विकासन्युज

वर्षिक ३० अर्बको सुन आयात

काठमाडौ । कुनै पनि वस्तु खरिद गर्दा त्यसको भोलिपल्ट नै ती वस्तुको मूल्य कम हुन्छ । तर बजारमा त्यस्तो वस्तु पनि छ, जसको मूल्य एक दशकपछि बिक्री गर्दा पनि जर्तिको मूल्य बाहेक पूरै रकम पाउँछ । त्यो बस्तु हो– ‘सुनचाँदी’ भविष्यमा गएर पनि सुनचाँदी बिक्री गर्दा आफूले खरिद गरेको मूल्य भन्दा बढी पैसा पाउने आशा आमउपभोक्ताको हुन्छ । परम्परादेखि नै नेपालमा विभिन्न जातजातिले लगाउने मौलिक संस्कृतिमा सुनचाँदी, ज्वाहारात, रत्न पत्थरको प्रयोग हुने गरेको छ । नेपालमा हाल सुनचाँदीको कारोबारबाट राष्ट्रिय आयमा वार्षिक रु ९ अर्बको योगदान पुगेको छ । मुलुकमा वार्षिक ३० अर्बको सुन आयात हुने गरेको काठमाडौँ सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज यहाँ आयोजित संघको पन्ध्रौँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत रुपमा सञ्चालन हुँदै आएको सुनचाँदी व्यवसायलाई अझ बढी व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउँदै यस व्यवसायको विकास र विस्तारका लागि कामपाले सक्दो सहयोग गर्ने बताए । सुनचाँदी व्यवसायमा ज्याला, जर्ति र टलेरेन्स सामान्य विषय हो भन्दै उहाँले सुनचाँदीको काम गर्ने कालीगढलाई तालीम दिएर दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिए। उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले विश्वमा नेपाललाई चिनाउने आधार सम्पदा, संस्कृति तथा बाजागाजालाई संरक्षण गर्नुपर्ने बताइन । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदीको कारोबारमा जर्ति, समिश्रण तथा टलेरेन्स (औँठी बनाउँदा सुनको मात्रा खिइएर नष्ट हुने ) २ प्रतिशतमा सीमित गर्नुपर्नेमा जोड दिए । नेपाली सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायमा वैज्ञानिक यन्त्रको प्रयोग हुने भएकाले उपभोक्ता ठगिने सम्भावना नरहेको स्पष्ट पारे । रासस

तीन सय ५६ नयाँ उद्यमी थप

तेह्रथुम । गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन् । म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका २५१ महिलासहित ३५६ जना लघु उद्यमी थपिएका हुन् । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिमार्फत सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत म्याङलुङ नगरपालिकाका सबै वडा, आठराई गाउँपालिकाका–२ खाम्लालुङ, वडा नं ६ चुहानडाँडा र वडा नं ७ थोक्लुङ तथा छथर गाउँपालिका–२ हमरजुङमा विभिन्न विषयका रोजगारमूलक तालीम सञ्चालन गरिएको थियो । ती तालीममा सहभागी भएर रोजगारीमूलक सीप सिकेका गृहिणी महिला तथा युवाहरु नै अहिले उद्यमीका रुपमा स्थापित भएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख दीपक पौडेलले बताए । तालीममा सहभागी भएर सीप सिकेकाले व्यावसायिक योजना नै बनाएर व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुलाई व्यावसायिक योजना निर्माण र सञ्चालनका सम्बन्धमा समेत तालीम दिइएको साझेदार संस्था दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले जानकारी िदए। उनकाअनुसार सीप सिकेका गृहिणी महिला तथा युवाले साना व्यवसाय थालेका छन् । ढाका कपडा बुनाई सिकेका महिला उद्योग खोलेर बसेका छन् भने सिलाइकटाइ सिकेका महिलाले पनि व्यवसाय थालेका छन् । मुढा बुनेर गाउँका उद्यमीले घर खर्च चलाइरहेका छन् । रासस

आठ अर्ब बढीको खाद्यान आयात

विराटनगर । गत आर्थिक वर्षमा विराटनगर नाकाबाट आठ अर्ब रूपैयाँ बढीको खाद्यान र दलहन भारतबाट भित्रिएको छ । सो नाकाबाट आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्य बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । सोमध्ये सबैभन्दा बढी रु तीन अर्ब ६६ करोड ३१ लाख ३३ हजार मूल्य बराबरको एक लाख ५२ हजार ६३१ मेट्रिकटन मकै आयात भएको छ भने रु तीन अर्ब १९ करोड ६५ लाख ३३ हजार मूल्य बराबरको ७९ हजार ९१३ मेट्रिकटन विभिन्न जातका चामल आयात भएको छ । आयात भएका यी चामल भन्सार कार्यालय भएर भित्रिएका छन् भने सीमावर्ती भारतीय बजारबाट तस्करीको रुपमा भित्रिएको र सर्वसाधारणले खानका लागि ल्याउने गरेको चामलको तथ्यांकमा यसमा समावेश गरिएको छैन् । भारतको जोगबनी बजारमा दिनहुँ किनमेल गर्न पुगेका कतिपयले चामल खरिद गरेर ल्याउने गरेको सहजै देखिन्छ । एक अर्ब, दुई करोड ७५ लाख ९३ हजार मूल्य बराबरको ४२ हजार ८१६ मेट्रिकटन गहुँ आयात भएको छ भने रु ४८ करोड नौ लाख ५९ हजार मूल्य बराबरको २१ हजार ९१६ मेट्रिकटन धान आयात भएको सो कार्यालयका प्रमुख देवशरण साहले जानकारी दिए । यसैगरी यो नाकाबाट रु नौ करोड ५१ लाख १५ हजार मूल्य बराबरको तीन हजार ९६३ मेट्रिकटन कोदो आयात भएको छ भने रु ९० लाख २९ हजार मूल्य बराबरको २६६ मेट्रिकटन जौ आयात भएको हो । गत आर्थिक वर्षमा यो नाकाबाट रु १६ करोड ९२ लाख मूल्य बराबरका २८२ मेट्रिकटन विभिन्न जातका दाल आयात भएको सो कार्यालयले जनाएको छ । रासस

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताएका छन् । नेपाली काँग्रेस, भोजपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भने – “अरुण तेस्रो आयोजनाको निर्माण कार्य चाडै नै अगाडि बढाउने दिशामा सरकार अग्रसर भएको छ ।” अरुण तेस्रो आयोजना प्रारम्भ भएपछि त्यसबाट अर्बमा हैन खर्बको लगानी मुलुकमा भित्रने बताउँदै “मुलुककै अर्थतन्त्रलाई राष्ट्रिय रुपमा दिगो प्रभाव पार्ने तीन आयोजना अरुण तेस्रो, माथिल्लो कर्णाली र तामाकोशी आयोजना बनेका थिए, तीमध्ये क्षेत्रीय र सन्तुलित विकासका दृष्टिोकणले महत्व बोकेका अरुण र कर्णाली आयोजना दश वर्षदेखि अलमलिएको अवस्थामा छन्, अब ती आयोजनालाई अहिलेको सरकारले गति दिदँैछ,” अर्थमन्त्री कार्कीले भने । अरुण तेस्रो आयोजना कार्यान्वयन गर्नसकेको खण्डमा पूर्वाञ्चलको मात्र नभइ मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले लगानी बोर्ड र भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत् कम्पनीबीच– ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना विकास सम्झौता (पीडिए) भइसकेको जानकारी दिए । संखुवासभा र भोजपुरको सिमानामा पर्ने उक्त आयोजनाको कुल अनुमानित लागत रु एक खर्ब चार अर्ब लाग्ने बताइएको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पुर्खौली जन्मथलो भोजपुरको समग्र विकासका लागि आफू सदैव सक्रिय रहने बताउँदै सुनसरीको धरान–चतारादेखि भोजपुरसम्मको सिधा सडक बाटो जोड्नसके भोजपुरको समृद्धिको बाटो खुल्ने र यसका लागि सबै पक्षको पहल चाहिने खाँचो औँंल्याए। भोजपुरको उत्तरी क्षेत्रमा उत्पादन हुने पवित्र रुद्राक्षको आधिकारिक व्यापारका लागि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा रुद्राक्षलाई सूचीकृत गरिने बताउँदै उहाँले अन्तर्राष्ट्रिय व्यापारका लागि यहाँ प्रशोधन केन्द्र बनाएर यसको गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरण गरिने जानकारी दिए। पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले भोजपुर र सुनसरी जोड्नेगरी रुद्राक्षको व्यापार प्रवद्र्धन गर्ने वाणिज्यमन्त्रीको काम प्रशंसनीय रहेको र यसले जिल्लाको विकास र छविलाई उचो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री उमेशजंग रायमाझी, भोजपुर सडानन्द नगरपालिकाका प्रमुख वीरबल राई र नेत्री लक्ष्मी राईले पार्टीलाई एकताबद्ध बनाई जिल्लाको विकास र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए। सो अवसरमा समितिले भोजपुर जिल्लाबाट मन्त्री बन्नुभएका अर्थमन्त्री कार्की र वाणिज्यमन्त्री विश्वकर्मा तथा भोजपुर नगरपालिकाका विजयी प्रमुख कैलाश आले, षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, अरुण गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर कार्कीलगायतलाई सम्मान गरिएको छ । रासस

जनप्रतिनिधिले अनियमितता गरेपछि स्पष्टिकरण सोधियो

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका– ११ का सबै जनप्रतिनिधि स्पष्टीकरणमा परेका छन् । नगरपालिका– ११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि स्पष्टीकरणमा परेका हुन् । नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ गाउँ, सर्मी, डोल्पा सडकको कामै नगरेको सडकमा काम गरेको भनी जनप्रतिनिधिले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले २३ लाख रूपैयाँ भुक्तानी गरेको थियो । कामै नगरी २३ लाख रूपैयाँ भुक्तानी गरेको भन्दै असार २३ मा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियो । छानबिन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधिसमेत अनियमित कार्यमा संलग्न भएको पाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभए पनि भुक्तानीका लागि चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानबिन थाल्दा यस्तो तथ्य फेला परेको छ । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जीतबहादुर मल्ल र सदस्य भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री बानियाँ, विष्णुकमारी नेपाली र बिर्खबहादुर बानियाँले वडा कार्यालयको लेटरप्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार ३०० मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागि स्थानीय विकास अधिकारीलाई सिफारिस गरेका िथए । कामै नभए पनि नक्कली बिल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ । जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ताभित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जिल्ला समन्वय समितिले बताएको छ । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत, सचिव सुष्मा विसी र कोषाध्यक्ष जयकुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नबित्दै वडाका सबै पदाधिकारी स्पष्टिकरणमा परेका छन् । घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिइसकेको चेकसमेत कार्यालयले थुतेर रद्द गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । रासस

औद्योगिक क्षेत्रको लोडसेडिङ छिट्टै हटाइने छ – ऊर्जामन्त्री

हेटौँडा । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् भार कटौती अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको समेत साथ खोजेको बताएका छन् । उद्योग संघ मकवानपुरले आज हेटौँडा औद्योगिक क्षेत्रमा उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा मन्त्री शाहीले उक्त कुरा बताएका हुन् । औद्योगिक क्षेत्रमा हाल दैनिक तीन घण्टा विद्युत् कटौती हुँदै आएको छ । मन्त्री शाहीले विकासको महत्वपूर्ण आधारको रुपमा सडक र ऊर्जा नै भएको हुँदा त्यसका लागि सरकारले विभिन्न उपाय अपनाएर काम गरिरहेको उल्लेख गरे । उहाँले भने– ऊर्जाको क्षेत्रमा के कस्तो काम गर्नुपर्छ सरकार तयार छ, तर काम गर्न नदिने प्रवृत्तिलाई रोक्न सबैले सहयोग गर्नुपर्छ । आधार भूतरुपमा विद्युत् भार कटौती अन्त्य भइसकेको छ, औद्योगिक क्षेत्रको विद्युत् भार कटौती पनि अब छिट्टै हटाइने छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सम्पूर्ण औद्योगिक क्षेत्रको विद्युत् भार कटौती अन्त्य हुुने जानकारी िदए । रक्सौल–परवानीपुर १३२ केभी चार्ज गर्न प्रयासमा छौँ, त्यसले पनि हुँदै आएको विद्युतभार कटौतीमा सुधार ल्याउन सकिन्छ, प्राविधिक रुपमा हुने कटौतीलाई विद्युत् भार कटौतीका रुपमा नबुझ्न उहाँले आग्रह गरे । नेपाल उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले उद्योगी व्यवसायीका विभिन्न माग समेटिएको ज्ञापनपत्र मन्त्री शाहीलाई बुझाएका िथए । रासस

बत्तीस वर्षदेखि अल्झिएको तमोर आयोजनाकाे काम सुरू गर्न माग

काठमाडौ । राष्ट्रिय प्रसारण प्रणालीलाई प्रत्यक्ष फाइदा पुग्ने तमोर जलासययुक्त (७६२ मेगावाट) आयोजना पहिचान भएको ३२ वर्षसम्म योजनामै सीमित भएको छ । यो योजनाले राज्यका योजना कसरी कार्यान्वयन हुँदोरहेछ भन्ने पक्षमा गतिलो सन्देश प्रवाह गरेको छ । पर्याप्त बजेट विनियोजन गरेर अघि बढाइएको भएपनि यस राष्ट्रिय गौरवका आयोजनाको प्रगति २० प्रतिशत पनि नपुग्नुले पूर्वाधार निर्माणको गति कस्तो छ भन्ने सहजै आँकलन गर्न सकिन्छ । सन् १९८५ मा जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी(जाइका) ले तमोर जलाशययुक्त आयोजना पहिचान गरेको थियो । उक्त आयोजना सञ्चालन अनुमतिपत्र (लाइसेन्स) का लागि नेपाल विद्युत प्राधिकरणले विसं २०७० मा ६५० ‘फुल सप्लाइ लेभल’ माग गरिएकामा ४५० कायम गरेर सम्भाव्यता अध्ययन गर्न तीन वर्षका लागि ऊर्जा मन्त्रालयले लाइसेन्स दिएको थियो । तदपश्चात् क्षमता अध्ययन गर्दा ७६२ मेगावाटभन्दा ठूलो बनाउँदा आकर्षक हुने निष्कर्ष निकालिएको थियो । सोही आधारमा २०७३ मा ७६२ मेगावाटको लाइसेन्सका लागि प्राधिकरणले ऊर्जा मन्त्रालयमा निवेदन दिएको थियो तर अझै लाइसेन्स पाएको छैन । चार सय ५० को लाइसेन्सको अवधि पनि यही साउन १३ गते सकिएको छ । विगतमा गुरुयोजनामा पहिचान भएको यो आयोजनालाई प्रतिकूल असर पर्नेगरी कावेली ए (३७ं६ मे.वा.) र तल्लो हेवा (२१.६ मे.वा) को लाइसन्ेस जारी भएका कारण आयोजना अन्योलमा रहेको सरोकार समितिले जनाएको छ । अहिले प्राधिकरणलाई दुवै आयोजनाको ऊर्जा मौज्दातको अध्ययन गरी प्रतिवेदन ल्याउन मन्त्रालयले भनेको छ । जाइकाद्वारा सन् १९८५ मा गरिएको गुरुयोजनाअनुरुप १३ वटा ठूला आयोजनामध्येको तमोर एक हो । तेह्रथुमका ११ पाँचथरका ११ र ताप्लेजुङका आठ गाविसमा फैलने तमोर नदीमा २०५ मि अग्लो बाँध बनाउँदा नदीको पानी बाँध स्थलबाट ४० किलोमिटर क्षेत्रफलको तलाउ बन्नेछ । यो पोखराको फेवातालभन्दा करिब आठ गुणा ठूलो हुन्छ । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले सम्भावना बोकेको तमोर आयोजना कानुनी उल्झन भए पनि सञ्चालनका लागि सहज बाटो खोज्ने प्रक्रियामा रहेको बताए । उनले काबेली र हेवा आयोजना प्रतिस्पर्धाबाट सरकारले नै छनौट गरेकाले अबको समस्या कसरी समाधान गर्ने भन्ने प्रयास भइरहेको जानकारी िदए । आयोजनाबाट वार्षिक ३ अरब ३५ कराेड ४० लाख युनीट िबजुली उत्पादन गर्न सकिन्छ । आयोजनाले चार जिल्ला धनकुटा, तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाका स्थानीयवासी लाभान्वित मात्र हैन समग्र देशको विकासमा टेवा पुग्ने बताइएको छ । प्राधिकरणका अनुसार यो आयोजना सम्पन्न गर्न तीन वर्ष अध्ययन र पाँच वर्ष निर्माण गरी आठ वर्ष लाग्नेछ । तमोर आयोजना आकर्षणका रुपमा बूढीगण्डकीभन्दा आर्थिक, सामाजिक र वातावरणीय हिसाबले उपयुक्त छ । उक्त आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे तमोर जलाशययुक्त आयोजना सरोकार समूह, तमोर आयोजना संयुक्त सरोकार समिति र जलस्रोत तथा ऊर्जा पत्रकार समाजले संयुक्तरुपमा सरोकार भएका निकाय, राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आज अन्तक्र्रिया ग¥यो । कार्यक्रमका वक्ताले देशको आर्थिक समृद्धिसँग जोडिएको आयोजना अघि बढाउन नियामक निकाय ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले दतारुपता देखाउनुपर्ने औँल्याए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महत्वको तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाइनुपर्ने बताए । उनले तमोर आयोजना नाफायुक्त र देशको समृद्धिसँग जोडिएकाले सहमतिका साथ नियामक निकायले लाइसेन्स दिएर प्राधिकरणले निर्माण प्रक्रिया अघि बढाउनुपर्ने खाँचो औँल्याएका िथए । “तमोर आयोजना देशको ऊर्जा संकट समाधान मात्र हैन पर्यटन र कृषि व्यवसायको प्रवद्र्धनमा समेत टेवा आयोजनालाई सफल बनाउन सबैको सक्रियता चाहिन्छ, पूर्वाञ्चल र समग्र देशको विकासमा यो आयोजनाले सहयोग पुग्छ”– उनले भने । नेपाली काँग्रेसका नेताद्वय डा मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, नेकपा (एमाले) का सचिव भीम आचार्य, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतले तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाउन सरोकार निकायको ध्यानाकर्षण गराएका िथए । यो आयोजनाको कूल लागत र एक खर्ब १२ अर्ब रूप्ैयाँ लाग्ने बताइएको छ । प्रभावित आयोजनाका तर्फबाट काबेली ‘ए’ का प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाटले राष्ट्रिय महत्वको ठूलो परियोजना भएकाले सरकारकै निर्णयमा भरपर्ने बताए । लोयर (तल्लो) हेवा आयोजनाका प्रमुख सञ्जीवकुमार ठाकुरले आयोजनाको भविष्यबारे सरकारको निर्णय स्वीकार्य हुने जानकारी िदए । तमोर जलाशययुक्त सरोकार समूहका अध्यक्ष वसन्त नेम्वाङले राष्ट्रिय प्रसारण प्रणालीलाई सहयोग पुग्ने आयोजनाको काम चाँडो अघि बढाउन दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । रासस

थप ३४ करोड लिटर पानी ल्याउन मेलम्चीको दोस्रो आयोजना डीपीआर बन्दै, ८ महिनामा सक्ने लक्ष्य

काठमाडौ । सरकारले मेलम्ची खोलाबाट राजधानीमा दैनिक थप ३४ करोड लिटर पानी आपूर्ति गर्ने योजना सुरु गरेको छ । सिन्धुपाल्चोकको याङरी र लार्के खोलाबाट थप पानी आपूर्ति गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ । यो मेलम्चीको दोस्रो योजना हो । स्पेनको इप्टसा बीईटीएस परामर्शदाता कम्पनीले हाल आयोजनाको अध्ययन र डिजाइनको काम गरिरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । सरकारले आगामी आर्थिक वर्षका लागि मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न र याङरी र लार्केबाट थप पानी आपूर्तिएका लागि गरी ६ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले बजेटमा मेलम्ची अन्र्तगतको दोस्रो चरणको खानेपानी आयोजनाको काम सुरु गर्ने उल्लेख छ । हाल मेलम्चीले दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने छ । याङरी र लार्केबाट थप ३४ करोड गरी कुल ५१ करोड लिटर खानेपानी आपूर्तिको योजना छ । समितिले सिन्धुपाल्चोकको रिवर्मादेखि सुन्दरीजलसम्म २७.५ किलोमिटर सुरुङबाट दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङ खन्ने र प्रशोधन केन्द्र निर्माणको काम जारी छ । सुरुङ खन्ने काम अब २ किलोमिटर केही बढी छ । यस्तै सुन्दरीजलमा साढे ८ करोड लिटर पानी प्रशोधन गर्नका लागि दोस्रो प्रशोधन केन्द्रको निर्माण सुरु हुदैछ । याङरी र लार्केखोलाको पानी ११ किलोमिटर लामो सुरुङबाट मेलम्चीको मुहान रिवर्मामा मिसाउने गरी काम अघि बढाउन लागेको हो । हालको सुरुङ संरचनाबाट थप पानी आपूर्ति गर्न सकिने देखिएपछि सरकारले याङरी र लार्केबाट थप पानी आपूर्तिको दोस्रो चरणको योजना सुरु गर्न लागेको हो । याङरी र लार्केखोलाबाट थप पानी आपूर्ति भएमा राजधानीमा ९ महिना दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुने छ । छनौट हुने परामर्शदाताले २ वर्षभित्र डीपीआर तयार गरेपछि सन् २०१८ को अन्त्यदेखि याङरी र लार्केबाट थप ३४ करोड लिटर पानी आपूर्तिको काम सुरु गर्ने लक्ष्य लिएको छ । समय तालिका अनुसार काम भएमा सन् २०२२ सम्म राजधानीमा मेलम्चीबाट ५१ करोड लिटर पानी आपूर्ति हुने छ । याङरी र लार्केबाट थप ११ किलोमिटर डाइभर्ससन सुरुङबाट पानी आपूर्ति गर्न करिव ३० अर्ब रुपैयाँ (३० करोड डलर) लाग्ने देखिएको उनले बताए । एसियाली विकास बैंक (एडीबी) ले यो मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्न तयार रहेको जानकारी गराएको छ । मेलम्चीको मुख्य लगानीकर्ता एडीबी नै हो । एडीबीले मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्ने भने पनि औपचारिक रुपमा सम्झौता हुन बाँकी छ । सुरुङ खन्नमा ढिलाईले मेलम्ची खोलाबाट आउदो चैतमा मात्र राजधानीमा पानी आउने भएको छ । ढिलाईले आयोजनाको काम पुनः निर्धारित समय भन्दा ६ महिना धकेलिएको छ । आउदो असोजसम्म मेलम्चीबाट राजधानीमा पानी आपूर्ति गर्ने योजना थियो । राजधानीमा मेलम्चीबाट आपूर्ति हुने पानी प्रवाह गर्नका लागि आयोजना कार्यान्वयन निर्देशनालयले भुमिगत पाइप विच्छाउने काम जारी राखेको छ । पाइप विच्छाउने काम अन्तिम चरणमा पुगेको छ ।