विकासन्युज

युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउँछौँ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताएका हुन् । उनले युवालाई उत्पादन र उद्यमसंग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन हुनेक्रम रोकिने बताए । गभर्नर अधिकारीले देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको प्रति असहमति जनाउँदै देश सम्भावनाले भरिपूर्ण भएपनि केही साना–साना कुराहरुमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएको बताए । राष्ट्र बैंकले ल्याउने मौद्रीक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने उनले संकेत गरे । एक फरक प्रशंगमा गभर्नर अधिकारीले व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् । कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा बाहिर आलोचना भएजस्तो दुरुपयोग नदेखिएको र केहि व्यक्तिबाट दुरुपयोग भएकोमा त्यसलाई असुल प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् । सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान बाँढिएको गभर्नर अधिकारीले दाबी गरे । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको उनको भनाई छ । उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थालेपनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाई छ । विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताए । उनले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टठा बाठा हरुले पहुँचको आधारमा दुरुपयोग गरेको धारणा राखेका थिए । विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको उनको भनाई छ । साथै, नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरुले लगानी गर्न नचाहेको क्षेत्रीले बताए । त्यस्तै, साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत् युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत् कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत् आन्तरिक उत्पादन बढाउन ठूलो योगदान गरेको उनको भनाई छ । साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशत भन्दा बढी महिला रहेको र देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको उनले जानकारी दिए । हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसंख्याका सेवा पुर्याएको उनको भनाई छ । कृषि प्रविधि सिक्नका लागि युवालाई इजरायलमा पठाएको र उनीहरु स्वदेश फर्किएर कृषि कर्ममा जमेको, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) बाट कृषि तथा भेटनरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको, किसानहरुलाई भारतलगायत देशमा अवलोकन भ्रमण गराएकोलगायत कामबाट साना किसान विकास लघुवित्तले किसानलाई सहयोग गरिरहेको बताए । एसियाली विकास बैंकबाट कर्जा लिएर ग्रामिण उद्यम कर्जा (आरईएफ) सञ्चालन गरेको पनि उनले जानकारी दिए । साना किसान, विपन्न तथा पछाडि परेका व्यक्ति एवम् समुदाय, महिला, सीमान्तकृत जस्ता वर्गका लागि सरल र सहज कर्जा उपलब्ध गराइरहेका कारण साना किसान लघुवित्तबाट सञ्चालित कामको नतिजा राम्रो देखिएको उनको दाबी छ । २३ औँ स्थापना दिवसका अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले देशभरबाट दुई वटा संस्थालाई उत्कृष्ट संस्था पुरस्कार प्रदान गरेको छ । यसरी पुरस्कृत हुने संस्थाहरुमा सुर्खेतको गुमीमा रहेको परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था र धनुषाको रघुनाथपुरमा रहेको रघुनाथपुर साना किसान कृषि सहकारी संस्था रहेका छन् । यी दुई संस्थाले आफ्नो लगानीमा रहेको सम्पूर्ण कर्जाको असुली दर १०० प्रतिशत पुरा गरेका छन् । युवा, महिला, दलित, जनजाती, पिछडीएको वर्गा लगायतलाई उत्पादन र उद्यमसंग जोडेको बताइएको छ ।

दुग्ध किसानलाई डेढ अर्ब भुक्तानी दिन ढिलो भएको भन्दै डीडीसीले माग्यो माफी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानलाई समयमै डेढ अर्ब रकम भुक्तानी गर्न नसकेको भन्दै माफी मागेको छ । संस्थानले आइतबार एक सूचना प्रकाशन गर्दै बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा पदार्थ व्यवस्थापन गर्दा हाल संस्थानमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको धुलो दूध, मक्खन मौज्दात रहेको तथा दुग्ध पदार्थ भण्डारण गर्दा संस्थानको खर्च बढिरहेकाले किसानलाई गर्नुपर्ने भुक्तानीमा ढिलो भई कृषक परिवारमा परेको असहजताप्रति माफी मागेको हो । यस्तै, संस्थानले सरकारबाट ऋण, मौज्दात दुग्ध पदार्थ बिक्रीबाट किसानको भुक्तानी सहज गरिने र उत्पादन उच्च हुने आगामी सिजनको दूधलाई व्यवस्थित गरिने प्रतिबद्धता जनाएको छ । साथै, संस्थालने बजार खपत बढाएर किसानको भुक्तानी नियम बनाउन दुग्धजन्य पदार्थमा छुटसमेत दिएको जारी सूचनामा उल्लेख छ । यस्तै धुलो दूध ६ सय र मक्खन प्रतिकेजी ८ सय रुपैयाँ (करसहित) निर्धारण गरिएको संस्थानले जानकारी दिएको छ । स्थानका दैनिक उपभोग्य उत्पादन दूध, दही, चिज, आइसक्रिम, पनिर धुलो दूध, क्रिम, मक्खन, घिउ आदिको खपत बढाइदिन उद्योगी, व्यापारी तथा आम उपभोक्तालाई संस्थानको आग्रह छ । यस्तै, संस्थानले अन्तराष्ट्रिय बजार खाेजी गरेर याे समस्याकाे दीघर्कालीन समाधान गरिने पनि जनाएकाे छ ।  

सरकारले राख्यो संक्रामक रोगको सूचीमा ५२ वटा रोग

काठमाडौं । स्वाथ्य मन्त्रालयले संक्रामक रोगको सूची बनाएको छ । राजपत्रमा प्रकाशित गर्दै ५२ रोगलाई संक्रामक रोगको सूचीमा राखिएको हो । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ अनुसार रोगको सूचि तयार पारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रेविज क्षयरोगदेखि क्युफिवर र लासा फिवरसम्म सूचिकरण गरिएको हो ।  

बाढीको वितण्डा : कहाँ के भयो ?

काठमाडाैं । शुक्रबार रातिदेखिको अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा ठूलो क्षति भइरहेका छ । कतिपय ठाउँका बस्ती नै जोखिममा परेका छन् भने कतिपय ठाउँमा सडक नै अवरुद्द भएर आवतजावतमा पनि समस्या भइरहेको छ । कतिपय ठाउँका नदिको बहाब बढेर बाढी नै आइरहेको छ भने कतिपय ठाउँमा पहिरोबाट मानवीय क्षति भइरहेको छ । यो समयमा उच्च सर्तकता अपनाउन सरकारले आग्रह गरिरहेको छ । बलान नदीमा फसेका ६ किसानको उद्धार सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ । सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । मार्तडी-कोल्टी सडक पाँच दिनदेखि बन्द बाजुराको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिए । वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । मार्तडी–कोल्टी सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ । लगातारको वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिए । राजमार्गको सेराबगर, हड्डेखोला र जिल्ला कारागार नजिकै पहिरो गएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन र मालवाहक गाडी बाटोमै थन्किएका छन् । राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । राप्तीमा बेपत्ता दुई जनाको शव फेला राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका-७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका-८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै, दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका-२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।हस्नापुर घाटबाट राजपुर गाउँपालिका-२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो । सिद्धार्थ राजमार्ग भासियो स्याङ्जाको गल्याङ नगरपालिका-११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् । बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको बताउनुभयो । काठको पुल बगाएपछि घमी र ढाकमरका बासिन्दा आवतजावत गर्न खोलामा जोखिम मोलेर जङ्घार तर्नुपर्ने अवस्था छ । ढाकमर गाउँमा ५७ परिवारको बसोबास छ । घमी वडाको केन्द्र हो । नहर बगाउँदा घमीको एक हजार दुई सय रोपनीभन्दा बढी जमिनमा सिँचाइको समस्या भएको छ । स्याउ, उवा, जाँै र फापर बालीमा सिँचाइ गर्न समस्या भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी नहर र पुल मर्मतको काम तत्कालै सुरु गरिने बताए । महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए । आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ । महाकालीमा पानीको बहाव बढ्यो महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । पहिरोमा पुरिएकी दुई जनाको शव भेटियो तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो । बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए । पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी-१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले बताए । कोशी ब्यारेजका ४१ ढोका खोलिए सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । कालीगण्डकी करिडोर ठप्प शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ । यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका-५ विनामारे, जैमिनी नगरपालिका-१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।

लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

२८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कुनै पनि सार्वजनिक निकायको खरीदमा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको छ। कार्यालयले आइतबार एक सूचना प्रकाशन गरी विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूतनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उल्लेख छ । कार्यालयले ५ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ४ निर्माण कम्पनीलाई साढे २ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ४ निार्मण कम्पनीलाई डेढ वर्ष, २ निर्माण कम्पनीलाई १३ महिना र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ । साधारणसभाले सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको छ । जसअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै अन्य वोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ । साधारण सभाको उद्घाटन लगत्तै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गानाले संयुक्त रुपमा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटन समेत गरेका थिए । कम्पनीका उप कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठका अनुसार घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने छ ।

सिद्धार्थ राजमार्ग भासियो

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भा सिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् । विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा  शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताए । ‘खोलामा पानीको सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्र टनेलमा पानी पठाउँछौँ ।’ गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको नौ दशमलव चार मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही भेग र पर्वतको केही भेगमा विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ । मर्मत गर्न प्राविधिक र उपकरण तयारी अवस्थामा राखिए पनि सडक अवरुद्धका कारण सम्भव नभएको उनले बताए । रासस