विकासन्युज

कोशीमा बजेटको तयारी तीव्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो । कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मंगलवार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो । कोशीमा चालु आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेट अध्यादेश संसदमा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे सुरु भएको थियो । १२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रोपटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याएका थिए । सो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पेस गरेको प्रतिस्थापन विधेयक, २०८० मंसिर १३ गते पारित भएको थियो । कोशी प्रदेशको राजनीतिक चलखेलका कारण यस वर्ष उही अवस्था हुँदैन भन्न नसकिने स्थिति छ । अब आगामी आर्थिक वर्षका लागि २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि पहिलो चौमासिक सकिएपछि कोशी प्रदेश सरकारले ३६ अर्ब ७४ करोड बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा केही सानो हुने प्रदेश सरकारका सचिवहरूको धारणा छ । आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावटका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाउने तयारी भइरहेको छ । बजेट निमार्णका लागि मन्त्रालयहरूलाई पनि सोहीअनुसारको सिलिङ उपलब्ध गराइएको छ । प्रदेशको राजश्व संकलन बढाउन भने आगामी आर्थिक वर्षदेखि नीतिगत व्यवस्था बमोजिम आवश्यक कामकारबाही अघि बढाउने गृहकार्य भइरहेको सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बताए । आगामी आर्थिक वर्षका लागि भने पूर्वाधार विकासका क्षेत्रमा प्रदेशको प्रगति देखिने गरी बजेट निमार्ण भइरहेको बताइएको छ ।

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्’, प्रधानमन्त्री दाहालले भने, ‘समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।’ उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए । प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिए । सुरुङमार्गबाहेक अन्य निर्माणकार्य ‘ब्यारेज, पावरहाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन’ नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कार्ययोजना एवं खरिद गुरुयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नु भने । मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।

कमिसन घटाएर पठाओको बजार खोस्ने रणनीतिमा इन्ड्राइभ, अब हुनेछ ‘नेक टु नेक’ प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंको व्यस्त सहरमा कोही व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा सजिलै र छिट्टै पुग्न चाहन्छन् भने उनीहरूको रोजाइमा राइड सेयरिङ नै पर्ने गर्छ । विदेशमा फुर्सदको समय सदुपयोग गर्न र अतिरिक्त आम्दानीका लागि चालकहरू राइड सेयरिङ कम्पनीमा आबद्ध भएको पाइन्छ । तर,  नेपालीले भने यसलाई मुख्य पेसा नै बनाउन थालेका छन् । यसकाे एउटै कारण नेपालमा बेरोजगार दर बढी हुनु पनि हाे । पछिल्लो समय यो राइड सेयरिङमा मात्र सीमित नभएर फुड डेलिभरी, पार्सल डेलिभरी र टुकटुके (अटो) मा समेत यो सेवा बिस्तार भएको छ । हाल नेपाली बजारमा चर्चामा रहेका दुई मुख्य राइड सेयरिङ एपहरू पठाओ र इनड्राइभ हुन् । त्यसो त नेपाली बजारमा टुटल, सहारा, लुजुम जस्ता राइड सेयरिङ पनि छन् । तर, पछिल्लो समय चर्चामा रहेको र प्रतिस्पर्धामा रहेका दुई ठूला भने पठाओ र इनड्राइभ नै हुन्। पठाओ नेपालमा सन २०१८ सेप्टेम्बरबाट आसिममान सिंह बस्न्यातको टिमले सुरु गरेको हो । यद्यपि, बङ्गलादेशमा सन् २०१५ मै यसको सुरुवात भएको हो । कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध छ । काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित रहेको पठाओ वैशाखबाट सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको हो । नजिकैको एक सहरबाट अर्को सहरमा जान ‘इन्टर सिटी बुकिङ’ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार भएको बस्न्यातले बताए । पठाओले राइडरहरूबाट हाल २५ प्रतिशत कमिसन लिँदै आएको छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध रहेको कम्पनीले जनाएको छ । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा पनि पठाओले राखेको बताएको छ। पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ । साथै, सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्ने व्यवस्था छ । एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भएको छ । यसैगरी इनड्राइभ भने अनौपचारिक रूपमा सन् २०१८/१९ बाट नै सञ्चालन हुँदै आएको भए पनि औपचारिक रूपमा सोमबार (वैशाख २४) बाट सुरु भएको हो । कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले सोमबारदेखि पत्रकार सम्मेलन नै गरेर १० प्रतिशत कमिसन लिने जानकारी गराएकाे छ । इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिडर पवित नन्दा आनन्दले भनिन्, ‘एउटा ब्राण्डको रूपमा इन्ड्राइभको मिसन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरूका लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो ।’ कम्पनीले काठमाडौंका साथै पोखरा र धरानमा पनि आफ्नो सेवा सुरु गरेको इन्ड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले बताइन् । छिट्टै अन्य सहरमा सेवा सुरु गर्नुका साथै कुरियर र कार्गो सेवा पनि दिने उनले बताइन् । पछिल्लो समय ट्राफिक प्रहरीले दर्ता बिना चलेको भन्दै इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनयता २० हजार बढी राइडरहरू कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अफलाइन चलाउने, सवारी रोकेर बाटो हिँडिरहेकालाई दुःख दिने, बढी शुल्क असुल्ने लगायतका विषयमा उनीहरूलाई कारबाही गरिएको हो । दर्ता भएसँगै यो समस्या हल भएर जाने विश्वास कम्पनीको छ र इनड्राइभले भने हालसम्म उनीहरूसँग कति व्यक्ति आबद्ध छन् भन्नेबारे आधिकारिक रूपमा खुलाएको छैन । राइड सेयरिङ एपहरूमा प्रयोग भएको व्यक्तिगत तथ्यांकको दुरुपयोग भएको समाचारसमेत बेलाबेला बाहिर आउने गरेका छन् । यस्ता किसिमका घट्नाहरू हुन नदिन इनड्राइभले कस्तो नीति लिएको छ भन्ने विकासन्युजकाे प्रश्नमा पोखरेलले भनिन्, ’राइडर र ग्राहकबीच भएको कुराकानी हामीले पनि हेर्न मिल्दैन, दुर्घटना लगायतका विशेष परिस्थितिमा मात्रै हामीले हेर्न मिल्ने हो ।’ अन्य राइड सेयरिङहरूभन्दा इनड्राइभ सस्तो हुने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको थियो । तर, कम्पनीले चालकबाट १० प्रतिशत कमिसन लिएसँगै इनड्राइभको लोकप्रियता पनि घट्ने हो कि भन्ने प्रश्न उब्जिएको छ । तर, पोखरेल भने यस विषयमा फरक उत्तर दिँदै भनिन्, ‘हामीले एउटा प्रक्रिया मात्रै पूरा गरेका हौं, इनड्राइभले कमिसन घटाउन सक्ने वा आफ्नो रेटमा चालक रोज्न पाउने सुविधा दिएकोले १० प्रतिशत कमिसनले खासै धेरै प्रभाव पार्दैन ।’ आधिकारीक रूपमा सुरु भएसँगै इनड्राइभ र पठाओबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । बस्न्यात भने इनड्राइभ अनौपचारिक रूपमा करिब तीन वर्षअघिबाटै बजारमा रहेकाले हाल दर्ता हुँदैमा यसले आफ्नाे व्यवसायमा कुनै पनि असर नगर्ने दाबी गर्छन्  । ‘इनड्राइभले करिब तीन वर्षयतादेखि नै सेवा दिइरहेको छ,’ उनले भने, ‘हामीले ३ वर्षदेखि नै उहाँहरूसँग प्रतिस्पर्धा गरिरहेका छौं, यसले हामीलाई खासै प्रभाव पार्दैन ।’

विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ । अध्यक्ष, तीन सदस्य (एक महिलासहित) का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो। आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात् आगामी जेठ ९ गते कार्यालय समयभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न आग्रह गरिएको छ । सूचनाअनुसार आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा पेस गनुपर्ने छ । रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा धुलिखेल जिपलाइनमा ५० प्रतिशत छुट

काठमाडौं । धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो । छुट आमाले मात्रै खेल्दासम्म पनि पाइने कम्पनीले जनाएको छ । छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ । वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ । सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरु गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने आमा तथा छोराछोरीले छुटको अवसर प्राप्त गर्ने छन् ।

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालयले यही वैशाख १८ गते मंगलबारदेखि जीवनोपयोगी शिक्षा अभियान सुरु गरे तापनि दिक्तेलको सरस्वती माविबाट वैशाख २५ गतेदेखि औपचारिक रूपमा अभियान सुरु भएको छ । मंगलबार सरस्वती माविमा स्वास्थ्य शिक्षाका बारेमा स्वास्थ्यकर्मीले कक्षा लिएका दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । पञ्च माविमा भवन सरसफाइ र जनजागृति माविमा कृषि गतिविधिका साथ अभियान सुरु गरिएको जानकारी उनले दिए । नगरपालिकाले शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान सुरु गरिएको जनाइएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्न सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मंगलबार विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त परियोजना कार्य (प्रजेक्ट वर्क) गराउने गरी अभियान लागु गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत नगरपालिकाका सबै सामुदायिक विद्यालयले वार्षिक कार्ययोजना तयार पार्ने र सो कार्ययोजनामा ३० भन्दा बढी मंगलबार विद्यार्थीलाई व्यवस्थित तरिकाले परियोजना कार्य तयार गरेर कार्यान्वयन गराउने योजना रहेको संयोजक राईले बताए । अभियानका क्रममा नगरपालिकाले हरेक महिनाको मंगलबार विद्यालयको परियोजना कार्यको उपलब्धि प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ । नगरपालिकाले वैशाख १९ गते नगरका ९३ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो ।

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो । कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको बैंकले जनाएको थियो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । त्यस्तै आम सर्वसाधारणका लागि सेयर खरिद चाहने इच्छुक लगानीकर्ताले पनि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका पहाडी भागको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।