प्रभु क्यापिटलले ल्यायो मोबाइल एप्स सेवा, लागानीका बारेमा जुनसुकै जानकारी लिन सकिने
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवा सम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाईल एप्स ल्याएको छ । क्यापिटलले लगानीका बारेमा छिटो तथा सरल तरीकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले यो सेवा ल्याएको बताएको छ । यो सेवा हालमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । जसबाट प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले आफ्नो शेयर विवरण अनलाईनमा हेर्न मिल्ने, कारोबार बारे जानकारी लिन सक्ने क्यापिटले जनाएको छ । त्यस्तै,, आइपीओ तथा एफपीओको नतीजाका साथै सो मा परेको शेयर लगायत कम्पनीहरुको बोनश तथा हकप्रद शेयर खातामा जम्मा भए नभएको बारे जहाँ जुनसुकै स्थानबाट पनि सरल तरीकाले जानकारी लिन सक्नेछन् । यसका साथै हितग्राहीले दिएको अभौतिक निवेदन तथा कागजातमा कुनै किसिमको त्रुटि भई सम्बिन्धित शेयर रजिष्ट्रारबाट फिर्ता आएमा सो को जानकारी पनि यसै सुबिधा मार्फत लिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले शेयर रजिष्ट्रारको सेवा दिईरहेको कम्पनीहरु सम्बन्धी प्रकाशित सुचना, जारी हकप्रद शेयरमा आफुले भर्न पाउने कित्ताबारे जानकारी तथा आफूले पाउने बोनश शेयरमा लाग्ने कर रकम सम्बन्धमा समेत जानकारी लिन सकिनेछ । यसका साथै नेपाल स्टक एक्सचेन्जको वेबसाईट पनि हेर्न सकिने क्यापिटलले बताएको छ ।
उर्जा मन्त्रीले भने-यसपाली हिउँदमा पनि लोडसेडिङ हुँदैन, उद्योगले पनि मागेजति बिजुली पाउँछन्
काठमाडौं । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आगामी हिउँदमा पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले हिउदमा लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको र सो अनुसार काम समेत अघि बढाई सकेको बताएका हुन् । ‘यसपालीको हिउँदमा पनि लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको छ, त्यस अनुसार अहिले काम भैरहेको छ, त्यस्तो कार्ययोजना भने केहि दिनभित्रै सार्वजनिक हुनेछ’, मन्त्री शाहीले भने । उनले हिउँदमा नागरिकका घरमा मात्रै नभएर उद्योगहरुमा समेत माग अनुसार विद्युत उपलब्ध गराउने दावी पनि गरे । ‘यसपाली नागरिकको घरमा लोडसेडिङ हुन्न नै, उद्योग धन्दाहरुले पनि मागे जति विद्युत पाउँछन्’, मन्त्री शाहीले भने । उनले लोडसेडिङ अन्त्य गर्न मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले चालेका कदमहरुमा समाजका सबै तह र तप्काले सहयोग गर्नुपर्ने धारणा पनि राखे । ‘हामी मुलुकलाई लोडसेडिङ मुक्त बनाउन लागि परेका छौं, त्यसमा सबैको सहयोग चाहिन्छ, सहयोग भएन भने त फेरी लोडसेडिङ भैहाल्छ नी’, मन्त्री शाहीको भनाई छ । उनले विद्युत चुहावट नियन्त्रणका लागि स्मार्ट ग्रीड र स्मार्ट मिटरको कार्यान्वयन अघि बढाउने तयारी गरेको पनि जानकारी दिए । केहि समयभित्रै पाइलट प्रोजेक्टका रुपमा स्मार्ट ग्रीड र मिटर जडानको काम अघि बढाउने पनि बताए । उनले नयाँ प्रबिधीको प्रयोग गरेर लोडसेडिङ घटाउने बताए । उनले राम्रो काम गर्दा जेल जानु परेपनि आफु तयार रहेको समेत बताएका थिए ।
चेपाङ बालबालिकाका लागि विदेशी स्वयंसेवकबाट भवन निर्माण
चितवन । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै ५ लाख रुपैयाँको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् । सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै स्वयंसेवक आना फेरारियाले विपन्न र शिक्षाबाट वञ्चित हुँदै आएका बालबालिकालाई ल्याएर पठनपाठन गर्न लागिएको जानकारी पाएपछि आफूमा सहयोग गर्ने उत्प्रेरणा जागेको बताए । पोर्चुगलमा गएर उनले आर्थिक जोहो गरी आफ्नै पहलमा ९ जना स्वयंसेवक ल्याएर काम गरेका हुन् । भवन बनेपछि चेपाङ बालबालिकालाई बस्न र कार्यालय सञ्चालनमा समेत सहयोग पुगेको केन्द्रले जनाएको छ । चेपाङ बालबालिकाको जीवनस्तर उकास्न र उनीहरुलाई शिक्षा दिलाउन वर्षौँदेखी विदेशी दाता र विदेशमा बस्ने नेपालीलाई प्रेरणा दिँदै आएका होटल पार्क साइड सौराहाका सञ्चालक शीरलाल परियारलाई गामबेँसी चेपाङ संरक्षण केन्द्रले मंगलबार सम्मान गर्यो । आफ्नै श्रम र लगानीमा छोटो समयमै भवन निर्माण गरेर हस्तान्तरण गरी महत्वपूर्ण सहयोग गरेको भन्दै आनालाई समेत यहाँ सम्मान गरिएको थियो । यस्तै, चेपाङ बालबालिकालाई सहयोग गरेकामा वृद्धा विष्णुमाया पौडेल र खगेन्द्र चौधरीलाई समेत सम्मान गरिएको थियो । चेपाङ बालबालिकालाई सहयोग यसैबीच, आजै चितवन घर भई इजरायलमा बस्ने निर्मला पौडेलले यहाँ रहेका चेपाङ बालबालिकालाई भोजन सेवासँगै लत्ताकपडा र आर्थिक सहयोग गरेका छन् । उनले आज केन्द्रमै आएर लत्ताकपडासहित ३४ हजार रुपैयाँ सहयोग गरेका हुन् । पौडेलले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे। यहाँ १४० चेपाङ बालबालिका आश्रय लिएर बसेका छन् । रासस
नेपालले पहिलो पटक विश्वका युवाहरुको संम्मेलनमा सहभागीता जनाउने
काठमाडौं । नेपालले पहिलो पटक विश्वका युवाहरुको सम्मेलनमा सहभागीता जनाउन लागेको छ । उक्त सम्मेलन संयुक्त राष्ट्र संघले आयोजना गरेको हो । उक्त सम्मेलनमा भाग लिन नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन् सिंह महर मंगलबार बिहान अमेरिका प्रस्थान गरेका छन् । सो सम्मेलनमा अध्यक्ष महरले विश्वमा बढीरहेको शैक्षिक युवा बेरोजगारिको बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालमा बढीरहेको युवा बेरोजगारी देशको चुनौतीका रुपमा रहेको भन्दै सम्बेलनले नेपालको युवा बेरोजगारी हटाउन रोडम्याप तयार गर्न सजिलो हुने भन्दै यो सहभागीता ऐतिहासिक हुने बताईएको छ । नेपालको प्रतिनिधी मन्डलमा अध्यक्ष महरको नेत्रित्वमा महामन्त्री सरोज कुमार थापा, र बिदेश सल्लाहकार डम्बर बि। क। समेत शाहभागी रहेको नेबिसंघ मुख्य सचिब डिल्ली हमालले जानकारी गराए। अध्यक्ष महरको टिम अमेरिकामा रहँदा उक्त स्थानमा अवस्थित नेपाली कांग्रेस जनसंपर्क समितीका नेताहरु र नेपाल बिद्यार्थी संघ अमेरिकाका बिद्यार्थीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेबिसंघ महामन्त्री सरोज कुमार थापाले जानकारी गराए ।
एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन् – प्रधानन्यायाधीश
पोखरा । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आफ्नो सम्मानमा छोरेपाटनस्थित पर्यटकीय एवं धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि उनले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको बताए । उनले भने, “एक वर्ष म्याद काटेका मुद्दा अब कुनै पनि उच्च अदालतमा हुने छैनन् ”। सो अवसरमा प्रधानन्यायाधीश पराजुलीलाई गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले अभिनन्दनपत्रसहित दोसल्लाले सम्मान गरेका थिए । पोखरा लेखनाथ महानगरपालिका-१७ का अध्यक्ष तीर्थराज अधिकारीले धार्मिक एवं पर्यटकीय क्षेत्रको आम्दानीबाट शैक्षिक विकासमा टेवा पुगेको बताए । रासस
१७ करोड १९ लाख युनिट विद्युत् खेर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ । आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो । त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर गएको भन्दै प्राधिकरणले गम्भीर चासो व्यक्त गरेको छ । चुहावट नियन्त्रणको प्रयास निरन्तर अगाडि बढे पनि उल्लेख्य मात्रामा चुहावट भइरहेको भन्दै आगामी छ महिनाभित्र परिणाम देखिने गरी चुहावट नियन्त्रण नगरे सम्बन्धित वितरण केन्द्र र क्षेत्रीय प्रमुखलाई कारबाहीको दायरामा ल्याउने प्राधिकरणले जनाएको छ । उक्त क्षेत्रीय कार्यालयलाई आव २०७२/७३ मा ८१ करोड ३१ लाख ८१ हजार ७२५ युनिट विद्युत् उपलब्ध गराएकामा १४ करोड ८४ लाख ४७ हजार ९७४ युनिट विद्युत् खेर गएको छ । सो आवमा सो क्षेत्रीय कार्यालयले ६६ करोड ४७ लाख ३३ हजार ७५१ युनिट विद्युुत् बिक्री गरेको थियो । प्राधिकरणका अनुसार गौरमा तीन करोड ७६ लाख ५२ हजार ५८१ युनिट विद्युत् खेर गएको छ । सिमरामा एक करोड ३० लाख नौ हजार ८१७ युनिट, पालुङमा ११ लाख ६८ हजार ६८९, वीरगञ्ज चार करोड ३० लाख ७८३, कलैयामा चार करोड एक लाख ७५ हजार ५८४, हेटौँडामा एक करोड ८७ लाख ५९ हजार ५४६, टाँडीमा ८३ लाख १० हजार ७२१ युनिट र भरतपुरमा ९८ लाख ४४ हजार ३३३ युनिट विद्युत् खेर गएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रले दुई प्रतिशत चुहावट घटाउनु भनेको अन्य क्षेत्रीय कार्यालयको तुलनामा दश प्रतिशतभन्दा बढी हुने भएकाले जुनसुकै शर्तमा पनि चुहावट नियन्त्रण गर्नुपर्ने बताए । प्राधिकरणले कलैया वितरण केन्द्रलाई दिएको योजनाअनुसार चुहावट घटाउन असफल भएको छ । सो वितरण केन्द्रको आव २०७२/७३ मा ५०.३६ प्रतिशत चुहावट रहेकामा आव २०७३/७४ मा ६.७० प्रतिशत बढेर ५६.७० पुगेको छ । चुहावट नियन्त्रणको कोटा पुग्यो, परिणाम देखिएन प्राधिकरणले सो क्षेत्रीय कार्यालयले गत असोजमा चुहावटको मात्रा दुई प्रतिशत घटाउन निर्देशन दिएकामा सो योजना पूरा गरेको छ । आव २०७२/७३ मा १८.२६ प्रतिशत चुहावट रहेकोमा आव २०७३/७४ मा १५.३९ प्रतिशत कायम गर्न सफल भएको छ । सो क्षेत्रीय कार्यालयले तीन प्रतिशत चुहावट घटाउन सफल भएको छ । सबैभन्दा बढी चुहावट हुने गौर वितरण केन्द्रले ८.०५ प्रतिशत घटाएको छ । आव २०७२/७३ मा सो वितरण केन्द्रको चुहावट ५३.५१ प्रतिशत रहेकामा आव २०७३/७४ मा ४५.४६ प्रतिशत चुहावट भएको छ । तोकिएको कोटा मात्रै पूरा गर्ने प्रवृत्तिले परिणाम प्राप्त हुन नसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । आव २०७३/७४ मा सिमरामा ४.७३ प्रतिशत, पालुङमा २०.३४, वीरगञ्जमा १३.४६, हेटौँडामा ११.५१, टाँडीमा १४.१३ र भरतपुरमा ६.५९ प्रतिशत विद्युत् चुहावट भएको क्षेत्रीय प्रमुख अनिरुद्र श्रीवास्तवले बताए । स्थानीय प्रहरी प्रशासनको सहयोगमा हुकिङ, अवैध चोरीजस्ता नियन्त्रणको प्रयास अगाडि बढे पनि गुणात्मक परिवर्तन नआउनु दुःखद् रहेको भन्दै आगामी दिनमा थप चुनौती महसुस गर्दै काम गर्ने बताउँछन् क्षेत्रीय प्रमुख श्रीवास्तव । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कलैया वितरण केन्द्रले चुहावट नियन्त्रणमा असफल किन भएको भन्नेमा उक्त वितरण केन्द्रका प्रमुखसँग सोधखोज भएको बताए । सो वितरण केन्द्रअन्तर्गत हेटौँडा, वीरगञ्ज औद्योगिक कोरिडोरसमेत रहेकाले चुहावट बढी देखिनु स्वभाविक रहेको प्राधिकरणको बुझाइ छ । तर औद्योगिक फिडरमा जडान गरिएको ‘टिओडी मिटर’ अध्ययनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सामान्य चोरीभन्दा औद्योगिक चोरीको मात्रा बढी हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिइएको घिसिङको भनाइ छ । रासस
सामसङले ल्यायो ‘अनबक्स ८ बेनिफिट’ योजना, मोबाइल खरिदमा ७००० रुपैयाँ छुट
काठमाडौं । सामसङ मोबाइलले ‘अनबक्स ८ बेनिफिट’ नामक योजना प्रस्तुत गरेको छ । उक्त योजना अन्तर्गत दुई मोडलका ग्यालेक्सी एस८ र ग्यालेक्सी एस८ प्लस मोबाइल खरिदमा ग्राहकले ८ प्रमुख सुविधाहरु पाउने कम्पनीले जनाएको छ । कम्पनीले थप गरेको मोबाइल सेटको कलर एस८ प्लस मा अर्किड ग्रे तथा एस८मा कोरल ब्लु, ७००० रुपैयाँ क्यास ब्याक, ब्रेकेज इन्सुरेन्स, ८ महिनासम्मको लागि एनसेल डाटा प्याक, ५० प्रतिशत छुटमा वायरलेस चार्जर, फोरजी योजना, स्मार्ट एकेडेमी तथा सर्भिस सेन्टरमा भि आइ पि सुविधा रहेका छन् । स्मार्टफोन खरिदमा ग्राहकलाई उपलब्ध हुने ८ प्रमुख सुविधाहरुः थप गरिएको दुई कलर– ग्यालेक्सी एस८ तथा ग्यालेक्सी एस८ प्लसको विद्यमान कलरका साथै अतिरिक्त दुई कलर पनि थप गरिएको छ । अब ग्यालेक्सी एस८ प्लस मिडनाईट ब्ल्याक, म्यापल गोल्ड र कोरल ब्लु का अतिरिक्त अर्किड ग्रे तथा ग्यालेक्सी एस८ मिडनाईट ब्ल्याक र म्यापल गोल्डका अतिरिक्त कोरल ब्लु कलरमा पनि उपलब्ध रहेका छन् । क्यास ब्याक– योजना अवधिभर दुबै मोडलहरुको खरिदमा ७ हजार रुपैयाँ छुट गरिएको छ । छुट पछि ग्यालेक्सी एस८ को मूल्य ८१ हजार ९०० रुपैयाँ तथा ग्यालेक्सी एस८ प्लसको मूल्य ९१ हजार ९०० रुपैयाँ हुने छ । ब्रेकेज इन्सुरेन्स– शिखर इन्सुरेन्ससँगको सहकार्यमा ६ महिनासम्मको ब्रेकेज इन्सुरेन्स सुविधा उपलब्ध रहेको छ । फिजिकल ड्यामेज तथा ब्रेकेजलाई इन्सुरेन्सले कभर गर्नेछ । सक्कल बिल सहित आवश्यक कागजात (६ महिना भित्रको बिल), फोटो सहितको आइडि कार्डको साथ सामसङ सर्भिस सेन्टरमा गई दाबी गर्नु पर्ने छ । एनसेल डाटा– एस८ तथा ग्यालेक्सी एस८ प्लसका ग्राहकलाई एनसेलसँगको सहकार्यमा ८ जिबि डाटा ८ मिहनासम्मको लागि ( मासिक १ जिबी ) प्रदान गरिनेछ । वायरलेस चार्जरको खरिदमा ५० प्रतिशत छुट– ग्यालेक्सी एस८का ग्राहकहरुले ५० प्रतिशत छुटमा ५८०० रुपैयाँको वायरलेस चार्जर प्राप्त गर्नेछन् । खरिदको लागि नजिकैको सामसङ ब्राण्ड स्टोरमा मान्य मिति सहितको खरिद बिल पेस गर्नु पर्नेछ । यो योजना स्टक रहुन्जेलसम्म वा अगस्ट महिनाको अन्तिम (जुन अगाडि सकिन्छ) त्यही सम्मलागू हुने छ । फोर जी एसएमएस क्याम्पेन – सामसङले आफ्नो एसएमएस एण्ड विन क्याम्पेनलाई निरन्तरता दिंदै एस८ तथा एस८ प्लसमा पनि समावेश गरेको छ । यहाँ ग्राहकले तत्काल रिचार्ज (रु १००० वा रु १००) वा एस८ तथा एस८ प्लसको खरिदमा १०० प्रतिशत वा ५० प्रतिशत छुट पाउनेछन् । स्मार्ट एकेडेमी– ग्यालेक्सी एस८ तथा ग्यालेक्सी एस८ प्लस मा धेरैभन्दा धेरै उपयोगी फिचरहरुछन् ।स्मार्ट एकेडेमीको प्रमुख उद्देश्य भनेकै एस८ तथा एस८ प्लसमा भएका फिचरहरुको विस्तृत जानकारी प्रयोगकर्ताहरुलाई दिनु हो । यस एकेडेमीमा प्रयोगकर्ताहरुले साधारणदेखि विस्तृत फोटोग्राफि सम्बन्धी कोर्स लिन सक्नेछन् । सर्भिस सेन्टरमा विशेष पहुँच– सुन्धारा र कमलादी स्थित २ सर्भिस स्टेशनहरुमा विशेष पहुँचको सुविधा प्रदान गरिने छ । जस अन्तर्गत कुनै लाइनमा नै नबसी सहज रुपमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
उन्नती माइक्रोफाइनान्सले आइपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्कासन गर्ने अनुमति मागेको हो । कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत आइपीओ निष्कासन गर्ने भएको छ ।