विकासन्युज

सुन प्रतितोला दुई लाख १७ हजार ८०० पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार सात सय रुपैयाँ बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।  

नेपाल टेलिकमले ल्यायो चाडपर्व अफर, ५ हजार रुपैयाँसम्मको छुट र अनलिमिटेड डेटा सुविधा

काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको ‘दसैं–तिहार–छठ अफर २०८२’ अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित विभिन्न मोबाइल सेवा प्याकेज उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५,०००) पूर्ण रूपमा मिनाहा गरिनेछ । यसैगरी जीएसएम सेवामा विशेष डेटा प्याकेजसमेत उपलब्ध गराइएको छ । रु. ४९९ मा ५ जीबी ‘फेस्टिवल अनलिमिटेड’ र रु. ६९९ मा १० जीबी ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ डेटा प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेजमा प्रतिदिन तोकिएको भोल्युम सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा उपलब्ध हुने ‘जॉयफुल मिनेट्स’ प्याकेज र रु. ९९ मा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ । जीएसएम सेवाका प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन् । अफर प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट 14153# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको  छ । कम्पनीले विभिन्न चाडपर्वको अवसरमा उपलब्ध गराइने यस्ता अफरहरूले आफन्तसँग खुशी बाँड्न, सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

गोरखा दरबारको दसैँघरमा जमरा राखियो

गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९:१३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए । ‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो’, उनले भने, ‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’ गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए । घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ । गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

टाइम फर्मास्युटिकल्सको १४.५४ प्रतिशत लाभांश घोषणा, असोज २७ गते सेयरधनी भेला

काठमाडौं । टाइम फर्मास्युटिकल्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ करोड ५० लाख रुपैयाँको १४.५४ प्रतिशतका दरले ५ करोड ३१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २७ गते भरतपुर चितवनमा बिहान बिहान १० बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्न आवश्यक संशोधन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीको शंसोधन स्वीकृत गर्न समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र सञ्चालकहरूको मासिक भत्ता तथा अन्य सुविधा निर्धारण गर्नेछ ।  यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

२५ प्रतिशत लाभांश बाँड्ने नेपाल एसबिआईको घोषणा

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले लाभांश वितरण गर्ने घोषणा गरेको छ । एसबिआई मर्चेन्टको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

सवारी साधनमा आजदेखि असोज २२ गतेसम्म ‘रुट परमिट’ खुला

काठमाडौं । यात्रु वाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।  रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ । रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताए । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

काठमाडौं । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरद यामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका-४ मा स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण-४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिम श्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।  छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । शहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउँदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए । ७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामाकरण गरी खुलाएको थियो ।  अन्नपूर्ण गाउँपालिकाले आश्रय स्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ५ लाख रुपैयाँ सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरूमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ । 

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । गए रातभर बन्द गरिएको मुग्लिन-नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।  पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । सोमबार साँझ ८ बजे पुनः पहिरो खसेपछि पहिरो रातिनै पन्छ्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए । सडक खण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरे । दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् । यो सडकमा  दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । सडक दुईतर्फी सञ्चालन नहोउञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।