उच्च लाभांश दिने १० कम्पनी : १०० को मूल्य आधा लाखसम्म

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४८ कम्पनी सूचीकृत भएर सेयर कारोबार गरिरहेका छन् । नेप्सेले ती कम्पनीहरूलाई १३ वटा समूहमा वर्गीकरण गरेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल एण्ड टुरिजम, जलविद्युत, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, ट्रेडिङ्ग र अन्य समूह गरी १३ वटा समूहमा वर्गीकरण गरेर कारोबार [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४८ कम्पनी सूचीकृत भएर सेयर कारोबार गरिरहेका छन् । नेप्सेले ती कम्पनीहरूलाई १३ वटा समूहमा वर्गीकरण गरेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल एण्ड टुरिजम, जलविद्युत, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, ट्रेडिङ्ग र अन्य समूह गरी १३ वटा समूहमा वर्गीकरण गरेर कारोबार भइरहेको छ । सेयरसहित नेप्सेमा सूचिकृत सबै प्रकारका धितोपत्रको कुल संख्या ३५९ रहेका छन् ।

दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरूले ती कम्पनीको पफर्मेन्स मूल्यांकन गरेर लगानी गर्दै आएका छन् । जुन कम्पनीको राम्रो वित्तीय अवस्था छ, जसले लगानीकर्तालाई बढी प्रतिफल वितरण गर्छ सो कम्पनी नै सबैको आकर्षणमा पर्छ । लगानीकर्ताले कम्पनीमार्फत् प्रत्येक वर्ष प्रतिफल पाइरहेका हुन्छन् भने कम्पनीमा सर्टटर्म लगानी गरेर पनि लगानीकर्ताले नाफा असुल गरिरहेका हुन्छन् । त्यसका लागि पनि कम्पनीको वित्तीय अवस्था स्वस्थ नै चाहिन्छ ।

लगानीकर्ताले कम्पनीको लाभांश इतिहास, वित्तीय विवरण, सञ्चालक तथा व्यवस्थापन समूह, कम्पनीको प्रतिस्पर्धात्मक अवस्था, भविष्यप्रतिको भरोसा, विश्वास लगायत विषयको अध्ययन तथा मूल्यांकन गर्दै लगानी गरेर कम्पनीबाट प्रतिफल लिइरहेका हुन्छन् । अधिकांश लगानीकर्ताको रोजाइमा भने कम्पनीको लाभांश दर नै पर्छ ।

आज हामीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश विवतरण गर्ने कम्पनीहरूको चर्चा गरेका छौं ।

१. युनिलिभर नेपाल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने र मूल्य पनि बढी भएको कम्पनी हो युनिलिभर नेपाल । सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् ।

युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/८० मा १५८० प्रतिशत लाभांश दिएको छ । विगत एक वर्षमा नेप्से परिसूचक १८०० देखि २२००को बीचमा रहदा पनि यो कम्पनीको सेयर मूल्य प्रति ४९ हजार २५० रुपैयाँसम्ममा कारोबार भयो । न्युनतम मूल्य पनि ३० हजार २०० रुपैयाँ भयो । १०० रुपैयाँ अंकित यूनिलिभरको सेयर मूल्य मन्दीको समयमा करिव ५०००० नजिक पुग्दा यो कम्पनीको सेयर मूल्य अधिक भयो भन्ने आवाज बजारमा आएन । किनकी कम्पनीको लाभांश दर पनि उच्च नै रहेको छ ।

२. बोटलर्स नेपाल तराई

बोटलर्स नेपाल तराई पनि सेयर बजारमा लगानीकर्ताका लागि आकर्षकमध्येमा पर्ने कम्पनी हो । यस कम्पनीले पनि वर्सेनि उत्कृष्ट लाभांश वितरण गर्दै आएको छ । कुल १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशत लाभांश वितरण गरेको छ ।

कम्पनीले बोनस सेयर नदिएर ६० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । नेप्सेका अनुसार यस कम्पनीको सेयर मूल्य १२ हजार ९०६ रुपैयाँ छ । विगत एक वर्षअवधिमा यसको सेयर मूल्य अधिकतम १७ हजार ५०० र न्युनतम १० हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।

३. नेपाल टेलिकम

नेपाल टेलिकम तेस्रो बढी लाभांश वितरण गर्ने कम्पनी हो । नेपाल दूरसञ्चार कम्पनीको नामबाट कारोबार भइरहेको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल ४० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले बोनस सेयर वितरण गरेको छैन ।

सरकारको ९१.५३ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा सर्वसाधारणको ८.४३ प्रतिशत मात्रै स्वामित्व छ । यस कम्पनीको १७ अर्ब ९९ करोड रुपैयाँ चुक्ता पुँजी छ । विगत एक वर्षमा यस कम्पनीको सेयर मूल्य अधिकतम एक हजार रुपैयाँ पुग्यो भने न्यूनतम ७६८ रुपैयाँमा कारोबार भयो । गत विहीबारमो अन्तिम कारोबार मूल्य ८३० रुपैयाँ छ । लाभांश दर उच्च हुँदा पनि सेयर मूल्य कम रहिरहने कम्पनी हो नेपाल टेलिकम ।

४. सूर्यज्योति लाइफ इन्स्योरेन्स

बीमा कम्पनीमा सबैभन्दा बढी लाभांश वितरण गर्ने कम्पनी हो सूर्यज्योति लाइफ इन्स्योरेन्स । यस कम्पनीले आव २०७९/८० मा कुल ३५ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले १०.२६ बोनस र २४.७४ नगद लाभांश वितरण गरेको छ ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको सञ्चालकको तर्फबाट केशबप्रसाद भट्टराईले नेतृत्व गरिरहेका छन् भने व्यवस्थापनको नेतृत्व प्रकाशविक्रम खत्रीले गर्दै आएका छन् । यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ छ । विगत एक वर्षमा यसको सेयर मूल्य अधिकतम ६४६ रुपैयाँ र न्यूनतम ४०० रुपैयाँमा कारोबार भयो । विहीबारको अन्तिम कारोबार ४११ रुपैयाँमा भएको छ ।

५. सोल्टी होटल

होटल क्षेत्रमा सबैभन्दा बढी लाभांश वितरण गर्ने कम्पनी सोल्टी हो । सोल्टी होटलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले ५ प्रतिशत बोनस र २६.५७८९ प्रतिशत लाभांश वितरण गरेको छ ।

८५ प्रतिशत संस्थापक र १५ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको यस कम्पनीको कुल चुक्ता पुँजी भने ९ अर्ब २८ करोड रुपैयाँ छ । १० रुपैयाँ अंकित मूल्य रहेको यस होटलको सेयर गत वर्ष प्रतिकित्ता ३३५ देखि ५३६ रुपैयाँसम्म कारोबार भयो । अंकित मूल्य १०० रुपैयाँ भएको सेयरसँगको तुलनामा यस होटलको सेयर मूल्य अधिकतम ५ हजार ३६० सम्म पुगेको मान्न सकिन्छ ।

६. एनआईसी एशिया बैंक

बैंकिङ समूह अन्तर्गत वाणिज्य बैंकमा सबैभन्दा बढी लाभांश वितरण गर्ने एनआइसी एसिया बैंक रहेको छ । यस बैंकले कुल ३०.५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा नगद १.५ प्रतिशत र बोनस २९ प्रतिशत वितरण गरेको छ । नियामकीय मापदण्ड पूरा नहुँदा अघिल्ला दुई आर्थिक वर्षमा बैंकले सेयरधनीलाई लाभांश दिन पाएको थिएन ।

पछिल्लो समय व्यापार व्यवसायमा पनि अगाडि रहेको यस बैंकको व्यवस्थापन तर्फको नेतृत्व रोशनकुमार न्यौपाने र सञ्चालक समितिको तर्फबाट तुलसीराम अग्रवालले नेतृत्व गरिरहेका छन् । बैंक निक्षेप संकलन र बर्जा लगानीमा पनि आक्रामक बनिरहेको छ । बैंकको कुल पुँजी १९ अर्ब ९१ करोड रुपैयाँ बढी छ । गत वर्ष बैंकको सेयर प्रतिकित्ता ३३१ देखि ४५२ रुपैयाँसम्म कारोबार भयो । गत विहीबार बैंकको सेयर मूल्य ४०८ रुपैयाँ छ ।

७. नेपाल ल्युब आयल

नेपाल ल्युब आयल म्यानुफ्याक्चर समूह अन्तर्गत पर्छ । यस कम्पनी बढी लाभांश वितरण गर्ने कम्पनीको उत्कृष्ट सातौं नम्बरमा छ । यस कम्पनीले कुल ३० प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस र ५ प्रतिशत बोनस लाभांश वितरण गरेको छ । ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको पछिल्लो सेयर मूल्य २५३.४० रुपैयाँ रहेको छ । यस कम्पनीको नेतृत्व अरुणकुमार चौधरीले गर्दै आएका छन् ।

८. आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कुल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहेको यस बीमा कम्पनीको सञ्चालक समितिको नेतृत्व डा. रामहरी अर्याल र व्यवस्थापनको नेतृत्व कबि फुयालले गरिरहेका छन् । हाल यस कम्पनीको कुल चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । गत वर्ष यस कम्पनीको सेयर मूल्य न्यूनतम ४२८ र अधिकतम ६४० रुपैयाँमा कारोबार भयो । गत विहीबार प्रतिकित्ता ४३३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

९. सन नेपाल लाइफ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि बढी लाभांश वितरण गर्ने कम्पनीमा पर्छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले २३.८ प्रतिशत बोनस र १.२५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले पनि पछिल्लो समय राम्रो पफर्मेन्स गर्दै आएको छ ।

यस कम्पनीको व्यवस्थापनको तर्फबाट राजकुमार अर्यालले नेतृत्व गरिरहेका छन् भने सञ्चालक समितिको अध्यक्षको रूपमा अनुज केयालले काम गरिरहेका छन् । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ छ । पछिल्लो कारोबारमा सेयर मूल्य प्रतिकित्ता ४६४ रुपैयाँ छ ।

१०. हिमालयन डिष्टिलरी

हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०७९/८० मा कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यस कम्पनीमा संस्थापक सेयर ५८ प्रतिशत र सर्वसाधारण सेयर ४२ प्रतिशत रहेको छ । २ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २८२ रुपैयाँ छ । विगत एक वर्षमा यसको सेयर मूल्य प्रतिकित्ता १२६४ देखि २५१० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

Share News