जुम्लामा स्याउ उत्पादन बढ्यो, उचित मूल्य नपाएको किसानको गुनासो
जुम्ला । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ छ । व्यवसायीहरुले मौसममा प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा स्याउ खरिद गरी प्रतिकेजी ६७ देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् । चन्दननाथ नगरपालिका– ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौँसम्म पुर्याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे । ‘मैले प्रतिकेजी ५० रुपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी ६० रुपैयाँमा नेपालगञ्ज पुर्याए’, उनले भने, ‘तर प्रतिकेजी ३० रुपैयाँमा बिक्री गर्न बाध्य भएँ ।’ कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाए । जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ । यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्तले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका–२ जुम्लाका बीरेन्द्र डाँगीले बताए । मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ । सिञ्जा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पुर्याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ । उनले भने, ‘हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ । यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो ।’
सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदैछन् : अध्यक्ष कँडेल
काभ्रे । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले केही समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएको भएपनि ती समस्या विस्तारै कम हुँदै गएको बताएका हुन् । तर, बैंक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उनको भनाइ छ । उनले सहकारी क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लागि परेको पनि बताए । ‘केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखियो, अब विस्तारै ती समस्याहरु न्यूनीकरण हुँदै गएका छन्, पछिल्लो समय सहकारीमा तरलताको समस्याका कारण केही संकट देखिएको हो, अब ती समस्या कम हुँदै गएका हुन् कि भन्ने हाम्रो बुझाइ छ,’ उनले कार्यक्रममा भने । उनले अब गल्तिहरुलाई औंल्याएर अगाडि बढ्नु पर्ने बताए । यस्तै, उनले सहकारी क्षेत्रका विषयवस्तुलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिनका लागि सहकारी क्षेत्र र सञ्चार क्षेत्रको सम्बन्ध मजबुद बनाउन आवश्यक रहेको धारणा राखे । राष्ट्रिय सहकारी महासंघ १० वर्षे नीतिहरु अगाडि सारेर काम गरिरहेको बताउँदै उनले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए । उनले सहकारी संस्थाहरु पनि अहिले वित्तीय विवरण सार्वजनिक गर्नमा ध्यान दिएको बताउँदै अब विस्तारै सहकारी संस्थाहरुको वास्तविक अवस्था थाहा पाउन सहयोग पुग्ने बताए । यस्तै, कार्यक्रममा नेपाल सहकारी समाजका अध्यक्ष काजी श्रेष्ठले पछिल्लो समय सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाउँदै गएको बताउँदै अझै यो गतिलाई बढाउँदै लैजानु पर्ने धारणा राखे । उनले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न क्षमता अभिवृद्धिमुलक कार्यक्रमको आवश्यक पर्ने बताउँदै यस विषयमा सहकारी क्षेत्रमा काम गर्ने निकायले ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष डिल्ली प्रसाद सापकोटाले प्रस्तुति दिँदै सहकारी क्षेत्रको वर्तमान विषयवस्तुको विषयमा प्रकाश पारे । उनले पनि सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन नसकेको बताउँदै यस विषयमा प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उनको राय छ । ‘नेपाल सहकारी समाज स्थापनापछि सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाएको देखिन्छ, अझैँ पनि सहकारी क्षेत्र र सञ्चार क्षेत्रबीच दोहोरो सञ्चार हुन सकेको छैन, सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन सकेको छैन, यस विषयमा अभियानकर्मीले ध्यान दिन जुरुरी छ,’ उनले भने । सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजना भएको कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।
कलंकीमा खुल्यो यात्रु प्रतिक्षालय, इन्टरनेटदेखि नि:शुल्क खानेपानीको सुविधा लिँदै बस कुर्न सकिने
काठमाडाैं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवाले कलंकीस्थित ढुंङ्गे अड्डामा अत्याधुनिक किसिमको यात्रु प्रतिक्षालय सञ्चालनमा ल्याएको छ । हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलो पटक यस किसिमिको प्रतिक्षालय निर्माण गरिएको हो । यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झन्झट नहोस् भन्ने उदेश्यले बससेवाले लाउञ्ज प्रतिक्षालय ल्याइएकाे कम्पनीले जनाएकाे छ । प्रतिक्षालयको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे । प्रतिक्षालयमा यात्रुहरूलाई वाइफाइ, नि: शुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएको छ । प्रतिक्षालयको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन् । प्रतिक्षालय सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रतिक्षालयको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए । ‘सार्वजनिक यातायातमा हिड्ने यात्रुलाई लक्षित् गरि बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन, बससेवाले जुन सुविधा दिएको छ यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ, देशका अन्य भागमा पनि यस किसमका लाउञ्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्जिथत् बन्दै जानेछ, चन्द्रागिरीका अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ,’ उनले भने । यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठुलो भूमिका हुने बताए । यसैगरी चन्द्रागिरी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले यात्रुलाई सहज हुने किसिमका लाउञ्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए । यस्तै, बससेवा डटकमका सीइओ पिआर खनालले एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरीरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झञ्झटलाई मध्यनजर गर्दै लाउन्जकाे व्यवस्था गरेकाे बताए । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महानगरले सहयोग गर्नेछ : बालेन
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताएका छन् । आज वडा १२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको अवलोकन निरीक्षणका क्रममा भौतिक, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी दिए । नमूना विद्यालयहरुले आफ्ना शैक्षिक, प्रशासनिक र अतिरिक्त क्रियाकलाप तथा बाल विकासका लागि सञ्चालन गरेका कार्यक्रमको नतिजा जानकारी लिन विद्यालयको अवलोकन गरेका हुन् । ‘पाठ्यक्रम अतिरिक्त क्रियाकलापहरुमा खेलकुद, गायन, संगीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ्, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ । यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ । प्रमुख शाहले भने, ‘अहिले हामी खेलकुदका लागि स्थान नभएका विद्यालय नजिक रहेका सार्वजनिक स्थलहरुलाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा नक्साङ्कन गरिरहेका छौँ । यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ । यस्तै शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ ।’ अवलोकनका क्रममा उनले, विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार क्लव स्टीम क्लब्का विद्यार्थीहरुले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गरेका थिए । अवलोकनका विद्यालयको समग्र स्थितिका विषयमा प्रधानाध्यापक रविना महर्जनले जानकारी गराएका थिए । त्यस्तै विद्यार्थीहरुले आविष्कारका विषयमा जानकारी गराएका थिए । भूकम्प अलर्म, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, उर्जाको उत्पादन प्रयोग र प्रविधि प्रयोगमा रुपान्तरण, केवल कारलगायत प्रविधि, पीन बललगायतका खेल प्रविधि प्रदर्शन गरेका थिए । प्रमुख शाह आएर हामीलाई दिए । विद्यार्थीहरुले अवलोकनपछि प्रतिक्रिया दिए । ‘नमूना विद्यालयमा नमूना कार्यक्रम सञ्चालन गर्न विद्यालय नेतृत्वको ठूलो भूमिका रहन्छ । उपलब्ध थोरै भौतिक संरचनामा धेरै कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सामुदायिक विद्यालयमा यो सम्भव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट प्राप्त स्रोतको उच्चतम उपयोग गर्न सकिन्छ । सरस्वती विद्यालय यसको उदाहरण बनेको हो ।’ अवलोकनका क्रममा महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले प्रतिक्रिया दिए । ‘शिक्षकहरुको क्षमता विकासका लागि तालिमकर्ताहरुलाई सामुदायिक विद्यालयमा ल्याउने र विद्यालयको अवस्थिति र आवश्यकताका आधारमा तालिम उपलब्ध गराउने क्रियाकलाप सञ्चालन गर्ने तयारीमा छौँ ।’ अर्यालले भने, ‘महानगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब संस्थागतसँग प्रतिस्पर्धी बनाउँछौँ ।’ प्राथमिक शिक्षाका लागि शैक्षिक योग्यता भएका शिक्षकहरुलाई विश्वविद्यालय पठाउन सकिँदैन । त्यसैले अब विश्वविद्यालयलाई विद्यालयमा ल्याउनु पर्छ । यो संयोजनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । विद्यालयका प्रधानाध्यापक रविना महर्जनको भनाइ छ । यसका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य प्रयास भइरहेको उनको भनाइ छ । यो विद्यालय ३ आना ३ पैसा जमिनमा रहेको ५ तले भवनमा छ । भवनका १८ वटा कोठामा कक्षा सञ्चालन छ । विद्यालयमा स्टीम क्लव, किशोरी क्लव, साहित्यिक क्लव, डिजास्टर रिक्स रिडक्सन डीआरआर क्लव, इको क्लव, बाल क्लव छन् । यसैगरी आईसीटी ल्याब, इलेक्ट्रोनिक ल्याब, केमेष्ट्री र बायोलोजी ल्याब, पुस्तकालय र ईलर्निङ्गलगायत कक्ष छन् । विद्यालयमा खेल मैदान उपलब्ध नहुनु विद्यालयको सबैभन्दा ठूलो समस्या हो । प्रधानाध्यापक महर्जनले शाहसँग खेल मैदान प्राप्त भए विद्यार्थीहरुको शारीरिक विकासका लागि ठूलो सहयोग हुने बताए ।
पर्यटन उद्योगमा थपियो साढे ८ अर्ब बढी लगानी, एक हजारले रोजगारी पाउने
काठमाडौं । पर्यटन उद्योगमा साढे ८ अर्ब बढीको स्वदेशी लगानी थपिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) पर्यटन क्षेत्रका ८ उद्योगका लागि ८ अर्ब ६१ करोड ४७ लाख ७१ हजार ९७५ रुपैयाँ बराबरको लगानी प्रस्ताव (थपिएको) हो । विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी बुढानिलकण्ठ हेरिटेज होटलका लागि थपिएको छ । तथ्यांक अनुसार उक्त होटलका लागि २ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत भएको छ । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका १ मा निर्माण उक्त होटलले १५०० किलोवाट क्षमताको विद्युत खपत गर्नेछ भने २२० जनालाई रोजगारी दिईने उल्लेख गरेको छ । यस्तै, झापाको मेचिनगर १० मा निर्माण हुने होटल ईष्टर्न नेपाल प्रालिले एक अर्ब ६९ करोड ७७ लाख बराबरको होटल निर्माणको स्वीकृृति पाएको छ । उक्त होटलमा ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ भने १७० जनालाई रोजगारी दिने उल्लेख छ । झापाकै मंचीनगरमा होटल आयुष्मानका लागि २ अर्ब ५१ करोड १० लाखको लगानी स्वीकृत भएको छ । ३०० जनालाई रोजगारी दिने उक्त होटलले एक हजार किलोवाट विद्युत प्रयोग गर्नेछ । सुनसरीमा निर्माण गर्नेगरी ग्राण्ड सेन्ट्रल होटलका लागि ६० करोड बढीको लगानी स्वीकृत भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिकामा निर्माण हुने उक्त होटलले ५०० किलोवाट विद्युत खपत गर्नेछ भने ४० जनालाई रोजगारी दिने उल्लेख छ । ५५ करोड लगानीमा कास्कीमा दोर्जेज् फार्म रिसोर्टले लगानीको स्वीकृत पाएको छ । ७० जनालाई रोजगारी र ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ । यस्तैगरी, तनहुँको बन्दिपुरमा निर्माण हुने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले ८६ करोड ४० लाख बढीको लगानी स्वीकृत पाएको छ । एक हजार विद्युत खपत गर्ने उक्त होटलले १७२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । तीन महिनामा ८८ अर्ब लगानी विभागको तथ्यांक अनुसार तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीका ८८ अर्ब बराबरको लगानी स्वीकृत भएकोे छ । उक्त अवधिमा विभिन्न ८६ उद्योगका लागि ८७ अर्ब ८५ करोड बढीकोे लगानी स्वीकृत भएको हो । यस्तैगरी, उक्त अवधिमा १९ विदेशी लगानीका उद्योगमा २ अर्ब २४ करोड बराबरको लगानी प्रस्वात आएको छ । उक्त उद्योगमा १ हजार ४३ जनालाई रोजगारी दिईने प्रस्ताव पेश गरेको उद्योगले जनाएको छ । २ अर्ब ३५ करोडको औषधि उद्योग दर्ता मोरङ र चितवनमा करिब साढे २ अर्ब बराबरको लगानीमा दुई औषधि उद्योग विभागमा दर्ता भएका छन् । विभागको तथ्यांक अनुसार मोरङको कटहरी गाउँपालिका ६ मा १ अर्ब ५० करोड बराबरको लगानीमा जानकी पोलिकेम प्रालि दर्ता भएको छ । उत साउनमा विभागमा दर्ता भएको उक्त उद्योगले १४० जनालाई रोजगारी दिनेछ भने एक हजार ६ सय मेटावाग विद्युत खपत गर्नेछ । यस्तैगरी चितवनकोे भरतपुर महानगरपालिका १७ मा उद्योग रहनेगरी जेनेरिका फर्मास्युटिकल्स दर्ता भएको छ । ८५ करोड ५३ लाख १८ हजार बराबरको लगानी रहने उक्त उद्योगले ९४ जनालाई रोजगारी दिनेछन् भने ६२५ किलोवाट विद्युत खपत गर्ने उल्लेख छ ।
गुल्मी–२ मा पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै
रेसुङ्गा (गुल्मी) । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन् । क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन् । गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा (माओवादी केन्द्र ) र एक स्थानीय तहमा नेकपा (एमाले)ले नेतृत्व गरेको छ । रेसुङ्गाको प्रमुख र उपप्रमुख, इस्माको अध्यक्ष र उपाध्यक्ष, मदानेको अध्यक्ष र मालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ । मालिका र धुर्कोटको अध्यक्ष माओवादी जितेको छ । मुसीकोटको प्रमुख र उपप्रमुख, मदानेको उपाध्यक्ष र धुर्कोटको उपाध्यक्ष एमालेले जितेको थियो । यहाँ कूल ४३ वडा छन् । कांग्रेसले २५, एमालेले १७ र माओवादीले एक जितेको थियो । सत्तारुढ गठबन्धनका २६ र एमालेका १७ छन् । यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेससहितको गठबन्धनको ३२ हजार दुई सय २७ मत छ । एमालेसहितको गठबन्धनको ३१ हजार तीन सय ६२ छ । एमाले गठबन्धनभन्दा कांग्रेस गठबन्धन नौ सय २५ मतले अगाडि छ । यहाँ मुख्य नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदैछ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जीत निकाल्न सहज छ । उनलाई वडाध्यक्षमा सत्तारुढ गठबन्धनका दलले पाएको मत सुरक्षित राख्न निकै चुनौती छ । एमालेसँगको असन्तुष्ट समूहलाई आफूतिर तान्नसक्ने पनि झाँक्रीलाई अवसर छ । कांग्रेसका तल्लो तहका मतदाताले पनि आफ्नो चुनाव चिह्नलाई भुलेर गठबन्धनको भूमिका निर्वाह गरेमा झाँक्रीले यस क्षेत्रमा एमालेको विरासत तोड्न सक्नेछिन् । विष्टलाई एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनका भएका दलको मत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ । अघिल्लो सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर निकै सहज जीत निकालेकी उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । एमालेबाट छुट्टिएर समाजवादीमा गई उम्मेदवार बन्नुभएकी झाँक्रीलाई एमालेको मत जाने वा नजाने भन्नेमा पनि भर पर्दछ । पहिलेका सहयात्री झाँक्री र विष्ट अहिलेका मुख्य प्रतिस्पर्धी हुँदा मतदाताले कसलाई बढी रूचाउलान् भन्ने निकै कौतुहलताका साथ हेरिएको छ । झाँक्री र विष्टको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसहितको गठबनधनको १६ हजार ६७ मत छ । एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ८२ छ । जहाँ एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक सय ८५ अगाडि छ । यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मुसीकोट, इस्मा र रेसुङ्गाका ६ वडा पर्दछन् । यहाँ २१ वडा छन् । कांग्रेसले १२ र एमालेले नौ वडा जितेको छ । यहाँ कांग्रेसका श्रेष्ठ उम्मेदवार रहेकोले कांग्रेसले वडाध्यक्षमा पाएको मत बचाउनसके मात्र जीत सहज छ । यो सानो प्रयासले हुँदैन । एमालेका भुसाललाई आफ्नो दलले वडाध्यक्षमा पाएको मत सुरक्षित गर्दै सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन त्यति सहज छैन । यहाँ श्रेष्ठ र भुसालबीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुनेछ । अघिल्लो पटक रेसुङ्गाको प्रमुखमा उनै भुसालसँग हार बेहोर्नुभएका श्रेष्ठ अहिले त्यसको बदला लिने दाउमा छन् । भुसाल अघिल्लो जीतलाई आत्मबलका रूपमा लिएका छन् । यस क्षेत्रको प्रदेशसभा (ख) मा कांग्रससहितको गठबन्धनको १६ हजार दुई सय २० मत छ । एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ४० छ । एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको गठबन्धन तीन सय ८० ले अगाडि छ । यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीका बुद्धि जिसी र एमाले गठबन्धनबाट दिनेश पन्थीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मालिका, मदाने र धुर्कोट पर्दछन् । यहाँ २२ वडा छन् । कांग्रेसका १३, एमालेका आठ र माओवादीको एक वडा छ । कांग्रससहितको गठबन्धनका १४ र एमालेसहितको गठबन्धनका आठ वडाध्यक्ष छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत कायम रहेमा जिसीलाई जीत निकाल्न सहज छ । धुर्कोटमा एमालेसँगको गठबन्धनले नदेखिएको मत पनि अहिले माओवादीमै आउँछ । तसर्थ पनि सत्तारुढ गठबन्धनका जिसीलाई जीत निकाल्न निकै सहज छ । नेकपा एमालेका पन्थीलाई वडाध्यक्षमा पाएको मत सुरक्षित गरेर सत्तारुढ दलमा गएको मतसमेत तान्न आवश्यक छ । पन्थीलाई चुनौती बन्नसक्छ । खानेपानी माग्छन् जनता यस क्षेत्र नागरिकले अझै पनि घरमै खानेपानीको माग गरिरहेका छन् । मदाने–६ की पवित्रा विकले आफूहरू एक घण्टा टाढाबाट पानी बोकेर खानुपर्ने अवस्था रहेको गुनासो गरेकी छिन् । ‘बिहानै ५ बजे उठेर एक घण्टा टाढा थाम्कामा पानी बोक्न जाने मेरो दैनिकी हो’, उनले भने । उनीसँगै थाम्काका छ घरपरिवारमा यो समस्या छ । यस क्षेत्रमा अझै खानेपानी, सडक र स्वास्थ्य लगायतको निकै समस्या छ । यस क्षेत्रका नागरिकले आफूहरूलाई मत राख्नका लागि कसैले नसिकाएको गुनासो गरेका छन् । ‘मलाई मत बदर हुन्छ कि भन्ने चिन्ता छ’, मदानेका दुर्गाबहादुर कुँवरले भने, ‘मत कसरी राख्नेसम्बन्धी कसैले शिक्षा दिएन, सिकाए हुन्थ्यो,’। सोही स्थानका २० वर्षीय निरज नेपालीले पनि आफू पहिलोपटक मतदान गर्न लागेको भन्दै केही जानकारी नभएको गुनासो गरे । उनले गाउँगाउँमा मतदाता शिक्षाको अभाव भएकाले मतदाता शिक्षा आवश्यक रहेको बताए । निर्वाचन कार्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ । यहाँ एक लाख १५ हजार मतपत्र आइपुगेको छ । (१) मा ५९ हजार र (२) मा ६० हजार मतपत्र आएको सूचना अधिकारी मेघलाल पाण्डेले बताउनुभयो । यहाँ एक सय २८ मतदान केन्द्र र ६१ मतदानस्थल छन् । (१) मा ६२ र २९ छन् । (२) मा ६६ र ३२ छन् । निर्वाचन कार्यालयले वडावडामा स्वयंसेविकामार्फत मतदाता शिक्षा दिइरहेको दाबी गरेको छ । साथै निर्वाचन अनुगमन अधिकृत छविन्द्र बेल्वासेले यहाँ आचारसंहितासम्बन्धी अनुगमन भइरहेको बताएका छन् ।
सितापाइलामा खुल्यो सानिमा बैंकको नयाँ शाखा
काठमाडौं । सानिमा बैंकले काठमाडौंको सितापाइलामा पनि सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले कार्तिक २५ गते संयुक्त रुपमा गरेका हुन् । सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्धारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्धभावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकका देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटीएम संचालनमा रहेका छन् ।
खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजले पायो आइएसओ प्रमाणपत्र
काठमाडाैं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र पाएको छ । कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी (युकेएएस) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ । ‘आइएसओ ९००:२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भने,‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । आगामी दिनमा समेत हामी उत्पादनहरूको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’ कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् । हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।