मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै
महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले बताए ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तनहुँको घिरिङमा डेढ करोड लगानीमा व्यावसायिक अगुंरखेती गरिँदै
दमौली । जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अगुंरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अगुंरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अगुंर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए । उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, ‘पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।’ अगुंरखेतीका लागि एक करोड ५० लाख रुपैयाँ लगानी भएको छ । यहाँ उत्पादित अगुंर धादिङमा पठाउने गरिएको छ । धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अगुंरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए । कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अगुंरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो । कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’ फार्ममा ३२ प्रजातिका अगुंरखेती गरिए पनि आठदेखि १० प्रजातिका अगुंरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिए । रासस
सबैको लघुवित्तले दियो दालमोठ, भुजिया र पापड बनाउने तालिम
काठमाडौं । मकवानपुर जिल्लाको मनहरीमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया र पापड बनाउने तालिम दिएको छ । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा जेठ १६ गते मकवानपुर जिल्लाको मनहरी नगरपालिका–७, मनहरीमा ‘दालमोठ, भुजिया, पापड बनाउने तालिम’ सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए । यस तालिममा मुख्य प्रशिक्षकमा अनिता कुमारी दनुवार रहेकी थिइन् । दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व, फाइदाहरु र बचतका प्रकारहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए । संस्थाले विगत सात वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए । तालिमको उद्देश्य, महत्व तथा संस्थाको प्रगति विवरण साथै संस्थाले उपलब्ध गराएको वित्तीय सेवाहरु तथा गैर वित्तीय सेवाहरुको बारेमा संस्थामा नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका थिए । नायब महाप्रवन्धक श्रेष्ठले जुन परियोजनाको लागि कर्जा लिएको हो सोही परियोजनामा लगानी गरेमा मात्र फाइदा लिन सकिने हुँदा कर्जा लिएर सदुपयोग गर्ने भएमा मात्र कर्जा लिन र जुनसुकै परियोजना सञ्चालन गरे पनि व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गरी अगाडि बढ्न सुझाएका थिए । संस्थाको मनहरी शाखाका प्रमुख सुरेश खड्काले शाखाको प्रतिवेदन प्रस्तुत गर्दै सहभागीहरुलाई तालिममा सक्रियतापूर्वक सहभागी भई राम्रोसँग सिक्न, तालिमलाई व्यवहारमा उतारेर फाइदा लिन जानकारी गराएका थिए ।
ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त:शुल्क फिर्ता लिन क्यान महासंघको माग
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा ल्यापटपमाथि लगाइएको अन्त:शुल्कबारे पुन:विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त:शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो । उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । ‘मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको छ,’ उनले भने, ‘सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी अन्त:शुल्क लगाइएकाले हामी सरकारको ध्यानाकर्षण गराउँछौं ।’ आगामी आवका लागि सरकारले सूचना प्रविधि क्षेत्र लक्षित राम्रा कार्यक्रम ल्याइरहँदा ल्यापटपमा अन्त:शुल्क बढाउनुले गलत सन्देश दिएको पोदारको भनाइ छ । ‘ल्यापटपको मूल्य एक लाख रुपैयाँ छ भने १३ हजार त भ्याट लाग्छ, अब पाँच प्रतिशत अन्त: शुल्क लाग्ने भएपछि एक हजार १८ रुपैयाँ पुग्छ,’ अध्यक्ष पोदारलाई उदृत गर्दै क्यान महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने देखिन्छ ।’ साथै यसले ल्यापटपको ग्रे मार्केटलाइ बढावा दिने भएकाले बजार अव्यवस्थित हुने उनको तर्क छ । सस्तोमा पाइने भएकाले ग्रे मार्केटमा ल्यापटप छ्यासछ्यास्ती पाइन थाल्ने र यसले गर्दा ग्रे मार्केट अझ फस्टाउने पोदारको दाबी छ । सरकारको उक्त कदमले आधिकारिक वितरकहरूलाई पनि दुरुत्साहित गरेकाले यसमा पुन:विचार गर्न जरुरी रहेको उनले बताएका छन् । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले पनि सरकारको यो कदमले शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थ, आईटी, अस्पताल लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पर्ने धारणा राखे । प्रविधिमैत्री समाज निर्माण गर्न ल्यापटपजस्ता अत्यावश्यक डिभाइस आयातमा प्रोत्साहनमूलक नीति हुन जरुरी रहेकोमा उनले जाेड दिए ।
एनआईसी एशिया बैंकद्वारा छुट सम्बन्धी योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको हो । बैंकका अनुुसार २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितका निम्ति सबै सरोकारवालाले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरुका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुंगे पुल, ८५ दिनमै पुल तयार
म्याग्दी । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुंगे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताए । अध्यक्ष पुनका अनुसार रु ४७ लाख ५० हजार चार सय ९६ को लागतमा पुल निर्माण भएको हो । ‘पुल निर्माणका लागि स्थानीयवासीले रु एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेका छन्’, उनले भने, ‘काम थालेको ८५ दिनमै पुल तयार गर्न सफल भएका छौँ ।’ पुलबाट बाँसखर्क, मल्लाज, डाँडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका स्थानीय नारायण पुनले बताए । बाँसखर्क डाँडाकेटेरी हुँदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल उपयोगी भएको उनले बताए । पुल बनेपछि घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको र यात्रा अवधि छोटो भएका छ । रासस
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए । यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए । ‘प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ । सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ,’ तिमिल्सिनाले भने । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट । यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार साँझ पोखरा आएका हुन् ।