मतदाता परिचयपत्र हरायो ? चिन्ता नगर्नूहोस्, यी कागजात साथमा भए मतदान गर्न पाइन्छ
काठमाडौं । के तपाईंको मतदाता परिचयपत्र हरायो वा कुनै कारणवस नास भयो भने निर्वाचनमा मतदान गर्न पाइँदैन कि भनेर चिन्तामा हुनुहुन्छ भने अब त्यो चिन्ता नलिनूहोस् । मतदाता नामावलीमा नाम छ भने तपाईंले अरू ६ प्रकारका कागजात देखाएर पनि मतदान गर्न पाउनुहुन्छ । आयोगका सहप्रवक्ता प्रकाश न्यौपाने मतदाता परिचयपत्र नभए पनि निश्चित सरकारी कागजातका आधारमा मतदान गर्न सकिने बताउँछन् । उनका अनुसार मतदान गर्नका लागि सम्बन्धित बुथको मतदाता नामावलीमा मतदाताको नाम हुनु अनिवार्य हुन्छ। मतदाता नामावलीमा नाम भएको मतदाताको कुनै कारणवस मतदाता परिचयपत्र भएन वा हरायो भने नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा भए मतदान गर्न सकिन्छ न्यौपानेले जानकारी दिए । उनले भने, ‘मतदाता परिचयपत्र भएन भनेर आत्तिनु पर्दैन । मतदाता नामावलीमा नाम छ भने यी छ प्रकारका कागजातमध्ये कुनै एकको सक्कल लिएर मतदान केन्द्र पुगेमा मत हाल्न पाइन्छ ।’ आयोगका सहप्रवक्ता न्यौपानेले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि आयोगले मतदातालाई आवश्यक कागजातसहित मतदान प्रक्रियामा सहभागी हुन आग्रहसमेत गरेका छन् ।
विश्व बैंकको १३ अर्ब ८७ करोडको परियोजना स्वीकृत, वित्तीय पहुँच विस्तार गर्ने मुल लक्ष्य
काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार गर्दै रोजगारी केन्द्रित आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यले ९५ मिलियन अमेरिकी डलर बराबर (करिब १३ अर्ब ८७ करोड रुपैयाँ) परियोजना स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले मंगलबार (आज) उक्त परियोजनालाई औपचारिक स्वीकृति दिएको हो । यो परियोजनाबाट १ लाखभन्दा बढी साना तथा मझौला उद्यम लाभान्वित हुने अपेक्षा गरिएको छ । परियोजनाले विशेषगरी महिला नेतृत्वमा रहेका व्यवसाय, सेवाबाट वञ्चित वर्ग तथा एमएसएमईहरूलाई वित्तीय प्रणालीमा समेट्ने लक्ष्य राखेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि देशीय डिभिजन निर्देशक डेभिड सिस्लेनका अनुसार यस परियोजनाले नेपालका निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) लाई सुदृढ बनाउँदै जोखिम साझेदारी विस्तार गर्ने, वित्तीय दिगोपन अभिवृद्धि गर्ने तथा नयाँ ग्यारेन्टी उत्पादनहरू सुरु गर्नेछ । उनले भने, ‘वित्तमा पहुँच सहज बनाइ र लेनदेनका अवरोध घटाइएपछि वित्तीय समावेशीकरण विस्तार हुनेछ । यसले एमएसएमईहरूलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा जोड्न सहयोग पुर्याउनेछ र रोजगारी सिर्जनासँगै निजी क्षेत्र नेतृत्वको आर्थिक वृद्धिलाई गति दिनेछ ।’ दिगो तथा समावेशी वित्त परियोजना (एसआईएफ) ले सन् २०२४ मा सम्पन्न, विश्व बैंकको सहयोगमा कार्यान्वयन भएको वित्तीय क्षेत्रको स्थायित्व र आर्थिक वृद्धिका लागि वित्तीय व्यवस्था सम्बन्धी विकास नीतिगत कर्जा अन्तर्गत अघि बढाइएका सुधार कार्यक्रमलाई निरन्तरता दिनेछ । उक्त सुधारहरूले वित्तीय क्षेत्रलाई सुदृढ बनाउने लक्ष्यसहित सेवाबाट वञ्चित तथा पहुँचबाट बाहिर रहेका वर्गलाई वित्तीय सेवामा समेट्ने विषयलाई प्रमुख आधारस्तम्भका रूपमा प्राथमिकता दिएका थिए । परियोजनाअन्तर्गत नेपाल क्रेडिट सूचना ब्युरो (सीआईबीएन) को प्रविधि तथा संस्थागत क्षमतामा पनि लगानी गरिनेछ । यसबाट डाटा कवरेज विस्तार, वैकल्पिक डाटा स्रोतहरूको एकीकरण, तथा डाटा सुरक्षा र गोपनीयता थप सुदृढ गरिनेछ । यस प्रक्रियामा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सीआईबीएनलाई प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । परियोजना नेपाल सरकारले हालै स्वीकृत गरेको दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिसँग पनि मेल खाने बताइएको छ । दक्षिण एसिया क्षेत्रका लागि वरिष्ठ वित्तीय क्षेत्र विशेषज्ञ तथा यस परियोजनाका टास्क टिम लिडर सबिनराज श्रेष्ठका अनुसार अपर्याप्त धितो र सीमित कर्जा इतिहास एसएमईहरूको किफायती वित्त पहुँचमा दीर्घकालीन अवरोध बन्दै आएको छ । विश्व बैंकको यो सहयोगले नेपालमा वित्तीय समावेशीकरण विस्तार, उद्यमशीलता प्रवर्द्धन र दिगो रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
दलको घोषणापत्रमा सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायीहरूको माग
काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणापत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले सो आग्रह गरेका हुन् । उनले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । महासंघले सार्वजनिक यातायातको सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउनका लागि दबाब दिन देशभरका यातायात व्यवसायी र मजदुरहरूलाई पनि अपिल गरेको छ । वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने कुरामा पनि राजनीतिक पार्टीहरूले जोड नदिए आसन्न निर्वाचनमा उनीहरूलाई हानी हुने चेतावनीसमेत दिएका छन् । उनले भने, ‘सबै राजनीतिक दलहरूले यस पटक सार्वजनिक यातायात क्षेत्रलाई अत्यन्त प्राथमिकताका साथ राखियोस् भन्ने म अनुरोध गर्न चाहन्छु । र यातायात क्षेत्रमा रहेका देशभरका सबै साथीहरूले पनि चुनावी घोषणा पत्रमा यातायात क्षेत्रको कुरा कसरी प्राथमिकताका आधारमा राख्नु भएको छ भन्ने प्रश्न सबै उम्मेदवारहरूलाई गर्न पनि म अनुरोध गर्न चाहन्छु ।’ ‘यस पटक जुन राजनीतिक दलहरूले यातायात क्षेत्रलाई प्राथमिकतामा राख्छन् । त्यो प्राथमिकताको आधारमा हामीले पनि सोचेर जुन राजनीतिक पार्टीले कार्यान्वयन हुने गरी यस क्षेत्रका लागि राम्रो घोषणा पत्र ल्याउँछ, उसलाई निर्वाचनमा हामी सहयोग पनि गर्नेछौं,’ सिटौलाले थपे । महासंघले यातायातका साधनहरूको आयातमा सहजीकरण हुने गरी नीतिगत योजना ल्याउने कुरा पनि निर्वाचन घोषणा पत्रमा प्रतिवद्धता जनाउन पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् ।
प्रभु बैंकबाट अशोक शेरचनको राजीनामा, सीईओ बन्दै शर्मा
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचनले राजीनामा दिएका छन् । सीईओ शेरचनले दिएको राजीनामा बैंक सञ्चालक समितिको सोमबार (माघ १९ गते) बसेको बैठकले स्वीकृत गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए । सन् १९९५ बाट बैंकिङ करिअर सुरु गरेका शेरचन प्रभु बैंकमा तेस्रो पटक सीईओ बनेका थिए । उनले तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ सुरु गरेका थिए । त्यसपछि उनी साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा प्रवेश गरेका थिए । त्यसपछि सन् २००६ मा प्रभु फाइनान्समा जोडिएका शेरचन फाइनान्सको सीईओ बने । साथै तत्कालीन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए । जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात पनि शेरचन नै बैंकको सीईओ बने । प्रभु बैंकमा शेरचन सन् २०१४ देखि सीईओको भूमिकामा थिए । शर्मा सीईओ बन्दै बैंकले अर्काे व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक निरज लम्साललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । तर, सञ्चालक समितिले बैंकको आगामी सीईओमा सुमन शर्मालाई अगाडि सारेको छ । स्रोतका अनुसार शर्मालाई बैंककाे सीईओ बनाउने गरी प्रक्रिया अघि बढिसकेको छ । शर्मा साबिक सनराइज बैंकका सीईओ थिए । लक्ष्मी बैंकसँग मर्जरमा गएपछि शर्मा बाहिरिएका थिए । त्यसअघि माछापुच्छ्रे बैंकको सीईओका रूपमा काम गरिसकेका शर्मासँग ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक लगायतका संस्थामा काम गरेको अनुभव छ । बैंक वित्तीय क्षेत्रमा तीन दशकको अनुभवी शर्मा कुशल व्यवस्थापक हुन् । साथै कर्जा व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रूपमा समेत शर्मा परिचित छन् । एमबीएको गोल्ड मेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् ।
सुनको मूल्य फेरि उकालो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनको भाउ मंगलबार (आज) बढेको छ । नेपाली बजारमा सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ सोमबार भने सुनको मूल्य प्रतितोलामा १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८२४ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
निफ्राले घटायो निक्षेप र कर्जाको ब्याजदर, आधार दरमा ०.५० प्रतिशत प्रिमियम
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ब्याजदर घटाउँदै नयाँ दर सार्वजनिक गरेको छ । बैंकले माघ २० गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको ब्याजदर परिमार्जन गरेको हो । निफ्राले सार्वजनिक गरेको विवरणअनुसार ‘शुभ पूर्वाधार खाता’ अन्तर्गत ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्तालाई ३.५० प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ४ प्रतिशत ब्याजदर तोकिएको छ । यसअघि उक्त अवधिका लागि संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ४.५० प्रतिशत ब्याजदर लागू थियो । यस्तै, १० वर्षभन्दा बढी अवधिका लागि संस्थागत निक्षेपकर्तालाई ४ प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ४.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । यसअघि सो अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर थियो । कर्जातर्फ बैंकले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपिने जनाएको छ । हाल बैंकको आधार दर ६.७७ प्रतिशत कायम गरिएको छ, जुन यसअघि ६.८८ प्रतिशत रहेको थियो । बैंकका अनुसार परियोजना कर्जामा आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थपिनेछ भने ब्रिज ग्याप कर्जामा आधार दरमा ०.५ प्रतिशत प्रिमियम लागू हुनेछ ।
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका-१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ । साथै जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयलाई सम्बोधन गर्न मुआब्जा निर्धारण समितिको बसेको थियो । सो बैठकले मन्त्रिपरिषद् बैठकबाट आयोजनाको जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग, बसोबास भई आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्न मुआब्जा निर्धारण समितिलाई तोकिएको अतिरिक्त जिम्मेवारीका विषयमा छलफल भएको थियो । आयोजनाको प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज-२ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज-३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख रुपैयाँ र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
सिटिजन्स बैंकबाट संस्थापक सेयरधनी श्रेष्ठ र घिमिरे बाहिरिने, बिक्रीमा राखे सेयर
काठमाडौं । सिटिजन्स बैंकबाट संस्थापक सेयरधनी रोशन श्रेष्ठ र यदुनाथ घिमिरे बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर श्रेष्ठ र घिमिरे बाहिरिने भएका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी श्रेष्ठले २ लाख ६४ हजार ६१ कित्ता र घिमिरेले ५४ हजार ८११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । श्रेष्ठको नाममा रहेको उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ र घिमिरेको नाममा रहेको सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर सर्वसाधारण लगानीकर्ताहरुले समेत खरिद गर्न सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।