विकासन्युज

सान्भी अटो लिकंले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरुम

काठमाडौं । सान्भी अटो लिकंले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं.२ का सांसद दुर्लभ थापाले रिबन काटेर बिहीबार शोरूमको उद्घाटन गरेका हुन् । व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू शोरुमबाट उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिकंका सञ्चालक श्रीकृष्ण थापाले जनाएका थिए । उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिङ्कको नयाँ शोरुमले टिभिएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड

अर्घाखाँची । जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा भएको तालिम समापन समारोहका वक्ताले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाले अन्नमा आत्मनिर्भर हुन सबै किसान लाग्नुपर्ने तथा राज्यबाट उनीहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘कृषि पेसालाई नबुझेका मानिसले उपेक्षा गर्छन्, बुझेकाहरूका लागि यो उत्तम एवं सम्मानित पेसा हो । युवा शक्ति बाहिर भएकाले श्रम गर्ने व्यक्तिको समस्या छ । तर प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने दिशामा सबै अगाडि बढ्नुपर्छ ।’ जिल्लाका कृषि उत्पादन अधिक हुने क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने गरी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले काम गरिरहेको निमित्त डिभिजन प्रमुख इन्जिनियर भेषराज भुसालले बताए । उनले कृषि उत्पादनमा लागेको जल उपभोक्ता समितिलाई सक्षम बनाउन तालिमको व्यवस्था गरिएको बताए । युवा वर्ग विदेशिने क्रम नरोकिएकाले व्यावसायिक कृषि गर्न र स्वरोजगार बन्न सबैले सहयोग गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र बेल्वासेले बताए । तालिममा जिल्लाका १७ जल उपभोक्ता समितिका ३४ किसानको सहभागी थिए ।

मिटरब्याज : आयोगले साहु र ऋणीसँग माग्यो लेनदेन प्रमाण

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले ऋण दिने (साहु) र कर्जा लिने व्यक्ति (आसामी) बीच आपसमा भएका सबै कागजात प्रमाण उपलब्ध गराउन २१ दिन म्यादको सूचना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट गठित मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले तोकिएको कार्यादेश बमोजिमको काम भइरहेको जनाएको छ । यही विषयमा आयोगले मिटरब्याज सम्बन्धी विषयमा पीडित पक्षहरूबाट लेनदेन वा ऋण र कर्जाको कारोबारका क्रममा ऋण र कर्जा लिने आसामी तथा ऋण र कर्जा दिने साहुबीच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो । आयोगका अनुसार निवेदन संकलन गर्नुपर्ने भएकाले अनुचित लेनदेनका पीडितहरूको यथार्थ समस्या समाधानका लागि तथ्यांक संकलन र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन यस आयोगबाट ऋण र कर्जा लिने व्यक्तिले भर्नुपर्ने पृष्ठ संख्या पाँच (५) को फारम नम्बर १ गृह मन्त्रालयको वेबसाटमा राखिएको छ । मिटरब्याज पीडितहरूले उक्त वेबसाइटबाट निवेदन फारम डाउनलोड र प्रिन्ट गरी उक्त फारममा उल्लेख भएका अनुचित लेनदेन कारोबारसम्बन्धी सोधनी भएका विषयसँग सम्बन्धित सबै विवरणहरू प्रष्ट बुझिने गरी भरी आफूसँग रहे भएसम्मका त्यस्तो ऋण कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाइ, टिपोट, सर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी सूचना प्रथम पटक प्रकाशन भएको मितिले २१ दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गरिदिन आयोगले आग्रह गरेको हो । यस अघिको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ बाट संकलन भई फर्छ्योट हुन बाँकी उजुरी निवेदनहरू र त्यसपछि आयोग गठन हुनु अघिका निवेदनमाथि कारबाहीका सम्बन्धमा गृह मन्त्रालयको २०८० माघ ८ को पत्रमा स्वीकृत कार्यविधि एवं अनुचित लेनदेनसम्बन्धी वर्तमान कानुनी व्यवस्था अनुसार कारबाही सुचारू हुने आयोगको भनाइ छ । अनुचित लेनदेन (मिटरब्याज) पीडित निवेदकसँग सम्बन्धित साहु एवं कर्जादाताहरूले समेत विवादको सहज निराकरण र मेलमिलाप प्रक्रियाबाट ऋणी र धनी (साहु) बीचको आपसी छलफलबाट समस्या समाधानका लागि ऋण दिने व्यक्तिले भर्नुपर्ने पृष्ठ संख्या चार ९४० रहेको छुट्टै फारम नम्बर २ को व्यवस्था भएकाले निजहरूले समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उक्त फारम भरी बुझाउन आयोगले भनेको हो ।

भीरमा मह काढेको छायांकन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले डोरी (पर्‍याङ) मा झुन्डिएर भीर मौरीको मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेको वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भीर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ । झण्डै पाँच सयदेखि १ हजार ५ सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनको भनाइ छ । ‘पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ’, उपाध्यक्ष पुनले भने ।

तमोर-मेवा जलविद्युत आयोजनाको काम प्रारम्भ

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास गरेका हुन् । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो । अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए । उनले भने, ‘जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो । जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस् ।’ आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उनले आग्रह गरे । आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० र सुक्खायाममा प्रतियुनिट ८.४० निर्धारण गरिएको छ । आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ ।

सरकारले २३४ जना जासुस माग्यो, योग्यता एसईई पास

काठमाडौं । सरकारले सहायक सूचक (जासुस) पदमा २३४ जना माग गरेको छ ।  मन्त्रिपरिषद्अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक २३४ जना, सुरक्षा गार्ड १६ जना र २ जना परिचर नियुक्त गर्ने भएको छ । शुक्रबार सूचना जारी गर्दै विभागले असार १० गतेसम्म म्याद राखेर आवेदन माग गरेकाे छ । सहायक सूचक पदका एससलसी वा एसईई पास हुनु पर्ने, १८ वर्ष पूराई भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । सुरक्षा गार्डको लागि ८ पास र परिचरको लागि सामान्य लेखपढ गर्न जानेको हुनुपर्नेछ । सुरक्षा गार्डको लागि उमेर हद २५ वर्ष छ भने परिचरको लागि ३५ वर्ष तोकिएको छ । सरकारी जागिर भए पनि राष्ट्रिय अनुसन्धान विभागले लिने कर्मचारीले लोकसेवा पास गर्नुपर्दैन । सहायक सूचकले लिखित, मौखिक परिक्षा र विस्तृत स्वास्थ्य परिक्षणमा उत्तिर्ण हुनुपर्नेछ । राष्ट्र हित विपरित हुने काम वा गतिविधिबारे प्रारम्भिक सूचना संकलन गर्नु र राष्ट्रिय अनुसन्धान विभागको प्रति-जासुसी संयन्त्रलाई सहयोग पुर्याउनु सहायक सूचकको भूमिका हुन्छ ।

मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क जीवन बीमा

काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आबद्ध कामदारहरूको निःशुल्क बीमा गराएको छ । संघले बिहीबार आयोजित एक कार्यक्रमका बीच कामदारहरूको निःशुल्क बीमा गराएको हो । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी, लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रमुख शिव पौड्यालले बीमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भई मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजार रुपैयाँको लाभ लिन सकिने जानकारी गराए । उनले कार्यक्रममा बोल्दै बीमा गर्नु खर्च नभइ लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बीमा रहेको बताउँदै उनले मानिसको अत्यावश्यक चिजमध्ये बीमा पनि एक भएको उल्लेख गरे । प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपांग हुँदा वा बिरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भए पनि मलम लगाउने काम बीमाले गर्ने बताए । अध्यक्ष बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरू भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्यूनीकरणको लागि बीमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको बीमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरूको निःशुल्क बीमा गराइने बताए । अध्यक्ष बास्तोलाका अनुसार बीमाको लागतमा ५० प्रतिशत व्यावसायिक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बीमा गरिएको छ। कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन बीमाको अनुभावका बारेमा जानकारी गराइएका थिइन्  ।

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो । ‘साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो,’ भगवती मैदानका बासिन्दा रिम मल्लले भने, ‘सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।’ विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताए । ‘पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्दथ्यो,’ उनले भने, ‘यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु तीन सय भाडा रहेकामा हाल दुई सय ५० रुपैयाँ कायम गरिएको छ ।’ गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ (१) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताए । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले–भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिए । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का–कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ रुपैयाँमा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो । पहिरो प्रभावित राहुघाटबाट रघुगंगा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगंगा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो । भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताए । जलविद्युत आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उनले बताए ।