विकासन्युज

झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी

काठमाडौं । झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी रहेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । नेपाली कांग्रेसकी मन्थरा चिमाेरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।

तनहुँ १ मा स्वर्णिम वाग्ले भारी मतले अगाडि

काठमाडौं । तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै गरेका छन् । उनले ३४ हजार २५४ मत पाएका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४ हजार ६११ मत पाएका छन् । एमालेकी भगवती न्यौपानेले ४ हजार ७९१ र नेकपाका विद्यानाथ ढकालले २ हजार ३१६ मत पाएका छन् ।

रविन्द्र मिश्रले राजनीति त्यागे, राप्रपा छाडे

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारी र दलीय राजनीतिबाट तत्कालका लागि अलग हुने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत मिश्रले आफू अब ‘गैरदलीय’ (स्वतन्त्र) रूपमा वैचारिक अभियानमा सक्रिय रहने जानकारी दि‍ए । काठमाडौं– १ मा पराजित भएसँगै उनले राजीनामा दिएका हुन् ।  उनले  आफ्नो राजीनामा कुनै निराशा वा हतारको उपज नभई गहिरो आत्ममन्थनको परिणाम भएको बताएका छन् ।  मुलुकमा राजसंस्थाको पक्षमा जनलहर हुँदाहुँदै पनि राप्रपाले त्यसलाई सही ढंगले पूँजीकृत गर्न नसकेको उनको ठहर छ । यसमा नेतृत्वको हैसियतले आफू पनि जिम्मेवार रहेको उनले स्वीकार गरेका छन् । ‘विचारभन्दा माथि देश’ र ‘देशका लागि नरेश’ को मार्गलाई अघि बढाउन संरचनागत पुनरावलोकन आवश्यक रहेको र विद्यमान दलीय संरचनाबाट त्यो सम्भव नदेखेको पनि मिश्रले संकेत गरे । उनले भर्खरै सम्पन्न निर्वाचनमा सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै  नेपाली राजनीतिको दिशाप्रति चिन्तासमेत व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘‘प्रचण्डपथ’ मा पट्टी लगाएको घोडा सरह एकोहोरो दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भन्ने कामना गर्दछु ।’ मिश्रले दलीय राजनीति छाडे पनि आफ्ना मुद्दाहरूबाट पछि नहट्ने पनि प्रस्ट पारेका छन् ।

रुपन्देही-३ मा हालसम्मकै उच्च मत ल्याएर लेखजङ्ग विजयी, साढे ५० हजारको मतान्तर

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का उम्मेदवार डा. लेखजङ्ग थापा ५८ हजार ८१४  मत प्राप्त गरी निर्वाचित भएका छन् । उनी ५० हजार ५३९ मतान्तरले विजयी भएका हुन् । जुन मत हालसम्मकै उच्च हो ।  मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका  अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे ।  

एमालेले केपी ओलीको हार स्वीकार्यो, महासचिव पोखरेलको बालेनलाई बधाई

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नराम्रो पराजय स्वीकार गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै उनले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ मत दिएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएको बताएका हुन् ।  उनले भनेका छन्, ‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको छ । जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ अभिमत दिएका छन् । जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना ।’ अहिले झापा–५ मा मतगणना जारी छ । जहाँ एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा छन् । बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि छन् ।  एमालेले अहिले नै हार स्वीकार गर्दै बोलनलाई बधाई दिएको हो । महासचिव पोखरेलले भनेका छन्, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो । शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो । तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन  ।’  उनले ‘जिन्दगी हो-हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ’ गीत सम्झिएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताएका छन् ।   

झापा- ५ मा बालेनले ४२ हजार कटाउँदा ओलीले ११ हजार ४२७ मत पाए

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी मन्थरा चिमरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।

डोटीबाट कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । सुदूरपश्चिमको डोटी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका दीपकबहादुर धामी, लाई ७८७ मतको झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले कुल १४,८९७ मत प्राप्त गरेका छन् भने धामीले १४,११० मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३,२६० मत प्राप्त गरेका छन् ।   

लोकतन्त्रको सुन्दरता प्रत्येको मतको लागानीमा हुन्छः विराजभक्त श्रेष्ठ

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि विराजभक्त श्रेष्ठले लोकतन्त्रको महत्त्व र सुन्दरता प्रत्येक मतको लगानीमा हुने बताएका छन । श्रेष्ठ काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन् । ‘लोकतन्त्रको महत्व र सुन्दरता, हरेक मतको लगानीमा गाँसिएको हुन्छ। यो ऐतिहासिक जीत म एक्लो विराजको होइन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मलाई विश्वास गर्ने हरेक मत, साथ दिने हरेक पाइला, हौसला राख्ने हरेक शब्द, आड दिने हरेक काँधको विजय हो ।’ ‘अब आउने दिनमा सबैको साथ, सुझाव, चेतावनी र सम्भावनालाई आत्मसात गरि अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।  ‘तपाईंको लगानी खेर जाने छैन,’ उनले अगाडि भनेका छन् । श्रेष्ठ २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।