विकासन्युज

एयोन गाडीको नयाँ शोरुम थापाथलीमा

काठमाडौं । सिजी मोटर्सले एयोन गाडीको नयाँ शोरुम उद्घाटन गरेको छ । बिहीबार सिजी मोटर्सले काठमाडौंको थापाथलीमा एयोन गाडीको नयाँ शोरुम उद्घाटन गरेको हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि काठमाडौंको थापाथलीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । चिनियाँ कम्पनी जीएसी मोटर्सको एयोन गाडीको शोरुम चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशन निर्वाण चौधरी र जीएसी इन्टरनेशनलका भाइस जीएम स्टिभेन वाङ लगायतले संयुक्त रुपमा गरेका हुन् । कम्पनीका अनुसार आधुनिक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाइमा १०० किलोवाटको मोटर छ । जसले २२५ एनएमको अधिकतम टर्क दिन्छ । यसको लिथियम आइरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ केडब्लूएच छ, जसमा ६.६किलोबाव चार्जको पनि सुविधा छ । फुलचार्जमा यस इभीले ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्दछ । एयोन वाइको अगाडि र पछाडि दुबै चक्का डिस्क ब्रेक छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ मिमि छ । हाल नेपालभर १२० स्थानमा चार्जिङ सेवा दिंदै आएको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कामना सेवाका ग्राहकलाई रुपन्देही सीटी डाइगोनोसीसमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमा छुट हुने भएको छ । बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसीस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमा मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

सिरोहियाको म्याद थप्न अदालतमा पेस गरिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई पुन म्याद थपका लागि जिल्ला अदालत धनुषामा पेस गर्न लागिएको हो । जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । जसको म्याद शुक्रबार सकिँदैछ । नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरि धनुषा ल्याएको थियो ।

शिवसताक्षी नगरपालिकामा धमाधम चक्रपथ निर्माण

झापा । शिवसताक्षी नगरपालिकाको गौरव आयोजनाका चक्रपथ निर्माण धमाधम भइरहेको छ । हालसम्म ७५ प्रतिशत कार्यप्रगति भएको नगरपालिकाले जनाएको छ । नगरका सबै वडालाई पालिकासँग जोड्नेगरी निर्माण थालिएको चक्रपथको २८ किलोमिटर खण्डमा काम सम्पन्न भएको पालिकाका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । चक्रपथ ३९ किलोमिटरको हुनेछ । नगर चक्रपथमा पूर्वपश्चिम राजमार्ग र शिवगञ्ज–व्याङडाँडा रोडबाहेकका खण्डमा कालोपत्र भइरहेको छ । पञ्चवर्षीय योजनाअनुरुप २०७८ सालमा निर्माण सुरु भएको हो । चक्रपथ निर्माणका लागि सात करोड रुपैयाँ केन्द्रीय सरकार, एक करोड ३० लाख रुपैयाँ कोशी प्रदेश सरकारले लगानी गरेको छ भने बाँकी लगानी पालिकाको आन्तरिक स्रोतबाट भएको छ । स्थानीय नागरिकलाई आवातजावतमा सहज पहुँच होस् भन्ने उद्देश्यले निर्माण गरिएको चक्रपथले गाउँलाई सहरसँग जोडेको छ । चक्रपथ माइधार–धरमपुर, दक्षिणमा मङ्गलबारे–घेरावारी, कमल पुल–पाँचगाछी बजार हुँदै बुलोचोकबाट वडा नं ४ र ५ हुँदै शिवगञ्जसम्म जोडिएको छ । शिवगञ्जबाट व्याङडाँडापूर्व झरना पुल हुँदै चिल्लागढ–नहरसम्म विस्तार गरिने छ । रासस

सहकारी छानबिन समिति कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन । संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा.रेवन्त भट्टराई, डा.सुविर सिंह, उपप्राध्यापक डा.अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६.५६ रुपैयाँ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर १५.३३ रुपैयाँ पाउने गरेका छन् । लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । उनका अनुसार उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, उद्योग संघ चितवनका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज रानाभाट, पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक बब्लु ठाकुर, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक इन्दु राय यादवको उपस्थितिमा छलफल गरिएको हो । यसैगरी नेपाल पोल्ट्री महासंघका महासचिव दिनेश मिश्र, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, नेपाल ह्याचरी उद्योग संघका बागमती प्रदेश अध्यक्ष ज्ञानु विसुराल लगायत सरोकार पक्षबीच छलफल भएको थियो । कार्यक्रममा डा. अनन्त दाहालले अण्डाको लागत मूल्य १६.५६ रुपैयाँ हुनुका कारणबारे प्रकाश पारेका थिए। फर्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक व्याज, औषधि, मजदुर लगायतलाई समेटेर लागत मूल्य तय गरिएको उनले जानकारी दिए । सो अवसरमा सहभागीहरुले अब पनि लागत मूल्यभन्दा कममा अण्डा बिक्री भएमा नेपालमा पोल्ट्री क्षेत्र समाप्त हुने भन्दै बजारीकरणमा जुट्न सुझाव दिएको संघका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए । कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले हालको अण्डाको बजारको अवस्था र उत्पादनको बारेमा जानकारी गराएका थिए । उनका अनुसार यस अघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ । नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ । हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको छ । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाई छ ।

नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न, व्यापार विस्तारमा जोड

काठमाडौं । नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न भएको छ । पर्साको वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो । भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत देवीसहाय मिणाले भारत–नेपालबीचको व्यापार विस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताए । नेपाल–भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दुतावास तयार रहेको उनको भनाइ थियो । यही विषयमा केन्द्रित रहेर सम्मेलनमा छलफल गरिएको उनले जानकारी दिए । सम्मेलनमा इण्डिया—नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा समेत भएको बताए । साथै नेपाल—भारत बीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिए । भारतको कलकत्तामा रहेका नेपालका महावाणिज्य दुत ईश्वरराज पौडेलले नेपाल—भारत बीचको व्यापारिक सम्बन्धमा देखिँदै आएको समस्या समाधानका साथै आयात निर्यातलाई सहज बनाउन अवलम्वन गर्न सकिने उपायका विषयमा छलफल भएको बताए । दुई तिहाई भन्दा बढी व्यापार नेपालले भारतबाटै गर्ने भएकाले यी समस्याहरुको समाधानका लागि समय अनुकुल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको बताए । उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक तेमानीले नेपाल—भारत बीचको व्यापारिक साझेदारीलाई सहजीकरण तथा कम लागतमा आयात निर्यात लगायतका उपाय खोज्नका लागि यो सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा सहभागी वक्ताहरुले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानका विभिन्न आयामबारे आ–आफ्ना धारणा राखेका थिए ।

बजेट ‘सदनबाट आउँछ वा अध्यादेश’बाट आजै निर्क्यौल

काठमाडौं । आज (शुक्रबार) देखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदैछ । संसदको दुवै सदनमा आजदेखि नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक ११ बजे र राष्ट्रिय सभा बैठक १ः१५ बजे बोलाइएको छ । तर, अहिले पनि प्रतिपक्षको अवरोध कायमै छ । सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समिति मागिरहेको कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । सरकार र प्रतिपक्षबीच संसदीय समिति बनाउने सहमति भइसके पनि त्यसको दायरा, कार्यदेश र जिम्मेवारीको विषयमा भने अझैं पनि निर्क्यौल भइसकेको छैन । यसअघिका बैठकमा कार्यदलका सदस्यहरुबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरुको परामर्शपछि आज बिहान पुनः बैठक बसेको छ । झण्डै दुई महिना लामो विवाद र संसदमा निरन्तरको अवरोधपछि ५ जेठमा प्रमुख दलका शीर्ष नेताहरुले संसदीय छानबिन समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनाएका थिए । नियमित बैठक बस्दै आएको भएपनि सहमति भने हुन सकेको छैन । संसदीय समितिबीच पनि सहमति बन्न नसक्दा संसदको अवरोध कायमै छ । आज बस्ने संसद बैठकमा पनि काँग्रेसले अवरोध गर्ने योजना बनाएको छ । तर, सरकारले भने विपक्षीहरूको अवरोधबीच नीति तथा कार्यक्रममा छलफल चलाएर शुक्रबार नै पारित गर्ने तयारी गरेको बुझिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अहिलेसम्म पारित हुन सकेको छैन । राष्ट्रपतिलाई धन्यवाद पनि काँग्रेसको अवरोधकै बिच दिइएको थियो । त्यो बिचमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि काँग्रेसको संसद अवरोधकै बीच विश्वासको मत लिएको थिए । काँग्रेसले कुनै पनि हालतमा यो अवरोध नरोक्ने रणनीति बुनिरहेको छ । काँग्रेसले जेठ १३ गतेका लागि सडक प्रदर्शनी गर्ने तयारी पनि गरिरहेको छ । जेठ १५ मा बजेट ल्याउनु पर्ने वैधानिक व्यवस्था छ । काँग्रेसको अवरोधकै कारण सरकारले बजेटका लागि आवश्यक छलफल तथा राय सुझाव लिन सकेको छैन । तर, सरकारले सकेसम्म सदनबाटै बजेट ल्याउने प्रयत्न गरिरहेको एक मन्त्रीले बताए । त्यो हुन सकेन भने सरकारसँग अन्तिम विकल्प अध्यादेश छ । ‘बजेट के कसरी ल्याउने भन्ने विषयको संकेत आजको बैठकले पनि गर्नेछ, त्यो भन्दा अघि संसदीय समितिको बैठक पनि छ, त्यसको निर्णयले यो विषयको किनारा लाग्न सक्छ । तर, आजको संसदको बैठकको माहोलले पनि बजेट संसदबाटै आउँछ वा अध्यादेशबाट आउँछ भन्ने विषयको निर्क्यौल गर्नेछ,’ ती मन्त्रीले भने । अहिले पनि प्रतिपक्षले निरन्तर नारावजीसहितको अवरोध गरेपनि सरकारले संसद अगाडि बढाएपछि काँग्रेस रुष्ट छ । आज पनि संसदीय समितिको बैठक निष्कर्षविहिन भएमा काँग्रेसको अवरोध कायमै रहने निश्चित छ ।