विकासन्युज

बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने

काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले मंगलबार सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ । त्यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुनसक्ने भन्दै उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ८२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा ल्याइएको उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र त्यससम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्नेछन् । तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने कुनै लिखित जानकारी नआएमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने सो सेयर इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण पनि खुलाई बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु सक्नेछन् । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट यो सेयर खरिद आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्न सक्नेछन् । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । राजस्व विभागले मंगलबार एक सूचना प्रकाशित गरी मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई ३५ दिनभित्र कर तिर्न ताकेता गरेको हो । विभागका अनुसार बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था छ । महानगरले ताकेता गर्दा पनि व्यवसायीहरूले अहिलेसम्म अटेर गर्दै आएका छन् । तोकिएको समयभित्र जरिवानासहित कर नबुझाए आर्थिक ऐन २०५० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । यी मनोरञ्जन स्थलमा प्रवेश गर्ने प्रतिटिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था रहेको छ ।

मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले ४८ लाख ७९ हजार ७ सय १९ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ सेयर बराबर ०.६०२४ को अनुपातमा बिक्री खुला गरेको हो । सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त हकप्रद सेयर किन्न गर्न पाउनेछन् । हकप्रद सेयर निष्कासन साउन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले मंगलबार बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ ।

महासंघको विधान संशोधन : अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट, दुई जना वरिष्ठ उपाध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान थियो । सो विधानलाई महासङ्घको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए । उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले जानकारी दिए । ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागु हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ । महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने महासंघले जनाएको छ ।