नेपालमै खुल्यो हुण्डाई गाडीको पहिलो एसेम्बल प्लान्ट
काठमाडौं । लक्ष्मी समूहले हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम–६ मा एसेम्ब्लिङ प्लान्ट उद्घाटन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्लान्टको उद्घाटन गरेका छन् । प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, ‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री दाहालले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’ यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए । नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले भने । ‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,’ प्रधानमन्त्री दाहालले भने, ‘ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।’ उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे । ‘भर्खरैमात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ प्रधानमन्त्रीले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने संकेत गरेको बताए ।
नेपालमा युरोपेली लगानी भित्र्याउन संघले सघाउने
काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने बताएको छ । नेपालका लागि संघका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौंमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन् । नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौंमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिइन् । बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली संघमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताए । राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यस निम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै संघमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिइन् । राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतंकवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उनले बन्दी बनाइएका विपिन जोशी र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिन् । उनले विश्वव्यापी रूपमा संघ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइन् । राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार संघले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताइन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो ।
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गएराति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।
तनहुँमा प्लास्टिक झोलामुक्त अभियान : पसल-पसलमा सचेतना कार्यक्रम
तनहुँ । आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल-पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ । व्यास नगरपालिका प्लास्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको संयोजकत्वमा ६ जनाको टोली पसल–पसलमा पुगेर प्लाष्टिक झोला प्रयोग नगर्न अनुरोध गरिरहेको छ । सुरुमा बजार केन्द्रित अभियान अहिले नगरपालिका–१, २, ३ र ४ मा सक्रिय छ । टोलीले बजार क्षेत्रमा निरन्तर ‘माइकिङ’ गरेर प्लास्टिक झोला प्रयोग नगर्न क्रेता तथा बिक्रेतालाई आग्रह गरेको छ । गत चैत २ गतेदेखि मासु, दूध, कपडा, किराना पसल, तनहुँ उद्योग वाणिज्य संघलगायत व्यवसायी तथा संघसंस्थासँग छलफल गरी अभियान थालिएको हो । अभियानलाई जेठ १ गतेदेखि कडाइका साथ लागू गर्न व्यास नगरपालिकाले प्लास्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि, २०८१ समेत पारित गरिसकेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । प्लास्टिक झोलामुक्त अभियानलाई सफल बनाउन कपडाको झोला उत्पादनमा नगरपालिकाले प्राथामिकता दिएको छ ।
चालु आर्थिक वर्षमा तनहुँमा ६ सय ४७ उद्योग दर्ता
फाइल फोटो दमौली । चालु आर्थिक वर्षमा तनहुँमा ६ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ ३ सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा ६ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् । २ सय ७८ उद्योग खारेज चालु आवमा जिल्लामा २ सय ७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो । कार्यालयमा गत आवमा २ सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ । चालु आवमा कार्यालयले ४० लाख ४९ हजार १ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ । वाणिज्यतर्फ १९ लाख ८५ हजार १ सय ७५ र उद्योगतर्फ २० लाख ६३ हजार ९ सय ५० राजस्व संकलन भएको छ । उद्योगतर्फका ८ सय ४० र वाणिज्यतर्फ ७ सय ४१ गरी १ हजार ५ सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् । चट्याङपीडितलाई सहयोग यसैबीच, देवघाट गाउँपालिका-४ रातेपानीमा चट्याङले घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरेको छ । चट्याङबाट घरका आठजना सदस्यमध्ये तीनजना सामान्य घाइते भएका थिए । यो दैवी विपत्तिमा करिब २ लाख बराबरको क्षति भएको बताइएको छ ।
रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप
मन्थली । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका १ सय ५५ स्थानमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १ सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् । यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन् । यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ । वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ ।
सोल्टी होटलको नाफा ४१ करोड २३ लाख
काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । होटलले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको हो । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलको १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब ३ करोड थियो । कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा कायम छ ।
वीरगञ्जमा एनसेल सेन्टर सञ्चालनमा
वीरगञ्ज । टेलिकम सेवा कम्पनी एनसेलले औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा ‘एनसेल सेन्टर‘ सञ्चालनमा ल्याएको छ । एनसेललेद्वारा बिशीबार यहाँ आयोजित कार्यक्रममा एनसेलका चिफ अफ स्टाफ अपरेशनका स्टेफेन रोड्रिगेजले वीरगञ्जको घण्टाघर नजिकै रहेको ‘शीवा हस्पिटल’ मा एनसेल सेन्टरको शुभारम्भ गरे । सो अवसरमा उनले एनसेलले गुणस्तरीय र सुलभ खालको टेलिकम सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । ‘एनसेलले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आइरहेको छ,’ उनले भने, ‘एनसेलले ग्राहकलाई उत्कृष्ट खालको सुविधा दिने प्रयत्न जारी राखेको छ ।’ यसअघि एनसेल सेन्टर वीरगञ्जको माइस्थानमा रहेको थियो । तर, अहिले नयाँ साजसज्जासहित घण्टाघर नजिकै रहेको शिवा हस्पिटलमा सञ्चालनमा ल्याइएको हो । एनसेलका ‘कष्टमर एक्सपेरियन्स मेनेजर’ ज्योति दाहालले वीरगञ्जमा स्थापना गरेको सेन्टरले पर्सा,बारा र रौतहत जिल्लामा पनि सहजीकरण गर्ने जानकारी दिइन् । एनसेल सेन्टरले सेन्टरबाट प्रिपेड बिल भुक्तानी, नयाँ सिम वितरण, फोरजी सिम वितरण लगायतका सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।