कावासोतीमा जेठ १२ गतेका दिन एक विशेष समारोहका बीच आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन बैंकका संचालक महेशप्रसाद पोखरेल र भगत विष्टले संयुक्त रुपमा गरेका थिए । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ । बैंकले हालै चितवनको टाँडीमा रहेका आफ्नो शाखा कार्यालयको पनि औपचारिक उद्घाटन गरेको थियो । बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

९१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, दुई कम्पनीको प्रमोटर सेयर साधारणमा परिणत

काठमाडौं । शुक्रबार मात्र ९१ लाख ४४ हजार ४९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । एकैदिन मिथिला लघुवित्त विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, कुमारी बैंक, कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको गरी पाँच कम्पनीको सो मात्राको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । मिथिला लघुवित्त विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ६४ हजार ५०१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ४२ हजार ६५५ कित्ता र कुमारी बैंकको ५६ लाख ८० हजार ३९१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको त्रमशः १४ लाख २८ हजार ७४३ कित्ता र ६ लाख २९ हजार २०० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन दुई कम्पनीको प्रवद्र्धक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । यूनाईटेड फाइनान्सको ६ लाख ३ हजार ४२४ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, काँक्रेविहार विकास बैंकको ६५ हजार २१६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत गरिएको छ । अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

नयाँ बजेटमा लालबन्दीदेखि निजगढसम्म रेल

काठमाडौं । नयाँ बजेटमा सर्लाहीको लालबन्दीदेखि बाराको निजगढसम्म रेल मार्ग निर्माणका लागि रकम विनियोजन हुने भएको छ । ९४५ किलोमिटर लामो मेची–महाकाली विद्युतिय रेल मार्गको लालबन्दीदेखि निजगढसम्मको करिब ४० किलोमिटर क्षेत्रका लागि बजेट विनियोजन हुन लागेको हो । ‘आगामी आर्थिक बर्षमा लालबन्दीदेखि निजगढसम्मको ४० किलोमिटरमा खण्डमा सिभिल इञ्जिनियरिङको काम गर्न बजेट बनाएर पठाएका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । उनका अनुसार ४० किलोमिटर लामो सो खण्डको सिभिल इञ्जिनियरिङका लागि एक अर्ब बजेट निर्माण गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षमा रेल विभागका लागि ४ अर्बको बजेट सिलिङ तोकेको छ । विभागले सोही सिलिङ भित्र रहेर लालबन्दीदेखि निजगढ खण्डमा नयाँ काम थाल्ने योजना पेश गरेको हो । विभागले हाल बर्दिबासदेखि लालबन्दीसम्मको २५ किलोमिटर खण्डमा रेल मार्गको सिभिल इञ्जिनियरिङको काम गरिरहेको छ ।आगामी आर्थिक बर्षमा ४० किलोमिटरको काम अघि बढेपछि मेची महाकाली रेलमार्गमा ६४ किलोमिटरमा काम सुरु हुनेछ । ६५ किलोमिटरको काम सम्पन्न गरेपछि सो खण्डमा पाइलट प्रोजेक्टका रुपमा रेल गुडाइनेछ ।‘६५ किलोमिटरमा सिभिल इञ्जिनियरिङको काम सम्पन्न गरेपछि लिक बिछ्याउने काम अघि बढ्छ र त्यसपछि डिब्बा राखेर रेल गुडाउने हो’, उपाध्यायले भने । विभागले हाल लालबन्दी निजगढ खण्डमा जग्गा एकिन तथा कित्ता काँटछाँटको काम गरिरहेको छ । यसरी निर्माण गरिने रेलमार्गमा प्रति घण्टा २०० किलोमिटरको स्पिड क्षमता रहनेछ ।

यति एयरलाइन्सको दिगो विकास लक्ष्य अभियान अन्तर्गत बस सेवा सुचारु

काठमाडौं । यति एयरलाइन्सले नेपालमा जनचेतनाका लागि संयुक्त राष्ट्रसंघको साझेदारीमा दिगो विकास लक्ष्य अभियान बिहिबारदेखि शुभारम्भ गरेको छ । यस अभियान अन्तर्गत एयरलाइन्सले आफ्नो दुईवटा एयरर्पोट सटल बसहरुमा १७ वटा दिगो विकास लक्ष्यहरु सहितका फलाएरस तथा लिफ्लेटहरु उपलब्ध गराएको छ । यी प्रचार सामग्रीको माध्यमबाट यात्रुहरुलाई यात्राका दैरान दिगो विकास लक्ष्यका बारेमा सूचित हुन सहयोग पुग्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडड्यन परिचालन क्षेत्रमा दिगो विकास लक्ष्य अंकित गाडीहरु अनावरण गर्दै यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले यो अभियान संयुक्त राष्ट्र संघसंग यति एयरलाइन्सको साझेदारीको एउटा सुखद सुरुवात भएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघमा नेपाल सहितका सदस्य राष्ट्रहरुले सेप्टेम्बर २०१५ मा अवलम्बन गरेको दिगो विकास लक्ष्य अभियान अन्र्तगत गरिबीका सम्पूर्ण आयम र स्वरुपलाई सन् २०३० सम्ममा विश्वबाट अन्त्य गर्दै विश्वलाई समता मुलक, सुरक्षित र सम्मुनत समाज बनाउने एउटा अन्तर्राष्ट्रिय समझदारी हो । दिगो विकास लक्ष्यहरु प्राप्ति गर्नका लागि नीजि क्षेत्रको स्रोत, साधन र प्रविधि परिचालन गर्न सक्ने विशिष्ट क्षमतालाई महशुस गर्दै नीजि क्षेत्रलाई दिगो विकास लक्ष्यको कार्यान्वयनकालागि प्रमुख साझेदारीका रुपमा लिइएको छ । संयुक्त राष्ट्र संघका नेपाल निर्देशक रेनाउट मेयरले नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्नो नयाँ साझेदार यति एयरलाइन्सले जनचेतना जगाउन गरेको रचनात्मक प्रयोगबाट संयुक्त राष्ट्रसंघले खुशी अनुभुती गरेको कुरा व्यक्त गरे । उनले यस्तो अग्रसरताहरुले आमजनसमुदायमा दिगो विकास लक्ष्यका बारेमा दिगो जनचेतना, साझेदारी र सहकार्य बढाउन मदत गर्ने कुरा उल्लेख गरे । यति एयरलाइन्ससंगको यो साझेदारी बाहेक संयुक्त राष्ट्रसंघ र यति एयरलाइन्सले नागरिक उडड्यन र पर्यटन क्षेत्रमा दिगो व्यापार अभिबृद्धिका लागि संयक्त रुपमा व्यवसायीक नमुनाहरुको अनवेषण प्रयोग र प्रवद्धनका लागि सहकार्य गर्नेछन् जसबाट नेपाललाई दिगो विकास लक्ष्य अभियान अन्र्तगतका जलवायु परिवर्तन, गरिबी न्यूनीकरण, लैङ्किक समानता अन्तर्गतका दिगो विकास लक्ष्यको केहि र्निदष्ट सुचांकहरुमा सफलता मिल्ने छ ।

पुष्पलाल लोकमार्गमा बन्न थाल्यो चार बसपार्क, दुई र चार टेण्डरको अध्ययन हुँदै

काठमाडौं । सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत मध्यपहाडी (पुष्पलाल) लोकमार्गको चार स्थानमा वर्षपार्क निर्माण प्रक्रिया अघि बढाएको छ । कार्यक्रम लागू भएको ७ वर्ष पछि लोकमार्ग बन्न लागेका १० नयाँ सहरको पूर्वाधार निर्माणसँगै पाँचथरको ‘फिदिम, धनकुटाको ‘वसन्तपुर’ रुकुमको ‘चौरजहारी र बैतडीका ‘पाटन’ मा बसपार्क निर्माण शुरु गरेको हो । यसका साथै साफेबगर र डुम्रेमा बसपार्क निर्माणका लागि टेण्डर प्रक्रिया शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले बताएको छ । बागलुङको बुर्तिबाङ, दैलेखको राकम कर्णाली, धादिङको बैरेनी-गल्छी र सिन्धुलीको खुर्काेटमा पनि बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया शुरू भएको कार्यालयले जानकारी दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको बसपार्क निर्माण कार्य नयाँ सहर निर्माणको पहिलो पूर्वाधार हो । सरकारले लामो समय र धेरै विज्ञ, सरोकारवालाको छलफलका आधारमा प्राविधिक कमिटिले उक्त मार्गमा पर्ने नयाँ सहरको एकीकृत विकास योजना तयार बनाएको छ । उक्त योजनामाथि मूल्यांकन भइरहेको कार्य भइरहेको कार्यालयले बताएको छ । त्यस्तै १० सहरका लागि एकीकृत जग्गा विकास कार्यक्रमको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य पनि भइरहेको छ । सोमध्ये तीन सहरको ३ वटा आयोजना सरकारबाट स्वीकृत भएका छन् भने २ वटा आयोजना स्वीकृतिको क्रममा रहेको छ । मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो। । उक्त लोकमार्गको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर रहेको छ । यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्न यो लोकमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्लालाई छिचोल्नु पर्छ । उक्त जिल्लामध्ये १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर यो मार्ग जान्छ । राजमार्गमा पर्ने २७ सहरमध्ये १६ वटालाई जोडिने छ । सहर र सदरमुकामलाई छोडेर लोकमार्गले पार गरेर जाने पूर्वाञ्चलका बस्तीमध्ये च्याङथापु, गोपेटार, संक्रान्ति बजार, वसन्तपुर, हिले, जरायोटार, हलेसी र घुर्मी बढी परिचित छन् भने मध्यमाञ्चलमा खुर्कोट, नेपालटार, (भकुन्डेबेसी), दाप्चा, नौबिसे, गजुरी, बैरेनी, कुरिनटार, मुगलिन पर्दछन् । यसैगरी पश्चिमाञ्चलका आबुखैरेनी, डुम्रे, दुलेगौँडा, खैरेनीटार, बुर्तिबाङ उल्लेख्य बस्ती हुन् । मध्यपश्चिमाञ्चलका उल्लेख्य बस्तीहरूमा काँक्री, रुकुमकोट, चौरजहारी, दुल्लु, राकम, कर्णाली आदि पर्छन् । सुदूरपश्चिमाञ्चलका विनायक, साँफेबगर, खोड्पे, पाटनजस्ता बस्तीहरू यही लोकमार्गमा पर्छन् । आर्थिक वर्ष २०६४/६५मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । उक्त लोकमार्गलाई नेपालको आर्थिक विकासको समृद्धीको ढोका मानिन्छ । सो लोकमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएपनि हालसम्म करिब ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सरकारले चालू आवको सो लोकमार्ग निर्माणका लागि २ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।