विकासन्युज

आश्वाः आवेदनको झण्झट हट्यो तर बाँडफाँडमा ढिलाई उस्तै

काठमाडौं । सानिमा क्यापिटलको सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोडको आवेदन पर्यो। कम्पनीले मंसिर १८ गते नै आवेदन बन्द गरेको थियो तर अझै पनि बाँडफाँड गरेको छैन । आश्वा सदस्यहरुले तथ्यांक पठाउन ढिलाई गरेकाले अझै बाँडफाँड नभएको हो । ‘आश्वा सदस्यहरुबाट आवेदनको तथ्यांक आएको छैन, अब एक हप्तापछि मात्रै बाडफाँट गर्ने तयारी गरेका छौं’, सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी भन्छन् । नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि आश्वा प्रणाली अनिवार्य गरेको थियो । आश्वा कार्यान्वयनमा आएपछि आवेदन र बाँडफाँड दुबै सहज हुने दावी गरिएको थियो । आवेदनका लागि घण्टौं लाइन बस्नुपर्ने झण्झटको अन्त्य भएको छ तर सेयर बाँडफाँडमा भने यसले खासै छिटो नतिजा दिन सकिरहेको छैन । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्-‘आश्वाले लाइन बस्नुपर्ने झण्झट समाप्त पारेको छ, तथ्यांक अद्यावधिक गर्न सहज भएर बाँडफाँड पनि चाँडै हुनुपर्ने हो, किन ढिलाई भैरहेको छ, हामी बुझ्छौं ।’ उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँड प्रक्रिया २० दिन सम्मभित्र सम्पन्न हुने बोर्डले दावी गरेको थियो । सानिमा क्यापिटलले सानिमा इक्वीटीको बाडफाँट २० दिनभित्र गर्न नसक्ने स्पष्ट देखिएको छ । हाल अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले आश्वा सदस्यता लिएर सेवा आरम्भ गरिरहेका छन् ।

पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका-२ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् । उक्त अभियानका सह-कोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म एक लाख एक हजार ६१७ रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य भौतिक विकासका लागि खर्च गरिने बताइएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् । बैतडीको सुर्नया गाउँपालिका घर भई हाल मलेसियामा कार्यरत तीलक पाण्डेले रु १० हजार, भारतमा रहेका निशान्त विष्ट र विनोद विष्टले जनही रु आठ/आठ हजार रुपैयाँ , मलेसियमा रहेका पूर्णबहादुर विष्टले छ हजार २८० रुपैयाँ सहयोग गरेका छन् । यस्तै, सुर्नया घर भई हाल मलेसिया रहेका महेश पाण्डेले छ हजार २५० रुपैयाँ, तिलक चन्दले छ हजार १५१ रुपैयाँ, मानबहादुर विष्ट पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । रासस

पाँच कम्पनीको दुई करोड बढीको सेयर सूचिकृत, क-कसको कति?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाको दुई करोड ६४ हजार ६८८ कित्ता सेयर सूचिकृत भएका छन् । सोमबार मात्रै बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । बजारमा सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । सो दिन तीन कम्पनीको एक करोड ५८ लाख २१ हजार ६८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बोनस सेयर सूचिकृत गर्ने मध्येमा एनआईसी एसिया बैंकको एक करोड ३३ लाख ८५ हजार १९५ कित्ता बोनस थपिएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ११ लाख ८ हजार ८४५ कित्ता र नागरिक लगानी कोषको १३ लाख २७ हजार ६४८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, अन्य दुई कम्पनीको ४२ लाख ४३ हजार कित्ता हकप्रद सेयर थपिएका छन् । अरुण फाइनान्सको १५ लाख कित्ता र सप्तकोशी डेभलपमेन्ट बैंकको २७ लाख ४३ हजार कित्ता गरी सो मात्राको हकप्रद नेपाल स्टक एक्स्चेञ्जमा थपिएका छन् ।

विद्युतीय ट्रान्सफरमर आपूर्तिको ठेक्का चीनियाँ कम्पनी जियाङलाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सवस्टेशनमा ठुलो विद्युतीय ट्रान्सफरम आपूर्तिको जिम्मा चीनियाँ कम्पनीलाई दिएको छ । चीनको जियाङ जिन्सियान ट्रान्सफरमर कम्पनी लिमिटेडलाई २० वटा ठुला ट्रान्सफरमर खरिदको ठेक्का दिएको हो । उसले २५ लाख २८ हजार ४४८ अमेरिकी डलरमा ट्रान्सफरमर आपूर्ति गर्ने छ ।  प्राधिकरणले विभिन्न सवस्टेशनमा जडान गर्नका लागि ठुलो ट्रान्सफरमर खरिद गर्न लागेको हो ।

इष्टर्न हाइड्रोपावरको साधारणसभा पुस २४ मा, आईपीओ निष्कासन गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्न पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धिको प्रस्ताव पेश हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने छ । सभाबाट पारित भएपछि १ वर्षभित्र आईपीओ निष्कासन हुने कम्पनीले जनाएको छ । इष्टर्नले भोजपुरमा ५ मेगावाटको पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । आउदो असारसम्म आयोजनाबाट बिजुली उत्पादन गर्ने तयारी कम्पनीको छ ।  

मेनेजर अफ द इअर अवार्डका लागि आवेदन खुल्ला

काठमाडौं । मेनेजमेन्ट एसोसियसन अफ नेपाल(म्यान)ले मेनजेर अफ द अवार्डका लागि आवेदन खुल्ला गरेको छ । म्यानले पुरुष र महिला समुहमा अवार्ड वितरण गर्दै आएको छ । कम्पनीका प्रखुम कार्यकारी अधिकृत वा सिनियर मेनेजर स्तरमा लगातार २ बर्षदेखि काम गरिरहेकाहरुले आवेदन दिन सक्ने जनाएको छ । पब्लिक, प्राइभेट, गैर सरकार संस्था वा नागरिक समाज सम्बद्ध संस्थाहरुमा कार्यरतहरुले आवेदन दिन सक्नेछन् । जनवरी १० तारिख भित्र आवेदन दिइसक्न म्यानले अनुरोध गरेको छ । आवेदकहरुमध्येबाट उत्कृष्ठ पुरुष र महिला मेनेजरलाई पुरस्कृत गरिनेछ । म्यानले नेपालमा व्यवस्थापनका क्षेत्रमा तालिम, सेमिना, गोष्ठि लगायतका गतिबिधी मार्फत क्षमता अभिवृद्धिको काम गर्दै आएको छ ।

जनता बैंकको साधारणसभा पुस २८ गते, १ अर्ब ७० लाख लाभांश बाड्ने

काठमाडौं । जनता बैंकको आठौं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा चुक्तापुँजीको १४.४० प्रतिशतले हुने १ अर्ब ७० लाख रुपैयाँ ९१ हजार रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने कार्यक्रम छ । यस्तै सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ गरी ६ जना संचालकको निर्वाचन हुने कार्यक्रम रहेको बैंकले जनाएको छ । यस्तै सभामा बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्ने, प्राप्ति गर्ने र विदेशी रणनीतिक साझेदारी भित्राउनका लागि सञ्चालक समितिलाई प्राप्त अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पेश हुने भएको छ ।  

मिसन डेभलपमेन्ट बैंकको २० प्रतिशत बोनस, पुस १६ गतेसम्म सेयर किन्नेले पाउने

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आवको नाफाबाट लगानी कर्तालाई ८ करोड ६५ लाख ४६ हजार ७ सय मूल्य बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयर वितरण प्रयोजनका लागि बैंकले पुस २७ गतेका लागि साधारण सभा समेत डाकिसकेको छ । पुस १६ गतेसम्म सेयर खरिद गर्ने लगानी कर्ताहरुले बोनस सेयर पाउनेछन् । बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ ।