विकासन्युज

ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ । पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ । रासस

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

जापान । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखवरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ । रासस

घलेगाउँका घरबास पर्यटकले खचाखच, सञ्चालकलाई भ्याइनभ्याई

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन् । अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन् ।’ तीन सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले बताए । घरबास सञ्चालक हेमकुमारी गुरुङकाका अुनसार अहिले घलेगाउँका घरबास सञ्चालकलाई भ्याइनभ्याई छ । उनले पर्यटक आउने अहिलेको याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका जानकारी दिए । विसं २०५७ देखि सञ्चालनमा भएको घरबास यहाँ बढेर अहिले ४२ घरबास पुगेको छ । पर्यटकको सत्कारसँगसँगै घरबासमा आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन् । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँँबाट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमाल, सात हजार आठ सय ३५ को ङादीचुली ९डा हर्क हिमाल०, सात हजार नौ ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल ९चौथो०लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् । आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गरी गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा चढाइन्छ । विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा नै हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । रासस

शुभम पावरलाई साधारण सभा गर्न समस्या, समय थप्न माग

काठमाडौं । शुभम पावरलाई वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असारमा २ गते आएको बाढीले कम्पनीले सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो । उक्त बाढीले क्षति पुर्याएको र सोको पुनः निमार्ण कार्य तीव्र गतिमा भइ रहेको तथा बीमा दावीको टुङ्गो लागि नसकेकोले कम्पनीले म्याद थप गरिदिन माग गरेको छ । कम्पनीले आगामी ३ महिना थप गर्नको लागि स्वीकृति दिन कम्पनी रजिष्ट्रार कार्यालयसँग अनुरोध गरेको छ । कम्पनी ऐन अनुसार कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र अर्थात पुस मसान्तभित्र गरी सक्नुपर्ने छ ।

मञ्जुश्री फाईनान्सको सीईओमा तिमिल्सिना नियुक्त

काठमाडौं । मञ्जुश्री फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको हो । सीईओ तिमिल्सिनाले पुस १६ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।

खाली हुँदै नेपालका कलेज, सञ्चालक भन्छन्- गाह्रो भयो

काठमाडौं । कुनै समय विद्यार्थीको संख्या पुरा भई विद्यार्थी भर्ना लिन नसक्ने सूचना निकाल्नुपर्ने नेपालका कलेजहरूलाई आजभोलि विद्यार्थी पाउनै मुस्किल पर्न थालेको छ । प्लसटुसम्म सजिलै विद्यार्थी पाइने भए पनि स्नातक तह (ब्याचलर्स लेबल) मा अहिले विद्यार्थी पाउनै सकस भएको हो । काठमाडौंको मूख्य केन्द्र बागबजारमा रहेको काठमाडौं मोडेल कलेजले पनि स्नातक तहमा पूर्ण विद्यार्थी पाउन सकेको छैन । स्नातकका लागि कुल २५० विद्यार्थीको भर्ना लिने योजना बनाएको उक्त कलेजमा अहिलेसम्म करिब २ सय जनामात्र विद्यार्थी भर्ना भएका छन् । कुनै बेला भर्नाका लागि आएका विद्यार्थीलाई फर्काउनुपर्ने अवस्था स्मरण गर्दै किलेजका प्राचार्य सुरेन्द्र सुवेदी भन्छन्, ‘ब्याचलर्समा विद्यार्थी पाउन गाह्रो भइसक्यो,’ उनले भने, ‘अहिले भर्ना भएका विद्यार्थी पनि कोर्स पूरा हुञ्जेलसम्म बस्ने ग्यारेन्टी नै छैन । यस्तै हो भने कलेजको अवस्था गाह्रो हुने भइसक्यो ।’ कलेजको समेस्टर प्रणालीको कोटामा अहिले पनि भर्नाक्रम चलिरहेकाले कोटा पूरा हुन्छ हुँदैन भन्न सकिने अवस्था नरहेको सुवेदी बताउँछन् । बीबीएम, बीबीएस, बीबीएलगायतका फ्याकल्टीमा प्रक्षेपण गरे जति विद्यार्थी नपाएको कलेजले जनाएको छ । ‘कलेजका हिसाबले, लोकेसनका हिसाबले पायक पर्ने कलेज, नेपाल सरकारले नेपालका निजी कलेजमध्ये सर्वोत्कृष्ट कलेजका रूपमा अवार्ड दिएका कलेजको अवस्था यस्तो छ भने अरु कलेजकोे अवस्था के होला ?,’ सुवेदीले भने । पछिल्लो समय नामै चलेका कलेजहरूलाई समेत विद्यार्थी पाउन गाह्रो परेको छ । काठमाडौँको पुतली सडकमा रहेको हिमालयन ह्वाइट हाउस कलेजका प्राचार्य तोयनारायण पौडेल पनि विद्यार्थीको संख्या घट्दै गएको बताउँछन् । उनी भन्छन्, ‘पहिले विद्यार्थीको चाप हुन्थ्यो अहिले त्यति विद्यार्थी छैन्न, ब्याचलर्स तहमा पनि विद्यार्थी संख्या ओरोलो लाग्न थालेको छ ।’ काठमाडौँको मध्येबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा टियूको एमबीएस र बीबीएसमा विद्यार्थी न्युन संख्या भएर कार्यक्रम नै बन्द गर्नु पर्ने अवस्था आएको छ । अब कलेजले एमबीए र बीबीएमात्र पढाउने तयारी गरेको कलेजका अध्यक्ष डा. खगेन्द्र ओझाले बताए । ‘एमबीएस र बीबीएस शंकरदेव मिनभवनलगायत धेरै कलेजमा सर्वसुलभ पढाइ हुन्छ,’ उनले भने, ‘हामीकहाँ फिस पनि अलि महंगो भएर हुन सक्छ विद्यार्थी नै नहुने भएपछि यो कार्यक्रम बन्द गर्ने तयारीमा छौँ। बाँकी बीबीए र एमबीएमा अहिलेसम्म विद्यार्थीको संख्या पुगेकै छ ।’ अन्य कलेजमा भने विद्यार्थी पाउन नै समस्या भएको खगेन्द्र बताउँछन् । उनी भन्छन्, ‘म आबद्ध अन्य कलेजमा पनि विद्यार्थीको समस्या छ, अरु कलेजका साथीहरूसँग कुरा गर्दा पनि यही कुरा गर्नुहुन्छ, समग्रमा हेर्ने हो भने ब्याचलर्स तहमा विद्यार्थी पाउन गाह्रो भइसकेको छ ।’ पहिले एमबीएमा भर्नाका लागि सोर्सफोर्स आउँथ्यो । अहिले ६० वटा सिट रहेका थुप्रै कलेजमा ३० जना पनि विद्यार्थी नरहेको सञ्चालकहरू नै बताउँछन् । नेपालमा हरेक वर्ष करिब ३ लाखको हाराहारीमा प्लसटु सकेका विद्यार्थी ब्याचलर्सका लागि तयार हुन्छन् । तर, ति सबै नेपालमा पढ्दैनन् । गत आर्थिक वर्ष २०७९/२०८० मा मात्रै २ लाख ५० हजार विद्यार्थीले प्लसटु पास गरे । सोही वर्ष १ लाख १० हजार २ सय जनाले बााहिर अथवा विदेश पढ्न जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । गएको वर्षलाई मात्र आधार मान्ने हो भने २ लाख ५० हजार विद्यार्थीमा १ लाख १० हजार बढी बाहिर जाँदा करिब डेढ लाख विद्यार्थीमात्र नेपाल रहे । यो वर्ष पनि गएको वर्षकै हाराहारीमा एनओसी लिनेहरू देखिने विज्ञहरू बताउँछन् । एनओसी नलिई भारतमा जाने विद्यार्थीको संख्या छुट्टै छ । मुलूकभरि सामूदायिक, निजी, आंगीक गरी १ हजार ४ सय ५५ कलेज सञ्चालनमा छन् । कलेजको संख्या बढ्दै जानु र विद्यार्थीको संख्या घट्दै जानुले पनि कलेजलाई विद्यार्थी पाउन समस्या भएको हो । काठमाडौँको ग्लोबल कलेजमा ३ हजार विद्यार्थी एक वर्षमा १२ कक्षा पास गर्छन् । तिमध्ये ७२ प्रतिशत बाहिर जाने तयारीमा रहेका छन भने २८ प्रतिशतमात्र नेपालमा रहने भएका छन् । कलेजका अध्यक्ष खगेन्द्र ओझा वर्षेनी यो संख्या बढ्दै जाने बताउँछन् । राेजगारी अभाव पनि कारण पढाइका लागि देश बाहिर जाने सबै विद्यार्थीको एउटै गुनासो छ- ‘नेपालमा बस्ने वातारण नै छैन ।’ विदेशमा पढ्न पनि पाइने, पैसा पनि कमाउन सकिने भएकाले प्लसटुपछि विद्यार्थीको रोजाइ विदेश हुन थालेको छ । अध्यक्ष ओझा भन्छन्, ‘विदेशमा पढ्दै कमाउँदै गर्न मिल्छ । केही पैसा बचाएर नेपाल पठाउन पनि मिल्छ । तर, नेपालमा मास्टर पढदा २० हजारको जागिर गर्छुभन्दा पाइँदैन, आमाबुवाबाटै मागेर पढ्नुपर्ने बाध्यता छ । पढिसकेपछि पनि जागिर पाइन्छ कि पाइँदैन भन्ने एकीन छैन ।’ उनीे पढाइका लागि नेपाली विद्यार्थी बाहिर गएका नभइ बेरोजगारीका कारण बाहिर गएको बताउँछन् । अमेरिका, जापान, अस्टे«ेलिया जाने अधिकांश विद्यार्थी अब नेपाल फर्किन्छन् कि फर्किँदनन् भन्ने समेत आशंका रहेको कलेजका सञ्चालकहरू बताउँछन् । अध्यक्ष ओझा नेपालमा राम्रो वातावरण नहुँदा विद्यार्थी बाहिर जान थालेको बताउँछन् । ‘विद्यार्थी पढ्न गएर उतै बस्ने हो भने भविष्यमा जोखिम आउने छ,’ उनले भने, ‘त्यही बिहे गरेर त्यही बच्चा जन्माउछन्, जसले गर्दा जनसांख्यिक समस्या देखिन्छ । अबको १५-१६ वर्षपछि जनसंख्या नै नहुने सम्भावना छ ।’ खुट्टा लागेपछि मान्छे हिँड्छ कलेजका सञ्चालकहरू विद्यार्थी रोक्ने सरकारले नीति र अवसर दिनुपर्ने बताउँछन् । शिक्षा मन्त्रालयले दिने नो अब्जेक्न लेटरमा कडाइ र राष्ट्र बैंकले डलरमा कडाइ नगरुञ्जेल अवस्था विकारल हुनेछ । तर, समस्या रोजगारीको हो । ओझा थप्छन्, ‘नेपालमा अमेरिका, अस्ट्रेलिया गएर पनि हाम्रा विद्यार्थी पढिरहेका पनि छैनन् । त्यहाँ किन जान्छन् भने त्यहाँ आफै काम गर्न पाउँछन्, जबसम्म युवाहरूलाई सुलभ र गुणस्तरीय रोजगारीको वातावरण बन्दैन त्यहाँसम्म बाहिर जानेक्रम रोकिँदैन । यसलाई जबरजस्ती रोक्न खोज्यो भने झन समस्या निम्तन्छ ।’ तर, शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थी बाहिर जानु स्वभाविक रहेको बताउँछन् । ‘विद्यार्थी फल्दैनन्, जनसंख्या घटेपछि विद्यार्थी घट्नु स्वभाविक हो,’ उनी भन्छन्, ‘विद्यार्थी बाहिरिनु पनि अत्यन्त स्वभाविक हो । किनभने हात खुट्टा लागेपछि मान्छे हिँड्छन् ।’ उनी बाहिर गएका विद्यार्थीलाई हाम्रा विद्यार्थी बनाउने कसरी भन्ने विषमा हाम्रा विश्वविद्यालय र कलेजले ठ्याक्कै नबुझेको बताउँछन् । अहिलेको युग भनेको प्रविधिको युग हो । अब कलेजले विद्यार्थी भएनन्, छैनन् भन्नुभन्दा प्रविधिको उपयोग गर्न सके राम्रो हुने शिक्षाका जानकारहरू बताउँछन् । कोइराला भन्छन्, ‘अब कक्षामै विद्यार्थी आउनुपर्छ भन्ने कुरा हैन कि, जुम, मीटलगायत जे प्रविधि हुन्छ, त्यसमा अन्तराष्ट्रियमा छरिएका मान्छेलाई कसरी जोगाउने भन्ने कुरा सोच्नुपर्छ ।’ उनी अब कलेजहरूले विद्यार्थी बनाउन दुई/तीन वटा काम गर्न सकिने सुझाउँछन् । –विद्यार्थी भनेको नियमितरूपमा विद्यालय आउनुपर्छ । यति उमेर पुगेको मान्छेमात्र कलेज आउनुपर्छ भन्ने चिन्तन छोड्नुपर्यो । त्यसको सट्टा गृहणी, राजनीतिज्ञ, कोही अर्थशास्त्री होलान, अब तिनीहरूलाई पढाउने अभ्यास सुरु गर्नुपर्छ । –खाडी मुलुक तथा युरोप अमेरिका गएका मान्छे त्यहाँ आफै पैसा तिरेर पढ्न सक्दैनन् । श्रमको तथ्यांकले के भन्छ भने विदेश पढ्न जाने भन्दै गएका १० प्रतिशत विद्यार्थीमात्र त्यहाँ पढछन् । बाँकी काम गरेर पैसा कमाउँछन् । त्यसो हो भने त्यस्ता विद्यार्थीलाई पढाउनको लागि नेटको प्रयोग गर्नुपर्ने वा अन्तर्राष्ट्रियस्तरमा उपयोग गर्ने तरिका अपनाउनुपर्छ । –युरोपले विद्यार्थी पाउन छोड्यो त्यसैले उसले अन्तर्राष्ट्रिय जगतका मान्छे बटुल्छ । अमेरिकाले विद्यार्थी पाउन छोड्यो उसले पनि विद्यार्थी बटुल्छ, अस्टे«लियाको पनि त्यही दशा हो । अब हामीले हाम्रा ठाउँमा विद्यार्थी ल्याउने तरिका अपनाउनु पर्छ । कोइराला नेपालका जडिबुटीका बारेमा अनलाइन कोर्सेस बनाएर युरोप अमेरिकाका मान्छेलाई यहाँ ल्याउन सक्ने बताउँछन् । अन्तर्राष्ट्रिय जगतमा अहिले ‘ई-लर्निङ थी्र सिक्सटीन’ भन्ने मुमेन्ट चलिरहेको छ । यो भनेको विश्वभरिका मान्छेले चौबिसै घन्टा पढ्न पाउने ठाउँ हो । खाँदा, उठदा, बस्दा, हिँड्दा जतिखेर जसरी पनि पढ्न पाइन्छ । यसका लागि कलेज चाहिन्छ त्यही आउनुपर्छ वा यिनकै विद्यार्थी हुनुपर्छ भन्ने हुँदैन । शिक्षाविद् कोइराला नेपालका कलेजहरूले पनि यसरी चिन्तन गर्न सके भने मान्छे नपाउने समस्या नहुने बताउँछन् ।

किक बक्सिङ प्रतियोगितामा नेपालका शेर्पाले जिते स्वर्ण पदक

काठमाडौं । नेपालले किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेको छ । नेपालका लागि निमा साङ्गे शेर्पाले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । शेर्पाले प्रतियोगिताको पहिलो राउन्डमा भारत, दोस्रो राउन्डमा थाइल्यान्ड र तेस्रो राउन्डमा बंगलादेशलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिता १२ विभिन्न देशहरूको खेलाडीहरुको सहभागिता रहेको थियो । ग्रान्ड बक्सिङ हब नेपालद्वारा आयोजना गरिएको उक्त प्रतियोगिताको स्पोन्सर हेल्पि ह्यान्डस रहेको थियो । बालबालिकादेखि नै खेलकुदमा लागेका शेर्पाले यसअघि पनि निकै प्रतियोगिताहरु जितिसकेका छन् । गुरु राम महर्जनको सहयोगले नै आफुले खेल जित्न सकेको शेर्पा बताउँछन् । उक्त खेलको लागि शेर्पाको स्पोन्सर एनआइसी एकेडेमी र सप्तगण्डकी एकेडेमी रहेको थियो ।  

भृकुटीमण्डपमा विशेष छुटको व्यवस्थासहित जुत्ता चप्पल मेला सञ्चालनमा, ३० बढी ब्राण्डको सहभागिता

काठमाडौं । भृकुटीमण्डपमा जाडोलाई लक्षित गर्दै जुत्ता चप्पल मेला सञ्चालन भइरहेको छ । स्वदेशी ११ वटा कम्पनीको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । आयोजक गंगा श्रेष्ठले विशेष छुटको व्यवस्थासहित मेलामा जुत्ता चप्पल बिक्री भइरहेको जानकारी दिए । उनका अनुसार ‘जाडोको बेला भृकुटीमण्डपमा जुत्ता मेला’ भन्ने नारा सहित मेलाको आयोजना भइरहेको छ । मेलामा नयाँ/नयाँ मोडलका र विशेष गरी जाडो लक्षित जुत्ता चप्पल उपलब्ध रहेको श्रेष्ठले बताए । मेलामा ग्राहकले जुत्ता चप्पलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बताइएको छ । श्रेष्ठले मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै ६ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको बताउँदै  महिला, पुरुष, बालबालिका लगायत सबैका लागि उपयुक्त हुने जुत्ता चप्पल मेलामा उपलब्ध रहेको बताए । मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड, वान वर्ल्ड, भेनस सुज, प्राइड स्वदेशी, आइडल सुज, हिमानी सुज, बोस सुज, फुट स्टेप सुजको सहभागिता छ । एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने आयोजक टिमको भनाइ छ ।