विकासन्युज

४ वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

चितवन । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागिएको छ । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उनले बताए । पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उनको भनाइ छ । यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ । हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ । यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । हात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उनले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताए । यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतका अवलोकन गर्ने बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँ आउने पर्यटकलाई नयाँ स्वादको मनोरञ्जन प्रदान गर्न हात्ती महोत्सव गरिँदै आएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ ।

प्रेमिकालाई दिन फूल नभेटेपछि सुरु भएको फूल पसल भयो अर्बौंको

काठमाडाैं । विकास गुटगुटिया त्यस्ता व्यक्ति हुन् जसले आफ्नो प्रेमिकालाई दिनका लागि बजारमा फूल भेट्टाउन सकेनन् । त्यसैले उनले फूलको व्यवसाय सुरु गरे । यो व्यवसाय यति फस्टायो कि आज उनको कम्पनीको कारोबार करोडौंको छ । गुटगुटियाले मात्र ५ हजार रुपैयाँबाट फूल व्यवसाय सुरु गरेका हुन् । तर, उनको मिहिनेत र लगनशीलताको फल हो कि दिन दुई गुणा र रात चौगुणाले व्यापार बढेको हो । अब उनी आफ्नो कम्पनीलाई ५ अर्बको लक्ष्यमा लैजान चाहन्छन् । दिल्लीको बजारमा फूल पाएनन् व्यवसाय सुरु गर्ने सबैको बेग्लाबेग्लै कथा हुन्छ । मानिसहरूले कतैबाट प्रेरणा लिएरमात्र स्टार्टअप सुरु गर्छन्। तर, विकास गुटगुटियाको कथा भने रोचक छ । उनले यो सन् १९९४ अघिको कथा भएको बताए । उनी आफ्नी प्रेमिकालाई फूल दिन चाहन्थे। तर, उनले दिल्लीको बजारमा मनपर्ने फूल वा गुच्छा भेट्न सकेनन् । विकासले फुटपाथका फूलहरू ओइलाएको देखे । त्यहीँबाट उनलाई फूलको व्यवसाय गर्ने सोच आयो । ५ हजार रुपैयाँबाट फूल व्यवसाय सुरु विकासले फूल पसल खोल्ने सोच बनाए । उनले १९९४ मा फूल तथा उपहार केन्द्र खोलेका थिए । उनले जम्मा ५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेका हुन् । बिस्तारै काम अगाडि बढ्दै थियो, उनले सँगै सहकार्य गर्नका लागि साथी भेट्टाए । ती साथीले उनको व्यवसायमा साढे २ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी प्राप्त हुनासाथ विकासको व्यापारमा नयाँ ऊर्जा थपियो । उनले आफ्नो व्यवसाय विस्तार गरे । उनले दिल्लीको साउथ एक्स्टेन्सनमा मात्रै २ सय वर्गफिटको ठाउँमा चारजनासँग पहिलो फर्न्स एन पेटल्स स्टोर खोलेका थिए । फुटपाथका सस्ता फूलसँग प्रतिस्पर्धा गर्न सजिलो थिएन फुटपाथमा बेचिने सस्तो फूलसँग प्रतिस्पर्धा गरेर दबदबा तोड्न सहज नभएको विकासले बताए । विकासले निकै मिहिनेत गरेर ग्राहकहरू जुटाएका थिए । उनले एयरकन्डिसनवाला पसल खोले। त्यहाँ फूलहरू धेरै समय ताजा रहन्थ्यो। साथै, उनले साधारण फूललाई ​​मात्र नभई गुच्छा र मालालाई पनि डिजाइनर लुक दिए । जसका कारण उनलाई कर्पोरेट क्षेत्रबाट पनि अर्डर आउन थाल्यो । धेरै देशमा शाखा विस्तार यसपछि विकासले आफ्नै वेबसाइट सुरु गरे । यहाँ उनले फूल, गुच्छा र डिजाइनर मालाका लागि ठूलो अर्डर प्राप्त गर्न थाले । तर, २००९ मा उनले करिब २५ करोड रुपैयाँ घाटा बेहोरेका थिए । हारबाट विकासले धेरै पाठ सिके । बिस्तारै उनको व्यापार २ अर्बको भयो । आज उनको कम्पनीको विश्वका धेरै देशमा शाखा छन् । एजेन्सीकाे सहयाेगमा

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी संकाय डाक्टरी पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यही मङ्सिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो । यसका लागि चिकित्सा शिक्षा सेवा आयोगले ११ सिट निर्धारण गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार बाँडफाँट गरिएका सिटमध्ये आठ खुला, दुई सरकारी र एक विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ । प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ (जनस्वास्थ्य) विषयमा जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपी एण्ड इएम) र अर्थोपेडिक एक–एक, पेडियाट्रिक्समा दुई, जनस्वास्थ्यमा पाँच र क्लिनिकल फार्मेसीमा दुई सिट प्राप्त गरेको छ । ‘लामो समयको प्रयासपछि प्रतिष्ठानले जनस्वास्थ्यतर्फ एमडी÷एमएस जनशक्तिको अध्ययन–अध्यापन गर्ने अवसर पाएको छ,’ उपकुलपति रावलले भने, ‘हिमाली जिल्लाका नागरिकका लागि यो ठूलो उपलब्धि हो ।’ चिकित्सा शिक्षाको स्नातकोत्तर तहको जनस्वास्थ्य विषयमा हुने डाक्टर पढाइ प्रतिष्ठान र हिमाली जिल्लाका लागि कोसेढुंगा सावित हुने उनको भनाइ थियो । प्रतिष्ठानले यसअघि पनि स्नातकोत्तर तहको जिपी, अर्थोपेडिक, मेडिसिन, एनेस्थेसिया र पेडियाट्रिक्स जनशक्तिको पढाइ सञ्चालन गरेको थियो ।

कोप–२८ सम्मेलन उपलब्धिमूलक भयो : मन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको बताएका छन् । सम्मेलनमा नेपालको बारेमा चर्चा भएको पनि मन्त्री महतोको भनाइ छ । कोप–२८ मा सहभागी भएर मन्त्री महतो आज (शनिबार) स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । मन्त्री महतोले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको एकैस्वर रहेको र यसपटक नेपालले आफ्ना एजेन्डा जोडदाररूपमा उठाएको बताए । उनले भने, ‘यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौं ।’ मन्त्री महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकोले यसपटक सम्मेलनमा नेपाललाई उच्च प्राथमिकता दिइएको पनि दाबी गरे । मन्त्री महतोले यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभेलियन भएकोले क्लाइमेट चेञ्जका बारेमा प्रभावकारी रूपमा छलफल तथा अन्तर्क्रिया गरिएको जनाए। उनकाअनुसार उक्त पेभेलियनमा नेपालका प्रतिनिधिहरू बिहानदेखि बेलुकासम्म व्यस्त भएका थिए ।

सडक र गल्लीमा ढुंगा बिछ्याएपछि चिटिक्क देखियो लोमान्थाङ

म्याग्दी । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय महत्त्वको लोमान्थाङको सडक र गल्लीमा ढुंगा छापिएपछि चिटिक्क परेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङको पर्यटकीय सहर तथा बस्ती पुनःउत्थान कार्यक्रमअन्तर्गत लोमान्थाङको पर्खालभित्रको सडक, पैदलमार्ग र गल्लीमा ढुंगा बिछ्याइएको हो । संघीय सरकारले गत वर्षदेखि सुरु गरेको ढुंगा छपान कार्य प्रभावकारी बनेपछि चालु आर्थिक वर्षमा प्रदेश सरकार र गाउँपालिकाले ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङलाई थप आकर्षित बनाउन उक्त योजनालाई पूर्णता दिएको लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताए । ‘लोमान्थाङका बस्तीलाई धुलो, हिलो मुक्त र सफा बनाउन पर्खालभित्रको सडक, गल्ली र पैदलमार्गमा ढुंगा छपाउने कार्यलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘पर्खाल बाहिरको सडकलाई व्यवस्थित गर्न प्रदेश सरकारमार्फत ढलान हुँदैछ ।’ ढुंगा छपान गरेपछि मौलिकताको संरक्षणसँगै धुलो उड्ने र हिलो हुने समस्या हटेर सफा सुग्घर बनेको छ । यसअघि बस्तीभित्र छपाएको ढुंगा उप्किएका थिए । कतिपय ठाउँमा ढुंगा छपाइएको थिएन । आयोजनामार्फत आव २०७९÷८० मा लोमान्थाङ बस्तीभित्र ढुंगा छपानका लागि करबाहेक १ करोड २७ लाख ६ हजार ५ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको विष्टले जानकारी दिए । उक्त ठेक्कामार्फत ४ हजार ४४ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा स्लेट ढुंगा छपान भएको आयोजनाका इन्जिनियर योगेन्द्र वस्ताकोटीले बताए । उनका अनुसार चालु आवमा ढुंगा छपानका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन हुनेगरी लोमान्थाङ बस्तीभित्रको सडक ढलान गर्न चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिए । लोमान्थाङ स्वागत गेटबाट लोमनथाङ वाल वरिपरि ढलान बाटो निर्माणका लागि दुई शीर्षकमा ५ करोड र अर्को ऐतिहासिक गाउँ वरपर पक्की सडक शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ । केही दिनअघि लोमान्थाङ पुगेर फर्किएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको लोमान्थाङ बस्तीलाई व्यवस्थित बनाउन मन्त्रालयले प्राथमिकता दिएको बताए । चीनको स्वशासित क्षेत्र तिब्वतसँग सिमाना जोडिएको छ । लोमान्थाङ पालिकाको केन्द्रसमेत रहेकाले यहाँका सडक र गल्लीमा नाली निर्माण गरेर ढल व्यवस्थापन गरिएको जनाइएको छ । चोक र सडक छेउमा १ सय ५० सडकबत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ । माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब दुई सय माटोले बनेका घर छन् । ३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरता अवलोकनका लागि लोमान्थाङमा पर्यटक आउँछन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । रासस

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । उनले उक्त समीक्षाले देशमा हाल देखिएको आर्थिक संकटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए पनि सहयोग पुग्ने बताए । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कतिपय विषय पनि शुक्रबारको मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले मुलुकको निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बताएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनःसंरचना र घर तथा सेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषयहरू हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाइ गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवर्द्धन गर्न सहयोग गर्नसक्छ,’ उनले भने । अध्यक्ष ढकालले तर पनि यो उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन पर्दैनथ्यो भने । ‘निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटक–पटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौँ । अहिले आएर केही हदसम्म भए पनि हाम्रा मागको सम्बोधन भएको छ । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के–कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ,’ उनले भने । राज्यका निकायबीच समन्वयको अभावमा लगानीको वातावरण बन्न सकेन, अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैँले सकारात्मकरूपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको उनको भनाइ थियो । उनले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको भारत, चीन तथा युएई भ्रमणका अवसरमा निजी क्षेत्रले लगानी सम्मेलनको आयोजना गरेको जानकारी दिँदै यसबाट नेपालमा लगानीका सम्भावनाहरूका बारेमा विदेशी लगानीकर्तालाई थाहा दिने काम भएको पनि बताए । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देखाएको चासो र लिएको अग्रसरताको प्रशंसा गरे । उनले सरकारी प्रक्रियाका कारण धेरै आयोजना रोकिने गरेका उदाहरण पेस गर्दै त्यसलाई छिटोछरितो गराउने व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष आग्रह गरे । रासस

शान्तिपार्क निर्माण कार्य १४ वर्षदेखि अलपत्र

मन्थली । दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा १४ वर्षअघिदेखि निर्माणाधीन शान्तिपार्क निर्माण कार्य सम्पन्न नहुँदा अलपत्र परेको छ । विसं २०६६ देखि यो पार्क निर्माणका नाममा नेपाल सरकारबाट २ करोड ५० लाख रुपैयाँ बजेट खर्च भइसकेको भए पनि यो योजना सम्पन्न हुन सकेको छैन । योजना सम्पन्न नभएपछि सबै निर्माणाधीन संरचना अलपत्र अवस्थामा छन् । निर्माणका लागि प्रयोग भएका फलामे समान हराउन र चोरी हुन थालेका छन् भने बालुवा र सिमेन्टमार्फत बनेका संरचना भत्किसकेका छन् । दोरम्बा–२ दोरम्बा बजार नजिक सल्लेनी वनमा निर्माणाधीन उक्त शान्तिपार्कका लागि क्रमागत बजेट आउने आशामा विनियोजित बजेटभन्दा बढीको लागत अनुमान गरेपछि निर्माण कार्य सम्पन्न नभई अलपत्र परेको हो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मान्त्रालयमार्फत ३ करोड रुपैयाँको लागतमा क्रमागत योजनाअन्तर्गत शान्तिपार्क निर्माणको योजना अघि सारिएको थियो । आव २०६६ मा सुरु भई २०७४ सालसम्म २ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ भने २०७४ सालयता पार्कको काम अलपत्र परेको छ । विसं २०६० साउन ३२ गते तत्कालीन सरकार र विद्रोही पक्ष वार्ता चलिरहेका बेलामा यस ठाउँ (दोरम्बा) मा तत्कालीन शाही नेपाली सेनाले नेकपा (माओवादी) का २१ जना कार्यकर्ता बैठक बसिरहेका ठाउँमा घेरा हाली पक्रेर सामूहिक हत्या गरेपछि त्रसित भएका स्थानीयलाई उक्त पार्कमा गएर मन भुलाउन सहज होस् भन्ने उद्देश्यले सरकारले शान्तिपार्क निमार्णको काम अघि बढाएको स्थानीय प्रकाशचन्द्र मोक्तानले बताए । शान्तिपार्कमा प्रतिक्षालय भवन, शौचालय, सिँढी, घेराबारलगायत संरचना निर्माण गरिने र पार्कभित्रै चक्रपथसमेत निर्माण गरिने लागत अनुमानमा उल्लेख छ । हाल पार्कमा प्रतिक्षालय, सिँढी, शौचालय निर्माण भएका छन् । शौचालयमा झ्याल ढोका राख्न बाँकी नै छ भने पार्कमा लगाइएको घेराबार भत्किसकेको छ । स्थानीय सरकारको निर्वाचन भएसँगै केन्द्र सरकारले बजेट दिन छाडेपछि पार्क निर्माणको कामअलपत्र परेको हो । स्थानीय सरकार गठन भएपछि सरकारले पार्क निर्माणको बाँकी कामको जिम्मा स्थानीय सरकारलाई दिए पनि पालिकाले बेवास्ता गर्दा पार्क निर्माणको काम अलपत्र परेको स्थानीय मिनबहादुर तामाङ बताउँछन् । अलपत्र रहेको पार्क निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेर निर्माण कार्यलाई पूर्णता दिने योजना गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताए पनि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको २०७४ सालदेखि हालसम्म उक्त योजनाका लागि कुनै किसिमको बजेट विनियोजन भएको छैन । यस्ता पार्कले आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षण गरी आयआर्जन गर्न सकिने भएकाले सम्बन्धित निकायको ध्यान पुगरे तत्काल निर्माण सम्पन्न भई पार्क सञ्चालन हुनसके पर्यटक भित्र्याउन सकिने स्थानीय मिलन घिसिङले बताए ।