विकासन्युज

१० बैंकिङ्गसहित १९ कम्पनीको साधारण सभा आज, १ सय प्रतिशतसम्म लाभांश पारित गर्दै

काठमाडौं । शुक्रबार विभिन्न १९ वटा कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत र सूचीकृत हुन बाँकी रहेका कम्पनी सहति १९ कम्पनीको आज पुस २९ गते वार्षिक साधारण सभा हुने भएको हो । नबिल बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, मछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, नेपाल हाइड्रो डेभलपर, हिमालयन पावर पार्टनर, कालिका पावर, श्वेत गंगा हाइड्रोपावर, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, शिवम् सिमेन्ट्स, अर्घाआँची सिमेन्ट र नेपाल स्टक एक्सचेञ्जको वार्षिक साधारण सभा आज हुने भएको हो । नबिल बैंकको ३८ औं वार्षिक साधारण सभा सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा बिहान ११ बजे प्रधान कार्यालय काठमाडौंमा सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा बिहान ९ बजे होटल आनन्द तिलगङ्गा काठमाडौंमा सुरु हुनेछ । बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । मछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारण सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सुरु हुनेछ । बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । महालक्ष्मी विकास बैंकले २१ औं वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । महालक्ष्मी विकास बैंकले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । आइसिएफसी फाइनान्स कम्पनीको १९ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कूल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आइसिएफसी र श्री इन्भेष्टमेन्ट कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो । सेन्ट्रल फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारण सभा हेड अफिस कुपोण्डोलमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेन्ट्रल फाइनान्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारण सभा बिहान ११ बजे थापागाँउ ब्याङ्क्वेट नयाँ बानेश्वर काठमाडौंमा सुरु हुनेछ । फाइनान्सले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा एशियन होटल बुटवलमा बिहान ९ बजे सुरु हुनेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १५ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो । नेपाल हाइड्रो डेभलपरको १६ औं वार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.०२६३ प्रतिशत नगद गरी कूल ५.०२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । हिमालयन पावर पार्टनरको दशौं वार्षिक साधारण सभा अम्रपाली व्याक्वेट, भाटभटेनी, काठमाडौंमा विहान ९ बजे सुरु हुनेछ । कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन् । कालिका पावर कम्पनीको रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजे वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कालिका पावर कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो । श्वेत गंगा हाइड्रोपावरको छैटौं वार्षिक साधारण सभा बिहान ११ बजे कुण्डलिनी दरवार ब्याङ्क्वेट नयाँ चण्डोल काठमाडौंमा सुरु हुनेछ । कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे २९ औं वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशत बोनस सेयर र ०।७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २१ औं वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद गरी कूल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । शिवम् सिमेन्ट्स कम्पनीको सातौं वार्षिक साधारण सभा होटल सामना, हेटौंडामा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । अर्घाआँची सिमेन्ट्सको २४ औं वार्षिक साधारण सभा बिहान ११ बजे अर्घाखाँची सिमेन्ट थापाथली काठमाडौंमा सुरु हुनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ४१ औं वार्षिक साधारण सभा बिहान ११ बजे नेप्सेको कार्यालय काठमाडौंमा सुरु हुनेछ । नेप्सेले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा भएको दोस्रो दिन नै एनटिसीले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले वार्षिक साधारण सभाले पारित गरेको दोस्रो दिन नै लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । कम्पनीको बिहीबार पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ४० प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले आज पुस २९ गते शुक्रबारदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको प्रतिकित्ता ४० रुपैयाँ नगद (कर समेत) लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको जनाएको छ । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

मिटरब्याजी पीडितको समस्या उठान गर्ने रवि लामिछाने गृहमन्त्री बनेपछि न्याय देलान् ?

काठमाडौं । मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् । लामो समयदेखि न्याय नपाएपछिसर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पीडितको मुद्दा सम्बोधनका लागि विगतदेखि पहल गर्दै आएका छन् । सञ्चारकर्मी हुँदा बहालवाला गृहमन्त्री रवि लामिछानेले जोडदार रूपमा आवाज उठाएका थिए । विगतमा मुद्दा उठान गर्ने व्यक्तिहरू माग सम्बोधन गर्ने ठाउँमा पुगेकाले आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको पीडित रुकमिनी देवी चौधरीले बताईन् । अदालतबाट न्याय पाउनेमा आफूहरू सशंकित रहेको पीडित चौधरीले बताइन् । पीडक बलियो रहेकाले उनीहरूले न्यायालयलाई प्रभावित पारेको चौधरीको आरोप छ । पीडितहरूको आजको भेलाले न्यायका लागि एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय गरेको छ । न्यायका लागि अगाडि बढ्न मिटरब्याजी तथा ठगी विरुद्ध जिल्लास्तरीय सङ्घर्ष समितिलाई पुनर्गठन गरेको छ । सरस्वती मिश्र वाग्लेको नेतृत्वमा पुनः सङ्घर्ष समिति बनाइएको हो । सर्लाहीमा तीन मिटरब्याजी श्याम परदेशी, रामबाबु यादव र सञ्जय साह रौनियारले धेरै व्यक्तिलाई ठगी गरी उठीवास लगाएपछि न्यायका लागि उनीहरू सङ्घर्षमा उत्रेका हुन् । श्याम परदेशी भन्ने श्यामकृष्ण साह जिल्ला अदालत सर्लाहीको आदेशामा पुर्पक्षका लागि अहिले कारागारमा रहेका छन् । रामबाबु यादव फरार छन् । सञ्जय साह रौनियार भने धरौटीमा छुटेका छन् ।

जनक शिक्षाको गुणस्तरहीन ४ ट्रक कागज प्रहरी नियन्त्रणमा, ३ दिनदेखि सडकमै ९ ट्रक

भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि ४ ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि बिहीबार शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो । झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको ४ ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गरेका थिए । त्यसलगतै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणका बारेमा प्रबन्ध निर्देशक झासँग जानकारी मागे । उनीहरुले नगरपालिकालाई जनक शिक्षालगायतका यहाँका शैक्षिक कार्यालयले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न आग्रह गरे । केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भए पनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका १६४ टन कागज गुणस्तरहीन रहेका र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताए । ‘केन्द्रले गुणस्तरहीन कागज फिर्ता लगेर सम्झौताअनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौँ, गत २४ र २५ गते कागज फिर्ता गर्याे र हिजो बिदाको दिनमा कागज लिएर आएछ, गुणस्तर जाँचपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने । यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिकरूपमा पनि छानबिन गर्ने उनले बताए । उनले सप्लायर्स कम्पनीको बदमासी पाइए उसले राखेको ५  करोड रुपैयाँ धरौटी जफतसमेत हुनसक्ने बताए । केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको जानकारी दिँदै आएका कागज नापतौल तथा गुणस्तर विभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताए । केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते १ हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप ५ मेट्रिकटन गरी कूल १ हजार ५ मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याएपनि गुणस्तरहीन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो । ‘समयमै कागज दिन नसक्दा गत वर्ष एउटा कम्पनीको ८ करोड रुपैयाँ धरौटी जफत गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै भए ५ करोड रुपैयाँ धरौटी जफत गर्छौं तर, केन्द्रका बारेमा बाहिर फैलाइएको अफवाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन,’ केन्द्रका प्रवक्ता आचार्यले भने । सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको ९ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा २ दिन राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएको बताइएको छ । ४ ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छ । कागज बोकेको अन्य ९ ट्रक भने ३ दिनदेखि सानोठिमी सडकमै रहेको छ ।

अख्तियारका पूर्वआयुक्त नै भ्रष्टाचारको मुद्दामा दोषी, ३ वर्ष कैद र ३९ लाख जरिवाना

काठमाडौं । विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै ३ वर्ष ३ महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले आज पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप ३ महिना कैद गर्ने फैसला सुनाएको हो । अदालतले नेपाल इञ्जिनीयरिङ कलेजका लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा ७० लाख रुपैयाँभन्दा बढी घुस लिएको खुलासा भएपछि विवाद भएको थियो । उक्त प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । अदाललते आज दोषी ठहर गरेको छ ।

नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार सम्पन्न ११ औं साधारण सभाले ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँ बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ । आ।व। २०७८र७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७५ ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति सेयर २५५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ । राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने यस कम्पनीले एनसिएचएल इसिसि, एससिएचएलसआइपिएस र आरपिएस लगायतका भुक्तानी प्रणालीहरु मार्फत आ।व। २०७८र७९ मा कुल १५७।५ खर्ब बराबरको ७।०४ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

परिसंघले भन्यो : ब्याजदर घटाउने निर्णय सकारात्मक, आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम हुनुपर्छ

काठमाडौं । नेपाल उद्योग परिसंघले ब्याजदर घटाउने बैंकर्स संघको निर्णय सकारात्मक भएको बताएको छ । परिसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको ब्याजदर घटाउने सहमती सकारात्मक अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको निर्णय सकारात्म भएको धारणा राखेको हो । मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको बताउँदै यो निर्णयल निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र अर्थतन्त्रलाई गति प्रदान गर्न सहयोग पुग्ने बताएको छ । यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने परिसंघको विश्वास छ । ‘निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने छ, यसले आधार दर र कर्जाको ब्याजदर पनि घटाउने हाम्रो बुझाई छ, कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ । उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरी अगाडि बढाउने र समग्र मागमा बृद्धि आउँने हुँदा अर्थतन्त्र चलायमान हुन जाने परिसंघको विश्वास छ । नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुँदै, स्टल बुकिङ खुला

काठमाडौं । काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले चैत २ गतेदेखि ६ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको हो । कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तराष्टिय व्यापार मेला गएको दुई वर्ष आयोजना हुन सकेको थिएन । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो । अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि आजैबाट स्टल बुकिङ खुला समेत गरिएको महासंघले जानकारी दिएको छ । महासंघके अनुसार यस वर्षको मेलाको लागि चीनबाट, भारतबाट, पाकिस्तानबाट, बङ्गलादेशबाट र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटिआइएस प्रडक्टस का साथै मेड इन नेपाल बस्तुहरुको प्रर्दशनी गरिने र यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुने महासंघले जनाएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकला उत्पादनहरु, एनटिआइएस एण्ड मेड इन नेपाल प्रडक्टस रहने बताइएको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने महासंघले जानकारी दिएको छ ।