काठमाडौं । 'जाँदैछु म है विदेशमा ,धन कमाइ ल्याउने आशैमा । न रौ है आपा, ए आमा । म आउँछु दुई चार वर्षमा ।' गायक निमा रुम्बाको कुनै समय चर्चित गीत हो ।
यो गीतमा परिवारको दुःखलाई बिर्साउन र धन कमाउन विदेश जाने नेपाली युवाको कथा बोलेको छ ।अभिभावकलाई धन कमाइ सुखमा राख्ने एक कर्मशील नेपाली छोराको भावना हो ।
यो गीतले आज आम नेपाली युवाको भावना बोकेको छ भन्दा फरक नपर्ला । गीतमा दुई-चार वर्षमा फर्कन्छु भनेर गएका तर यही सपना बोकेर मलेसिया पुगेका बुटवलका २० वर्षीय सागर चौधरी भने २५ दिनमै पीडा बोकेर स्वदेश फर्किएका छन् ।
दुःखमा हुर्केका थिए । बिहान र बेलुकी दुई छाक जुटाउन पनि गाह्रो थियो उनलाई । सुखको कल्पना मात्र गरेका उमेर बढेसँगै पारिवारिक जिम्मेवारी उनको काँधमा थपिँदै गयो ।
परिवारको आर्थिक अवस्था राम्रो थिएन । सानै उमेरमा जिम्मेवारीको भारी उनमा आइपरेको थियो । उनले विदेश जाने निधो गरे । गाउँमा तल्लो र माथिल्लो घरका सबै जना विदेश पुगेका थिए ।
उनलाई पनि अरु गएको देख्दा जाउँ-जाउँ लाग्यो । गाउँमा भनेजस्तो रोजगारी उनले पाएनन् । रोजगारी पाए पनि उनले उचित पारिश्रमिक पाउँदैन थिए ।
सागरलाई पनि विदेश जाने हुटहुटीले सताउन थाल्यो । किताबभन्दा पासपोर्टको रंग मन पर्न थालेको थियो उनलाई । १२ कक्षाको परीक्षा दिएर बसेका थिए ।
किताबको पाना सेतो थियो । पासपोर्टको रंग कलेजी रंगको थियो । परिवारलाई सुखमा पाल्ने र दुःखलाई घरको आँगनमा टेक्न नदिने सागरले सोच्दै थिए । उनको मनमा उठेका जिम्मेवारीका ज्वारभाटाहरूले सताउँदै लगेको थियो ।
अभाव के हो भनेर सोध्नुछ भने उनले बेली विस्तार लगाउन सक्थे । २० वर्षीय सागरले सरकारी विद्यालयबाट कक्षा १० पास गरे ।
सामान्य परिवारमा हुर्केका उनले नयाँ शैक्षिक सत्रमा किताब र कपीसम्म कपी किन्न सक्दैन थिए । सबै साथीहरू हातमा किताब बोकेर कक्षा कोठामा पुग्दा उनी कपी मात्र बोकेर विद्यालय पुग्थे ।
समयमा पुस्तक किन्न नसक्नु उनको बाध्यता थियो । उनी नेपालमा बसेर आफ्नो अवस्था बदल्न सक्ने थिएनन्।
समय बदलियो तर उनको दुःख बदलिएन। सुख टाढा र दुःख झन गाढा भएर बस्यो उनको जीवनमा ।
सागर परिवारको जेठा सन्तान भएकाले पनि आवश्यकता पुरा गराउन वैदेशिक रोजगारमा जाने निधो गरिसकेका थिए । विदेश जाने र परिवारलाई सुखमा राख्ने वाचा गरे ।
विदेश यात्राका लागि लगभग बाटो उनका खुल्दै गएको थियो । छिमेकी दाइ पनि मलेसिया पुगेका थिए । छिमेकी दाइसँग फेसबुकमा साथी थिए । बेला- बेलामा उनको कुराकानी हुने गर्दथ्यो ।
कुराकानीमा उनले विदेश जाने मन छ । के गर्ने होला भनेर सोधि रहन्थे ? सागरको जिज्ञासामा छिमेकी दाइले विदेश जानै पर्ने सल्लाह दिए ।
उनको दुःख नजिकबाट देखेका थिए । काठमाडौंकै एक मेनपावरको नम्बर दिए उनलाई । त्यहाँ जान सुझाए ।
तराईमा तापक्रम उकालो लाग्दै थियो ।
सागरको मनमा भने चिसो नै थियो । बाहिरी तापक्रम बढे पनि उनको भित्री तापक्रम घट्दै गइरहेको थियो ।
उनी भने विदेश जाने चक्करले उत्साहित हुँदै थिए । काठमाडौंको यात्रा तय गरे । उनलाई काठमाडौंको बिहान र बेलुकीको चिसोले स्वागत गर्यो ।
पहिलो पटक माघ अन्तिम साता काठमाडौं आए । उनलाई सहज थियो । किनभने छिमेकी दाइले सबै भनेका थिए ।
म्यानपावर खोजे । पासपोर्ट बुझाए । अन्तवार्ता दिए । पास भए । मलेसिया जान ग्लबस बनाउने फ्याक्ट्रीमा उनले नाम निकाले ।
पहिलो पटक स्कुलमा कक्षा चढे भन्दा बढी खुसी भए सागर । परिवारलाई सम्झिए । मेडिकल गरे । सबैमा फीट भए । उनले सुख पाएको सपना बुन्दै आफ्नै गाउँ फर्किए ।
विदेश जान पाइने आशामा खुसीले उनले एक पटक भुँइ छोडे । परिवारमा फोन गरेर सुनाए,' मलेसिया जानका लागि पास भए।'
फ्रि टिकट र फ्रि भिसामा उनी मलेसिया जान तयारी हुँदै थिए । उनको चाहना र सपनाले पछ्याइरहेको थियो ।
सुन्दर भविष्यको कल्पना गर्दै बसे । उनले निःशुल्क मलेसियाको भूमिमा टेक्ने वाला थिए ।
धन कमाइ परिवारलाई सुखमा राख्ने सोच्दै थिए । उनका लागि विदेश यात्रा धेरै टाढा थिएन । वैदेशिक यात्रा नजिक आइरहेको थियो ।
सागर दु:खलाई भगाउन पाइने भयो भन्दै गाउँ जाने बसको खोजीमा गोंगबु पुगे । गाउँ पुगेको केही सातामै मेनपावरबाट फोन आयो 'मलेसिया जान तयार हुनु ।'
फोन आएको भोलिपल्ट झोला बोके परिवारसँग विदा मागे । गाउँलाई विदा मागे, परिवारलाई र साथीहरूलाई मागे ।
चैत २३ मा काठमाडौंबाट मलेसिया उडे । हटालिया एनजीसी कम्पनीमा ग्लबस बनाउन । म्यानपावरले उनलाई मासिक १७ सय रिङ्गेट तलब उपलब्ध गराउने सम्झौता गर्यो ।
मलेसिया विमानस्थलमा कम्पनीको मान्छेले रिसिभ गर्न आएको सागर बताउँछन् । उनी केही दिन कम्पनीको होस्टेलमा बसे । काममा पनि जान थाले ।
काममा जान थालेको केही दिनमै उनी स्वास्थ्य परीक्षणका लागि पुगे । स्वास्थ्य परीक्षणमा गए पनि उनी काममा भने गइरहेका थिए । कम्पनीमा जाने र तालिम गर्ने गरिरहेका थिए ।
स्वास्थ्य परीक्षण गरेको एक सातापछि उनलाई होस्टल इन्चार्जले बोलाए । उनी इन्चार्जको कोठामा पुगे । इन्चार्जले उनलाई भने,' सन्चै छौ होला। काम कस्तो लाग्दैछ । तर तिमी स्वास्थ्य परीक्षणको रिपोर्ट भने राम्रो आएको छैन ।'
सागर झस्किए । इन्चार्जको कुरा सुनेर । स्वास्थ्य परीक्षणको रिपोर्ट आउनु उनका लागि सुखद समाचार थिएन ।
इन्चार्जले उनलाई केही दिनपछि बताउने जवाफ दिए ।
अहिले नआत्तिएर काममा जान सल्लाह दिए । काममा आउजाउ गरिरहे । सागरलाई एक दिन पुनः इन्चार्जले आफ्नो अफिसमा बोलाए । उनी अफिसमा पुगे । तर, यो पल्ट उनले कल्पना गरेको भन्दा फरक जवाफ पाए इन्चार्जबाट ।
इन्चार्जले सागरलाई भने,' तिमीलाई एचआइभी पाेजेटिभ देखिएको छ। तिमीले यहाँ बस्न पाउँदैनौं । नेपाल फर्कनुपर्छ ।'
उनको कुरा सुनेर अगाडि भक्कानिए । स्वर एकाएक हराएको जस्तो लाग्यो । अगाडि कालो देखे ।
२६ औं दिनमा नेपाल आइ पुगे उनी । गाउँ र परिवारमा उनले काम गर्न नसकेर स्वदेश फर्किएको बताएका छन् ।
मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर विभाग परिसरमा सागर भेटिए । उनले एचआइभी लागेको रिपोर्ट आएपछि आफ्नो अगाडि कालो आएर बसे जस्तो लाग्यो केही देख्न नसकेको बताए ।
स्वास्थ्य परीक्षणपछिको रिपोर्ट आएपछि मलेसियामा भोगेको पीडा आफूले भन्न नसक्ने सागर बताउँछन् ।
'सायद मेरो ठाउँमा अरु कोही भएको भए मलेसियाबाट म नभइ शव आउँथ्यो होला,’ उनी भक्कानिदै भन्छन्,’ २५ दिन मात्र मलेसिया बसें । मेरो जीवनको पहिलो र अन्तिम वैदेशिक यात्रा मलेसिया भनेर सम्झिएँ ।'
गाउँ नफर्केर मलेसियामै अन्तिम श्वास फेरौं जस्तो पनि लागेको उनले सुनाए । कति रात निदाउनसमेत नसकेको उनले बताए ।
'दुःखको दिन सकिए भनेर मलेसिया पुगेको थिएँ तर झन ठूलो महाप्रलय थपिएको सुनेपछि सम्हालिन धेरै गाह्रो भयो,’ उनले अगाडि थपे,’ सामान्य रोगको कल्पना गर्न सक्दिन । मलाई त्यस्तो ठूलो रोग होला भनेर कल्पनासम्म गर्न सकिनँ ।'
अहिले पनि मानसिक रुपमा स्वस्थ्य नभएको उनले बताए । यस्तो रोग भएको थाहा पाएमा समाजले मलाई र परिवारलाई तिरस्कार गर्ने सागरले दुः खेसो पोखे ।
नेपालमा आएर अहिले ८ पटक स्वास्थ्य परीक्षण गरिसकेको उनले जानकारी दिए । सरकारीदेखि निजी मेडिकल तथा अस्पतालमा परीक्षण गर्दा एचआइभी नेगेटिभ देखाइसकेको उनको भनाइ छ ।
'स्वस्थ्य रहेको प्रमाण देखाउन कहाँ जाउँ,' उनले प्रश्न गर्दै भने,' मलेसियाको स्वस्थ्य रिपोर्टकै कारण मेरो परिवार र जीवनमा दुःख थपिने निश्चित छ ।'
अहिले म स्वस्थ्य रहेको प्रमाणपत्र पेश गर्न कन्सुलर विभागमा आएको सागरले बताए । मलेसियामा गरेको स्वास्थ्य परीक्षणको कारणले अन्यायमा परेको उनको भनाइ छ।
'सरकारी निकायबाट केही पहल हुन्छ कि भन्ने आशामा विभागमा आएको हुँ,' उनले मलिन स्वरमा भने,' मलाई रोग लागेको भए विभिन्न लक्षण देखा पर्थ्यो होला । मलाई त्यस्तो केही पनि भएको छैन ।'
सागरको जस्तो केस पहिलोपटक कन्सुलर विभागमा आएको महानिर्देशक दुरपदा सापकोटाले बताइन् । सागरको निवेदन दर्ता गरेको उनले जानकारी दिइन् ।
‘सरकारको तर्फबाट उहाँको निम्ति सक्दो सहयोग हुन्छ । मलेसियास्थित नेपाली दूतावासबाट कम्पनी र सरकारलाई एक पटक नेपाली कामदारको निम्ति पहल गर्न आग्रह गर्छौ,’ उनले भनिन् ।