विकासन्युज

समृद्धि फाइनान्सका ग्राहकलाई गौतम बुद्ध पोलिक्लिनिक र दूध डेरी खरेन्द्रपुरमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले मंगलबार कपिलवस्तुको खरेन्द्रपुरस्थित गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा दूध डेरीसँग छुट सम्झौता गरेको छ । समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले २०८० मंसिर १९ गतेदेखि २०८१ मंसिर १८ गतेसम्म समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा क्यूआर प्रयोग गरी समझदारी भएका पोलिक्लिनिक तथा डेरीमा वस्तु तथा सेवाको उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउनेछन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे, गौतम बुद्ध पोलिक्लिनिकका तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दूध डेरीका तर्फबाट सीतादेवी खासुले हस्ताक्षर गरेका छन् । फाइनान्सका ग्राहकले गौतम बुद्ध पोलिक्लिनिकमा नियमित ओपीडी चार्जमा १०० प्रतिशत छुट, वेड चार्ज, एक्सरे चार्ज र ल्याब चार्जमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसका साथै हाम्रो केक तथा दूध डेरीमा सबै किसिमका बेकरी प्रडक्टमा समृद्धि फाइनान्सका ग्राहकले ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

न्यूरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

काठमाडौं । राजधानीको न्यूरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, ‘बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पु¥याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ ।’ प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको थियो । सो सुन कारोवारमा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल काठमाडौँ नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ । रासस

औषधि पसललाई मापदण्डभित्र आउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत सञ्चालमा रहेको जनाउँदै ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ । कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो । विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको ‘प्रेस्किप्सन’ बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले आगामी दश दिनभित्रमा सबै औषधिपसललाई मापदण्डमा आउन निर्देशन गरिएको छ ।’ तोकिएको समयसीमापछि पनि ‘यस्ता लापरबाही देखिए, भेटिए वा सुधारको सङ्केत देखिएन भने गलत गर्नेलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको कारबाही गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए । विभागले औषधि पसलको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटी देखिएका छन् । स्वास्थ्य विभागका प्रमुख पौडेल भने, ‘अभिलेख नराख्ने, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिने, गुड फार्मेसी प्राक्टिस (जिपिपी) अनुसार औषधि पसल व्यवस्थापन नगर्ने आम समस्या हुन् ।’ औषधि खरिद गर्दा कुनै किसिमको समस्या परे कामपा स्वाथ्य विभागमा उजुरी गर्न वा टोल फ्री नं १६६००१०५५११ मा सम्पर्क गर्न पनि कामपाले आग्रह गरेको छ । तोकिएको समयपछि कामपा जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन गर्ने विभागको योजना छ । पौडेलका अनुसार प्रचलित व्यवस्थाअनुसार अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ । प्रचलित कानुनको व्यवस्था विपरित नार्कोटिक औषधि बिक्री वितरण हुने गरेकोसमेत अनुगमनबाट देखिएको कामपाको भनाइ छ । विभागका प्रमुख पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालनमा छन् । यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन् । जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसबिनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेको थाहा पाएपछि अनुगमन गरिएको बताइएको छ । कामपाले औषधि पसल सञ्चालन कार्यविधि तयार गरेको र सोहीअनुसार अनुगमन गरी कारबाहीको दायरामा ल्याउने बताइएको छ । औषधि पसल सञ्चालन हुनका लागि पहलो कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानुनी मान्यता छ । रासस

प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरुद्ध कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन शुरु गरेका छन् । बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन शुरु गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउण्ड ह्याण्डलिङ खुला वायुसेवा निगमले नै पाउनुपर्ने माग राखेका हुन् । झन्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् । उनीहरुले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने बताएका छन् । युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधबारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरुले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचिबाट नहटेको आरोप लगाउँदै ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणका डिजीले गरेको निर्णय विरुद्ध आन्दोलन शुरुवात गरिएको बताए । उनले हवाई माफियाहरुको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न खोजिएको जानकारी दिए । प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ सम्बन्धि गरेको निर्णय प्राधिकरण र राष्ट्रको हितमा नभएको बताए । निगमले ग्राउण्ड ह्याण्डलिङबाट वार्षिक ४ अर्ब रुपैयाँ आर्जन गर्दै आएको बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवालाई लक्षित गरेर आक्रमण गरेको उनको भनाइ छ । कर्मचारीहरुले ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णयविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् । उनीहरुले निगम र निगमका कर्मचारीहरुको हितको लागि भएपनि प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ निगमलाई नै दिनुपर्ने बताएका छन् । कर्मचारीहरुले ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर, नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्टक्यानको डिजी राजिनामा दे लगायतका नारा समेत लगाएका छन् ।

आधार दर एकल अंकमा झरिसक्यो, ब्याजदर थप घट्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको आधार दर एकल अंकमा झरेको बताएका छन् । बुधबार अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले सो बताएका हुन् । ‘अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरुको औसत आधारदर १०.३४ प्रतिशत रहेकोमा २०८० असोजमा एक अंक अर्थात ९.९४ प्रतिशत झरेको छ,’ उनले भने । त्यस्तै, उनले कर्जाको ब्याजदर थप घट्ने समेत बताएका छन् । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा विवरण पेश गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर थप घटाउँदै लगेको हुँदा कर्जाको ब्याजदर पनि घट्ने बताएका हुन् । २०७९ माघमा वाणिज्य बैंकहरुको भारित औसत कर्जाको ब्याजदर १३.०३ प्रतिशत पुगेकोमा २०८० असोजमा १२.१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जानकारी गराएको छ । त्यस्तै, गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । यसले मौद्रिक विस्तार उच्चदरले बढेको देखिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर थप घटेर २०८० मंसिर १८ गते २.६२ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ असोजमा ८.७१ प्रतिशत रहेकोमा २०८० असोजमा २.२६ प्रतिशत छ । यस्तो अन्तर बैंक ब्याजदर थप घटेर २०८० मंसिर १८ गते १.०१ प्रतिशत कायम भएको छ । यस्तो छ राष्ट्र बैंकले अर्थ समितिमा पेश गरेको पछिल्लो तथ्यांक

ग्रामीण क्षेत्रका बासिन्दाका घरमा गएर सेवा दिन बीमा कम्पनीलाई अध्यक्ष सिलावालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर १९ गते रूपन्देही जिल्लाको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी समयसामयिक विषयमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । अध्यक्ष सिलवालले स्थानीय तहसँग नियमित रूपमा सम्पर्कमा रही काम गर्न, कानून, नियम र निर्देशिकाले निषेध गरेका कार्य नगर्न र नागरिकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिए । साथै, उनले ग्रामीण क्षेत्रका बासिन्दाका घर घरमा गएर बीमा सेवा दिन, डिजिटल माध्यमबाट व्यवसाय गर्न र स्थानीय आवश्यकताका आधारमा लघुबीमालेख ल्याउन लघु बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा सहभागीहरूले बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू वडा वडामा समेत गर्नुपर्ने, विद्यालयका पाठ्क्रममा बीमा विषयलाई समेत समावेश गर्नुपर्ने, घर निर्माण गर्दा नै बीमा गर्ने व्यवस्था गर्नुपर्ने, कृषि प्राविधिकको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रदेश कार्यालय प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

ढोरपाटन । बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि बसपार्क कहिले सञ्चालनमा आउँछ भन्ने पत्तो छैन । नगर विकास कोषबाट करोडौँ ऋण लिएर बसपार्क निर्माण गरिएको थियो । अहिलेसम्म उक्त ऋण चुत्ता भइसकेको छैन । नगरपालिकाले हरेक वर्ष करिब रु ६० लाख भुक्तानी गर्दै आएको छ । निर्माणसम्पन्न भएको बसपार्क वर्षौंसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । बसपार्क सञ्चालनमा नआउँदा एकातिर बजारमा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छभने अर्कोतिर बसपार्क प्रयोगबिना नै भत्किने जोखिम बढेको छ । पाँच वर्षअगाडि ठेक्कामा गएको बसपार्क विसं २०७८ मा निर्माण सम्पन्न भएको थियो । पाँच दशमलव पाँच प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्ने गरी नगर विकास कोषले विसं २०७४ मा रु नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो । दुई वर्षअगाडि निर्माण भएको बसपार्कको अहिले पार्किङस्थलको कालोपत्र उप्कन थालेको छ । उपल्लाचौरमा निर्मित बसपार्क पहुँच मार्ग नबनेका कारण सञ्चालनमा ढिलाइ भइरहेकोे छ । बसपार्क जोड्न एक सय मिटर सडक बनाउनुपर्दछ । बसपार्क सञ्चालनमा आए सटर भाडामा दिएर राम्रो आम्दानी गर्न सकिने भए पनि दुई वर्षदेखि सञ्चालनमा नआउँदा नगरपालिकाले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ । सुरुको लागत रकम रु सात करोड ६६ लाख ९९ हजार ७४ रहे पनि पहिलो ‘भेरियसन’बाट रु एक करोड १३ लाख ६० हजार पाँच सय २० थप भएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै रु आठ करोड ८० लाख ६४ हजार एक सय ९८ को बिल पेस गरेको थियो । कम्पनीले स्वीकृत गरिएको भन्दा रु ४० लाख ७० हजार नौ सय ७४ बिल भुक्तानी गरेको भए पनि बागलुङ नगरपालिकाले हालसम्म रु आठ करोड ८३ लाख एक हजार नौ सय ९४ भुक्तानी गरिसकेको छ । नगर विकाष कोषबाट लिएको ऋण र नगरपालिकाको आफ्नै स्रोतबाट गरी सो रकम भुक्तानी गरिएको छ । नगरपालिकाले नगर विकाष कोषलाई अझै रु छ करोड ४३ लाख सात हजार तीन सय १५ भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । बसपार्क सञ्चालनका लागि प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बताए । स्थानीय र जग्गादातासँग सहमति जुटाएर पहुँचमार्ग व्यवस्थित गरी सञ्चालन गरिने उनको भनाइ छ । बसपार्क निर्माणका लागि स्थानीय २२ परिवारले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । विसं २०५७ देखि बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न थालिएको थियो । बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माणको काम पनि बाँकी नै छ । जग्गा व्यवस्थापन तथा विकास समितिसँग भएको सम्झौताअनुसार नगरपालिकाले ती पूर्वाधार बनाई दिनुपर्ने समितिका अध्यक्ष सुभासचन्द्र राजभण्डारीले बताए । नागरपालिकाले आफूहरुसँग गरेको १२ बुँदे समझदारीलाई पालिकाले कार्यान्वयन गर्नुपर्ने उनी बताउँछन् । बसपार्कमा ५० ठूला बस र १० साना बस अट्ने क्षमता छ । सो बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, टिकट कक्षलगायत संरचना बनाइएको छ । रासस

प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल

काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ । प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि सङ्घमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध निर्वाचित गरेको छ । निर्वाचित समितिमा अध्यक्ष पोखरेलसहित उपाध्यक्ष धन बहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रूचिमा लोप्चन् निर्वाचित भएका छन् । सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले बैङ्कको उन्नति तथा प्रगतिमा कर्मचारीहरूको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गरे ।