नबिल बैंकको ४० वर्ष पुरा, वयस्क बैंकका सेयरधनी मख्ख
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो वाणिज्य बैंक हो नबिल बैंक । सन् १९८४ जुलाई १२ तारिखमा स्थापना भएको नबिल बैंक आजदेखि ४० वर्ष पुरा गरी ४१औं वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले चार दशक पुरा गर्दा अग्रणी बैंकका रूपमा स्थापित छ । यो अवधिमा विभिन्न उतारचढाव र आरोह–अवरोहहरु पार गरेको नबिलले व्यावसायिक र सेवाका आधारमा सफल वाणिज्य बैंकका रूपमा आफुलाई चिनाएको छ । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि उद्योगी विनोद चौधरीको परिवारले बहुमत सेयर आफ्नो मातहतमा लिएको थियो । हाल यस बैंकमा चौधरी ग्रुप नै मुख्य लगानीकर्ता हो । ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर पृथक चिनारी बनाएको नबिल बैंकको अध्यक्षको रुपमा उपेन्द्रप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेतृत्व गरिरहेका निरन्तर सर्वोत्कृष्ट बनाउन बैंकका कर्मचारीहरूको अहम भूमिका छ भने ग्राहकहरूको अटुट भरोसा छ । कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल बन्न सफल भएको सीईओ ढुंगानाले बताउँछन् । उनका अनुसार स्थापनाकालदेखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि रहेकाले ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा सञ्चालन भइरहेको छ । उनले यो बैंकिङ क्षेत्रको उतारचढावमा नबिलले अग्रणी भूमिका खेलेको छ । उनले आगामी दिनमा पनि लक्ष्य हासिल गर्नमा सबैको सहयोग आवश्यक रहेको बताए । उपेन्द्रप्रसाद पौडेल । यस्तै, अध्यक्ष पौडेलले नेपाली बैंकिङ क्षेत्रमा नबिलको ठूलो योगदान रहेको सुनाए । ‘नयाँ प्रविधिको प्रयोग, सेवा विस्तार र कम्पलायल्सन पालनामा नबिल अगाडि नै छ, दीगो विकासका लागि कस्तो भूमिका खेल्नुपर्छ भनेर बैंकले अग्रणी भूमिका खेलेको छ, हामीले दीगो विकासमा ठूलो उपलब्धि हासिल गरेका छौं,’ उनले भने । डिजिटलमा जोड सरल र ग्राहकमैत्री सेवा दिन नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ । बैंकका अनुसार डिजिटल बैंकिङ प्रयोगकर्ताहरू १५ लाख छन् । जसमध्ये १० लाख प्रयोगकर्ता सक्रिय कारोबार गरिरहेका छन् । बैंकको कुल कारोबारको ८० प्रतिशत कारोबार डिजिटलबाट हुने गरेको बैंकको दाबी छ । सन् १९८० को दशकमा नेपालमा निजी क्षेत्रका बैंकहरू भर्खर सञ्चालनमा आउँदै थिए । नयाँ–नयाँ अभ्यासको थालनी भइरहेका थिए । सन् १९८४ मा कम्प्युटर प्रयोग गर्ने नबिल बैंक पहिलो बन्यो । जतिबेला डिजिटल बैंकिङको कल्पना नै थिएन । कम्प्युटराइज बैंकिङ भनिन्थ्यो । कागजमा हुने सबै काम कम्प्युटरमा हुन थाल्यो । सुरूवाती चरणमा कम्प्युटरमा अकाउन्टिङको काम मात्रै हुन्थ्यो । बिस्तारै आन्तरिक कामहरू सबै कम्प्युटरबाट गर्न मिल्ने भए । बैंकले सन् १९९० मा क्रेडिट कार्ड सञ्चालनमा ल्यायो । सन् १९९४ मा नेपालमा पहिलोपटक एटिएम मेसिन सुरू गर्याे । सन् २००३ मा नबिल इन्टरनेट बैंकिङ, सन् २०१० मा भिसा डेबिड कार्ड, सन् २०१२ मा मोबाइल बैंकिङ, सन् २०१५ मा इन्टरनेशनल मास्टर कार्ड, सन् २०२२ मा एन बैंक सञ्चालनमा ल्याएको नबिल बैंकले सन् २०२४ मा आइपुग्दा बैंकले एआईको प्रयोगका लागि तयारी गरिरहेको छ । ‘डिजिटाइजेशनको सुरुवाती चरणमा भुक्तानी मात्रै हुन्थ्यो । त्यसपछिको डिजिटल यात्रामा बैंकका आन्तरिक काम सबै कम्प्युटरमा हुन थाल्यो । क्रमशः कर्जाको काम पनि बिना कागज कम्प्युटरबाटै डिजिटलमाध्यमबाट दिन थाल्यौं,’ नबिल बैंकका चिफ डिजिटल अफिसर प्रमेश्वर श्रेष्ठले भने, ‘भुक्तानीतर्फ इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लञ्च गर्याैं । इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ आएपछि ब्यालेन्स मात्रै हेर्न मिल्थ्यो । त्यसपछि, स्टेटमेन्ट, भुक्तानी, कारोबार गर्न मिल्नेगरी प्रणालीको विकास भयो । त्यसपछि नबिल बैंक मात्रै नभएर इको सिस्टम नै डिजिटल बन्दै गयो ।’ उनका अनुसार डिजिटल सम्बन्धि सबै काम गर्न एउटै माध्यमबाट हुने गरी नबिल बैंकले ‘डिजि बैंक’ लञ्च गर्यो । डिजिटल कारोबारमा आफूलाई अझै आक्रामक बनाउने बैंकको हुटहुटी थियो । त्यसपछि नियो बैंकिङको अवधारणा अगाडि सारेर ‘एन बैंक’ एप विकास गरी सार्वजनिक गर्यो । उक्त एप चलाउने ग्राहकले बैंक जानु नपर्ने उनको भनाइ छ । ‘खाता खोल्नदेखि कर्जा लिनसम्म बैंकमा नजानु पर्ने गरी एन बैंकले सेवा दिइरहेका छौं । ग्राहकहरूले ३० सेकेण्डमा खाता खोल्न सक्नुहुन्छ । यहि एपको प्रयोग गरी भिडियो केवाईसी, एन रेमिट, फोन लोन, कार्ड रिक्वेस्ट गर्नेदेखि मुद्दती निक्षेप खाता खोल्न सकिन्छ,’ श्रेष्ठले भने, ‘राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा सबै काम हुन्छ । अब ग्राहकहरूले बैंकको लामो फर्म भर्नुपर्ने बाध्यताको अन्त्य हुने गरी प्रणालीको विकास गरिरहेका छौं ।’ सेयरधनी मख्ख वयस्क उमेरमा प्रवेश गरेको यस बैंकका सेयरधनीहरू मख्ख छन् । चार दशकको अवधिमा बैंकले करोडका सेयरधनीहरूलाई अर्बपति बनाएको छ । बैंक स्थापना गर्दा लगानीकर्ताहरूले २ करोड ८१ लाख रुपैयाँ लगानी गरेका थिए । जुन लगानी अहिले ९ सय गुणा बढेर २७ अर्ब पुगेको छ । उक्त लगानी बैंकले बोनस सेयर मार्फत प्रदान गरेको रकमबाट वृद्धि भएको हो । चार दशकको अवधिमा बैंकले २२ अर्ब रुपैयाँ ३१ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको छ भने २० अर्ब ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको छ । बैंकले आफ्नो इतिहासमा सेयरधनीहरूलाई २१ वर्ष बोनस र नगद दुवै लाभांश वितरण गरेको छ भने नगद लाभांश भने ३३ वर्ष वितरण गरेको देखिन्छ । ज्ञानेन्द्र ढुङ्गाना । ‘समग्रमा नबिल बैंकले निरन्तर प्रतिफल दिइरहेको छ, विगत ३९ वर्षको इतिहास हेर्दा २ करोड ८१ लाखबाट सुरु गरेको लगानी ९ सय गुणा बढेको देखिन्छ, यसमा फेरी नगद लाभांश छुट्टै प्रदान गरिएको छ, बोनस सेयरबाट २ करोड ८१ लाख लगानी २७ अर्ब पुगेको हो,’ सीईओ ढुङ्गानाले भने । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको सेयर मूल्य प्रतिकित्ता ५०७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बैंकहरूमा लगानी गर्नेहरूका लागि दोस्रो बजारमा नबिल बैंक हटकेक सेयर हो । जसको सेयर मूल्य उच्च नै हुने गदर्छ । नम्बर वान बैंक हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । ९ महिनाको अवधिमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत चैतसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ गरेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ७.६२ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.८५ गुणा र प्रतिसेयर नेटवर्थ २०८.३९ रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा ४.०४ प्रतिशत छ ।
आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा
काठमाडौ । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी ५५ को बिहीबारबाट नेपाली बजारमा विक्री सुरु गरेको हो । आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलव ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको ब्याट्री तथा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ । सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीवी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरू ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । ग्राहकको उचित मूल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने जनाएको छ । आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं वार्षिकोत्सवमा रक्तदान
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ वर्ष पार गरेर १८औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार केन्द्रीय कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान गर्नुहोस् , जीवन दान दिनुहोस्’ मूल नारासहित सिटी एक्सप्रेस मनी ट्रान्सफरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा रक्तदानका लागि रक्तदाताहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार १० वर्षे अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’ नामक प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३० लाख कित्ताले हुने रकम ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गरिने छ । त्यसैगरी, ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी (सोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि समेत) सर्वसाधारणमा बिक्री गरिने छ ।
अमेरिकाको उपभोक्ता मुद्रास्फीति ३.० प्रतिशतले बढ्यो
काठमाडौं । अमेरिकको उपभोक्ता मुद्रास्फीति जुनमा गत वर्षको तुलनामा ३.० प्रतिशतले बढेको छ । मे महिनामा ३.३ प्रतिशत र अप्रिलमा ३.४ प्रतिशतले बढेको थियो । श्रम तथ्यांक ब्युरोले जारी गरेको प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे महिनामा अपरिवर्तित रहे पनि मौसमी समायोजनका आधारमा ०.१ प्रतिशतले घटेको छ । अप्रिलमा, सीपीआई ०.३ प्रतिशत बढेको थियो । पछिल्लो मुद्रास्फीति प्रतिवेदनले खाद्य र ऊर्जा बाहेक तथाकथित कोर सीपीआई मे महिनामा ०.२ प्रतिशत र अप्रिलमा ०.३ प्रतिशतले बढेपछि जुनमा ०.१ प्रतिशतले वृद्धि भएको देखाएको छ । कोर सिपिआई पछिल्लो १२ महिनामा ३.३ प्रतिशतले बढेको छ । जुन अप्रिल २०२१ पछिको सबैभन्दा कम वृद्धि हो । ऊर्जा सूचकांक अघिल्लो महिनाको जस्तै महिनामा २.० प्रतिशतले घटेको छ । जुनमा खाद्य सूचकांक ०.२ प्रतिशतले बढेको छ । जुनमा बढेको सूचकांकमा आश्रय, मोटर वाहन बीमा, घरेलु सामान र सञ्चालन, चिकित्सा हेरचाह र व्यक्तिगत हेरचाह समावेश छ । एयरलाइन भाडा, प्रयोग गरिएको कार र ट्रक, र संचार को लागि सूचकांक एक महिनामा घट्ने तीमध्ये थिए । पछिल्लो तथ्यांकले यूएस फेडरल रिजर्भ अध्यक्ष जेरोम पावेलले यस हप्ताको शुरुमा केन्द्रिय बैंकले दर कटौती निर्णयको नजिक रहेको संकेत गरे । तर यस्तो कदम चाल्नु अघि मुद्रास्फीतिमा प्रगतिमा बढी विश्वास आवश्यक रहेको बताए ।
जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह
सुदूरपश्चिम । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनुपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तर्क्रियामा सहभागीले जनचेतना अभिवृद्धि गर्न र युवामैत्री नीति बन्नुपर्नेमा जोड दिएका हुन् । अन्तर्क्रियामा जलवायुसम्बन्धी जानकार बालकृष्ण जम्कट्टेलले विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनले जलवायु परिवर्तनका कारण हुने विपद्लगायतका घटनामा मृत्यु हुनेमध्ये ५० प्रतिशत बालबालिका नै हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । उनले जलवायु परिवर्तनको असरकै कारण बालबालिकाको बालअधिकारमा चुनौती थपिएको बताए । ‘युवा तथा बालबालिका बढ्दो उमेरमा रहने गरेकाले उनीहरूलाई जलवायुको परिवर्तनको बढी असर पुग्ने गरेको अध्ययनबाट देखिन्छ’, उनले भने, ‘यसले गर्दा उनीहरूको स्वास्थ्य, शिक्षा, खानेपानी, पोषण, खानेकुरा जस्तामा पनि असर पुर्याइरहेको हुन्छ ।’ अध्ययनका क्रममा ८२ प्रतिशत युवा तथा बालबालिकाले जलवायु परिवर्तनका कारण आफूहरू कम्तीमा पनि एक वा एकभन्दा बढी विपद्को जोखिम रहेको जवाफ दिएको बताइएको छ । यस्तै ३५ प्रतिशत युवा तथा बालबालिकाले आफूहरू कुनै पनि प्रकोपबाट एकदमै जोखिममा रहेको जवाफ दिएको थिए । कार्यक्रममा सहभागी युवा तथा बालबालिकाले जलवायु परिवर्तनसँगै हुने विपद्जन्य घटनाका कारण भत्किएका वा छाना उडाइएको विद्यालयको कक्षाकोठामा बसेर अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुँदा पठनपाठन प्रभाव पर्न गई विद्यार्थीमा मानसिक तनाव हुने गरेको अनुभव सुनाएका थिए । बालबालिकाले जलवायु परिवर्तनले हुने विपद्लगायतका घटनाकै कारण विद्यालयमा अनुपस्थिति बढ्ने, सिकाइको उपलब्धि अपेक्षाकृत नहुने, गर्मी र बर्सातका कारण विद्यालय जान नसक्ने, गर्मी मौसममा सबैभन्दा बढी गर्मी हुने मध्याह्नको समयमा विद्यार्थीले पठनपाठन सकाएर विद्यालयबाट घर आउँदा थप गर्मीको सामना गरिरहेका भए पनि सञ्चालकले यस्ता समस्याको अनुकूलन एवं न्यूनीकरण गर्नमा ध्यान नदिइएको जस्ता अनुभव पनि सुनाएका थिए । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका झण्डै ५० युवा तथा बालबालिका सहभागी रहेको कार्यक्रममा जलवायु परिवर्तनको असर अनुकूलन एवं न्यूनीकरण गर्न सकिने उपायका बारेमा अभिमुखीकरण गरिएको थियो ।
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाको उम्मेदवारी
काठमाडाैं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । परिषद्को यही असार ३१ गते हुन लागेको २८ र २९औं साधारणसभा एवम् अधिवेशनका लागि बिहीबार परिषद्का वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुव्र अधिकारीले उम्मेदवारी दिएका हुन् । यस्तै, तीन उपाध्यक्ष पदका लागि सहदेव ९विमल० धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईंले जानकारी दिइन् । यस्तै, सचिवमा पुण्यराम लागेजु र दिलिप (मिलन) कंडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ । सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाई, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रंजयमान प्रधान, नविन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रसाईंले बताइन् । निर्वाचनमा एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।
बुद्ध एयरको जहाज धावनमार्गमा फस्यो, विमानस्थल बन्द
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुइँ (माटो) छुन पुगेको थियो । काठमाडौंबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए । प्रवक्ता भट्टले भने, ‘जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।’ जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ । जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए । गएराति नै बुद्ध एयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडौंबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए । रासस