विकासन्युज

सेयर बजारमा डबल सर्किट, फेरी ४० मिनेटको लागि बन्द

काठमाडौं । सेयर बजारमा डबल सर्किट लागेको छ । आइतबार सेयर बजार खुलेको ५ मिनेटमा नै सर्किट लागेर २० मिनेट बन्द भएर खुलेको थियो । पुनः खुलेको केही मिनेटमा फेरी दोस्रो सर्किटमा ५ प्रतिशत बढेपछि फेरी ४० मिनेट बन्द भएको हो । दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् ९२.७३ अंकले बढेर १९४५.५१ अंकमा पुगेको हो । यस्तै, २२३ कम्पनीको सेयर खरिद बिक्री हुँदा २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पहिलो सर्किटमा बजार नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७४.२० अंक बढेर १९२६ अंकमा पुगेको थियो ।

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, ४ प्रतिशत बढेपछि २० मिनेट बन्द

काठमाडौं । आइतबार सेयर बजार खुलेको ५ मिनेटमा नै उछाल आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षामा सेयर बजारमैत्री व्यवस्था गरेपछि सेयर बजार ह्वात्तै बढेको हो । बजार खुलेको केही मिनेटमा नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको छ । नेप्सेका अनुसार नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७४.२० अंक बढेर १९२६ अंकमा पुगेको हो । साथै, सेयर बजारमा ५ मिनेटमा नै ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बन्द भएको हो । नेप्सेका अनुसार १९२ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, यसअवधिमा २०१ कम्पनीको ४ लाख ७७ हजार २३१ कित्ता सेयर खरिद बिक्री हुँदा १६ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइसिएफसि फाइनान्सले घोषणा गर्याे लाभांश, यस्तो छ इतिहास

काठमाडौं । आइसिएफसि फाइनान्सले हालसम्म कै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । फाइनान्सले यसअघि आर्थिक वर्ष २०७८/७९मा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १०.५ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एकैदिन तोलाको १३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घटेर प्रतितोला १ लाख १७ हजार ५ सय रपैयाँमा कारोबार भइरअ‍ेको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

राष्ट्र बैंकले कडाई गरेपनि साना किसान लघुवित्तले घोषणा गर्याे २० प्रतिशत लाभांश

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाईका बावजुत पनि साना किसान विकास लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाई गरेको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले गरेको छ । यस्तै, १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोष र १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नु पर्ने व्यवस्था छ । लाभांशमा कडाई गरेको भएपनि साना किसान लघुवित्तले भने २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

सङ्घीयता कार्यान्वयनका लागि सङ्घीय कानुन निर्माणमा पहल गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले सङ्घीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताए । ‘सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ । यसका लागि समेत तपाईँ–हाम्रो संयुक्त पहल जरूरी छ’, प्रधानमन्त्री दाहालले भने । उनले सङ्घर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे । उनले भने, ‘सङ्घीयताका निम्ति सबैभन्दा बढी लडेको माओवादी पार्टी नै हो । सङ्घीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ । सङ्घीय कानुन समयमै निर्माण गर्न निरन्तर पहल गरिरहेको छु ।’ प्रधानमन्त्री दाहालले आ–आफ्नो पार्टीमा पनि सङ्घीयता कार्यान्वयनका लागि पहल बढाउन आग्रह गरे । छलफलमा मधेस सरकारका प्रतिनिधिले संविधानमा व्यवस्थाबमोजिमका सङ्घीय कानुन निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । छलफलमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई आग्रह गरिएकामा सो अवधि पूरा भएकाले सङ्घर्षमा जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताएका थिए ।

चिलिमे जलविद्युतको लाभांश घोषणा, ३ वर्षदेखि निरन्तर १५ प्रतिशत बाँड्दै

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर १५ प्रतिशतका दरले लाभांश वितरण गर्दै आएको छ ।

त्रिभुवन विमानस्थलबाट फेरि समातियो साढे ६ किलो सुन

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित विदेशी नागरिक पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिक सुनसहित पक्राउ परेका हुन् । बरामद सुन अर्धठोस अवस्थामा रहेको र उनीहरूले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएको प्रहरीले जनाएको छ । गएराति चेकजाँचको क्रममा उनीहरूलाई राति १२ः४५ बजे पक्राउ गरिएकाे थियाे ।