विकासन्युज

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

काठमाडौं । बागमती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बागमती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो । महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रसम्म बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति स्थापना भएको ३० वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुनसकेको छैन । सहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती समितिको कार्यालयअघिबाट गौरीघाटसम्म पनि सफाइ गर्नुपर्नेमा जोड दिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए । गुह्येश्वरीदेखि गौरीघाटसम्मको उत्तरी भागमा जोडिएको सडक कालोपत्रे, गोकर्णदेखि गुह्येश्वरीघाटसम्म भकारी निर्माण र गुह्येश्वरीबाट गौरीघाटसम्मको सडकमा बत्तीको व्यवस्था गर्न पनि महाअभियानले माग गरेको छ । महाअभियानले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बागती सफाइ महाअभियान चलाउँदै आएको छ ।

नुवाकोटमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख दिइने

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ । ‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ’, उनले भने, ‘मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ । विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ । उनका अनुसार विद्यालयमा विद्युतीय हाजिर, पूर्ण दरबन्दी, ईपुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्याङ्क र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिने छ । ‘शिक्षाको विकासलाई नगरले प्राविधिक शिक्षा, प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षालाई जोड दिएको छ’, उनले भने, ‘शिक्षा सुधारका लागि विद्यालयलाई भौतिकरुपमा सम्पन्न, शिक्षक कर्मचारी पर्याप्त र सरोकारवाला पक्षको सकारात्मक सहयोग जुटाउन कार्यक्रम ल्याएको हो ।’ हाल बेलकोटगढी नगरभित्र १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा

भक्तपुर । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका-७ ले पदयात्रा कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा सङ्घ पर्यटन विभागको आयोजनामा आज बिहान ९ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरे। उनले नगरपालिका क्षेत्रका डाँडा आफैँमा ‘भ्यूटावर’ रहेको चर्चा गर्दै यहाँबाट काठमाडौँ उपत्यकाका साथै विभिन्न हिमश्रृंखला देख्न सकिने बताए । अनन्तकुण्डको ऐतिहासिक एवं धार्मिक महत्वबारे चर्चा गर्दै उनले राजा अंशु बर्माले रानी बिरामी हुँदा यहीँबाट पानी लगेर छर्किएपछि निको भएको किम्बदन्ती रहेको सुनाए । उनले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा पनि यहीँ कुण्डको पानी लगेर हालेको इतिहास रहेको समेत बताए । ‘यसअघि म सांसद छँदा यस क्षेत्रमा पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थिएँ’, उनले भने ‘यो क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ ।’ यस क्षेत्रमा जङ्गल सफारी गर्दै जङ्गली जनावर, चराचुरुङ्गी नियाल्न पनि सकिने उनले बताए । रातोपाटीबाट सुरु भएको पहिलो चरणको पदयात्रा अनन्तकुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यूटावर, होमस्टेहुँदै रिसालडाँडा पुगेर पूरा हुने आयोजकको भनाइ छ । सूर्यविनायकबाट घ्याम्पेडाँडा, रानीकोट, बाघ भैरब, मानेभन्ज्याङ, पनौती कुशादेवीसम्म र सूर्यविनायकबाट रिसालडाँडा हुँदै पोखरी थुम्कासम्म जान सकिन्छ । पदयात्रा उद्घाटन कार्यक्रममा बागमती प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउँदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र विकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएको बताए । कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्य पहिचान गर्दै आन्तरिक पर्यटक बढाउन सकिने बताए । यस पदमार्गमा यात्रा गर्दा मृग, बँदेल, खरायो, कालिजलगायतका जङ्गली जनावर तथा पशुपक्षी अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा पुगेपछि १७ वटा हिमाल र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

धरानमा मेयर साम्पङले डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप

काठमाडाैं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउँदा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएकाे छ । उपमहानगरले आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाएकाे घर भत्काउन डाेजर प्रयाेग गरेकाे थियाे । झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जानकारी दिएकाे छ । महानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेपछि सुरक्षाकर्मीकाे सहयाेगमा डाेजर चलाएकाे जनाएकाे छ ।  

भोजपुरे खुकुरीको माग बढ्यो, कालीगढ भने अभाव

भोजपुर । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छ । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम एक हजारदेखि अधिकतम १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ । यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ । विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । ‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’, गजमेरले भने, ‘विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।’ कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउछन् । पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ । ‘भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारबाटसमेत हुने गरेको छ’, व्यवसायी श्रेष्ठले भने, ‘खुकुरी बनाउने दक्ष कालिगढको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन । पेसालाई जोगाएर अर्को पुस्तामा लैजानुपर्ने अवस्था छ ।’ दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिकरूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए। ‘खुकुरी बनाउने कालीगढ पेसा सङ्कटमा पर्ने अवस्था छ’, विश्वकर्माले भने, ‘खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन । नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको अवस्था छ । अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ ।’ पेसालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए । मानिसले कालीगढ पेसालाई अपहेलनाका रूपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइँमा नपरेको उनको कथन छ । ‘चार दशक बढी समयबाट यो काम गरिरहेको छु’, उनले भने, ‘यतिका समय यही पेसा गर्दा पनि आर्थिक अवस्था कमजोर नै छ । मेहेनत बढी गर्नुपर्छ । आम्दानी कम छ ।’ नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेर पेसालाई बचाउन सकिने उनको भनाइ छ । स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए । व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उनको भनाइ छ । ‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ’, उनले भने, ‘हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।’ सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ । आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहेनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ । खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा समेत पर्ने गरेका छन् । मेहेनतअनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेसामा लाग्नेहरुको सङ्ख्या घट्दै गएको टेम्केमैयुङ–५ मझौलेमा कालीगढ पेसा गर्दै आएका गोर विश्वकर्माले बताए । पुराणा पुस्ताले पुर्खौली पेसालाई संरक्षण गर्दै आएको भए पनि राज्यले संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ । ‘कालीगढ काममा दुःख छ’, उनले भने, ‘पराम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन । सामुदायिक वनका कारण कच्चा पदार्थ जुटाउन नै समस्या छ । राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे हुने । त्यही भएर पनि धेरैले अब त पेसा नै छाडिसके ।’ राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ । ‘पेसाको संरक्षण अहिलेको आवश्यकता हो’, विश्वकर्मा भने, ‘यो पेसा गरेर सम्मानपूर्वक बाँच्ने आधार बनाउन आवश्यक छ । राज्यले त्यो वातावरण बनाइदिनुप¥यो । राज्यबाट पनि खास प्रोत्साहन छैन । यो काम गरेर आनन्दले बाँच्न सक्ने अवस्था भएमा नयाँ पुस्ता पनि आकर्षित हुने थिए ।’ जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ । पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताउने गरेका छन् । विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ । रासस

उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन् । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उनले अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन नसकेर ओछ्यान परेका हुन् । ‘आन्द्रामा समस्या देखिएपछि चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गरायौँ’, पीडित चौधरीका छोरा लक्ष्मणले भने,  ‘आफन्त, चिनेजानेका व्यक्तिबाट रु चार लाख ५० हजार जम्मा गरी खर्च गरेर उपचार गरायौँ, उपचारपछि हिँडडुल गर्न सक्ने हुनुभयो ।’ ‘अस्पतालको सल्लाहमा भारतमा थप उपचारका लागि लग्न भनेपछि लग्यौँ’, उनले भने, ‘उपचार गराउनकै लागि ७० हजार भारतीय रुपैयाँ ऋण गरेर उपचार गरायौँ, जाँच गर्दा आन्द्रामा क्यान्सर देखियो ।’ क्यान्सर देखिएपछि अझै उपचार गर्नुपर्ने भएकाले रकम अभाव भएको उनको भनाइ छ । उपचार खर्च नहुँदा चौधरी परिवारले धनबहादुरको उपचार गराउन सकेका छैनन् । घरमा कमाउने भनेकै धनबहादुर हुन् । उनले बोरिङ गाड्ने ठेक्का लिएर काम गर्दैआएका थिए । सोही रकमबाट दुई छोरा र श्रीमतीको खर्च धान्दै आएका थिए । घरका एक्ला कमाउने व्यक्ति ओछ्यान परेपछि परिवारलाई दुई छाक जोहो गर्न मुस्किल भएको पीडित धनबहादुरका साला रमेश चौधरीले बताए । ‘जग्गाका नाममा घरबासका लागि मात्रै जग्गा छ’, उनले भने, ‘त्यसमा बनेको सानो झोपडीमात्रै सम्पत्तिका रूपमा रहेको छ, उपचार खर्च अभाव भएपछि दातृ निकायलाई गुहार्दै हिँडेका छौँ ।’ बजार क्षेत्रमा व्यानरसहित सहयोग रकम जुटाउन लागे पनि उपचारका लागि पुग्ने खर्च जुट्न नसकेको उनले बताए । ‘दाताहरूको सानो सहयोगले भिनाजुको ज्यान जोगिन्थ्यो’, उनले भने, ‘त्यसका लागि सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई सहयोगको याचना गर्दै हिँडेका छौँ ।’ नगरपालिका र प्रदेश सरकारसँग सहयोग रकम माग्नका लागि आवश्यक कागजपत्र बुझाए पनि सहयोग रकम भने अहिलेसम्म पाउन नसकिएको उनको गुनासो छ । रासस

मर्जरबिनै ठूला बैंकलाई टक्कर दिँदै एभरेष्ट, नाफामा कुन बैंकको प्रतिस्पर्धा को सँग ?

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ११ प्रतिशत मात्रै वृद्धि भएको हो । बैंकहरुको खराब कर्जा दर बढेपछि नाफामा असर गरेको हो । दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा दर बढेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खासै प्रगति गर्न नसकेका बैंकहरु दोस्रो त्रैमासदेखि भने बढ्ने अपेक्षा गरेका थिए । तर, दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा बैंकहरुको नाफा वृद्धिदर सुस्ताएको देखिन्छ । पछिल्लो समय बैंकहरुले रिकभरीमा जोड दिएपनि कर्जा उठ्न नसक्दा नाफामा प्रभाव पारेको बैंकरहरु बताउँछन् । निक्षेप संकलनका लागि ब्याजदर बढाएपनि कर्जा प्रवाह शून्य जस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा वृद्धिदरमा ठेस लागेको हो । पुस मसान्तसम्मको वित्तीय विवरण २१ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाहेक अन्य सबै बैंकले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । ६ महिनामा वाणिज्य बैंकहरुले ३१ अर्ब १४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्म २८ अर्ब ३ करोड ३१ लख रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्षको तुलनामा ११.१० प्रतिशत बढी नाफा आर्जन गरेका हुन् । यस अवधिमा १५ वाणिज्य बैंकको नाफा बढेको छ भने आधा दर्जन बैंकको नाफा घटेको छ । कृषि विकास बैंक नोक्सानीमा रहेको छ । बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, सिटिजन्स बैंकको ३२.११ प्रतिशत, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत, सनराइज बैंकको १२.२८ प्रतिशत, प्रभु बैंकको ४.९१ प्रतिशत र प्राइम बैंकको १.८५ प्रतिशत नाफा घटेको हो । समीक्षा अवधिमा प्रतिशतका आधारमा नाफा वृद्धिमा एभरेष्ट बैंक आक्रामक बनेको छ । बैंकले सबैभन्दा धेरै ८९.२९ प्रतिशत नाफा बढाएको हो । तर, सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंक बनेको छ । नम्बर वानको दौडमा रहेको नबिल बैंकले ५६.६७ प्रतिशत बढाएर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको ३६.२७ प्रतिशत बढेर ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ, तेस्रोमा ग्लोबल आइएमई बैंकको ४.४६ प्रतिशत बढेर २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ, चौंथोमा राष्ट्रिय वाणिज्य बैंकको ४१.२७ प्रतिशत बढेर २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ११ प्रतिशत बढेर १ अर्ब ९० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सिभिल बैंकले गत वर्ष भन्दा नाफा उल्लेख्य बढाए पनि समिक्षा अवधिमा पुच्छारमा रहेको छ । बैंकको २६.३९ प्रतिशत बढाएर ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै, ६ महिनाको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड रुपैयाँ, सानिमा बैंकको १९.३४ प्रतिशत बढेर १ अर्ब २८ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ५०.३९ प्रतिशत बढेर १ अर्ब १७ करोड रुपैयाँ, लक्ष्मी बैंकको ३१.७७ प्रतिशत बढेर १ अर्ब ७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १.४२ प्रतिशत बढेर १ अर्ब २ करोड रुपैयाँ, कुमारी बैंकको ६.१२ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ र हिमालयन बैंकको २८.४२ प्रतिशत बढेर ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यस्तै, सनराइज बैंकको १२.२८ प्रतिशत घटेर ६५ करोड ३९ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३२.११ प्रतिशत घटेर ८४ करोड १३ लाख रुपैयाँ, प्राइम बैंकको १.८५ प्रतिशत घटेर १ अर्ब ६५ करोड रुपैयाँ, प्रभु बैंकको ४.९१ प्रतिशत घटेर १ अर्ब १९ करोड रुपैयाँ, नेपाल बैंकको १७.३९ प्रतिशत घटेर १ अर्ब १७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ ।