विकासन्युज

शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न एक हप्ता म्याद

काठमाडौं । विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिइएको हो । विशेष अदालतमा उपस्थिति गराइएका बेलामा पत्रकारसँग कुरा गर्दै शर्माले आफूलाई नियमविपरीत गैरकानुनी रुपमा गिरफ्तारी गरिएको आरोप लगाए । आयोगले कर निर्धारणका विषयमा छलफल गर्न शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएकामा पक्राउ गरी हिरासतमा राखेको थियो । रासस

अपर म्याग्दी-१ जलविद्युत् आयोजना निर्माण गरिने, ९ अर्ब ३३ करोड लागत लाग्ने

म्याग्दी । धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको पहिलो चरणमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ई.आइ.ए. रिपोर्ट)तयार भएको छ । सम्बन्धित निकायबाट ई.आइ.ए प्रतिवेदन स्वीकृत गराई, विस्तृत अध्ययन, विद्युत् खरिद बिक्री सम्झौता र वित्तीय स्रोत व्यवस्थापन गरेपछि विद्युत् विकास विभागबाट अनुमति लिएर पूर्वाधार निर्माणको काम अघि बढाउने कम्पनीका निर्देशक उपेन्द्रराज गौतमले जानकारी दिए । धौलागिरि गाउँपालिका ४-मुदीको खाम्लानजिकै बाँध र मालिका गाउँपालिका-७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो । पाँचसय मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसालिने कम्पनीले जनाएको छ । रु नौ अर्ब ३३ करोड लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा पुर्याई केन्द्रीय प्रसारण लाइनमा जोडिने निर्देशक गौतमले बताए । आयोजनाले दश किमी पहुँचमार्ग र भारबाङदेखि दानासम्म २८ किमी दूरीको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण गर्ने भएको छ । धौलागिरि हिमालबाट बगेर आउने म्याग्दी नदीमा हाल दुईवटा आयोजना पूर्वाधार निर्माणको चरणमा छन् भने चारवटाको सर्वेक्षण भइरहेको छ । हाइड्रो इम्पाइरले २० मेगावाटको अपर म्याग्दी र धौलागिरि कालिका हाइड्रोले २५ मेगावाटको दरवाङ म्याग्दी खोलाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले अनुमति दिएको छ । ५७ मेगावाट क्षमताको म्याग्दीखोला हाइड्रोपावर सर्वेक्षणको चरणमा छ भने २४ दशमलव ०७ मेगावाट क्षमताको सुपर म्याग्दी र चार दशमलव छ मेगावाटको म्याग्दी खोला ‘बी’ले सर्वेक्षणको अनुमतिका लागि विभागमा निवेदन दिएका छन् । सलामी दस्तुरलाई गाउँपालिका मातहत ल्याउने निर्णय यसैगरी, म्याग्दीको धौलागिरि गाउँ कार्यपालिकाको पहिलो बैठकले प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रोयल्टी (सलामी दस्तुर)लाई गाउँपालिका मातहत ल्याउने निर्णय गरेको छ । जेठ १८ गते कार्यपालिका गठन भएपछि बसेको बैठकले धौलागिरि हिमाल, ढोरपाटन शिकार आरक्ष, जलस्रोत, जडीबुटीलगायत प्राकृतिक स्रोतसाधन बापतको रोयल्टी रकम गाउँपालिका मातहत ल्याउन सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले भौगोलिकरुपमा विकट, चारवटा वडामा सडक सुविधाको पहुँच नभएको, शिक्षामा पिछडिएको, अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास र गरिबी रहेकाले दुर्गम क्षेत्र घोषणा गरी बजेट विनियोजनका क्रममा प्राथमिकता दिन माथिल्लो निकायमा माग गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाको कार्यालय रहेका मुनामा विद्युत् र सञ्चार सुविधाको विस्तार तथा बैंकको शाखा स्थापना गर्ने निर्णय भएको कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताए । सञ्चार, विद्युत् र बैंकिङ सुविधाको अभावमा गाउँपालिकाको कार्यालय सञ्चालनमा समस्या उत्पन्न भएको छ । आगामी असार महिनाभित्र गाउँपालिकाको पाश्र्वचित्र तयार पार्ने, गाउँपालिका केन्द्र र दुर्गम क्षेत्रमा मोबाइलको सेवा विस्तार गर्न नेपाल टेलिकमसँग समन्वय गर्ने निर्णय गरेको बैठकले विपद् व्यवस्थापन, राहत र उद्धारका लागि वडा नं २ का अध्यक्ष गमप्रसाद विकको अध्यक्षतामा सात सदस्यीय विपद् दैवी प्रकोप उद्धार समिति गठन गरेको छ । रासस

नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा

बनियानी (झापा), २१ जेठ । मुलुककै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यतिबेला चुनावी रापले तातेको छ ।  विशेषगरी ठूला चार दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले पनि यहाँ चुनावी माहोल तातेको हो । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै पदमा उम्मेदवार घोषणा गरिसकेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न यहाँका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । झन्डा, पोस्टर, चुनाव चिह्न अङ्कित टि–सर्ट जस्ता प्रचार सामग्रीका साथ उनीहरु चुनावी दौडमा व्यस्त छन् । विकास निर्माणको दृष्टिले पछि परेको यो गाउँपालिकामा सबै दलका उम्मेदवारले विकास निर्माणलाई नै आफ्नो मुख्य एजेन्डाका रुपमा अघि सारेका छन् । सडक, बिजुली, खानेपानी, धार्मिक तथा पर्यटकीयस्थलको विकास नै उम्मेदवारको साझा एजेन्डा बनेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका हंसनारायण राजवंशीले कचनकवल गाउँँपालिकालाई उत्कृष्ट पर्यटकीयस्थलका रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यहाँ सञ्चालन भइरहेको छ,’ उनले भने– ‘त्यसलाई आत्मसात् गर्दै कचनकवललाई कृषि सहरका रुपमा विकास गर्ने लक्ष्य छ ।’ सडक, बिजुली, पानी लगायतका पूर्वाधार यहाँको मुख्य समस्या भएकाले त्यसको समाधानतर्फ आफू उन्मुख हुने उनको भनाइ छ । ‘यहाँ मजदुर वर्गको बाहुल्यता छ, चिया मजदुर पनि धरै छन्,’ अध्यक्षका प्रत्याशी राजवंशीले भने – ‘मजदुरका समस्या समाधान गर्छौं ।’ बर्सेनि डुबानको समस्या खेप्दै आएका यहाँका बासिन्दा लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने उनको सोच छ । ‘हाम्रो मुख्य एजेन्डा नै विकास र समृद्धि हो,’ काँग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न चुनावी मैदानमा उत्रिएका कालेन्द्र राजवंशीले भने – ‘यहाँ बाटो, बिजुली, खानेपानीलगायत सबै कुराको समस्या छ । सर्वसाधारण जनताले कष्कटर जीवनयापन गर्दै आएका छन् । उनीहरुको दुःखलाई सुखमा बदल्ने सोच छ ।’ समग्र कचनकवल गाउँपालिकाको विकासतर्फ आफू अग्रसर हुने उनले भने । एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका शेरबहादुर खत्रीले आफ्नो मुख्य एजेन्डा कृषिको विकास भएको बताए ।  कृषिको विकासबाट मात्र आर्थिक समृद्धि हासिल हुने भएकाले त्यसतर्फ जोड दिएको उनकाे भनाइ छ । ‘घरघरमा सिँचाइका लागि मोटर जडान गर्न सहयोग गर्छौं,’ उले भने – ‘कृषिसँग सम्बन्धित समग्र क्षेत्रको विकास हाम्रो मुख्य एजेन्डा हो ।’ राप्रपाका तर्फबाट अध्यक्ष पदका प्रत्याशी अन्जर आलमले बर्सेनि हात्तीको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुने गरेको बताउँदै त्यसको समाधानका साथै मेची नदीले गर्दै आएको कटान समस्यालाई हल गर्न तटबन्ध निर्माण गर्ने अठोट व्यक्त गरे ।  कचनकवल गाउँपालिका साबिक छवटा गाविस बनियानी, केचना, पाठामारी, बालुबाडी, घेराबारी र पथपरिया मिलेर बनेको हो । यहाँ १३ हजार १३ पुरुष र १२ हजार ७३६ महिला गरी २५ हजार ७४९ मतदाता र ३६ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सातवटा वडामा विभाजित कचनकवल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ३७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस क्षेत्रमा आदिवासी जनजाति समुदायको बाहुल्यता छ । रासस

पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी, सबैभन्दा बढी पर्यटक भारतबाट

काठमाडौं । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब रुपैयाँ आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ५५ लशमलव आठ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा १९ दशमलव छ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ दशमलव ९ प्रतिशत हो । चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट रु ३६ अर्ब १९ करोड ९० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ६६ दशमलव ८ प्रतिशत र कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २३ दशमलव ३ प्रतिशत रहेको छ । भारतबाट बढी पर्यटक सन् २०१६ मा करिब ४० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । उक्त अवधिमा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक आएका थिए । कुल पर्यटक आगमनको सङ्ख्यालाई देशगत रुपमा विश्लेषण गर्दा सन् २०१६ मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमध्ये भारत (१५ दशमलव ७) प्रतिशतले अगाडि छ । अन्य देशहरु क्रमशः चीन (१३ दशमलव ८), श्रीलङ्का (७ दशमलव ६), अमेरिका (७) र बेलायत (६ दशमलव एक) रहेका छन् । यी देशबाट आएका पर्यटकले कुल पर्यटकको ५० प्रतिशतभन्दा बढी अंश ओगटेको पाइन्छ । सन् २०१५ मा बढी पर्यटक आउने मुलुकमा क्रमशः भारत (१४), चीन (१२), अमेरिका (१०), श्रीलङ्का (८)र थाइल्यान्ड (६) प्रतिशत रहेको छ । रासस

लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते, कहिले हुँदै छ बुक क्लोज?

काठमाडौं । लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त सभामा असार १३ गते बोलाएको बैंकको उक्त सभाले कम्पनीको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस दिने निर्णयलाई पारित गर्ने भएको छ । बैंकले प्रोफेशनल दियालो विकास बैंक प्राप्ति र १०० प्रतिशत हकप्रद निष्काशन पछिको चुक्ता पूँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।

स्वास्थ्यसम्बन्धी २० नीतिनियम र निर्देशिका निर्माण- संशोधन

काठमाडौं। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताएका छन् । करिब नौमहिने कार्यकालको अन्तिम दिन आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले भने, ‘‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रालय आउँदै गर्दा संविधान जारी भइसकेको तर सोअनुरुपको नीतिगत, कानुनी र संरचनागत व्यवस्था बनेको अवस्था थिएन । औषधि निःशुल्क वितरण गरिने घोषणा गरिएको थियो तर दुई वर्षदेखि औषधि खरिद हुन सकेको थिएन । थुप्रै नीतिको अभाव थियो भने बनेका नीति, निर्देशिकाको पनि प्रभावकारी कार्यान्वयनमा चुनौती थियो । यसबीचमा मन्त्रालयका सम्पूर्ण समूह र सहयोगी समूहको सहयोगमा सबै अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रसम्म अनिवार्य फार्मेसी राख्ने व्यवस्था गरिएको बताउँदै उनले यद्यपि सबै अस्पतालमा पर्याप्त औषधि उपलब्ध गराउने विषय अझै चुनौतीपूर्ण देखिएको र अस्पताल परिसरभित्र अस्पतालको फार्मेसीबाहेक कुनै पनि फार्मेसी राख्न नपाइने व्यवस्था गरिएको छ बताए । “प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ भने औषधिको विशेष दर्ता प्रक्रिया सुरु भइसकेको छ,’’ मन्त्री थापाले भने, “स्वास्थ्य सेवालाई नयाँ उचाइमा पु¥याउन सातवर्षीय ‘एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड’ बनाई काम गर्ने घोषणा भइसकेको छ ।” उनका अनुसार मन्त्रालयले नौ महिनाका अवधिमा पहिले अड्किएका र नयाँ पुराना गरी झन्डै २० नीति नियम, नियमावली, ऐन, नियम संशोधन र नयाँ निर्माण गरिएको छ । मदिरा नीति, मदिरा ऐन, अपाङ्गता नीति, राष्ट्रिय स्वास्थ्य विधेयक, स्वास्थ्य बिमा विधेयक, प्रजनन् स्वास्थ्य विधेयक, स्वास्थ्य संस्था गुणस्तर प्राधिकरण ऐन, औषधि ऐन संशोधन, स्वास्थ्य सेवा ऐनको संशोधन, खोप ऐन पारित भई नियमावली बन्दै गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी मानव अङ्ग प्रत्यारोपण नियमावली, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका, राष्ट्रिय आयुर्वेद नीति, चिकित्सक परिचालन निर्देशिका संशोधन, आँखा स्वास्थ्य नीति नीति, एम्बुलेन्स निर्देशिका, प्रयोगशाला निर्देशिका, नेपाल मेडिकल काउन्सिल ऐन संशोधन, मानसिक स्वास्थ्य नीति र अस्पताल फार्मेसी निर्देशिका पनि मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनका चरणमा छन् । नयाँ आउने नेतृत्वलाई थालिएका राम्रा कामको निरन्तरता दिन आग्रह गर्दै उनले इमान्दारीपूर्वक काम गरेमा परिर्वतन हुन समय नलाग्ने अनुभव आफूले सिकेको बताए । रासस

यूनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ४५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ क्यापिटल लिमिटेड रहेको छ ।

आइतबार नेप्से परिसूचक दाहोरो अंकले ओरालो, ५५ करोड माथिको सेयर कारोबार

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक १० दशमलब ५० अंकले झरेर १५९३ दशमलब ८१ अंकमा पुगेको छ । सो दिनको बजारमा ५५ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १४१ कम्पनीको ९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, आइतबार कारोबार भएका प्राय सबै समूहको परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९५ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ३० र १५ अंकले घटेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले झरेका छन् । अन्य समूहको परिसूचक भने सामान्य अंक ०.८६ अंकले उकालो लागेको छ । बजारमा सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ५ प्रतिशत गिरावट आएको छ । स्वरोजगार लघुवित्त विकास बैंकको पनि ४.४९ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा पनि आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १०(९.९७) प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता २१९३ रुपैयाँ रहेको छ ।