कतारमाथिकाे नाकाबन्दीले साउदी अरब, बहराइन, इजिप्ट र यूएईलार्इ व्याकफायर
दोहा । कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ । कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिए । उनले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका बेला पनि कतारमा नाकाबन्दी नरोकिएको जनाए । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जीसीसी) मा पर्ने देशहरूमध्ये कतारमा विगतका वर्षहरूको तुलनामा नै यस वर्ष पनि सबैभन्दा धेरै आर्थिक वृद्धि भएको बताए । कतारका सरकारी समाचार संस्थाहरूले सो जानकारी दिएको पनि बताइएको छ । कतारका छिमेकी देशहरूले नाकाबन्दी गरिरहेका बेलामा पनि यहाँको आर्थिक वृद्धिमा कुनै कमी नआएको उनलाई उद्धृत गर्दै दिइएको समाचारमा उल्लेख गरिएको छ । गभर्नर अल थानीले आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक वृद्धि दर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उनले जानकारी दिए । आन्तरिक राजनीतिक विवादका कारण साउदी अरब, बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्स् (यूएई) ले गएको जुन महिनादेखि नै कतारमाथी कूटनीतिक समस्या देखाएर नाकाबन्दी गरेका जारी राखेका छन् । तर त्यसका नकारात्मक असर कतारलार्इ भन्दा सम्बिन्धत देशहरूलार्इ हुन थालेकाे विज्ञहरूले अाैल्याउन थालेका छन् । कतारले आतङ्कवादी र अतिवादीहरूलाई सहयोग गरेको, उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप ती छिमेकी देशहरूको छ । नाकाबन्दी लगाएका देशहरूले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । त्यसमा इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि उनीहरूको माग छ । तर ती १३ बुँदे शर्तमा कतारले सम्झौता नगरेपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ । रासस/सिन्ह्वा –––
चिलिमे जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द, रसुवाकाे मतगणाना प्रभावित हुँदै
रसुवा । विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य आज दिउँसोेदेखि बन्द भएको छ । बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भोलि दिउँसोसम्म चालु हुने अपेक्षा राखिएको बताए । रासस
निर्धक्क भई मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आह्वान
काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोलि हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन्। भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गइरहेको छ । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् । पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । “भोलि ७५ प्रतिशतभन्दा माथि मत खस्ने आयोगले प्रारम्भिक अनुमान लगाएको छ” – पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा यादवले भने । पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका आयोगले जनाएको छ । यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् । डा यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन राजनीतिक दल र तिनका उम्मेदवारलाई पनि आह्वान गरे । मतदान गर्न जाँदा कारणवश मतदाता परिचयपत्र छुटेमा वा नष्ट भएमा त्यस्ता मतदाताको मताधिकार सुनिश्चित गरेको जानकारी पनि उनले दिए । प्रमुख निर्वाचन आयुक्त डा यादवले आयोगले अनुमति प्रदान गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट निर्वाचन आचारसंहिता र नेपालको कानून पालना हुने विश्वास व्यक्त गर्नुभयो । उनले भने, “यस निर्वाचनबाट संविधान कार्यान्वयनमा गई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेछ । त्यसैले यो निर्वाचन अन्य निर्वाचनभन्दा महत्वपूर्ण छ ।” उनले मतदाताले प्रदान गरेका मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरुपमा पुर्याउन राजनीतिक दल र तिनका उम्मेदवारलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । “जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्णरुपमा मतदान गर्नुपर्छ,” प्रमुख निर्वाचन आयुक्त डा यादवले भने । नेपालको संविधानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति, खस, आर्य, थारु, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांगता भएकालाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको बताउँदै उनले समृद्ध नेपाल बनाउने यात्रामा समाहित हुन सबैलाई अनुरोध गरेका छन् । रासस
यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्धारा सदर
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो । यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो । यादव सर्लाही निर्वाचन क्षेत्र नं ४ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार थिए । सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि बुधबारलाई बोलाएको थियो ।
गुराँस लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बुधबार एक कार्यक्रमकाबीच गुराँस लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कुमारी बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । यी दुबै कम्पनीका ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सो सम्झौता गरिएको हो । उक्त सम्झौता मार्फत कुमारी बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्सले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ । यस कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउँदै आएको जानकारी गराएको छ ।
छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा
बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन् । फाेटाे : नेशलन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । जिल्लाका साविक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो । यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह कायम छ । गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा पुग्दा स्थानीयवासी कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाउँदा छोरीप्रतिको श्रद्धा जगाउँछिन् । छोरीलाई जन्मिने बित्तिकै सम्मान जाग्ने खालको काम गर्ने शोचमा उनी र गाउँपालिकाको टिमको थियो । त्यसैले गाउँपालिकाको पहिलो परिषद्ले जन्म दर्ता गराउन आउने वित्तिकै छोरीका नाममा २० हजार रुपैयाँ बैंकमा जम्मा गराउने निर्णय गर्यो । गाउँपालिकामा निर्वाचित भएको मितिका आधारमा सोही दिनदेखि जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा २० हजार रुपैयाँ २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाले बनायो । अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै ३ लाख रुपैयाँ पुग्छ । सो कार्यका लागि १ करोड २१ लाख रुपैयाँ गाउँपरिषद्बाट विनियोजन भइसकेको छ । सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए । नेपाल भारत सीमा क्षेत्र भएकाले वारिपारी बिहेबारीको सम्बन्ध छ । अध्यक्ष केवटले भने- ‘छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही न केही रचनात्मक काम गर्नैपर्ने ठानेर यस्तो निर्णय गरेका हौँं ।’ यस्तै निर्णय सियारी गाउँपालिकाले पनि गरेको छ । गाउँपालिकाको गत साउनमा बसेको परिषद् बैठकले जन्मिने बित्तिकै छोरीको जीवन बीमा गर्ने निर्णय गरेको सो गाउँपालिकाकी उपाध्यक्ष अमिृता गुरुङले बताइन् । उनी गाउँकी अगुवा नेत्री भएकाले महिला समानता र हक अधिकारका बारेमा चिन्ता गर्थे । सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट प्रभावित उपाध्यक्ष गुरुङले गाउँमा अगुवा कार्यकर्ता भएका कारण केही न केही समुदायका लागि गर्नुपर्छ भन्ने भावना जागेकाले सो निर्णय गरिएको बताइन् । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि नै जन्म दर्ता गराउने छोरीको जीवन बीमा गरिदिने निर्णय गरेपछि सवैले उक्त निर्णयको स्वागत गरेका उनले बताइन् । सो गाउँपालिकाको करिब ३८ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषको भन्दा बढी छ । उक्त गाउँपालिका साविकका चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमुवा गाविस मिलेर बनेको हो । गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीले बीमा योजना र बीमा कम्पनीसित सम्झौताको प्रक्रिया अगाडि बढेकाले चाँडै टुंगोमा पुर्याइने बताइन् । गाउँपालिकाको निर्णयले बालविवाह रोक्नेदेखि लैंगिक हिंसा कम गर्न मद्दत पुग्ने ओमसतिया गाउँपालिकाका स्थानीयवासी जगदिश खरबिन्द बताउँछन् । उनी भन्छन्- ‘२० वर्षसम्म छोरीको नाममा राखिएको रकम ३ लाख रुपैयाँसम्म पुग्छ, यो रकमले उच्च शिक्षा अध्ययनदेखि विवाह खर्चकोसमेत जोहो हुन्छ ।’ गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ । गाउँपालिकाले विपन्न समुदायका लागि समेत औषधोपचारमा प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म सहयोग उपलव्ध गराउन शुरु गरेको छ । रासस
‘धुलोमुक्त काठमाडौं’ प्राथमिकतामा, मंसिर २७ र २८ गते उपत्यकाका सडक सफा गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौंका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्ने छ । जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौँ अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिए । “काठमाडौं उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ”, शाक्यले भने । तत्कालीन काठमाडौँ नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार)सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ । रासस
बिहेका लागि गरगहना किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुहोस्
काठमाडौं । विवाहमा मेकअप र पहिरनसँगै गरगहनापनि प्राथमिकतामा पर्न थालेको छ । त्यसैले विवाहको सिजनमा सुनका गहनाको माग बढ्ने गरेको छ । भरपर्दो लगानीका साथमा सौन्दर्यका लागि पनि उपयोगी हुनेभएकाले विवाहमा सुनको आकर्षण छ । यद्यपि विवाहका लागि गहना किन्दा ध्यान पुर्याउनु अत्यन्त आवश्यक छ । गहनाको मूल्य सुनको भाउसँगै यसको शुद्धता, बनावटको शुल्क, सुनको तौल र करको आधारमा तय गरिन्छ । ज्वेलरी पसलद्वारा बताइने सुनको मूल्य त्यसको गुणमा निर्भर रहन्छ । त्यसैले कुनै गहना छनौट गर्नुपूर्व उक्त गुणस्तरको सुनको मूल्यबारे जानकारी लिनुपर्छ । आजभोली कुनै गहनमा कृत्रिम हीरा, अर्ध-मूल्यवान पत्थर तथा कृत्रिम रंगीन पत्थर जडान गरिएको पाइन्छ । गहनाको तौलमा यस्ता पत्थरहरुको पनि तौल हुन्छ । त्यसैले ज्वेलरले सुनको मूल्य र त्यसमा जडित पत्थरको भाउ अलग्गै देखाउनुपर्छ । त्यसैको आधारमा मेकिंग चार्ज र करको गणना गर्नुपर्छ । केही ज्वेलरमा गहनाको कुल तौललाई वास्तविक तौल बताउछन् र त्यसै आधारमा मूल्य निर्धारण गर्छन् । यसले गहनालाई अनावश्यक महंगो बनाउछ । मेकिंग चार्ज एउटा अर्को महत्वपूर्ण पक्ष हो । यो तपाईंको बिलमा पनि राखिएको हुन्छ । केही ज्वेलर बिलमा प्रति ग्राम सुनमा निर्धारित दरमा मेकिंग चार्ज लिन्छन् भने केही ज्वेलरले कुल तौलको निश्चित प्रतिशतका आधारमा लिन्छन् । यसले मेकिंग चार्जमा निकै ठुलो अन्तर आउछ । गहना र लगानी दुवै उद्देश्यका साथ सुन खरीद गर्दा अधिक शुद्धता हेर्नु अत्यन्त जरुरी छ । लगानी गर्ने मात्र सोचले गहना किन्नुपर्दा पत्थर जडित गहनालाई निषेध गर्नु नै बुद्धिमानी हुन्छ । किनभने न्यून गुणस्तरको पत्थरको भाउ पछि शुद्ध सुनमा पाइने मूल्यको भाउमा कसैले पनि दिदैन ।