फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा वैशाख २६ गते देखि जेठ ९ गते सम्म अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानल आयोजना हुँदैछ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोर्ट एचडी १ च्यानलेबाट गर्ने भएको छ । उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए । प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाईने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।
बैंक समस्यामा पर्दा ढुकुटी खोल्ने राष्ट्र बैंक सहकारी सुन्दा किन तर्सिन्छ ?
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले बैंकहरु समस्यामा पर्दा ढुकुटी खोलेर तरलता बजारमा पुर्याउने काम गर्दै आएको भए पनि सहकारीको समस्या समाधानमा मुकदर्शक बनेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा विहिबारदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले सहकारीको समस्या समाधानका लागि राष्ट्र बैंकले कुनै पहल नगरेको बताएका हुन् । ‘बैंकहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछ, अहिले सहकारीहरु समस्यामा छन्, तर यसको समस्या समाधानका लागि कुनै पनि निकायले वास्ता गर्दैनन्, राष्ट्र बैंक पनि तर्सिन्छ,’ उनले भने । यस्तै, उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर नै समस्या सिर्जना भएको र वर्तमान संकट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखे । ‘हामीले आफैं काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो, स्वायत्ततासँगै जवाफदेहिताबाट हुनुपर्छ, अराजकताले संकट ल्याउँछ, स्वायत्त भन्दा संकट आएको हो, दोस्रो तहको नियामक अतिआवश्यक छ,’ उनले भने । उनले अहिले सहकारीमा विशेष प्रकारका चुनौतीहरु रहेको र केही जोखिम पनि कायम रहेकोले ती जोखिम कम गर्नका लागि कानुनको परिपालना आवश्यक रहेको धारणा राखे । यस्तै, उनले कम्पनीमा फेक कम्पनी दर्ता गरेर सहकारीबाट ऋण लिएर त्यसले सहकारीहरु समस्यामा परेको अभ्यास रहेको पनि सुनाए ।
सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने
काठमाडौं । भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने भएका छन् । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको हाे । बैंकका अनुसार यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआई मार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।
सांसद सुहाङ नेम्वाङले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थियो । यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा बुधबार मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ । आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ । माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेकाले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने उनले स्पष्ट पारे । वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए । कार्यकर्ता भेटघाटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, सिन्धुलीका सांसद लेखनाथ दाहाल, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायत सहभागी थिए ।
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण
काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नं. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा नं.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा नं. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ । स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ । हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएका थिए । मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ । रासस
भैँसी पाल्ने किसानलाई पर्वतको पैयुँ गाउँपालिकाले ५० हजार अनुदान दिने
पर्वत । जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी ५० हजार रुपैयाँका दरले अनुदानको व्यवस्था गरिएको हो । यसअघि राँगा पालेका प्रत्येक किसानलाई २० हजार रुपैयाँ अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए । सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई चार लाख रुपैयाँ अनुदान वितरण गरेको छ । गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो । पालिकामा किसानले एउटा भैँसीलाई राँगो लगाएको एक हजार ५०० रुपैयाँ खर्च तिर्दै आएका छन् । अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ । राँगापालक किसानलाई चार लाख रुपैयाँ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए । रासस