विकासन्युज

भारतको जीडीपी ७.२ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सन् २०२४/२५ मा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) वृद्धदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ग्रामीण क्षेत्रहरूमा बढ्दो खपत र मागको पुनरुत्थानलाई उद्धृत गर्दै आरबीआईले जीडीपी वृद्धिदर ७ प्रतिशतबाट बढेर ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । आरबीआईले देशको कुल गार्हस्थ्य उत्पादन अनुमानमा वृद्धि गरेको यो लगातार चौथो पटक हो । अर्थतन्त्रको मोर्चामा निरन्तर राम्रो तथ्यांक र मुद्रास्फीति नियन्त्रणमा रहेको कारण विश्वभरिका धेरै रेटिङ एजेन्सीहरूले चालू आर्थिक वर्षमा भारतको वृद्धिदर पनि बढाएको जनाइएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले जीडीपी पहिलो त्रैमासमा ७.३ प्रतिशत, दोस्रोमा ७.२ प्रतिशत, तेस्रोमा ७.३ प्रतिशत तथा अन्तिम त्रैमासमा ७.२ प्रतिशत हुने अनुमान गरेका थिए । एजेन्सी

बैंकका ठूला ऋणीलाई राज्यले वेवास्ता गर्यो : निर्माण व्यवसायी

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारको पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएको बताएका छन् । शनिबार निर्माण व्यवसायी महासंघ अन्तरर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२ औं साधरण सभामा बोल्दै निर्माण व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले विगत लामो समयदेखि शिथिल बनेको निर्माण उद्योगलाई चलायमान बनाउने गरी बजेट आउन सकेको बताए । निर्माण व्यवसायीहरुलाई राज्यले भुक्तानी गर्नुपर्ने अबौं रकम समेत अहिलेसम्म नपाएको भन्दै व्यवसायीहरुले नयाँ आयोजनाहरुमा टेण्डर गर्ने अवस्था नभएको बताए । व्यवसायीहरुले सरकारले निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएकाले व्यवसायीमा थप निरासा थपिएको बताए । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको परिवेशमा सरकारले चाहेर पनि गर्न नसक्ने कुराहरु धेरै भएपनि निर्माण व्यवसायीहरुको लागि गर्नसक्ने काम पनि नगरेको गुनासो गरे । उनले अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको उल्लेख गरे । शिथिल अवस्थामा पुगेर ठूलो समस्यामा रहेका निर्माण व्यवसायीहरुसँग छलफल समेत नगरी बजेट ल्याएको जानकारी दिए । उनले अघिल्लो र वर्तमान अर्थ मन्त्रालयको नेतृत्वले निर्माण व्यवसायीलाई विभेद गरेको आरोप लगाए । पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने संस्था, मुलुकमा वार्षिक ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगलाई उपेक्षा गरिनु राम्रो नभएको बताए । निर्माण व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट करिव ३४२ अर्ब रुपैयाँमा कर्जा चलाउने उद्योगलाई वेवास्ता गरिनुले राज्यलाई बेफाइदा रहेको जानकारी दिए । उनले ५८५ अर्बको विना स्रोतका आयोजनाहरु सम्बोधन नगरी बजेट ल्याउनु हुँदैन भन्ने व्यवसायीको माग सम्बोधन नगरेको बताए । त्यस्ता आयोजनामा सरकारले व्यवस्था गरेको १५ अर्बको बजेट निर्माण व्यवसायीले गरीसकेको कामको पनि भुक्तानी दिन प्राप्त नहुने अवस्था रहेको उल्लेख गरे । रणनीतिक सडक र पुलहरुमा सरकारले प्राप्त बजेट नराखेको जानकारी दिए । बजेटमा सरकारले विगतको भन्दा भौतिक पूर्वाधार र सहरी मन्त्रालयमा १९ प्रतिशत बढी बजेट राख्दा पनि उत्साहित हुने अवस्था नभएको भन्दै त्यो बजेट खर्च गर्नको लागि नराखिएको दाबी गरे । ‘पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने संस्था, मुलुकमा वार्षिक ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याउनु भयो । निर्माण व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट करिव ३४२ अर्ब रुपैयाँमा कर्जा चलाउने उद्योगलाई वेवास्ता गरेको छ । हामीले ५८५ अर्बको बिना स्रोतका आयोजनाहरु ल्याएको छ । ती आयोजनाहरुलाई सम्बोधन नगरी बजेट ल्याउनु हुँदैन भन्दै गर्दा ती कुराको सम्बोधन सरकारले गरेन । सरकारले व्यवस्था गरेको १५ अर्बको बजेट निर्माण व्यवसायीले गरीसकेको कामको पनि भुक्तानी दिन प्राप्त हुँदैन’, उनले भने । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्माले सरकारले निर्माण व्यवसायीले विगतमा पाउँदै गरेको करमा छुट सुविधा समेत कटौती गरिएको भन्दै असन्तुष्टि जनाए । उनले सरकारले समयमा निर्माण सम्पन्न हुँदा पनि भुक्तानी समयमा नदिएको कारण समयमा कर तिर्न नसकेको बताए । निर्माण व्यवसायीहरुलाई भ्याटमा ठूलो चक्रवादी ब्याज अरु केहीमा नभएको बताए । पूर्वअध्यक्ष शर्माले गत वर्षसम्म सरकारले ५० देखि शतप्रतिशतसम्म मिनाहा दिएको तर अहिले त्यो पनि खारेज गर्दा ५ लाख भ्याट बाँकी भएका निर्माण व्यवसायीहरुले २५ लाख तिर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० देशका ३०० बढी प्रतिनिधिको जमघट काठमाडौंमा

फाइल फोटो । काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) २१ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आइडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आइडिए-१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो । उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समाप नसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थमन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन् । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोश्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन् । यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए । सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आइडिएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए । उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न श्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ । बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ । गत वैशामा सम्पन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए । त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडीए बैठकबारे कुराकानी गरेका थिए । हरेक तीन वर्षमा हुने आइडीएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो । विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडाैं  । माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार माउन्टेन इनर्जीको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४० कित्ता र नेशनल लघुवित्तको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४-संस्करण ३ का विजेतालाई पुरस्कार वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइ.सि.एफ.सि. फाइनान्सले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सि.एफ.सि. फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छ्रे बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनिहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । नेपाली क्रिकेटको विकासको लागि सम्पुर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्याउन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताए ।

मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो । बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय/सुझाव नै मागेको छ । जारी सूचनामार्फत यही असार १६ भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनिएको छ । केन्द्रीय बैंकले साउन पहिलो साताभित्र मौद्रिक नीति ल्याउने गरी तयारी गरेको देखिन्छ । बैंकले राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिमा सुझाव दिन चाहनेले आर्थिक अनुसन्धान विभागको ठेगानामा पठाउनुपर्नेछ । आगामी वर्षको बजेट प्रस्तुत गरिसकेपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तादाम्यता मिलाउने गरी मौद्रिक नीति आउनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले नेपाल राष्ट्र बैंकलाई नचिढ्याउने नीतिअनुरूप यस्तो बताएका थिए ।

उच्च लाभांश दिने १० कम्पनी : १०० को मूल्य आधा लाखसम्म

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४८ कम्पनी सूचीकृत भएर सेयर कारोबार गरिरहेका छन् । नेप्सेले ती कम्पनीहरूलाई १३ वटा समूहमा वर्गीकरण गरेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल एण्ड टुरिजम, जलविद्युत, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, ट्रेडिङ्ग र अन्य समूह गरी १३ वटा समूहमा वर्गीकरण गरेर कारोबार भइरहेको छ । सेयरसहित नेप्सेमा सूचिकृत सबै प्रकारका धितोपत्रको कुल संख्या ३५९ रहेका छन् । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरूले ती कम्पनीको पफर्मेन्स मूल्यांकन गरेर लगानी गर्दै आएका छन् । जुन कम्पनीको राम्रो वित्तीय अवस्था छ, जसले लगानीकर्तालाई बढी प्रतिफल वितरण गर्छ सो कम्पनी नै सबैको आकर्षणमा पर्छ । लगानीकर्ताले कम्पनीमार्फत् प्रत्येक वर्ष प्रतिफल पाइरहेका हुन्छन् भने कम्पनीमा सर्टटर्म लगानी गरेर पनि लगानीकर्ताले नाफा असुल गरिरहेका हुन्छन् । त्यसका लागि पनि कम्पनीको वित्तीय अवस्था स्वस्थ नै चाहिन्छ । लगानीकर्ताले कम्पनीको लाभांश इतिहास, वित्तीय विवरण, सञ्चालक तथा व्यवस्थापन समूह, कम्पनीको प्रतिस्पर्धात्मक अवस्था, भविष्यप्रतिको भरोसा, विश्वास लगायत विषयको अध्ययन तथा मूल्यांकन गर्दै लगानी गरेर कम्पनीबाट प्रतिफल लिइरहेका हुन्छन् । अधिकांश लगानीकर्ताको रोजाइमा भने कम्पनीको लाभांश दर नै पर्छ । आज हामीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश विवतरण गर्ने कम्पनीहरूको चर्चा गरेका छौं । १. युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने र मूल्य पनि बढी भएको कम्पनी हो युनिलिभर नेपाल । सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/८० मा १५८० प्रतिशत लाभांश दिएको छ । विगत एक वर्षमा नेप्से परिसूचक १८०० देखि २२००को बीचमा रहदा पनि यो कम्पनीको सेयर मूल्य प्रति ४९ हजार २५० रुपैयाँसम्ममा कारोबार भयो । न्युनतम मूल्य पनि ३० हजार २०० रुपैयाँ भयो । १०० रुपैयाँ अंकित यूनिलिभरको सेयर मूल्य मन्दीको समयमा करिव ५०००० नजिक पुग्दा यो कम्पनीको सेयर मूल्य अधिक भयो भन्ने आवाज बजारमा आएन । किनकी कम्पनीको लाभांश दर पनि उच्च नै रहेको छ । २. बोटलर्स नेपाल तराई बोटलर्स नेपाल तराई पनि सेयर बजारमा लगानीकर्ताका लागि आकर्षकमध्येमा पर्ने कम्पनी हो । यस कम्पनीले पनि वर्सेनि उत्कृष्ट लाभांश वितरण गर्दै आएको छ । कुल १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले बोनस सेयर नदिएर ६० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । नेप्सेका अनुसार यस कम्पनीको सेयर मूल्य १२ हजार ९०६ रुपैयाँ छ । विगत एक वर्षअवधिमा यसको सेयर मूल्य अधिकतम १७ हजार ५०० र न्युनतम १० हजार ५०० रुपैयाँमा किनबेच भएको छ । ३. नेपाल टेलिकम नेपाल टेलिकम तेस्रो बढी लाभांश वितरण गर्ने कम्पनी हो । नेपाल दूरसञ्चार कम्पनीको नामबाट कारोबार भइरहेको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल ४० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले बोनस सेयर वितरण गरेको छैन । सरकारको ९१.५३ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा सर्वसाधारणको ८.४३ प्रतिशत मात्रै स्वामित्व छ । यस कम्पनीको १७ अर्ब ९९ करोड रुपैयाँ चुक्ता पुँजी छ । विगत एक वर्षमा यस कम्पनीको सेयर मूल्य अधिकतम एक हजार रुपैयाँ पुग्यो भने न्यूनतम ७६८ रुपैयाँमा कारोबार भयो । गत विहीबारमो अन्तिम कारोबार मूल्य ८३० रुपैयाँ छ । लाभांश दर उच्च हुँदा पनि सेयर मूल्य कम रहिरहने कम्पनी हो नेपाल टेलिकम । ४. सूर्यज्योति लाइफ इन्स्योरेन्स बीमा कम्पनीमा सबैभन्दा बढी लाभांश वितरण गर्ने कम्पनी हो सूर्यज्योति लाइफ इन्स्योरेन्स । यस कम्पनीले आव २०७९/८० मा कुल ३५ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले १०.२६ बोनस र २४.७४ नगद लाभांश वितरण गरेको छ । ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको सञ्चालकको तर्फबाट केशबप्रसाद भट्टराईले नेतृत्व गरिरहेका छन् भने व्यवस्थापनको नेतृत्व प्रकाशविक्रम खत्रीले गर्दै आएका छन् । यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ छ । विगत एक वर्षमा यसको सेयर मूल्य अधिकतम ६४६ रुपैयाँ र न्यूनतम ४०० रुपैयाँमा कारोबार भयो । विहीबारको अन्तिम कारोबार ४११ रुपैयाँमा भएको छ । ५. सोल्टी होटल होटल क्षेत्रमा सबैभन्दा बढी लाभांश वितरण गर्ने कम्पनी सोल्टी हो । सोल्टी होटलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले ५ प्रतिशत बोनस र २६.५७८९ प्रतिशत लाभांश वितरण गरेको छ । ८५ प्रतिशत संस्थापक र १५ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको यस कम्पनीको कुल चुक्ता पुँजी भने ९ अर्ब २८ करोड रुपैयाँ छ । १० रुपैयाँ अंकित मूल्य रहेको यस होटलको सेयर गत वर्ष प्रतिकित्ता ३३५ देखि ५३६ रुपैयाँसम्म कारोबार भयो । अंकित मूल्य १०० रुपैयाँ भएको सेयरसँगको तुलनामा यस होटलको सेयर मूल्य अधिकतम ५ हजार ३६० सम्म पुगेको मान्न सकिन्छ । ६. एनआईसी एशिया बैंक बैंकिङ समूह अन्तर्गत वाणिज्य बैंकमा सबैभन्दा बढी लाभांश वितरण गर्ने एनआइसी एसिया बैंक रहेको छ । यस बैंकले कुल ३०.५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा नगद १.५ प्रतिशत र बोनस २९ प्रतिशत वितरण गरेको छ । नियामकीय मापदण्ड पूरा नहुँदा अघिल्ला दुई आर्थिक वर्षमा बैंकले सेयरधनीलाई लाभांश दिन पाएको थिएन । पछिल्लो समय व्यापार व्यवसायमा पनि अगाडि रहेको यस बैंकको व्यवस्थापन तर्फको नेतृत्व रोशनकुमार न्यौपाने र सञ्चालक समितिको तर्फबाट तुलसीराम अग्रवालले नेतृत्व गरिरहेका छन् । बैंक निक्षेप संकलन र बर्जा लगानीमा पनि आक्रामक बनिरहेको छ । बैंकको कुल पुँजी १९ अर्ब ९१ करोड रुपैयाँ बढी छ । गत वर्ष बैंकको सेयर प्रतिकित्ता ३३१ देखि ४५२ रुपैयाँसम्म कारोबार भयो । गत विहीबार बैंकको सेयर मूल्य ४०८ रुपैयाँ छ । ७. नेपाल ल्युब आयल नेपाल ल्युब आयल म्यानुफ्याक्चर समूह अन्तर्गत पर्छ । यस कम्पनी बढी लाभांश वितरण गर्ने कम्पनीको उत्कृष्ट सातौं नम्बरमा छ । यस कम्पनीले कुल ३० प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस र ५ प्रतिशत बोनस लाभांश वितरण गरेको छ । ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको पछिल्लो सेयर मूल्य २५३.४० रुपैयाँ रहेको छ । यस कम्पनीको नेतृत्व अरुणकुमार चौधरीले गर्दै आएका छन् । ८. आइएमई लाइफ इन्स्योरेन्स आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कुल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहेको यस बीमा कम्पनीको सञ्चालक समितिको नेतृत्व डा. रामहरी अर्याल र व्यवस्थापनको नेतृत्व कबि फुयालले गरिरहेका छन् । हाल यस कम्पनीको कुल चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । गत वर्ष यस कम्पनीको सेयर मूल्य न्यूनतम ४२८ र अधिकतम ६४० रुपैयाँमा कारोबार भयो । गत विहीबार प्रतिकित्ता ४३३ रुपैयाँमा कारोबार बन्द भएको छ । ९. सन नेपाल लाइफ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि बढी लाभांश वितरण गर्ने कम्पनीमा पर्छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले २३.८ प्रतिशत बोनस र १.२५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले पनि पछिल्लो समय राम्रो पफर्मेन्स गर्दै आएको छ । यस कम्पनीको व्यवस्थापनको तर्फबाट राजकुमार अर्यालले नेतृत्व गरिरहेका छन् भने सञ्चालक समितिको अध्यक्षको रूपमा अनुज केयालले काम गरिरहेका छन् । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ छ । पछिल्लो कारोबारमा सेयर मूल्य प्रतिकित्ता ४६४ रुपैयाँ छ । १०. हिमालयन डिष्टिलरी हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०७९/८० मा कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यस कम्पनीमा संस्थापक सेयर ५८ प्रतिशत र सर्वसाधारण सेयर ४२ प्रतिशत रहेको छ । २ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २८२ रुपैयाँ छ । विगत एक वर्षमा यसको सेयर मूल्य प्रतिकित्ता १२६४ देखि २५१० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा लमिछाने नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने नियुक्त भएकी छन् । जेठ २५ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सचिव कमलप्रसाद शर्माका अनुसार सभाले चार जना सञ्चालक नियुक्त गरेको छ । संस्थापक सेयरधनीबाट नियुक्त हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फबाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशमबहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्न प्रसाद अधिकारी सञ्चालकमा नियुक्त भएका हुन् । साथै सोही बैठकले जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।