विकासन्युज

बझाङको सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात

बझाङ। सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो । उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत ३५ लाख रुपैयाँ बराबर किसानले आम्दानी गरेका छन् । ‘हामीले सुर्माबाट एक हजार क्विन्टल आलु निर्यात गरेका हौँ । त्यसैमध्ये ८८ क्विन्टल आलु बीउका लागि डडेल्धुराको कोल्डस्टोरमा राखिएको छ । बाँकी सबै बिक्री भइसक्यो, उनले भने, ‘सुर्मामा पछिल्लो तीन वर्षयता तरकारीमा स्थानीयवासी आत्मनिर्भर हुँदै आएका छन् । यसवर्ष आलु मात्रै नभइ बन्दा, गोलभेडा, काउली र मुलासमेत सुर्मावासीले बजार पु¥याएका छन् ।’ सुर्माबाट बन्दा र काउली पनि ४० क्विन्टल र गोलभेडा १५ क्विन्टल निर्यात भएको थियो । यहाँका किसानले काउली र गोलभेडामै जनही तीन लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखाको तथ्याङ्कमा उल्लेख छ । उक्त गाउँपालिकाको सबैभन्दा बढी तरकारी उत्पादन वडा नं २ घोगाडा, वडा नं ३ विछडा र वडा नं ४ सुर्मामा बढी उत्पादन हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहराले पनि सुर्मा तरकारीमा आत्मनिर्भर हुँदै गएको र अहिले यहाँका बासिन्दाले तरकारी किनेर खानुपर्ने अवस्था नरहेको जानकारी दिए । सुर्माले मात्रै मौसमअनुसार जिल्लालाई आधाआधी पुग्ने गरी तरकारी उत्पादन गरिरहेको छ । उनका अनुसार पालिकाले व्यावसायिक कृषि गर्न चाहने किसानका लागि अनुदानमा बीउ, टनेल, ढुवानी खर्चसमेत दिने गरेको छ । अध्यक्ष बोहराले भने, ‘यो दुई/तीन वर्षको अवधिमा गाउँपालिकामा ८० भन्दा बढी टनेल वितरण गरिएको र सोहीअनुुसार आवश्यक बीउ र कृषि प्राविधिक पनि उपलब्ध गराइएकाले अब थप उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।’ रासस

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

काठमाडौं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको हो । निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

आइएमई पेबाट क्युएफएक्स मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक

काठमाडौं । आइएमई पेबाट क्युएफएक्स मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हुने भएकाे छ । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको हाे । यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन् । त्यस पश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र सो अफरको फाईदा उठाउन सक्नेछन् । साथै, आगामी दिनहरुका लागि लाईभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउनेछन् । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ । मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे । त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफर मार्फत मुभी प्रेमीहरुलाई सहज हुने र अझ बढि ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरे ।  

कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा शुरु

काठमाडौं । कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा शुरु भएकाे छ । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा स्थापित इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् । साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढि भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।

कृषि र वनलाई जोडेर प्राङ्गारिक उत्पादन गर्दै कर्णाली सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि र वनलाई जोडेर प्राङ्गारिक खाद्यपदार्थ उत्पादन बढाउन सकिने बताएका छन् । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा बुधबार सुर्खेतमा आयोजित ‘कर्णालीमा प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि परियोजना, त्यसको उपलब्धि एवं भावी कार्यदिशा विषयक गोष्ठी’मा उनले एउटै नीति बनाएर जान नसक्दा विकासमा बाधा आएको उल्लेख गरे । कृषि तथा अन्य मन्त्रालयले निर्माण गर्ने काममा वनले रोक्नेभन्दा सबै एकै नीतिमा रहेर काम गर्नेगरी कानुन बनाउनुपर्नेमा मन्त्री शर्माको जोड थियो । उनले भने, ‘उहिले गरिबीको नाममा र अहिले प्राङ्गारिक प्रेदशका नाममा गैर सरकारी सङ्घ/संस्था परिचालन हुनुहुँदैन । नेताले भाषण गर्ने, कर्मचारीले कागजात मिलाउने र गैससले सफ्टवेयरमा जोड दिने चलन अन्त्य गरौंँ । टेबल कार्य होइन, फिल्ड कार्य गर्नुपर्दछ । विज्ञसहित फिल्डमै पुगेर काम गर्ने वातावरणमा जोड दिउँ ।’ संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ)का राष्ट्रिय प्रतिनिधि केन शिमिजुले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको प्राङ्गारिक वस्तु प्रवद्र्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि परियोजना धेरै ठूलो उपलब्धि भएको बताए । ‘विश्वमा छ सय मिलियन मानिसले दूषित खाना खाने र चार लाख त्यसकै कारणबाट मरिरहेका छन्,’ उनले भने, ‘खाद्य तथा कृषि सङ्गठनले नेपालमा प्रोटिन, पोषणस्तरीय जीवन तथा स्वच्छ वातावरणका क्षेत्रमा काम गर्दैछ ।’ राष्ट्रिय प्रतिनिधि शिमिजुले प्राङ्गारिक खेतीमा जोड दिएको कर्णालीलाई खाद्य तथा कृषि सङ्गठनले आवश्यक सहयोग गर्ने जनाए । दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजालले उपदेश दिएर मात्र विकास नहुने र वृहत परियोजनाको रूपमा रहेको कर्णाली प्रदेशको प्राङ्गारिक अभियान सबैले सहयोग पु¥याउनुपर्नेमा जोड दिए। कृषि मन्त्रालयका प्रवक्ता एवं परियोजनाका सम्पर्क व्यक्ति धनबहादुर कठायत र तालिम विज्ञ मधुसुदन पौडेलले कर्णालीको जुम्ला, मुगु, दैलेख र सुर्खेतका १० प्राङ्गारिक कृषि पाठशालाको सञ्चालन प्रक्रिया, परम्परागत र जैविक कृषिबीचको तुलनात्मक काम, परियोजनाको उपलब्धि तथा सिकाइ र त्यसको भावी कार्यदिशासहितको कार्यपत्र प्रस्तुत गरे । कृषि सचिव डा लेखराज दाहालले छ लाख जनसङ्ख्या भएको सिक्किमले १९ लाख पर्यटक भित्र्याउन सक्षम भएझैँ कर्णालीले पनि कृषि पर्यटन (एग्रो–टुरिज्म)मा जोड दिनुपर्ने बताए । उक्त गोष्ठीमा किसान, विकास साझेदार निकायका प्रतिनिधि, प्राङ्गारिक कृषि खेतीका सरोकारवाला तथा पत्रकार सञ्चारकर्मीको सहभागितो थियो । रासस

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा १० जना विद्यार्थीको लागि छात्रवृत्ति प्रदान

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले छात्रवृत्ति प्रदान गरेको छ । इन्स्योरेन्सले विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गरेको हो इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी वार्षिक १२ हजार रुपैयाँको दरले १ लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा उक्त छात्रवृत्ति प्रदान गरेको हो । उक्त कार्यक्रममा १ घण्टासम्म स्व राणाको जीवनी, उनले देशलाई पुर्याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरे । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

ऋण तिर्न नसकेर लिलामीमा पुगेको तारागाउँ यसरी बन्यो लगानीकर्ताको रोजाइको कम्पनी

कम्पनी सञ्चालनमा आएको २० वर्ष मात्रै भयो । सन् २००२ सालदेखि मात्रै कम्पनी पूर्णरुपमा सञ्चालनमा आएको हो । पहिला–पहिला कम्पनी स्थापना गर्दा समूहमा लगानी गर्ने चलन थियो । २० वर्षको दौरानमा धेरै नियम कानुनहरु परिवर्तन भए । नियम कानुनहरु परिवर्तन हुँदै जाँदा कम्पनीले दुईचार वटा कुरा मात्रै बाँकी रहेका छन् । त्यो समयमा ४ वटा समूह कम्पनी संस्थापन भएको हो । नियमावली र प्रबन्धपत्रमा व्यवस्था भए बमोजिम लगानीकर्ता तारागाउँ विकास समितिलाई ‘क’ वर्गको समूहमा राखिएको थियो । त्यस्तै, संस्थापक समूह भनेर विदेशी लगानी र स्थानीय लगानीकर्तालाई ‘ख’ वर्गमा राखिएको थियो । सर्वसाधारण लगानीकर्तालाई ‘ग’ वर्गमा राखिएको थियो । विदेशी र स्थानीय संस्थागत लगानीकर्तालाई ‘घ’ वर्गमा राखिएको थियो । कम्पनीमा एशियाली विकास बैंक, कोरिया डेभलपमेन्ट बैंक लगायतका संस्थाले लगानी गरेका थिए । त्यही अनुसार वर्ग छुट्याएको थियो । त्यही वर्गबाट सञ्चालक समिति गठन हुँदै आएको छ । यो प्रक्रिया निरन्तर चल्दै आएको छ । प्रबन्धपत्र र नियमावलीमा ‘क’, ‘ख’ र ‘घ’ वर्गले आफ्नो सेयरको अनुपातमा सञ्चालक समिति सदस्यमा मनोनित गर्ने व्यवस्था रहेको छ । ‘ग’ वर्गको सर्वसाधारण लगानीकर्ता समूहको भने निर्वाचानको माध्यमबाट एक जना सदस्य छनोट गर्ने व्यवस्था छ । यो व्यवस्था आजसम्म पनि कायम छ । यो होटल बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी जस्तो होईन । यसमा संस्थापक सेयरधनीहरुको सेयर पनि १ सय प्रतिशत सूचीकृत छ । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै सेयरधनीहरुले दोस्रो बजारमा खुला रुपमा कारोबार गर्न सक्छन् । यसलाई वर्गका रुपमा छुट्याउनु हुँदैन र सञ्चालक समिति निर्वाचनको माध्यमबाट हुनुपर्छ भन्ने माग पनि जायज हो । तर, सञ्चालक समितिमा सदस्य मनोनित गरेर कुनै पनि गोप्य योजना बनाइएको छैन । कम्पनीको कानुनमा पर्पर सेयर होल्डीङ अनुसार सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था छ । जुन–जुन समूहको आफ्नो सेयर छ उनीहरुले अहिलेसम्म मनोनितका आधारमा सञ्चालक समितिमा सदस्य पठाउने गरेका छन् । ९ जना संस्थापक सेयरधनीहरु र २ जना स्वतन्त्र सेयरधनीहरुले सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । ७ जनाको सञ्चालक समितिमा ६ जना संस्थापक र १ जना स्वतन्त्र सेयरधनीहरु हुन्छन् । लगानीकर्ताबाटै ७ जना वा ७ भन्दा बढी सञ्चालक छन् भने २ जना स्वतन्त्र सञ्चालक राख्नुपर्ने व्यवस्था छ । विविन्न वित्तीय संस्थाहरु, समूह, संस्थाहरुको लगानी भएको हुँदा आआफ्नो अनुपातमा मनोनयन गर्दै आएका छन् । सञ्चालक समितिमा ९ जना सदस्य राख्नै पर्ने बाध्यता छ । किनभने उनीहरुले आफ्नो हक दावी गर्छन् । जसको १० प्रतिशत भन्दा माथि सेयर स्वामित्व छ उनीहरुले आफ्नो दावी गर्छन् । यदि सञ्चालक समिति परिवर्तन गर्नुपर्ने नै हो भने छलफलका माध्यमबाट समाधान गर्न हामी तयार छौं । यस विषयमा धितोपत्र बोर्डमा जानुपर्छ भनेपनि तयार छौं । कानुनले दिएको निर्देशन अनुसार नै अगाडि बढेको हो । यदि कुनै विषयमा त्रुटि भए समाधान गर्न कम्पनी तयार छ । लाभांश वितरणमा कम्पनीको रणनीति  कुनै पनि कम्पनीले आ–आफ्नो रणनीति अनुसार लाभांश वितरण गर्छन् । लाभांश वितरण गर्दा एउटा उद्देश्य लिएको हुन्छ । कम्पनीको पुँजी सानो र भ्यालु बढाउँदै जाने पनि हुन्छ । कम्पनीको पुँजी सानो रहोस् र लाभांश दर बढोस् भन्ने नीति कम्पनीले लिएको हुन सक्छ । डिभिडेण्ड स्टकबाट लाभांश दिएर कम्पनीमा नै लगानी गराउने एउटा नीति हुनसक्छ । अर्काे रणनीति बोनस वा नगद कुनै पनि लाभांश नदिएर रिटेर्न अर्निङ राख्न सकिन्छ । त्यही रिटेर्न अर्निङलाई फर्दर लगानी गर्दै थप प्रतिफल श्रृजना गर्न पनि सकिन्छ । यो नीति समय र आवश्यकता अनुसार परिवर्तन हुन्छन् । अब अर्काे वर्ष सेयरधनीहरुले अपेक्षा गरे अनुसारको प्रतिफल पुरा गर्ने हाम्रो अठोट रहन्छ । नगद लाभांशको पनि कुनै हदसम्म महत्व छ । नगद लाभांशलाई ब्यालेन्सको रुपमा वितरण गरिएको हो । आगामी वर्ष पूर्ण बोनस सेयरबाटै वितरण गर्ने विषयमा हामी कम्पनीले विचार गर्नेछ । पर्यटन क्षेत्रका लागि स्वर्ण युग  नेपालमा सन् १९९० को दशकमा पर्यटन व्यवसाय असाध्यै चम्केको थियो । त्यो बेलामा होटलहरु १५० प्रतिशतसम्म बुकिङ हुन्थे । १ सय प्रतिशत मान्छेहरु अकुपेन्सी हुन्थे । होटल सञ्चालक वा व्यवसायीहरुले सँगसँगैको घरहरु पनि भाडामा लिने गरेका थिए । होटलहरुमा ओभर बुकिङ हुुँने भएकाले नजिकैको घर पनि भाडामा लिन्थे । त्यही अवधारणा देखेर यो होटल सञ्चालनमा ल्याएको हो । सन् १९८६ देखि सन् १९९४ सम्म पर्यटनका लागि स्वर्ण युग पनि भनिन्छ । नेपाल सरकार तारागाउँ विकास समितिले होटल प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय टेण्डरमा टप विजनेश हाउसहरु लगायत सबैले आवेदन दिएका थिए । जसमा हामीले दिएको आवेदन सबैभन्दा उत्कृष्ट भएकाले छनोट पनि भयो । सोही अनुसार सन् १९९२/९३ मा एमओयू सम्झौता भयो । सन् १९९४ मा पूर्णरुपमा ज्वाइन्ट भेञ्चर सम्झौता भयो । सोही वर्ष कम्पनी पनि गठन गरियो । कम्पनी गठन भएपछि २/३ वर्ष डिजाइन गर्न समय लाग्यो । ठूलो प्रोजेक्ट भएका कारण ६ वर्षजति निर्माण सम्पन्न हुन लाग्यो । कोरियन सरकारको लगानीमा सञ्चालित कोरियन विकास बैंकको लगानीमा वृहत आयोजनाका होटल अगाडि बढेको थियो । तर, अचानक राजनीतिक दन्द्धकाल सुरु भयो । सन् १९९६ मा माओवादी पार्टी भूमिगत भयो । सन् १९९६ देखि २००६ सम्म १० वर्षे जनयुद्धमा धेरै प्रकारका कष्ट खेप्नु पर्याे । हामीले धेरै ठूलो चुनौति सामना गरेर अगाडि बढ्यौं । जनयुद्धकालमा हाम्रो कम्पनीका धेरै जना प्रोजेक्ट म्यानेजरलाई मर्ने गरी कुटेर हस्पिटलाइज हुनुभयो  । हामीले ५०/६० कोठाहरुबाट होटल सुरुवात गरिएको थियो । कर्जा तिर्न नसक्दा निर्माण ढिला हुन पुग्यो । झनै विदेशी कर्जा थियो । ५० रुपैयाँमा लिएको कर्जा ८० रुपैयाँ तिरेका थियौं । यी सबै दुखहरु सहेर हामीले निर्माण सम्पन्न गर्याैं । सन् २००६ मा दन्द्धकालिन समय अन्त्य भएर माओवादी खुला राजनीतिमा आएपछि मात्रै शान्त भएको हो । सन् २००३ मा बैंकहरुले कम्पनीलाई लिलाम गर्ने अवस्थमा पुगेको थियो । अन्य धेरै होटलहरु धरासयी भए । सन् १९९६ देखि सन् २००६ सम्म होटलहरुले नाफा कमाउन सकेनन भने कतिपय एक्सपान्स गर्न नसकेर धरासयी भए । धेरै ब्यापार व्यवसायहरु हराएका थिए । पर्यटन संवेदनशील क्षेत्र मानिन्छ । पर्यटनसहति धेरै उद्योगहरु धरासयी भएका थिए । त्योभन्दा अगाडि प्रशस्त नाफा कमाइरहेका कम्पनीहरु पनि बन्द भए । ब्याज र ऋणको भार पनि नभएका कम्पनी पनि धरासयी भए । हाम्रो अवस्था झनै दयनीय भएको थियो । सञ्चालक, कार्यकारी सञ्चालकको अथक प्रयास र बैंकहरुको प्रयासले कम्पनी धरासयी हुनबबाट जोगियो । एशियन डेभलपमेन्ट बैंक (एडिबि)ले खर्बाै रुपैयाँ नेपालको विकासमा लगानी गरेको छ । उनीहरुले नेपालमा पर्यटन क्षेत्र विकास गर्नुपर्छ र पर्यटन क्षेत्रमा आइकनीक र राष्ट्रिय उद्योगका रुपमा होटल बन्नु पर्छ भनेर लगानी गरे । एडिबिले हाम्रो क्षमतालाई विश्वास गरेर लगानी गर्याे । एकदमै गाह्रो समयमा सहयोग गरेर लिलामबाट बचाइदियो । स्थानीय बैंकहरुले हामीलाई कालोसूचीमा राखेका थिए । ब्याजदर त धेरै माथि थियो । अहिलेको अवस्था पनि त्यही बेलाको जस्तै चलेको छ । उच्च ब्याजदर हुँदा सबै आतंकित भएका छन् । धेरैको ब्यापार खत्तम भएको छ । हामीले ऋणलाई इक्विटीमा कन्भर्ट गरायौं । ऋणलाई ऋणको रुपमा राखेको भए ब्याजको स्याजले खत्तम भइसकेको हुन्थ्यौं । विकास समितिको पनि ठूलो सहयोग रहेको छ । त्यतिबेलाका विादहरुमा केही विवाद अहिले पनि कायम छन् । ठूलो संकटबाट पार भएपछि सन् २००७ सालदेखि भने कम्पनीले वर्षेनी नाफा कमाउन थालेको छ । सन् २००७ देखि वर्षेनी नाफा कमाउन थालेको भएपनि लाभांश दिने अवस्था भने थिएन । ब्याज, सञ्चालन खर्च, अन्तर्राष्ट्रिय होटल भएको हुनाले खर्च पनि धेरै थियो । निरन्तर नाफा कमाउँदै आएपछि सन् २०१३ सालमा सबै कर्जा चुक्ता गर्याैं । कम्पनीको १ सय प्रतिशत कर्जा सेटल भयो । कम्पनीले सन् २०१४ देखि मात्रै सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको हो । अन्तर्राष्ट्रिय स्ट्याण्डर्डमा सञ्चाललित यो पहिलो होटल हो । नेपालको अरु कुनै पनि होटलले त्यो किसिमको स्ट्याण्डर्ड पच्छ्याएको छैनन् । अहिले अन्य होटलहरुले राम्रो गरिरहेका छन् । हामीले गर्न नसकेको पक्कै हो । हामीले राम्रो प्रगति गर्न चाहेको र कोसिस पनि गरेका छौं । सन् २०१३ सम्म कर्जा तिर्न बाँकी भएकाले त्यो भन्दा अगाडि नयाँ प्रोजेक्ट सञ्चालन गर्न पाइएन । हामीसँग गज्जबका आइडियाहरु छन् । कर्जा सेटल भएपछि सन् २०१४ देखि नयाँ एक्सपान्सनमा लाग्ने तयारी थियो । सन् २०१५ मा भूकम्प गएपछि ३ वटा प्रोजेक्ट पुरा गर्न सकिएन । कूल जग्गा जति छ त्यसको ५० प्रतिशत कम्पनी तारागाउँको सम्पत्तिको नाममा दर्ता छ । कम्पनीले ४९ वर्षको लागि जग्गा लिजमा लिएको हो । सन् १९९४ मा नै सम्झौता भएको थियो । दन्द्धकालमा कुनै पनि नयाँ योजना निर्माण गन सकिएन । बीचमा नयाँ योजना बनाएपछि भुकम्प गएपछि रोकिए । तीन वटा योजनामा ठूलो प्रदर्शनी र सम्मेलन केन्द्र बनाउने थियो । नेपालमा जसको अभाव थियो । पर्यटन मात्रै नभएर अन्य उद्योगहरुका लागि पनि अनिवार्य आवश्यक थियो । नेपालले आफ्नो प्रडक्ट पर्दशनी गर्ने, बाहिरको प्रविधि प्रदर्शनी गराउने उद्देश्य थियो । ठूलठूला सभा गर्ने गरी १ लाख वर्ग फिटमा उक्त प्रदर्शनी स्थल र सम्मेलन केन्द्र बनाउने योजना थियो । जसको नक्सा पनि तयार भइसकेको थियो । त्यस्तै, तारागाउँ बजार भनेर १ लाख वर्गफिट बढी जग्गामा भवन बनाउने योजना थियो । जुन पाटन दरवार स्क्वायर जस्तै ठूलो र अर्गानकि दरवार बनाउने योजना थियो । त्यहाँ विभिन्न किसिमको अवसरहरु नयाँ विजनेश, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्चालन गर्न सकिने गरी योजना थियो । यस्तै, तेस्रो योजना अन्तर्गत विजनेश होटल थियो । हाम्रो लक्जरी होटल भयो । विजनेशको लागि मात्रै सञ्चालन गर्ने गरी विजनेश होटलको योजना बनाएको थियो । किनभने प्रदर्शनी तथा सम्मेलन केन्द्र, तारागाउँ बजारलाई कम्पिलीमेन्ट्री गर्न विजनेश होटल आवश्यक हुन्छ । तर, भुकम्पका कारण पछाडि धकेलियो । यसको लागि तारागाउँ विकास समितिसँग पनि छलफल गरिरहेका थियौं । तर, बीचमा अखवारबाजी हुँदा अनावश्यक लान्छनाको भिक्टिम पनि भइयो । अखबारवाजीको भिक्टिम भएका कारण पनि धक्का पुग्यो । यसमा विभिन्न किसिमको अनुसन्धान पनि भए । अख्तियारले पनि अनुसन्धान गर्याे । अख्तियारले सबै काम १ सय प्रतिशत कानुन बमोजिम भएको छ भन्यो । अख्तियारले कानुनको दफा दफा केलायर स्पष्ट पारिदियो । ४९ वर्षको अवधिका लागि लिएको थियौ । २९ वर्ष सम्पन्न भइसकेको छ । अब २१ वर्षमा जे जति बनाउन सकिन्छ, त्यो सबै तयार छ । दुईचार वटा कुरा पुरा हुने बित्तीकै सबै सुरु हुन्छ । यी प्रोजेक्ट पुराभए पछि सेयरधनीहरुको आम्दानीमा उल्लेख्य वृद्धि हुन्छ । तारागाउँ विकास समिति, सरकार, सेयरधनीहरुका लागि अति आवश्यक नयाँ–नयाँ एक्सपान्स वा एभिन्यूज गर्न खोजेका छौं । कम्पनीले प्रशस्त मेहनत, पैसा लगायत सबै स्रोत तयार गरिसकेको छ । अहिले जति नाफा गरिरहेका छौं, नयाँ प्रोजेक्ट निर्माण भएपछि नाफामा तेब्बर बढ्छ । यी प्रोजेक्टहरु सम्पन्न भएपछि प्रादेशीक रुपा पनि काम गर्ने योजना छन् । (श्रेष्ठ तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका कार्यकारी सञ्चालक हुन् ।)

ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन

काठमाडौं । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए । उनका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उनकी आमा घाइते भएकी थिइन् । आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । डा भण्डारीको उपचार जारी छ ।