तुला अधिकारी

भगौडा जनप्रतिनिधिले निम्त्याएको अस्थिरता र आर्थिक बोझ

आज संघीय संसद्का लागि प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । भाद्रको जेनजी उभारले निर्वाचित संसद् भङ्ग गरिदिए पछि हुन लागेको चुनावमा उत्साहका साथ युवा हुँकार सुनिएको छ । पूराना र नयाँ पुस्ताको सिधा लडाइँ हरेक पार्टीमा देखिएको छ । पूरानो सोच र नयाँ सोचबीचको भीडन्तको रूपमा फाल्गुन २१ को चुनावलाई हेरिँदैछ ।  संघीय संसद् जेनजी आन्दोलनले बीचैमा भङ्ग भए पनि स्थानीय तहका प्रतिनिधि र प्रदेशसभा सदस्यको पाँच वर्षे कार्यकाल बाँकी छ । तर, यसबीच राष्ट्रियसभा अनि स्थानीय र प्रदेश तहका जनप्रतिनिधिमा भगौडा प्रवृत्ति देखियो । संघीय संसद्को उम्मेदवार बन्ने भन्दै उनीहरूले कार्यकाल पूरा नहुँदै धमाधम राजीनामा ठोके । ह्वात्तै आएको यस्तो अभ्यासले संघीयताको मर्ममा प्रहार गरेको छ र यसको भविष्यमाथि चुनौती खडा गरेको छ ।  संघीय चुनावमा भाग लिन भन्दै निर्वाचित राष्ट्रियसभा र प्रदेशसभाका सांसदले कार्यकाल पूरा नगरी पद छाडे । मेयर, उपमेयर, पालिकाका अध्यक्ष, उपाध्यक्षहरूले राजीनामा दिए । वडाध्यक्षहरूले समेत सिधै संघीय प्रतिनिधिसभाको सांसद बन्ने भन्दै स्थानीय सरकार छाडे । चुनावको उत्साहका बीच संघीय शासन प्रणालीमा बामे सर्दै गरेको नेपाली सन्दर्भमा यो खबर नमीठो भयो । हुँदाहुँदा चुनाव गराउन भनेर शपथ खाएका मन्त्रीहरूले नै राजीनामा गरेर उम्मेदवारी दर्ताको लाइनमा बसेपछि झन् खल्लो भयो ।  यकिन तथ्य संकलन भइनसके पनि कम्तिमा एकसय जना भन्दा बढीले कार्यकाल अपुरो छोडेर संघीय चुनावमा हामफालेको अनुमान छ । बागमतीमा ६ जना र लुम्बिनीमा ४ जना प्रदेश सांसदले राजीनामा दिएका छन् । राष्ट्रियसभाका तीनजना सांसदले पनि प्रतिनिधिसभा पस्ने लोभमा पद छाडेका छन् । बाँकी पालिकाका दर्जनौं प्रमुख, उपप्रमुख लगायतले राजीनामा गरेका छन् ।  आफ्नो कार्यकाल पूरा नगरी जनप्रतिनिधिले बीचैमा छाडेर बढुवा वा सरुवा हुन खोज्नु अनैतिक मात्र होइन जनमतको अपमान पनि मानिन्छ । यसले राजनीतिक अवसरवादी प्रवृत्ति मात्र होइन, संघीय संरचनाको आधारभूत मानसिकतालाई नै प्रश्नको घेरामा ल्याइदिएको छ । जनप्रतिनिधिमा निर्वाचित भएपछिको पहिलो काम नै जनताको सेवा गर्ने भनी शपथ लिनुपर्छ । तर, उनीहरूले बीचैमा पद छाडेर अन्यत्र मोडिँदा आलोचना र चिन्ता सुरु भएको छ ।  सबैभन्दा उदेकलाग्दो कुरा त यो छ कि कार्यकाल पूरा नगरी बीचैमा राजीनामा दिने कुनै पनि जनप्रतिनिधिले बाँकी कार्यकाल पूरा गर्न नसकेकोमा आफूलाई मत दिने मतदातासँग माफी माग्नसमेत जरुरी ठानेनन् । अनि उनीहरूले चुनावमा गरेका वाचामध्ये कति पूरा गरे र कति के कारणले बाँकी रहे वा कुन अवस्थामा छन् औपचारिक रूपमा बताउन पनि आवश्यक ठानेनन् ।  नेपालको संघीय लोकतन्त्रले प्रदेश, स्थानीय र संघीय तहहरूलाई स्पष्ट अधिकार र जिम्मेवारी दिएको छ । संविधानको धारा २१५ र २१६ मा निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षको कार्यकाल तोकिएको छ । नेतृत्व र नीतिमा स्थिरता बनोस् र जनताको विश्वास कायम होस् भनेर यस्तो सुनिश्चितता बनाइएको हो ।  जेनजीको आन्दोलनपछि आममानिसले नयाँ शैली, जवाफदेही र पारदर्शी नयाँ नेतृत्वको चाहना राखेका छन् । तर, कतिपय आशा गरिएका युवाहरूले नै कार्यकाल बीचमै छोडेर चुनाव लड्न थाल्दा विरोधाभाष बनेको छ । यसले युवाहरूको आशा र आन्दोलनको उद्देश्यमा द्वन्द्व उत्पन्न गर्न सक्ने जोखिम छ । राजीनामा गर्नेहरूको ठूलो संख्याले आन्दोलनपछिको राजनीतिक चेतना, युवा आकांक्षा र संस्थागत रीतलाई कमजोर बनाउने डर उत्पन्न गरेको छ । यो अभ्यासले नेपाली उखान ‘बुढी मरेको भन्दा पनि काल पल्केको पीर’जस्तो बन्ने चिन्ता बढाएको छ । यस्तो अवसरवादले जनअपेक्षा पूरा गर्नका लागि सही परिणाम दिन सक्तैन ।  चर्चामा रहेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरका मेयर हर्क साम्पाङ, भरतपुर महानगरकी मेयर रेणु दाहाल लगायतले आफ्नो कार्यकाल बाँकी रहँदा पद छाडेर संघीय संसदको दौडमा भाग लिए । उनीहरू धेरैले आशा गरेका र आफ्नो पालिकामा राम्रो गरिरहेका प्रतिनिधि हुन् । काभ्रेको धुलिखेल नगरपालिकामा लगातार दुईपटक चुनाव जितेका मेयर अशोककुमार ब्याञ्जुले पनि दोस्रो कार्यकाल बीचैमा छाडेर संघीय संसद ताके ।  यसैगरी, प्रदेशसभा सदस्य सतिशकुमार सिंह, सरोजकुमार यादव र युवराज दुलालजस्ता कैयौं नेताहरूले पनि पद छाडेर संघीय चुनाव रोजेका छन् । त्यस्तै, प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न भन्दै वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिए । जेनजी आन्दोलनपछि गठित चुनावी सरकारका तीन मन्त्रीले पनि प्रतिनिधिसभाको उम्मेदवार हुन मन्त्री पद छाडे । ऊर्जामन्त्री कुलमान घिसिङबाट सुरु भएको राजीनामाको लहरमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता थपिए । शिक्षामन्त्री महावीर पुनले पनि आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका छन् ।   यसरी देशभर दर्जनौं जनप्रतिनिधिले आफ्नो कार्यकाल पूरा नगरी संघीय संसदमा बढुवा चाहेका छन् । यसरी भोलिका दिनमा यस्तो प्रवृत्ति ह्वात्तै बढ्न सक्ने सम्भावना बढेको छ । जनताले आफ्नो क्षेत्रमा निश्चित वाचा गरेका प्रतिनिधिलाई निश्चित अपेक्षाका साथ चुनावमा भोट हालेका हुन्छन् । त्यो तुहिँदा उनीहरूमा जनप्रतिनिधिप्रति वितृष्णा बढ्ने र समग्र लोकतन्त्रमा नकारात्मक छाप पर्ने निश्चित छ।  नेतृत्वको निरन्तरता टुट्दा परियोजना कार्यान्वयन, प्रशासनिक स्थायित्व र नीति निरन्तरतामा बाधा पुर्याउँछ । निर्वाचन आयोगको आचारसंहिता २०८२ का अनुसार यदि कुनै निर्वाचित सदस्यले संघीय प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गर्छ भने स्वतः आफ्नो पुरानो पदबाट मुक्त हुन्छ । त्यसैले उम्मेदवारी दर्ता अघि राजीनामाको लहर चलेको हो ।  बाँकी कार्यकाल एक वर्षभन्दा बढी छ भने स्थानीय तहका पदको लागि उपनिर्वाचन गर्ने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको हकमा ६ महिनाभन्दा बढी कार्यकाल बाँकी छ भने सोही तहको उपनिर्वाचन गरिनु पर्ने कानुनी प्रावधान छ । अहिले राजीनामा दिनेहरूको हकमा सबै ठाउँमा उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता छ ।  उपनिर्वाचन लोकतान्त्रिक अभ्यास भए पनि आर्थिक अवस्था जर्जर भएको नेपालको सन्दर्भमा यो चुनौतीपूर्ण देखिन्छ । चुनावी प्रचार–सञ्चार, सामग्री, यात्रा, सञ्चार, जनसम्पर्क, सुरक्षा लगायतमा करोडौं खर्च हुन्छ । यस्तो खर्च सबै जनताको करबाटै हुने हो । अनि यो बेकारको खर्च आइलाग्ने अवस्था हो । यो खर्च झट्ट सामान्य लागे पनि राज्यकोषमा हरेक उपनिर्वाचनका लागि करोडौं खर्च हुँदा स्थानीय क्षेत्रका विकास कार्यक्रम, स्वास्थ्य, शिक्षा तथा निर्माणको स्रोत काटेर नचाहिँदो रहरमा खर्च गर्नुपर्ने बाध्यता बन्छ ।  पछिल्लो जेनजी आन्दोलनले नेपाली राजनीति, विशेषगरी युवावर्गको चेतनामा उथलपुथल ल्याउँदा उनीहरूको समझ बदलिएको छ । उनीहरूले नेतृत्व केवल पदको लागि हो वा जनताको भावना र अपेक्षा पुरा गर्नका लागि भनेर सिधा जवाफ खोज्न थालेका बेला यो प्रवृत्ति नसुहाउँदो देखिएको छ ।  संविधानसभामार्फत आएको नेपालको संघीय प्रणाली केवल संरचना होइन, यो संस्कार, जवाफदेहिता र स्थिर नेतृत्वको सामूहिक प्रतिज्ञा हो । जनप्रतिनिधिको पद जनताको सेवा, जिम्मेवारी र परिणामका लागि हो । यो अवसर खोजिरहनका लागि मात्र होइन । आँगनका अधिकार सम्पन्न स्थानीय निकाय र नजिकका प्रदेश सरकार छोडेर टाढाको संघीय सरकार ताक्नु उन्नत संघीय व्यवस्था प्रतिकूल धारणा हो भन्ने बुझ्न आवश्यक छ । नत्र संघीय संरचना र जनतासँगको विश्वासमा गहिरो असर पार्दै जान सक्छ ।  यसैले उपनिर्वाचन, राजीनामा र चुनावी व्यवहारलाई केवल कानुनी प्रावधानको औपचारिकता भनेर नहेरी, समाजका अपेक्षा, आर्थिक बोझ, समयको नास र नेतृत्व संस्कारका दृष्टिले पुन: मूल्यांकन गर्नु आवश्यक छ । पाँच वर्षका लागि दिएको मत बीचमै परित्याग गर्नु भनेको जनताको निर्णयलाई अस्थायी ठान्नु हो । यस्तो अभ्यासलाई राजनीतिक अवसरवादको रूपमा विश्लेषण गर्न सकिन्छ । पदावधि बाँकी रहँदा सम्बन्धित क्षेत्रमा उपनिर्वाचन गराउनुपर्छ र यसको सम्पूर्ण खर्च राज्यले बेहोर्छ । तर संविधानले स्पष्ट रूपमा कार्यकाल बीचमै चुनावमा जानु उचित हो कि होइन भनेको छैन । यसले नेताहरूलाई अवसरको फाइदा उठाउन सजिलो बनाएको छ । आउने दिनमा यसबारे छलफल चलाएर एउटा धारणा बनाउन जरुरी छ ।  संघीयताविद डा. खिमलाल देवकोटा पनि जनताबाट पाँच वर्षका लागि अनुमोदित हुने तर कार्यकाल पूरा नगरी राजीनामा दिनु एकदमै गलत हो भन्छन् । एउटै व्यक्तिलाई धेरै ठाउँमा राज्यले बोक्न नसक्ने भन्दै अब आउने सरकारले यसमा कानुनी वा संवैधानिक रुपमा रोक्नुपर्ने उनको भनाइ छ ।  विदेशतिर संघीय देशमा यस्तो अभ्यास अपवाद मानिन्छ । जर्मनीमा स्थानीय तथा प्रादेशिक प्रतिनिधिले कार्यकाल पूरा गर्नु नै राजनीतिक र नैतिक आदर्श मानिन्छ । क्यानडा र अष्ट्रेलियामा पनि स्थानीय र प्रादेशिक तहलाई संघीय राजनीतिमा पुग्ने ‘छोटो बाटो’का रूपमा हेरिँदैन । भारतमा पनि राज्य वा स्थानीय नेता सामान्यतया आफ्नो कार्यकालको अन्त्यतिर मात्र संघीय चुनावमा भाग लिन्छन् । यी अभ्यासले देखाउँछ कि संघीयता केवल संरचना मात्र होइन, संस्कार र जवाफदेहिताको नैतिक बन्धन पनि हो ।  पूर्वशिक्षामन्त्री विद्या भट्टराईले स्थानीय तह पाँच वर्षका लागि सुरक्षित भए पनि आफ्नो कार्यकाल पूरा नहुँदै धमाधम राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिनु लोकतान्त्रिक मूल्य, विधि र मान्यताविपरीत होइन र भन्दै प्रश्न उठाएकी छिन् । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विचारमा स्थानीय सरकार कुनै ट्रान्जिट पोइन्ट होइन ।  नेपालमा नेतृत्वको स्थायित्व, नीतिको निरन्तरता र उत्तरदायित्वको संस्कार अझै संस्थागत हुन सकेको छैन । कार्यकाल बीचैमा छोडेर चुनाव लड्ने प्रवृत्तिले केवल नेतृत्वलाई कमजोर पार्दैन, जनताको विश्वास र संघीय संरचनाको स्थायित्वमाथि प्रश्न उठाउँछ । उपनिर्वाचनको खर्चले राज्यकोषमा अनावश्यक भार थप्ने भएकाले यस अभ्यासलाई नीति, कानुन र नैतिकताको दृष्टिले रोक्न आवश्यक छ । त्यसका लागि आवश्यक व्यवस्थाका बारेमा अब बहस चलाउन ढिला गर्नु हुँदैन ।

माघमा यसरी बनाउँछन् थारु समुदायले वार्षिक बजेट

माघीको रौनकसँगै थारु बस्तीमा गुञ्जिन थाल्छ, ‘सखिए हो ! माघक् पिलि गुरि जाँर !’ यो पिलीगुरी जाँरको रमाइलो र खानपिनसँगै थारु समुदायमा एउटा गज्जबको परम्परा नियमित छ । त्यो हो– सकिएको वर्षको आर्थिक समीक्षा गर्ने र आउने वर्षको आर्थिक योजना बनाउने ।  थारु समुदायले यसैबेला वर्षभरिका लागि खर्च हुन सक्ने विषय केलाउँछन् । त्यसका लागि तारतम्यको योजना बनाउँछन् । पुरानो हरहिसाब मिलाउने, दुरुस्त गर्ने, खर्च र आम्दानीको तारतम्य जोड्ने काम यसै बेला घरका बुज्रुकले गर्छन् ।  घरको बुज्रुकले योजना बनाउनु अघि घरका सबै सदस्य एक ठाउँ बसेर छलफल गर्छन् । पुषको चिसोमा आगोको तातो वरिपरि भेला भएर सबैले आ–आफ्ना मनका कुरा सुनाउँछन् । योजना सुनाउँछन् । रहर सुनाउँछन् । अनि प्राथमिकता र घरको गच्छे हेरिकन बुज्रुकले खर्च र आम्दानीको मेसो आँकलन गर्छन् । यसरी बुज्रुकले सबैका कुरा सुनेपछि तय गरेको वर्षभरिको योजना र हिसाबकिताब परिवारका सदस्यले सहर्ष स्वीकार गर्छन् ।  सामूहिक हरहिसाबको छिनोफानो चाहिँ गाउँका अगुवाहरू बसेर गर्छन् । सरकारले जेठ–असारमा बजेट ल्याएजस्तै संघसंस्थाहरूले वार्षिक साधारणसभामा आम्दानी–खर्चको छलफल चलाएजस्तै हो– थारुका लागि माघ । ‘थारु समुदायमा माघमा आर्थिक विषयहरूमा छलफल गरेर किनारा लाउने परम्परा छ’ – थारु संस्कृतिका अध्येता कृष्णराज सर्वहारी भन्छन् । पश्चिम नेपालमा बाक्लो बसोबास रहेको यो समुदायको सबैभन्दा ठूलो पर्व माघ हो । माघ थारुहरूको खानपिन र नाँचगानको पर्व पनि हो । तर यो नाचगान र खानपिनमा मात्रै सीमित चाहिँ हुँदैन । थारु समुदायको गाउँ सञ्चालनको प्रक्रियादेखि घरव्यवहारको वार्षिक खाका तय गरिने पर्व पनि माघ हो । ‘माघमा गाउभरिका गरढुरिया (घरमूली)हरूको कचहरी बस्छ । ‘भुरा खेल’ भनिने यो कचहरी माघको पहिलो साताभित्र सम्पन्न भइसक्छ । कचहरीमा गाउँका अगुवा बरघर र मटहवाले वर्षदिनको आयव्यय सुनाउँछन् ।  पहिले–पहिले अधिकांश काम जनश्रमदानबाट हुने भएकाले यस दिन कामको योजनामा मात्रै छलफल केन्द्रित हुन्थ्यो । अब त्यसका लागि बजेटको योजना र बजेट माग गर्ने प्रक्रियामा पनि छलफल हुन थालेको छ । थारु अगुवा एकराज चौधरी भन्छन्, ‘योजना छनोट र बजेट माग गर्ने स्थानीय सरकारको आफ्नै विधि र प्रक्रिया भएकाले माघमा थारुहरूको यो परम्परालाई समाहित गर्न पहल भैरहेको छ ।’  पुष मसान्तका दिन सुँगुर मारेर ढिक्रीलगायत परिकारसँग जाँडको डब्कोमा रमाउँदै, गाउँदै, मघौटा नाच्दै माघीलाई स्वागत गर्छ थारु समुदायले । पङ्तिकारको बाल्यकाल बर्दियाको थारु समुदायमा हुर्केकाले माघका सम्झना ताजै छन् । माघ नलाग्दै माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँचको तयारी थारु गाउँमा सुरु हुन्थे । अनि माघका अवसरमा उनीहरू टोलभरिका घरमा नाचगान गरेर दक्षिणा उठाउन आउँथे । थारु बठनियाँ (युवती) र युवाहरू लोभलाग्दो थारु पोषाक र गरगहनाले छोपिएका हुन्थे । हातैले बुनेको थारु लेहेङ्गा र चोलियामा खुलेका थारु युवतीहरू थारु गरगहनाले सिँगारिएका हुन्थे । सबै युवतीहरूको एकैखाले पोसाक हुन्थ्यो ।  थारु पुरुषहरूको कम्मरमा मादल भिरिएको हुन्थ्यो । विशेष पहिरनमा सजिएर जोशका साथ मादल बजाउँदै, उफ्रँदै उनीहरू नाचिरहेका हुन्थे । मादलको तालमा गीत गाउँदै सामूहिक थारु नृत्यका नयाँनयाँ बान्की पस्किन्थे । थारु बठनीयाहरू उल्टो फर्किएर जमीनबाट मुखले च्यापेर पैसाका ढ्याक र आँखाको परेलाले च्यापेर नोट टिप्ने कौशल देखाउँथे । उनीहरूको यस्तो चटक हामी केटाकेटीका लागि जादूजस्तो अचम्मको लाग्थ्यो ।  रहर र पैसा हुनेले आँगनमा विच्छ्याएको टालोमा रुपैयाँ फालेर टिप्न हौस्याउँथे ।  माघमा छिमेकी किसानका घरमा थारुका मौलिक परिकारहरू तयार हुन्थे । पात गाँसेर बनाएका दुना–टपरीमा परिकार पस्किने चलन थियो । आँगनभरि भुइँमा पलेटी कसेर रमाउँदै उनीहरू परिकार खान्थे । हामी केटाकेटी पनि उनीहरूसँगै माघमिलनमा सामेल हुन्थ्यौं ।  माघको दिन विहानै नुहाउने चलन अरू समुदाय जस्तै थारुको पनि हो । यस दिन थारु समुदायले माघ नुहाएपछि पैसाका ढ्याक हुर्याउने परम्परा पनि थियो । नदी किनार, थारु बस्तीका कुवा छेउछाउ उनीहरू नुहाउन जुट्थे । उनीहरूले गच्छेअनुसार हुर्‍याएका पैसाका ढ्याक टिप्न केटाकेटीको लर्को लाग्थ्यो ।  ढिक्री, अनदीको भात र जाँर बनाउने तयारी पुषको मध्यतिरैबाट सुरु गर्थे । सुँगुरको मासुको जोहो त छुटाउने कुरै भएन । माछा र सुँगुरको मासु भएन भने त चाड आएजस्तै हुँदैन थारु समुदायमा । अनि जाँर झन् नभै भएन । थारुका देउतालाई समेत जाँर चढाइन्छ । माघ सन्दर्भका भाकाहरू तानतुन गर्ने, सम्झिने, तयारी गर्ने र ‘रिहर्सल’को काम पनि गाउँमा पुषको मध्यबाटै चल्थ्यो ।  माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विशेष गीतको रूपमा लिइन्छ । माघीका गीतले माघ आगमनको संकेत गर्नेदेखि मनभित्र गुम्सिएर रहेका पीडाहरूलाई पनि बिर्साउँछ । यसरी नै धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरूसँग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ भन्ने थारु अगुवाहरूको भनाइ छ ।  यस अवसरमा गाउँका साझा समस्याका बारेमा छलफल गरिन्थ्यो । नयाँ कामका योजना बन्थे । नयाँ थिति बनाइन्थ्यो । गाउँको बडघरदेखि चौकीदारसम्म चुनिन्थ्यो । वर्षभरिका लागि कामको जिम्मेवारी तोकिन्थ्यो ।  लेनदेन घरसल्लाह लगायतका आर्थिक कुरा जोडिने भएकोले माघलाई नयाँ आर्थिक वर्षको रूपमा लिने पुरानै चलन हो । यसैगरी खानपिन र नाचगानको पर्व पनि भएकाले सद्भाव र सांस्कृतिक पर्वको रूपमा पनि माघलाई लिइने पाका थारु सञ्चारकर्मी एकराज बताउँछन् ।  माघको मेसोमा थारु गाउँ आसपासमा गजबको रौनक हुन्थ्यो । माघको तयारी मध्य पुषदेखि नै सुरु भए पनि पुसको अन्तिम दिनदेखि खास रमझम् सुरु हुन्थ्यो । विहानैदेखि मासुको जोहोमा थारु पुरुषहरू जुटिसक्थे । थारु भाषामा ‘सुवर–मर्ना’ भनिने यसदिन बिहानैदेखि कुलो तलाउमा माछा मार्ने र सुंगुर मार्ने काममा उनीहरूको चटारो हुन्थ्यो ।  साँझ परेपछि थारु साथीहरूसँग सुँगुरको मासु, माछा सँग जाँर खाँदै ‘ढमार’ गीत सुन्न खुब रमाइलो हुन्थ्यो । यही गीत गाउँदै उनीहरू माघ पर्वको प्रारम्भ गर्थे । थारु समुदायमा सुंगुरको मासु विशेष मानिन्छ ।  माघ १ गते खास दिन भैहाल्यो । राति भाले बासेपछि थारु महिलाहरू उठेर ढिक्री÷रोटी बनाउन जुट्थे । अनि साह्रा मानिस ढमार गाउँदै, मादल बजाउँदै नदी, कुलो, कुवा जे छ त्यही नुहाउन जान्थे । उनीहरू ‘कुवँरवर्ती’ अर्थात् जलदेवीसँग पानीमा डुबुल्की मार्दै आफ्ना दुःख, सुख र माग सुनाउने गर्थे ।  नुहाइवरी चामलको सेतो पिठो र तीलको छन्टी लाएर फर्किन्थे । गाउँका थारु अगुवाहरु भन्थे, ‘मानिसले स्वतन्त्र रूपमा माघ मनाए झैं पहिले–पहिले घरमा पालिएका सुंगुर, भेडा, गाईगोरु, राँगाभैंसी जस्ता पशुचौपाया पनि फुका छाडिन्थे । कसैको बाली नोक्सानी गरे पनि त्यसदिन माफी हुन्थ्यो ।’  माघको दोस्रो दिन ‘खिच्रहवा’का रूपमा मनाउँदै खिचडी खाने चलन छ । यो दिन सानाठूला सबैले मनमा लागेका कुरा खुलेर बोल्न पाउने दिन मानिन्छ । घरभित्रको यसदिनको छलफलमा आफूलाई बिहे गर्न मन लागेको कुरा भन्न पनि लाज वा डर नहुने थारु साथीहरूले सुनाउँदा अन्य समुदायका हामी अचम्म मान्दै ट्वाल्ल पथ्र्यौं ।  यो दिन उनीहरूले घरको कामको जिम्मा तोक्ने, बिहेबारीको टुंगो गर्ने, बसाइँसराइँको सल्लाह गर्ने, घर छुट्टिने बारे कुरा गर्ने गर्थे । अधिया–बटैया लिने–दिने, मनमुटावका सवाल भए मिलापत्र गर्ने, लेनदेन मिलाउने लगायत घरायसी छलफल गर्थे । हरेक माघमा यसैगरी यी विषयमा टुंगोमा पुग्ने थारु समुदायको चलन अनौठो लाग्थ्यो । माघको तेस्रो दिन गाउँमा विशेष जमघट हुन्थ्यो । यसलाई ‘ख्याल’ बस्ने पनि भनिन्छ । गाउँका सबै जाति र समुदायका मानिस यसमा भेला हुन्थे । अन्य समुदायका हाम्रा बुवाहरूसमेत यस्तो बृहत भेलामा जान्थे । भेलामा प्रत्येक घरबाट एकजनाको अनिवार्य उपस्थिति बोलाइन्थ्यो । त्यसैबेलामा नै अर्को वर्षका लागि गाउँका वडघर चुनिन्थ्यो । पहिलेपहिले थारु समुदायबाट मात्रै बढघर भए पनि पछिपछि अन्य समुदायबाट पनि बढघर छानिन थालेका थिए । अचेल त थारु समुदायको जनसंख्या बढी भएका कतिपय पालिकाहरूले ‘बडघर ऐन’ बनाएरै यसलाई अपनत्व लिएका छन् ।   अगुवा चुनिएपछि कुलापानी हेर्ने पन्हेर्वा, घरघरमा सूचना पुर्‍याउने चौकीदार पनि चयन गरिन्थ्यो । बैठकमा गतवर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठलगायत साझा कामसम्बन्धी समीक्षा हुन्थ्यो । यस्तो काममा नजुट्नेलाई रुपैयाँ वा अन्नपातको सजाय लाउने चलन थियो । ‘खारा’ उठाउन भन्दै तोकिएको ‘फाइन’ उठाउन टोली घरघर हिँड्थ्यो । स्कुले समय थारु सँघारी (साथी)हरू सँगै बित्यो । एसएलसीपछि पढाइका लागि गाउँ छाडेपछि थारु समाजको संगत छुट्यो । उनीहरूको संस्कृति र रहनसहन पनि अब त आधुनिक भैसक्यो सायद । साढे तीन दशकभन्दा अघिको त्यो थारु समुदायको परम्परा अहिले कति बाँकी छ र कति फेरियो कुन्नि ? पाकापुस्ताबाट नयाँपुस्तामा यो संस्कृति र परम्परा सर्दै आएको हो । पछिल्ला वर्षहरूमा यसको अध्ययन र दस्तावेजीकरणका लागि पढेलेखेका र रुचि भएका थारु अगुवाहरू जुटेका छन् । आउने पुस्ताका लागि रेकर्ड गर्ने र प्रकाशन गर्ने कार्य पनि सुरु भएको सञ्चारकर्मीसमेत रहेका एकराज चौधरीको भनाइ छ । बर्दियामा रहेको उनी संलग्न रेडियो गुर्वावाले यस्तो काम गरिरहेको छ ।  हुन पनि समयसँगै अहिले माघ मनाउने शैली फेरिँदै गएको छ । माघ पर्व माघी भैसकेको छ । गाउँका घरआँगनमा सामूहिक नाचगान गरेर मनाइने माघ अहिले सहरको मञ्चसम्म पुगिसकेको छ । राजधानीलगायत सहर र विदेशमा रहेका थारु समुदायले पनि महोत्सवको रूपमा मनाउन थालेका छन् । गाउँ छोड्नेले आफ्नो परम्परा पनि बिर्सँदै जान थालेको चिन्ता एकराजको छ ।  माघ पर्वलाई ठाउँअनुसार थारु समुदायले माघ, खिचरा, तिला संकराइत भनेर मनाउँछन् । मगर समुदायले माघे सकराती र अन्य समुदायहरूले माघे संक्रान्ति अथवा मकर संक्रान्तिका रूपमा मान्छन् ।  केही वर्षयता सहरतिरका कार्यक्रममा र केही गीतहरूमा समेत माघी पर्वका रूपमा यसलाई चिनाइएको पाइन्छ । ‘थारु समुदायको माघ नै मौलिक पर्व हो, माघी होइन’– थारु संस्कृतिका अध्येता तथा पत्रकार सर्वहारी भन्छन्।  सरकारले २०५७ साल साउन २ गते कमैया प्रथा उन्मूलन घोषणा गर्यो । त्यसै वर्षको माघ १ गतेदेखि कार्यान्वयनमा ल्याइएकाले यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत थारु समुदायमा मनाउन थालिएको छ ।  पश्चिम नेपालमा त्यसअघि थारु समुदायमा कमैया बस्ने प्रथा थियो । जीविकाका लागि आफ्नो जमीन नहुनेहरू अरुको घरमा वर्षभरिका लागि कमैया बसेर खेती गर्ने र उत्पादनको तीनमध्ये एक भाग पाउने परम्परा थियो । कमैयाको सौंकी (धरौटी रकम) माघमा पुरानो मालिकलाई नयाँ मालिकले तिरिदिएर वर्षभरिका लागि पक्का गर्ने चलन थियो ।  यसरी खानपिन, नाचगान मात्र होइन, आर्थिक हरहिसावको पर्वका रूपमा पनि थारु समुदायले परम्परादेखि माघ पर्वलाई मान्दै आएका छन् । आज माघ १ गतेकै दिनदेखि थारु समुदायको नयाँ वर्ष २६४९ पनि सुरु भएको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा झण्डै १८ लाख बढी थारु जनसंख्या छ । 

जेनजी भाइबहिनीका नाममा

विद्यार्थी उमेरका लगभग सबैजसोको चाहना भविष्यमा डाक्टर, इञ्जिनियर, बैंकर वा यस्तै केही बन्ने सुनिन्छ । नेता बन्ने सपना अपवादमा पाइएला । यस्तै, राजनीतिक घटनाक्रममा चासो पनि बहुतै कम युवाले दिन्छन् ।  यस्तो पृष्ठभूमिमा गत स्थानीय चुनावमा काठमाडौं महानगरको सर्वोच्च पद मेयरमा युवा बालेन शाहको उदय चानचुने जीत थिएन । स्वतन्त्र उम्मेदवारका रूपमा जित्ने बालेन मात्र अवश्य होइनन् । कैयौंले जितेका थिए । जित्ने छन् । तर, बालेनलाई मतदाताले नभइ युवाले जिताएका थिए । देशविदेशमा रहेका युवाहरूले आफ्ना आफन्त, नातागोता, साथीभाइ सारालाई ‘अरू जे गर, बालेनलाई एक भोट लौरोमा देऊ’ भनेर आफ्नो तर्फबाट सकेजति प्रयास गरे । सूचना प्रविधिको जोडदार उपयोग बालेनकै लागि प्रयोग गरे ।  यस्तो भयो कि जेनजी उमेरका सारा युवाहरूको अभियान नै बालेन जिताउने भयो । नयाँ केटाकेटीले ठीकै भनेका त होलान् नि भनेर उनीहरूको मन राख्न पनि काठमाडौंका वृद्धवद्धा उमेरका मतदाताले पनि लौरोमा भोट हाले । बालेनले काठमाडौंको सडकको पार्किङ व्यवस्थापन र सार्वजनिक सम्पत्तिमाथि पहुँचवालाको रजगज धमाधम भत्काउन थालेपछि उनको लोकप्रियता झन् चुलियो । आशा झन् बढ्यो । बालेनका कारण नेता त यस्तो हुनुपर्छ भन्दै राजनीतिमा युवाहरूको सहभागिता खोज्न उनीहरू प्रेरित हुन थालेका थिए ।  भाद्र २३ गतेको नरसंहार र २४ गतेको जेनजी विद्रोहपछि यो उमेर समूह राजनीतिमा यस्तरी तानियो कि दशकौंदेखि सत्ताबागडोर सम्हालेका दलहरूलाई सडकमा पछारेर सरकार बनाउने हैसियतमा दरियो । त्यसयता राजनीतिको केन्द्रमा युवा समूह त्यसमा पनि जेनजी समूह छ । समग्रमा राजनीतिप्रतिको चासो, चिन्तासहित राजनीतिमा युवा सहभागिता बढ्नु सुखद छ । सँगसँगै केही सवालमा गम्भीर चिन्तन पनि जरुरी छ । किनभने चुनाव आउँदैछ, उम्मेदवारहरूको अनुहार सामने आउन थालेको छ । कसलाई अनि किन छान्ने भन्ने सवालको सही समीक्षा बेलैमा हुन जरुरी छ।  प्रिय जेनजी भाइबहिनीहरू ! देशभित्र हामी बहस गर्छौं । बाझिन्छौं । सवालहरूमा सहमत वा असहमत हुन्छौं । यो लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । आन्तरिक राजनीतिमा मतभेद हुनु गलत होइन । बहुलवाद स्वीकारेको शासन व्यवस्थामा फरक मतको सम्मान गर्दै अघि बढ्ने हो । निर्णय बहुमतकै कार्यान्वयन हुने हो । समयसँगै मन मिल्छ, सवाल मिल्छ र आन्तरिक सहमतिहरू बन्दै जान्छन् । यो लोकतन्त्रको जीवन्त प्रक्रिया हो । यत्ति हो कि बहुमतलाई निरंकुश वा गलत बाटोमा जानबाट रोक्न बलियो विपक्षी चाहिन्छ । संसदमा पनि सडकमा पनि ।  यति हुँदाहुँदै पनि एउटा कुरा कहिल्यै बिर्सन मिल्दैन । आन्तरिक मामिला र बाह्य मामिलाको फरक र यसको दूरगामी महत्त्व । त्यसैले परराष्ट्र नीति र कुटनीति देशभित्रको भावनाले होइन, गहिरो समझले चल्नु पर्छ । क्षणिक लोकप्रियवाद भन्दा यो माथि हुन्छ । यसले सत्तामा कुन पुस्ता वा कुन दल वा कुन विचार आयो त्यहीअनुसार रङ फेर्ने छुट पाउँदैन । यो साझा अनि दिगो र अनुभवमा आधारित हुनु पर्छ ।  आन्तरिक राजनीति सुधार्न समय पाइन्छ, तर गलत परराष्ट्र निर्णयको मूल्य पुस्तौंले चुकाउनुपर्छ । शासकहरूले परराष्ट्र सम्बन्धमा सन्तुलन मिलाउन नसक्दा अहिले केही देशका नागरिकहरू र देशको समेत भविष्य अन्यौलमा फसेको, लाखौं मानिस बिचल्लीमा परेका र हजारौं निर्दोषले ज्यान गुमाउन बाध्य भएका ताजा उदाहरणहरू छन् । विश्व इतिहासले यसको चेतावनी बारम्बार दिएको छ । छिमेकी देशहरूसँगको सम्बन्ध, भू-राजनीतिक सन्तुलन, आर्थिक निर्भरता र सामरिक अवस्थाबारे मसिनो ज्ञान नहुँदा धेरै देशहरू लोकप्रिय नारामा उदाएका नेताका कारण संकटमा परेका छन् । जनतामाझ अत्यन्त लोकप्रिय हुँदै उदाएका तर विदेश नीति सन्तुलित बनाउने दक्षता नराख्दा देशलाई भड्खालोमा हालेका उदाहरणहरू धेरै छन् । युक्रेन, भेनेजुयलालगायत देशका ताजा अवस्था जगजाहेर छ ।  नेपालजस्तो सानो, भू-राजनीतिक रूपमा संवेदनशील देशका लागि परराष्ट्र नीति झन् गम्भीर विषय हो । हामी दुई ठूला छिमेकीबीच छौं । हाम्रो अर्थतन्त्र, रोजगारी, सुरक्षा र कूटनीतिक अस्तित्व छिमेकीसँगको सम्बन्धसँग गहिरो रूपमा गाँसिएको छ । यस्तो अवस्थामा राष्ट्रवादको खोक्रो नाराले होइन, इतिहास, कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञानले मात्र देशलाई सहज रूपमा अघि बढाउन बल मिल्छ ।  त्यसैले आजको नयाँपुस्ताले केवल आन्तरिक राजनीतिमा सीमित सोच राखेर पुग्दैन । देशको संविधान पढेजस्तै, ऐन–कानुन बुझेजस्तै, परराष्ट्र नीति, छिमेकीसँगको सम्बन्धको संवेदनशीलता र विश्व राजनीतिबारे पनि जानकार हुनुपर्छ । विदेश नीति नबुझ्ने नेतृत्व देशभित्र लोकप्रिय भए पनि देशको वृहत्तर भविष्यका लागि घातक बन्न सक्छ भन्नेमा बेलैमा सजग हुनुपर्छ ।   नयाँपुस्ताको खबरदारी केवल भ्रष्टाचार र सत्ता राजनीतिमा सीमित भएर पुग्दैन । कुनै नेता, पार्टी वा आन्दोलनका कारण विदेश नीति, राष्ट्रिय हित र कूटनीतिक सन्तुलनमा पार्न सक्ने प्रभावका बारेमा पनि गहिरो मूल्यांकन गर्न सक्ने चेत आवश्यक छ । देश चलाउने सपना देख्नेले देशको नक्सा मात्र होइन, छिमेकीको मनको नक्सा पनि बुझ्नुपर्छ । आज हामी आन्तरिक सवालमा विवाद गरौंला, समाधानमा पुगौंला । तर, बाह्य सवालमा सडकमा हुँदाको बोली र सत्तामा हुँदाको बोली एउटै चल्दैन । खासमा आजको बोलीले भोलि सत्तामा हुँदा त्यो बोली स्वयम् र देशका लागि महँगो नपरोस् भन्नेमा समयमै सजगता जरुरी छ । देशको अस्तित्व, सार्वभौमिकता र भविष्यको लागि सबैभन्दा सचेत र जिम्मेवार बन्नु नै नयाँपुस्ताको दायित्व हो । यसर्थ राजनीतिक समझ भएको अनुभवी नेतृत्व छान्नु परेको छ । नयाँ मात्र होइन, परिपक्व चाहिएको छ । अघिल्ला पटक जस्तै गरी ‘पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको’ भनेजस्तै जो पनि सांसद नबनून् । योग्यता भएका विषयविज्ञहरूलाई अवसर दिन सांसद नै बनाउनु पर्छ भन्ने छैन । उनीहरूका लागि त सम्बन्धित क्षेत्रबाट योगदान लिनेगरी राज्यले वातावरण तयार पार्ने हो । यसतर्फ पनि जोडदार खबरदारी जरुरी छ ।  राजनीतिमा नयाँपुस्ता उत्पादन गर्ने कारखाना विश्वविद्यालय मानिन्छन् । विश्वविद्यालयका विद्यार्थीहरू नै भविष्यका देश निर्माता हुन् । आज कक्षाकोठामा बसेका विद्यार्थीहरू नै भविष्यमा देशको प्रधानमन्त्री, मन्त्री, सांसद, प्रशासक र नीति निर्माता बन्ने हुन् । त्यसैले विद्यार्थी जीवन केवल प्रमाणपत्र प्राप्त गर्ने चरण मात्र होइन, देश निर्माणका लागि सोच, चरित्र र चेतना निर्माण गर्ने समय हो । तर प्रश्न उठ्छ, हामी कस्तो चेतनायुक्त पुस्ता तयार गर्दैछौं ?  विद्यार्थी नेतृत्व निखार्ने सबैभन्दा ठूलो माध्यम स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को आवधिक चुनाव हो । विश्वविद्यालय तहमा स्थापित स्ववियू राजनीतिक पार्टीको बेर्ना मात्र होइन, लोकतन्त्रको अभ्यासशाला हो । त्यहाँ विद्यार्थीहरूले बहस गर्न, चुनाव लड्न, हार–जित स्वीकार्न र जिम्मेवारी लिन सिक्छन् । जसले विद्यार्थी जीवनमै जीतहार स्वीकार्न सिकाउँछ ।  तर, बीचका वर्षहरूमा स्ववियू मृतप्रायः हुँदा नयाँपुस्ताको राजनीतिक चेत साँघुरियो । अनि विद्यार्थी राजनीति या त झोले अनुकरणमा सीमित भयो, या पूर्ण उदासीनतामा हरायो । नयाँपुस्ताबाट नेता जन्माउने कारखाना स्ववियू चुनाव लामो समय रोकिँदा राजनीतिमा खारिएका नयाँपुस्ताको मूल सुकेजस्तो भयो ।  भनिन्छ नि इतिहास नबुझेको राजनीति दृष्टिविहीन जस्तो हुन्छ । हाम्रो आफ्नै इतिहासले हामीलाई गहिरो पाठ सिकाएको छ । हिजो माओवादीले हतियार समाउँदा बुर्जुवा शिक्षा काम छैन भन्दै हजारौं विद्यार्थीलाई पुस्तकको झोलाका सट्टा बारुदको झोला बोकाइयो । उनीहरू बीचमै पढाइ छाड्न बाध्य भए । पढाइ अधुरो रह्यो । क्रान्तिको नाममा पढाइ छोड्नेहरूमध्ये केही सत्ता र पहिचानमा पुगे, बहुसंख्यक भविष्यविहीन बने । पछि यही समाजमा शून्यबाट स्थापित हुन कहर र हण्डर खानुपर्‍यो । आजको जेनजी पुस्तासँग सूचनाको कमी छैन, समस्या बुझाइको हो । सामाजिक सञ्जाल, छोटा भिडियो र भावनात्मक वा चर्का भाषणले गहिरो अध्ययनबाट नयाँपुस्तालाई टाढा धकेल्दै लगेको छ । अघिल्लो पुस्तालाई भ्रष्ट, असफल, अवसरवादी भनेर आलोचना भैरहेको छ । उनीहरूका पछिल्ला भूमिकाले यो अवस्था आफै ल्याएका हुन् । तर उनीहरूबाट सिक्ने कुरा पनि धेरै छन् । राम्रा कुरा सिक्दै जाने र नराम्रा कुरा छोड्दै जाने हो ।  संगठन वा पार्टी कसरी र किन बनाउने ? धैर्य र निरन्तरता के हो ? विचारधारामा कसरी टिक्ने ? सत्ता र सडकबीचको अन्तर के हो ? जस्ता सवालमा अघिल्लो पुस्ताले लामो अनुभव हासिल गरेको छ । अघिल्लो पुस्ताले गरेको गल्ती दोहोर्याउनु मूर्खता हो, तर उनीहरूले गरेको सही कुराबाट सिकाइ नलिनु झन् ठूलो मूर्खता हो ।  प्रिय जेनजी भाइबहिनीहरू ! राजनीति बुझ्नु भनेको केवल नारा लगाउनु होइन । राजनीति बुझ्नु भनेको, देशको संविधान पढ्नु, मौलिक हक केके हुन् भन्ने जान्नु, दायित्व के हो बुझ्नु, राज्य संरचना कसरी चल्छ थाहा पाउनु, ऐन, कानुन, नीति र प्रक्रिया अध्ययन गर्नु पनि हो ।  अनि केन्द्रीय राजनीतिमा आउँदा वैदेशिक सम्बन्धका आयाम, कुटनीतिक चातुर्य थाहा पाउन पनि उत्तिकै जरुरी छ । यी कुरा नबुझी बोल्न सिपालु हुँदैमा उनीहरूको भर पर्नु भनेको अँध्यारोमा हिँड्नु जस्तै हो ।  आजको विश्व प्रतिस्पर्धात्मक छ । प्रविधि, विज्ञान, अर्थतन्त्र, कूटनीति, सबै क्षेत्रमा दक्ष जनशक्ति चाहिन्छ । भोलिका कर्णधारहरू, नेताहरू, प्रधानमन्त्रीहरू भावनामा होइन, ज्ञान र विवेकमा आधारित निर्णय गर्नसक्ने गरी तयार हुनुपर्छ । पछिल्ला दिनमा राजनीतिमा युवाहरूको चासो बढ्यो । गज्जब भयो । नयाँपुस्ता हस्तक्षेपकारी हुन नसक्नुको एउटा मुख्य कारण राजनीतिमा न्यून युवा सहभागिता पनि हो । तर, नयाँ नेता भनेको झन् पढेको, झन् बुझेको, झन् दूरदृष्टि भएको, झन् आचरण राम्रो भएको, असल अभ्यास गरेको परिपक्व हुनुपर्छ ।  त्यसैले चुनाव आउँदैछ, लोकप्रिय मात्र होइन, यी सबै बुझेको असल र परिपक्व नेता चुन्न मद्दत गर । विविध जातजाति, धर्म र समुदायको साझा फूलबारी नेपालीलाई मिलाएर लान सक्ने नेतृत्व र विचारलाई बल गर । युवा लहरलाई सही दिशा देऊ अनि आफूलाई पनि यसैअनुसार तयार पार ।  तब न बल्ल देश बनाउने सपनामा बल दिन सकिएला !

जेनजी विद्रोहको सन्देश : ‘रूप’ र ‘सार’ नखुट्याई ड्राइभर मात्रै फेर्ने हो ?

फ्रान्सका सम्राट नेपोलियन बोनापार्टको पत्रिकासम्बन्धि एउटा भनाइ संसारभरका मिडियाकर्मीबीच  चर्चित छ । उक्त भनाइमा उनले एक विरोधी पत्रिका र एक हजार सशस्त्र सेनामध्ये रोज्नुपर्‍यो भने विद्रोही पत्रिका रोज्ने बताएका थिए । सैन्य शक्ति र राजनीति बुझेका नेपोलियनको उक्त भनाइको अन्तर्य हो– पत्रिकाले बनाउन सक्ने विचारशक्तिका अगाडि बन्दुकबाट हासिल हुने सैन्यशक्ति फिका हो ।  अठारौं शताव्दीको प्रारम्भतिरका नेपोलियन ती व्यक्ति थिए जसले क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजविरुद्ध उभिए ।  एक्काइसौं शताव्दीको प्रारम्भमा आएर सूचना प्रविधिमा आधारित शक्तिले पत्रिका र सैन्य दुवै शक्तिलाई आफूमा समाहित गरिसकेको छ । सैन्य लडाइँ पनि प्रविधिमा आधारित हुन थालेको छ । रसिया–युक्रेन बीचको युद्ध अभ्यास हेर्दा अब आमनेसामने सैनिक भिड्ने युद्धको युग निकै पछि परिसकेको प्रष्ट हुन्छ ।  अबका युवाहरूको हातमा मोबाइल, इन्टरनेट, क्यामेरा, लाइभस्ट्रीम यी सबै छन् । एउटा पोस्ट गरेपछि एकैछिनमा देशभर मात्र होइन, संसारभर फैलिन्छ । अहिलेको युवाजमात हरेक देशको लडाकु दस्ता हो । यस अर्थमा जेनजी उमेर समूह डिजिटल लडाकु फौज हो । पहिले प्रदर्शन सडकमा मात्रै सीमित हुन्थ्यो । लडाइँ भूगोलमा सीमित हुन्थ्यो । अब टिकटक, इन्स्टाग्राम, युट्युब, एक्स र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत प्रस्फुटित र संगठित हुन थालेको छ । यी सबैले आन्दोलन र विचारलाई तत्काल फैलाइदिन्छ ।  नेपाललाई आजको अवस्थामा ल्याउन धेरै पुस्ताले योगदान दिएका छन् । हाँसिहाँसी ज्यान दिएका ४ सहिददेखि सशस्त्र, शान्तिपूर्ण अनेकखाले लडाइँ धेरैले लडे, जसको योगदानले हामी यहाँ आइपुगेका छौं । तर समयको घडीसँगै मानिसहरूको सोच, अपेक्षा र राजनीतिक समझ पनि बदलिँदै जाँदा सँधै अधुरो र अपुरोजस्तै बन्दै आएका छन् ।  पछिल्ला वर्षहरूमा युवाहरू विशेषगरी जेनजी पुस्ताले सामाजिक सञ्जालमा भ्रष्टाचार र बेथिति विरुद्ध उठाएको आवाजले नेपाली राजनीतिमा ठूलो हलचल ल्याइदिएको छ । करिब १६ देखि ३० वर्ष उमेरका जेनजी युवाहरू जो मोबाइल, इन्टरनेट, प्रविधि र खुला विश्वमा हुर्केका छन् । जीवनको सुरुवातदेखि नै इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएका उनीहरूको दैनिकी सामाजिक सञ्जाल, अनलाइन स्ट्रिमिङ र डिजिटल सामग्रीसँग गहिरो रूपमा गाँसिएको हुन्छ । भ्रष्टाचार र बेथितिले देश तहसनहस पारेको भन्दै सडकमा उत्रिएका जेनजीहरूमाथि भाद्र २३ गते तत्कालीन सरकारले नरसंहार मच्चायो । अनि २४ गते त्यसको विरुद्ध उठेको विरोधको जनआन्दोलनमा घुसपैठ भएर विध्वंश मच्चिएपछि तत्कालीन सरकार बढारियो । त्यसपछि पुराना दलहरू कहाँ उभिएका छन् ? दोस्रो पुस्ता (युवा नेताहरू) के गर्न सक्ने अवस्थामा छन् ? जेनजीले देशको भविष्य बदल्न सक्छ ? अब नेपाली राजनीति कुन दिशातर्फ मोडिन्छ ? पुराना दलप्रति असन्तुष्टि बढ्दै जाँदा तत्काल सम्बोधन गर्नुपर्ने र गर्न सकिने जनताका वास्तविक अपेक्षा के हुन् ? यी सवाल अहिले आमनेपालीको मनमा सवार छन् । नेपालका लाखौं युवा धमाधम विदेशिनुको सबैभन्दा ठूलो कारण स्वदेशमै अवसर नपाइने समस्या हो । पुराना दलहरूले दशकौंदेखि देशलाई स्वीट्जरल्याण्ड बनाइ दिने जस्ता हावादारी विकासको कुरा गर्दै आए । यसबीच भएका उद्योगहरू बन्दै–बन्द, कृषि क्षेत्र झन् परनिर्भर, पर्यटन अस्थिर भयो । भएका सीमित अवसर पार्टीका झोलेहरूले मात्रै पाए ।  भ्रष्टाचार संस्थागत रूपमा चुलियो । विकास योजना नेताहरूको तजवीजमा तय भए । सरकारी सेवा लिन सास्ती र घुस घटेन । अनि सीमित शीर्ष भनिएका बुढा नेता आलोपालो कुर्सीमा सवार भैरहे । यी विविध कारणले पुराना दलप्रति युवापुस्ता मात्रै होइन, आम जनताको विश्वास गुम्दै गयो ।  युवाहरू आफूभन्दा गह्रौं सामानको भारी बोकेर विदेश जानु नपर्ने देशको सपना देख्छन् । तर महंगो पढाइ शुल्क, न्यून रोजगारीको अवसर, कमजोर सीप सिकाउने कार्यक्रम, उद्योगधन्दा चल्ने वातावरण नहुँदा जनतामा स्पष्ट सन्देश गयो, पुराना दलले हाम्रो भविष्य सुरक्षित गर्न सकेनन् ।  यसबीच खास सवाल बुढा नेताहरूको ठाउँमा नयाँ नेता स्थापित गर्नु मात्रै हो भन्ने भाष्य निर्माण भैरहेको छ, यो पनि सही छैन । जनताले उमेरमा युवा होइन, सोचमा युवा भएको नेतृत्व खोजेका छन् । कुशासन, भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध परिणाम खोजेका छन् । त्यो पूरा गर्ने स्पष्ट लक्ष्य र कार्ययोजनाको आधार खोजेका छन्।  नयाँ पुस्ताका लागि लागि समानता, सम्मान, पारदर्शिता, अवसरको खाँचो छ । यी उनीहरूको जीवनको आधार हुन् । यी दिनमा संसारभरका युवाका मुद्दा स्पष्ट छन् । उनीहरूले भनिरहेका छन् – मलाई अवसर दे, मेरो भविष्य सुरक्षित गर । जेनजी नाममा अहिले विभिन्न देशमा रातारात युवाहरूले हुँकार गरिरहेका छन् ।  युवा हुँकारले देश र उनीहरू स्वयंका लागि चुनौतीको चाङ पनि खडा गरी दिएको छ । उनीहरूमा उचित र सर्वस्वीकार्य नेतृत्वको अभाव छ । नीतिगत स्पष्टता छैन । विदेश नीति कस्तो ? अर्थतन्त्र कसरी उठाउने ? संघीयताको समीक्षा कुन आधारमा ? निर्वाचन प्रणाली कस्तो हुने ? लगायत मूलभूत विषयहरूमा जेनजी एकरूप देखिँदैनन् । संगठन निर्माणको कठिनाइ छ ।  भावनाले आन्दोलन चल्छ, तर राजनीति चलाउन भने कार्यालय, संगठित सदस्य, नीति, नेतृत्व, विचार, योजना र चुनावी रणनीति सबै चाहिन्छ । जेनजी उभारपछि यी चुनौती पार गर्न सकियो भने नेपाली राजनीति साँच्चै रूपान्तरित हुन सक्छ । त्यसका लागि पुराना दलभित्र सुधार चाहने युवा नेताहरू सक्रिय र एकताबद्ध भएर अघि बढ्न जरुरी छ ।  बाहिरबाट जेनजीले लगातार दबाब दिने र जनता माझबाट माझिँदै आउने बाटो तय गर्नुपर्छ । जनताले अब पार्टीमा समेत पारदर्शिता र जवाफदेहिताको माग गर्दै जनमत बनाउँदै जानु पर्छ । यसरी राजनीतिक संस्कृति क्रमिक रूपमा सुधारिने बाटोमा लागेमा हालको परिदृश्य नेपालका लागि सम्भव अनि व्यवहारिक बन्ने लयमा लाग्न सक्छ । परम्परागत दलको संस्कृति, नेतृत्वमा फर्कीफर्की उही ७०–८० वर्षका अनुहार, युवालाई हुकुम र च्याप्ने काम, निर्णय गर्ने ठाउँमा नपुर्याउने, टिकट र पद भागबण्डामा जाने गर्दा पार्टीभित्रकै युवामा खोइ हामीलाई मौका ? भन्ने पीडा बढाएकै थियो । उनीहरू आश र त्रासले व्यापक रूपमा खुल्न सकेका थिएनन् । यसैले जेनजीले ‘अब पुग्यो’ भन्ने भनाइ देशभर फैलाउन सके ।  यद्यपि पुराना दलभित्रै पनि परिवर्तन चाहने युवा नेताहरू छन् । करिब ३५–५५ वर्ष उमेरका, शिक्षित, विचारवान र केही जिम्मेवारी पाएका ‘दोस्रो पुस्ता’का नेता अवसरको लडाइँमै छन् । उनीहरूप्रति जनतामा अझै आशा छ । किनभने धेरैजसोले नयाँ विचार बोकेका छन्, आधुनिक प्रविधि, डिजिटल शासनप्रति आकर्षण, विश्वका नयाँ राजनीतिक मोडेल बुझ्ने क्षमता, धेरै विवादमा नबसेको छवि, सुधार गर्न सक्ने ऊर्जा देखिन्छ । यसैले दोस्रो पुस्ता ‘परिवर्तनको आशा’ पनि बन्न सक्छ, र ‘पुरानै अभ्यासको निरन्तरता’ पनि । सबै कुरा उनीहरूको निर्णय र साहसमा निर्भर छ । यसकारण परिपक्व धारणा राख्नेहरूले भन्न थालेका छन्, यदि पुराना दल सुधारिन्छन् भने यी नेताबाट नै सम्भव छ । पार्टीभित्र अझै पुरानै संरचना, निर्णय गर्ने मूल शक्ति अझै पुराना नेताकै हातमा छ । युवाले आवाज उठाउन खोजे पनि निर्णय पूर्ण रूपमा उनीहरूकै आदेशमा निर्भर हुन्छ । टिकट, पद र अवसरको वितरणमा क्षमता र योग्यता भन्दा पनि गुट र आर्थिक लगानी हावी छन् ।  परिवर्तनको व्यापक अपेक्षाबीच हालै नेकपा एमालेको अध्यक्षमा केपी ओलीको निरन्तरताको ‘भारी अनुमोदन’ भैसकेको छ । नेपाली कम्युनिष्ट पार्टीमा शब्द फेरबदल गरी पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफ्नो सर्वोच्चता कायम गरिसकेका छन् । कछुवा गतिमा निर्णय लिइरहेको नेपाली कांग्रेसमा प्रशव कहर सकिएको छैन । एमाले र नेपाली कम्युनिष्ट पार्टीकै गतिमा पुरानै जामा भिर्छ कि कांग्रेसले नेतृत्वमा नयाँ अनुहार दिएर कार्यकर्ता पङ्तिमा आशाको सञ्चार गराउँछ हेर्न बाँकी छ ।  यही बेला काठमाडौं महानगरका मेयर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता भएको छ । सहकारी ठगी मुद्दामा जेलमा रहेका रवि लामिछाने तारेखमा रिहा भएपछिको एक सातामै यी दुईबीच रातारात एकता भएको छ । बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार भन्दै यो उधारो सहमति गरिए पनि जेनजी विद्रोहको अर्थ ‘रूप’ र ‘सार’मा नकेलाई ड्राइभर फेरेर मात्रै केही हुनेवाला छैन भन्ने बुझ्न जरुरी छ ।  एउटा कुरा निश्चित छ, अब पुरानै ढर्राको राजनीति चल्ने समय सकिएको छ । युवा लहर उठिसकेको छ । प्रश्न उठिसकेका छन् र अब जवाफ माग्न थालिएको छ । नेपाल राजनीतिक सुधारको बाटोमा उभिएको छ । अघि बढ्यो भने नयाँ इतिहास लेखिन सक्छ र पछाडि हट्यो भने उही निराशाको चक्रमा फँसिरहन सक्छ । बाह्य शक्ति सन्तुलन मिलाउन सक्ने हो भने संकेतहरू भने आशालाग्दा छन् । युवा उठ्दैछन् । समाज बोल्दैछ । र ४ दशकदेखि कुर्सी दौड गरिरहेका ठूला पार्टीका शीर्ष नेताको पञ्जाबाट राजनीतिक बागडोर दोस्रो वा नयाँ पुस्तातर्फको दिशामा बलपूर्वक घचेट्ने प्रयास हुँदैछ । जुन आम जनताले व्यग्रताका साथ हेरिरहेका छन् ।  हुन त पुराना नेताहरू आफ्नै ढङ्गमा देश चलाइरहने, जनता उनीहरूलाई गाली गर्ने अनि फेरि चुनाव आएपछि उही अनुहार दोहोरिने यो चक्र धेरै वर्षदेखि घुमिरहेकै हो । तर, यस पटक मोबाइलमा जन्मिएका, इन्टरनेटमा हुर्किएका र डिजिटल संसारमा बाँचिरहेका युवा सडकमा आउने बित्तिकै पुराना दलको घडी ब्याट्री झिकेर रोकिएजस्तो बनाइदिए । सडकमा उत्रिएका जेनजीले उनीहरूलाई पनि तानेर सडकमा त ल्याए । तर, कांग्रेस नेता गगन थापाले भने झैं यतिका यी मानिस किन सडकमा आए ? किन यति बिघ्न रिसाए भनेर समीक्षा गरी त्यसअनुसार कदम चाल्नुको साटो खहरे खोलो एक छिन आयो, सुसायो गयो भन्ने ओली पथ पछ्याए भने न दलहरूको न देशको हित हुनेछ ।  जेनजी उभारसँगै देखिएको यो आक्रोश, विद्रोह र लडाइँ रूपमा उमेर समूहविरुद्धजस्तो देखिए पनि सारमा कुशासन, भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध हो । यो कुरा ढिलोचाँडो नयाँ, पुराना दल र आमजनता सबैले बुझ्नै पर्छ । यो कुरा आम बुझाइ बनेको दिनमा मात्रै असलमा नेपाल नयाँ राजनीतिक यात्राको गाडीमा सवार भएको हुनेछ । 

एफएम रेडियोको कमजोर अर्थशास्त्र र सुधारका मौलिक उपाय

अर्थशास्त्रको सामान्य नियम हो, कमाउने अनि जोगाउने । तर, नेपालका एफएम रेडियोहरूको अभ्यास विविध कारणले सुरुदेखि नै टिकाउने रह्यो । टिकाउने, कमाउने र जोगाउनेसम्म पुग्नै पाएन । त्यसैले अहिले नेपालका समग्र एफएम रेडियोहरूको अर्थशास्त्र ऋणात्मक ग्राफतिर छ ।  कोरोना महामारी पछिको आर्थिक मन्दी, देशमा भित्रिने वैदेशिक अनुदानको संकुचन, ‘कन्टेन्ट’ दिने मोबाइलवालाको विगविगी, तीनै तहका सरकारको अनुदार रवैयाजस्ता तमाम कारणले रेडियोका संस्था र तीनमा कार्यरत रेडियोकर्मीहरूको ‘अर्थ संसार’ तिल्मिलाएको छ ।  यस्तो विषम परिस्थितिमा पुषको कठ्याङ्ग्रिने चिसो छल्दै देशभरका सामुदायिक रेडियोका सञ्चालकहरू यतिबेला पर्यटन गन्तव्य सौराहामा जम्मा छन् । झण्डै साढे ३ सय बढी सामुदायिक रेडियोहरूको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १९ औं साधारण सभामा सहभागी हुन उनीहरू सौराहा पुगेका हुन् । सँगै ‘डिजिटल युगमा रेडियो’ नारासहित राष्ट्रिय रेडियो सम्मेलन पनि हुँदैछ ।  यसबेला मलाई चाहिँ हालैको यात्राको सन्दर्भले चिमोटिरहेको छ । जुन यात्रा काठमाडौंसँग जोडिएको धादिङदेखि सुदूरपश्चिमको धनगढीसम्मको थियो । जसमा झण्डै ५० जना सामुदायिक रेडियोका सञ्चालकहरूसँग सम्वादको मौका मिल्यो । राजमार्ग आसपासका १० जिल्लाका यी साथीहरूसँगको भेटले घरि आशा जगायो । घरि चिन्ताले चिमोठ्यो । घरि पीडाले पोल्यो ।  आधा दशक अघिसम्म रेडियोको प्रभाव र स्रोताको आँकडा लोभलाग्दो थियो । धानिन स्रोत पनि नपुग्दो थिएन । नियमित कार्यक्रम वा समाचारमा काम गर्ने रेडियोकर्मी आफ्नो कभरेज क्षेत्रका ‘सेलिब्रेटी’ हुन्थे । हरेकजसो स्टेशन म्यानेजरको टेबलमा रेडियोमा प्रवेश चाहने युवाहरूका ‘सीभी’का चाङ हुन्थे । स्टेशनमा गजब रौनक हुन्थ्यो । कार्यालय व्यस्त हुन्थ्यो । बिहान सबेरैदेखि बेल्का अबेरसम्म भीडभाड हुन्थ्यो । कार्यक्रम उत्पादन गर्न, विज्ञापन बनाउन र फिल्ड जान रेडियोकर्मीलाई असिनपसिन हुन्थ्यो ।  अनि नयाँ पुस्ता ‘सोसल प्लेटफर्म’ तिर अलमलिँदा रेडियोजस्ता अन्य परम्परागत मिडियामा युवा सहभागिता घटेकै हो । प्रविधिका हिसाबले सर्टवेभ, मेडियम वेभ हुँदै नेपालको सन्दर्भमा कान्छो मानिएको एफएम रेडियो केही वर्ष अघिसम्म युवाहरूको ढुकढुकी मानिन्थ्यो । कार्यक्रम सञ्चालक युवा हुन्थे । पत्र लेख्ने, फोन गर्ने र सुन्ने स्रोता युवा हुन्थे । गाउँगाउँमा रेडियोका श्रोता क्लब बनेका थिए । यस्ता क्लबमा बस्न युवाहरूवीच प्रतिष्पर्धा चल्थ्यो ।  तर, ती दिन अहिले छैनन् । अहिले रेडियोमा सानो टीम छ । थोरै कार्यक्रम वा समाचार बुलेटिन छन् । विज्ञापन उत्पादन आक्कलझुक्कल हुन्छ । भीडभाड हुनै छाड्यो । रेडियोकर्मीहरूलाई उहिले जस्तो समयको हतारो र कामको चटारो छैन । नयाँ पुस्ताको आकर्षण छैन । रेडियोको अर्थशास्त्र कमजोर हुँदा सबै पक्ष असरल्ल छ ।  विस्तारै स्रोत र श्रोता साँघुरिदै गए । यसले नेपालमा जनस्तरबाट झण्डै ५ अर्ब लगानी भएको ठूलो नागरिक अभियानको भविष्य अन्यौलमा फसेको छ । यसले विपदका बेलाको साथी र लोकतान्त्रिक अभियानको मुख्य प्रेरक रेडियोलाई कमजोर बनाएको छ । गाउँको मिडिया, आपतको मिडिया, फ्री मिडियाको पहिचान बनाएको रेडियो अब के हुन्छ भन्ने प्रश्न सामुन्ने आएको छ । यद्यपि सबै निराशाका उदाहरण मात्र छैनन् । यात्राका क्रममा केही आशालाग्दा उदाहरण देखिए । रेडियोहरूले मौलिक उपायमा बाँच्न सिकेका छन् । उनीहरूले वैकल्पिक स्रोत पहिल्याउन थालेका छन् । खर्च घटाउन एकापसमा ‘कन्टेन्ट सेयरिङ’ गर्न थालेका छन् । अनुसन्धानबाट स्रोत भित्र्याउन थालेका छन् । डिजिटल प्लेटफर्ममा उपस्थिति बलियो बनाएर आर्थिक स्रोत जोहो गर्न थालेका छन् । अरू पनि धेरै उदाहरण होलान् ।  धादिङको धार्केमा स्थानीय तहको स्रोतमा मिलेर रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण अभ्यास भैरहेको छ । नवलपरासीका तीनवटा सामुदायिक रेडियो मिलेर ‘कन्टेन्ट सेयरिङ’ गरिरहेका छन् । कपिलवस्तुका अधिकांश सामुदायिक रेडियोहरूको आफ्नै घर छ । उनीहरूले प्रदेशलगायतका सरकारसँग साझेदारी गर्दा यस्तो सम्भव भएको हो । अहिले उनीहरूलाई मासिक भाडा तिर्ने वा स्टुडियो उजाडेर घर सर्ने पीर छैन । नेपालगन्जको कृष्णसार एफएमले डिजिटल माध्यमबाट अडियो तथा भिजुअल ‘कन्टेन्ट’बाट पहुँच र आम्दानी बढाउन बल गरिरहेको छ । बर्दियाको गुर्वावा एफएमको टीमले थारु संस्कृतिको अध्ययनमा स्रोत पहिल्याउन थालेको छ ।  यसरी स्थानीय रेडियोहरूले आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार आफ्नो लामो अभ्यासले बनाएको विश्वासको ‘ब्राण्ड’लाई नयाँ सम्भावनाको आँखाबाट हेर्न थालेका छन् । यी उदाहरणले अभावमा जेनतेन धकेलिरहेका रेडियोहरूलाई ऊर्जाको सन्देश दिन सक्छ । धादिङको धार्केमा रहेका कृषि र राजमार्ग एफएम मिलेर स्थानीय सरकारसँग स्रोतमा सहकार्य गर्ने र कन्टेन्ट पनि एउटै उत्पादन गरेर प्रसारण सहकार्य गरिरहेका छन् । यसो गर्दा आपसी सहकार्य र विश्वास बढेको कृषि एफएमका उपेन्द्र अधिकारीको भनाइ छ ।  नवलपरासीमा झण्डै डेढ दशकदेखि सामुदायिक रेडियोमा सक्रिय मेघराज गौतमका अनुसार स्थानीय तीनवटा रेडियो मिलेर ४ वर्षदेखि समाचारमा साझेदारी सुरु भएको छ । उनीहरूले आफूसँग भएका समाचार एउटै स्टुडियोमा संकलित गरेर अडियो पस्किन्छन् र सबैले त्यही एकसाथ प्रसारण गर्छन् । हाल रेडियो परासीले यसको संयोजन गरिरहेको छ । बिहान र बेलुका २ वटा बुलेटिनमा यो अभ्यास भैरहेको छ । परासी, दाउन्ने र सुनवल एफएममा एकसाथ यी बुलेटिन प्रसारण हुन्छन् । जनशक्ति र आर्थिक हिसावले भार उठाउन सहज होस् भनेर समाचारमा साझेदारी सुरु गरिएको दाउन्ने एफएमका अध्यक्ष नारायण पाण्डेको भनाइ छ ।  ‘हाल मोबाइल बोकेर भिडियो खिच्ने सबै मिडिया जस्ता भएका छन् । कार्यालय, टीम र आचरणमा रहने मिडियालाई बाँच्न गाह्रो भएको छ,’ परासी एफएमका संस्थापक अध्यक्ष सुमन आचार्य भन्छन्, ‘रेडियो सबैको हुनुपर्छ । मोबाइल बोक्नेवालालाई चाहिँ ‘पैसा दिनेको भए’ पुग्छ । त्यसैले अवसर र स्रोत त्यतै जान्छ ।’  विश्वासको पिलर रेडियो रैछ, कतिले त समाचार सत्य हो कि होइन भनेर ‘क्रसचेक’ गर्न मात्रै रेडियोलाई सम्झिन्छन् । बुटवलमा लामो समयदेखि रेडियो स्टेशनको नेतृत्व गर्दै आएकी कल्पना तिवारीको अनुभवमा संघीयता आएपछि नजिकका लाग्ने आसपासका स्थानीय सरकार टाढिए । पहिले जिल्लाभरका स्थानीय सरकार र अन्य कार्यालयसँग सहकार्य हुन्थ्यो । अहिले जुन पालिकामा कार्यालय छ त्योबाहेक अरूले अर्को पालिकाको भनेर टाढाको व्यवहार गर्छन् ।  दाङको रेडियो हाइवेका प्रमुख लीला शाहको अनुभव पनि उस्तै छ । उनी भन्छिन्, ‘संघीयताले फाटो पार्यो । एउटा पालिकाले अर्को पालिकाका पत्रकार वा मिडिया मान्दैनन् ।’ ‘टिक्ने ज्ञान चाहियो । श्रोता होइन, बजार (स्रोत) घट्या हो । बजार चाहिँ बजार (सहर)तिरका स्मार्ट मोबाइल चलाउनेको हातमा छ,’ उनले थपिन् । जेन्जी आन्दोलनपछि देशका अधिकांश सरकारी कार्यालयहरूले रेडियोलगायत मिडियाका लागि विनियोजित बजेट पुनःनिर्माणका लागि भन्दै रकमान्तर गरेका छन् । दिन नपरे हुन्थ्यो भन्नेहरूका लागि यो बहाना पनि बनेको छ । सार्वजनिक सुनुवाइलगायतका लागि स्थानीय रेडियो र पालिकाबीच सहकार्य भैरहेको थियो । यो साझेदारी पनि जेन्जी आन्दोलन पछि रोकिएको छ । नाम कमाएका धेरै रेडियोकर्मी अहिले अन्यौलमा छन् । पैसा पनि छैन । भविष्यको टुंगो पनि छैन । अनुभव र नाम बेकार हुन लागेको जस्तो भएको छ । यसले मानसिक तनाव र पारिवारिक असजिला बढाएको छ । रेडियोको अर्थशास्त्र बिग्रँदै गएपछि रुपन्देहीको जागरण एफएमका विनोद परियार झन् चिन्तित सुनिए, ‘करिअर यही भो । छोड्न सकिँदैन, बाँच्न गाह्रो भो ।’ रेडियोहरूले घर बनाए पनि हाल आएर कपिलवस्तुका रेडियोकर्मीहरूको घर बस्न भने समस्या रहेको केहीको पीडा थियो । रेडियोमा काम गर्नेलाई छोरी दिन नमानेपछि केही रेडियोकर्मीहरू कलेज पढाउन थालेर नयाँ परिचयबाट घरजम गरेको उनीहरूले सुनाए । व्यक्तिगत गोपनीयताका कारणले नाम उल्लेख गरिएन।   २०७२ सालमा दाङको देउखुरीमा खुलेको ‘साझा आवाज’ रेडियोका संस्थापक दुखराम यादवको कथा झन् विरक्तलाग्दो छ । उनको रेडियो गाउँमा छ । राम्रा विषयमा कार्यक्रम, समाचार प्रसारण गरेकोमा धन्यबाद कसैले भन्दैन । केही कमीकमजोरी वा बदमासीका खबर बनाए धम्की आउँछ । उनी भन्छन्, ‘समाजलाई सुसूचित गर्ने भनेर गाउँमा रेडियो खोलियो । तर, अब कति सकिएला र ? २ छोरी छन् । उनीहरू हुर्कदैछन् । मैले उनीहरू सँगै हुर्काएको रेडियोले मात्रै बचाउला जस्तो छैन । खास ऊर्जाको उमेर रेडियो भन्दै बित्यो, अब ४० पुग्न लाग्दा के गर्ने होला सोच्दा मन अमिलो हुन्छ ।’  चर्चित रेडियोकर्मी दिपेन्द्र खनियाँको हालै भएको असामयिक निधन पछि रेडियो क्षेत्र झन् आतंकित बनेको छ । अन्तिम बिदाइमा भेटिएका वरिष्ठ रेडियोकर्मी आरके श्रेष्ठले नेपाली रेडियो इन्डष्ट्रीको उँधोगतिसँग खनियाँको निधनको प्रसंग जोडेका थिए । पछि आफ्नो सामाजिक सञ्जालमा पनि उनले लेखेका छन्, ‘उसको निधनले केवल रेडियो उद्योगलाई मात्र नभई सम्पूर्ण समाज र राज्यलाई गम्भीर चेतावनी दिएको छ । रेडियो उद्योग गहिरो आर्थिक संकटमा छ, तर राज्यले कुनै चिन्ता वा उचित नीति अपनाएको छ्रैन । खनियाँको निधन केवल व्यक्तिगत दुर्घटना नभई उद्योगको संकटको प्रतीक बन्न सक्छ । सरकारले गम्भीरतापूर्वक ध्यान नदिए यस्ता घटना पुनः दोहोरिन सक्ने सम्भावना रहन्छ ।’ अकोराबको सुदूरपश्चिम प्रदेशका अध्यक्ष वेदप्रकाश तिमल्सिनाका अनुसार रेडियो बन्द गरेर कोही भारतको बम्बै त कोही अन्य देश हिँड्न बाध्य भएका धेरै उदाहरण सुदूरपश्चिममा छन् । बैतडीको खोड्पेमा रहेको सेभेन स्टार एफएमका अमर भट्टराईको दुखेसो छ, ‘आफू सकिने कि रेडियो जोगाउने ? रेडियो जोगाउन लाग्दा आफू सकिने अवस्था आउन लाग्यो ।’ गाउँमा रेडियो र अनलाइन मिडियाको संख्या बढी तर स्रोत चाहिँ घटी हुँदा आफ्नोतिर ‘झुपाझुपा अनलाइन, डल्लीडल्ली रेडियो’ भन्ने उखानै चलेको उनी सम्झन्छन् । सुदूरपश्चिममा झुपाको अर्थ घर र डल्लीको अर्थ गाउँ हुन्छ ।  ‘असारमा पालिकामा डेढसय बीलका फाइल पुग्छन् । पत्रकार १० जना छैनन्,’ बैतडीको मेलौली रेडियोका लक्ष्मण विसी भन्छन्, ‘यस्ता फाइललाई बैतडीमा कार्यालय प्रमुखहरूले ‘लभ्ली’ फाइल नाम राखेका छन् । यसको अर्थ हो पैसा नदिने फाइल ।’  यस्ता मौसमी मिडियाका कारणले पनि संस्थागत रेडियोहरूलाई बाँच्न समस्या भएको छ । डिजिटल युगमा सूचना लिनेदिने माध्यम बढे अनि विकल्प फेरिएकै हुन् । त्यसैले हाम्रा श्रोता र स्रोत पनि बाँडिएका पक्कै हुन् । तर, लक्षित श्रोता वा स्रोत समात्ने हो भने अझै सम्भावना सकिएको छैन । विकसित र ठूला देशमा अझै यसको प्रभाव उस्तै छ । उनीहरू यो सकिँदैन, फेरिन्छ भन्नेमा विश्वास गर्छन् । ३० वर्षदेखिको हाम्रो अभ्यासको जगमा रेडियो विश्वासको ‘ब्राण्ड’ बनेको छ । यही रेडियोको पुँजी हो । यही हो अब बेच्न सकिने । टावरको प्रसारणका अलावा प्रविधिले दिएको अवसर उपयोग गरेर डिजिटल युगका उपहार भएभरका ‘सोसल प्लेटफर्म’बाट उपस्थिति बढाउन सकिन्छ । खर्चिलो टावर र ट्रान्समिटरको प्रसारण सकिए पनि इन्टरनेटमा आधारित कम लागतमै हुने प्रसारणको अबसर झन् फैलँदो छ ।  पछिल्लो समय सरकारले अनलाइन रेडियोहरूलाई पनि इजाजत दिने नीति दिएर यसलाई सहज बनाइदिएको छ । त्यसै पनि संसारभर अनलाइन रेडियोको अभ्यास पनि उल्लेखनीय रूपमा लोकप्रिय छ । यस्तो अनलाइन रेडियोको अभ्यास गाउँसम्मै पुगेको छ । हालै चितवनको सौराहाको एक क्याफेमा कफी खान छिर्दा त्यहाँ ‘भ्वाइस अफ सौराहा’ स्लोगनमा अनलाइन रेडियो सौराहाको स्टीकर टाँसिएको देखियो । ट्युन गर्दा गीत घन्किरहेको थियो । हाम्रो पात्रो, नेपाली पात्रो, रातोपाटी लगायतका माध्यमबाट पनि यो सुन्न मिल्ने बनाइएको रहेछ ।  भारतमा केही एफएम रेडियोले भिडियोबाट स्टोरी उठाएर अडियोमा प्रवेश गराउने अभ्यास गरिरहेका छन् । भिडियोबाट मानिसहरूलाई स्टोरीको स्वाद चखाएर अडियोबाट पूरा सामग्री पस्किने शैली नौलो छ । अकोराबका पूर्वअध्यक्ष मोहन चापागाईं पूराना कुरा सम्झन्छन्, ‘मदनपोखरा एफएमले सामुदायिक वनमा सहकार्य गरेर दाउरा लिन्थ्यो । त्यो बेचेर नगद आम्दानी गर्थ्यो । यसरी स्थानीय रूपमा सबै रेडियो बसेर स्थानीय आइडिया संकलन गरी कार्यान्वयनको पहल गर्दा केहि हुन्छ कि ?’ नेपाली रेडियोहरूको योगदान अहिले सबैले भुलेजस्तो देखिन्छ । कोरोना महामारीमा ‘रेडियो स्कुल’ चलाएर शिक्षामा कसरी टेवा दिए ? भूकम्पमा बारीका कान्ला पुगे पनि तत्काल सही सूचना दिएर कसरी अफवाहको त्रासबाट जोगाए ? २ वर्ष अघिको भूकम्पमा जाजरकोटमा कसरी रेडियोले स्थानीयलाई सूचनासँग जोड्ने काम गरे ? मौसमी सूचनाबाट बालीनाली जोगाउन कसरी रेडियो काममा आउँछन् ? नेपालको लोकतान्त्रिक आन्दोलन राजा ज्ञानेन्द्रले ‘कू’ गर्दा कसरी रेडियोले जनमत निर्माणमा भूमिका खेले ? जगजाहेर छ ।   गाउँमा अझै श्रोता छन् । श्रोता मात्र होइन, स्रोत पनि छ । गाउँ सहर ओहोरदोहोर गरी बाँकेको राप्तीसोनारीमा रेडियो भुवरभवानी सञ्चालन गर्ने अर्जुन वली नेपालगञ्ज बस्छन् । गाउँस्रोत व्यवस्थापनका लागि सहरभन्दा सजिलो भएको उनको अनुभव छ । नजिकको स्थानीय सरकारले स्थानीय मिडियाको संस्थागत विकासका लागि अपनत्व नलिँदा गाह्रो भएको धारणा बाँकेकै कृष्णसार एफएमका स्टेशन म्यानेजर सावित्री गिरीको छ ।  ठूला र विकसित मुलुकमा उपकरणमा सुधार गरिएको छ तर, रेडियो मिडिया ‘डेट एक्सपायर’ भएको छैन । सन् २०१७ मा नर्वेले एनालग सिस्टम बन्द गरेर डिजिटलमा गयो भने सन् २०२४ मा स्वीट्जरल्याण्डले डिजिटलमा फड्को मार्यो । त्यहाँ पनि रेडियो जीवित छ, प्रविधिमात्र फेरिएको छ । बरु हाम्रो सरकार भने यस विषयमा संवेदनशील देखिएन । जनस्तरबाट झण्डै ५ अर्ब बढीको लगानी भएको, झण्डै १० हजार जनशक्तिलाई आश्रित र बर्सेनि नवीकरण, रोयल्टी लगायत शीर्षकमा करोडौं राजस्व तिरिरहेका रेडियो सञ्चालक र रेडियो पत्रकार लगायतको जनशक्ति र संस्थागत विकासमा सरकारको कुनै भूमिका हुँदैन ?  ‘जनताको लगानी भएका अनि बन्द भएमा स्वतः सरकारको सम्पत्तिमा जाने सामुदायिक रेडियोहरूका लागि अभिभावक बन्न सरकार किन चाहँदैन ? नेपालको सामुदायिक रेडियो अभियानले यो प्रश्नको जवाफ पाएको छैन,’ अकोराबका अध्यक्ष अर्जुन गिरीको भनाइ छ । पंतिकारले विगत एक दशकदेखि विषयगत रेडियो, कन्टेन्टमा साझेदारी, संस्थागत मर्जर वा रेडियो नखुलेका ठाउँमा बढी संख्या भएका ठाउँका रेडियोको स्थानान्तरण अबका विकल्प हुन् भनेर लेख्दै बोल्दै आएको हो । योजनावद्ध, लक्ष्यित श्रोता पहिल्याएको र स्तरीय कन्टेन्ट दिने हो भने दिनभरि रेडियो फुक्नु पर्ने रहेनछ भन्ने तथ्य अन्तर्राष्ट्रिय अनुभवहरूले बताउँछ । बढीमा २ घण्टा प्रसारण हुने रेडियो पनि धेरै देशमा छन् र प्रभावका मोटा किताब उनीहरूसँगै छन् ।  त्यसैले एउटा सहरमा एउटा टावरबाट भएका सबै रेडियोहरू लक्षित समुदायका बीचमा फर्किन सकिन्छ । २०५३÷५५ सालतिर रेडियो नेपालको १०० मेगाहर्जमा कान्तिपुर, हिट्स र क्लासिक लगायतका रेडियो अटाएको उदाहरण हामीसँगै छ । प्रविधिको लय समातेर ट्रान्समिटरबाट बाहिर निस्केर पनि केही गर्न सकिन्छ । रेडियो सगरमाथाले सुरुसुरुमा ब्रान्डिङका लागि फत्तेमान साँझ गरे झैं हामीले विभिन्न खालका इभेन्ट्स, अतिरिक्त प्रकाशन आदिबाट स्रोत र श्रोता फर्काउन सकिन्छ । देशभरका रेडियोहरूको साझा कन्टेन्ट बैंक बनाएर आवश्यकता अनुसार उपयोग गरेर प्रोडक्सनमा ठूलो खर्च घटाउन सकिन्छ । यी साझा पहल भए । आफ्ना मौलिक विकल्पबाट पनि यसको आयु र प्रभाव बढाउँदै लान सकिन्छ ।  त्यसै पनि एसियाली मुलुकमा नेपालको सामुदायिक रेडियो अभियान अगुवा मानिन्छ । नेपालको झण्डै ३० वर्षे एफएम रेडियो अभ्यासमा विभिन्न कारणले करिब ५ सय रेडियो बन्द भए । यो क्रम कोरोना महामारीपछि ह्वात्तै बढ्दो छ । अब कि गाभिनु (मर्ज) कि मासिनुको विकल्प छैन । मासिनु पर्ने अप्रिय अवस्थाबाट जोगाउन बैंकिङ क्षेत्रमा राष्ट्र बैंकजस्तै हस्तक्षेपकारी सहयोगी अभिभावक चाहिएको छ ।  यी विविध सन्दर्भपछि एउटा सिधा र स्पष्ट प्रश्न उठ्छ, ‘सरकार तिमी रेडियो र रेडियोकर्मीका पनि होइनौ र ?’  

अमेरिका : त्यसैले त सपनाको देश !

सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूपमा कोभिड–१९ फैलियो । जसले गर्दा २०२० को जुनमा अमेरिका उड्ने मेरो योजना स्थगित भयो । सन् २०२१ मा उक्त कार्यक्रम भर्चुअल सहभागितामै सकियो । तर, विस्तारै कोभिड महामारी नियन्त्रणमा आयो अनि त्यो अवसर मेरो सामुन्ने फेरि आइपुग्यो । अन्ततः मैले सन् २०२२ को नोभेम्बरमा अमेरिकाको राजधानी वासिङ्टनडीसी ओर्लिने शौभाग्य पाएँ ।  सपना देख्ने धेरैका आँखामा बसेको मुलुक मानिन्छ अमेरिका । संसारभरका मानिसहरूका लागि एकपल्ट पुग्नै पर्ने सपनाको देश लाग्छ । त्यहाँ त्यस्तो के होला त ? यो प्रश्न मेरो मनमा पनि थियो । म करिब ५ साताको यात्रामा अमेरिकी सरकारको निम्तोमा त्यता निस्किएको थिएँ । कौतुहल नयनका साथ मैले अमेरिकी माटोमा पाइला टेकेको थिएँ ।  विश्वभरका युवाहरुका लागि सञ्चालित ‘इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम’ ले यस्तो अवसर जुराइदिएको थियो । झण्डै ८५ वर्षदेखि नियमित रूपमा सञ्चालित यो कार्यक्रममा विभिन्न पेशा र क्षेत्रका युवाहरूलाई विश्वभरबाट सामेल गरिन्छ । यो कार्यक्रममा अमेरिकाको ऐतिहासिक पृष्ठभूमि, विकास र सभ्यता बारे बुझाउने गरिन्छ । यसका साथै विभिन्न राज्यहरूको भ्रमण गराउँदै विषयगत ज्ञान र सीप आदानप्रदान गरिन्छ।  म सहभागी कार्यक्रम ‘मिथ्या सूचनाको युगमा मिडियाको जिम्मेवारी’का विषयमा केन्द्रित थियो । यसमा १३ देशबाट १८ जना पत्रकारहरू सहभागी थियौं । कोभिड टेस्टको लय सँगै आईभीएलपीको ज्ञानयात्रा पूरा भएको थियो । तीन सातामा विभिन्न राज्यका ऐतिहासिक स्थलहरुको अवलोकनसँगै विषयगत छलफलहरुमा सरिक हुने मौका मिल्यो । अमेरिकाको स्टेट डिपार्टमेन्ट, जर्ज वासिङ्टन युनिभर्सिटी, इन्भेष्टिगेटिभ जर्नालिष्टहरुको इन्टरनेशनल कन्सोर्टिएम, पार्लियामेन्ट, जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन लगायत संस्था र प्रख्यात वरिष्ठ पत्रकारहरु सँग अन्तर्क्रियाको मौका जुर्यो । यसक्रममा ५० वर्ष पत्रकारितामा बिताएका वरिष्ठ प्रशिक्षक अल टम्किन्ससँग भ्रामक सूचनाबाट बच्न पत्रकारले अपनाउनु पर्ने सावधानीका बारेमा गज्जबको सम्बाद गर्न पाइयो । विश्वप्रख्यात पोइन्टर इन्स्टिीच्युट अफ मेडिया स्टडिजमा उहाँसँग फ्लोरिडाको सेन्ट पिटसबर्गमा यस्तो मौका मिल्यो । समग्रमा आईभीएलपीमा सहभागी पेशागत ज्ञान आर्जनका लागि महत्त्वपूर्ण सिकाइका रूपमा रह्यो ।  टाइमजोन फरक हुने भएकाले ट्रान्जिट समेत झण्डै २४ घण्टाको हवाइ यात्राका क्रममा बाटोभरि अँध्यारो मात्रै पर्नेरहेछ । वबहानपख ओर्लदा डिसी चम्किलो उज्यालोमा आफ्नै गतिमा दौडिरहेको थियो । जहाजले जमिन तिरको उचाइँ घटाउँदै जाँदा वासिङ्टन डुलस इन्टरनेशनल एअरपोर्टबाट अमेरिकाको पहिलो दर्शनमा आसपासको दृष्य हरियाली सहितको योजनाबद्ध भौतिक पूर्वाधार सुसज्जित देखियो । सँगै पढेका साथीभाइ र आफन्तको भरले म कार्यक्रम सुरु हुनु भन्दा झण्डै १० दिन पहिले पुगेको थिएँ भने फर्किँदा पनि करिब एक साता बढ्ता लम्ब्याएको थिएँ । कार्यक्रमका दौरान ४ वटा राज्य घुम्ने मौका मिल्यो भने साथीभाइका कारणले ५ वटा थप राज्य घुम्ने मौका पाएँ । खासगरी अमेरिकाका प्रमुख एक दर्जन जति शहर घुम्ने अवकरिब एक महिना बढीको अमेरिका बसाइँका क्रममा मिल्यो ।  अलिकति उत्साह, अलिकति अंग्रेजी भाषाको डर अनि अलिकति केही देख्ने सिक्ने रहर बोकेर म अमेरिका पुगेको थिएँ । कतार एअरको सयौं यात्रु बोक्ने बडेमानको वोइङ जहाजमा दोहा हुँदै मेरो रुट थियो । संयोगले तीन सिटे लहरमा म मात्र यात्रु थिएँ । जसका कारण आकाशमा मज्जाले सुतेर यात्रा गर्ने सौभाग्य मिल्यो । यात्राको थकान, निद र बेलाबेला जहाजको टर्बुलेन्सका कारण मन डराइरहेका बेला कतार एअरका परिचारिकाहरू ‘एक्सक्युजअस’ भन्दै खानपिनको सेवा दिइरहन्थे । उनीहरुको ‘हस्पिटालीटी’ तारिफयोग्य लाग्यो ।  जहाजबाट झर्ने वित्तिकै ‘वाइफाइ कनेक्ट’ गर्न हतारो भयो । दोहाबाट डीसीको झण्डै १४ घण्टाको फ्लाइट थियो । मेरो जिवनको यो पहिलो लामो हवाइ यात्रा पनि थियो । सञ्चार सम्पर्क लामो समयसम्म नहुँदा मन अलि आत्तिने रहेछ । वाइफाइ जोडिने वित्तिकै सहपाठी साथी निदेश अधिकारीसँग कुरा भयो । अर्को साथी बाबुराम खरेलसँग कुरा भयो । दुवैजना मलाई ‘रिसिभ’ गर्न एअरपोर्ट बाहिर पर्खिरहेका थिए । इमिग्रेसनको औपचारिकता पूरा गरेर लगेज बुझेर अमेरिकाको खुला आकाश तर्फ अघि बढें । निदेशसँग बाबुनानी पनि सँगै थिए । बेलुन र बुकी सहित साथीहरुबाट स्वागत पाइयो ।  एअरपोर्टदेखि नजिकैको भर्जिनियाँस्थित मनासससम्मका लागि हामी गाडीमा चढ्यौं । अमेरिकी भूगोल स्पर्श सहितको पहिलो नजारामा सिनेमाको रीलझैं लाग्ने दृष्य देखिए । भौतिक विकास र मानव जीवनशैली अचम्म लाग्दो गरी समान गतिमा कुदेको अनुभव भयो ।  जहाँ जाउँ उस्तै । जे सोच्यो त्यही पुगे जस्तो । हरेक व्यक्तिसँग निजी कार सामान्य छ । असाध्यै पूराना र ठूला शहरमा बाहेक अन्यत्र त निजी कार हुनु अनिवार्यजस्तै छ । नत्र त दैनिकी चल्नै मुश्किल हुने रहेछ । उपभोग्य सामान किन्न होस् कि काम गर्न होस् टाढै पुग्नु सामान्य हो ।  वासिङटन डिसी, न्युयोर्क, बाल्टिमोर, फिलाडेल्फिया, पेन्सिलभेनिया, एटलान्टा, डालस, ह्युस्टन, लसएन्जल्स, सेन्ट पिटसवर्ग, टेम्पा लगायत शहर घुम्ने मौका मिल्यो । अमेरिकामा आधुनिकता र मौलिकताको अद्भुत संयोजन देखियो । आदिवासी संरचना र अत्याधुनिक विकास एकै ठाउँमा अवस्थित देख्दा आश्चर्यचकित भएँ । सफा बाटो, खुला सोच, व्यवस्थित सिस्टम, स्मार्ट पार्किङ, वृृद्धहरूप्रतिको व्यवहार, रिटायर्ड नागरिकहरुले दिने होम हस्पिटालिटी– यी सबैले अमेरिका के हो भन्ने बुझाउने अवसर दियो ।  हर्सी चकलेट, कोकाकोला जस्ता चर्चित ब्राण्डका उद्योग भिजिट गर्न पाइयो । उनीहरुले उत्पादन र उद्योगलाई पर्यटसँग गज्जबले जोडेका छन् । हामीकहाँ जस्तो सुरक्षागार्ड उभिएका बडेमानका बन्द गेट त्यहाँ हुँदा रहेनछन् । पूराना संरचनाहरुको संरक्षण, जातीय पहिचानको निरन्तरतामा आधुनिक अमेरिकाले उसै गरी टेको दिइरहेको रहेछ । आदिवासी रैथाने वस्तीमा अहिले पनि उही सभ्यता बाँकी छ, पयर्टन स्थलका रुपमा मानिस पुग्दा रहेछन् ।  बसाइँका क्रममा केही प्रतिनिधिमुलक नेपाली समुदायसँग भेट भयो । उनीहरुको समग्र प्रगति गौरव गर्न लायक देखेँ । नेपाली समुदायभित्रको एकता, सहयोगभाव, सफलता र संस्कारको समिश्रण देख्दा मन आनन्दित भयो । पत्रकारिता पढ्दाका कलेजका साथी निदेश अधिकारीले भर्जिनियामा गज्जवले व्यवसाय गरेका छन् । त्यहीँ बाबुराम खरेलले सूचनाप्रविधिमा विशेषज्ञ सेवा दिन्छन् । बाल्टिमोरमा चर्चित गायक प्रेमराजा महतको रेष्टुरेन्टमा नेपाली स्वादमा रमाउन पाइयो । काठमाडौं छिर्ने वित्तिकै मैले पहिलो पल्ट काम सुरु गरेको जन्मभूमि साप्ताहिकका सहसम्पादक तरुण पौडेलसँग झण्डै २ दशक पछि त्यहीँ भेट भयो । व्यवसायसँगै उनको सामाजिक छवि पनि अनुभूत गर्न पाइयो । संयोगले बाल्टिमोरमै रहेकी माता देवीसँग आत्मीय भेट भयो । पेन्सिल्भेनियाको ल्यानकाष्टरमा बसेर सहपाठी विष्णुहरी घिमिरे पत्रकारितामै रमाएको भेटिए ।  न्यूयोर्कको यात्रा भने अलि हतारोको रह्यो । लक्ष्मीपूजाको दिन थियो । टुर गाइडझैं खटिएर साथी बालकृष्ण बस्नेतले न्युयोर्कका करिब देख्नै पर्ने स्थानमा एकै दिनमा शहर घुमाइ दिएका थिए । फटाफट समय मिलाउने उनको कौशल गज्जव थियो । टेक्ससको डालसमा संस्थागत रुपमा स्वागत गर्ने नेपाल अमेरिका पत्रकार संघ र त्यसका अगुवा विकास न्यौपाने, सुरज भण्डारी, ओम आचार्य लगायत पत्रकारहरुको आत्मियता स्मरणीय रह्यो । यहीँ सिनियर पत्रकार रामचन्द्र भट्ट, संजय घिमिरे लगायतसँग भलाकुसारीको मौका मिल्यो । सहपाठी भोला आचार्यले ठाउँ सरेका र विनय देवकोटा नेपाल फर्केकाले त्यहाँ भेट जुरेन ।  लसएन्जल्समा काठमाडौं पढ्दाताका रुम पार्टनर कृष्ण आचार्यको विजनेसको साक्षी हुन पाइयो । उनी पहिल्यैदेखि व्यापारमा रमाउँथे । उता पुगेर पनि मनग्गे व्यवसाय गरिरहेका रहेछन् । यसरी जहाँजहाँ पुगियो साथीहरुको आत्मिय समय पाइयो । मज्जाले घुमियो अनि कहिल्यै भुल्न नसकिने मेजमानी खाइयो ।  काठमाडौं आउँदा सुरुमा हामी बाहिरकालाई स्टोभ बाल्ने सलाई किन्ने पैसा नहुँदा समेत भोकै पर्नु पर्ने अवस्था थियो । सात समुन्द्र पारीको अमेरिकामा पनि सुरुसुरुमा पुग्ने नेपालीहरुलाई आफन्त, साथीभाईको अभाव खट्कियो होला । तर, अब त जता जाउँ नेपाली नपुगेको ठाउँ छैन । चाडवाडमा भव्य उत्सब हुने रहेछ । भर्जिनियाको मनाससमा तिहार मिलन कार्यक्रममा हल खचाखच थियो । नेपाली गीतमा अमेरिकामा हुर्किरहेका बालबालिका समेत मौलिक पहिरनमा नृत्य गरिरहेका थिए । नेपाली परिकार पाकेको थियो । अमेरिकामा नेपालीहरुको संख्या तीन लाख बढी पुगेको अनुमान छ ।  हाम्रै साथी सर्कलले पनि उधुम उन्नती गरेको पाउँदा मन आनन्दित भयो । उनीहरुले गज्जवले अमेरिकीलाई पनि रोजगारी दिएका छन् । उनीहरुको व्यापार कौशलले प्रगति चुलिदै गएको देखियो । आहा..., गुगलम ‘सर्च’ गर्दा नेपाली भाषा, नेपाली खाना, नेपाली सिनेमा, नेपाली पसल सबै आसपास पाइन्छ ।  यस्ता अनेक कारणले यो यात्रा केवल पेशागत ज्ञानको अभिवृद्धि मात्र भएन, जीवनकै स्मरणीय सिकाइ भयो । एक दर्जन बढी देश पुगें, तर वास्तवमा यात्रा त आफैलाई बुझ्ने हुने रहेछ । भुगोल चहार्नु भनेको आफु जन्मेको देश, आफुले भोगेको भुगोल, संस्कृति र समुदायका सपना र बास्तविकता अनि बाहिरको मानिसका बास्तविकता र सपनाबीचको निकटता र दूरी कल्पिनु रैछ । यात्रा सकिएको तीन वर्ष हुन लाग्यो तर अनुभूतिहरू अझै ताजै छन् ।  यसपाली फेरी अर्को सन्दर्भमा त्यही अमेरिकाका केही शहर र छिमेकको क्यानडा समेत विचरण गर्ने मौका जुर्यो । उस्तै अनुभूति र कौतुहलता सहित फर्किएँ । यसपालीको यात्रा सुरु हुने वित्तिकै यता नेपालमा युवाहरुको मनमा आगो सल्कियो । त्यो आगोले हाम्रो इतिहास र सम्पदा पनि जलायो । यी चित्रहरुले न यात्रा फलदायी बनाउन सकियो न उमङ्गमय रह्यो । फगत आफन्त र परिवारको सम्झना र देशको चिन्ताले गाँज्यो । मुलतः सोसल प्लेटफर्मका लागि सडकमा निस्केका भाइबहिनीहरुमाथि सरकारी दमनले ठूलो क्षति र प्रतिकार निम्त्यायो । राज्य विहिनताको स्थितिमा देश पुगेपछि उता विदेशमा त्यही सोसल प्लेटफर्मबाट आउने विभिन्न भ्रामक र कतिपय सहि सूचनाले नै मन अत्यासलाग्दो बनाइ दिदो रहेछ ।  मेरो पुस्ताको नियती नै कस्तो परेछ, यो पुस्ता आन्दोलनकै बीचमा जन्मियो । आन्दोलनकै बीचमा हुर्कियो । आन्दोलनकै बीचमा यसले पढ्यो । आन्दोलनकै बीचमा कर्ममा छ । अनि आन्दोलनकै बीच  जीवन जाला जस्तो छ । आफ्नो माटोमा अन्यौलको बादल मडारिँदा मनले आफ्नो भूगोल र आफुले चहारेको भूगोलको अवस्था र नियती बीचको हिसाब खोज्दो रहेछ । अनि मनमा एउटा ठूलो प्रश्न खडा गरिदिँदो रहेछ, हाम्रा पुर्खा ढिलो जन्मिए कि उनीहरु संसारको गति मिलाउन नसक्ने गरी निकै ढिलो हिँडे ? यो एउटा फुच्चे प्रश्नले पनि मनमा विशाल आक्रोश र निराशाको पहाड खडा गरिदिँदो रहेछ ।  कहाँको समृद्धिको शिखर चढेको अमेरिका र उनीहरुको जनजीवन ? अनि कहाँ ‘अमेरिकी साम्राज्यबाद मुर्दाबाद’को नारा सुन्दै हुर्केको हाम्रो पुस्ताको जीवन । हाम्रो राजनीतिक पछौटेपनलाई सराप्न मन लाग्ने रहेछ यस्तो देख्दा । कहाँ प्रतिव्यक्ति वार्षिक आय झण्डै एक हजार ५ सय डलर भएका हामी र कहाँ प्रतिव्यक्ति आय झण्डै ७५ हजार डलर पुर्याएका अमेरिकी । समृद्धि र उन्नतीले पो शक्तिशाली बन्ने रहेछ देश । नारा मात्र लाएर देश समृद्ध र नेपाली सुखी हुने भए त जति ‘लालसलाम’ ठोके पनि पीर के को थ्यो र !  शहर, समाज, भूगोल, पूरै देश नै सिनेमाको रिल जस्तो लाग्छ । मस्त छ अनि पूरा होश हवासको लयमा छ । खोट लाउने कहिँकेहि ठाउँ बाँकी छैन जस्तो । सडकमा मानिस देखिदैनन् । कि आकाशमा उडेका छन् । कि गाडीमा गुडेका छन् । जमीन मुनी पनि ट्रेनका रुट छन् । मान्छे पार्कतिर, ठूला मल तिर वा रेष्टुराँ तिर देखिएलान् । ती पनि आफ्नो काममा व्यस्त । फुर्सदिलो र बेकामे मानिस त कतै नजर पर्दैनन् ।  सडकका ठाउँ ठाउँमा हल्का यू सेफमा चेन क्याफे, रेस्टुराँ छन् । गाडीबाट नओर्लिकनै आफुले चाहेको कफी, खानेकुरा अर्डर गर्न सकिन्छ । अनि पैसा तिरेर अर्को झ्यालमा रिसिभ गर्न सकिन्छ । ‘ड्राइभ थ्रु’ भनिने यस्तो सेवा लिन गाडीबाट ओर्लने झन्झट नै हुदैन । जता जाउ उस्तै बाटो छ । चिल्लो, सफा, चौडा, कैयौं लेनका । ट्राफिक सिग्नल व्यवस्थित छन् । ट्राफिक प्रहरी कतै देखिदैनन् । सब कुरा सिस्टममा छ । सामान्य मजदुरी गर्ने सँग पनि कार छ । नेपालमा जस्तो घरै पिच्छे पसल र टोलै पिच्छे बजार हुदैनन् । त्यसैले कार भएन भने दैनिकी नै रोकिने जस्तो पनि हुने रहेछ । हामी कहाँ जस्तो नुन सकिए तत्कालै किन्न जाने जस्तो सहज पनि त्यहाँ छैन । मज्जाले केहि दिनलाई पुग्ने गरी दैनिक उपभोग्य वस्तु खरिद गरेर राख्ने चलन हुनेरहेछ ।  हरचिजका लागि बैंक र संस्थाहरुले क्रेडिट सुविधा दिएका छन् । कमाएर तिर्न सक्नु पर्यो, लोनको सकस छैन । मानिसहरु कि जहाजमा कि आफ्नै कारमा बढि रमाउने रहेछन् । सार्वजनिक यातायातका साधन निकै व्यवस्थित र भरपर्दा भए पनि आफुसँग सुविधा हुनेहरुको रोजाईमा खासै पर्ने देखिएन । अपाङ्गता भएकाहरुका लागि ध्यान नदिएको पूर्वाधार देखिदैन । बाटो, घर, शौचालय, पार्क, सपिङमल, शैक्षिक संस्था जहाँ पनि पूरापूर ध्यान दिइएको अनुभुत हुन्छ ।  ‘होमलेस’ मानिसहरु चाँहि यत्रो विशाल र समृद्ध देश अमेरिकामा पनि देखिदा रहेछन् । बाटोघाटोमा, ट्रेन स्टेशन तिर उनीहरु माग्न बसेका देखिन्छन् । बाह्रै्र महिना ठिक्कको मौसम हुने लसएन्जल्समा यस्तो समस्या झन् बढि रहेछ । होमलेसले अड्डा जमाउलान् भनेर यहाँ घरको पेटी जस्तो ठाउँमा फुटेका काँचका टुक्रा वा किल्ला ठोकिएको देखिन्छ । अनि न्यूयोर्कको ज्याक्सन हाइटले पनि फरक परिचय जस्तो बनाएको छ । अधिकांश भारतीय, नेपाली, बंगाली लगायतको बसोबास यहिँ छ । महेशविक्रम शाहको कथा संग्रहमा मज्जाले ज्याक्सन हाइटको कहानी पढ्न पाइन्छ ।   जता पनि साह्रा निर्माण पूर्ण छ । नेपालमा जस्तो पाइलै पिच्छे खाल्टाखुल्टी छैनन् । अनि जता जाउ अस्तव्यस्त काम भैरहेको पनि देखिदैन । भैरहेको भए यति मज्जाले व्यवस्थापन गरिएको हुन्छ कि कत्ति पनि फोहर वा धुलोपानी बाहिर देखिदैन । कसैलाई असर नपार्ने गरी तारतम्य मिलाइएको हुन्छ ।  सिनेमाको दृष्य जस्तो सबकुरा सफाचट छ । कहिँ कतै निर्माण कार्य वा मर्मत भैरहेको देखिए अनौठो लाग्छ । जमीन पनि कि पिच वा कालोपत्रे छ, कि खेतमा बाली झुलिरहेको छ वा मज्जाले संरक्षित जङ्गल छ । जङ्गलमा पनि पिच बाटो वा काठका फलेकले मज्जाले हिँड्न मिल्ने गरी ट्रेक बनाइएको देख्दा अचम्म लाग्छ ।  हामीकहाँ जस्तो उवडखावड, उजाड जमीन कतै देखिदैन । प्रकृति पनि सबै मान्छेले बनाए जस्तो देख्दा अचम्म लाग्छ । छाडा पशु कतैदेखिदैनन् । पशुपालन क्षेत्र पुग्दा पनि सबकुरा व्यवस्थित देखिन्छ । पीच बाटोमा सरर कार हुइँक्याउँदै गाई फार्म पुग्दा गाइहरु प्नि सानदार सुविधा सहित देखिन्छन् । सफा र विशाल गोठको छेउमा भव्य डेरी क्याफे देखिन्छ । जहाँ मज्जाले मानिसहरुले ताजा उत्पादन खाइरहेका हुन्छन् । गाई फार्ममा फोटो खिच्दै रमाएको देखिन्छ । उत्पादनलाई उपभोक्ता सँग सिधै जोड्ने गजव अभ्यास छ । उद्यमलाई पर्यटन सँग जोड्ने प्रयास झन् अनुकरणीय छ ।  नेपालमा दुई वर्ष अघि मनाङको स्याउ फार्ममा नमिठो अनुभव बोकेको थिएँ । स्याउ मार्फमा फोटो खिचौं भनेर उत्साही भएर गाडीबाट झर्दा प्रति व्यक्ति ५ सय रुपियाँ लाग्ने बताउँदा हामी निराश भएर फर्किएका थियौं । त्यसै विकट त्यो ठाउँमा सितिमिति चरो मुसो पुग्दैन । किन फोटो खिच्न तेत्रो पैसा राखेको हो वुझ्न सकिएन । तर यसपाली अमेरिकामा एउटा स्याउ फार्म पुग्दा गजव अनुभव गर्न पाइयो । फार्ममा फोटो खिच्न मात्र होइन सकेजति खान पनि पैसा लाग्दो रहेनछ । किन्न मन लागे किन्यो नभए मज्जाले बोटबाट मन लागुन्जेल खायो, फक्र्यौ । नेपालमा मुगलिन नजिक रहेको बाह्रसिंगे वियर कारखानामा चाँहि गजवको दृष्य देख्न पाइन्छ । फोटो खिच्न र फ्याक्ट्रीमै वियर पिउन पाउँदा पुग्नेहरु दङ्ग देखिन्छन् ।   आँधी, हुरीको डर हुने भएकाले आवासिय घर भने प्रायः साना हुने रहेछन् । पूरानो र ठूला शहरमा अपार्टमेन्टहरु अग्ला हुन्छन् । व्यवासायिक भवन अग्ला र भिमकाय ठूला हुन्छन् । तर, नीजि आवासीय घरहरु प्राय एकैनासे र उत्रउत्रै देखिन्छन् । अधिकाशंको जमीनमुनी एकतला बनाइएको हुन्छ ।  समयको पालना बारे त बाफ्रे । आइभीएलपी कार्यक्रम अन्तर्गत जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा जानु थियो । जहाँ पनि हामी सेडुलमैं पुगिन्थ्यो । त्यहाँ दुई घण्टा ढिलो भयो । दिनभरको सेडुल सहित गाडीमा गैरहेका थियौं । आज नमज्जाले थाकिने भैयो भनेर गफिदै पुगेका थियौं । बेल्कासम्मको टाइट सूचि थियो । एसियाली भुगोलका हामी त्यहाँ पुग्दा त चकित पर्यौं । हामी जतिबेला पुग्यौं त्यतिबेलैको सेडुलबाट कार्यक्रम सुरु भयो । अघिको सबै सेडुल हटाइएको थियो ।    जहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली संस्कार, सभ्यता, खाना, पहिरन, भाषा पुगेको छ । यस हिसावले नेपाल बाहिर गएका नेपालीहरू नेपालका अवैतनिक दूत जस्ता लाग्दो रहेछ । नेपालबाट विदेशिने सबैलाई पलाएन भएका, सुख खोज्न गएका वा नेपाललाई माया नगर्ने रुपमैं सोच्ने गरिन्छ । तर, विदेश पुगेर सोच्ने हो भने फरक लाग्दो रहेछ । संसार भर नेपाली पुगुन् । फैलिउन भन्ने लाग्दो रहेछ ।  संयोगले अमेरिकामा चुनावका बेला परेको थियो । भोट हाल्ने सुविधा पनि गजव लाग्यो । निर्वाचनको दिन मतदान स्थलमा पुगेर भोट हाले भो । घरमै मतदान गर्ने अनुरोध गरेर मतपत्र मगाई भोट गरेर हुलाकबाट पठाए भो । अनि तोकिएको स्थानमा पुगेर पहिले नै मतदान गर्न (Early Voting) पनि पाइँदो रहेछ । मतदान यसरी असाध्यै सरल हुँदो रहेछ । नेपालमा जस्तो स्थायी ठेगानामै पुगेर तोकिएकै दिन भोट हाल्ने झमेला छैन । बरु उतै जन्मिएका नेपाली मुलका बालबालिकाको भविष्यको चिन्तामा नीतिगत तहमा पुग्ने नेपालीहरु सजग देखिए । मतदान स्थलमा भेटिएका सासंद ह्यारी भण्डारी आउने पुस्ता न नेपाली न अमेरिकन जस्ता नहोउन् भनेर नीतिगत व्यवस्थामा आफ्नो ध्यान रहेको बताए । उनी मतदानका दिन छोरी सँग मतदान स्थलमा भेटिएका थिए । यताको जस्तो मेला लागे जस्तो केहि हुँदो रहेन छ । न भीडभाड न तामझाम । दैनिक हुने काम जस्तो मान्छे आउँथे, भोट हाल्थे, फर्किन्थे । 

माटोको खत

पूरानो दिनका स्मृतिमा पारिवारिक कुराकानी चल्दै थियो । बिर्सन नसकिएका, मनमा गडेर आसन जमाएर बसेका सन्दर्भ उप्किएका थिए । मनमा बसेका खाटाको यादले उहिल्यै सामसुम भएको भल फेरि उर्लिँदो रहेछ । बग्न लागेको भल सुसाइरहन स्वयंको हिम्मत र सामुन्नेवालाको धैर्यता चाहिँदो रहेछ ।  खाना खाइवरी बेलुका अबेरसम्म विगततिर फर्किँदै गफिँदा पाकापुस्ताको भावभंगीले यसै भन्थ्यो । उनीहरू कुरा उप्काउँथे अनि बीचैमा मोडिदिन्थे । सायद त्यो आँट र धैर्यता अब बाँकी थिएन । अरूको मनभित्रका डाम देख्ने र त्यसको नापो लिने ताकत सायद भगवानले मानवचोलाका कसैलाई दिएका छैनन् । शरीरमा बसेका खाटा सबैले देख्ने रैछन् । जति पुरानो भए पनि खतको डाम उस्तै, उत्रै ।  मामाघरकी मेरी बज्यैले मेरा बारेमा भनेकी थिइन् – ‘आ...यो क्या सम्झला त, त्यति नानो माण्ठ । त्यही बेलाआ... कुडा । यैको नाडीको डामको नापो आफै बोल्लो ।’  म जन्मेको पहाडको सम्झना ४ वर्षको बालक मनले खासै राख्न सकेन । सामान्य स्मृति मात्र आउँछ । मेरो घरको चुल्हो, ओटालो, ओटालोबाट देखिने ओखरको रुख, घरछेउको नासपातीको बोट, पल्ला टोलको मामाघर जाने त्यो पहाडको डिलैडिलको बाटो, बीचमा पर्ने पानीको ढल, रुँदै पर्खेर उभिएको देखेर मलाई तारिदिने मैले बिर्सिएका ती आफन्त, हिलोमा झरेका ओखर र मामाघरमा बज्यैले ख्वाउने दूधभातका पल धमिलै सही सानै मनदेखि नबिर्सिने गरी गढेका छन् ।  मन कमलो भुवा झैं भएर बहकिएका बेला भुरुरु ती यादहरू फर्कीफर्की आइरहन्छन् । तराई झरेपछि विस्तारै मेरो उमेर अनुसारका स्मृतिका छाप मनमा प्रष्ट हुने नै भए । सानो उमेर भए पनि सायद मानिसले नदेखिने मनको चोट होस् वा देखिने जीउको चोटका सन्दर्भ चटक्क बिर्सन सक्दो रहेनछ ।  मैले मेरो हात अगाडि सार्दै भनेको थिएँ– ‘यी मेरो पुरानो सम्झना ।’ बज्यैले मेरो दाइने हातको नाडीमा रहेको खतको सन्दर्भ जोडेकी थिइन् ।  बर्दियाको राजापुर क्षेत्र । राजापुर भित्रको एक गोला । त्यही गोलाको खोनपुर । कर्णाली नदीको दुई भङ्गालोले घेरेको छ– बर्दियाको राजापुर क्षेत्रलाई । थारु समुदायबीच भौंरा टप्पुको नामले पनि चिनिन्छ । तत्कालीन एघार गाविसको राजापुर इलाकालाई श्रीलंकाको टापुका रूपमा पनि चिनाउने चलन छ । उत्तर चिसापानीमा कर्णालीको दोभान छ भने दक्षिणतर्फ भारतको जङ्गली फाँट छ । यसैभित्र उत्तरतर्फ पर्छ– गोला । त्यसको दक्षिण क्षेउमा पर्छ खोनपुर ।  यहाँ मेरो पाहुना अवधि सकिन नपाउँदै मैले ठूलै खतको चिनो पाएको थिएँ । अचेलजस्तो उपचार चेत र यातायात सुविधा भए नेपालगन्ज पुर्याएर भए पनि घाउमा टाँका लगाइदिँदा हुन्, बुवाले । मामा पनि साथैमा जाँदा हुन् । टिटानसको सुई लगाइदिँदा हुन् । तर, भर्खर औल झरेका, के खाऊँ ? के लाऊँ ? बेलाका बाआमालाई त्यस्तो चेत कसरी आउनु ? अनकन्टार जस्तो चारैतिर कर्णाली नदीले घरेको गाउँबाट नेपालगञ्ज जानु कहाँ सजिलो थियो र ? कैयौं घण्टा पैदल हिँडेर, कोठियाघाटको कर्णाली नदीमा डुङ्गा तरेर, भारतको कतर्निया हुँदै बस समातेर नेपालगन्ज पुगेर उसैगरी फर्कनु समय, पैसा सबै हिसावले त्यसबेला निकै कहालीलाग्दो यात्रा हुन्थ्यो ।  मनमा चेत आएर पनि कसरी नेपालगञ्ज लानु ? मलाई सम्झना छ, भाँगो निचोरेर बज्यैले रस चुहाइदिएको । अनि निचोरेका भाँगाकै पातको मल्हम जस्तो थुप्रो पारिदिएको ।  नाडीको घाउ त केही दिनमा बिसेक भयो तर, नमेटिने ठूलै खतको साइनबोर्ड चाँहि टाँगेर गयो । उमेरसँगै नाडीको आकार बढ्यो । अनि खतले पनि सँगै आफ्नो भागको आकार बढायो । जुन मैले साथमै बोकेको छु । जीवनपर्यन्त यो साथमै रहने छ । आसपासका खोला, नदी, घर, आफन्त, परिवार, साथीभाइ छुट्लान् तर यो खतले छोड्ने छैन । मेरो शरीरबाट उड्ने धुँवा र खरानीले मात्रै सायद मेट्न सक्नेछ यो चिनो ।  ४ वर्षको कलिलो हातको नाडीमा भरखर धार लगाएको बासोले छ्याक्क काटेको थियो । घाउ कत्रो थियो होला ? नशा काटिए होलान् कि नाइँ ? निको कसरी भयो होला ? काटिएको भए नशा कसरी आफै जोडियो होला ? कति दिनमा निको भयो होला ? अहिले यही खतको गाढा निशानी र धीमा याद मात्रै साथी छन् । ४ वर्षको चिचिलो उमेरका सबै कुरा जस्ताको तस्तै ४० कटिसक्दासम्म याद होस् पनि कसरी ? खासमा बेहोशी अघिको अवस्था जस्तो यादका झिसमिसे सम्झना मात्रै वीच वीचमा आलो फर्किरहँदा रैछन् ।  मामा र हाम्रो परिवार सँगै पहाडबाट तराई झर्यौं । बज्यै, म, आमा र माइलो भाइ जुम्लाबाट प्लेन चढेर नेपालगञ्ज झरेका थियौं । मामालाई ४५ वर्ष अघिका तिथिमिति ठ्याक्कै याद रहेको देख्दा अचम्मै हुन्छु । तर, उनको यो सम्झने शक्ति मेरा लागि गजबको पारिवारिक दस्तावेज जस्तो भएको छ । २०४० सालको मंसिर ८ गते जीवनमा पहिलोपल्ट मैले आकाशमा उड्ने मौका पाए पनि फुच्चे उमेरको त्यो यात्राको खासै सम्झना बाँकी छैन । बरु त्यसको २ वर्ष अगाडि नै २०३८ सालमा मलाई उपचार गर्न नेपालगञ्ज लैजानका लागि बुवा र मामाले जुम्ला लगेका बेला मैले जहाजको लामो पखेटा देखेको हो कि जस्तो लाग्छ । यकिन भने छैन ।  त्यो जमानामा नाग्म गाउँमा पानीको पाइप जडान भयो । पूर्व–दक्षिण फर्केको पहाडको पाखोमा एकातिर मावली पाण्डेबाडा र अर्कापट्टी हाम्रो अधिकारीबाडा पर्छ । कम्तिमा दुई घण्टाको ठाडो उकालो चढेपछि खोचमा रहेको मूलबाट प्लाष्टिकको कालो पाइप जोडेर टोलमा पानी ल्याइएको थियो । बाटो, गाडी नपुगेको त्यो अनकन्टार कालिकोटको नाग्म गाउँमा त्यो जमानामा त्यहाँ खानेपानी योजना पुग्नु पत्याउनै नसकिने सत्य थियो । पाइप तान्ने र जोड्ने काम श्रमदानबाट भएको थियो । जडान गर्दै जाँदा बेकामे भएको सानो पाइपको टुक्रा सायद त्यो आधा इन्चको पाइप थियो होला, मामाले भाञ्जाले खेलाउनलान् भनेर ल्याएछन् । त्यो मुख भित्र हालेर हु...हु... गर्दै हिँड्ने बेला विकट र उवडखावड त्यो वस्तीमा कता ढोकातिर खुट्टा फसेर म उछिट्टिएर अगाडि हुत्तिएछु ।  पानीका मुहानहरू धेरै भए पनि नजिकसम्म ल्याउने उपक्रम नहुँदा पानीको साह्रै दुःख थियो । पानी गाउँमा आउने खुसीभन्दा पहिले हाम्रो परिवारमा विपद आइलाग्यो । पाइपले मेरो घाँटीको श्वासनली वा खाना खाने नली कुन चाँहि काटेछ । वा दुवै काटेछ । रुवाबासी सुरु भयो । साढे २ वर्ष जतिको बालकको त्यो अवस्था अनि नजिक न अस्पताल न डाक्टर पाइने त्यो युग । रातभरि जसोतसो काटेर बुवा र मामा मलाई बोकेर विहानै सरजाम बोकेर जुम्ला हानिए ।  वरपर तानतुन गरेर नगद दश हजार जति रुपियाँ बोकेर मलाई काँधमा भिरेर दुई भिनासालाले नेपालगञ्ज लाने भनेर जहाज भेट्न हतासिएका थिए । बाटोमा त्यसबेला पाइने पिपलमेट चकलेट र नदीको चिसो पानी हातमा घोल्दै मेरो मुखमा रस चुहाएको मामा अहिले पनि सम्झन्छन् । अरु केही निल्नै नसकिने, दुखेर रुने मात्रै मेरो अवस्था थियो ।  कहिलेकाहीँ संजोग पनि गजबले टुप्लुक्कै आँगनमै आइपुग्ने रहेछ । आधा दिनको पैदल यात्राबाट खलङ्गा पुगेर प्लेन टिकटको जोहो गर्न सोधखोज गर्दै गर्दा हेल्थ क्याम्प लागेको खबर कानमा परेपछि हानिँदै मलाई त्यता लगियो । अनि डाक्टरले चिम्टाले च्यापेर मेरो घाँटी भित्रको काटिएको घाउ टाँसिदिए । अनि भोलिपल्ट मामा घर फर्किए, हामी भने फलोअपमा केही दिन बसेर घर फर्कियौं । अनि नेपालगन्ज जानु पनि परेन, ढिलो नभएर होला मेरो घाउ पनि बिग्रेन र पैसा पनि जोगियो । यसै बेलाको हो जस्तो लाग्छ, जहाजको पखेटाको धिमा सम्झना । ठ्याक्कै चाँहि भन्न सकिनँ ।  सबै जना बाटोको सामल अनि आफूसँग भएका पछि काम लाग्ने सरजामसहित हिँडेर बर्दिया बसाइँ सर्ने तयारी थियो । नाग्म, कालिकोटबाट दैलेख, सुर्खेत हुँदै गोला, बर्दिया पुग्न करिब १० दिनको पैदल यात्रा गर्नु पर्दथ्यो । तरुना र तन्दुरुस्त लोग्ने मान्छेहरू ७ दिन जतिमा पुग्थे । बुढाबुढी, केटाकेटी, सुत्केरी महिला भएपछि यात्रा लामो हुने नै भयो । अनि बाटोको सामल र अत्यावश्यक सरजामको भारी आवश्यकता अनुसार बढ्यो भने यात्राका दिन पनि लम्बिन्थ्यो ।  मामाघरकी बज्यैले पूराना कुरा सम्झँदै भनिन् – ‘तेरा बोब (वुवाका वुवा)ले काँ सुत्केरी बुहारी हिँडेर जान सक्छ ? हुँदैन । प्लेनको टिकट गर भन्या छन् ।’ बुहारीलाई मान्छे नगन्ने त्यो बेलाको समाजमा हाम्रा बोबमा त्यो तहको उदार चेत रहेछ । उनी बितेको पनि २७ वर्ष भैसक्यो । बोबको निर्णयपछि बज्यै, म र आमा अनि ४ महिनाको दुधे भाइसमेत हामीले जुम्लाको खलङ्गादेखि नेपालगञ्जसम्मको जहाज चढ्ने सौभाग्य पायौं । त्यसबेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्लेनमा एकजनाको भाडा १२५ रुपियाँ थियो ।  हामी उड्नुभन्दा एक साताअघि बुवा नेपालगञ्जका लागि हिँडेका थिए हामीलाई ‘रिसिभ’ गर्न । मामाले जुम्लामा विमान चढाएर बिदाई गरे भने बुवाले नेपालगञ्जमा स्वागत । अनि भारतीय बाटो हुँदै गोला पुगियो ।  गोलाको खोनपुर गाउँमा हामी बसाइँ सरेका सुरुका दिन बाआमाका लागि घर बनाउने दार, खाबा जोड्ने, खरखडाई खोज्ने चटारो थियो । केही महिनामा माथिल्लो तलो होँचो भए पनि सुत्न मिल्नेगरी दुई तलाको फुसको घर तयार भएको थियो । बारी बनाउने, तिहुन तरकारी लाउने आदि कामको मेसो पनि मिलाइँदै थियो । बज्यैका लागि पनि घर तयार भयो ।  कुलापारि उत्तरपट्टि मामाघर र सडक वारि दक्षिणपट्टि हाम्रो घर ठडियो । अभिभावक यस्तैयस्तै काममा व्यस्त भए । म जस्तै टोटकी (केटाकेटी) भने आफ्ना छावँलका साथी सँग चिनजान गरिवरि साथ्या बनाई केटाकेटी खेलमा अभ्यस्त हुन थालिसकेको थिएँ । डण्डिबियो, लुकीलुकी, घुरघुरिया, वालुवामा लुकाइ, माटो खनाइ, आइसबाइस जस्ता तराईंका केटाकेटी खेल सिक्न दुई महिना पनि लागेन ।  सँगै जग्गा किने पनि आमाकी माहिली दिदीको परिवार अघिल्लो वर्षकै मंसिरमा तराई झरिसकेकाले सुरुमा उनीहरूको भर भयो । ठूलीआमाको परिवार सँगै जुम्लाबाट अर्को छिमेकी परिवार पनि बसाइँ सरी आएको थियो । ठूलीआमाको घरसँगै हाम्रो अस्थायी छाप्रो बनेको थियो । त्यसभन्दा पश्चिम केहीपर बाटोको दक्षिणपट्टि ती छिमेकीको घर थियो । त्यो घरमा मेरै उमेरकी सानी छोरी पनि थिइन् । उनी मेरो नयाँ साथीहरूमध्ये एक हुन आइन् ।  नयाँनयाँ ठाउँ । वस्ती पनि पातलो । साथीभाई थोरै थिए । हामी समय मिलेसम्म केटाकेटी खेलमा रमाउन थाल्यौं । त्यसबेला धानको कुनिउँमा लुकीलुकी खेल्न खुब मज्जा हुन्थ्यो । उनले एकदिन भनिन्, ‘माटो खन्ने खेलौं है ?’ उनी घरभित्र पसिन् र काठ ताछ्ने बासो लिएर आइन् ।  उनको घर अगाडिको आँगनको चिसो भुइँमा हामी थचक्क बस्यौं । पुषमाघको ठिहिर्याउने मौसम थियो । घाम पनि लागेको थिएन । पहाडबाटै ल्याएका कोछ्या, जाँघ्या यस्तै केही लुगा लाएको थिएँ । थचक्क भुइँमा बसेको सम्झेर झल्यास्स बीउ झैं भएँ । सोचें, टाला मैलीजान्या हुन् कि ? अनि टुक्रुक्क खुट्टाले टेकेर बसेँ ।  उनले फेरि भनिन् – ‘म खन्छु । तुमी माटो फाल है ?’  उनी बासोले माटो खन्ने अनि मैले हातले माटो तानेर खाल्डो बनाउन थालेँ । यसो गर्दा उनले खन्ने पालो र मैले फाल्ने पालो मिलाएर गरिरहेका थियौं । रमाइलै भैरहेको थियो माटोको खेल । एकछिन् पछि कसरी हो पालो विग्रिएछ । मैले माटो फाल्न हात हाल्ने र उनले खन्न बासो उज्याउने सँगै परेछ । मेरो नाडीमा घ्याच्च लागि हाल्यो । बासो पनि भरखर धार लाएको रैछ । केटाकेटी बलले पनि काटिहाल्यो । रगतको धारा छुटे । हल्लीखल्ली भयो । अनि अनुभवको डिग्री बोकेकी बज्यैले भाँगोले रगत थामिन् । भाँगोकै लेपले निको पार्ने मल्हम बनाइ दिइन् । धरधन्दाको काममा असिनपसिन आमाबुवाले थाहा पाउनेबित्तिकै चार हातखुट्टा टेकेर आए । बेस्सरी रोए । लगलग कामे । तराई झर्नेबित्तिकैको पहिलो उपहार नमीठो माने सायद ।  मैले दाहिने हातमा टलक्क टल्कने ठाउँमा टाटो साइनबोर्ड पाएँ । बर्दियाको माटोसँगको सानिध्य सुरु भयो । जसले टाटो चिनो दिएको थियो ।  २०५३ सालमा नेपालगञ्जमा आइए पढ्न बस्दा बेला रहरले मार्सल आर्ट्सको चिनियाँ खेल उसु खेल्न थालेको थिएँ । एक जना ‘सिनियर’ खेलाडी हाम्रा गुरु थिए राजु थापा । उनकी भाउजू दुई जीउकी भएका बेला शरीरमा चाहिने भन्दा आधा मात्रा रगत रहेछ । सायद १०÷१२ पिन्ट जति रगत ‘स्टाण्डवाई’ राख्न डाक्टरले भनेका थिए । उनले सबैलाई रगत दिन आग्रह गरेपछि म पनि रगत दिन तयार भएँ र भेरी अस्पतालको व्लड बैंकमा साथीहरु सँग गएर पहिलो पल्ट रक्तदान गरेको थिएँ ।  पछि गाउँ गएका बेला रगत दिएको आमालाई सुनाएँ । आमा त धरधरी रुन थालिन् । उनको दुखेसो थियो – ‘मैले आफूले खाइनखाई दशधरा दूध खुआएर अरूकन रगत देलाइ भनेर हुर्काएकी छियाँ भाउअ ?’ छोरा मान्छेलाई हाम्रो खस भाषामा स्नेहले भाउअ भन्ने चलन छ । चलन थियो भनौं । अब त्यो ठेट भाका बाँकी रहेन । पनाति पुस्तामा आउँदा मासिइसक्यो ।  खासमा आजभन्दा झण्डै ३० वर्ष अघिको कुरा त्यसमाथि गाउँमा रक्तदानबारे चेतना थिएन । आमाको चिन्ता अन्यथा थिएन । त्यसबेला शरीरबाट रगत बग्नु र खसीको मासु काट्दा बोसोको भाग नपर्नु बहुतै ज्यादा महत्त्वका विषय थिए । त्यसताका शरीरको रगत र खसीको बोसो उस्तै भाउका थिए । थारु अनि हिन्दी मिसिएको भाषामा शरीरबाट खुन बग्नु र ६ महिना लाएर भाग पुगेपछि काटिएको खसीको मासुमा बोसोको अलग भाग नमिल्नु ठूलो पीडाको कुरा हुन्थ्यो ।  खसी काटेपछि रगतसहितको भुटन पकाएर बाँडेर खाने चलन थियो भने मासु र बोसोको बराबर भाग लाग्थ्यो । अहिले सम्झन्छु– क्याम्पस पढ्न गएको हुर्केबढेको छोरोले अरूकोे ज्यान बचाउन डाक्टरले विधि पुर्याएर रगत झिक्दा त रुवाबासी गर्ने आमाले ४ वर्षको सानो बालकको हातको नाडीबाट बासोको धार लागेर उम्लिएको रगत देखेर कति रुवावासी गरिहोलिन् ?  नयाँ ठाउँ, नयाँ मान्छे, ओत लाग्ने आफ्नो घर बनिसकेको छैन । के खाने, के लाउने टुंगो नलागेको परदेशी जस्तो हाल भएका बेला छोराको नाडीबाट रगतका छिल्का आउँदा कुन् आमाबाको मन नरुँदो हो र ? पछि बाआमा बनेपछि आफ्ना सन्तानको शरीरबाट रगत बग्नु त परैको कुरा सानो कतै घोचियो भने पनि आफ्नो मुखबाट ऐआको चित्कार फुत्किँदा बाआमाको मन अनुभव हुँदो रहेछ । सबै बाआमाको मन उही त हो । चाहे अघिका हुन् वा पछिका । चाहे गाउँका हुन् या सहरका । बाआमा त बाआमा नै हुन् ।  ठूलो भएपछि कति ठाउँमा आफ्नो हुलिया लेख्ने बेला दाइने हातको नाडीमा खत भएको भनेर लेखेको छु । अनुहारको हुलियाको मात्र खास गणना हुने पछि मात्र थाहा भयो । तर, मलाई लाग्छ यो घाउ होइन, पहिचान हो । नाता हो माटोसँगको । जसरी रातो माटोलाई कर्णाली नदीले पहाडबाट बगाउँदै ल्याएर तराईमा रातोपानी बगेर एकाकार गरिदिन्थ्यो खेतमा सिञ्चिएर । मलाई पनि उसैगरी त्यसै माटोसँग नाता जोडिदिएको थियो सायद त्यो बाल दुर्घटनाले ।  किशोर उमेरका बाआमाले आफ्नो थातथलोको पवित्र रातो माटोको माया छातीभित्र गुम्साएर सायद आफ्ना लागि कम हामी सन्तानको भविष्यका लागि ज्यादा अनकन्टार गोलामा पुगेका थिए । त्यही माटोमा मेरो रक्त कण एकाकार भएको हो भन्ने ठान्छु अनि नाडीको चिमचिमे घडी सम्झँदै खत हेरेर मुस्कुराउँछु । २०४० सालको भाद्र ३ गते कर्णाली नदीमा हालसम्मकै ठूलो बाढी आएको थियो । त्यसै सालको मंसिर ८ गते ४ महिने दूधे बालक मेरो भाइलाई च्याप्तै ४ वर्षको कलिलो बालक मलाई डोर्याउँदै बसाइँ सरेको थियो हाम्रो परिवार । मामाको परिवार पनि सँगै हुँदा एकअर्कालाई भर थियो ।  कर्णाली नदीको भेलले कालिकोटबाट समेत रातो माटो बगाउँदै त्यसका राता कण भए पनि नदीसँगै जोडिएको खोनपुरको माटोमा मिलन गराउँथ्यो । हरेक वर्षामा राता कणको पुनर्मिलन गराउने जिम्मा भेलको थियो । भेल उग्र हुँदा मात्रै पीर हो, नत्र भने माटो मिलन प्रिय नै थियो हाम्रा लागि । यसरी नै हाम्रो परिवारलाई भूगोलले पनि स्वीकार्यो होला अनि आफ्नै बनायो होला सायद । त्यही मन बनाएर सायद अञ्जान, अपरिचित र बिरानो ठाउँको माटोलाई हाम्रो परिवारले आत्मसात गर्यो । अनि एउटा विशाल आत्मपरीक्षाको उकालीओराली पार गरी नयाँ परिवेश, नयाँ समाज र नयाँ भूगोलको परिचय बनेको थपिएको थियो । हामी चिचिलाको सायद त्यति विशाल मन नहुँदो हो । भए पनि व्यक्त नहुँदो हो वा भनौं पछिसम्म सम्झने शक्ति नहुँदो हो । त्यसैले भूराहरूको परीक्षा बाँकी राखिँदो हो । त्यसैले त भनिन्छ सन्तान पाउनुले होइन, बरु असल अभिभावक हुनु शास्वत बाआमा मानिन्छ । अनि जीवनभर त्यसका खातिर परीक्षा दिइरहनु पनि अभिभावक हुनुको नियमित परीक्षा हो । एउटा बालक वा बालिका अभिभावक बन्नुअघि उसको सबै जाँच सायद उसका बाआमाले नै दिइरहन्छन् । तर, कहिलेकाँही परीक्षा लिने झुक्किँदा हुन् अनि भविष्यका अभिभावकले असमयमैं पनि परीक्षा दिनुपर्दो हो ।  यो मीठो खतले बर्दियाको माटोसँग एकाकार गरी दिएकी ती बालसखालाई त्यसबेला आफूले जानेसुने जति गाली गरेर पीडा कम गरेँ हुँला रुँदैरुँदै । तर, अहिले सोच्छु, ती अबोध बालिकाको के दोष ? बालबालिका र वृद्धवृद्धा भगवानका रूप भन्ने हाम्रो लोकोक्ति नै छ ।  तर, मलाई फेरि एकपल्ट ती दिनमा जान मन छ । ‘रिवाइण्ड’ गर्न मन छ मेरो विगतलाई । खोज्न मन छ मेरो पारिवारिक विरासतलाई । बुझ्न मन छ मेरो पृष्ठभूमिलाई । म बढेको मेरो धर्तीलाई । नुनदेखि सुनको जोहो गर्न हरेक वर्ष सयौं उकाली–ओराली पार गरेर हटारुको परिचय पाएका मेरा पुर्खाको सम्झनामा मलाई हराउन मन छ । हाटबजारको खोजीमा तराई झरेका उनीहरू कसरी बसाईं सरे हुन् ? किन सरे हुन् ? जवाफ खोज्न मन छ ।  उनीहरूको जीवनको आरोह–अवरोह, भीरपहिरोको कथा सुन्न र सुनाउन पाइयोस् । आउने पुस्ताका लागि शबदमा उतार्न पाइयोस् । अनि एउटा चलचित्रको पटकथा झैं गरी वाक्यहरू जोड्न पाइयोस् र जीउ ढाक्न नाना, एक मुठी खाना र आकाश छेल्ने छानाका लागि आफ्नो वस्ती छोडेर हरेक हिउँदमा गोलभूगोल चहार्न निस्केका मेरा बोबहरू, बाबाहरू, मामाहरूसमेत सम्पूर्ण हटारु आफन्तीहरू जो हाट निस्कँदा पाइला परेका ठाउँठाउँमा बसाईं सरे, उनीहरू सबैप्रति समर्पित गर्न पाइयोस् ।

जेनजी विद्रोह, ‘प्रिगनेन्ट’ कांग्रेस र जनअपेक्षा

जेनजी विद्रोहको साढे २ महिना पुग्न लाग्दा नेपाल राजनीतिक दिशाहिनताको घनघोर क्षणबाट गुज्रिरहेको छ । शासन व्यवस्था झन् अस्थिर हुँदैछ, आर्थिक सूचकहरू अवनति उन्मुख छन्, लगानीमा उत्साह नहुँदा बैंकमा पैसा थुप्रिँदैछ र जनताको भरोसा लगातार खस्किँदैछ । यस्तो बेला देशले विश्वसनीय, अनुशासित र वैचारिक आधार भएको राजनीतिक दल र अहिलेको अन्यौलको भूमरीबाट उकास्न सक्ने नेतृत्व खोजिरहेको छ । तर विडम्बना, ठिक यतिखेर देशका प्रमुख पार्टी दिशाहीन जस्तै देखिएका छन् भने पछिल्लो विद्रोहको सुत्रधार जेनजी पुस्ता पनि तितरवितर भएर चौबाटोमा छ ।  त्यसो त हरेक खाले आन्दोलन वा विद्रोहपछि क्षणिक आशा पलाउने अनि केही समयमै त्यो निराशामा बदलिने नेपाली नियति नै बनिसकेको छ । यसपालि पनि कम्तिमा अहिलेसम्मको घटनाक्रम हेर्दा योभन्दा भिन्न हुने अपेक्षा गर्न सकिने आधार तय भएका छैनन् । दुई ठूला दलको सत्ता सहवास केपी शर्मा ओली र शेरबहादुर देउवाको कुर्सी दौडमा मात्र सीमित भएपछि गत भदौको विरूप विद्रोह जन्मिएको जगजाहेर नै छ । दुई तिहाइको जनमत एक ठाउँमा आउँदा जुन ऐतिहासिक रूपले परिवर्तन वा सुधारका लागि प्रयोग हुन सक्थ्यो, त्यो ‘सत्ता गणित’मा सीमित हुँदा उनीहरू सडकमा पछारिए भने देश र जनता अँध्यारोमा फसेका छन् ।   नेपालको सबैभन्दा पूरानो र प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्व दिएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस आफ्नै आन्तरिक गतिरोधमा झण्डै २ महिना कैद भयो । यद्यपि ढिलै भए पनि उसले फागुनमा तोकिएको आम चुनावमा जाने परिपक्व निर्णय लिएको छ । साथै उसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । फागुनमा तोकिएको चुनाव होला कि नहोला भन्ने आशंका बढिरहेका बेला कांग्रेसको डेढ महिना चलेको केन्द्रीय समितिको बैठकको यो निर्णयले आमचुनावको माहोल खडा गर्ने अपेक्षा गर्न सकिन्छ । किनभने कांग्रेसले ताजा जनादेशमा जाने कित्ता समाउने बित्तिकै एमाले अब चुनावमा लतारिने पक्का छ । बाँकीले चुनावमा जाने बताइसकेकै छन् । यो निर्णय सँगै कांग्रेसले फेरि एकपटक आफूलाई नेपाली राजनीतिको परिपक्व अभिभावकमा दर्ज गरेको छ ।  तत्कालीन सत्ताको नेतृत्व सम्हालेको नेकपा एमाले भाद्र २३ र २४ मा केही नभए जस्तो गरेर सडक र बोलीमा रमिता देखाइरहेको छ । ‘सत्ता हुँदा पनि भर नभएको र सडकमा हुँदा पनि डर भएको’ पार्टीको छवि बनाउन एमाले उद्यत रहेको टिप्पणी गर्न थालिएको छ । तर, उ सके संसद् पुनःस्थापना गराउने नसके चुनावमा होमिने गरी आन्तरिक तयारीमा जुटिसकेको छ । अर्को दल तत्कालीन माओवादी केन्द्रका चतुर अध्यक्ष तथा हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि पूरानो रक्सी नयाँ बोतलमा भरेर ‘मार्केटिङ’ सुरु गरिसकेका छन् । बाँकी दलहरूको त संरचना नै अस्थायी, आधार नै क्षणभंगुर हुँदा भरोसा गरिहाल्ने आधार बनेको देखिँदैन ।  पछिल्लो ८० वर्षमा नेपालका प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको पार्टी कांग्रेसले आफ्नो ‘स्ट्याण्ड क्लियर’ गर्न निकै ढिलो गर्यो । खासगरी यो पार्टीका दोस्रो पुस्ताका नेताको पहल र सकृयताले परिवर्तन पक्षधरलाई आशाबादी पनि बनाएको थियो । जेनजी बिद्रोहमा ज्यान लिने गरी भौतिक आक्रमणमा परेर पनि यो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसपछिको पहिलो सार्वजनिक अभिव्यक्तिमा दिएको सन्तुलित र परिपक्व विचारले पनि कांग्रेससँग अप्ठ्यारोमा धेरैले आशा बढाएको देखिएको हो । तर, कांग्रेस आफ्नो म्याद आइसकेको महाधिवेशनको मिति तोक्ने विषयमा डेढ महिना दन्त बजान गरेर पनि टुंगोमा पुग्न नसक्दा भने धेरैलाई निराश बनाएको छ । कांग्रेस ‘किस्तामा बैठक’ गर्दै कछुवा गतिमा अलमलिँदा देश नै अलमलिए जस्तो भएको छ ।  देशभरका चिया चौतारामा मानिसहरू अब राजनीतिले कुन बाटो समाउला ? त्यो सहज होला कि नहोला ? के व्यवस्था सही बाटोमा जाला ? जस्ता विषयमा अनेक कोणबाट छलफलमा आफ्नो समय खर्चिन बाध्य छन् । गत साता झण्डै दर्जन जिल्लाका विभिन्न विचार र पेशाकर्मीहरूसँग पंक्तिकारले सम्वादको मौका पाउँदा मानिसमा ठूलो अन्यौल र अनिश्चय स्पष्ट देखियो । साना बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिस ठूलो चिन्तामा देखिए । भदौ २४ को जनउभार र आगोले केही राम्रो होला कि भनेर आशा राख्नेहरु अहिले यसभन्दा पनि खराब अवस्था आउन लागेको शंकामा पिल्सिएको पाइयो । सहज रूपमा गरिखान समेत गाह्रो हुने हो कि भन्नेमा अधिकांश चिन्तित सुनिए ।  बेथिति र भ्रष्टाचारविरुद्ध चलेको हावाले आँधीको रूप लिएर सत्ता पखालेर लगेपछिका साढे २ महिनामा पनि न जेनजी युवाहरुले बाटो समाए न पूराना भनिएका दलहरुले आत्मसमीक्षासहित बाटो सुधारे । यो अन्यौलले आम निराशा र आक्रोश झन्झन् बढाउँदै लगेको छ । जननिर्वाचित संसद् छैन । आम चुनाव कहिले हुने हो टुंगो छैन । आज देश एक असामान्य घडीबाट गुज्रिरहेको छ ।  राणा शासनदेखि पञ्चायतसम्म, राजतन्त्रदेखि कम्युनिस्ट अधिनायकवादसम्म, कांग्रेसले संघर्षको इतिहास बोकेको छ । तर, आज कांग्रेस देशको सवालभन्दा पनि आन्तरिक सवालमा रुमलिएको छ । जब देशले आशा गरिरहेको छ, यस्तो बेला कांग्रेसले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न असफल भयो भने यसको अस्तित्व किन छ ? यो केवल एक दर्जन शीर्ष नेताहरूको राजनीतिक जीवनको ‘क्यालकुलेटर’ मात्र हो ? यो पार्टीमा यी नेता बाहेकका लाखौं नेता कार्यकर्ताको कुनै मूल्य छैन ? यस्ता प्रश्न कांग्रेस कार्यकर्ताहरूले नै उठाउन थालेका छन् ।  प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले बीपी कोइरालाको पहलमा २००३ सालमा स्थापित नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बीपीदेखि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरू सम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका मार्गमा अघि बढायो । २००७ सालको परिवर्तन, २०१७ सालको संघर्ष, २०४६ सालको पुनर्जागरणसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो । २०६२/०६३ को आन्दोलन र २०७२ सालमा संविधानसभामार्फत संविधान जारी गर्दा पनि कांग्रेसको अगुवाइ निर्णायक रह्यो । तर, समयको प्रवाहसँगै कांग्रेसको संगठन, सिद्धान्त र प्रभाव क्रमशः कमजोर बन्दै गएको छ । बीपीले पार्टीको मूल सिद्धान्त ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’का रूपले परिभाषित गरेका थिए । तर, त्यो सिद्धान्त अहिले पार्टीको संरचना र व्यवहारमा हराएको देखिन्छ । गुटबन्दी र अवसरवादले पार्टीभित्र गहिरो जरा गाडिसकेको छ । विचार र नीतिभन्दा पद, पैसा र पहुँचको राजनीति हावी भएको छ । सिँगो पार्टीले दिशा तय गर्न नसकिरहेका बेला पार्टीका कतिपय नेताहरूले हिन्दू राज्यका पक्षमा त कोहीले संवैधानिक राजसंस्थाको पक्षमा अभिव्यक्ति दिइरहेका छन् ।  पार्टीले एउटा आशा र स्पष्टता सञ्चार गर्न नसक्दा ‘मास–बेस्ड पार्टी’का ‘स्वीङ’ भोटहरू बरालिने र अराजकतावादी, प्रतिक्रियावादी वा क्षणिक लोकप्रियतामा चल्ने शक्तितिर बग्न सक्छन् । यसर्थ कांग्रेसको समग्र ढिलाई केवल पार्टीको समस्या होइन, देशको राजनीतिक स्थायित्वमै प्रत्यक्ष असर पार्ने विषय हो । ‘स्वीङ’ भोट देशको राजनीतिक मौसम हो । यही भोट ‘मास वेस्ड’ कांग्रेस पार्टीको मुख्य बल हो । अस्पतालमा जस्तै—जहाँ संकटका बेला डाक्टरको हात चाँडो चल्नु पर्छ, ठीक त्यस्तै अवस्था अहिले देशको छ । तर राणा, राजा, पञ्च, कम्युनिस्ट सबैसँग संघर्ष गर्दै, भारतको असहज छायाँलाई पन्छाउँदै संविधानसभामार्फत् संविधान जारी गरेर यहाँसम्म देशलाई डोर्याएको कांग्रेस आज संकटका बेला आन्तरिक महाधिवेशनको रडाकोबाट बाहिर आउन नसक्नु आश्चर्यजनक र गैह्रजिम्मेवार मानिएको छ ।  नयाँ पुस्ता, नयाँ दृष्टिसहित निर्णय क्षमता अगाडि ल्याउन सकेन भने कांग्रेसप्रति बचेखुचेको अपेक्षा सकिनेछ । कांग्रेस यी सवालमा छरितो र उत्तरदायी बन्नै पर्छ । फुर्मासको समय छैन । कांग्रेसले आफ्नो नियमित वा विशेष जुन भए पनि महाधिवेशनको मिति समयमैं सक्ने गरी तोकोस् । अनि बदलिएको परिवेशमा ताजा जनादेशका लागि आम चुनावमा एकमतले होमिएको सन्देश देओस् । पार्टीबाट समयको पदचाप बुझ्न सक्ने नयाँ नेतृत्व छानोस् र अहिलेको राजनीतिक भूमरीबाट देशलाई उकास्न फेरि एक पटक विगतको कालखण्डजस्तै गरी भरोसायुक्त नेतृत्व लेओस् भन्ने आम अपेक्षा रहेको छ ।  जेनजी विद्रोहपछि कांग्रेसमा दोस्रो पुस्ताका गगन थापा लगायतको आवाज जोडदार रूपमा मुखरित भएको छ । यसले संस्थापन पक्षभन्दा संस्थापन इतरपक्षको आवाज बलियो बन्दै गएको छ । कांग्रेसलाई ‘प्रिगनेन्ट’ त बनाएको छ तर न बच्चा जन्मिने मिति टुंगो छ न बच्चा जन्मिने कुराकै सुनिश्चितता । तैपनि महाधिवेशन आम चुनावअघि कि पछि भन्ने विषय कांग्रेसमा अहिले प्रसव पीडाजस्तै गरि बल्झिएको छ ।  अहिले कांग्रेस सभापतिका नाममा मिडियामा, कार्यकर्ता तहमा खुला पत्र लेखिन थालेका छन् । नेपाली कांग्रेसलाई नयाँ उर्जा र भविष्यको ताकत बनाउने कि इतिहासको पानामा खुम्च्याउने दिशामा डोर्याउने भनेर सभापति देउवाको आलोचना भैरहेको छ । देश जलिरहेका बेला सबै दल र नेताहरु दुला पसेका बेला समेत पार्टीका तर्फबाट सन्देश प्रवाह गरेर एउटा ढाडसको बल दिने महामन्त्री गगन थापा र उनीहरूको पुस्तामा ऊर्जा, योजना, टिम, जनआकर्षण सबै छ भनेर मत बन्दै गएको छ । सँगै वरिष्ठ नेता शेखर कोइरालाप्रति पनि कार्यकर्ताको आशा छ । यसले स्वतन्त्र जनमतलाई अझै कांग्रेस निर्णयको प्रतीक्षामा राखेको विश्लेषण गरिन्छ ।  वि.सं २०५६ मा गिरिजाप्रसाद कोइरालाले आफ्ना कट्टर विरोधी कृष्णप्रसाद भट्टराईलाई नै भावी प्रधानमन्त्री भन्न सके, किनकी उनले बुझेका थिए कि पार्टी चलाउने कुरा व्यक्तिगत मनोविज्ञान होइन, जनमतको विज्ञान हो । भट्टराई अघि सार्दा पार्टीले बहुमत ल्यायो । कांग्रेसको बाँकी सम्भावना दोस्रो पुस्तामा टल्किएको बेला यसको सदुपयोग किन नगर्ने ? नेतृत्वको गरिमा कहिलेकाहीँ आफूभन्दा सक्षम वा भविष्यदृष्टि भएको पुस्तालाई अघि लगाउन सक्ने साहसमा पनि नापिन्छ । नेतृत्व त्यही हो, जहाँ व्यक्तिगत भावनाभन्दा संस्थाको भविष्य ठूलो हुन्छ । तर, आज कांग्रेसले त्यो इतिहास बिर्सेको हो कि भन्ने प्रश्न सामुन्ने आएको छ । यस्तै कारणले विश्वभर ‘पुराना दलहरूको संकट’ जन्मिएको हो, इटालीको डेमोक्रेटिक पार्टी, फ्रान्सको सोसलिस्ट पार्टी, भारतको कांग्रेस—सबै नयाँ पुस्तालाई समयमै अगाडि नसार्दा कमजोर हुँदै गए । क्यानडाको लिबरल पार्टी दशकौंसम्म थाकेको संरचना जस्तै थियो, जसलाई जस्टिन ट्रुडोको नेतृत्वमा पुनःसंगठित गरिएपछि मात्र पुनर्जीवन मिल्यो । युकेको लेबर पार्टी बाहिर निस्किनै सकेन, जबसम्म उसले पूराना अनुहारहरूको चक्र तोडेन । नेपालमा कांग्रेस आज यस्तै मोडमा पुगेको छ । कार्यबाहक सभापति तोकेर उपचारका लागि सिंगापुर जानुअघि देउवाको अभिव्यक्ति र उदारताले कांग्रेस र उनको छविमा नयाँ रक्तसञ्चारको आशा पलाएको टिप्पणी सुरु भएको थियो । तर, उनी फर्केपछि पुनः पूरानै राजनीतिक रक्तसञ्चार लिएर फर्किएको मत निर्माण भैरहेको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साझा निकास निस्कने र सभापति देउवा सक्रिय राजनीतिमा नफर्कने संकेत दिएका छन् । हुन पनि कांग्रेस सभापति देउवाको जस्तो सरल व्यक्तित्व र सौम्य अभिव्यक्ति जस्ता गुण अहिलेका समकालीन कुनै नेतामा पनि छैन ।  विधानको व्यवस्था अनुसार महाधिवेशनमा जानु पर्ने पार्टीपंक्ति मितिको रडाकोमा फसेको छ । यसले जति सक्यो छिटो आमचुनावमा लगाउनु पर्ने शक्ति आफै भित्रको लडाइँमा क्षयीकरण भैरहेको छ । संस्थापन तर्फका आधा दर्जन भाइहरूको जिद्दीले कांग्रेस र देश अनिर्णयमा फसेका छन् । तर, संस्थापन तर्फ अहिले चुनावी लहर ल्याउन सक्ने नेता छैनन् । कांग्रेसको दोस्रो पुस्ताका गगन थापा जो विद्यार्थी राजनीतिबाट उदाएका हुन्, उनीजत्तिकै देश हाँक्ने योजना बनाएर तयार भएका र विश्वप्रकाश जस्ता सारथी भएका नेता अरु कुनै पार्टीमा छैनन् । देउवा समेतका सबै नेता अभिभावकीय कवजमा बसेर यी युवाहरूलाई अघि सारेर पार्टी र देशलाई सही दिशा दिन सकिन्छ भन्ने मत पार्टीभित्र र आम जनतामा बलियो हुँदै गएको छ । तर, ‘प्रिग्नेन्ट’ कांग्रेसले यो निर्णय लिन सक्छ वा सक्दैन भन्ने कुरा निकट भविष्यमा थाहा होला ।  हो, राजनीतिमा आफ्नो खास अनुयायी भन्दा अर्कालाई अघि सार्न गाह्रो छ । तर, सबैले कांग्रेसलाई आशाले हेरिरहँदा यस भन्दा फरक सोच्ने छुट कांग्रेस र यसको संस्थापन पक्षलाई छैन । पूरानो पुस्ताको सम्मान र नयाँ पुस्ताको भावना बोक्न सक्ने ल्याकतसहित हालसम्मका राम्रा कुराको श्वेतपत्र जारी गरि कमजोरीहरुको आत्मालोचनासहित यो पार्टीले जेन्जी पुस्ताको भावना र सन्देश आत्मसात् गरेर अघि बढ्न जति ढिलो गर्यो देश र कांग्रेस दुवै उत्तिकै ठूलो अन्यौल र अस्थिरताको भूमरीमा फस्तै जाने खतरामा छन् ।