एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त
काठमाडौं । एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । बैंकले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायिका कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंक २० वर्ष पुगेको अवसरमा बैंकको छवि अझ उचाईमा पुर्याउन तीन दशकदेखि अभिनय यात्रामा सफल अभिनेत्री कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘बैंक पनि २० बर्ष पुगेको छ, अभिनयको क्षेत्रमा तीन दशक काम गरेर सफलता कमाउनु भएकी अभिनेत्री कोइरालाई ब्राण्ड एम्बेसडर बनाएर अझै उचाईमा पुग्ने लक्ष्य छ’, बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले भने । ब्राण्ड एम्बेसडर नियुक्त भएकी नायिका कोइरालाले पनि बैंकको भिजन राम्रो लागेकोले सहकार्यको प्रस्ताव स्वीकार गरेको बताईन् । ‘पुरानो बैंक, ठूलो नेटवर्क भएको र राम्रो भिजन पनि देखेपछि ब्राण्ड एम्बेसडर बन्न राजी भएको हुँ’ नायिकका कोइरालाले भनिन् । कार्इराला अागामी दुर्इ वर्षकाे लागि अनुबन्धित भएकाे बैंकले जनाएकाे छ । एनआइसी एसिया बैंकले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । निकट भविष्यमै ३ सय वटा शाखा सञ्जाल पुर्याउने र आम मानिसको पहुँचमा बैंकलाई स्थापित गर्ने उदेश्य तय गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।
कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र राम्रो रेमिट प्रा.लि. बीच विभिन्न मुलुकबाट आएको विप्रेषणको भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिट प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार राम्रो रेमिट मार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट र कुमारी रेमिटका ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ ।
सुगर रोग पत्ता लगाउने ओटो मोबाईल फोन बजारमा, मूल्य ३४ सय ९६ रुपैयाँ मात्र
काठमाडौं । जयमा इन्टरकन्टिनेन्टल प्रा.लि.ले सुगरको रोग पत्ता लगाउने डिजिटल इलेक्ट्रोनिक प्रविधिको ओटो मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । बुधबार कम्पनीले राजधानीको होटल अन्नपुर्ण होटलमा पत्रकार सम्मेलन गरि उक्त फोन पहिलो पटक नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो फोन दक्षिण एसिया कै सबै भन्दा पहिलो सुगर रोग पत्ता लगाउने फोन हो । उक्त फोनमा ल्यान्सिङ यन्त्र, ल्यान्सेट र स्ट्राइपको प्रयोग गरेर सुगर रोग पत्ता लगाउन सकिने जानकारी दिइएको छ । कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर सचिन राजले यस फोन चलाउँदा साबुन पानीले हात धोएर मात्र चलाउन पर्ने बताएका छन् । जि.पि.आर.एस मात्र चल्ने यस फाेनकाे बजार मूल्य ३४ सय ९६ रुपैयाँ पर्ने कम्पनीले जनाएकाे छ । यस फोन उपभोक्ताको चाहाना र इच्छा अनुसार सिंगापुरमा डिजाइन भएर आएको हाे । साथै, यस फोन सुगर परिक्षणको लागी उपयुक्त भएको कुरा अमेरिकाले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीलाई ठूला प्रोजेक्टमा रोक, सरुवा पनि नपाउने
काठमाडौं । आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीले ठूला परियोजनाको नेतृत्व गर्न नपाउने भएका छन् । महालेखा परिक्षकको कार्यालयले बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीहरुलाई एक अर्ब भन्दा ठूला लगानीको प्रोजेक्टमा जान रोक लगाउने तयारी थालेको हो ।‘एक अर्ब भन्दा ठूला परियोजना हेर्ने कर्मचारीको बेरुजु फछ्र्याेटको फाइल हेर्ने निर्णय भएको छ, आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगरेको फेला परेमा ठूला प्रोजेक्टको नेतृत्व गर्न दिँदैनौं’, महालेखा परिक्षक टंकमणी शर्माले भने । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परिक्षक शर्माले आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगरी अर्काे कार्यालयमा सरुवा समेत हुन नदिने घोषणा गरेका हुन् । ‘अरबौं बेरुजु बनाएर खुसुक्क अर्काे निकायमा सरुवा भएर जान मिल्दैन, अब कसैले छुट पाउँदैन’, शर्माले भने । उनले अब संस्थाको नभएर व्यक्तिको बेरुजु हेर्ने पनि स्पष्ट पारे । ‘अहिलेसम्म फलानो कार्यालयको बेरुजु फलानो बर्षमा यति रहेछ भनेर हेर्दै आएका थियौं तर अब फलानो कार्यालयमा फलानो हाकिम हुँदाको बेरुजु यति छ भनेर रिपोर्ट तयार पार्छाै’, शर्माले भने । उनले पछिल्लो १० बर्षको बेरुजुको रिपोर्ट तयार पार्ने र त्यसमा को को व्यक्तिका नाममा धेरै देखिन्छ सो व्यक्तिहरुको विवरण सार्वजनिक गर्ने पनि बताए । उनले महत्वपुर्ण जिम्मेवारी दिनुअघि कर्मचारीको वित्तिय अनुशासन र बेरुजुको फाइल अध्ययनलाई अनिवार्य बनाउने पनि स्पष्ट पारेका छन् । उनले लेखा परिक्षणका क्रममा अब खर्चको पारदर्शितासँगै उपलब्धि पनि खोजिने बताए । ‘अहिलेसम्म खर्च ठिकसँग भयो की भएन, विल भरपाई ठिक छ की छैन भनेर हेर्दै आएका थियौं तर अब खर्चसँगै उपलब्धी भयो की भएन भनेर पनि हेर्छाै’, शर्माले भने । बैठकमा सांसदहरुले बेरुजु फछ्र्याेटको कामलाई द्रुतगतिमा अघि बढाउनुपर्ने धारणा राखेका थिए । बैठकले बेरुजु फछ्र्याेट कार्ययोजना बनाउन महालेखा परिक्षकको कार्यालयलाई निर्देशन पनि दिएको छ ।
प्राधिकरणको बजेट र नीति तथा कार्यक्रम पारित, पुनःनिर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको बुधबारको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनःनिर्माणमा हालसम्म भएका कामको समीक्षा पनि गर्यो । बैठकमा सहभागी समिति उपाध्यक्ष एवम् नेकपा (एमाले) का नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए । “अहिलेसम्म साढे दुई हजार घर पनि नबनेको देखियो, कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो, प्राधिकरणको काम छिटो छरितो होस् भनी निर्देशन दिइएको छ”-उनले भने । निर्माणाधीन घरको सङख्या एक लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए । “म आउनुअघि एक हजार घर पनि बनेका थिएनन्, अहिले ४० हजार घर निर्माण भएको छ, ५० हजार विद्यालय पुनःनिर्माणको क्रममा छन्”-उनले भने । उनले आफू आउनुअघि बन्दै नबनेका घर बन्यो भनी प्राधिकरणकै वेभसाइटको तथ्याङ्कले देखाएको पनि बताएका छन् । प्राधिकरण ऐनअनुसार पुनःनिर्माणका लागि छुट्याइएको बजेट निर्देशक समितिले पारित गर्नुपर्छ । ३१ जिल्ला हेर्ने गरी बनेको सङ्घठन संरचना पनि आजको बैठकले पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन् । रासस
बजारमा ६४ करोडको सेयर कारोबार, चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि
काठमाडौं । बुधबारको सेयर बजारमा ६४ करोड २ लाख बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १५२ कम्पनीको ३५ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९९, अरुण फाइनान्सको ९.७९, कर्नाली डेभलपमेन्ट बैंकको ९.७२ र कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कारोबार भएका समूह मध्ये बीमा, विकास बैंक र बैंकिङ् समूहको परिसूचक क्रमशः २७, ७ र ३ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहको परिसूचक भने सामान्य ओरालो लागेका छन् । समग्रमा बुधबारको नेप्से परिसूचक २ दशमलब ५५ अंकले उकालो लागेर १५८७ अंकमा पुगेको छ ।
एक्सेलको ३८ लाख ४५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । बुधबार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३८ लाख ४५ हजार ६२५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ रहेको छ ।
चार कम्पनीको ६३ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, हेरौँ क-कसको भयो ?
काठमाडौं । बुधबार विभिन्न चारवटा कम्पनीको ६३ लाख १० हजार ६२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा २५ लाख ३१ हजार ३८८ कित्ता बोनस र ३७ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा सूर्या लाइफ इन्स्यारेन्स कम्पनी र रिलायवल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो । सूर्या लाइफको ३ लाख १२ करोड ५०० कित्ता र रिलायवलको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, डेपरोक्स डेभलपमेन्ट बैंकको २५ लाख ७९ हजार २३८ कित्ता र भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ ।