म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत सेवा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । ‘घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो,’ उनले भने, ‘खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।’ मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका चार सय घरमा विद्युतीकरणका लागि जडान गरिएको ‘ट्रान्सफर्मर’ र मुख्य लाइनको गत चैत अन्तिम साता परीक्षण गरिएको थियो । ‘मालिकाको वडा नं २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नं ३ को लुप्सीपार, पात्ले र ४ नं वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान र परीक्षण सफल भएको छ,’ उनले भने, ‘विद्युत प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरिङ गरेपछि चार सय घरधुरीमा केन्द्रीय लाइनको बिजुली बल्छ ।’ नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दा ‘सोलार’ बत्ती र टुकी प्रयोग गर्छन् । वर्षौँको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । रुम गाउँमा चार वर्षअघि तार तानेर पोल गाडिएको थियो । म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रसारणको विद्युत् सुविधा विस्तार गर्न गत वर्ष २० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यो योजनामार्फत म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सेवा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । एक वर्षभित्र विद्युतीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ग्राहक छन् । गत आर्थिक वर्षमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए ।
कोका-कोला युथ डायलगको तेश्रो संस्करण : १३६ विद्यार्थीसँग दिगो समाधान खोज्दै
काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले ‘एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर’ अर्थात दिगो भविष्यका उपायरूको बारेमा छलफल गरेका छन् । ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने सहभागीहरूले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए । उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरूको सामूहिक र व्यवहारिक कदमहरूको बारेमा छलफल भएको थियो ।
मनाङको छिम्बु र कोतो भीरमा ‘रक क्लाइम्बिङ’ गराइने
गण्डकी । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको चामे गाउँपालिकास्थित छिम्बु र कोतो भिरलाई चट्टान आरोहण (रक क्लाइम्बिङ) गन्तव्यका रूपमा विकास गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोग, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको संयोजन र फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनको विशेष प्राविधिक सहयोगमा रक क्लाइम्बिङका लागि परीक्षण गरिएको हो । मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाटमा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले यही वैशाख ९ गतेदेखि २१ गतेसम्म फ्रान्सेली नागरिकद्वयले रक क्लाइम्बिङ निर्माणका लागि गरेको र प्राविधिक सहयोग एवं काममा स्थानीय पञ्चमाया तामाङ र लक्मी तामाङले सहयोग गरेको जानकारी दिए । उनले यी दुुवै भीरमा रक क्लाइम्बिङ गराइ पर्यटकीय रूपमा उपयोग गर्न सकिने सम्भावना देखिएकाले हिमाल आरोहणको पूर्वाभ्यासका लागि उपयुक्त गन्तव्य बन्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले रक क्लाइम्बिङको नयाँ गन्तव्यको रूपमा यी दुई स्थान विकास गरिने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोख्रेलले रक क्लाइम्बिङ सञ्चालन गर्न सके पर्यटकको बसाई लम्ब्याउन सहयोग पुुग्ने विश्वास व्यक्त गरे । फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनले रक क्लाइम्बिङको विश्वव्यापी अवस्थाका साथै ती दुवै भीरको स्थलगत सम्भावनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ, सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले नेपालमा रक क्लाइम्बिङको सम्भावनालगायतका विषयमा आ–आफ्ना धारणा राखे ।
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ । यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो ।
आज मातातीर्थ औँसी मनाइँदै, मातातीर्थ कुण्डमा मेला
काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभरि मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरू भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।
एनटीसीका प्रबन्ध निर्देशक पौडेललाई ९ वर्ष जेल, आधा अर्ब पैसा तिर्नु पर्ने
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकम (एनटीसी)का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष जेल सजाय सुनाएको छ । राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले २३ करोड २७ लाख ५८ हजार बिगोसहित साेही बराबर जरिवाना र ९ वर्ष जेल सजाय सुनाएको हो । अब पौडेलले ४६ करोड ५५ लाख रुपैयाँ तिर्नु पर्ने भएको छ । मंगलबार भएको अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो । यस मुद्दामा भ्रष्टाचारकाे आरोप लागेका सचिव मधुकुमार मरासिनीसहित ६ जनाले सफाइ पाएका थिए । मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) स्थापनाको प्रयास भएको थियो । ६ वर्षअघि सूचना प्रविधि तथा सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) स्थापना प्रक्रिया अघि बढाएको थियो ।
कर्पोरेट सुपर सिक्सेसमा माछापुच्छ्रे बैंक च्याम्पियन
काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो। आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रे«को जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए । आफ्ना कर्मचारीको व्यावसायिक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखेर विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरूमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आएको बैंकले जनाएको छ ।